निर्णय नं. १४७४-१ - माना चामल

निर्णय नं. १४७४क ने.का.प. २०३८ अङ्क ६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज गुरुघराना
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३८ साल दे.डि.पु.नं. ३१४
फैसला भएको मिति : २०३८।५।१ मा
निवेदक : का.जि. का.न.पं. वडा नं. २६ कीलागल बस्ने प्राणमाया महजर्ननी
विरुद्ध
वादी : का.न.पं. वडा नं. २२ टेवहाल बस्ने सानु महर्जन
मुद्दा : माना चामल
(१) वादीलाई खान लाउन नदिई घरबाट निकाला गरेमा र निजको साथमा नावालक छोरासमेत भएकोले लोग्ने बाबु उपर फिराद परेको यस्तो अवस्थामा वादीले अंशबण्डाको १० नं. को आधारमा अंशमा दावी गर्न पाउने र वादीलाई प्रतिवादीले कुटपिट गरी घरबाट निकाला गरेको भन्ने तथ्य ठहर भएकोमा लोग्ने स्वास्नीको ४ नं. को ऐन लागू हुने ।
(प्रकरण नं. १०)
वादी तर्फबाट :
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
उल्लिखित मुद्दा :
फैसला
न्या. हेरम्बराज : विपक्षी मध्ये नारायण महर्जन ससुरा प्राणमाया सासू बुद्धिनारायण पति हुनु हुन्छ । ०२१ सालमा विवाह गरी म घरमा बसेको थिए । ०२८ सालमा अष्टनारायण छोरा १ को जाय जन्म भएपछि सासू ससुरा समेतले मलाई खान लाउन नदिई कुटपिट गरी रहनु हुन्थ्यो । सही बसी रहेको थिए ०३१ साल भाद्र ४ गते नाबालक छोरा र मलाई समेत सासू ससुराले घरबाट निकाला गरिदिएकोले पिताको घरमा गई बसेको छु र पतिले मलाई समेत पन्छाई अर्को विवाह गर्ने उद्देश्यले सम्बन्ध विच्छेद मुद्दा चलाउनु भएको छ मलाई ०३१।५।४ गते देखि खान लाउन नदिई घरबाट निकाला गरेकाले सो मितिले आज ०३२।५।३ गते तक मलाई र नाबालक छोरालाई वर्ष १ को लागि खान लाउन चाहिने माना चामलको बिगो रू.२४००।२० दिलाई भराई पाउँ भन्ने सानु महर्जननीको फिराद दावी रहेछ ।
२. फिरद दावी झुठ्ठा हो । २०२१ सालमा विपक्षीलाई विवाह गरी घरमा ल्याए देखि नै नमिलेकीले ०२५।९।१० गते देखि हामीसँग मानो छुट्टि वेगल बसी आएकी र २०२७ सालमा नाति अष्टनारायण जन्मियो र २०४८।४।१ गते बुद्धिनारायण कामबाट आई छोरा स्वास्नीको खोजी गरे माईत गएको पत्ता लागे लिन जाँदा आइन भनी भन्यो र जानकारी पाएँ । विपक्षी एकाघरसँगमा नभई विपक्षीहरू पति पत्नीको झगडामा हामीलाई बिना कारण दुःख दिएको हो भन्ने नारायण महर्जन समेतको व्यहोरा र विपक्षी मेरा पत्नी हुन ०२१ सालमा विवाह भएपछि सगोलमा बस्दा दुःख भएकोले ०२५।९।१० गतेमा माता पितासँग छुट्टी अंश लिई भिन्न बसी र २०२७ सालमा छोरा जन्मियो । ०२८।४।१ मेरो मञ्जूर बेगर बराबर माईत जाने गरेकी र लिन जाँदा नआएकीले सम्बन्ध विच्छेदमा नालेस गरेको हुँ । विपक्षी माईत गई बसेकोमा सावितै भएकीले र म ज्याला मजूरी गरी खाने मानिस भएकोले मैले माना चामल दिनु पर्ने होइन भन्ने बुद्धिनारायण समेतको व्यहोराको संयुक्त प्रतिउत्तर रहेछ ।
