शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४५५ - प्रतिशेधको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: असार अंक:

निर्णय नं. १४५५ ने.का.प. २०३८             अङ्क ३

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३६ सालको रिट नम्बर ११४७

फैसला भएको मिति : २०३८।२।१२ मा

निवेदक : का.जि. न.पं. वडा नं. ३० असन बहाल बस्ने गम्भीर राज खाउजु

विरुद्ध

विपक्षी  : काठमाडौं उपत्यका नगर विकास योजना कार्यालय समिति श्री ५ को सरकार भृकुटी मण्डप जिल्ला कार्यालय काठमाडौंसमेत

मुद्दा : प्रतिशेधको आदेश जारी गरिपाउँ

(१) निवेदकले प्राप्त गरेको नक्सा प्रमाणपत्रको विरुद्ध घर निर्माण गरेमा नगरपञ्चायतबाट कानूनबमोजिम हुने कुरामा निवेदकले कानूनबमोजिम प्राप्त गरेको नक्सा प्रमाण बमोजिम बनाउन लागेको घर निर्माण कार्य रोक्का गर्नु भन्ने प्रहरी शिविर लैनचौरको र काठमाडौं उपत्यका नगर विकास समितिको सूचना कानूनको दृष्टिमा त्रुटिपूर्ण हुने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय

आदेश

        प्र.न्या. नयनबहादुर खत्री : घर बनाउने निर्माण कार्य रोक्का राख्नु भन्ने ०३६।९।१९ को सूचना उपर प्रतिषेधको आदेश जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिटनिवेदन पर्नआएको छ ।

        २.  तथ्य यस प्रकार छ : का.न.प.को ०३६।८।२४ मा घर निर्माण गर्न निवेदकका नाउँमा रोक्का पूर्जि टाँस हुँदाहुँदै पूर्जिका अनादर गरी निर्माण कार्य गरेको भन्ने का.न.प.०३६।९।१८ को पत्र यस समितिमा प्राप्त हुन आएकोले निर्माण कार्य तुरुन्त रोक्का गरी २४ घण्टाभित्र सबूत प्रमाण सहित उपस्थित हुनुहोला भन्ने का.उ.न.वि.समितिबाट निवेदकलाई ०३६।९।१९ मा पत्र लेखेको रहेछ ।

        ३.  उक्त सूचना बदर गराई पाउँ भनी यस रिट निवेदनमा लिएका जिकिरहरू यस प्रकार छन् । पुनमाया महर्जनीको का.जि.का.न.पं.वडा नं. २९ को कि.नं. ४९६ को पूर्व महिला संगठनको घर पश्चिम नारायण महर्जनको घर उत्तर नानी महर्जनको घर दक्षिण सडक यति ४ किल्ला भित्रेको ०२ मध्ये पूर्वतर्फबाट आधि घर जग्गा ०३५।१०।१० मा राजीनामा गरी लिएको थिए । कि.नं. ४९६ को कित्ताकाट भई निवेदकको आधि घर जग्गाको कि.नं. १२८१ हुन गएको छ । यसरी आफ्नो हकभएपछि उक्त पुरानो घर भत्काई नयाघर बनाउन नगर विकास समितिमा समेत नक्सा दरखास्त पेश गरी कसैको उजूर नपरेबाट पेश गरेको नक्सा अनुसार घर बनाउन पाउने गरी का.न.प.बाट ०३७।७।१४ गते नक्सा प्रमाणपत्र प्राप्त गरेको थिए । पुरानो घर भत्काई नक्सा अनुसार घर बनाउन शुरू गरेको थिए । यसै बीच नक्सा पास नगरी घर बनायो भन्ने सायद कसैका झुठ्ठा उजूर परेबाट घर बनाउन रोक्का गर्नु भनी विपक्षी का.न.वि.समितिबाट रोक्का भएकोमा पछि स्वीकृत नक्सा प्रस्तुत गर्नुभएकोले सो बमोजिम निर्माणका कार्य गर्न फुकुवा गरिएको छ भनी ०३६।८।१८ गते फुकुवा दिएको थियो । यसरी फुकुवा पाउँ पछि २ तला घर पुरा भएको छ । अब आएर फेरि नक्सा नदेखाई घर बनाउन लागेको हुनाले रोक्का गर्नु भन्ने जिल्ला कार्यालय काठमाडौंबाट लेखी आएको हुनाले घर बनाउन रोक्का गर्नु भन्ने प्रहरी सिविरबाट ०३६।९।१३ मा र बनाउन रोक्का गर्दा गर्दै निर्माण कार्य गरेको भनी का.न.प.बाट लेखी आएको हुनाले निर्माण कार्य गरेको भनी का.न.प.बाट लेखी आएको हुनाले निर्माण कार्य तुरुन्त रोक्का गर्नु भनी उपत्यका नगर विकास समितिबाट ०२६।९।१९ गते लेखी आएको थियो । कानून अनुसार नक्सा पास गरी पुरानो घर भत्काई नयाघर बनाउन शुरू गरी २ तल्ला पुरा पुगेपछि अब घरबनाउन रोक्का गर्नु भनी भन्ने विपक्षीहरू लाई कुनै ऐनले पनि अधिकार छैन मुलुकी ऐन घर बनाउनेको ४ नं. ले नक्सा पास गरी जग हाली घर बनाउन शुरू गरी सकेपछि रोक्का गर्नु हुँदैन भन्ने किटानी व्यवस्था गरेको छ । पास नक्सा बमोजिम निवेदकलाई घर बनाउन रोक्का नगर्नु भन्ने विपक्षीहरूको नाउँमा प्रतिषेधको आदेश जारी गरिपाउँ भन्ने समेत उल्लेख गरेको रहेछ ।

        ४.  विपक्षीहरूबाट लिखितजवाफ लिई पेशगर्नु भन्ने २०३६।१०।२७।१ को डिभिजन बेञ्चको आदेश ।

        ५.  विपक्षी काठमाडौं उपत्यका नगर विकास समितिको लिखितजवाफमा निवेदकले का.जि.२९ वडा अन्तर्गत ठमेल महिला संगठन सँगै नक्सा नदेखाई घर बनाउँदै ल्याएको विषयमा घर बनाउने कामको रोक्का पूर्जि ०३६।८।२४ मा टाँस्दा टाँस्दै पनि जबरजस्ती घर बनाएको हुँदा सो घर तुरुन्तै रोक्का गरी दिनु भनी काठमाडौं नगरपञ्चायतबाट ०३६।९।१८ मा यस कार्यालयमा पत्र प्राप्त हुन आएकोमा कारवाही नै नटुंगिई यस कार्यालयको विरुद्ध रिटमा जानु भएको हुँदा रिट खारेज हुनुपर्ने भन्ने समेत उल्लेख गरेको रहेछ ।

   ६.  विपक्षी काठमाडौं नगरपञ्चायतको लिखितजवाफमा कुनै पनि नागरिकले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको हक हनन् नहुने गरी गर्नुपर्ने मौलिक कर्तव्य नेपालको संविधानले नै तोकी दिएको छ निवेदकले नगरपञ्चायतलाई विपक्षी बनाउनु पर्ने अवस्था विद्यमान भएको प्रमाणित नगरेसम्म का.न.प.उपर आदेश जारी गर्न नमिल्ने हुनाले निवेदन खारेज गरिपाउँ भन्नेसमेत उल्लेख गरेकोरहेछ ।

   ७.  निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले निवेदकले कानूनबमोजिम नक्सा पास गरी घर बनाउन लागकोमा रोक्का गर्न मुलुकी ऐन घर बनाउनेको ४ नं. ऐनको विपरीत रोक्का गरिएकोले प्रतिषेधको आदेश जारी गरिपाउँ भन्ने समेत र विपक्षी काठमाडौं उपत्यका नगर विकास समितिको तर्फबाट विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले रोक्क पूर्जि टाँस्दा टाँस्दै पनि निवेदकले जबरजस्ती घर बनाएकोले काठमाडौं नगरपञ्चायतको अनुरोधमा रोक्का गरिएको र नगर विकास समितिका कारवाही चल्दा चल्दै यो रिट निवेदन लाग्न नसक्ने भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

   ८.  यसमा विद्वान वरिष्ठ अधिवक्ताहरूको बहस जिकिर सुनी प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा निवेदकले पुनः माया महर्जनीको का.जि.का.न.पं.वडा नं. २९ को कि.नं. ४९२ को पूर्व महिला संगठनको घर पश्चिम नारायण महर्जनको घर उत्तर नानी महर्जनको घर दक्षिण सडक यति ४ किल्ला भित्रको ०२ मध्ये पूर्व तर्फबाट आधि घर जग्गा ०३५।१०।१० गते राजीनामा लिई कि.नं. ४९६ को कित्ताकाट भई मेरो आधि घर जग्गाको कि.नं. १२८१ हुन गएको छ उक्त पुरानो घर भत्काई नयाघर बनाउन नगर विकास समितिमा समेत नक्सा दरखास्त पेश गरी नक्सा अनुसार घर बनाउन पाउने गरी काठमाडौं नगरपञ्चायतबाट २०३६।७।१४ गते नक्सा पास प्रमाण पाउँ नक्सा बमोजिम घर बनाउँदै जाँदा रोक्का गरिएकोमा ०३३।८।१८ मा फुकुवा गरिएकोमा पुनः नक्सा बमोजिम घर बनाउँदै जाँदा ०३६।९।१३ र ०३६।९।१९ मा समेत निर्माण कार्य रोक्का गर्नु भन्ने सूचना प्राप्त भएकोले प्रतिषेधको आदेश जारी मुख्य गरिपाउँ भन्ने नै निवेदकको निवेदन जिकिर देखियो ।

   ९.  निवेदकले कि.नं. १२८१ को घर जग्गामा नयाघर बनाउन ०३६।७।१४ मा काठमाडौं नगरपञ्चायतबाट नक्सा प्रमाणपत्र प्राप्त गरेको कुरामा कुनै विवाद देखिएन । नगरपञ्चायत ऐन, २०१९ दफा ४६, ४७, ४८ र ४९ समेतबाट नक्सा पास हुने नहुने भन्ने र काठमाडौं उपत्यका नगर विकास समिति ऐनले नगर पञ्चायतबाट नक्सा पासको प्रमाणपत्र दिई सकेको नक्सा पास बमोजिम निर्माण कार्य रोक्का गर्ने अधिकार काठमाडौं उपत्यका नगर विकास समितिलाई उक्त ऐनले अधिकार प्रदान गरेको देखिँदैन । मुलुकी ऐन घर बनाउनेको ४ नं. ले पनि नक्सा पास गरी जग हाली घर बनाउन शुरू गरी सकेपछि रोक्का गर्न नहुने प्रष्ट छ । निवेदकले प्राप्त गरेको नक्सा प्रमाणपत्रको विरुद्ध घर निर्माण गरेमा नगरपञ्चायत ऐन, २०१९ ले नगरपञ्चायतबाट कानूनबमोजिम हुने कुरामा निवेदकले कानूनबमोजिम प्राप्त गरेको नक्सा प्रमाण बमोजिम बनाउन लागेको घर निर्माण कार्य रोक्का गर्नु भन्ने प्रहरी शिविर लैनचौरको ०३६।९।१३ र काठमाडौं उपत्यका नगर विकास समितिको ०३६।९।१९ को सूचना कानूनको दृष्टिमा त्रुटिपूर्ण हुँदा उक्त सूचनाहरू प्रतिषेधको आदेशद्वारा बदर गरिएको छ । यो आदेशको १ प्रति प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. हेरम्बराज

 

इति सम्वत् २०३८ साल ज्येष्ठ १२ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु