निर्णय नं. ३४६ - परमादेशको आदेश जारी गरी पाउँ

निर्णय नं. ३४६ ने.का.प. २०३
डिभिजन बेञ्च
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री लोकराज जोशी
२०२२ सालको रीट नम्बर २०२
निवेदक : बद्रिबहादुर खडका क्षत्री
विरुद्ध
विपक्षी : बाग्मती अञ्चलाधीश, बाग्मती अन्चालाधीशको अफिस
मुद्दा : परमादेशको आदेश जारी गरी पाउँ
(१) हातहतियार खरखजान ऐन, २०१९ को दफा १० (१) र (२)–दफा १० (१) बमोजिम तोकिएको दस्तुर र ढाँचामा दर्खास्त दिनु पर्ने । दफा १० (२) अन्तर्गत अधिकारीले जाँच बुझ गरी मनासिव ठहराए लाईसेन्स दिन सक्ने । दरखास्त पर्ना साथै लाइसेन्स दिनै पर्छ भनी उक्त ऐन दफाले अधिकारीलाई बाध्य गराएको नदेखिने । ऐन कानूनले बाध्य नगराएको काम कुरामा परमादेशको रीट जारी गर्न नमिल्ने । हातहतियार खरखजाना ऐन, ०१९ को दफा १० (१) मा कुनै व्यक्तिले यो ऐन अन्तर्गत लाइसेन्स लिनाको निमित्त तोकिएको दस्तुर र तोकिएको ढाँचाको दर्खास्त स्थानीय वडाहाकिम छेउ दिनुपर्छ (२) उप दफा (१) अन्तर्गत कसैको दर्खास्त दाखिल भए पछि स्थानीय वडाहाकिमले तोकिएबमोजिमको आवश्यक जाँच बुझ गरी हेर्दा, दर्खास्तमा लेखिएबमोजिम काम गर्न पाउने गरी लाइसेन्स दिन मनासिव सम्झेमा तोकिएको बमोजिमको शर्त बन्देज राखी दखास्तवालाले तोकिएको ढाँचाको लाइसेन्स दिन सक्नेछ भन्ने समेत उल्लेख भएको देखिन्छ । उक्त ऐनबमोजिम जाँच बुझ गर्न विपक्षीलाई अधिकार प्राप्त भएको र निजले लाइसेन्स दिन मनासिव सम्झेमा तोकिएको ढाँचामा लाइसेन्स दिन सक्ने व्यवस्था नगरेको देखिन्छ । लाइसेन्समा नामसार गरी पाउँ भन्ने दर्खास्त पर्नासाथ लाईसेन्स दिनै पर्छ भन्ने उक्त ऐनले बाध्यता गरेको नदेखिएकोले ऐनले जुन कुरा गर्नको लागि बाध्यता गरेको छैन सो कुरा गरी दिनु भनी परमादेशको रीट जारी गरी पाउँ भन्ने निवेदकको लेखाई मनासिव नदेखिएकोले यो निवेदन खारेज हुने ठहर्छ ।
(प्रकरण नं. २)
आदेश
१. मानबहादुर सिंहले मबाट रूपैया ०१९।९।६ गते नं.१५६७४ बारे ४०१ को राइफल मेरो नाउँमा बिक्री छोडपत्र गरी दिई सोहि अनुसारको कागज गरी मजिष्ट्रेट समक्ष लेखी दिएको थियो । साविक मुलुकी ऐन अ.बं.३४ र हालको अ.बं.२४ नं.समेतले सो कागज सदर हुन्छ भन्ने कानूनी मान्यता भएको हात–हतियार खर–खजाना ऐन, २०१९ को दफा ३ (२) अनुसार पनि स्थानीय हाकिम छेउ सूचना दिई बिक्री गरी दिन सकिने आदि व्यवस्था भएको । यस प्रकार सरकारी अड्डा समक्ष मलाई राजिनामा छोडपत्र गरी दिई सकेपछि अन्य कुरामा विचार गर्न नपर्ने र सो अनुसार मेरो नाउँमा लाइसेन्स पाउने अनुरोध गर्दै आईरहेको थिए र निज मानबहादुरले मलाई र श्री ब्रम्ह सम्शेरलाई बिक्री छोडपत्र गरी दिएकोले दुबैको संयुक्त निवेदन परेको थियो र मानबहादुरले राजिनामा गरी दिई सकेको हुँदा मानबहादुरलाई पुनः बुझी रहन नपर्ने त्यस्तोमा उक्त तेरो मेरोको प्रश्न समावेश भएको नभई हातहतियार ऐन, २०१९ मा लेखिएको कानूनी अख्तियार प्रयोग गरी मेरो नाउँमा नाउँसारी गरी दिने कानूनी कारवाही चलाउनु पर्नेमा सो अनुसार नचलाई बुझ्नु नपर्ने व्यक्ति मानबहादुर सिंलाई बुझी निजबुझिंदा निजको नाउँको बन्दुक नामसारी गरिदिन बेमञ्जुरी कागज गरी दिएकोले निवेदन तामेलीमा रहेको व्यहोरा सूचित गरेको हुँदा एकपटक मञ्जुरी भई राजिनामाको लिखत लेखी अफिसमा दाखेल गरेपछि फेरी मञ्जुरी बेमञ्जुरी भन्ने प्रश्न उठ्न नसक्ने हुँदा निवेदन गर्दैछु हातहतियार ऐन अनुसार कारवाही गर्नुपर्ने सो कर्तव्य गर्न वेमञ्जुरीको कुरा उठाई इन्कार गर्नु भएको र सो कर्तव्य गर्न लगाउन कानूनमा अर्को कुनै उपाए नभएकोले नेपालको संविधान धारा ७१ को अख्तियार प्रयोग गरी हातहतियार ऐन अनुसार आ–आफ्नो कानूनी कर्तव्य गर्नु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्ने निवेदन ।
२. यसमा निवेदक बद्रिबहादुरलाई राखी पेश हुन आएको प्रस्तुत विषयमा निर्णयतर्फ विचार गर्दा, मानबहादुरसँग राजिनामा गरी लिएको बन्दुक विपक्षी बाग्मती अञ्चलाधीशले सो बन्दुक मेरो नाउँमा नामसारी गरी लाइसेन्स नदिएकोले हातहतियार ऐन, २०१९ अनुसार आफ्नो कानूनी कर्तव्य गर्न भनी विपक्षी अञ्चलाधीशका नाउँमा परमादेशको रीट जारी गरी पाउँ भन्ने निवेदकको मुख्य माग भएको त्यसतर्फ हेरेमा हातहतियार खरखजाना ऐन, ०१९ को दफा १० मा (१) कुनै व्यक्तिले यो ऐन अन्तर्गत लाइसेन्स लिनाको निमित्त तोकिएको दस्तुर र तोकिएको ढाँचाको दरखास्त स्थानीय वडाहाकिम छेउ दिनुपर्छ (२) उपदफा (१) अन्तर्गत कसैको दरखास्त दाखिल भएपछि स्थानीय वडाहाकिमले तोकिएबमोजिमको आवश्यक जाँच बुझगरी हेर्दा, दरखास्तमा लेखिए बमोजिम काम गर्न पाउने गरी लाइसेन्स दिन मनासिव सम्झेमा तोकिएबमोजिमको शर्तबन्देज राखी दरखास्तवालाले तोकिएको ढाँचाको लाइसेन्स दिन सक्ने छ भन्ने समेत उल्लेख भएको देखिन्छ । उक्त ऐनबमोजिम जाँचबुझ गर्न विपक्षीलाई अधिकार प्राप्त भएको र निजले लाइसेन्स दिन मनासिव सम्झेमा तोकिएको ढाँचामा लाइसेन्स दिन सक्ने व्यवस्था ऐनले गरेको देखिन्छ । लाइसेन्समा नामसारी गरी पाउँ भन्ने दरखास्त पर्नासाथ लाइसेन्स दिनै पर्छ भन्ने उक्त ऐनले बाध्यता गरेको नदेखिएकाले ऐनले जुन कुरा गर्नको लागि बाध्यता गरेको छैन । सो कुरा गरी दिनु भनी परमादेशको रीट जारी गरी पाउँ भन्ने निवेदकको लेखाई मनासिव नदेखिएकोले यो निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम बुझाई दिनु ।
इति सम्वत् २०२३ साल बैशाख १३ गते रोज २ शुभम् ।