३. दशैंलाई घर जाँदा ढोका खोली नदिएको भनी वादीकै साक्षीले भन्न नसकेको र लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद मुद्दाको प्रकरण ३ मा घरमा जानु तयार छु भनी लेखेको आयस्ता यति नै हुन्छ भनी दुवै पक्षको साक्षीले बकपत्र गर्न नसकी निकालेको कुरासम्म वादीको साक्षीले बकेकोले लोग्नेका घरमा गई बस्नु मञ्जूर छँदैमा माना चामल दिलाउन नमिल्ने हुँदा लोग्नेको घर गई बस्नु भनी वादीलाई सुनाई दिनुभन्ने समेत काठमाडौं जिल्ला अदालको फैसला रहेछ ।
४. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी सानु महर्जनको बा.अं.अ.मा पुनरावेदन परेको रहेछ । वादीको साक्षीले कुटपिट गरी निकाला गरेको भनी बकी दिएको र अंशबण्डाको १० नं. मा स्वास्नी छोरालाई खान लाउन दिन पर्छ नदिए अंश दिनुपर्छ भन्ने र लोग्ने स्वास्नीको ४ नं. मा खान लाउनु नदिई कुटपिट गरी निकाला गरेमा अंश दिन पर्ने व्यवस्था भएको देखिएको समेतबाट वादी सानु महर्जनलाई प्रतिवादी बुद्धिनारायण पति भई तथा नारायण सासू ससुरा भई कुटपिट गरी खानु लगाउन नदिई घरबाट निकाला गरेकोले फिराद दावी बमोजिम माना चामल भरी पाउने ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला रहेछ ।
५. बागमती अञ्चल अदालतबाट हद मुनी गरी फैसला गरेकोले चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्ती पत्रमा व्यहोरा साँचो भए त्यस अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु र निवेदकलाई जनाउँ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भएको रहेछ ।
६. बागमती अञ्चल अदालतको फैसलालाई त्रुटि देखाउँदै अ.बं.२०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षीलाई झिकाई सिंगलको लगत कट्टा गरी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश रहेछ ।
७. वादीले दावीगर्दा लोग्नेस्वास्नीको ४।६नं. र अंशबण्डाको महलको आधारमा उजूर गरेको पाइन्छ । वादीको लेखाइलाई निजका साक्षीहरू जितनारायणसमेतले समर्थन गरी कुटपिट गरी घरबाट निकाले भनी बकी दिएका छन् । उक्त विपक्षीका साक्षीहरूले वादीलाई कुटपिट गरेर निकालेको होइन भनी बकपत्र गरेको पाइँदैन । अंशबण्डाको १०(क) मा विवाह भएको कम्तीमा १५ वर्ष र उमेरमा ३५ वर्ष पुगी सकेको स्वास्नी मानिसले चाहेमा लोग्ने सित अंश लिई भिन्न बस्न पाउने व्यवस्था भएकोमा वादीको उमेर ३५ वर्ष मुनीको र विवाह भएको पनि ३५ वर्ष भन्दा कम भएकोले अंशमा दावा लिनु सक्ने अवस्था परेन । अंशबण्डाको १० नं. हेरेमा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन इज्जत आमद अनुसार खान लगाउन दिनै पर्छ नदिए अंश दिनुपर्छ भन्ने समेत व्यवस्था भएको र लोग्ने स्वास्नीको ४ नं. को अवस्था विद्यमान भएकोले प्रतिवादीतर्फको विद्वान वकिलले प्रस्तुत गर्नुभएको सर्वोच्च अदालतको सिद्धान्त प्रस्तुत मुद्दामा मिल्दो जुल्दो देखिन आयो तसर्थ वादीले प्रतिवादीबाट माना चामलको दावी लिएको युक्ती संगत हुँदा माना चामल दिलाउने गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव छ । जब वादीको दावा बमोजिम बिगो भराउन पर्ने हो कि भन्नलाई वादी मध्ये अष्टमान प्र.बुद्धिनारायण सित बसेको भनी प्रतिवादीले बेञ्च समक्ष निवेदन गर्नुभएकोमा वादीको वारेसले पनि सो कुरा समर्थन गरी बेञ्च समक्ष निवेदन गरेकोले पक्ष विपक्षको मुख मिलेको हुँदा वादी दावा मध्ये आधा माना चामलको बिगोसम्म भराई दिनु पर्ने ठहर्छ भन्ने म.क्ष.अ.को फैसला ।
८. उक्त म.क्ष.अ.ले माना चामल भराउने गरेका इन्साफमा चित्त बुझेन पुनरावेदन गर्नको लागि अनुमति पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा निवेदन परी यस अदालतको डिभिजन बेञ्चबाट मिति २०३८ साल ज्येष्ठ ९ गते रोज ६ मा अनुमति प्रदान भएको रहेछ ।
९. आज नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको वा बुद्धिनारायण महर्जन झिकाई आएका विपक्षीका वा साहिला महर्जनलाई रोहवरमा राखी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तको बहस समेत सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन जिकिर मनासिव छ छैन भन्ने तर्फ निर्णय दिनु पर्ने देखियो ।
१०. वादीले मु.ऐ.लोग्ने स्वास्नीको ४ नं. को आधार लिई खान लाउन नदिई घरबाट निकाला गरेकोले माना चामल दिलाई पाउँ भन्ने मुख्य दावी लिएको देखियो । अब लोग्ने स्वास्नीको ४ नं. को व्यवस्थालाई हेर्दा सासू ससुरा समेत भई वा लोग्नेले मात्र खानु लगाउन नदिई गरे वा अरू स्वास्नी ल्याए वा राखे स्वास्नीले लोग्नेको अंशबाट आफ्नो अंश छुट्याई लिन पाउने व्यवस्था गरेको पाइन्छ । यस्तो स्थितिमा अंशमा दावी गर्नुपर्नेमा सो नगरी माना चामलमा दावा गरेको देखियो । अब वादीलाई लोग्नेले कुटपिट गरी खान लगाउन नदिई घरबाट निकाला गरेमा त्यसको परिमाण के हुने हो भन्ने तर्फ विचार गर्दा अंशबण्डाको १० नं. को ऐन हेर्दा छोरा स्वास्नीलाई खान लगाउन नदिई राख्नु हुँदैन । इज्जतआमद अनुसार खान लगाउन दिनैपर्छ नदिए अंश दिनुपर्छ भन्ने प्रष्ट कानूनी व्यवस्था भएको पाइन्छ । यदि वादीलाई खान लगाउन नदिई घरबाट निकाला गरेमा र निजको साथमा नाबालक छोरा समेत भएकोले लोग्ने बाबु उपर फिराद परेको यस्तो अवस्थामा वादीले अंशबण्डाको १० नं. को आधारमा अंशमा दावी गर्न पाउने र वादीलाई प्रतिवादीले कुटपिट गरी घरबाट निकाला गरेको भन्ने तथ्य ठहर भएकोमा लागू हुने ऐन कुन हो भनी हेर्दा लोग्ने स्वास्नीको ४ नं. को ऐन लागू हुने हुँदा अंशबण्डाको १० नं. को प्रयोग गर्नु भएन । साथै प्रस्तुत अंशबण्डाको १० (क) लागू भएको मिति ०३४।९।२ र फिराद परेको मिति ०३२।५।३।३ मा क्षेत्रीय अदालतले सो ऐनको चर्चा गरेको निरर्थक हुँदा म.क्षे.अ.को.फैसला उल्टी हुन्छ । वादीको माना चामल दावी पुग्न सक्दैन अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम म.क्ष.अ.को फैसला त्रुटिपूर्ण भई बदर भएकोले म.क्ष.अ.ले देहायका प्रतिवादीहरू लाई भराउने गरेको माना चामलको बिगो र कोर्टफी भराउन नपर्ने हुँदा सोको लगत काटी दिनु भनी शुरू अदालतमा लेखी पठाउने ।
विगो कोर्टफि
१) नारायण महर्जन के रू. ४०३।३४ २३।
२) प्राणमाया महर्जननी के रू. ४०३।३४ २३।
३) बुद्धिनारायण महर्जन के रू. ४०३।३४ २३।६
मिसील नियम बमोजिम गर्नु
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०३८ साल भाद्र १ गते रोज २ शुभम् ।