निर्णय नं. १४८२ - निखनाई पाउँ

निर्णय नं. १४८२ ने.का.प. २०३८ अङ्क ७
फुल बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला
सम्वत् २०३७ सालको दे.फु.नं. ३५
फैसला भएको मिति : ०३८।७।४।३ मा
निवेदक : का.जि.का.न.पं.वडा नं. १७ भोटाहिडी बस्ने द्वारिकानाथ श्रेष्ठ
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने चिनीमाया श्रेष्ठनी
मुद्दा : निखनाई पाउँ
(१) प्रतिवादीले किनेको घरको एक किलासको थोरै गारो सँग वादीको घरको गाह्रो पश्चिमतर्फ जोडिँदैमा त्यत्तिकै नाताबाट वादीको घर देखि पूर्व, उत्तर, दक्षिण तिन तिर खुल्ला भई सो तिनै तिरबाट हावा प्रकाश घाम पाउन सक्ने नै हुँदा हुँदै वादीको घरमा हावा, प्रकाश, घाम बन्द हुने सन्धिसर्पन पर्ने कुरा देखिन आउँदैन, प्रतिवादीले किनेको घरको छिँडी तल्लामा वादीको घरको निकास छ भनी वादीमा उल्लेख गरेको तर भई आएको नक्सा मुचुल्काबाट प्र.ले किनेको घरमा वादीमा उल्लेख भए अनुसार वादीको धारा चोक तथा बलेसी समेतको पानी जाने निकास छ भन्ने कुरा देखिन आउँदैन यस्तो अवस्थामा प्र.ले किनेको घर वादीको सन्धिसर्पन पर्ने भन्न नमिल्ने हुँदा वादीले निखन्न नपाउने ठहराएको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. ११)
निवेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
प्रतिवादी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लिखित मुद्दा :
फैसला
न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक वादी द्वारिकानाथले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ को(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुमप्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकारको छ : विपक्षीले खड्ग कुमारीबाट रू.३९०००। मा ०३१।६।८ मा भोटाहिटीको घर राजीनामा गरी लिनु भएछ मलाई सन्धिसर्पन पर्ने हुँदा निखनाई पाउँ भनी थैली धरौट राखी उजूर गरेकोमा ३५ दिनभित्र अदालतमा नालेश गर्न जानु भनी सुनाउँकोले विपक्षीले किनेको घर मलाई सन्धीर्सपन पर्ने भएको निखनाई पाउँ भन्ने समेत द्वारिकानाथको फिराद ।
३. विपक्षीको घरभित्र जाने आउने बाटो निकास मैले खरीद गरेको घरको दक्षिणतर्फको भाग खरीद गर्ने राजेन्द्रकुमारको खण्ड तर्फ छ । मेरो घरतर्फ विपक्षीको घर छैन मेरो घर निखन्न पाउने स्थिति हुँदैन नालिश खारिज गरिनु पर्छ भन्ने समेत प्रतिउत्तर पत्र ।
४. भई आएको नक्साबाट वादीलाई सन्धिसर्पन पर्ने देखिएको हुँदा प्रतिवादीले निखन्न दिनुपर्ने र वादीले निखन्न पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने प्र.चिनीमाया श्रेष्ठको पुनरावेदन ।
६. न.नं. ६ मा वादीको घर न.नं. ५ को घरमा निखन्ने दावी भएको न.नं. ७ वादीको घर जाने बाटो रहेको भन्ने देखिएको न.नं. ७ को घरमा निखन्न दावी भएको देखिएन न.नं. ५ को घरमा वादीको सन्धिसर्पन परेको मान्न मिलेन काठमाडौं जिल्ला अदालतले निखन्न पाउने ठहर्याएको इन्साफ उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. म.क्षे.अ.को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णय हुँदा न.नं. ५ र ७ को एउटै घर भएको सो घर खड्गकुमारीबाट एकै मितिमा प्र.चिनीमाया र राजेन्द्रकुमारले आधी–आधी गरी राजीनामा गराई लिएको देखिन्छ न.नं. ७ राजेन्द्रकुमारको घर सो घरबाट वादीको घर जाने बाटो पनि भएको नक्साबाट देखिएको न.नं. ७ को घरतर्फ वादीले कुनै दावी नगरी न.नं. ५ को प्र.चिनीमायाले खरीद गरेको घरमा मात्र निखनाई पाउँ भनी दावी लिएकोले सो न.नं. ५ को घरमा वादीको सन्धिसर्पन पर्ने भन्ने मिलेन न.नं. ५ को घरमा वादीको सन्धिसर्पन मान्न मिलेन भनी आधार देखाई का.जि.अ.को निखनाई पाउने ठहराएको इन्साफ उल्टाई म.क्षे.अ.बाट गरेको इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चबाट ०३७।३।१३।५ मा निर्णय भएको रहेछ ।
८. प्रस्तुत मुद्दा दोहर्याई दिनु भनी बक्स भई आएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिस पर्चामा राजेन्द्रकुमार र प्रतिवादीले खरीद गरेको दुवै भागमा पनि दावी लाग्न सक्ने र प्र.ले खरीद गरेको भागमा मात्र पनि वादी दावी लाग्न सक्ने नै देखिन्छ कुन भागमा दावी गरेमा सन्धिसर्पन कम वा बढी हुन्छ भन्ने कुरा वादीले निश्चित गर्ने विषय हो राजन्द्रकुमारले लिएको घरको भागतर्फ वादीको घर जाने बाटो रहेकोले सो भागमा वादी दावी नहुँदा अरू कारणले सन्धिसर्पन परेको दावीको घरमा सन्धिसर्पन नपर्ने भन्न सकिन्न सन्धिसर्पन परेको नाताले निखन्न पाउने कुरामा कानूनले कर नलगाएको दावी नै नभएको घरको आधार लिई वादीलाई सन्धिसर्पन गरेको भन्न मिलेन भनी निर्णय हुन जाँदा कानूनी व्यवस्थाको उल्लंघन भएको देखिन आउँछ भन्ने समेत उल्लेख भएको रहेछ ।
९. निवेदक वादी द्वारिकानाथतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले प्रतिवादीले खरीद गरेको घरबाट वादीको घरमा हावा, प्रकाश बन्द हुने र सो घरमा वादीको निकास धालापात समेत भई सन्धिसर्पन पर्ने भएको हुँदा वादीलाई निखनाई दिनुपर्नेमा सो सन्धिसर्पन पर्ने कुराको सबूत प्रमाण समेतको विचार नगरी निखन्न नपाउने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन निखन्न पाउनु पर्छ भन्ने समेत र विपक्षी प्रतिवादी चिनी मायाको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रकाश र हावा उत्तर तर्फबाट र दक्षिणको चोकबाट समेत पाएकै हुँदा बन्द भएको छैन वादीको निकास धालापात समेत नपरेको हुँदा वादीको सन्धिसर्पन पर्ने होइन निखन्न नपाउने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१०. यसमा निर्णयतर्फ विचार गर्दा सन्धिसर्पन पर्ने व्यक्तिले निखन्न पाउने कानूनमा व्यवस्था भएको र प्रतिवादी चिनीमायाले खरीद गरेको घर सन्धिसर्पन पर्ने भएकोले निखनाई पाउँ भन्ने वादी दावी भएको हुँदा सर्ब प्रथमतः प्रस्तुत मुद्दामा प्र.चिनीमायाले खरीद गरेको घर वादीलाई सन्धिसर्पन पर्ने हो होइन भन्ने कुरामा नै निर्णय दिनु पर्ने देखियो ।
११. तत्सम्बन्धमा विचार गर्दा वादीले घर निखन्न पाउँ भनी रजिष्ट्रेशन पारीत भएको कार्यालय भू.प्र.का.काठमाडौंमा थैली धरौटी राखी दर्खास्त दिँदा यो यस किसिमले यसरी मलाई सन्धिसर्पन परेको भन्ने कुनै कुरा उल्लेख गर्न नसकी सन्धिसर्पन परेको भन्नेमात्र उल्लेख गरेको र हक बेहकमा सुनाएपछि अदालतमा नालेस गर्दामा मात्र मेरो घर पूर्वतिर प्र.ले किनेको घर पश्चिमतर्फ छ सो घर मैले प्राप्त गरेपछि म तिरबाट आउने हावा, प्रकाशको साथै घामसमेत पाउने थिएँ, अहिले पाएको छैन, नपाएकोले मलाई यसबाट सारै असजिलो भएको छ प्रतिवादीले किनेको घरको छिँडी तल्लामा मेरो घरको पानी जाने निकास छ, यसबाट सो घर मलाई सन्धिसर्पन पर्न गई अत्यावश्यक पर्न गएको छ भन्ने इत्यादि कुरा उल्लेख गरी निखन्न पाउँ भनेको घरको का.जि.अ.बाट ०३३।९।२६ मा भएको नक्सा हेर्दा वादीको न.नं. ६ को घरदेखि पूर्वमा न.नं. १ को ललित क्याम्पस देखिएको र सो वादीको घरसँग नजोडिएको उत्तर खुल्ला र दक्षिणतर्फ न.नं. ८ को चोक देखिएकोबाट वादीको न.नं. ६ को घरको पूर्व, दक्षिण र उत्तर तिनैतिर खुल्ला रही वादीले हावा, प्रकाश र घामसमेत पाउने स्थिति देखिएकै छ, प्रतिवादीले किनेको घरको एक किलासको थोरै गारोसँग वादीको घरको गाह्रो पश्चिमतर्फ जोडिँदैमा त्यत्तिकै नाताबाट वादीको घर देखि पूर्व, उत्तर, दक्षिण तिनैतिर खुल्ला भई सो तिनैतिरबाट हावा, प्रकाश, घाम पाउन सक्ने नै हुँदाहुँदै वादीको घरमा हावा, प्रकाश, घाम बन्द हुने सन्धिसर्पन पर्ने कुरा देखिन आउँदैन प्रतिवादीले किनेको घरको छिँडी तल्लामा वादीको घरको निकास छ भनी वादीमा उल्लेख गरेको तर भई आएको नक्सा मुचुल्काबाट प्र.ले किनेको उक्त न.नं. ५ को घरमा वादीमा उल्लेख भए अनुसार वादीको धाराचोक तथा बलेसी समेतको पानी जाने निकास छ भन्ने कुरा देखिन आउँदैन यस्तो अवस्थामा प्र.चिनीमायाले किनेको घर वादीको सन्धिसर्पन पर्ने भन्न नमिल्ने हुँदा वादीले निखन्न पाउने ठहर्याएको का.जि.अ.को इन्साफ उल्टाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ सदर गरेको स.अ.डिभिजन बेञ्चको ०३७।३।१३ को इन्साफ मनासिव ठहर्छ मुद्दा दोहर्याए बापत लाग्ने कोर्टफी रू.१४४। निवेदक वादीबाट दाखिल भइसकेको देखिएकोले अरू केही गर्नपरेन मिसिल नियमबमोजिम बुझाइदिनु ।
उक्त रायमा हामीहरूको सहमती छ ।
न्या. गजेन्द्रकेशरी बास्तोला
न्या. बासुदेव शर्मा
सं.प्र.न्या. श्री नयनबहादुर खत्री
आदेश
१२. यो दे.फु.नं. ३५ को निवेदक द्वारिकानाथ श्रेष्ठको र विपक्षी चिनीमाया श्रेष्ठनीको निखनाई पाउँ भन्ने मुद्दामा प्रशासकीय काम र अन्य विशेष कामले समेत गर्दा आजको फुल बेञ्चमा मैले हेर्न नभ्याइएको राय व्यक्त गर्दछु ।
प्रधान न्यायाधीश
इति सम्वत् २०३८ साल कार्तिक ४ गते रोज ३ शुभम् ।