शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५१ - घरबाट उठाई पाउँ

भाग: साल: २०२३ महिना: बैशाख अंक:

निर्णय नं. ३५१            ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री हेरम्वराज

न्यायाधीश श्री लोकराज जोशी

२०२२ सालको दे.फु.नं.१४४

निवेदक      : टुंगकुमारी थपेनी क्षेत्रीनी

विरुद्ध

विपक्षी : यज्ञबहादुर विष्ट क्षेत्री समेत

मुद्दा : घरबाट उठाई पाउँ

(१)   फैसलाबाट मात्र हक प्रदान गरेको नभई दान दातव्यको ४ नं.र अपुतालीको २ नं.बमोजिम अधिकार भएकोमा र जुनजुन अवस्थामा जे जसले जस्तो अन्याय गर्छ, सो हटाउन नालेस दिनु अघि पछि फिराद परेको भनी र एक मुद्दाको रूप विचारगरी अर्को मुद्दा उठाएको भन्न नमिल्ने ।

            एक मुद्दाको रूप विचार गरी अर्को मुद्दा उठाएको भन्ने प्रश्न उठाउन हुँदैन । आफू बेहकमा लिए बसेको घर समेतका सम्पत्तिहरू तत्कालैमा प्रतिवादीले छोड्नु पर्ने थियो, नछाडेको कुरा नै विवादको तथ्य हो । हक कायम हुने वादी उपर प्रतिवादीहरूले जुनजुन अवस्थामा जेजे मा अन्याय गर्छन, सो कुरा हटाउन निमित्त वादीले नालेस गर्न आएको देखिन्छ । वादीका आमाको शेष पछि ऐनले वादीको हक हुन्छ । सोहि कुरा फैसलाले कायम राखेको हो । कुनै अधिकार जुनजुन श्रोतबाट हस्तान्तरण भएको हो, ती अधिकार पाएको हो होइन ? अदालतबाट प्रमाणित भएको देखिन्छ । अदालतबाट फैसला गरेर मात्र वादीलाई हक प्रदान गरेको हो । आमाको शेषपछि तत्कालिन दान दातव्यको ४ नं.र अपुतालीको २ नं.ले वादीको अधिकार भएको हो । त्यसको हक पाउने गरी पहिले डिभिजन बेञ्चबाट फैसला भएको हुनाले सो फैसला गर्दा अघि वा पछि फिराद परेकोमा केहि अन्तर हुदैन ।

(प्रकरण नं. १४)

(२)   मिसिल सामेल रहेको ०१९।८।१७।१ को नक्सा मुचुल्कामा वादीले दावी गरेको मध्ये आधी दक्षिणतर्फको भागमा आधा केशवप्रसाद बसेको घर भनी र आधा उत्तरतर्फकोमा हाल झगडा परेको घर भनी जनिएको हुनाले नन्दकुमारीको अपुतालीमा आधा र पेवामा जम्मै पाउने वादीको हक कायम हुन्छ । आफूले पाउने चिज खुलाई नालेस गर्नु भनी वादीलाई सुनाइ दिने भन्ने समेत माथि उल्लेख गरिएको ०१९।२।१९ को डिभिजन बेञ्चको फैसला हुँदा पहिलेको यो उजुर भए पनि फैसला प्रतिकूल पर्ने केहि नदेखिने समेत हुँदा र प्रेमकुमारीले केशवप्रसादलाई गरी दिएको माथि उल्लेख गरिएको ०५।९।१४।३ को लिखतमा सुव्बा देवीध्वज स्वयं साक्षी बसेको देखिएबाट माथि लेखिएबमोजिम जग्गा मेरो हकको भन्ने समेत क.प.उत्तमबहादुरको घर जग्गा देवी ध्वजका हकको भई हामीले भोग चलन गरी आएका छौं भन्ने समेत यज्ञबहादुरको जिकीर पुग्न नसक्ने र प्र.पूर्ण मगरले पनि इन्कारै गर्न नसकेको समेत हुनाले वादीहरूले उठी छाडी दिनु पर्नेमा वादी दावीबमोजिम उठी खाली गरी नदिएकै ठहर्छ ।

 (प्रकरण नं. १५)

