शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४६२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: श्रावण अंक:

निर्णय नं. १४६२   ने.का.प. २०३८                   अङ्क ४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३६ सालको रिट नं. ८८९

आदेश भएको मिति :०३८।४।१८ मा

 

निवेदक  : धनुषा जिल्ला कुलगामा गा.पं.वार्ड नं. ८ बस्ने वर्ष ३५ को दुखी साहू तेली ।

विरुद्ध

विपक्षी   : जिल्ला भूमिसुधार कार्यालय धनुषाका का.मु.भूमिसुधार अधिकारी

विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ

(१) भू.सं.ऐन, २०२१ को संशोधन सहितको दफा २६(१) बमोजिम निवेदकको बाबु मर्दा निज मोहीका नाउँमा नामसारी गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्‍याई भूमिसुधार अधिकारीले निर्णय गरेको पाइन्छ । भूमिसम्बन्धी ऐनको दफा २६(१) को प्रयोग भूमिसुधार अधिकारीले गर्ने नभई जग्गावालाले गर्न पाउने हो, जग्गावालाले प्रयोग गर्न पाउने अधिकार भूमिसुधार अधिकारीले गरेकोबाट उक्त दफाको त्रुटिपूर्ण प्रयोग भएको पाइने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे ।

उल्लिखित मुद्दा : 

आदेश

          न्या. श्री बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन २०३६।६।२९ मा दर्ता भएको रहेछ ।

          २.  रिट निवेदनको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ : म निवेदकका पिता बाल गोविन्द साहुको नाममा दर्ता रहेको जिल्ला धनुषा नगराइन गा.पं.वार्ड नं. ३ को कि.नं. २२५ को ०१८½ कि.नं. १८५ का ०१०½ र कि.नं. २२३ को ०६ समेत गरी जम्मा ३ कठ्ठा पन्ध्र धुर क्षेत्रफल जग्गा बाबुको पालमा र निजको शेष पछि आजसम्म आफैंले जोत कमोद गर्दै आएको र उक्त तीनै कित्ता जग्गा कहिल्यै कसैलाई जोत कमोद गर्न नदिएको तथ्य जग्गाधनी दर्ता प्रमाणपूर्जामा समेत एकलौटी भनी जनिएको छ । उक्त जग्गा मध्ये कि.नं. २२३ र २२५ को जग्गा हामीले कैयांै वर्ष देखि कमाई आएको र उक्त जग्गाको बाली साल सालै बाँडफाँड गर्दै आएकोमा भर्पाई नदिएकोले जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी हुँदै नभएको जोताहा निस्सा पेश गरी मिति ०३५।४।२६ का दिन एउटा संयुक्त निवेदन र मिति ०३५।५।२२ मा कि.नं. १८५ को जग्गा अघिल्लो निवेदनमा छुट भएको भनी सोको समेत प्रमाणपत्र माग गरी विपक्षीहरूको जिल्ला भूमिसुधार कार्यालय धुनषामा निवेदन परेको थियो ।

          ३.  उक्त निवेदनमा कारवाही भई म निवेदकलाई बुझ्दा वादीले दावी लिएको उक्त जग्गा मेरो पिता बाल गोविन्द साहु परलोक हुनु अघि र परलोक भएपछि पिता वा म समेतले कुनै पनि जग्गा कमाउन दिएको छैन दिइएको भएमा विपक्षीहरूसँग कबुलीयत हुनु पर्नेमा कबुलीयत छैन र आफैंले कमाई आएको छु भन्ने निवेदकको भू.सु.का.मा बयान ।

          ४.  विपक्षी लतिक समेतका बाबु दिलजान धोबीले जग्गाधनी बाल गोविन्द जो.अ.नी.प्राप्त गरेको देखि भू.सं.ऐन, २०२१ को दफा २५(१) बमोजिम निज मोही हकप्राप्त मोही कायम भइसकेकोले उल्लिखित कित्ताका जग्गाहरू विपक्षीहरूका बाबु मर्दा भू.सं.ऐनको दफा २६ अन्तर्गत लतिक धोबीका नाममा नामसारी गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्छ भनी प्रत्यर्थी जि.भू.सु.कार्यालय धनुषाका का.मु.भूमिसुधार अधिकारीबाट मिति ०३६।५।२६ मा निर्णय भएको रहेछ ।

          ५.  जिकिर : विपक्षीहरूले मिति ०३५।४।२६ र मिति ०३५।५।२२ मा गरी दुई मितिमा अलगअलग कित्ता जग्गा सम्बन्ध पटकपटक प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा छुट्टाछुट्टै निर्णय गर्नु पर्ने सो नगरी एउटै मिसिल र एउटै निर्णय अ.बं.७२ र १८४(क) १८५ र १८९ नं. हरू विपरीत छ । सर्बे नापीमा नाम जनाउँन नसक्नुको साथै भू.सं ऐन, २०२१ को दफा २५ (२) बमोजिमको मोहीहरूको लागि दफा ३४(१) र (२) बमोजिमको रसीद र कबुलीयतको सम्बन्धमा कहिल्यै नभएको भू.सं.ऐ.को नियमावलीमा अन्तर्गत १ नं. लगत र २ नं. अनुसूचीद्वारा सम्बन्धित नभएको जो.अ.नी.भू.सं.नियम, २०२१ को नियम ९(३) अनुरूप हुने हैन त्यस माथि पनि पेश गरिएको जो.अ.नि.ऐ.नियमको ९(१) अनुरूप प्रमाणपत्र पाउन पूर्वाधार हुन सक्ने छैन । मोहियानी हकअन्य अचल सम्पत्ति झै नामसारी हुन नसक्ने स्पष्ट नै छ । साविक मोही मरेको अवस्थामा निजको पत्नी वा छोराहरू मध्ये कुनै एकलाई रोज्ने अधिकार भू.सं.ऐनको दफा २६(१) ले जग्गाधनीलाई प्रदान गरेको छ । दिल जान धोबी मोही भए रहेको मानेमा पनि निजको मृत्यु भएपछि ऐनको २५(१) ले दिएको रोज्न पाउने अधिकारबाट वञ्चित गरी प्रत्यर्थी भूमिसुधार अधिकारीले कानून विपरीत निर्णय गर्नुभएको छ । यस्तो निर्णयबाट नेपालको संविधानको धारा १०, ११(२) ङ र १५ द्वारा प्रदत्त हकमौलिक हक हनन् गरेकाले उत्प्रेषण लगायत जो चहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी भूमिसुधारको निर्णय बदर गरिपाउँ भन्ने समेत रहेछ ।

          ६.  विपक्षीहरू बाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने मिति ०३६।७।७।४ मा डिभिजन बेञ्चको आदेश ।

          ७.  दिल जानको छोराहरू हामीहरू होइन भन्न र दिल जानले जोताहा निस्सा प्राप्त गरेको कहाँ छ भनी विपक्षीले लेख्न सक्नु भएको छैन, नापीमा मोही महल खाली नै छ हाम्रो बाबु र विपक्षीको बाबुको पनि मृत्यु भएकोले विपक्षीलाई बाली बुझाउँदै आएकोमा स्थायी प्रमाणपत्र नपाएको हुँदा जि.भू.सु.का.मा हाम्रो निवेदन परेको हो । भू.सं.ऐन, ०२१ को दफा २६(१) समेतबाट हामीहरूको नाउँमा मोहियानी दर्ता हुनसक्ने हुँदा मोहियानी हकको स्थायी प्रमाणपत्र पाउनलाई नै नाउँसारी गरी दिने भनिएको भू.सं.ऐनका दफा २५ (२) अन्तर्गतको भन्न मिल्ने पनि होइन ऐ.उपदफा(१) अन्तर्गत हुनाले भूमिसुधार अधिकारीज्यूले गर्नुभएको निर्णयमा कुनैपनि कानूनी त्रुटि नभएकोले रिट निवेदन खारिज गरिपाउँ भन्ने समेत लतिफ धोबी र हलिम धोबीको लिखितजवाफ रहेछ ।

          ८.  उल्लेख भएका तीन कित्तामा वादीले जोत कमोद गरी आएको निजमर्दा छोरा लतिफ धोबीको नाउँमा मिति ०३६।५।२६ को निर्णयबाट मोही ठहरी नामसारी हुन गएको व्यहोरा मिसिलबाट देखिन्छ । वादीले आफ्नो हकभोगको मोहियानी जग्गामा जो.अ.नि.सहित आवश्यक कारवाही निमित्त निवेदन दिएकोमा प्रस्तुत जो.अ.नि.स्थायी प्रमाणपत्र सरह मान्य हुनाको साथै निवेदक वादीको बाबु दिलजान धोबी मरीसकेको र हामी दुवै दाजु भाइले जोती आएकोले मोहियानी नाम सारी गरी प्रमाणपत्र पाउँ भनी लतिक धोबी र हलिम धोबीको मिति ०३५।४।२६ को सनाखत भएको आधारमा नामसारी गरी मोहियानी हकको प्रमाणपत्र दिने ठहराई गरिएको निर्णय कानून अनुकूल नै भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय धनुषाका भूमिसुधार अधिकारीको लिखितजवाफ रहेछ ।

          ९.  तारेखमा रहेका निवेदकको वारेस तेजप्रसाद र विपक्षीको वारेस भोलाप्रसादलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव तथा विपक्षीतर्फका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र विपक्षी भूमिसुधार कार्यालयका तर्फका खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेको समेत बहस सुनी प्रस्तुत रिट निवेदनमा निवेदकको मागबमोजिमको आदेश जारी हुने नहुने के हो भन्ने तर्फ निर्णय दिनु परेको छ ।

          १०. यसमा भू.सं.ऐन, २०२१ को संशोधन सहितको दफा २६(१) बमोजिम निवेदकको बाबु मर्दा निज मोही लतिफ धोबीका नाउँमा नामसारी गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्‍याई भूमिसुधार अधिकारीले ०३६।५।२६।३ मा निर्णय गरेको पाइन्छ । भूमिसम्बन्धी ऐनको दफा २६(१) को प्रयोग भूमिसुधार अधिकारीले गर्ने नभई जग्गावालाले गर्न पाउने हो जग्गावालाले प्रयोग गर्न पाउने अधिकार भूमिसुधार अधिकारीले गरेकोबाट उक्त दफाको त्रुटिपूर्ण प्रयोग भएको पाइन्छ । तसर्थ उत्प्रेषणको आदेश जारी गरी निर्णय बदर गरी दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाई नियमबमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. हेरम्बराज

 

इति सम्वत् २०३८ साल श्रावण १८ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु