निर्णय नं. ३५९ - चोरी पैठारी

निर्णय नं.३५९ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री
न्यायाधीश श्री हेरम्वराज
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
२०१२ सालको फौ.फु.नं.१
निवेदक : खा.इ.मीनबहादुर शाही
विरुद्ध
विपक्षी : शंकरलाल माडवारी समेत
मुद्दा : चोरी पैठारी
(१) लुकाई छिपाई चोरीबाट माल ल्याएको नदेखिए र दिनको समयमा नै रेल्वेबाट माल ल्याएको देखिएमा र बजार अड्डा खोलेको दिनैमा लाग्ने महशुल तिरे बुझाएको देखिए चोरी पैठारी गरेको भन्न नमिल्ने ।
चोरी पैठारीको नियतले अबाटो समेतबाट लुकाई छिपाई ल्याएको भन्ने कसैको भनाइ नभई दिनको टायम एन.जि.आर रेल्वे बाटै ल्याएको देखिन आएको र खा.इ. मिनबहादुरले पक्राउ गर्दा सो कार्तिक ६ गते बिदाको दिन परेकोले भोलीपल्ट ऐजन ७ गते बजार अड्डामा लगी लाग्ने महसुल तिरे बुझाएकै समेत देखिनाले यस्तोमा चोरी पैठारी गरेको भन्न मिलेन ।
(प्रकरण नं. १७)
(२) कस्तो कुरामा अड्डाका कर्मचारीलाई दोषि ठहराउन नमिल्ने ?
शंकरलालले कार्तिक ६ गते पक्राउ गर्ने खा.इ.मिनबहादुरलाई पनि भनेको हुनु पर्ने त्यस्तो भनेको भन्ने खा.इ.मिनबहादुरको रिपोर्टबाट नदेखिएको र कार्तिक ६ गते तेल पैठारी गरी ल्याएको बजार अड्डाका कर्मचारीहरूलाई थाहा थियो भन्ने कुरा पेश भएसम्मका कागजातहरू कतैबाट प्रमाणित हुन सकेको पनि नदेखिनाले बजार अड्डामा माल लगिएको कार्तिक ७ गते नै लाग्ने महसुल लिई रसिद काटेका यस्तो कुरामा बजार अड्डामा कर्मचारीहरू दोषि हुन्छन् भन्नसमेत मिलेन ।
(प्रकरण नं. १८)
फैसला
१. १० साल कार्तिक ६ गते बिहान ९ बजे रेल स्टेशनमा गएको दुर्गादत्त नथुमलहरूको करुवा तेल ड्राम ३० को मन १५० रेलबाट झिकी दोकानतर्फ लैजान लगेका बजार तिरेको रसिद देखाउन भन्दा आज अड्डा बिदा हुँदा भोली ७ बजे बजार अड्डामा गई महसुल तिर्ने भनी माल जिम्मा लिई शंकरलाले भरपाई गरेकोले उचित कारवाही हवस भन्ने १०।७।२ को खा.ई.मिनबहादुरको रिपोर्ट दोकानको मुख्य मालिक मै हुँ । तेल कार्तिक ५ गते रक्सौलबाट विरगन्ज आई पुग्यो ६ गते डिलेभरीलिये बजार अड्डाको हाकिमलाई महसुल बुझ भन्दा आज बिदा भएकोले भोली बुझाउनु भनेकाले माल घरमा लगी महसुल बुझाएकोछु भन्ने १०।७।७ शंकरलालको बयान ।
२. श्रेस्ता हेर्दा, कार्तिक ७ गते तेल मन १५० को रु.२२५ शंकरलाल हस्ते महसुल दाखेल भएको देखिन्छ । रेलवेबाट ६ गते तेल आएको ७ गते रसिद गरेको देखिंदैन भन्ने विरगन्ज बजार अड्डाकोपत्र ।
३. ६ गते मिनबहादुरले पक्रेको माल हाकिमले जाँची छाडेको नभए पक्राउ भए पछि आज बिदा भएकोले भोलि रसिद ल्याउने छु भनी भरपाई गर्न नसक्ने र सो माल बाहेक अरू माल त्यस मिती भित्रमा आएको रेल्वेको जवाफबाट नदेखिएको रेल्वेबाट आएको मालको लगत रेल्वेमा रहने स्टेशन पनि गोश्वारा नगीचै हुनाले बिहानको ९ बजे रेलबाट आएको माललाई चोरी ल्याएको भन्न नहुने बजार अड्डाले आफ्नो गल्ती बचाउनसम्म त्यस्तो जवाफ दिएको भन्नु पर्ने हुनाले चोरी पैठारी गरेको ठहर्दैन । हाकिमलाई देखाई सोही मालको भोलीपल्ट रसिद कटाएको ठहर्छ बजार अड्डाले ऐन छाडेको भन्नु परी रु.१० जरिवाना गर्ने भन्ने विरगन्ज गोश्वाराको १०।१०।१२ को फैसला ।
४. चोरी पैठारी ठहर्ने माललाई नठहराई फैसला गरे, मिसिल झिकी जाँची पाउँ भन्ने खा.ई.मीनबहादुरको अर्थ मन्त्रालनमा रिपोर्ट परेकोमा जो चाहिने मिसिल झिकाई ऐन सवालबमोजिम मुद्दा हेर्ना निमित्त भ्र.नि.वि.मा लेखी पठाउने निर्णय भई आएकोले सोबमोजिम गर्नु भन्ने १०।१२।६ को अर्थ (आय) को चिठ्ठी ।
५. कार्तिक ६ गते आएको तेलको ७ गते आम्दानी बाधी ऐन सवाल विरुद्ध काम कारवाही भएको र रिपोर्टमा लेखिएबमोजिम नोक्सानी पारेको जाहेर गरेको हुँ भन्ने मिनबहादुरको बयान ।
६. कार्तिक ६ गते पक्राउ भएको थाहा छैन ७ गते बजार अड्डाकोबाटो गरी बेल गाडीमा ल्याएको तेलको रसिद काटिएको श्रेस्ताबाट देखिन्छ । बिदाको दिन अड्डामा आएको तेल अड्डैमा रहन्छ ६ गते तेल आएको कुराको कुरा मलाई भनी लगेको होइन भन्ने ना.सु.युद्धप्रसादको कागज ।
७. मिसिलबाट देखिएको कुरा फैसाल भएकोले मलाई अभियोग नलाग्ने भन्ने बि.गो.का.से.तनुकलाल र मु.रत्नबहादुरको अघि फैसला भईसकेको कुरामा भ्र.नि.ऐन नलाग्ने हुनाले फुर्सद पाउँ भन्ने बि.गो.को अ.सु.तिलकमानको कागज ।
८. रसिद काटिएको तेल छोडेको बि.गो.को फैसला कारवाहीबाट भ्रष्टाचार गरेको नदेखिएकोले से.तनुकलाललाई राज्य व्यवस्थामा र अ.सु.तिलक मान, मु.रत्नबहादुरलाई गोश्वारामा हाजिर हुन पठाउने र ६ गते छोडेको तेलको ७ गते रसिद काटी आफ्नो गल्ती बचाउनालाई दुनियाँको कपालमा पार्ने गरी जवाफ दिएकोले विरगन्ज बजार अड्डाको ना.सु.युद्धप्रसादलाई भ्र.नि.ऐनको ७।९ दफाबमोजिम सस्पेण्ड गरी कारवाही गर्न क.व.अपीलमा पठाई दिने भन्ने ११।२।३२ को भ्र.नि.अ.को पर्चा ।
९. कार्तिक ६ गते दशैको बिदा परेकोले सो दिनको कुरा थाहा छैन ७ गते अड्डामा जाँदा गाडामा लादिएकोले नदेखी रसिद काटिएको हो ६ वा ७ गते ल्याएको के हो थाहा छैन भ्रष्टाचार लागू हुने कुरा गरेको छैन भन्ने साक्षी सुवे नेत्रमानको बयान ।
१०. कार्तिक ७ गते अड्डामा आएको तेलको शंकरलालले महसुल बुझाएको हो भन्ने त.मु.रिद्धिमानको बयान ।
११. कार्तिक ६ गते रेलबाट आएको तेललाई ऐ.७ गते गाडाबाट ल्याएको भनी झुट्टा जवाफ दिएकोसम्म देखिए पनि सो महसुल खाएको र दोहरी पक्राउ गरेको मिसिलबाट नदेखिएकोमा भ्र.नि.ऐन ९ दफाबमोजिम सरकार दुनियाँलाई हानी नोक्सानी पार्ने ऐन सवाल अख्त्यारी काटी काम गरेको भन्न नभई यस्तोमा ऐन छाडे सरह गर्ने चलन भई हाकिम र सुवेदारलाई वि.गो.बाटै जरिवाना गरी सकेकोले तमसुललाई सोही ऐनबमोजिम रु.२ जरिवाना गर्ने जागिर तलव विषयमा भ्र.नि.ऐन ७ को (ग) दफाबमोजिम जाहेर गरेका छौं भन्ने ११।९।८।५ को कटरवन अपीलको फैसला ।
१२. सस्पेण्ड खोली दण्ड फिर्ता पाउनु पर्नेमा सो नगरी जाहेरी गरेकाले चित्त बुझेन, भन्ने ना.सु.युद्धप्रसादको र, सफाइ पाएपछि तलव फुकुवा गरी आफ्नो ठाउँमा जान पाउनु पर्नेमा नलाग्ने ऐन लगाई जाहेर गरेकाले चित्त बुझेन भन्ने सुव नेत्रमानको जाहेर गर्नु नपर्ने जाहेर गरेकाले चित्त बुझेन भन्ने त.मु.रिद्धिमानको चोरी नठहराएकोमा चित्त बुझेन भन्ने खा.ई.मिनबहादुरको अपील ।
१३. खा.ई.मिनबहादुरलाई छलफलमा राख्नु पर्ने हुनाले अर्थ बिभाग मार्फत झिकाउने र प्र.शंकरलाललाई पनि छलफलको म्याद पठाई दुवै जना आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको १२।४।१० को आदेश ।
१४. १०।७।६ गते रेलबाट आएको तेल सो दिन बिदा हुँदा बजार अड्डाको हाकिमलाई भनी घर लगेको हुँ भनी प्र.शंकरलाल माडवारीले बयान गर्दा ईन्कार लिए पनि बजार अड्डाका हाकिमले मलाई भनेका छैनन भनी भनेकाले र अरू सबुद केहि नहुँदा हाकिमलाई भनी लगेको भन्ने नदेखिइ पक्राउ भएपछि पत्यार पार्नाको लागीसम्म प्र.शंकरलालले इन्कार लिएको देखिनेमा त्यस्तो माल पक्राउ गर्ने अवसर पाई पक्राउ गर्ने खा.ई.मिनबहादुरले चोरी पैठारीमा शंका गरी पक्री रसिद माग्दा प्रतिवादीले रसिद कटाई ल्याएको देखाउन नसकेपछि तुरुन्त सो माल सरकारी नियन्त्रणमा राख्नु पर्नेमा लापरवाईसँग आज बिदा भएकोले भोली रसिद कटाउनेछु भन्ने भरपाई गराई माल छोडी दिएकोबाट आफैं खा.ई.मिनबहादुरले भोली महसुल तिर्नु भनी घर लैजान अडर दिई पठाएको देखिएकोले महाजनका उपर चोरी पैठारी गरेछन् भन्न मिल्दैन खा.ई.मिनबहादुरको ठूलो गल्ती ठहर्छ । बजार अड्डामा आएको मालको लाग्ने दस्तुर लिई रसिद काटि छोडेको देखिएकोले बजार अड्डाका जागिरदारहरूको कसुर देखिंदैन खा.ई.मिनबहादुरलाईबाटाको म्याद बाहेक ७ दिन भित्र बहाल रहेको अड्डामा हाजिर हुन जानु भनी पुर्जि गरी दिनु सस्पेण्डमा रहेको विरगन्ज बजार अड्डाका जागिरदारहरूलाई रोक्का भएको तलब फुकुवा गरी बहाल रहेको अड्डामा हाजिर हुनपठाउनलाई समेत यो फैसलाको १ प्रति नक्कल अर्थ विभागमा पठाई अर्थ विभागमा ७ दिन भित्र हाजिर र हुन जानु भनी पुर्जि गरी दिनु खा.ई.मीनबहादुरलाई रकम तहसिलका १३ नं.का.ऐनबमोजिम रु.५० दण्ड हुन्छ भन्ने प्रधान न्यायालय डिभिजन बेञ्चको १२।५।२८।६ को फैसला ।
१५. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने खा.ई.मीनबहादुरले बिन्तीपत्र चढाएको जाहेर हुँदा १ पटक फुल बेञ्चमा राखी दोहर्याई ऐन सवालबमोजिम छिनी नतिजा जाहेर गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख निजी सचिवालयबाट ०१२।६।१२।४ मा लेखी आएको हुकुम प्रमांगी र यो बिन्तिपत्र मिसिल सामेल राखी पेश गर्नु भन्ने माननीय भू.पु.प्रधान न्यायाधीशज्यूबाट भएको ०११।६।१७।५ को आदेश ।
१६. उक्त मुद्दाको रेकर्ड मिसिल जसरी हुन्छ, चाँडो पत्ता लगाउनेतर्फ पहिलेका फाँटवाला वाशुदेव पाण्डेलाई तदारुकतासाथ तुरुन्तै लेखी पठाई कानूनबमोजिम गर्नुपर्ने गरी चाँडो पत्ता लगाई उक्त रेकर्ड मिसिल सामेल राखी पेश गर्नु भन्ने फुल बेञ्चबाट भएको ०११।९।१।६ को आदेश ।
१७. यसमा निवेदक खा.ई.मीनबहादुर नोकरीमा बहाल रहेको भनी तारेखमा नरहेका प्रस्तुत मुद्दा आजको कजलिष्ठमा चढी पेश हुन आएको हेरेमा शुरु र रेकर्ड मिसिल समेत पत्ता लगाउने सम्बन्धमा १३ साल देखि नै लेखापढी भएको अहिलेसम्म पत्ता लागी आउन नसकेको भए पनि प्र.न्या.डिभिजन बेञ्च लगायतको फैसला र पक्षहरूको बयान सहित आवश्यकीय कागजहरूको बजाफता नक्कल निवेदक दर्खास्त साथ पेश गरी राखेको ती कागजहरूकै आधारमा निर्णय गरी दिन हुने भई सर्वप्रथम प्रतिवादी दुर्गादत्त नथुमल शंकरलाल माडवारीहरूले १० साल कार्तिक ६ गते पैठारी गरी ल्याएको भनिएको तेल चोरी पैठारी गरी ल्याएको भनिएको तेल चोरी पैठारी गरेको भन्न मिल्ने नमिल्ने के हो ? भन्नेतर्फ विचार गरेमा चोरी पैठारीको नियतले अबाटो समेतबाट लुकाई छिपाई ल्याएको भन्ने कसैको भनाइ नभई दिनको टायम एन.जि.आर रेलवेबाटै ल्याएको देखिन आएको र खा.ई.मीनबहादुरले पक्राउ गर्दा सो कार्तिक ६ गते बिदाको दिन परेकोले भोलीपल्ट ऐजन ७ गते बजार अड्डामा लगी महसुल तिर्ने भरपाई कागज गरी सो अनुसार भोलिपल्ट बजार अड्डामा लगी लाग्ने महसुल तिरे बुझाएकै समेत देखिनाले यस्तोमा चोरी पैठारी गरेको भन्न मिलेन ।
१८. कार्तिक ६ गते आएको तेलको भोलिपल्ट ऐ.७ गते मात्र महसुल लिएकोमा बजार अड्डाका कर्मचारीहरू दोषी हुन्छन् हुँदैनन भन्ने हकमा कार्तिक ६ गते माल ल्याएकोमा बजार अड्डाका हाकिमले आज बिदा हुँदा भोली बुझाउनु भनेकाले भोलीपल्ट लगी महसुल तिरेको भन्ने प्रतिवादी शंकरलालको भनाइ भए पनि यदि त्यो कुरा साँचो भए निज शंकरलालले कार्तिक ६ गते पक्राउ गर्ने खा.ई.मीनबहादुरलाई पनि भनेको हुनु पर्ने त्यस्तो भनेको भन्ने खा.ई.मिनबहादुरको रिपोर्टबाट नदेखिएको र कार्तिक ६ गते तेल पैठारी गरी ल्याएको बजार अड्डाका कर्मचारीहरूलाई थाहा थियो भन्ने कुरा पेश भएसम्मका कागजातहरू कतैबाट प्रमाणित हुन सकेको पनि नदेखिनाले बजार अड्डामा माल लगिएको कार्तिक ७ गते नै लग्ने महसुल लिई रसिद काटेकाले यस्तो कुरामा बजार अड्डामा कर्मचारीहरू दोषी हुन्छन् भन्नसमेत मिलेन ।
१९. अब खा.ई.मीनबहादुरको हकमा कार्तिक ६ गते आफूले पक्राउ गरेको तेल उसै दिन सरकारी नियन्त्रणमा नराख्नु निजको गल्ती हो होइन भन्ने विचार गर्नालाई निज विरुद्ध उठेको मुद्दा नहुनाले निजका हकमा उक्त कुराको विचार गर्नुपर्ने प्रश्नै उठ्न सक्दैन ।
२०. तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम पेश भएसम्मका कागज प्रमाणहरूबाट महाजनहरूले चोरी पैठारी गरेको भन्न नमिल्ने र बजार अड्डाका कर्मचारीहरूलाई दोषी भन्न नहुने ठहराएतर्फ ईन्साफ ०१२।५।२८।३ को प्र.न्या.डिभिजन बेञ्चको मुनासिवै छ । खा.ई.मीनबहादुरको गल्ती ठहराई निजलाई रु.५० दण्ड गर्ने गरेको हकमा निज मीनबहादुर विरुद्ध मुद्दा नचलेकोले निजको हकमा विचारै गर्नु नपर्ने भई निजलाई सो दण्ड लाग्नै नसक्ने हुँदा सो दण्ड गर्ने गरेकोसम्म डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्र्नु ।
तपसील
निवेदक वादी खा.ई.मीनबहादुर शाही के प्रधान न्यायालय डिभिजन बेञ्चको ०१२।५।२८।६ को फैसलाबमोजिम निजलाई गर्ने गरेको दण्ड रु.५० नलाग्ने हुँदा असुल भईसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ..........................१
बक्स भएका हुकुम प्रमांगीबमोजिम यो फैसला भएको नतिजा जाहेर गरी यो फैसलाको १ प्रति नक्कल सम्बन्धित मन्त्रालयमा पठाई निवेदकवादीलाई मुद्दा छिनिएको जनाउ दिई नियमबमोजिम मिसिल बुझाइ दिनु ..............२
इति सम्वत् २०२३ साल माघ ४ गते रोज ३ शुभम् ।