निवेदक तर्फबाट : प्लि.कुलराज

फैसला

      १.     आमा नन्दकुमारी सौतेनी आमा प्रेमकुमारीलाई बाजे कृष्णकुमारी, जेठी आमा नैनकुमारीले आफ्नो धन सर्वश्व बकस लेखी दिनु भएकोले सो बकस मध्येको २७।१३। को ५ कवले २ नाले भुई तला समेत ४ तला भएको पक्की घर र त्यसले चर्केको बगैचा बारी मध्ये आधी दक्षिण तर्फबाट आमा प्रेमकुमारीको पर सारी आमा सुबेनी नन्दकुमारीको भाग उत्तरतर्फको आधी हो भन्ने कुरा यज्ञबहादुर, केशवराजको घर चलन चलाई पाउँ भन्ने मुद्दामा ०१६।३।२९ को रा.का.दे.दो.को फैसलाबाट देखिएको छ । आमा नन्दकुमारीको भाग जति मैले पाई ०१७।१।१३।२ मा जि.अ.तेस्राबाट अन्तिम फैसला भएको छँदाछदै मेरी आमाको मैले पाउने भएको घर जग्गाबाट उठी खाली गरी नदिएकोले सो घरबाट उठाई पाउँ । तवेला घरमा पूर्ण मगर बसेको खाली गर भन्दा नमानेकाले निजलाई पनि उठाई पाउँ भन्ने समेत ०१७।१०।१३।१ को टुंगकुमारी थपेनीको वा.कृष्णमान श्रेष्ठको फिरादपत्र ।

      २.    प्रतिवादीहरूले म्याद गुजारेको र रा.का.दे.दो.बाट ०१६।३।२९ मा भएको फैसला समेतका प्रमाणबाट वादी दावीको घर तवेलाबाट प्रतिवादीहरूले उठी दिनु पर्ने ठहर्छ भन्ने समेत ०१८।३।९।६ को ई.अ.देवानीको फैसला ।

      ३.    जग्गा दर्तावाला दाजु क.प.सोमबहादुर विष्ट र जेठी आमा पूर्णकुमारीले उक्त घर भएको समेत जग्गा ०१६।२।१५।६ मा छोडपत्र राजिनामा गरी दिएको लिखत पास गरी पाउने ल.पु.ई.अ.मा मैले नालेस दिएको दायर छ । जग्गा मेरो हो । वादीले त्यस जग्गाको मोहियानी कुत बुझाउने कुरै छैन भन्ने समेत क.प.उत्तमबहादुर विष्टको वा तेजबहादुर गुभाजुको ०१८।५।३०।६ को प्रतिवादी सरहको अपीलपत्र ।

      ४.    वादी दावीको घर जग्गा देवध्वजको हक भई हामीले भोग चलन गरी आएका छौं । अपुतालीका २५ नं.को म्याद भित्र उजुरी दिन नसकेको र जिल्ला अदालतको फैसलालालाई अन्तिम भनी त्यसैको आधार समेत देखाई उजुर गर्ने जिल्ला अदालत उपर अपील पनि गर्ने गरेको यसरी वादीको उजुरै लाग्न नसक्ने भन्ने समेत ०१८।७।२३।४ को यज्ञबहादुरको वा.कुबेरबहादुर गुरुङको प्रतिवादी सरहको अपीलपत्र ।

      ५.    वादीको सौतेनी आमा प्रेमकुमारीको हकको केशवप्रसादले खरिद गरी लिएको सो सरहकै वादीकै आमा नन्दकुमारीको र नक्सा भई आएकोमा वादीले दावी गरेको चौहद्धी भित्रमा तवेला समेत देखदा घर र तवेलाबाट उठन पर्ने ठहराएको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत ०१९।८।२९।३ को का.जि.अ.दो को फैसला ।

