शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

भाग: साल: २०२३ महिना: बैशाख अंक:

निर्णय नं. ३५२           ने.का.प. २०२३

डिभिजन बेञ्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री वाशुदेव शर्मा

२०२२ सालको रीट नम्वर ११५

निवेदक      : पिताम्बर पाध्या पाण्डे

विरुद्ध

विपक्षी : भूमि सुधार विशेष अदालत, नुवाकोट रसुवा समेत

मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   मोही निष्कासन वा मोहिबाट कुत भराई माग्ने विषयको उजुरी हेर्ने विषयको सूचना उल्लेख भएकोमा बाली मुद्दाको मिसिलको किनारा गर्न नमिल्ने, अधिकार बेगर गरे छिनेको फैसला बदर हुने ।

            प्राप्त जवाफमा यो ऐन अन्तर्गत अधिकार प्राप्त भई बाली मुद्दा किनारा गरेको हो भनी उल्लेख गर्न नसकी ०२१ सालको बाली पाउँ भन्ने पिताम्बरको जि.अ.मा ०२२।२।१७ मा फिराद दायर हुनु भन्दा अगावै ०२२।२।४ मा पिताम्बर उपर मोहिया हक खिचोला गर्‍यो भन्ने नरबहादुरको यस भु.सु.वि.अ.मा उजुरी बयानमा झिकाइएका पिताम्बरले गरेको बयानमा मैले दिएको बाली मुद्दाको मिसिल झिकी बुझी पाउँ भनेको र नरबहादुरले पनि माग गरेकाले एकै जग्गाको खिचोला र बाली मुद्दा हुँदा झिकाई एकै साथ किनारा गरेको हो । नरबहादुरको खिचोला मुद्दा नपरेको भए झिकाउने थिएन भन्ने जवाफ लेखेको पाइयो । प्राप्त जवाफ र कानूनको विचारबाट अधिकार बेगर यो मुद्दा छिनिएको देखिएकाले यो आदेशद्वारा उक्त फैसला बदर गरिएको छ ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : प्ली.ठाकुरप्रसाद

बिपक्ष तर्फबाट : ग.ए. रतनलाल कनौडीया

आदेश

      १.     विपक्ष नरबहादुर उपर बनिखोला खेतको बाली नबुझाएकाले बिगो रु.२४० भराई पाउँ भन्ने मेरो ०२२ साल जेष्ठमा फिराद परेको । मुद्दा नु.तथा रसुवा जि.अ.को मिसिल बिपक्ष विशेष अदालतबाट बुझी लिई वादी दावी पुग्न नसक्ने ठहर्छ भनी ०२२।७।२६ मा भु.सु.ऐन, २०२१ को दफा ५५ ले अन्तिम निर्णय गरी दिनु भयो ।

      २.    अ.बं.३५ नं.मा हेर्न हुने बाहेक अरू मुद्दा हेर्न हुँदैन । हेरे छिने बदर हुन्छ भन्ने लेखिएको रहेछ ।

      ३.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ मा यो दफा प्रारम्भ हुँदाका मितिसम्म देहायको विषयमा सर्वोच्च अदालतमा बाहेक अरू अदालतमा दायर भई छिन्न बाँकी मुद्दा यो दफा प्रारम्भ भएपछि तोकेको अदालतमा सर्नेछ भनी ग.मा.कुतसम्बन्धी भनी लेखिएकोले ऐन लागू भई अदालत तोकि सकेपछि परेको यो मुद्दा उक्त दफाले सर्ने भन्ने नभएको र भु.सुधार मन्त्रालयको सूचना गजेट ०२२।२।३२ मा समेत मोहियानी हकको प्राप्ति वा तेरो मेरोसम्बन्धी मुद्दाहरू हेरि किनारा लगाउने गरी सुम्पिएकोले पनि जग्गा धनी मैले मोहीबाट बाली दिलाई पाउँ भन्ने मुद्दा विपक्ष विशेष अदालतले हेर्न नपाउने प्रष्ट छ ।

      ४.    उक्त लेखिएबमोजिम आफ्नो अधिकार क्षेत्र नाघी विपक्षीको विशेष अदालतले गरेको निर्णयले नेपालको संविधान को धारा १० को उपधारा १ र ऐ धारा ११ को उपधारा २ को खण्ड (घ) ऐ.धारा १५ बाट समेत बन्चित गराइएकोले ऐ धारा ७५ बमोजिम उत्प्रेषणको आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी उक्त फैसला बदर गरी जिम्माबाटै किनारा गर्ने गरी संवैधानिक हकको प्रचलन कायम गरी पाउँ भन्ने निवेदन ।

      ५.    लिखित जवाफ दाखिल गराउनु भन्ने ०२।१०।१४।५ को डिभिजन बेञ्चको आदेश ।

      ६.    ०२१ सालको बाली पाउँ भन्ने पिताम्बरको जि.अ.मा ०२२।२।१७ मा फिराद दायर हुनु भन्दा अगावै ०२२।२।४ मा पिताम्बर उपर मोहिया हक खिचोला गर्‍यो भन्ने नरबहादुर को यस भु.सु.विशेष अदालतमा उजुरी बयान भएकोमा झिकाई आएका पिताम्बरले गरेको बयानमा मैले दिएको बाली मुद्दाको मिसिल झिकी बुझी पाउँ भन्नेका र ०२१ सालको बाली पिताम्बरलाई ०२१।१।७।२४ मा बुझाई सकेको हुँदा सो मिसिल झिकी पाउँ भन्ने नरबहादुरले पनि माग गरेको हुँदा एकै जग्गाको किचोला र बाली मुद्दा समेत हुँदा यस अदालतमा परेको मुद्दाको सिलसिलामा उक्त वि.अ.बाट बाली मुद्दा झिकी साथै किनारा हुनु पर्ने मिसिलको अवस्थाबाट देखिन आएको हुँदा मिलाई एकैसाथ किनारा गरिएको हो । नरबहादुरको जग्गा खिचोला मुद्दा नपरेको भए अवश्य पनि बाली मुद्दा झिकी कारवाही किनारा गरिने थिएन । त्यसो हुँदा कानून बिपरीत कारवाही किनारा गरेको भनी भन्न मिल्ने छैन भन्ने समेत भु.सु.वि.अ.नुवाकोट तथा रसुवा प.१ नं.को ०२२।११।२७।५ को लिखित जवाफ ।

      ७.    निवेदकबाट खाएको ऋण रु.१४०० भूमि सुधारमा लेखाएको रिसइवीबाट बालीमा उजुर गरेको हो । उक्त बाली मुद्दा भू.सु.वि.अ.मा सरी वादी दावी झुट्टा ठहराई ०२२।७।२६।५ मा निर्णय गरेको हो । भू.सु.ऐन, २०२१ को दफा ५४ को मुद्दा हेर्ने व्यवस्था मिति ०२२।२।३२ को गजेटमा प्रकाशित भएकोबाट अधिकार नभएको भन्न मिल्दैन । उक्त कारणबाट निवेदकले माग गरेबमोजिम संविधान धारा ७१ अन्तर्गत कुनै आज्ञा वा आदेश जारी नगर्नु पर्ने स्पष्ट छ भन्ने नरबहादुरको लिखत जवाफ ।

      ८.    यसमा तारेखमा रहेका निवेदक पिताम्बर पाध्या समेतलाई रोहवरमा राखी नियमबमोजिम पेश हुन आएको प्रस्तुत केशमा निवेदक तर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर ठाकुरप्रसाद र विपक्ष तर्फबाट रहनु भएको गभर्नमेन्ट एडभोकेट श्री रतनलाल कनौडीयाको बहस समेत सुनी निर्णयतर्फ हेरिएमा,

      ९.    रसुवा तथा नुवाकोट जि.अ.मा पिताम्बर पाण्डेले नरबहादुर रिमाल क्षेत्री उपर दिएको ०२१ सालको बाली भरपाई पाउँ भन्ने मुद्दा २०२२ साल कार्तिक २६ गते रोज ५ मा निवेदकको उजुरी झुठ्ठा ठहराई भू.सु.वि.अ.बाट छिनेको देखियो । फागुण १७ गते ०२२ सालको कानून तथा न्याय मन्त्रालयको सूचनामा पर्ने वा परि किनारा नभएका मोहि निष्कासन वा मोहिबाट कुत भराई माग्ने विषयको उजुरी हेर्ने विषय उक्त मितिको सूचनाले तोकिएको अदालतलाई सुम्पिएको देखियो । प्रस्तुत मुद्दा ०२२।११।२७ को सूचनाबमोजिम फागुण १७ गते पछि परेको र सो मिति भन्दा अगावै परि छिन्न बाँकी रहेको नदेखिई ०२२।२।१७ मा फिराद परी ०२२।७।२६।५ गते छिनिएको देखियो । उसमा पनि प्राप्त जवाफमा यो ऐन अन्तर्गत अधिकार प्राप्त भई बाली मुद्दा किनारा गरेको हो भनी उल्लेख गर्न नसकी ०२१ सालको बाली पाउँ भन्ने पिताम्बरको जि.अ.मा ०२२।२।१७ मा फिराद दायर हुनु भन्दा अगावै ०२२।२।४ मा पिताम्बर उपर मोहिया हक खिचोला गर्‍यो भन्ने नरबहादुरको यस भू.सु.वि.अ.मा उजुरी बयानमा झिकाइएका पिताम्बरले गरेको बयानमा मैले दिएको बाली मुद्दाको मिसिल झिकी बुझी पाउँ भनेका र नरबहादुरले पनि माग गरेकोले एकै जग्गाको खिचोला र बाली मुद्दा हुँदा झिकाई एकैसाथ किनारा गरेको हो । नरबहादुरको खिचोला मुद्दा नपरेको भए झिकाउने थिएन भन्ने जवाफ लेखेको पाइयो । प्राप्त जवाफ र कानूनको विचारबाट अधिकार बेगर यो मुद्दा छिनिएको देखिएकाले यो आदेशद्वारा उक्त फैसला बदर गरिएको छ । कानून बमोजिम गर्नु भनी यो आदेशको १ प्रति नक्कल विपक्ष भू.सु.वि.अ.नुवाकोट रसुवामा पठाउन एटर्नी जनरल अफिसमा पठाई फाईल नियमबमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०२३ साल जेष्ठ १० गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु