निर्णय नं. ३५५ - गौबध

निर्णय नं. ३५५ ने.का.प. २०२३
फुल बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
२०२२ सालको पहिलो रिभिजन फौ.फु.नं.३६
निवेदक : हाल सदर भद्रगोल जेलका बन्दी गणेशलाल प्रजापति
विरुद्ध
विपक्षी : श्रीप्रसाद उपाध्यायको जाहेरीबाट श्री ५ को सरकार
मुद्दा : गौबध
(१) साविकको मुलुकी ऐनको चौपायाको १ नम्वर–मारौं भनी मतलव गरी गाई गोरु बाछा बाछी मारे मार्न लगाए बात लाग्ने । मारौं भन्ने मतलव नलिई चौपायाको धनीसँगको रिसइवी साधन गर्ने मनसायसम्म पनि नदेखिए र हानेको घाउ चोटबाट गोरु मर्न गएमा चौपायाको ६।१३ नम्वरबमोजिम सजाय गर्न नमिल्ने र चौपायाको २ नम्वरमा उल्लिखित अवस्थाको देखिने हुँदा चौपायाको १७ नम्वरबमोजिम सजाय हुने ।
तत्काल प्रचलित चौपायाको १ नं.मा मारौं भनी मतलव गरी गाई गोरु बाछा बाछी मारे मार्न लगाएमा बात लाग्छ भन्ने उल्लेख भएको । प्रस्तुत केशमा निज नेपाल भन्ने गणेशलालले मारौं भन्ने नै मतलव गरी चोट छाडेको भन्ने कुरा मिसिल प्रमाण कतैबाट देखिन नआएको र यदि मार्नाकै मतलव गरेको भए पहिले १ चोट हानी घाइते भईसकेको पशु जातीलाई अरू पनि चोट थपी तत्काल मार्न पनि सक्ने अवस्था परकै । तर सो अनुसार भए गरेको पनि नदेखिएको । गोरुको मालिक श्रीप्रसादसँग कुनै रिसइवी भएको कारणले सो रिस ईवी साधन गर्न चोट प्रहार गरेको भन्ने भनाइ पनि नभएकोले समेत मार्नाकै मतलव गरी चोट छाडेको रहेछ भन्न नहुने हुँदा उक्त चौपायाको १ नं.को कसुरमा मिल्न नआउने र मारौं भन्ने मतलवको अभावमा यस्तो कसुरमा ऐन ६।१३ नं.बमोजिमको सजाय लाग्न पनि नसक्ने समेत हुँदा निज नेपाल भन्ने गणेशलाललाई चौपायाको ६।१३ नं.लगाई कैद वर्ष १२ गर्ने गरेको मिलेको देखिएन ।
(प्रकरण नं. १८)
(२) चौपायाको २ नं.मा मारौं भन्ने मतलव नगरी उपकारका निमित्त वा अरू केही कुरा गर्दा अकस्मात लाग्न गई वा केही भई गाई गोरु मर्न गएको भए भवितव्य ठहर्छ भन्ने उल्लेख भएको र प्रस्तुत केशमा उपकारका निमित्त गरेको भन्ने नभए पनि प्रतिवादी नेपाले भन्ने गणेशलालले आफूले मेहनत गरी लगाएको आफ्नो जग्गाको मकै बाली खाई दियो भन्ने कुराको तत्काल रिस थाम्न नसकी सो गोरुलाई धपाउन आफ्नो हातमा भएको खुर्पाले १ चोटसम्म हानेको । अकस्मात खुट्टामा लाग्न गई काटिई कडा चोट परी मर्न गएको भन्ने देखिएकोले उपरोक्त चौपायाको २ नं.मा उल्लेख भएबमोजिम केहि कुरा गर्दा अकस्मात लाग्न गई भन्ने भवितव्यकै परिभाषा भित्र पर्न आउने कसैका गाई गोरुलाई कुट्दा भवितव्य भई गाई गोरु मर्न गएमा बिगो भराई बिगोबमोजिम दण्ड गर्नु भन्ने चौपायाको १७ नं.उल्लेख भएको समेत हुँदा सोहि चौपायाको १७ नं.बमोजिम सजाय हुने भवितव्यको कसुर ठहर्छ ।
(प्रकरण नं. १८)
निवेदक तर्फबाट : प्ली सुधानाथ पन्त
वादी तर्फबाट : ग.ए.रतनलाल कनौडिया
फैसला
१. मैले यहि आषाढ २७ गते बस्तु चराउन लगेकोमा माले बहर गोरु बगालसँग छाडी हराएकोले खोजी गर्दा बिफे चौरमा फेला परेको । गोरुको पछाडिको खुट्टामा घुँडामाथि काटिएकोले कस्ले भनी हल्लाखोर गर्दा ५०।५१ बोट मकै खाएकोले मैले काटी दिएको हुँ भनी नेपाल भन्नेले भनेकाले सजाय गरी पाउँ भन्ने ०१८।३।३० को र गोरु श्रावण ११ गते मरेकाले लासजाँच बुझ गरी जुन सजाय गर्नु पर्छ गरी पाउँ भन्ने समेत ०१८।४।१२ को समेत श्रीप्रसादको दर्खास्त ।
२. गोरु मरी रहेको पछाडीको दायाँ खुट्टा घुँडामाथिको डढेल्नामा लम्वा ७ चौडा ६।। अंगुल गहिराई २ इन्चीको हतियारले काटेको घाउ भई प्रशस्त किरा परेको । अरू घाउ खत नदेखिएको लासको प्रकृति ठिक छ । नेपाललाई सोध्दा १ चोटी खुर्पाले हानेको हुँ भनेको थियो । घाउबाट रगत बिग्रन गई किरा समेत परी नेपालले भनेको । कर्तव्य चोटबाट मरेको हो भन्ने दाताराम समेत र नेपाले भन्नेले गोरु काटी त्यसैको चोट पीरबाट मरेको हो भन्ने हल्ला सुनेकोले निजै उपर कर्तव्यमा शंका लाग्छ भन्ने झयामनाथ समेतको लासजाँच मुचुल्का ।
३. मेरो थमरवारा भन्ने जग्गामा मकै खाएछन् र लगार्दै १।। सयगज फरकमा पुर्याई म फर्कें । रामजाली साँहिलाले बाहुनको गोरु काटिएछ, हेर्न जाउँ भनी मलाई बोलाए । गोरु भएको ठाउँमा पुगी हेर्दा, गोरुको पछाडी पट्टीको खुट्टाको घुँडामाथि अं. ५ अंगुल लामो ३ अंगुल चौडा घाउ लागेको हो । कुनै हतियारको चोट परी घाउ लागेको जस्तो लाग्छ । मैले हाने, काटेको होइन भन्ने समेत नेपाले भन्ने गणेशलालको कागज ।
४. गोबधमा मुद्दा चलाउने भन्ने प्रोसिक्युटरको रिपोर्ट ।
५. मेरो भएको व्यहोरा थानामा दिएको दर्खास्तमा लेखेको छु । काटेकै पिरबाट मरेको हो । मेरो गोरुको रु.१२० मोलीने हो । गोरुलाई बिफे चौर भन्ने ठाउँमा काटिएको रहेछ भन्ने समेत श्रीप्रसादको बयान ।
६. ३०–३५ बोट मकै खाई दिएकोले धपाई बाटामा ल्याई छाडि रामजाली मगरलाई कस्को भनी सोध्दा बाहुनको भनेकोले त्यहीं छाडेको हुँ । मैले काटेको छैन भन्ने समेत नेपाले भन्ने गणेशलालको बयान ।
७. गोरुको खुट्टा काटिए नकाटिएको थाहा छैन । मेरो सामुन्ने गणेशलाल सावित भएको म ड्युटीमा रहने हुँदा थाहा छैन । गणेशलाल मेरो बहिनी ज्वाई हुन । गणेशलालले काटे नकाटेको नदेखेको हुँदा थाहा छैन भन्ने समेत सिद्धिबहादुरको बयान ।