      ६.    मुद्दामा परेको घर मेरो प्रतिउत्तर सरहको पहिलो अपीलमा दर्ता पोत तिरो लागेको बिर्ता जग्गामा सो घर बनेका सबुद पेश गरेको स्पष्ट रहकोबाट म दर्तावाला जग्गा धनीको फार्छे राजिनामा गराई नलिएको आफ्ना नाउँमा दर्ता भई तिरो भरो गरेकोछु भनी सबुद गुजार्न नसकेको हुनाले रजिष्ट्रेशनका ७ नं.जग्गा मिच्नेका १४।१५ नं.समेतले वादीको हकै नपुग्नेमा चलन चलाई दिने फैसला हुँदा चित्त बुझेन भन्ने समेत ०२०।१।९ को क.प.उत्तमबहादुरको ०१७।१।१२।२ को जिल्ला अदालतको फैसलाले मेरी आमाको भाग जति मैले पाई अन्तिम फैसला भएको । सो फैसला भएको घर जग्गाबाट निजहरूले उठी गई खाली नगरी दिएकोले सो घर जग्गाबाट उठाई पाउँ भन्ने वादीको दावी भएको । सो फैसला उपर निजै वादीले अपील गर्दा सर्वोच्च अदालतबाट १९।२।१९।६ मा बकस पेवा अपुताली पाउने हक वादीको कायम हुन्छ । यति चिज दिलाई भराई पाउँ भन्ने वादी दावी नभई तायदाती लिई हक कायम गरी पाउँ भन्ने उजुरी हुँदा आफूले पाउने चिज यो यति भनी खुलाई उजुर गर्नु भन्ने फैसला भएपछि म्याद भित्र उजुर गरी आफ्नो दावी खम्वीर गराउन पर्ने सो हुनु भन्दा अगावैको यो छुट्टै उजुरी हुँदा लाग्नै नसक्नेमा उल्टै बिना सबुद प्रमाण वादीको घर ठहराई घरबाट उठन पर्ने ठहराई गरेको इन्साफ कानूनसंगत भएन भन्ने समेत ०२०।६।२२।४ को यज्ञबहादुर विष्टको वा. कुवेरबहादुर गुरुङको अपीलपत्र ।

      ७.    वादी टुंगकुमारीले वादीमा प्रमाण दिएको केशवप्रसाद उपाध्यायको र यज्ञबहादुर विष्ट क्षेत्रीको घरबाट उठाई पाउँ भन्ने मुद्दा रा.का.दे.दो.बाट ०१६।३।१९।२ मा फैसला भएको मिसिल झिकाई आए पछि पेश गर्नु भन्ने ०२०।८।११।४ को डिभिजन बेञ्चको आदेश ।

      ८.    ०१९ साल जेष्ठ १९ गतेको डिभिजन बेञ्चको फैसलाबमोजिम नन्दकुमारीको अपुतालीबाट वादीको हक हुने जति कुरामा कुन कुन कति हो ? खुलाई नालेस दिई त्यसमा आफ्नो हक कायम गराउनु भन्ने भएको । सोबमोजिम यो झगडा परेको घरमा आफ्नो हक कायम गराई सकेको नदेखिएबाट हक कायम भई नसकेको घरबाट हालै प्रतिवादीहरूलाई चलन चलाई पाउँ भन्ने वादी जिकीर युक्ती संगत नदेखिएकाले वादीलाई राखी छलफल गर्नुपर्ने भएकाले वादी टुंगकुमारीलाई छलफलको निमित्त अ.बं.२०२ स.अ.नियमबमोजिम नोटिस दिई काम तामेल भए पछि पेश गर्नु भन्ने ०२०।११।११।१ को डिभिजन बेञ्चको आदेश ।

      ९.    आमा चन्द्रकुमारीको भाग जति मैले पाई ०१७।१।१३।२ मा सदर जिल्ला अदालत तेस्राफाँटबाट अन्तिम फैसला भएको । निजै यज्ञबहादुर विष्ट क्षेत्री र निज नन्दकुमारी विष्टनीसँग मेरो हक कायम गराई पाउँ भन्ने मुद्दाको मिसिल फैसलाबाट देखिएको छँदाछदै मेरो आमाको मैले पाउने गरी फैसला भएको घर जग्गाबाट निजहरूले उठी गई खाली गरी दिनु पर्ने भन्ने समेत वादीले दावी दिई ०१७।१०।१३।५ मा यो फिराद परेको र जिल्ला अदालबाट अन्तिम फैसला भएको भनी वादीले उल्लेख गरिएबमोजिम लेखेको हक कायम गराई पाउँ भन्ने मुद्दाको मिसिल हेर्दा, जिल्ला अदालतको ०१७।१।१३।३ को फैसला उपर यिनै वादी टुंगकुमारीको अपील परी नन्दकुमारीको भागमा आउने जति र नन्दकुमारीको पेवा समेत लोग्ने छोरा नभएकाले नन्दकुमारीको छोरा वादीले पाउने र अपुतालीतर्फ पनि आधा वादीले पाउने नै हुँदा उक्त देखिएबमोजिम बकस पेवा अपुताली पाउने हक वादीको कायम हुन्छ । आफूले पाउन पर्ने चिज कुनकुन हो ? खुलाई ऐनबमोजिम इलाका अदालतमा उजुर गर्नु भनी वादीलाई सुनाई दिनु भन्ने समेत ठहरी ०१९।२।१९।६ मा मात्र डिभिजन बेञ्चबाट फैसला भएको देखिनाले उक्त जि.अ.को फैसलाकै आड लिई यता शुरुमा फिराद गर्ने उता सोही जि.अ.को फैसला उपर चित्त बुझेन भनी अपील गर्ने गरेको र त्यसमा अपील टुंगो नलाग्दैको अवस्थामा उल्लेख गरिएबमोजिमको फिराद दावी नपुग्ने हुनाले ०२०।११।११।१ को डिभिजन बेञ्चको राय मनासिव । ई.अ.र जिल्ला अदालतको फैसला गल्ती ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको ०२१।५।११।४ को फैसला उक्त डिभिजन बेञ्चको इन्साफमा चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने समेत का.ई.त्रिपुरेश्वर बस्ने टुंगकुमारीको वा.कृष्णमान श्रेष्ठको बिन्तिपत्रमा ल.पु.ई.पुलचोक बस्ने यज्ञबहादुर विष्ट क्षेत्री समेतसँगको घर जग्गाबाट उठाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२१।५।१७ को फैसला दोहर्‍याई पाउँ भनी त्रिपुरेश्वर बस्ने टुंगकुमारी थापाको निवेदन पर्न आएको न्यायीक समितबाट यसमा यज्ञबहादुरसँगको हक कायम गरी पाउँ भन्ने मुद्दामा जिल्ला अदालतको फैसला उपर अपील गरी त्यसको टुंगो नलाग्दै यो उजुर दायर गरेको । सो मुद्दामा आफूले पाउने चिजको फाँट खोली उजुर गर्नु भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट १७।२।१९ मा मात्र फैसला भएको देखिएकोले अपीलको टुंगो नलाग्दैका अवस्थाको यो दावी नपुग्ने हुँदा उजुर खारेज हुने ठहर्छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएकोमा प्रमाणलाई आएको उक्त हक कायम गराई पाउँ भन्ने मुद्दाको ०१९।२।१९ को फैसला हेर्दा, आमा नन्दकुमारीको पेवा र अपुतालीमा समेत लगत लिई हक कायम गरी पाउँ भन्ने टुंगकुमारीको उजुर परेकोमा नन्दकुमारीको पेवामा जम्मै र अपुतालीमा आधा पाउने हक वादीको कायम हुन्छ । आफूले पाउने चिज कुनकुन कति हो ? खुलाई ऐनबमोजिम इलाका अदालतमा नालेस गर्नु भनी वादीलाई सुनाई दिने भन्ने उल्लेख भएको । यो झगडा परेको घर समेत वादीको आमा नन्दकुमारी र सौतेनी आमा प्रेमकुमारीलाई निजहरूको सासु जेठानी नैनकुमारी, कृष्णकुमारीहरूले ०९।८।२२ मा बकसपत्र गरी दिएको भन्ने कुरा प्रेमकुमारीको भाग दक्षिण पट्टीको घर केशवप्रसादलाई ०१५।९।१४।३ मा निज प्रेमकुमारीले राजिनामा दिंदा बकस पाएको कुरा समेत उल्लेख भएको उल्लेखित राजिनामा नक्कलबाट देखिएको । केशवप्रसाद र यसै मुद्दाका प्रतिवादी यज्ञबहादुरको घरबाट उठाई पाउँ भन्ने मुद्दा पर्दा यज्ञबहादुरले उठ्नै पर्ने ठहरी ०१६।३।२९।२ मा रा.का.दे.दो.बाट फैसला भएको समेत पनि देखियो । उक्त हक कायम गराई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट चिज खोली नालेस गर्नु भनी ०१९।२।१९ मा फैसला हुँदा त्यसका आधारमा तायदाती लिई बण्डा छुट्ट्याई पाउँ भनी वादीले ०१९।६।११ मा गरेको उजुरीमा ११ भागको सवा दुई भाग दिलाई पाउँ भनी दावी गरेको देखिन आएको यो झगडा परेको घर सम्बन्धमा उल्लेखित डिभिजन बेञ्चबाट ०१९।२।१९ मा फैसला हुनु भन्दा अगावै मेरी आमा सुब्बेनी नन्दकुमारीका भागको उत्तरतर्फको आधी घर जग्गा हो भन्ने कुरा रा.का.दे.दो. अदालतका ०१६।२।२९ का फैसला मिसिलबाट छुट्टिएको छ । आमाले बकस पाउनु भएको घर जग्गा समेत मेरो आमाको भाग जति मैले पाई ०१७।१।१३ मा सदर जिल्ला अदालत तेस्रा फाँटबाट अन्तिम फैसला भएको । हक कायम गरी पाउँ भन्ने मुद्दाको मिसिल फैसलाबाट देखिएको छदै घर जग्गाबाट उठी खाली गरी दिएनन, सो घर जग्गाबाट उठाई पाउँ भन्ने समेत दावी लिई उजुर गरेको देखिन्छ । उल्लेखित उजुर सो डिभिजन बेञ्चको ०१९।२।१९ को फैसला भन्दा अगावैको भए पनि आखिर सो फैसलाले चिज खुलाई नालेस गर्न पर्ने देखाएको र घर सम्बन्धमा परेको यो नालेस भएपछि उल्लेखित ०१९।२।१९ को फैसला अनुकुलकै उजुर देखिन आउने । यस्तोमा पहिले दायर भईरहेको प्रस्तुत मुद्दाबाटै जो ठहर्छ, इन्साफ तहकिकात गरी दिनु पर्नेमा हक कायम गरी पाउँ भन्ने मुद्दाको ०१९।२।१९ को फैसला भन्दा अगावै अपीलको टुङ्गो नलाग्दैका अवस्थाको यो फिराद दाबी नपुग्ने भनी खारेज गर्ने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिएकोले दोहर्‍याई बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी हुकुम प्रमांगी बक्स भई आई पेश हुँदा यसमा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि निर्णयको २ प्रतिलिपी नं.७ न्या.सं.०२१।४।१३।३ का हुकुम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरबारमा रजिष्टार अफिस मार्फत पठाई दिनु भन्ने समेत ०२२।५।१०।५ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      १०.    यसमा यिनै वादी टुंगकुमारीको प्रतिवादी यज्ञबहादुर समेत उपर ०१९।६।११।५ मा ल.पु.इ.अ.मा दायर गरेको अंश मुद्दा र यो मुद्दामा झगडा परेको घर जग्गाको सम्बन्धमा यिनी वादी प्रतिवादीहरूको अरू कुनै मुद्दा परेको भए सो समेत प्रमाणमा हेर्नु पर्ने भएकोले पक्षहरूलाई अर्को पेशीको तारेख तोकी सो तारेखका दिन उपरोक्त उल्लेख भएबमोजिम मुद्दाको मिसिलहरू ठिक समयमा बेञ्च समक्ष आई पुग्ने गरी आफ्नो अड्डाको कारिन्दा जिम्मा पठाई दिनु भनी ललितपुर जिल्लाअदालतलाई लेखी पठाई नियमबमोजिम पेश गर्नुभन्ने समेत ०२३।५।२१।३ को फुल बेञ्चको आदेश ।

      ११.    निवेदीका वादीको वा.कृष्णमान श्रेष्ठ र क.प.उत्तमबहादुरको वा.तेजबहादुर, यज्ञबहादुर को वा.रविन्द्रबहादुर समेतलाई रोहवरमा राखी पेश गर्न ल्याएकोमा गत आश्विन ७ गते पेश भई निवेदीका वादीतर्फका विद्वान वकिल प्लीडर श्री कुलराजले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख मुकरर भई पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदीका वादीले दावी गरेको घर जग्गामा निजको हक पुग्ने हो होइन ? वादीको हक पुगेको घरमा जवरजस्तीसँग प्रतिवादी बसेको भई प्रतिवादीहरूले उठी खाली गरिदिन पर्ने नपर्ने के हो ? यसैको निर्णय गर्नुपर्ने देखियो ।

      १२.   दर्तावाला दाजु सोमबहादुर, जेठी आमा पूर्णकुमारीले छोडपत्र राजिनामा गरी दिएकोले सो घर भएको जग्गा समेत मेरो हो भन्ने समेत क.प.उत्तमबहादुर विष्टको र वादी दावीको घर जग्ग देवीध्वजको हक भई हामीले भोग चलन गरी आएका छौ । सर्वोच्च अदालतको ०१९।२।१९ को फैसलाबमोजिम आफूले पाउने चिज खुलाई उजुर गर्नुपर्नेमा सो हुनुभन्दा अगावैको छुट्टै उजुरी यो लाग्नै नसक्ने भन्ने समेत यज्ञबहादुरको जिकीर देखिन्छ ।

      १३.   जेठी बज्यै कृष्णकुमारी र उहाँको बुहारी खङ्गबहादुरको स्वास्नी नैनकुमारी मेरो बाबु देवी ध्वजकी पत्नी मेरी आमा नन्दकुमारी सौतेनी आमा प्रेमकुमारीलाई ९० साल मार्ग २२ गते ५ मा गरेको शेषपछिको बकसपत्र अनुसार मेरी आमा नन्दकुमारीको सदर भएको दान दातव्यको ४ नं.ले हक दाईजो भएकोमा आमाको शेषपछि अपुतालीको तबरले मेरै हक हुनेमा ०१४ साल श्रावणमा आमाहरू स्वर्गीय भएपछि प्रतिवादीहरूले फाँट नदिएकीले तायदाती लिई आमाको दाइजो पेवा हकको सबै र अपुताली मध्ये आधीको मेरी हक कायम गराई पाउँ भने टुंगकुमारीको फिराद परेको मुद्दामा निजको दाबीबमोजिम हक कायम हुने ठहराई र अपुताली बाहेक पेवातर्फको नन्दकुमारीको हकको वादीबाट रीतपुर्वक फाँट लिई हक बेहक गरी फैसला गर्नु भनी इलाका अदालतमा पठाउने सदर जिल्ला अदालत तेस्रा फाँटको ठहर बदर गरी आफूले पाउनु पर्ने चिज कुनकुन कति हो ? खुलाई ऐनबमोजिम इलाका अदालतमा उजुर गर्नु भनी ०१९।२।१९ गते डिभिजन बेञ्चबाट फैसला भएको रहेछ ।

      १४.   अपील तेस्राबाट फैसला भएपछि यो मुद्दामा फिराद ०१७ साल माघ १३ गते दर्ता गरेको रहेछ । प्रतिवादीहरूले वादीले पाउने हक दिनलाई इन्कार गरेको कुरामा वादी दावी परी हक कायम हुने गरी डिभिजन बेञ्चबाट हक कायम गरेकोबाट नै वादीहरूले जुनजुन सम्पतिहरू पाउने हुन सो सबै पाउने भनी निर्णय भईसकेकोले हदम्याद नाघि यो फिराद दर्ता गरेको र एक मुद्दाको रूप विचार गरी अर्को मुद्दा उठाएको भन्ने प्रश्न उठाउन हुँदैन । आफू बेहकमा लिए बसेको घर समेतका सम्पतिहरू तत्कालै प्रतिवादीले छोड्नु पर्ने थियो । नछोडेको कुरा नै विवादको तथ्य हो । हक कायम हुने वादी उपर प्रतिवादीहरूले जुनजुन अवस्थामा जेजेमा अन्याय गर्छन, सो कुरा हटाउन निमित्त वादीले नालेस गर्न आएको देखिन्छ । वादीका आमाको शेष पछि ऐनले वादीको हक हुन्छ । सोही कुरा फैसलाले कायम राखेको हो । कुनै अधिकार जुनजुन श्रोतबाट हस्तान्तरण भएको हो, ती अधिकार पाएको होइन । अदालतबाट फैसला गरेर मात्र वादीलाई हक प्रदान गरेको होइन । आमाका शेषपछि तत्कालीन दान दातव्यको ४ नं.र अपुतालीको २ नं.ले वादीको अधिकार भएको हो वा त्यसको हक पाउने गरी पहिले डिभिजन बेञ्चबाट फैसला भएको हुनाले सो फैसला गर्दा अघि वा पछि फिराद परेकोमा केहि अन्तर हुँदैन ।

      १५.   वादीको सौतेनी आमा प्रेमकुमारीले केशवप्रसादलाई गरी दिएको लिखतमा ललितपुर पुलचोक बस्ने कर्णेलनी कृष्णकुमारी सासु १ ऐ.बस्ने जेठानी नैनकुमारी विष्टेनी क्षेत्रीनी १ समेत जना २ ले शेषपछि दागवत्ती काजकृया पिण्डपानी समेत गरी गराई जो बाँकी रहेको हामीहरूका हकको चल अचल श्री सम्पत्ति अष्टलोह गैह्र खानु भनी म प्रेमकुमारी १ र जेठी सौता सुब्बेनी नन्दकुमारी १ समेत जना २ लाई बरावर २ भाग गरी ९० साल मार्ग २२ गते ५ मा शेषपछिको बकसपत्र लेखी सदर रजिष्ट्रेशन अड्डाबाट पास गराई ल्याएको श्री सम्पत्ति जग्गा जमीन मध्ये सगोलका चोक देखि पूर्व मुल चोक देखि पश्चिमले क.चेतबहादुर विष्ट क्षेत्रीका क्याम्पा देखि उत्तर प्रेमबहादुर विष्ट क्षेत्री क्याम्पादेखि दक्षिण यति ४ किल्ला भित्रको घर एक र सो घरले चर्चि आएको बगैचाबारी समेत आधी हिस्सा मेरी सौता नन्दकुमारीको पर सारी बाँकी मेरो भाग दक्षिण तर्फबाट सो माथि लेखिएको मोलमा आजका मिति देखि खाने गरी सुक्रि बिक्री फर्छ््या भयो भन्ने समेत उल्लेख भएको र सो लिखतमा सुब्बा देवीध्वज पनि साक्षी बसेको पेश भएको नक्कलबाट देखिएको । सो लिखतबमोजिमकै ४ किल्ला भित्रको घर जग्गा मध्ये उत्तरतर्फको आधी हाल यी निवेदीका वादीले दावी गरेकी । सोही लिखतको आधारमा केशवप्रसादले घरबाट उठाई पाउँ भनी यिनै प्रतिवादी यज्ञबहादुर उपर उजुर गरेकोमा वादी दावीबमोजिम घरबाट उठी दिनु पर्ने ठहर्छ भनी ०१६।३।२९।२ मा तत्कालिन रा.का.देवानी दोश्राबाट फैसला भएको देखिएको र मिसिल समेत रहेको ०१९।८।१७।१ को नक्सा मुचुल्कामा वादीले दावी गरेको घर मध्ये आधी दक्षिणातर्फको भागमा आधा आधा केशवप्रसाद बसेको घर भनी र उत्तरतर्फकोमा हाल झगडा परेको घर भनी जनिएको हुनाले नन्दकुमारीको अपुतालीमा आधा र पेवामा जम्मै पाउने । वादीको हक कायम हुन्छ । आफूले पाउने चिज खुलाई नालेस गुर्न भनी वादीलाई सुनाई दिने भन्ने समेत माथि उल्लेख गरिएको ०१९।२।१९ को डिभिजन बेञ्चको फैसला हुँदा पहिलेको यो उजुर भए पनि सो फैसला प्रतिकुल पर्ने केहि नदेखिने समेत हुँदा र प्रेमकुमारीले केशवप्रसादलाई गरी दिएको माथि उल्लेख गरिएको ०५।९।१४।३ को लिखतमा सुब्बा देवीध्वज स्वयं साक्षी बसेको देखिएबाट माथि लेखिएबमोजिम जग्गा मेरो हकको भन्ने समेत क.प. उत्तमबहादुरको र घर जग्गा देवीध्वजका हकको भई हामीले भोग चलन गरी आएका छौं भन्ने समेत यज्ञबहादुरको जिकीर पुग्न नसक्ने र प्र.पूर्ण मगरले पनि इन्कार गर्न नसकेको सामेल हुनाले वादीले दावी गरेको घर जग्गामा प्रतिवादीहरूले उठी छाडी दिनु पर्नेमा वादी दावीबमोजिम उठी खाली गरी नदिएको ठहर्छ।

      १६.    तसर्थ, सो घर जग्गाबाट प्रतिवादीहरूले उठी छाडी दिनु पर्ने ठहर्‍याएको शुरुको सदर गरेको तत्कालीन जिल्ला अदालत तेस्राको ०१९।८।२६।३ को इन्साफ मुनासीव छ । घर बनाउनेका ९ नं.का ऐनको म्याद ३५ दिनमा प्रतिवादीले छोडी दिनु पर्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

तपसील

तत्कालिन देवानी ईलाका अदालतका ०१८।६।९।६ का फैसला ०१८।५।६।३ का लगतले यज्ञबहादुर विष्ट क्षेत्री प्र.ईन्द्रकुमारी क्षेत्रीनीबाट विष्ट क्षेत्रीनीबाट रु.६।८६ र प्र.पूर्ण मगरबाट कोर्टफी र इतलायनामा दस्तुर समेत रु.५।६२ वादी का.ई.त्रिपुरेश्वर बस्ने टुंगकुमारी थपेनी क्षेत्रीनीलाई भराई दिने गरेकोमा ०२१।५।१५।४ को डिभिजन बेञ्चका फैसलाले भराई दिन नपर्ने भनी लगत काटेको देखिएकोमा हाल उक्त दे.ई.अ.कै ०१८।६।९।६ कै इन्साफ सदर ठहरेकोले सो डिभिजन बेञ्चका फैसलाबमोजिम गर्नु पर्दैन व्यहोरा जनाई दे.ई.अ.का. ०१८।६।९।६ का फैसला र ०१८।५।९।३ का लगत बमोजिम गर्नु भनी का.श्रे.अ.त.मा लगत दिनु.............१

तत्कालीन जिल्ला अदालतमा अपील गर्दा उत्तमबहादुरले ०१८।६।६।६ मा का.दे.त.मा धरौट राखेको कोर्टफी रु.२ अरू दस्तुर रु.२९ समेत रु.२।२९ र प्र.इन्द्रकुमारी यज्ञबहादुर समेत २ जनाले ०१८।७।२९।३ मा का.दे.त.मा धरौट राखेको कोर्टफी राखेको रु.४।५६ समेत ०१९।८।२६।३ का जिल्ला अदालतका फैसलाले निज वादी टुंगकुमारीलाई भराई दिने गरेकोमा भराउन नपर्ने हुँदा म्यादभित्र फिर्ता माग्न आए फिर्ता दिनु भनी ०२१।५।११।४ का डिभिजन बेञ्चका फैसलाबमोजिम ०२१।६।१६ मा लगत दिएकोमा हाल जिल्ला अदालत कै इन्साफ सदर ठहरेकाले उक्त लगतबमोजिम गर्नु पर्दैन व्यहोरा जनाई ०१९।८।२६।३ का जिल्ला अदालतका फैसला र लगतबमोजिम गर्नु भनी ऐ.ऐ ........................२

डिभिजन बेञ्चका उक्त मितिका फैसलामा तत्कालिन जिल्ला अदालत काठमाडौं जि.न्या.विश्वनाथ (हाल सेती अञ्चल अदालतका अञ्चल न्यायाधीश) को रेकर्ड राख्न सर्वोच्च अदालत (जनरल विभाग) मा सूचना गरेकोमा सोबमोजिम गर्नु पर्दैन, ऐ.ऐ......................३

यो फैसलाको प्रतिलिपी २ श्री ५ महाराजधिराज सरकारका जुनाफमा जाहेर गर्न जनरल विभाग मार्फत मौसुफका निजी सचिवालयमा पठाई दिनु......................४

 

इति सम्वत् २०२३ साल आश्विन १८ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु