शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०८१ - ज्यानमार्ने उद्योग र चोरी

भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११

नेकाप २०७०        अङ्क ११           नि.नं.९०८१

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

फैसला मिति : २०७०।१०।१५।४

स.फौ.पु.नं. ०६७-CR-०७४३

 

मुद्दा : ज्यानमार्ने उद्योग र चोरी ।

 

पुनरावेदक : जिल्ला झापा, अनारमनी गा.वि.स.वडा नं. ४ घर भै हाल कारागार कार्यालय, झापामा थुनामा रहेका रविन थापासमेत

विरूद्ध

प्रत्यर्थी/वादी : रतन बराइलीको जाहेरीले नेपाल सरकार

 

§  प्रतिवादीहरूले जाहेरवालालाई फायर गर्दाका साथसाथै गुहारगुहार भनी जाहेरवाला कराएको कारणले तुरून्त गाउँलेहरूको उपस्थिति भई एकैछिनमा धेरै जमात अगाडि आई प्रतिवादीहरूलाई लखेट्दै लगेको कारणबाट पनि अन्य फायर हुन नसकेको अवस्था देखिँदा हारगुहार गर्दासाथै गाउँलेहरूको भीड तुरून्त अगाडि आउनु नै तेस्रोतत्त्वको उपस्थिति भएको देखिने ।

(प्रकरण नं.४)

§  पेस्तोल जस्तो जोखिमी हतियारले पूर्ण मनसायपूर्वक जानीजानी जाहेरवालामाथि पेस्तोल प्रहार गरी घाइते पारी ज्यान मर्नेसम्मको काम गरेको तर कुनै तरहले ज्यान मर्न नपाएको हुँदा यी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसूर गरेको ठहर्ने ।

(प्रकरण नं.६)

 

शुरू तहमा फैसला गर्ने : 

      न्या.शालिग्राम कोइराला

पुनरावेदन तहमा फैसला गर्ने :

      न्या.विष्णुदेव पौडेल

      न्या.मोहनबहादुर कार्की

 

पुनरावेदकका तर्फबाट :

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजीर :

§  नेकाप २०४२, अङ्क ७, नि.नं.२४४०पृष्ठ ६९८

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ र चोरीका महलको १४ नं.

 

फैसला

न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६७।१।८ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

      जिल्ला झापा, बुधबारे गा.वि.स.वडा नं. ७ स्थित पूर्वमा बुधबारे बजारबाट पूर्व लाइन, पश्चिम बुधबारे बजार जाने बाटो, उत्तरमा आदर्श राइस मिल, दक्षिणमा तुलसीराम विमलीको खाली जग्गा यति चार किल्लाभित्र रहेको सानो बाटोमा रेजिना ज्वेलर्सबाट रतन बराइलीले सुन पसल बन्द गरी सुनको तथा नगद पोको लिई घरतर्फ आईरहेको अवस्थामा निज रतन बराइलीको हातबाट उक्त सुन तथा नगदको पोको तीनजना लुटेराहरूले हतियार फायर गरी लुटेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

      जिल्ला झापा, शान्तिनगर गा.वि.स.वडा नं. १ स्थित पूर्वमा चिलिमगढी जङ्गल, पश्चिममा चिलिमगढी खोला, उत्तरमा जनज्योती सामुदायिक वन, दक्षिणमा सोही जङ्गल यति चार किल्लाभित्र रहेको जङ्गलको बीच भागमा ३ जना लुटेराहरूले रतन बराइलीको साथबाट सुन तथा नगदको पोको लुटी लगी भाग्दै गर्दाको अवस्थामा स्थानीय मानिसहरूले निजहरूको साथबाट लुटिएको सुन तथा नगदको पोको थान १, कटुवा पेस्तोल थान २ तथा सोही पेस्तोलमा फायर भई चेम्बरमा खोका थान १/१ रही रहेको अवस्थामा खोसी प्रहरी टोलीलाई बुझाइएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का ।

      मिति २०६५।६।३ गते अन्दाजी १७.३० बजेको समयमा म बुधबारे चोकतिर  थिएँ । एक्कासी बजारमा सुन लुटे भन्ने आवाज सुनी हल्ला भएतिर जाँदा बजारका करीब २००० भन्दा बढी मानिसहरू पूर्वतर्फबाट दौडदै गएको देखी म पनि सोहीतिर दौडदै गएँ । रतन बराइलीको करीब १० तोला सुन लुटी हतियारबाट फायर गरी रतन बराइलीलाई घाइते बनाई निजहरू सुन तथा पैसाको पोको लिई भाग्दै गरेको अवस्थामा स्थानीय मानिसहरूले लखेट्दै जाँदा शान्तिनगर १, चिलिमगढी जङ्गलमा पुग्दा समाई निजहरूको साथबाट दुई थान नलकटुवा पेस्तोलसमेत खोसी लुटेको सुन र नगदको पोकोसमेत खोसेको थिए भीडमा कसले लुटेराहरूलाई कुटपीट गरे थाहा भएन । म पुग्दा प्रहरी चौकी बुधबारेबाट प्रहरीहरूसमेत पुगेका थिए । स्थानीय मानिसहरूको भीडभाड नियन्त्रण गर्न नसकी थप प्रहरी काँकडभिट्टाबाट आई दुईजना लुटेराहरूलाई बोल्न नसक्ने अवस्थामा नियन्त्रणमा लिएको                      हो । एकजना बोल्न सक्ने अवस्थामा भएकोले शम्सेर विश्वकर्मा नाम बताउनेसमेतलाई प्रहरीले नियन्त्रणमा लिई गएको हो भन्नेसमेत व्यहोराको दिपेशप्रसादसमेतले गरी दिएको घटना विवरण कागज ।

मिति २०६५।६।३ गते अन्दाजी ५.३० बजेको समयमा म मेरो सुन चाँदीको पसल बन्द गरी राती पसलमा छाड्न डर हुने भएकोले १२ तोला सुन १ के.जी. चाँदी व्यागमा हाली घरतर्फ जाँदैगर्दाको अवस्थामा एक्कासी ३ जना लुटेराहरूले आक्रमण गरी निजहरूले बोकेको कटुवा पेस्तोलले मलाई मार्ने उद्देश्यले गोली प्रहार गर्दा फायर भएको थाहा पाई छल्दा मेरो बायाँ खुट्टाको तिघ्रामा लाग्यो । सोही बखत मेरो हातबाट व्याग खोसी हवाई फायर गर्दै पूर्वतर्फको जङ्गलतिर लुटेराहरू भागेकोले मैले गुहार डाँका चोरी भयो भन्दा गाउँलेहरू लुटेराहरूलाई लखेट्दै गै मेरो चोरी गरी लगेको सुन चाँदी भएको झोला बाटामा छाडी भागेको फेलापारी ल्याई मलाई दिई म घाइते भएकाले उपचार गराउन धुलावारी स्वास्थ्य चौकी लगी उपचार गराई केही आराम भएकाले जाहेरी दिन आएको छु निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको रतन बराइलीको जाहेरी दरखास्त ।

      जिल्ला झापा, भद्रपुर १५ स्थित मेची अञ्चल अस्पतालको शव गृहमा उत्तर टाउको दक्षिण खुट्टा पारी उत्तानो अवस्थामा रहेको, नाम, थर वतन खुल्न नसकेको अन्दाजी ३०।३५ वर्षको मतवाली जस्तो देखिने, बोकेदारी पालेको नाङ्गो अवस्थामा रहेको शरीरमा कुनै कपडा नभएको, कपाल कालो अनुहारमा बालुवा माटो लागेको, नाकबाट रगत बगेको, आँखा अर्ध खुल्ला, मुख बन्द, टाउकोको पछाडि भागमा एक इन्च गोलाई एक इन्च गहिराई भएको चोट लागेको, हात दुबै सिधा, दुबै गालामा नीलो डाम भएको, दाहिने कम्मरमा समेत नीलडाम भएको, दायाँ तिघ्राको कम्मरलाइनमा नीलडाम भएको, भन्नेसमेत व्यहोराको जाहेरवालाको धनमाल लुटेर भाग्न खोज्ने लुटेरामध्येको नाम, थर थाहा नभएको लुटेराको स्थानीय मानिसले कुटपीट गर्दा मृत्यु भएको भन्नेसमेत लास जाँच प्रकृति मुचुल्का ।

      मिति २०६५।६।३ गते अन्दाजी ५.०० बजेको समयमा घर वतन थाहा नभएका जीवन भन्ने व्यक्तिले मलाई भेटी मसँग घुम्न जाउँ भनी धुलाबारी ल्याई ट्रयाक्टर चढाई उत्तरतर्फ गयौं । जाने क्रममा जङ्गलको बाटो सकिएपछि गाउँ आयो । सो गाउँमा हामी झर्‍यौँ । त्यसपछि हामी बुधबारेतर्फ लाग्यौं । बुधबारे बजार घुमियो जीवन भन्ने व्यक्तिले मलाई जाहेरवालाको सुन पसल देखाइदियो । निजले जाहेरवाला दोकान बन्द गरी यो बाटो आउँछन् त्यहाँनिर तँ बस् जाहेरवाला रतन बराइली आउनेबित्तिकै पेस्तोल देखा म रतन बराइली सँगसँगै आउँछु । निजले बोकेको झोला खोस्छु भनी भनेको हुँदा म हुन्छ भनी निज जीवनले देखाएको स्थानमा बसी रहेँ सोही दिनको १७.३० बजेको समयमा रतन बराइली हातमा झोला बोकी अगाडि अगाडि आए, पछाडि जीवन भन्ने व्यक्तिले हातमा बोकेको पेस्तोलबाट रतन बराइलीको बायाँ खुट्टामा एक राउण्ड फायर गरे निज घाइते भएर जाहेरवालाले मलाई बचाउ बचाउ भन्दै कराए । हामीहरू स्थानीय जनता आउँछन् भन्ने डरले जङ्गलतर्फ भाग्यौँ । भाग्ने क्रममा जङ्गलछेउमा खोला परेकोले सो खोला तर्ने क्रममा जीवनको हातबाट शम्शेर भन्ने सूर्य वि.क.ले झोला खोसी भागेकोले हामीहरू भाग्दै गर्दा गाउँलेले घेराहाली पक्री हामीलाई कुट्छन् भन्ने डरले मलाई दिइएको पेस्तोल खोसी जीवनले १ राउण्ड हवाई फायर गरेको हो । सोही अवस्थामा गाउँलेले घेरा हाली हामीलाई पक्री कुटपीट गर्न थाले, शम्सेरले बोकेको सुन, चाँदीको झोला पनि खोसे गाउँलेको कुटपीटको कारण जीवन सख्त घाइते भए, हामीलाई प्रहरीहरूले बचाएको हो । हामी घाइते भई मेची अञ्चल अस्पतालमा उपचार गराउँदागराउँदै पक्राउ परेका जीवनको मृत्यु भयो, हामीले जाहेरवालाको झोला खोसी गोलीसमेत प्रहार गरी ज्यानमार्ने उद्योग गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी रविन थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

      मिति २०६५।६।३ गते अन्दाजी ५.०० बजेको समयमा विर्तामोडमा जीवनसँग भेट भयो । निजले एकजना साथी लिएर आउँछु तिमी बुधबारे बसमा जाउ त्यहाँ रतन बराइलीको सुन चाँदी पसल छ निजलाई निगरानी गदै गर्नु भनेकाले म त्यहाँ गई रतन बराइलीको निगरानी गर्दै थिएँ । सोही अवस्थामा जीवन राई आई पुग्यो र मलाई मसँग एउटा पेस्तोल छ । रविन थापालाई एउटा पेस्तोल बोक्न दिएको छु । हामी जाहेरवालाको सुन चाँदी लिएर घर फर्किंदा त्यो यो पूर्वपट्टिको जङ्गलको बाटो आउँछ । तिमी फुटवल ग्राउण्डमा बस, त्यसको सुन चाँदी लुट्नुपर्छ भनी भनेकाले म निजले भनेको स्थानमा गै बसेँ । सोही दिन १७.३० बजेको समयमा जाहेरवाला सुन चाँदीको पोको बोकेर जीवन अगाडि र रविन पछिपछि कुद्दै आउँदा गाउँले मानिसले चोर चोर भन्दै कुद्दै पछाडि आउँदै गर्दा खोला तर्न ढीलो भई रविन र जीवनलाई स्थानीय मानिसहरूले भेटन आँटेको अवस्थामा मलाई जीवनले बोकेको पोको दिए र म सो लिएर जङ्गलतिर भागेँ खोला तर्नासाथ जीवनले एक राउण्ड फायर गरे । स्थानीय जनताले खेदाउन छाडेनन् खोला तरी जङ्गलको छेउमा पुगेपछि भेटे र स्थानीय जनताको जमातले कोहीले लात्तीले कोहीले मुड्कीले कोहीले जेले पायो त्यसैले कुट्न थाले स्थानीय जनताको कुटाईको कारण जीवन भन्ने व्यक्तिको मृत्यु   भयो । जीवनको थर मलाई थाहा भएन । म र मेरो साथी रविन थापाको चाही विभिन्न स्थानमा चोट लाग्यो, केहीबेरमा प्रहरी टोली आई हामीलाई बचायो प्रहरी टोली आई नपुगेको भए हामीलाई पनि मार्ने थिए । जीवनको योजनाबाट मेरोसमेत मिलेमतोमा जाहेरवालालाई गोली प्रहार गरी सुन चाँदी लुटी लगेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी शम्सेर भन्ने सूर्य वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

      मिति २०६५।६।३ गते साँझ १७.३० बजेको समयमा म सुनमाई गई आएको थिएँ । म बुधबारे बजारमा नै थिएँ । उक्त दिनको साँझ सदाझैँ रतन बराइली आफ्नो सुन चाँदीको पसल बन्द गरी सुन चाँदी लिई घरतर्फ गई रहेको अवस्थामा रविन थापासमेत ३ जना लुटेराहरू भई रतन बराइलीको ज्यानमार्ने उद्देश्यले नलकटुवा पेस्तोलबाट १ राउण्ड फायर गरी निजलाई घाइते बनाई निजको साथबाट १० तोला सुन आधा के.जी. चाँदीको विभिन्न गहनाहरू लुटी भागेका हुन् । भाग्ने क्रममा निज लुटेराहरू बुधबारे बजारबाट पूर्वतर्फ भागेको हुँदा तत्काल घाइते रतन बराइलीले मेरो डाँका गरी सुन लुट्यो भनी हो हल्ला गर्दा लुटेराहरूले फायर गरी भाग्दा गाउँलेहरू एक जुट भई अन्दाजी २।३ हजारको भीडले लखेटी जिल्ला झापा, शान्तिनगर १ स्थित चिलिमगढी भन्ने जङ्गलमा कुटपीट गरेको हो । को को भई कुटपीट गरे मैले चिनिन पछि प्रहरी टोली आई लुटेराहरूलाई नियन्त्रणमा लिएको   हो । जीवन भन्ने व्यक्तिलाई को कस्ले कुटपीट गर्‍यो भीड ठूलो भएकोले को कसको कुटाईको कारणबाट निजको मृत्यु भयो मलाई थाहा भएन । निज लुटेराहरूको साथबाट प्रहरीले लुटेको सुनको पोको, नलकटुवा पेस्तोल थान २, सो पेस्तोलमा फायर भएको २ थान गोलीको खोका चेम्बरमा लोड भई रहेको अवस्थामा प्रहरीले बरामद गरी लगेको हो । प्रहरीले लुटेराहरूलाई नियन्त्रणमा लिएको अवस्थामा २ जना लुटेराहरू चिन्ताजनक अवस्थामा थिए । एकजना शम्शेर वि.क. नाम गरेका व्यक्तिसमेतलाई नियन्त्रणमा लिएको हो । हाल प्रहरीले पक्राउ गरेको व्यक्ति हेराउँदा देखाउँदा चिनेँ पहिचान गरेँ निजहरू नै उक्त दिन रतन बराइलीको सुनको पोको लुटी भाग्ने व्यक्ति हुन् भन्नेसमेत व्यहोराको विनोद थुलुङ्ग राईले गरी दिएको घटना विवरण कागज ।

मिति २०६५।६।३ गते साँझ १७.३० बजेको समयमा म बुधबारे बजारमा नै थिएँ । उक्त दिन साँझ सदाझैँ रतन बराइली आफ्नो सुन चाँदीको पसल बन्द गरी सुन चाँदी लिई घरतर्फ गई रहेको अवस्थामा रविन थापासमेत ३ जना लुटेराहरू भई रतन बराइलीको ज्यनमार्ने उद्देश्यले नलकटुवा पेस्तोलबाट १ राउण्ड फायर गरी निजलाई घाइते बनाई निजको साथबाट १० तोला सुन र आधा के.जी. चाँदीको विभिन्न गहनाहरू लुटी भागेका हुन् । भाग्ने क्रममा निज लुटेराहरू बुधबारे बजारबाट पूर्वतर्फ भागेको हुँदा तत्काल घाइते रतन बराइलीले मेरो डाँका गरी सुन लुट्यो भनी हो हल्ला गर्दा, लुटेराहरूले फायर गरी भाग्दा गाउँलेहरू एक जुट भई अन्दाजी २/३ हजारको भीडले लखेटी जिल्ला झापा, शान्तिनगर १ स्थित चिलिमगढी भन्ने जङ्गलमा कुटपीट गरेको हो । को को भई कुटपीट गरे मैले चिनिन पछि प्रहरी टोली आई लुटेराहरूलाई नियन्त्रणमा लिएको हो । जीवन भन्ने व्यक्तिलाई को कस्ले कुटपीट गर्‍यो भीड ठूलो भएकोले को कसको कुटाईको कारणबाट निजको मृत्यु भयो मलाई थाहा भएन । निज लुटेराहरूको साथबाट प्रहरीले लुटेको सुनको पोको नलकटुवा पेस्तोल थान २, सो पेस्तोलमा फायर भएको २ थान गोलीको खोका चेम्बरमा लोड भई रहेको अवस्थामा प्रहरीले बरामद गरी लगेको हो । प्रहरीले लुटेराहरूलाई नियन्त्रणमा लिएको अवस्थामा २ जना लुटेराहरू चिन्ताजनक अवस्थामा थिए । एकजना शम्शेर वि.क. नाम गरेका व्यक्तिसमेतलाई नियन्त्रणमा लिएको हो । हाल प्रहरीले पक्राउ गरेको व्यक्ति हेराउँदा देखाउँदा चिनेँ पहिचान गरेँ निजहरू नै उक्त दिन रतन बराइलीको सुनको पोको लुटी भाग्ने व्यक्ति हुन् भन्नेसमेत व्यहोराको नरेश शंकरले गरी दिएको घटना विवरण कागज ।

      मिति २०६५।६।३ गते साँझ १७.३० बजेको समयमा म आफ्नो घरमा थिएँ । रतन बराइलीले पसल बन्द गरी पसलबाट सुन चाँदीको थैलो बोकी आफ्नो घर जाँदै गर्दा एकान्त ठाउँमा बाटोमा चोरहरूले बाटो ढुकी गोली प्रहार गरी रतन बराइली घाइते भएपश्चात् निजले बोकेको सुन र चाँदी लुटी भागेका र स्थानीय मानिसले लखेट्दै जाँदा शान्तिनगर १ मा निज चोरहरूलाई फेला पारी जेले पायो त्यहीले कुटपीट गर्दा चोरहरूमध्येको जीवन भन्ने व्यक्तिको घटनास्थलमा मृत्यु भएको, अन्य हाल पक्राउ परेका रविन थापा र शम्सेर भन्ने सूर्य वि.क.घाइते भएकोले तत्काल उपचार गर्न लगेको भन्ने सुनेको र निज जीवन भन्ने व्यक्तिलाई स्थानीय व्यक्तिहरूको भीडले को कसले कुटपीट गर्दा मृत्यु भयो म भन्न सक्तिन । मैले आँखाले देखेको होइन । निजहरूले रतन बराइलीलाई गोली प्रहार गरी ज्यानमार्ने उद्योग गरी साथमा भएको सुन चाँदी लुटेका हुन् । स्थानीय जनताको सहयोगबाट उक्त सुन, चाँदी खोसेकाले निजहरूले लान नपाएको हो भन्नेसमेत व्यहोराको शम्भु विश्वकर्माले गरी दिएको घटना विवरण कागज ।

      मिति २०६५।६।३ गते साँझ १७.३० बजेको समयमा हामी घरमा भएको अवस्थामा गोली पड्‍किएको आवाज सुनी के भयो भनी बुझ्दा बुधबारे ९ स्थित जाहेरवाला रतन बराइलीले आफ्नो पसल बन्द गरी पसलमा भएको सुन, चाँदी झोलामा बोकी घरतर्फ जाँदै गर्दा प्रतिवादी रविन थापा र जीवन भन्ने व्यक्तिसमेतले निज जाहेरवालालाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते बनाई निजले बोकेको सुन चाँदीको झोला खोसी भाग्दै गरेको अवस्थामा स्थानीय मानिसहरूले लखेट्दै जाँदा जिल्ला झापा, शान्तिनगर १ मा फेला पारी जनताले हातले लात्तिले र जेलेपायो त्यसैले हान्दा निज लुटेराहरूमध्ये एकजना जीवन भन्ने व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको र अन्य हाल पक्राउ परेका रविन थापा र शम्सेर भन्ने सूर्य वि.क. घाइते भई उपचारको लागि मेची अञ्चल अस्पताल लगेको हो । निज लुटेराहरूले जाहेरवालालाई बाटो ढुकी गोलीहानी घाइते बनाई सुनचाँदी लुटी ज्यानमार्ने उद्योग र चोरीसमेत गरेको हुँदा निजहरूलाई कानूनबमोजिम कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको रोशन श्रेष्ठसमेतका व्यक्तिहरूले गरी दिएको वस्तुस्थिति मुचुल्का ।

      प्रतिवादीहरूले जाहेरवालालाई बाटो ढुकी गोली हानी घाइते बनाई रू २,४२,५००।पर्ने १० तोला सुन र मूल्य रू १७,५३२।पर्ने आधा के.जी. चाँदी लुटी लगी चोरी गरी ज्यानमार्ने उद्योगसमेत गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू रविन थापा र शम्सेर भन्ने सूर्य वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १५ नं. अनुसारको कसूर अपराधमा ऐ. ऐनको ऐ. महलको १५ नं. अनुसार सजाय हुन तथा मुलुकी ऐन, चोरीको महलको ५ नं. अनुसारको कसूर अपराधमा ऐ. ऐनको ऐ. महलको १४(३) नं. अनुसार सजायसमेत गरी पाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

      मिति २०६५।६।३ गते दिउँसो जीवन भन्ने व्यक्ति म भएको ठाउँमा आई मलाई रू १०००।दिन्छु मसँग जाउँ भनी भनेकाले निजसँग सँगै धुलाबारी हुदै बुधबारे बारीको जङ्गलमा पुगी हाते पेस्तोल मलाई दिए र सो पेस्तोल चलाउन सिकाए ।  निज जीवनले नै रतन बराइलीको सुन दोकानमा चोरी गर्न जाउँ भने म जान्न भन्दा मलाई मारी दिने भनेकाले मसमेत बेलुकी निज रतन बराइलीकोमा गई निज जाहेरवालालाई पेस्तोल देखाई निज जीवनले बरामदी भएको सुन, चाँदीसमेत लुटी गोलीसमेत हानी भागेको हो । मैले गोली चलाएको होइन । चोरी गर्न गएको हो । त्यसपछि गाउँलेले लखेट्दा अर्का प्रतिवादी सूर्य विश्वकर्मा नजिकै लुकेका रहेछन् भाग्ने क्रममा जनताको कुटाईबाट निज जीवनको मृत्यु भयो । प्रहरी आई हामीलाई बचाएको हो । मैले ज्यान मार्ने उद्योग गरेको होइन चोरीसम्म गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी रविन थापाले अदालतमा गरेको                                           बयान ।

      प्रतिवादी रविन थापा र जीवनलाई मैले २०६५।६।३ भन्दा अगाडि चिनेको थिईन । मिति २०६५।६।३ गते मेरो आफन्त राजकुमार वि.क.ले सिलगुढीमा मेरो बुबा आमालाई छोरालाई राम्रै छ भनी दिनु भनेकाले म निजको बुबा आमालाई भेट गर्न बुधबारे गएको थिएँ । राजकुमारको बुबा, आमासँग भेट नभएकाले बुधबारे बजारमा रक्सी खाई दिनभर बसेँ । केही समय वर्ने वगानतिर घुम्न                                            गएँ । घुमेर फेरि बुधबारे आई फुटवल खेल्न गएँ । फुटवल खेलिरहेको अवस्थमा चोर चोर भनी कराएको सुनी म पनि मादक पदार्थ सेवन गरेको सुरमा दगुरेँ, १५/१६ जना जाँदै थिए । यतिबेलै मृतक जीवनले बन्दुक पड्कायो तर कसैलाई लागेन । जीवन र रविन खौलैखोला जङ्गलतर्फ दगुरे । त्यसैबेला मैले रविन थापाको हातबाट सुन चाँदीको पोका खोसेँ । त्यसैबेला मृतक जीवनले मलाई बन्दुकको कुञ्जाले मेरो टाउकोमा हाने म लडेँ । मसँग आएका मानिस जीवन र रविनलाई लखेट्दै गए । पछिपछि आउने अरू मानिसले यो पनि चोर हो भनी मलाई सख्त कुटपीट गरी दाँतसमेत झारी दिए । मैले चोरी गरेको होइन । चोर पक्रिन सहयोग गर्दा गाउँलेले नचिनेर यो पनि चोर हो भनी मलाई प्रहरीमा बुझाएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी शम्शेर भन्ने सूर्यबहादुर विश्वकर्माले अदालतमा गरेको बयान ।

      प्रतिवादीहरूलाई अ.बं.११८(२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न र प्रतिवादी चुक्ता भैसकेको देखिँदा जाहेरवालासमेतका मानिस र प्रतिवादी सूर्य विश्वकर्माले बयानमा लेखाएका साक्षीसमेत बुझी पेश गर्नु भन्ने शुरू अदालतको मिति २०६५।७।१ गतेको आदेश ।

      मिति २०६५।६।२ गते साँझ ५.३० बजेको समयमा बुधबारे बजारमा रहेको सुन चाँदीको पसल बन्द गरी मेरो घर रहेको पूर्वतर्फ जाँदै थिएँ । करीब १०० फिट पूर्वतर्फ रहेको मेरो घर र पसलको बीचमा पुग्न लाग्दा बाटाको दायाँ र बायाँ रहेका २ जना अपरिचित व्यक्तिमध्ये एकजनाले पेस्तोल तेर्स्याएर मेरो हातमा रहेको व्याग माग्न थाल्यो । मैले व्याग दिन इन्कार गरी अघि बढ्न खोज्दा अर्को व्यक्तिले मलाई बायाँ तिघ्रा भन्दा केही माथि गोली प्रहार गर्‍यो र व्याग तान्न थाल्यो । केहीबेर व्याग तानातान भएपछि व्याग खोसेर २ वटै लुटेराहरू भागे । मेरो बायाँ तिघ्रामा हेर्दा गोलीले छेडेको                                            रहेनछ । त्यसैले म कराउँदै गुहार माग्दै कुद्दै अगाडि बढेँ । म कराएको सुनेपछि गाउँलेहरू भेला जम्मा भई लुटेरा डाँकाहरूलाई लखेट्दै अघि बढे । हडिया खोलानेर पुगेपछि तेस्रो लुटेरा डाँकालाई उक्त व्याग पास गरेर ३ वटै लुटेरा डाँकाहरू भाग्दै गए । गाउँलेहरूले चारैतिर घेराहाली ३ वटैलाई पक्राउ गरे । गाउँलेहरूको कुटाईबाट एउटा लुटेरा डाँकाको घटनास्थलमै मृत्यु भयो । त्यसपछि बाँचेका २ वटालाई गाउँलेहरूले प्रहरीसमक्ष बुझाए । लुटेरा डाँकाहरूले लुटी लगेको मेरो व्याग भित्र १२ तोला सुन र डेढ के.जी. चाँदी बुझी लिएको छु । जाहेरी व्यहोरा पढी बाँची सुनाउँदा सुनिपाएँ व्यहोरा सहिछापसमेत मेरै हो डाँकाहरूलाई कानूनबमोजिम कारवाही होस् भन्नेसमेत व्यहोराको जाहेरवाला रतन बराइलीले अदालतमा गरेको बकपत्र ।

      मिति २०६५।६।३ गतेको घटना विवरण कागज, वस्तुस्थिति मुचुल्का हेरेँ पढी बाँची सुनाउँदा सुनी पाएँ । घटना विवरण कागजमा भएको सही मेरै हो वस्तुस्थिति मुचुल्काको व्यहोरा सहीसमेत मेरो हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा सही गर्ने रोशन श्रेष्ठले अदालतमा गरेको बकपत्र ।

यी प्रतिवादीहरूले अभियोग मागदावीबमोजिम ज्यानसम्बन्धी महलको १ र १५ नं. विपरीत गोली चलाई मान्छे मार्ने प्रयास गरेको देखिँदा निजहरू दुबैजनालाई उक्त १५ नं. बमोजिम जनही कैद १०(दश) वर्ष हुने ठहर्छ । प्रतिवादीहरूले अभियोग दावीबमोजिम चोरीको महलको १ र ५ नं. विपरीतको कसूर अपराध गरेको ठहरेकोले निज प्रतिवादीहरूलाई चोरीको महलको १४(३) नं. बमोजिम विगो रू २,६०,०३२।को दोब्बर रू ५,२०,०६४।जनही जरीवाना र २ (दुई) महिना कैद हुने ठहर्छ । जरीवानावापतसमेत कैद हुने ठहर्छ भन्ने शुरू झापा जिल्ला अदालतबाट मिति २०६६।१।२९ गते भएको फैसला ।

      शुरू फैसलामा चित्त बुझेन । घटनास्थिति मुचुल्का आफैँमा प्रमाण होइन । सो मुचुल्का हुँदा मुचुल्कामा बस्ने मानिसहरूले अदालतमा आई बकपत्र गरी मुचुल्काको व्यहोरालाई प्रमाणित गरिदिएको अवस्थामा मात्रै उक्त मुचुल्कालाई प्रमाण ऐन, २०३१ को दफा १८(ख) बमोजिम प्रमाणमा लिन मिल्छ । त्यस्तै प्रतिवादी रविन थापाले आफू कसूरमा साबित भई अन्य प्रतिवादीहरूलाई पोल गरेको भन्ने कुरा आफैँमा प्रमाण होइन किनभने जाहेरी दरखास्तदेखि लिएर मिसिल संलग्न सम्पूर्ण कागजातहरूमा उल्लेख भएअनुसार घटना जाहेरवालाको घरमा नभई बाटोमा भएको भन्ने देखिन्छ तर साबिती भनिएको बयान हेर्दा घरमा गै चोरी गरेको भन्ने देखिन्छ । अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म चोरी र ज्यानमार्ने उद्योग मुद्दाको प्रमाण हुन सक्दैन । प्रमाणको न्यायोचित विवेचना नगरी गरिएको शुरूको फैसला त्रुटीपूर्ण हुँदा अभियोग दावीबमोजिम सजाय गर्ने गरेको फैसला बदर गरी पुनरावेदन जिकीरबमोजिम झूठ्ठा अभियोग दावीबाट फुर्सद पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू रविन थापा र सूर्य विश्वकर्माको कारागार कार्यालय, झापामार्फत पर्न आएको पुनरावेदनपत्र ।

      यसमा पुनरावेदक प्रतिवादीहरूले जाहेरवालालाई प्रहार गरेको भनेको गोली निजको शरीरको सम्वेदनशील अङ्गमा नभई तिघ्रामा लागेको देखिएको अवस्थामा प्रतिवादीहरूलाई ज्यानमार्ने उद्योगतर्फसमेत सजाय हुने ठहर्‍याई भएको शुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफल निमित्त अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६६।८।८ गतेको आदेश ।

पुनरावेदक प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा साबित भई बयान गरेको र सो बयानलाई बरामदी सुन, चाँदी र पेस्तोलसमेतबाट पुष्टि भइरहेको अवस्था देखिएको, प्रतिवादी रविन थापाले अदालतसमक्ष बयान गर्दा चोरी गर्न गएको कुरामा साबित भई जाहेरवालालाई पेस्तोल देखाई ताकेको कुरामा स्वीकार गरी बयान गरेको, अर्का प्रतिवादी शम्सेर भन्ने सूर्यबहादुर विश्वकर्माले घटनास्थलमा आफू उपस्थित रहेको कुरामा स्वीकार गरी अदालतसमक्ष बयान गरेको र शुरू जाहेरी व्यहोरालाई समर्थन गरी जाहेरवालाले अदालतसमक्ष गरी दिएको बकपत्रसमेतबाट निज पुनरावेदक प्रतिवादीहरूले अभियोग दावीबमोजिमको कसूर गरेको देखिएको अवस्थामा पनि शुरूको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर र यस अदालतबाट मिति २०६६।८।८ मा प्रत्यर्थी झिकाउने गरी भएको आदेशमा लिएका आधारसँग सहमत हुन सकिएन । प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम जनही कैद वर्ष १०(दश) र चोरीको महलको १४(३) नं. बमोजिम बिगो रू २,६०,०३२।को दोब्बर रू ५,२०,०६४।जनही जरीवाना र कैद महिना २ (दुई) हुने र जरीवानाबापतसमेत कैद हुने ठहर गरी शुरू झापा जिल्ला अदालतबाट मिति २०६६।१।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।८ को फैसला ।

      घटनामा हाम्रो संलग्नता भए पनि चोरी कार्यमा हाम्रो कुनै पनि प्रकारको संलग्नता थिएन । चाँदी लुट्ने योजना रहेछ भन्ने कुरा म सम्शेर वि.क.लाई थाहा भए पनि म रविन घटनास्थलभन्दा पर नै बसेको छु । जाहेरवालाको झोलासमेत जीवन भन्ने व्यक्तिले खोसेको हो । हामीहरूले गोली प्रहार गरेकोसमेत स्थिति र अवस्था रहेको छैन । हामीसमेतले चोरी गरेको भन्ने अभियोग दावी प्रमाणित हुन सक्तैन ।

ज्यानमार्ने उद्योग हुनका लागि ज्यान लिनेसम्मको मनसाय हुनुपर्ने देखिन्छ । जीवन भन्ने व्यक्तिले जाहेरवालाले ज्यान लिनेसम्मको कुनै पनि प्रकारको मनसाय राखेको पाइँदैन । ज्यान लिने नै मनसाय भएको भए दुईदुईजना पेस्तोल बोक्ने व्यक्तिमध्ये कसैले ज्यानै लिएर सुन चाँदी लुटने थिए होला । ज्यान नै लिएको भए जाहेरवालाले हार गुहार गर्न पनि सक्ने थिएनन् र जीवन भन्नेको ज्यानसमेत जाने थिएन ।

      ज्यान मार्ने मनसाय नभएको एवं प्रतिवादीहरूको कार्य तेस्रो पक्षको हस्तक्षेपबाट रोकिएको अवस्था पनि नहुँदा ज्यानमार्ने उद्योगअन्तर्गतको कसूर भन्ने अवस्था रहेको भन्न नसकिने । ने.का.प. २०६६ अङ्क ३ नि.नं. ८१११, पृष्ठ ५२० घाउ चोटसमेतको वारदातको प्रकृतिलाई विचार गर्दा मनसायपूर्वक प्रहार नगरेको, पुनः प्रहार गरेकोसमेत नदेखिएको वारदातको प्रकृतिबाट कुटपीट देखिएको भन्नेसमेत नजीर सिद्धान्त प्रतिपादन भएको छ । ने.का.प. २०६१, अङ्क ८, नि.नं. ७४२६, पृष्ठ १०३३ कर्तव्य गरी ज्यान मारेको वा ज्यान मार्नमा उद्योग गरेको भन्ने कसूरमा मनसाय तत्त्व प्रमुख                 रहन्छ । बन्दुक फायर हुनु नै ज्यान मार्ने मनसाय हो भनी भन्न नसकिने (ने.का.प. २०६६, अङ्क ४, नि.नं. ८१३३, पृष्ठ ७०१) समेत नजीर प्रतिपादन भएका छन् । तसर्थ हामीहरूलाई चोरी र ज्यान मार्ने उद्योग मुद्दामा सजाय हुने गरी गरेको पुनरावेदन अदालत, इलामको मिति २०६६।१।८ को फैसला उल्टाई सफाइ पाउने गरी हक इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादीका तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।                                                                   

      नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको शुरू र पुनरावेदनसहितका मिसिल कागजातहरूसमेत अध्ययन गरी पुनरावेदन अदालत, इलामबाट भएको फैसला मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

      मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीहरूले ज्यानमार्ने उद्योग र चोरीको कसूर गरेकाले सोहीबमोजिम सजाय गरी पाऊँ भन्ने अभियोग माग दावी भएकोमा ज्यानमार्ने उद्योग र चोरीसमेत गरेको ठहराएको शुरूको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसलाउपर प्रतिवादीहरूका तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको रहेछ ।

      प्रस्तुत तथ्यलाई हेर्दा प्रस्तुत मुद्दमा निम्न प्रश्नका सन्दर्भमा निर्णय दिनुपर्ने देखिन आयो :

(क) प्रतिवादीहरूबाट ज्यानमार्ने उद्योग तथा चोरीको कसूर भएको हो होइन ?

(ख) पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन ?

      २. निर्णयतर्फ सर्वप्रथम प्रतिवादीहरूबाट ज्यानमार्ने उद्योग तथा चोरीको कसूर भएको हो होइन भन्ने प्रश्नका सम्बन्धमा विचार गर्दा ज्यानमार्ने उद्योग तथा चोरीको कसूर गरेकाले सजाय गरी पाऊँ भन्ने जाहेरी दरखास्त छ । मिसिल संलग्न बरामदी मुचुल्कालाई हेर्दा यी प्रतिवादीहरूको साथबाट पेस्तोल बरामद भएको देखिन्छ । मौकामा कागज गर्ने व्यक्तिहरूसमेतले यी प्रतिवादीहरूबाट नै ज्यानमार्ने उद्योग तथा चोरीसमेत भएको भन्ने व्यहोरा लेखाई दिएको अवस्था देखिन्छ । यी प्रतिवादीहरूले घट्नामा आफू संलग्न भएको कुरामा स्वीकार गरेको अवस्था छ । प्रतिवादीहरूले प्रयोग गरेका पेस्तोलहरू बरामद भएको भन्ने कुरामा प्रतिवादीहरू अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा साबित रहेकोबाट पनि पुष्टि हुन्छ । मौकाको कागज गर्ने व्यक्तिहरूले पनि जाहेरीलाई समर्थन हुने गरी लेखाई दिएको पाइन्छ । बरामदी तथा खानतलासी मुचुल्कामा नलकटुवा पेस्तोल थान २ तथा सो दुबै पेस्तोलहरूमा फायर भई सो पेस्तोलको चेम्बरमा रहेका खोका थान १/१ रहेको भन्ने उल्लेख भएबाट निज प्रतिवादीको साथमा रहेको पेस्तोलबाट पनि फायर भएको रहेछ भन्ने कुरा बरामदी खोकाहरूबाटसमेत पुष्टि भएको देखिन्छ ।

      ३. जाहेरवालाले अदालतसमक्ष आई बकपत्र गर्दा आफूले सुन चाँदीको पसल बन्द गरी घरतर्फ जादै गर्दा यी प्रतिवादीहरूमध्ये एकजनाले पेस्तोल तेर्स्याएर मेरो व्याग खोस्न लाग्दा मैले इन्कार गरी अघि बढ्न खोजेको अवस्थामा अर्को व्यक्तिले गोली फायर गरी व्याग खोसी भागेकोमा हडिया खोलानेर पुगेपछि तेस्रो लुटेरालाई पास गरेर ३ वटै लुटेरा भाग्दै गरेको अवस्थामा गाउँलेहरूले समाती प्रहरीसमक्ष बुझाएका हुन् भनी आफ्नो जाहेरीलाई पुष्टि गरी दिएको पाइन्छ । त्यस्तै प्रतिवादी रविन थापाको हातमा पनि पेस्तोल भएको र सोही पेस्तोलबाट जाहेरवालालाई फायर गरेका थिए भन्ने कुरा स्वयं रविन थापाले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतसमक्ष आई गरेको बयानबाटसमेत स्वीकार गरेको पाइन्छ ।

      ४. यससम्बन्धी भएको कानूनी व्यवस्था ज्यानसम्बन्धी महलको १५ नं. लाई हेर्दा ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ । भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीहरूले ज्यानमार्ने उद्योगको कसूर गरेका हुन होइनन् भनी हेर्दा ज्यानमार्ने उद्योग हुनको लागि मनसाय तत्त्वको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । यी प्रतिवादीहरूले धेरै समय पहिलेदेखि नै मत सल्लाह तथा मिलेमतो गरी कुनै प्रतिवादी जङ्गलको बाटोगरी र कुनै ट्रयाक्टरमा चढी दिउँसोदेखि नै सो स्थानमा गई जाहेरवालाको गतिविधि बुझेको भन्ने देखिन्छ । जाहेरवालाको सुन चाँदी लुट्ने भनी एक आपसमा सल्लाह गरी कुनै एकातर्फको बाटोमा ढुकेर बस्ने र कुनै अर्कोतर्फको बाटोमा बसी जाहेरवालालाई पछ्याउँदै आउने र बीच बाटोमा एकान्त स्थानमा पारी निजको सुन चाँदी लुट्ने भनी यो यो कार्य यो यो स्थानमा बसी यस यसले गर्ने भनी कार्य विभाजनसमेत गरेको र सोहीबमोजिम कसैले जाहेरवालाको सुन चाँदी खोस्ने, कसैले पेस्तोल प्रहार गर्ने गरेको देखिएको र यी प्रतिवादीहरूले जाहेरवालालाई हान्ने भनी पहिलेदेखि नै मनसायपूर्वक पेस्तोल जस्तो जोखिमी हतियार हातमा लिइरहेका र सो जोखिमी हतियार कसले कतिबेला प्रहार गर्ने भनी यिनीहरूबीच मत सल्लाह भैरहेको देखिन्छ । यसरी पहिलेदेखि नै मानसिकरूपमा तयार भई सो जोखिमी हतियारले जाहेरवालालाई ताकेर प्रहार गरेको देखिँदा निजहरूको कार्यमा पूर्णरूपमा मनसाय तत्त्व रहेको भन्ने स्पष्ट हुन आयो । सो कुरालाई निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा आई गरेको बयानबाटसमेत स्पष्ट हुन्छ । यसरी निजहरूले पूर्ण मनसायपूर्वक सो कार्य सम्पन्न गरेको देखिन्छ । प्रतिवादीले आफ्नो पुनरावेदनमा भनेजस्तो मनसाय तत्त्वको अभाव रहेको भन्ने कुरा देखिन आएन । त्यस्तै प्रतिवादीले तेस्रोतत्त्वको उपस्थिति छैन भनी पुनरावेदनमा जिकीर लिएको तर्फ विचार गर्दा यी प्रतिवादीहरूले जाहेरवालालाई पेस्तोलले फायर गर्दाका साथसाथै गुहारगुहार भनी जाहेरवाला कराएको कारणले तुरून्त गाउँलेहरूको उपस्थिति भई एकैछिनमा धेरै जमात अगाडि आई निजहरूलाई लखेट्दै लगेको कारणबाट पनि अन्य फायर हुन नसकेको अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा हारगुहार गर्दासाथै गाउँलेहरूको भीड तुरून्त अगाडि आउनु नै तेस्रोतत्त्वको उपस्थिति भएको देखिन्छ ।

      ५. यसै सम्बन्धमा यस अदालतबाट सूर्जेमानको जाहेरीले नेपाल सरकार वि. बुद्धिमान तामाङसमेत भएको ज्यानमार्ने उद्योग मुद्दामा जानी जानी भरूवा बन्दुकले फायर गरी घाइते पारेको देखिँदा ज्यानमार्ने उद्योग गरेको ठहर्छ भनी ने.का.प. २०४२, अङ्क ७, नि.नं. २४४०, पृष्ठ ६९८ मा सिद्धान्तसमेत प्रतिपादित भैसकेको देखिन्छ । सो प्रतिपादित सिद्धान्तबमोजिम पनि यी प्रतिवादीहरूले ज्यान मार्ने उद्योग गरेको ठहर्ने देखियो ।

      ६. यस्तो अवस्थामा पेस्तोल जस्तो जोखिमी हतियारले पूर्ण मनसायपूर्वक जानीजानी जाहेरवालामाथि पेस्तोल प्रहार गरी घाइते पारी ज्यान मर्नेसम्मको काम गरेको तर कुनै तरहले ज्यान मर्न नपाएको हुँदा यी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसूर गरेको ठहर्छ ।

      ७. माथि उल्लेख भएबमोजिम ज्यान मार्ने उद्योगको कसूर गर्ने, गर्न लगाउने, वचन दिने वा मद्दत गर्ने जोसुकैलाई पनि पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।

८. त्यस्तै प्रस्तुत मुद्दामा चोरीको कसूर भएको हो होइन भन्ने सम्बन्धमा विचार गर्दा यी पुनरावेदक प्रतिवादीहरूले घटनास्थलमा आफू पनि रहेको कुरामा स्वीकार गर्दै जाहेरवालाले आफ्नो सुन चाँदीको पसल बन्द गरी घरतर्फ जाने अवस्थामा यी प्रतिवादीहरूले जाहेरवालाको सुन चाँदी लुट्ने प्रमुख उद्देश्य राखी अगाडिदेखि नै मत सल्लाह गरी दुईवटा पेस्तोलको बन्दोवस्त गरी जाहेरवाला जाने बाटोमा एकान्त ठाउँमा पारी जाहेरवालालाई पेस्तोल प्रहार गरी जाहेरवालाको सुन चाँदी झोला खोसी लगेको कुरामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कसूरमा साबित भई बयान गरेको देखिन्छ । प्रतिवादीमध्येका रविन थापाले अदालतसमक्ष आई बयान गर्दा जीवनले जाहेरवालाको सुन चाँदी पसलमा चोरी गर्न जाऊँ भनेकाले सँगै गई चोरी गरेको हो भनी  अझ स्पष्ट हुने गरी बयान गरेका छन् ।  त्यस्तै आफूसमेत घटनास्थलमा रहेको कुरामा प्रतिवादी शम्शेर भन्ने सूर्य विश्वकर्माले पनि स्वीकार गर्दै अदालतसमक्ष बयान गरेको देखिन्छ ।

      ९. यससम्बन्धी भएको कानूनी व्यवस्था चोरीको महलको १ नं. लाई हेर्दा .... धनीको हक मेटाई आफूले लिन खानका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।  भन्ने र ऐ.५ नं.लाई हेर्दा बाटो घाटो वा जङ्गलमा ढुकी जबर्जस्ती चोरी गरेको रहजनी ठहर्छ भन्ने र ऐ. १४ को देहाय ३ नं. मा रहजनी गर्नेलाई यसै महलको १२ नम्बरबमोजिम हुने सजायको दोब्बर बढाई सजाय गरी जरीवानाबापतसमेत कैद गर्नुपर्छ र सोबमोजिम गर्दा ६ महिनादेखि घटी कैद हुने भएमा ६ महिना कैद गर्नुपर्छ । भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले पनि बाटोघाटो जङ्गलमा ढुकी धनीको हक मेटाई आफूले लिन खानका लागि पेस्तोल जस्तो जोखिमी हतियार प्रहार गरी जाहेरवालालाई घाइते गराई जबर्जस्ती निजको सुन चाँदीको झोला खोसी लगेकोमा अभियोग दावीबमोजिम चोरीको कसूर गरेको ठहर्छ । सोही कानूनी व्यवस्थाको परिधिभित्र रही शुरू तथा पुनरावेदन अदालतले सजाय गरेको पनि देखिन्छ ।

      १०. यसै सम्बन्धमा यस अदालतबाट भोला मण्डल धानुक वि. गोपालप्रसाद रौनियारको जाहेरीले श्री ५ को सरकार भएको चोरी मुद्दामा प्रहरीमा भएको साबिती बयानलाई घट्नास्थल प्रकृति मुचुल्का, विभिन्न ठाउँमा सामान बरामद भएको बरामदी मुचुल्काहरू र जाहेरवालाको अदालतमा भएको बकपत्रसमेतबाट प्रमाणित रहे भएको देखिँदा प्रतिवादीले अभियोग दावीअनुसार कसूर गरेको होइन भन्न सकिने अवस्था छैन । भनी स.अ. बुलेटिन वर्ष ११, अङ्क १८, पृष्ठ १५ मा सिद्धान्तसमेत प्रतिपादित भैसकेको देखिन्छ । सो प्रतिपादित सिद्धान्तबमोजिम यी प्रतिवादीहरूको पनि प्रहरीमा भएको साबिती, सामान बरामद भएको बरामदी मुचुल्का तथा जाहेरवालाको अदालतमा भएको बकपत्रसमेतबाट प्रमाणित रहे भएको अवस्था देखिँदा प्रतिवादीले अभियोग दावीअनुसार चोरीको कसूर गरेको पनि ठहर्ने नै देखिन आयो ।

      ११. अब दोस्रो प्रश्न पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्नेतर्फ विचार गर्दा यस अवस्थामा निज प्रतिवादीहरूमाथि उल्लिखित ऐन कानूनका व्यवस्थाहरूमा निषेध गरेको ज्यान मार्ने उद्योग र चोरीको कसूर गरेको पाइएको र पुनरावेदन अदालत, इलामबाट सोही कानूनको परिधिमा रही सजाय भएको देखिँदा प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गर्दा लिएका जिकीरहरूसँग सहमत हुन सकिएन । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन ।

      १२. तसर्थ, माथि उल्लिखित विभिन्न आधार र कारणहरूबाट यी पुनरावेदक प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम जनही कैद वर्ष १०(दश) र चोरीको महलको १४(३) नं. बमोजिम विगो रू.२,६०,०३२।को दोब्बर रू.५,२०,०६४।जनही जरीवाना र कैद महिना २ (दुई) हुने र जरीवानाबापतसमेत कैद हुने ठहर गरी शुरू झापा जिल्ला अदालतबाट मिति २०६६।१।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहराएको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।८ को फैसला मिलेकै देखिँदा त्यसमा कुनै परिवर्तन गरीरहनु परेन सदर हुने ठहर्छ । थुनामा रहेका प्रतिवादीहरूलाई फैसलाको जनाउ दिई प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।                    

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०७० साल माघ १५ गते रोज ४ शुभम्।

इजलास अधिकृत : हेमबहादुर सेन

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु