निर्णय नं. १४७६ - ज्यान

निर्णय नं. १४७६ ने.का.प. २०३८ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३७ सालको फौ.सा.नं. ८८
फैसला भएको मिति : ०३८।५।५ मा
निवेदक : श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : जि. बारा झिटकया पञ्चायत वार्ड ३ मा बस्ने शान्ति गोसाई सरमेगीनी
मुद्दा : ज्यान
(१) इनारमा डुबी मरेको बालक प्रतिवादीकै हो भन्ने कुरा वादीबाट प्रमाणित हुन नसकेकोले प्रमाणको अभावमा प्रतिवादीले आफ्नो छोरीलाई इनारमा डुबाई कर्तव्य गरी मारेको होला भन्न सकिने अवस्था नहुने ।
(प्रकरण नं. १५)
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा साधक निकाशाको लागि साधकको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसार छ ।
२. भवानीपुर पञ्च वार्ड नं. ७ औथापुर चौरमा भएको इनामा बच्चा डुबी मरेको लाश इनारमै हुँदा कानूनबमोजिम होस् भन्ने समेत चौरमा हजाराको ०३१।७।२१ को दर्खास्त ।
३. पानीमा डबुी स्वासप्रश्वास बन्द भई मर्नगएको देखिन्छ भन्नेसमेत ०३१।७।२१ को लास जाँच प्रतिवेदन ।
४. दुखि सरमंगीको स्वास्नी शान्ति सरमंगनीले लोग्नेले बच्चालाई राख्दीन भनी निकालिदिएबाट छोरीलाई इनारमा डुबाई मारेको पत्ता लागेको भन्ने समेत हे.क.विष्णुप्रसाद भट्टको ०३७।७।२४ को प्रतिवेदन ।
५. लोग्ने चोरी मुद्दामा जेल थुनामा भएको भिख मागी हिंड्दा र सरमंगीहरूको संसर्गबाट गर्भ रहन गई लोग्ने जेलबाट छुटकारा भई आएपछि पञ्चको सहयोगले लोग्नेले मञ्जूर गरी घरमा बसेको ०३० साल पौष महीनामा छोरी जन्मेकीले छोरी जस्को हो उसलाई जिम्मा लगाई आऊ भनी घरबाट निकाली दिएकीले १०।११ महीनाको शारदा नामकी छोरीलाई इनारमा रातको १२ बजेतिर खसाली डुबाई ज्यान मारेकी हुँ भन्ने समेत प्रतिवादी गोसाई सरमंगनीले प्रहरीमा गरेको बयान ।
६. स्वास्नीले अर्काको गर्भ बोकी आएकोबाट छोरी जन्मेकीले जसकोबाट जन्मेको हो उसैलाई बुझाएर आएपछि मात्र राख्छु भनी निकाली दिएको पछि स्वास्नी खाली घर फर्केकीले राखेको पछि प्रहरीले इनारबाट लास बरामत गरेको र सो कुरा गाउँमा चर्चा भई स्वास्नीलाई समाती लगेकोले मेरो स्वास्नी कर्तव्य गरी मारेको यकिन भयो भन्ने समेत दुखि सरमंगको प्रहरीमा भएको बयान ।
७. बालिकाको इनारमा डुबी मरेको लास प्रहरीले निकाली राखेको देखेका हौ निज शान्ति सरमंगनीलाई नचिन्हेको हुँदा के कारणबाट मारेको हो निजै जानोस भन्ने समेत सरजमीन मुचुल्का ।
८. अभियुक्त शान्ति सरमंगनीले शारदा नाबालक छोरीलाई कर्तव्य गरी ज्यान मारेको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीका १३।३ नं. बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत स.स.अ.र प्रहरीको प्रतिवेदन ।
९. मैले आफ्नो नाबालक छोरीलाई इनारमा डुबाई मारेको होइन शारदा नाम गरेकी ६–७ वर्षकी छोरी आफ्नो बाबु दुखि गोसाइको साथ घरमा छ । मर्ने बच्चा मेरो होइन । मर्ने छोरी मेरै हो मैले इनारमा डुबाई मारेको हुँ भन्ने भनी प्रहरीले मलाई भनेको मर्ने छोरी मेरो होइन । प्रहरीले कागज नसुनाई सहि गराई लिएका हुन भन्ने प्र.शान्ति सरमंगनीको अदालतमा भएको बयान ।
१०. म चोरी मुद्दामा थुनामा थिए मेरो पत्नी शान्ति देवीले गर्या गोसाईसँग सम्बन्ध कायम गरी निजको विर्यबाट गर्भ बोकी १ वर्षको शान्ति नाम गरेकी छोरी भएको र मसँग सम्बन्ध कायम गर्न छोरी समेत लिई आएकी मैले नमानी पत्नी शान्ति देवी भन्ने पार्वती देवीलाई घरबाट निकाली दिएको २–३ दिनभित्र इनारमा डुबाई मारेको कुरा पछि थाहा भएको हो । मेरो विर्यबाट कान्ती नाम गरेकी छोरी १ गयाको विर्यबाट शान्ति नाम गरेको १ छोरी समेत थियो भन्ने समेत दुखि गोसाईले अदालतमा गरेको बयान ।
११. प्रतिवादी शान्ति गोसाई सरभंगनीले छोरी शारदालाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार कर्तव्य गरी मारेको ठहर्ने हुँदा सर्वश्व सहित जन्मकैद हुन्छ भन्ने समेत बारा जिल्ला अदालतको जाहेरी फैसला ।
१२. बारा जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३५।१२।१० को जाहेरी फैसला ।
१३. बेवारिसी लास भनी मुचुल्का भएपछि तथ्य साथ बुझिएको हेड कन्स्टेबलको प्रतिवेदनको आाधारमा कारवाई चलाएको भएपनि निजले अपराध गरेको भन्ने सबूत मिसिलमा नदेखिएकोले निजलाई सफाई दिनु परी उल्टीमा अ.बं.२०२ नं. बमोजिम श्री ५ को सरकारको वकिल उपस्थित हुनु भनी सूचना पठाई दिने भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।३।१७ को आदेश ।
१४. बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले गर्नुभएको बहस समेत सुनियो । प्रस्तुत मुद्दामा म.क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन हेरी साधक निकास दिनु परेको छ ।
१५. यसमा साधक निकाशातर्फ हेर्दा प्रथम कारवाही हुँदाका अवस्था वेवारिस लाश भन्ने भई कारवाई चलेको र लास सदगत भएपछि तथ्यसाथ बुझिएको हेडकन्स्टेवलको प्रतिवेदनको आधारमा चलाएको देखिन्छ । प्रहरीमा कुटपिट गरी सावित गराएको हो भनी कर्तव्य गरेमा इन्कारी भई प्रतिवादी शान्ति गोसाईले अदालतमा बयान गरेको देखियो । त्यसबाट प्रहरीमा गराएको कागज निजको इच्छा विरुद्ध गराएको भन्ने बयानबाट देखिन्छ । मर्ने बच्चा मेरो होइन कस्को हो थाहा छैन भनी प्रतिवादीले बयान गरेकी छ । सो इनारमा डुबी मर्ने बच्चा प्रतिवादी कै हो भन्ने कुराको कुनै आधार प्रमाण देखिँदैन । बुझिएका सरजमिनहरूले पनि प्रतिवादी हाम्रो गाउँको नभएकोले चिन्हेका थिएनौं, निजले आफ्नो बालिकालाई मारेकी भन्ने सम्म मैले सुनेको भन्ने लेखी दिएको पाइन्छ । प्रतिवादीको लोग्ने दुखि गोसाई सरभंगले मेरी पत्नी शान्तीदेवीले गया गोसाईसँगको सम्बन्धबाट भएको छोरी लिई आएकीले निकाली दिएको २–३ दिनभित्र इनारमा डुबाई मारेको कुरा पछि मलाई थाहा भएको हो भनी बयान गरेको छ, सो मरेको बालकलाई पहिचान गरी प्रतिवादीले जन्माएको सो इनारमा डुबी मरेको बालक नै हो भनी किटान गरेको देखिँदैन । लास सनाखत हुन सकेको पनि देखिएन । सो इनारमा डुबी मरेकी बालक प्रतिवादी शान्ति गोसाई सरभंगनी कै हो भन्ने कुरा वादीबाट प्रमाणित हुन नसकेकोले प्रमाणको अभावमा प्रतिवादीले आफ्नो छोरीलाई इनारमा डुबाई कर्तव्य गरी मारेको होला भन्न सकिने अवस्था नहुँदा निज प्रतिवादी शान्ती गोसाई सरभंगनीले सफाई पाउने ठहर्छ ।
१६. अभियुक्त शान्ती गोसाईलाई ज्यान सम्बन्धीका १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरी बारा जिल्ला अदालतले गरेको इन्साफ मनासिव गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहराई जाहेर गरेको फैसला मिलेको देखिएन । प्र.शान्ति गोसाई सरभंगनीले शुरू बारा जि.अ.अ.०३२।३।१७ का फैसलाले ज्यान सम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैद गर्ने गरेकोमा सो बमोजिम गर्नु पर्दैन उक्त लगत काटी दिनु भनी बारा जि.अ.मा लेखी पठाउन काठमाडौं जि.अ.मा लगत र मुद्दा निर्णय भएको सूचना प्रतिवादीलाई दिई मिसिल नियमबमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०३८ साल भाद्र ५ गते रोज ६ शुभम् ।