८. गोरु हान्ने प्र.गणेशलाल भन्ने देखिएको । बाली खाने गोरुलाई रिसको बेगले हान्ने काटने अवस्था पर्न गएकोले निजैले काटेको भन्ने सिद्ध भएको । हतियारले काटेकोबाट थला परी २१ दिन भित्र मरेको ठहर्छ । गणेशलाललाई १२ वर्ष कैद हुन्छ । गणेशलालबाट श्रीप्रसादलाई गोरुको रु.१२० भराउने भन्ने समेत इ.अ.बन्दीपुरको न्या.बाबुरामको फैसला ।
९. मैले खुर्पाले काटेको हुँ भनी कसैको सामुन्ने सावित भएको र काटेको समेत नभई लगारेकोसम्म बयान गरी दिएको हो । मैले कसुर गरेको छैन तापनि प्रमाणबाट मैले गरेको देखिन आए पनि मारौं भन्ने इच्छाले काटेको देखिन नआएको र केहि गर्दा मरेकोमा भवितव्य ठहर्छ भन्ने चौपायाको २ नं.भएकोमा निर्दोषी मैले पुरै सजायभागी हुनु परेको छ । अन्याय परेको छ भन्ने समेत गणेशलालको अपीलपत्र ।
१०. इन्साफ शुरुको मनासिव छ भन्ने जि.अ.पोखराको न्या.बब्बरप्रसादको फैसला ।
११. उजुरवाला समेतले किटानी उजुर गर्नु पथ्र्यो । सो देखिंदैन । विन्दुरत्न समेतका ३० जनाले हल्ला सुने शंका लाग्छ मात्र भनेका छन । मैले नै काटेको भन्ने किटानी भन्न सकेनन । श्रीमानबाट विचार हुने नै छ भन्ने समेत गणेशलालको अपील ।
१२. मार्नेका नियतले हानेको भन्ने नदेखिएकोले समेत सरकारी वकिल पठाई दिनु भनी ऐ.ज.आ.मा लेखी पठाई पेश गर्नु भन्ने ०२१।३।८ को डिभिजन बेञ्चको आदेश ।
१३. घाउ भई किरा परी २१ दिन भित्र गोरु मरेको जाँच मुचुल्काबाट देखिएको । सो घाउ हतियारको हो भन्नेमा अपीलाटले पनि थानामा कागज गरेकै र गोरुले मकैको बोट खाएबाट लगार्दै धपाएकोमा अपीलाट सावितै भएको । गोरुको घाउ यो यस परिवन्दबाट भएको भन्न र सबुद प्रमाण गुजार्न अपीलाटले नसकेको । मकै खाएबाट १।। सय गजसम्म लगार्दै धपाउने अपीलाटले गोरुलाई हातियारले काटेनन होला भन्न नमिल्ने । निज अपीलाटले काटेकोबाटै गोरु मरेको भन्ने झयामनाथ समेतले गरी दिएको जाँच मुचुल्काबाट देखिनाले समेत अपीलाटले हानेको चोटबाट मरेको ठहरिएको इ.अ. बन्दीपुरको ईन्साफ सदर गरेको जि.अ.पोखराको मुनासीव छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२१।५।२६ को फैसला ।
१४. मैले गोरुलाई खुर्पाले हाने घाउ लगाएको होइन । सो कुरा आँखाले देखें भन्ने चस्मदिद कोही छैनन । सर्जमिनमा पनि गोरुलाई हानी घाउ गराएको मैले देखेको भनेको कोही छैन । खाली धपाएकोसम्म देखेको भनेकामा त्यतीकैबाट बिना आधारमा मलाई सजाय गरी भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याई हेरि दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गणेशलाल प्रजापतिको बिन्तीपत्र ।
१५. सर्वोच्च अदालतबाट चौपायाको ६।१३ नं.लगाई गणेशलाललाई कैद बर्ष १२ गरेको बन्दीपुर ईलाका अदालतको इन्साफ सदर गरेको जिल्ला अदालत पोखराको ईन्साफ मनासिव गरेको देखियो । चौपायाको ६ नं.मा गाई गोरुलाई हतियार वा लाठा ढुंगा इत्यादिले हानी सोही पिरले उठ्न नसकी थला परी २१ दिनभित्र मर्यो भने त्यसको चोटले मरेको ठहर्छ । पुरा सजाय गर्नु । म्याद नाघी मरेमा र अरू बेथा लागी हिंडन डुल्न लागेपछि मरेको भए पुरा सजाय नगर्नु । त्यसले गर्दा जुन कुरा भएको छ, उसै ऐन बमोजिम भित्र सजाय गर्नु भन्ने र ऐन १३ नम्वरमा जानी जानी गाई गोरु मार्नेलाई १२ वर्ष र बचन दिनेलाई ६ वर्ष कैद गर्नु भन्ने लेखिएको । उजुरवाला श्रीप्रसादको दर्खास्त बयानमा जानी जानी मारेको भन्ने लेखाई नभई नेपाल भन्नेले मैले काटेको हुँ भनी भनेकाले कसुर माफिक सजाय गरी पाउँ भन्ने र मौका तहकिकात मुचुल्का हुँदा गोरे भन्नेले नेपालले हँसिया लिई धपाएको थियो भनेकोले नेपाललाई सोधेमा खुर्पाले हानी काटेको हुँ भनी कुरा गरेको । गोरु बोकाई गोठमा ल्याई राखेको । निज नेपालले औषधी ल्याई लगाउने गथ्र्यो । नेपालकै कर्तव्यबाट मरेको हो भन्ने उजुरवालाको एकाघरको आमाको र गोरेले हँसिया लिई धपाउँदा देखेको कुरा गरेकोले शंकाबाट नेपाललाई बोलाई सोधपुछ गर्दा एक चोटी खुर्पाले हानेको हुँ भनी भनेको थियो । गोरु बिस्तारै बिस्तारै खोच्याई हिंडेमा पनि राम्रो हिंड्न नसक्ने हालतमा देखिएको । निज नेपालेका कर्तव्यबाट मरेको हो भन्ने बलबहादुर समेत ४, तिमीले गोरु काट्यो भन्छ नी भनी नेपालेलाई सोद्धा मेरो दशाले घोप्टाएको के गर्नु भनी जवाफ दिएकोले निजै उपर शंका लाग्छ भन्ने बुद्धिप्रसाद समेत १५, नेपाले भन्नेले मकै खायो भनी गोरु काटी जखम पारेको छ रे ¤ भन्ने हल्ला सुनेकाले शंका लाग्छ भन्ने वेदनिधि समेत १४, नेपालेका बारीको साँधमा हाम्रो बारी भई घैया गोड्न आएको थिएँ । गोरुले नेपालेको बारीको मकै खाई निजले धपाएकोसम्म देखेको हुँ भन्ने गोरे रामजाली मगर श्रीप्रसादले हाम्रो गोरु नेपालेले काटी दिएछ सापवित भयो भन्दा सुनेको । नेपाले आई अड्डामा पारी नदिनु होस मेरो दसा रहेछ भनेको । बराबर गोरुलाई निजले औषधी लाउने गरेको हुनाले निजै उपर शंका लाग्छ भन्ने उमानाथ समेतको भनाइ भएकोमा हँसिया खुर्पाले हानेको भन्ने गोरेको लेखाई नभएको । चौपायाको ६।१३ नम्वरको सजाय सोही महलको १ नम्वरको परिभाषाबमोजिम मार्ने नियतले गरेको काम कुराको अपराध बाहेक अरू अवस्थाको अपराधमा प्रयोग हुन नसक्ने । चौपायाको १ नम्वरमा मारौं भन्ने मतलव गरी गाई गोरु बाछा बाछी मार्न, मार्न लगाउन, र मार्नाको उद्योग गर्न अथवा सो नियतले बिदेशमा लैजान, लगी बिक्री गर्न समेत हुँदैन । गरे बात लाग्छ भन्ने लेखिएको । यस केशमा अपराध प्रयोग र परिणाम विचार गर्दा, निज गणेशलालले हतियार कुन किसिमबाट प्रयोग गर्यो ? हतियार प्रयोग गरेको देख्ने मानिस कोहि नदेखिएको र निज उपर मार्ने नियतले नै हतियार प्रयोग गरेको हो भन्ने उजुरवाला समेत कोहि नभएको । गोरुको पछाडिको दाहिने खुट्टाको पछाडि घुडामाथि ढंडेसोमा हतियारको चोट लागेको भनेमा त्यसपछि पनि बिस्तार–बिस्तारै खोच्याई हिंडेको देखिएको र आखिर घाउमा किरा परी मरेको भन्ने लासजाँच सर्जमिन मुचुल्काबाट देखिएको र सर्जमिनका मानिस कसैले पनि मार्ने नियतले नै हाने काटेको हो भनी लेखेको पनि नदेखिएको । बाली खान जाँदा बालीको बचाउको निमित्त धपाएकोसम्म कुरामा प्रत्यक्ष प्रमाण बेगर शंकै–शंकाका भरले मार्ने नियतले हतियार प्रयोग गरी जानी–जानी हानेको भन्न नमिल्ने हुँदा यस्ता कुरामा उक्त १३ नम्वर लगाई सजाय गरेको कुरा मिल्न आएको नदेखिने । ६ नम्वरको ऐनबमोजिम सजाय गर्न मिल्ने होकि भन्नालाई सो ऐन पनि उल्लिखित चौपायाको १ नम्वरको मार्ने नियतले गरेको व्यवस्थामा मात्र लाग्ने देखिएको हुँदा सो ऐन पनि यस्तो अवस्थामा यस केशमा प्रयोग हुन नसक्ने नै देखिएको । चौपायाको २ नम्वरमा मारौं भन्ने मतलव नगरी उपकारका निमित्त वा अरू केहि कुरा गर्दा अकस्मात लाग्न गई वा केहि भई गाई गोरु मर्न गएको भए भवितव्य ठहर्छ भन्ने लेखिएकोले मारौं भन्ने मतलव नगरी केही कुरा गर्दा केहि भई गाई गोरु मर्न गएको भन्ने परिभाषा भित्र पर्न आउने हुनाले सो अनुसार भवितव्य भई मर्न गएको र त्यस्तो कसुरमा चौपायाको १७ नम्वरको ऐनबमोजिम बिगो भराई बिगोबमोजिम दण्डसम्म हुने हुँदा उक्त ऐन लगाई १२ बाह्र बर्ष कैद सजाय गरेको सदर गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिएकोले दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा (ख) ७२ को अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२२।७।२६ को हुकुम प्रमांगी ।
१६. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त कानूनको रीत पुर्याई दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपी हुकुम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा रजिष्टार अफिस मार्फत पठाई दिनु भन्ने समेत माननीय प्रधान न्यायाधीशज्यूको ०२२।८।२ को आदेश ।
१७. यसमा निवेदक थुनुवा नेपाले भन्ने गणेशलाल रोहवरमा रहि २३।१७।३ मा पेश भई निवेदक तर्फबाट विद्वान प्लीडर सुधानाथ पन्तले र वादी श्री ५ को सरकार तर्फबाट विद्वान गर्भनमेन्ट एडभोकेट श्री रतनलाल कनौडियाले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने दिन तोकिएको प्रस्तुत मुद्दामा अपीलाट प्रतिवादी नेपाले भन्ने गणेशलालले कसुर गरे नगरेको के रहेछ भन्नेतर्फ सर्वप्रथम विचार गरेमा जाहेरवाला श्रीप्रसादको गोरुलाई मैले हाने काटेको छैन भनी निज नेपाले भन्ने गणेशलाल ईन्कार रहेको र निजले हानेकाटेको देख्ने चश्मदिद सबुद प्रमाण नभए पनि वारदात भएको भन्ने मिति ०१८।३।२७ गते सो गोरुले मेरो ३०।३५ बोट मकै खाई दिएकोले धपाई बाटामा ल्याई सो नजिक जग्गा हुने रामजाली मगरलाई सोधनी गर्दा बाहुनको हो भनेकाले त्यहि छाडेको हुँ भन्ने कुरा निज नेपाले भन्ने गणेशलाल स्वयंले बयान गरेको देखिएर उजुरवालाको गोरुले नेपालेको बारीको मकै खाई निजले धपाएकोसम्म देखेको हुँ भनी गोरे रामजाली मगरले र बलबहादुरको छोरा गोरेले नेपालेले हसिया लिई धपाएको थियो भनेको निज नेपालेलाई गोरु किन काटेको भनी सोद्धामा खुर्पाले हानेकाटेको हुँ भनेको भनी डम्वरकुमारीले औ निज नेपालेलाई सोधपुछ गर्दा १ चोटी खुर्पाले हानेको हुँ भनेको थियो । निजले कैले काहीं आई औषधी गर्दा पनि निको नभई मरको हो भनी बलबहादुर रामजाली समेत ४ जनाले र तिमीले गोरु काटेको भन्छन् नी भनी सोद्धा मेरो दशाले घोप्टाएको के गर्नु भनी जवाफ दिएको भनी विन्दुरत्न समेत १५ जनाको मौका सर्जमिनमा लेखी दिएको देखिन आएको समेत मिसिल प्रमाणबाट ०१८।३।२७ गते निज प्रतिवादी नेपाले भन्ने गणेशलालले हानेकोबाट पछाडि खुट्टामा घुँडा माथि काटिन गएको घाउ निको नभई सोही चोट पिरले ऐजन श्रावण ११ गते सो गोरु मर्न गएको रहेछ भन्ने सिद्ध हुन आएको हुँदा निज नेपाले भन्ने गणेशलालले हानेको घाउ चोटले सो गोरु मर्न गएको ठहराएकोसम्म डिभिजन बेञ्चको मनासिव छ ।
१८. अब, यो कुन किसिमको कसुर हो र कुन ऐन अन्तर्गत के कति सजाय हुने हो भन्नेतर्फ विचार गरेमा तत्काल प्रचलित चौपायाको १ नं.मा मारौं भनी मतलव गरी गाई गोरु बाछाबाछी मारे मर्न लगाएमा बात लाग्छ भन्ने उल्लेख भएको । प्रस्तुत केशमा निज नेपाले भन्ने गणेशलालले मारौं भन्ने नै मतलव गरी चोट छाडेको भन्ने कुरा मिसिल प्रमाण कतैबाट देखिन नआएको र यदि मार्नकै मतलव गरेको भए पहिले १ चोट हानी घाइते भईसकेको पशु जातीलाई अरू पनि चोट थपी तत्काल मार्न पनि सक्ने अवस्था परेकै तर सो अनुसार भए गरेको पनि नदेखिएको । गोरुको मालिक श्रीप्रसादसँग कुनै रिसइवी भएको कारणले सो रिसइवी साधन गर्न चोट प्रहार गरेको भन्ने भनाइ पनि नआएकोले समेत मार्नाकै मतलव गरी चोट छाडेको रहेछ भन्न नहुने हुँदा उक्त चौपायाको १ नं.को कसुरमा मिल्न नआउने र मारौं भन्ने मतलवको अभावमा यस्तो कसुरमा ऐन ६।१३ नं.बमोजिमको सजाय लाग्न पनि नसक्ने समेत हुँदा निज नेपाले भन्ने गणेशलाललाई चौपायाको ६।१३ नं.लगाई कैद वर्ष १२ गर्ने गरेको मिलेको देखिएन ।
१९. उक्त चौपायाको २ नं.मा मारौं भन्ने मतलव नगरी उपकारका निमित्त वा अरू केहि कुरा गर्दा अकस्मात लाग्न गई वा केहि भई गाई गोरु मर्न गएको भए भवितव्य ठहर्छ भन्ने उल्लेख भएको र प्रस्तुत केशमा उपकारका निमित्त गरेको भन्ने भए पनि प्रतिवादी नेपाले भन्ने गणेशलालले आफूले मेहनत गरी लगाएको आफ्नो जग्गाको मकै बाली खाइ दियो भन्ने कुराले तत्काल रिस थाम्न नसकी सो गोरुलाई धपाउन आफ्नो हातमा भएको खुर्पाले १ चोटीसम्म हानेको अकस्मात खुट्टामा लाग्न गई काटिई कडा चोट परी मर्न गएको भन्ने देखिएकोले उपरोक्त चौपायाको २ नं.मा उल्लेख भएबमोजिम केहि कुरा गर्दा अकस्मात लाग्न गई भन्ने भीवतव्यकै परिभाषा भित्र पर्न आउने र कसैका गाई गोरुलाई कुट्दा भीवतव्य भई गाई गोरु मर्न गएमा बिगोबमोजिम दण्ड गर्नु भन्ने चौपायाको १७ नं.उल्लेख भएको समेत हुँदा सोहि चौपायाको १७ नं.बमोजिम सजाय हुने भवितव्यको कसुर ठहर्छ । सजायतर्फ डिभिजन बेञ्चसँग यो बेञ्चको राय सहमत नहुँदा अरू तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी नेपाल भन्ने गणेशलाल के निजको चोटबाट रु.१२०।– बिगोको गोरु भवितव्य भई मर्न गएमा साविक चौपायाको १७ नं.ले बिगोबमोजिम रु.१२० दण्ड हुनेमा निज ०१८।४।१६ देखि थुनामा रहेको भई उक्त दण्डको ऐनबमोजिम हुने कैद भन्दा बढी थुनामा परी सकेको देखिएको र उक्त चौपायाको १७ नं.बमोजिम श्रीप्रसादले निज गणेशलालबाट भरी पाउने गोरुको बिगो रु.१२०।–का हकमा पनि शुरु बन्दीपुर ई.अ.को २०।६।१७।५ को फैसलाबाटै सो बिगो भराई दिने गरीसकको देखिनाले केहि गर्नु परेन ........................१
प्रतिवादी नेपाले भन्ने गणेशलाल प्रजापतिके देहाएबमोजिम गर्ने गरेको कैद नलाग्ने हुँदा ऐन सवालको रीत पुर्याई लगत कट्टा गरी दिन का.श्रे.अ.त.मा लगत दिनु ......................२
शुरु बन्दीपुर इलाका अदालतके २०।६।१७।५ को फैसलाले गरेको कैद वर्ष १२ नलाग्ने कलम १, पोखरा जिल्ला अदालतको ०२०।१०।१४।३ को फैसलाले गर्ने गरेको कैद वर्ष १।२।१२ नलाग्ने ऐ १, डिभिजन बेञ्चको ०२१।५।२६।५ को फैसला र का.फौ.त.को २१।६।१९ को लगतबमोजिम कैद महिना ७।७ नलाग्ने ऐ १
निज अपीलाट थुनुवा प्र.नेपाले भन्ने गणेशलाललाई तुरुन्तै थुनाबाट छाडि दिनु भनी सदर जेल आफिसलाई लेखी पठाई दिनु....................... ३
देहायका मानिसको सजायतर्फ उल्टी भएको रेकर्ड राख्न रजिष्टार अफिसमा सूचना दिनु..................४
पोखरा जि.अ.का न्यायाधीश श्री बब्बरप्रसाद सिं १, बन्दीपुर ई.अ.का न्यायाधीश श्री बाबुराम पाध्या १
नियमबमोजिम मिसिल बुझाई दिनु.................५
इति सम्वत् २०२३ साल वैशाख १० गते रोज ६ शुभम् ।