शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: भाद्र अंक:

निर्णय नं. १४७३ ने.का.प. २०३८             अङ्क ५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३७ सालको रि.नं. १०५३

आदेश भएको मिति : २०३८।५।१६ मा

निवेदक : महोत्तरी जि.धर्माराभवानीपुर गा.पं. वडा नं. ८ बस्ने सुरेशप्रसाद सिंह राजपुत

विरुद्ध

विपक्षी  : भूमिसुधार अधिकारी प्रेमकुमार वान्तवा भू.सु.का.महोत्तरीसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) पक्षहरूले पेश गरेको प्रमाणहरूको उचित मूल्यांकन गरी भूमिसुधार अधिकारीले निर्णय गर्नुपर्नेमा नगरी गरेको निर्णयमा अ.बं.१८४क. को त्रूटि भएको देखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना

विपक्षतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

आदेश

        न्या. बासुदेव शर्मा :    नेपालको सम्बिधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी मिति ०३७।६।८।४ मा रिट निवेदन दर्ता हुन आएको रहेछ ।

        २.  रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : हाल सर्वे नापीमा कायम भएको महोत्तरी जिल्ला धमौरा भवानीपुर गा.प.वडा नं. ९ कि.नं. १६७ जग्गा विगाहा ५१२१७ समेतका जग्गाहरू साविक देखि नै दर्तावाला म निवेदक रही आफ्ना श्रम परिश्रमले उपभोग गर्दै आएको छु । भूमिसम्बन्धी ऐन, २०२१ र नियमावली, ०२१ लागू भएपछि नियमावलीको नियम ३ ले निर्दिष्ट गरे अनुसार म निवेदक जग्गाधनिले जग्गाधनि र जोताहा रहेको अनुकूलको कार्यविधि पुरा गरेको र नियमावलीको परिच्छेद २ अन्तर्गतको कार्यविधि सुसम्पन्न भई मैले जग्गाधनी र जोताहाको हैसियतमा ४ नं. जोताहाको अस्थायी निस्सा समेत मिति ०२३।८।९ गतेमा प्राप्त गरेको छु । २०२४ सालमा सर्वे नापी हुँदा म निवेदक जग्गाधनी र जोताहा रहेकै कुरा उल्लेख भई सर्भे नापी भएको र तदनुकुल जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेको थिए । म निवेदक स्वयंम जग्गाधनी र जोताहा रहेको कुरा निवेदनको अद्यापी सम्मको जोताहा जोत भोगको सबै निवेदकले प्राप्त गरेको ५ नं. जो.अ.नी.र जग्गाधनी र दर्ता प्रमाणपूर्जा यसमा निवेदक जोताहा रहेको भनी जनिएकोले निर्विवाद तुल्याएको छ । विपक्षीले लुटपिट गर्दै आएकोमा विपक्षी उपर लुटपिट मुद्दा चल्दै छ । यसै बीच शंकर मल्लले जग्गाधनी नै नरहेको व्यक्तिको जग्गाको र मोहीमा कमाउन लिएको ०१४० जग्गा हाल कि.नं. १६७ मा कायम भई नापी भएकोले कि.नं. १६७ को ५१२१७ मध्ये ०१४० जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षी कार्यालयमा निवेदन दिएको रहेछ ।

        ३.  विपक्षी मोही नभई म स्वयं जग्गाधनि तथा जोताहा रहेको कुरा प्रष्ट हुँदा हुँदै घरमुनीको हैसियतले जग्गाधनि कामेश्वर सिंहको नाउँबाट प्रमाण लिएको र सो प्रमाण उपर उजूर बाजुर नगरी स्वीकार गरी बसेको एवं वीरबहादुर समेत उपर वेदलखली फैसला भएको हुँदा साविकमा वीरबहादुर सिंहका नाउँमा दर्ता भएको कि.नं. १६७ को ५१२१७ मध्ये निवेदकको माग दावी अनुसार ०१४० जग्गाको मोहियानी हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भनी मिति ०३७।२।१६।२ मा विपक्षी भूमिसुधार कार्यालय महोत्तरीबाट भएको निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ ।

        ४.  जिकिर : म निवेदक साविक र हाल दुवै अवस्थामा जग्गा र जोताहा स्वयं रहेको कुरा साविक श्रेस्ता भूमिसम्बन्धी ऐन, ०२१ र नियमावली ०२१ लागू हुँदा नियम ३ अनुसार जग्गाधनि र जोताहाको हैसियतले भरेको १ नं. लगत तथा प्रत्यर्थी कार्यालयबाट मिति ०२३।८।९ गते प्राप्त गरेको ४ नं. जोताहाको अस्थायी निस्सा र हाल सर्भे नापी हुँदा जोताहा निवेदक रहेको समेत जनाई भएको नाप नक्सा तथा तदअनुकूल तत्कालिन प्रत्यर्थी कार्यालय भूमिप्रशासनबाट प्राप्त गराएको जग्गाधनि र जोताहा रहदै आएकोमा जग्गाधनि नै नरहेको व्यक्ति कामेश्वर वीरबहादुरलाई साविकका जग्गाधनी कायम गरी जोताहा नै नरहेको व्यक्ति प्रत्यर्थीलाई मोही रहेको ठहर्‍याई प्रत्यर्थी अधिकारीले गरेको निर्णय ऐनको दफा २ क २५(१) तथा नियम ३,,७ र ९ अ.बं.१८४(क) १८५ र १८६ को प्रतिकूल छ विपक्षीको त्रुटिपूर्ण निर्णयले संवैधानिक र कानून हकसमेत हनन् भएको संविधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदनको जिकिर रहेछ ।

        ५.  विपक्षीहरू बाट लिखितजवाफ झिकाई नियमबमोजिम पेश गर्नु भनी मिति ०३७।७।१४।५ मा सिंगल बेञ्चको आदेश भएको रहेछ ।

        ६.  विपक्षी जग्गाधनी सुरेशप्रसाद सिंहको सगोलका काका वीरबहादुर सिंहको नाउँबाट १ नं. लगत भरिएको र २ नं. लगत प्रकाशित भएको श्रेस्ताबाट देखिन्छ । म्यादभित्र कसैको उजूर परेको छैन । जग्गा एकै भएकोले सोमा कुनै मोही नभए उजूर गरी विपक्षी जग्गाधनिले लगत बदर गराउनु पर्ने हो । म्यादभित्र ४ नं. जो.अ.नि.प्राप्त गरी सकेको जग्गा जोती रहेको कायमी मोहीलाई मोही होइन भन्ने विपक्षीको जिकिर थियो । एवं निराधार हो । यस कार्यालयबाट मिति ०३७।२।१६ मा भएको निर्णय कानूनसंगत रिट निवेदन भएकोले खारिज गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी भूमिसुधार कार्यालय महोत्तरीको लिखितजवाफ रहेछ ।

        ७.  उल्लिखित जग्गामा साविक देखि नै मोहियानीमा कमाउँदै आएको हो विपक्षीका एकासगोलका दाजु कामेश्वर सिंहको नाम जग्गावालाको रूपमा भएको उक्त ०१४० जग्गाको जो.अ.नि.प्राप्त गरेको थिए कामेश्वरले उक्त जग्गा जोत्न हटक गरी दिएकोमा विपक्षीले उजूर गरेको थिए मिति ०३७।४।३२ मा मेरो मोहीयानी हकछ भन्ने स्वीकार गर्दै कामेश्वर हटक गरेको ठहर तत्कालिन भू.सु.काबाट भएको थियो । ०२७ सालको फैसला पछि मात्र विपक्षको नाउँमा दर्ता हुन आएकोले सो फैसलालाई चुनौती हकदैया नै छैन विपक्षीले म समेत उपर दिएका निशेध आज्ञा र लुटपिट मुद्दामा दावी नठहरी अदालतबाट फैसला भइरहेको छ रिट निवेदनमा कुनै पनि आधारभूत जिकिर तथ्य विद्यमान नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी शंकर मण्डल धानुकको लिखित रहेछ ।

        ८.  जि.भू.सु.का.महोत्तरीको सोधनी सम्बन्धमा सही जवाफ दिएको हुँ उक्त विवाद स्पष्ट जग्गा अध्यावदी मोही शंकर मण्डलले कमाएको हुँदा व्यहोरा सादर अनुरोध गर्दछु भन्ने समेतको विपक्षी प्र.पं.रविविक्रम शाहको लिखितजवाफ रहेछ ।

        ९.  निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विपक्षी शंकर मण्डलको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विपक्ष कार्यालयका तर्फबाट खटिउपस्थित हुनुभएका विद्वान वरिष्ठसरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायको बहसहरू समेत सुनी विचार गर्दा रिट निवेदकको मागबमोजिमको आदेश जारी हुने हो होइन भनी निर्णय दिनु परेको छ ।

        १०. यसमा पक्षहरूले पेश गरेको प्रमाणहरूको उचित मूल्यांकन गरी भूमिसुधार अधिकारीले निर्णय गर्नु पर्नेमा नगरी गरेको निर्णयमा अ.बं.१८४ क.को त्रुटि भएको देखिन्छ । तसर्थ उक्त निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । पुनः कानूनबमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश समेत दिने ठहर्छ विपक्षीको जानकारीको लागि महान्यायाधिवक्ताको कार्यालय मार्फत यो आदेशको एकप्रति पठाई नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् ०३८ साल भाद्र १६ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु