निर्णय नं. १४९० - हक सफा

निर्णय नं. १४९० ने.का.प. २०३८ अङ्क ८
फुल बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राण
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३६ सालको दे.फु.नं. ४०
फैसला भएको मिति : २०३८।८।५ मा
निवेदक : जिल्ला कपिलवस्तु गा.पं.सिद्धिपुर वार्ड नं. ८ बस्ने पिताम्बर भुसाल
विरुद्ध
वादी : ऐ.ऐ. बस्ने कृष्णराज उपाध्याय
मुद्दा : हक सफा
(१) लेनदेन व्यवहारको १६ नं. मा प्रयोग भएको थैली कस्तोलाई सम्झिने हो भन्नको लागि निखनी लिने सम्बन्धमा थैलीको प्रयोग भएको लेनदेन व्यवहारको १६,१७ नं. र रजिष्ट्रेशनको महलको ३५ नं. लाई समेत दृष्टिगत गर्दा थैलीको प्रयोग विभिन्न रूपमा भएको नदेखिई थैलीको तात्पर्य बेचे किनेको लिखतमा उल्लेख भएको थैलीलाई मानेको र खण्डे थैलीको व्यवस्था समेत नगरेको कानूनको बनावट देखिँदा थैली भन्नाले लेनदेन व्यवहारको १६ नं. मा उल्लेख भएको “थैली” नै किने बेचेको लिखतमा लेखिएको थैली सम्झनु पर्ने स्थिति छ ।
(प्रकरण नं. १२)
(२) लेनदेन व्यवहारको १६ नं. को प्रथम वाक्यांशमा उक्त वाक्यांशले थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नुपर्ने कानूनी बन्देज गरेको पाइन्छ । थैली थाहा हुँदाहुँदै जालसाजी मुद्दाबाट थैलीमा विवाद उठाई थैली धरौट राख्न नपर्ने छुट वादीलाई उक्त वाक्यांशले प्रदान गरेको नपाइने ।
(प्रकरण नं. १३)
(३) ऐनको व्याख्या गर्दा भाषा प्रष्ट (Letter of Law Clear) छ भने त्यसको सरल र स्वभाविक अर्थ जे निस्कन्छ सोही अर्थ गर्नुपर्ने हुनआउँछ । दुविधा नपर्ने किसिमसँग शब्दको प्रयोग भएको छ भने ति शब्दहरूले विद्यायिकाको मनसाय सबभन्दा राम्ररी व्यक्त गरेको सम्झनु पर्दछ । लेनदेन व्यवहारको १६ नं. मा थैली थाहा भएको र थैली थाहा नभएको दुई (२) अवस्थालाई दुई (२) स्वतन्त्र रूपमा विभाजन गरेको पाइन्छ । थैली थाहा भएको अवस्थामा लेनदेन व्यवहारको १६ नं. को दोश्रो वाक्यांश अर्थात थैली थाहा नभएको अवस्थामा भएको व्यवस्था आकृष्ट हुनसक्ने स्थित छैन । थैली थाहा भएकोमा थैली धरौट राख्नुपर्ने बाहेक अन्य विकल्प लेनदेन व्यवहारको १६ नं. ले गरेको पाइन्न ।
(प्रकरण नं. १५)
(४) बेचे किनेको थैली बढी देखाई वास्तवमा कम रुपैयाँ लिनुदिनु गरी जालसाजी क्रिया हुन नसक्ने होइन । तर जालसाज क्रिया बेग्लै फौजदारी अपराध हो र त्यसको परिणाम बेग्लै हुने अवस्था छ, त्यस्तो जालसाजी क्रिया भएको गरेको अवस्थामा थैली थाहा पाएकोमा थैली धरौट राख्नु पर्दैन भनी लेनदेन व्यवहारको १६ नं. ले व्यवस्था गरेको पाइ“दैन । यस प्रकार जालसाजी मुद्दालाई लेनदेन व्यवहारको १६ नं. निखनाई पाउँ भन्ने मुद्दासँग गास्ने अवस्था छैन ।
(प्रकरण नं. १६)
निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
उल्लिखित मुद्दा :
आदेश
न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालतका प्रधान न्यायाधीश लगायतका सबै न्यायाधीशहरूको वृहत् फुल बेञ्चबाट २०३३।७।२०।६ मा भएको फुल बेञ्चको इन्साफ दोहोर्याई हेरी जाँची दिनु भन्ने हुकुम प्रमांगी पाउँ भनी निवेदक प्रतिवादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफामा चढाएको बिन्तीपत्रमा न्याय मिले नमिलेको के रहेछ हेरी राय साथ जाहेर गर्नु भन्ने न्यायिक समितिका नाममा हुकुम बक्स भई न्यायिक समितिले जाहेर गरेको जाहेरीमा लेखिएको जग्गा निखनाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी त्यस अदालतमा उपस्थित रहेसम्मका न्यायाधीशहरूको वृहत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउँ दिनु भन्ने हुकुम प्रमांगी बक्स भई २०३८।४।१३।३ फुल बेञ्चमा पेश हुँदा बहुमत कायम हुन नसकी आज यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : मेरो दुई पुस्ता भित्रको साख्यात जेठी भाउजू हुमकुमारी र माहिली भाउजू खेमकुमारीबाट जम्मा जग्गा विगाहा ६ऽ३। प्रचलित मोल रू.२१००१।– मा म हकवाला देवरलाई दिने कबोल गर्नुभएको थियो, त्यसैमा मलाई थाहा नदिई विपक्षीहरू मिली मेरो हकसफा गर्ने हक मार्नका लागि बढी रू.२०१००।– मोल बढाई वेदामी जालसाजी अंक लेखी लेखाई रू.४११००।–का ४ थान राजीनामा भाउजू खेमकुमारी र हुमकुमारीबाट श्रावण ६ गते कपिलवस्तु माल मार्फत राजिष्ट्रेशन पास गराई लिनु भएछ सो कुरा पौष २० गते थाहा पाई रू.२१०००।– बुझी हकसफा गर्न दिनु होस्भन्दा रुपैयाँ बुझ्न मञ्जूर गर्नु भएन थैली बढाई जालसाजी गरे तर्फ छुट्टै नालेस गरेको हुँदा हकसफा तर्फ उजूर गरेको छु लेनदेन व्यवहारको १६नं. बमोजिम मुख मिलेकोमा जालसाजी मुद्दाबाट अन्तिम निर्णय भएको थैली मोल रुपैयाँ मबाट विपक्षीलाई बुझाई जग्गा हकसफा गरी चलन चलाई पाउँ भन्ने समेत ०२९।१०।३ को फिराद रहेछ ।
३. लेखिएको जग्गा वेदामी रू.२०१००।– बढी लेखाई जालसाजी राजीनामा गराई लिएको होइन खुद रू.४११००।– साक्षीको रोहवरमा लिनुदिनु गरी ०२९।४।६का दिन राजीनामा रजिष्ट्रेशन पास गरेको हो थैली यति हो भन्ने भएकोमा रजिष्ट्रेशनका ३५ नं. बमोजिम थैली धरौट राखी कार्यालयमा दरखास्त दिन जान पर्ने सो नसकी बिना मतलव थैली धरौट नराखी दायर भएको नालेस रजिष्ट्रेशनको ३५ नं. तथा लेनदेन व्यवहारको ११ नं. ले खारिज गरिपाउँ भन्ने समेत पिताम्बर, युवराज भुसालको संयुक्त प्रतिवाद रहेछ ।
४. जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि धरौट राख्न पर्ने सिद्धान्त श्री सर्वोच्च अदालत फुल बेञ्चबाट प्रतिपादित भइसकेको हुँदा जालसाजी मुद्दाबाट ठहर भएको थैली रू.४११००। सो जालसाजी मुद्दाको अन्तिम टुंगो लागेको मितिले लेनदेन व्यवहारको १६नं. बमोजिम ३५ दिनभित्र धरौट राखी दावी बमोजिमको धनि पीताम्बर यूवारज ऋणी हुमकुमारी खेमकुमारीसमेत भएको राजीनामाको जग्गा विगाहा ६द्र३। वादीले हकसफा गरी गरी निखनी लिन पाउने ठहर्छ भन्ने समेत कपिलवस्तु जि.अ.को ०३१।५।१७।२ को फैसला रहेछ ।
५. सो इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन परेकोमा लेनदेन व्यवहारको १६नं. मा थैली तिरी निखनी लिन पाउने गैर कुरामा निखनी पाउँ भनी उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत धरौट राख्नु पर्छ भन्ने उल्लेख भएको प्रस्तुत वादी दावीमा थैली थाहा नभएको भन्ने नभई थाहा हुन आएको थैलीका हकमा केही रकम बढाई जालसाजी गरेको भन्ने लेखाई भएकोले बढाई जालसाजी गरेको भनी दावी गरेको अंकको हकमा पनि थाहा नभएको भन्ने कुरा भएन जालसाजी मुद्दा तर्फ उसै मुद्दामा भएका निर्णय बमोजिम हुने हुनाले सो पनि जालसाजी नठहर्ने गरेको इन्साफ शुरूको मनासिव भई आजै किनारा भएकोले यस मुद्दाको हकमा थाहा पाएको भनी लेखेको थैली धरौट नराखी फिराद दायर गरेको लेनदेन व्यवहारको १६नं. ले दायर हुन नसक्ने देखिन आएकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३२।१।२५।५ को फैसला रहेछ ।
६. सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेको रहेछ । विपक्षीहरू लाई प्रचलित मो रू.२१०००। मा दिनु भएकोमा मेरो हकसफा गर्ने हक मेटाउन बढी रू.२०१००। वेदामी जालसाजी अंक लेखाई रू.४११००। को ४ थान राजीनामा श्रावण ६ गते क.मालमा पास गराउँछन हाल पौष १८ गते थाहा पाई भन्ने वादीको लेखाइबाट थैलीको अंक थाहा पाएको प्रष्ट देखिन्छ । लेनदेन व्यवहारको १६नं. बमोजिम थैली धरौट राखेको देखिँदैन यस्तो प्रश्न समावेश भएको विष्णुरमण राजेश्वरीको निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट ०२९।६।१६।२ मा भएको प्रतिपादित सिद्धान्त अनुसार थैली धरौट नराखेकोले वादीको दावी खारेज गर्ने गरेको प.क्ष.अ.को इन्साफ मनासिव छ भन्ने मा.न्या. श्री बासुदेवको राय र दे.फु.नं. ८६ पुनरावेदक अम्बरबहादुर विपक्षी चेहरसिंह भएको हकसफा मुद्दामा पाँच जना न्यायाधीशको फुल बेञ्चले थैलीमा मुख नमिली जालसाजीमा मुद्दा परी सकेकोमा जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६नं. बमोजिम म्याद ३५ दिनभित्र थैली धरौट राख्न पर्ने ०२७।४।२०।३ मा सिद्धान्त कायम भएकोले प्रस्तुत मुद्दामा सोही नजीर लाग्ने हुँदा प.क्षे.अ.को इन्साफ मिलेन भन्ने समेत मा.न्या. श्री ईश्वरीराज मिश्रको राय बाँझी फैसला भएको रेहछ ।
७. ना.सु.विष्णुरमण उप्रेती विरुद्ध राजेश्वरी उपाध्यायको निखनाई पाउँ भन्ने मुद्दामा थैली बढाई जालसाजी गरे भनी छुट्टै मुद्दा वादीले दायर गर्न नसकेको निखनाई पाउँ भन्ने मुद्दा थैली बढाई जालसाजी गरे भनी देवानी विषय र फौज्दारी विषयको समेत एउटै नालेस फिराद कानून विरुद्ध पर्न आएको छ यस मुद्दामा सो अनुसार नभई निखनाई पाउँ भन्ने मुद्दा र थैली बढाए जालसाज गरे भन्ने मुद्दा अलग–अलग दर्ता गरेको र एक मुद्दाको दायरी अर्को मुद्दाबाट देखिने गरी उल्लेख गरेको देखिएको हुनाले उक्त मुद्दा प्रस्तुत मुद्दाको तथ्यसँग मिल्न आएन । अम्बरबहादुर खत्री चेहर सिंहको निखनाई पाउँ भन्ने र थैली जालसाजी गरे भन्ने अलग–अलग मुद्दा दायर भएको प्रस्तुत मुद्दासँग पुरातबरले तथ्य मिल्न आएको भन्दै लेनदेन व्यवहारको १६नं. को अध्ययन गर्दा निखनाई पाउँ भन्नेले थैली धरौट राखी नालेस गर्नुपर्ने र थैली मुख नमिलेमा निश्चित भएपछि ३५ दिनभित्र थैली धरौट राख्न पाउने कुरा सो ऐनको बनावटबाट देखिन्छ । प्रतिवादी परे पछि थैलीमा वा मुख नमिलोस वा वादीले फिराद गर्दैमा प्रतिवादीको लिखतको थैलीमा मुख नमिली बढाएको भन्ने जालसाजी मुद्दा परी थैलीमा मुख नमिलोस वास्तवमा थैली निश्चित भएको अवस्था नजनाउँने हुन आउँछ त्यस्तो निश्चित त्यस्तो निश्चित नभएको फैसला भई निश्चित भएको ३५ दिनभित्र धरौट राख्न पाउने वादी उजूरवालालाई कानूनले अधिकार प्रदान गरेको देखिन्छ । त्यस्तो कानूनी अधिकारबाट वादी वञ्चित हुन्छ भन्न नमिल्ने हुँदा सम्बन्धित जालसाजी मुद्दा अन्तिम किनारा भई फैसला भएका ३५ दिनभित्र वादीले थैली धरौट राखेमा हकदार नातावारमा विवाद नहुँदा कानूनबमोजिम निखन्न पाउने ठहर्छ । पश्चिमाञ्चल क्षेत्रीय अदालतले वादी खारेज गर्ने गरेको रायलाई सदर राख्ने गरेको डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय मिलेको देखिन भन्ने समेत सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह मा.न्या. श्री प्रकाशबहादुर के.शी.मा.न्या. श्री झपट सिंह रावलको राय र फिरादपत्र साथ वादीले थैली धरौट राख्न पर्ने वा नपर्ने भन्ने प्रश्नमा उक्त फुल बेञ्चको निर्णय एक अर्कोसँग मिलेको देखिँदैन । यस सम्बन्धमा लेनदेन व्यवहारको १६नं. को विश्लेषण गर्दा निखन्ने चाहने व्यक्तिले थैली थाहा पाएको र थाहा नपाएको आधारमा भिन्दा भिन्दै कार्यविधिको व्यवस्था भएको देखिन्छ । निखन्न चाहने व्यक्तिलाई थैली थाहा छ भने निजले फिरादपत्रका साथ थैली धरौट राख्नै पर्छ भन्ने कुरा उक्त नम्बरको पहिलो वाक्यको थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नुपर्छ भन्ने शब्दहरू बाट प्रष्ट हुन्छ । निजलाई थैली थाहा छैन भन्ने प्रतिउत्तर परी निखन्न दिनुपर्ने कुरामा मुख मिलेमा प्रतिउत्तर परेको मितिले ३५ दिनभित्र र सो कुरामा मुख नमिलेकोमा बुझाउन अर्थात निखन्न पाउने ठहरी अन्तिम फैसला भएपछि धरौट राख्न पर्ने कुरा उक्त नम्बरको दोस्रो वाक्यले प्रष्ट गरेको छ । यस प्रकार थैली थाहा भएकोमा सो नम्बरको पहिलो वाक्य र थैली थाहा नभएकोमा दोस्रो वाक्य लागू हुने कुरा प्रष्ट छ । थैलीको कुरालाई लिएर जालसाजी मुद्दा पनि चलेकोमा निखनाई पाउँ भन्ने मुद्दामा राजीनामाको लिखत बमोजिमको थैली थाहा भए पनि फिरादपत्रको साथ थैली धरौट राख्न नपर्ने व्यवस्था उक्त १६ नं. ले गरेको छैन । यस स्थितिमा थैली थाहा नभएकोमा भन्ने पूर्व शर्त (precondition) लगाएर शुरू भएको दोस्रो वाक्यलाई थैली थाहा भएको अवस्थामा जालसाजी मुद्दा परेको कारणले मात्र लागू गर्न मिल्ने देखिंदैन । थैली थाहा नभएको भन्ने शब्दहरूले उक्त वाक्यको विस्तार ९क्अयउभ० लाई सीमित र नियन्त्रित गरेको छ । सो अनुसार उक्त दोस्रो वाक्यमा लागू हुनको निमित्त थैली थाहा नभएको अवस्था विद्यमान हुनुपर्छ त्यस माथि पनि उक्त दोश्रो वाक्यमा उल्लिखित बुझाउन पाउने ठहरी फैसला भई भन्ने शब्दहरूले बुझाउन अर्थात निखन्ने विषयको मुद्दाको फैसलाई लिएर बोलेको कुरालाई जालसाज मुद्दाको फैसलासँग जोडेर जालसाजी मुद्दाको फैसला भएपछि मात्र थैली धरौट राख्नुपर्छ भन्ने कदापि मिल्दैन । निखनाई पाउँ भन्ने मुद्दा र जालसाजी मुद्दाको प्रक्रिया र परिणाम भिन्दा भिन्दै हुन्छ । निखनाई पाउँ भन्ने मुद्दाको धरौटी सम्बन्धी कुरालाई जालसाजी मुद्दा सँग सम्बन्धित गराउने न त कानूनमा व्यवस्था छ न त्यसको कुनै कानूनी आवश्यकता नै छ । जालसाजी मुद्दाको किनारा हुँदा थैली बढाई जालसाजी गरेको देखिएमा निखनाई पाउँ भन्ने मुद्दामा धरौट रहेको थैली मध्येबाट जालसाजी मुद्दामा यकिन भए बमोजिमको थैली निखन्न दिनु पर्ने व्यक्तिलाई बाँकी धरौट राख्ने व्यक्तिले फिर्ता पाउने नै हुँदा जालसाजी गरी थैली बढाएबाट बढी धरौट राख्नु परेको कारणले मात्र वादीले प्रतिवादीलाई बढी थैली तिर्न वा बुझाउन पर्ने अवस्था पनि पर्दैन । यस स्थितिमा विद्यायिकाले बनाएको कानूनलाई लागू गर्नु सम्म कर्तव्य भएको अदालतले कानूनका स्पष्ट शब्दहरू लाई तानतुन गरी विद्यायिकाले लगाएको बन्देजलाई बिना कारण वा आधार खुकुलो बनाउनु वा निष्क्रिय गराउनु खोज्नु उचित होइन । यस सम्बन्धमा वादी विष्णुरमण उप्रेती विरुद्ध राजेश्वरी उपाध्यायको निखनाई पाउँ भन्ने मुद्दामा २०२९।६।१६को फुल बेञ्चले गरेको निर्णय र सो आधारमा डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री बासुदेव शर्माले व्यक्त गर्नुभएको रायसँग म सहमत छु । थैली थाहा हुँदाहुँदै पनि फिरादपत्र साथ थैली धरौट नराखेकोले वादी दावी खारेज गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । यस बेञ्चका सहयोगी न्यायाधीश ज्यूहरूका बहुमतसँग मेरो राय नमिलेकोले यस सम्बन्धमा मैले अरू केही भनी रहन परेन भन्ने समेत मा.न्या. श्री विश्वनाथ उपाध्यायको राय भई फुल बेञ्चबाट ०३३।७।२०।६ मा फैसला भएको रहेछ ।
८. तत्काल प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको महलको १६नं. को अध्ययनबाट प्रतिवादी परेपछि थैलीमा मुख नमिलोस वा वादीले फिराद गर्दैमा प्रतिवादीको लिखतको थैलीमा मुख नमिली थैली बढाएको भन्ने जालसाजी मुद्दा परी थैलीमा मुख नमिलोस यस अवस्था थैली निश्चित भएको मान्न सकिँदैन । त्यसरी निश्चित नभएकोमा फैसला भई थैली निश्चित भएको ३५ दिनभित्र निखन्न चाहने व्यक्तिले धरौट राख्न पाउने अधिकार उक्त कानूनले प्रदान गरेकै पाइन्छ । निखनाई पाउँ भन्ने मुद्दा र थैली बढाई जालसाजी गरे भन्ने दुई मुद्दा अलग–अलग दर्ता भएकोले समेत उक्त जानकारी मुद्दा अन्तिम किनारा भई फैसला भएका ३५ दिनभित्र वादीले धरौट राखेकोमा हकदार नातादारमा विवाद नहुँदा कानूनबमोजिम निखन्न पाउने ठहराएको ०३३।७।२०।६को फुल बेञ्चको बहुमतको राय मनासिव छ भन्ने समेत माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह, माननीय न्ययायाधिश श्री सुरेन्द्रप्रसाद सिंह, माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय लेनदेन व्यवहारको १६नं. को व्याख्याको प्रश्न टड्कारो रूपमा देखा परेको छ । निखन्न चाहने व्यक्तिले थैलीमा घटी बढी गरी जालसाजी गरेभन्ने मुद्दा दायर गर्ने वित्तिकै जालसाजी मुद्दाको किनारा भई थैली यकिन भएपछि थैली राख्न पाउन, हुन्छ भन्ने व्याख्या गर्दा लेनदेन व्यवहारको १६नं. को पहिलो वाक्यले गरेको थाहा पाएको थैली राख्न पर्छ भन्ने वाध्यात्मक व्यवस्थाको उल्लंघन गरेको हुने भयो यसो गर्दा जालसाजी मुद्दा गर्ने प्रोत्साहन हुन जाने पनि प्रष्ट छ । तसर्थ म थैलीलाई थाहा पाएको थैली र थाहा नपाएको थैली २ भागमा विभाजन गर्न चाहन्छु यसो गर्दा म समेतको भएको ०३३।७।२०।६को फुल बेञ्चका व्याख्यामा केही परिवर्तन गर्न पर्ने हाल देखिन आएकोले मेरो यो छुट्टै राय व्यक्त गरेको छु । माननीत सहयोगी साथीहरूमा मा.न्या. श्री धनेन्द्रबहादुर सिंह, मा न्या. श्री सुरेन्द्रप्रसाद, सिंह मा.न्या. श्री बब्बरप्रसाद सिंहले ०३३।७।२०।६को फुल बेञ्चको राय समर्थन गर्नुभएको मा.न्या. श्री बासुदेव शर्मा र मा.न्या. श्री हेरम्बराजको राय त्यसको विपरीत भएको र मेरो विचारमा ०३३।७।२०।६को फुल बेञ्चको रायमा सहमत जनाउँन माथि लेखिएबमोजिम असमर्थ भएको हुँदा वृहत फुल बेञ्चमा पेश हुन पर्ने देखिएको छ भन्ने सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्रीको राय । वादीलाई थैली थाहा भएको कुरा निजको फिराद लेखबाटै देखिन्छ । निखनाई पाउँ भन्ने मुद्दाको थैली नै बढाई जालसाजी गर्यो भनी थैली चढाएतर्फ जालसाजी मुद्दा पर्दैमा लेनदेन व्यवहारको १६नं. को पहिलो वाक्यले फिरादपत्र साथ थैली धरौट राख्न पर्ने कानून व्यवस्था भएकोलाई जालसाजी मुद्दा परेको कारणबाटै फिरादपत्र साथ धरौट राख्नु पर्ने थैलीलाई पन्छाउन सकिँदैन । जालसाजी मुद्दाको किन बेच हुँदा थैली बढाई जालसाजी गरेको देखिएमा निखनाई पाउँ भन्ने मुद्दामा धरौट रहेको थैली माध्यबाट जालसाजी मुद्दामा यकिन भए बमोजिमको थैली निखन्न दिनु पर्ने व्यक्तिलाई बुझाई बाँकी धरौट राख्ने व्यक्तिले फिर्ता पाउने नै हुँदा विष्णुरमण उप्रेती विरुद्ध राजेश्वरी देवीको मुद्दामा ०२९।६।१६को फुल बेञ्चबाट थैली थाहा भएकोमा फिरादपत्रका साथ थैली धरौट राख्नु पर्ने बाध्यात्मक कानूनी व्यवस्था भएकोले वादीले थैलीलाई जालसाजी गर्यो भन्दैमा निजले धरौट नराख्ने छुट पाउन सक्तैन भनी कायम भएको सिद्धान्तको आधारमा जति थैली धरौट राख्नु पर्ने हो सो फिरादपत्र साथ नराखेकोले समेत वादी दावी खारेज गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहराई व्यक्त गर्नुभएको माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको रायसँग म सहमत छु भन्ने मा.न्या. श्री बासुदेव शर्माको राय रू.२१०००। थैली थाहा पाएको रू.२०१००। थैली जाल गरेको भनी फिरादी आफैंले भनेकोले थाहा पाएको थैलीमा गर्नु पर्ने व्यवहार धरौट नराखी थाहा नपाएको जस्तै व्यवहार गरेकोबाट आफैंले पनि थैली हो भने पछि होइन जस्तो व्यवहार गरेको हुँदा विवन्धनको सिद्धान्तको विपरीत भएको छ । थाहा पाए पनि आफैंले निश्चय गरेको थैली पनि धरौट राख्छन भने आफ्नो ज्ञानको भरोसा आफैंले लिएको देखिँदैन थाहा पाएको थैली धरौट नराखेमा के बुझाउने हो तसर्थ निखन्न पाउँदैन पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको ठहर मनासिव छ सहयोगी माननीय न्यायाधीशहरू ३ सँग मतभेद भएकोले आफ्नो छुटै राय लेखेको हुँ भन्ने समेत मा.न्या. श्री हेरम्बराजको राय भई २०३८।४।१३।३ मा फुल बेञ्चबाट भएको निर्णय रहेछ ।
९. यसमा निवेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अभिवक्ता श्री कृष्णप्रसाद पन्तले प्रस्तुत हकसफा मुद्दामा वादीले फिराद गर्दा मेरो २ पुस्ता भित्रको साख्यात जेठी भाउजू हुमकुमारी र माहिली भाउजू खेमकुमारीबाट जम्मा जग्गा विगाहा ६–३–५ धुर प्रचलित मोल रू.२१०००। मा म देवरलाई दिने कबूल गर्नुभएको थियो । त्यस्तैमा मलाई थाहा नै नदिई विपक्षीहरू मिली मेरो हकसफा गर्ने हकमार्नका लागि बढी रू.२०१००। मोल बढाई वेदामी जालसाजी अंक लेखाई रू.४११००। का ४ थान राजीनामा भाउजू हुमकुमारी र खेमकुमारीबाट रजिष्ट्रेशन पास गराई लिनु भएछ भन्दै थैली बढाई जालसाज गरे तर्फ छुटै उजूर गरेको हुँदा हकसफातर्फ उजूर गरेको छु । लेनदेन व्यवहारको १६नं. बमोजिम थैलीमा मुख नमिलेकोमा अर्को जालसाजी मुद्दाबाट अन्तिम फैसला भई निर्णय भएको थैली मोल रुपैयाँ मबाट विपक्षीलाई बुझाई जग्गाहरू हकसफा गराई पाउँ भनी दावी जिकिर लिनु भएकोले वादीलाई रजिष्ट्रेशन पास भएको लिखतमा उल्लेख भएको रू.४११००। को थैली थाहा हुँदा हुँदै उक्त थैली धरौट नराखेकोले त्यस्तोमा लेनदेन व्यवहारको १६नं. बमोजिम वादीले निखन्न पाउने होइन र प्रस्तुत फिराद अ.बं.७२ नं. को प्रतिकूलसमेत हुँदा जालसाजी मुद्दा अन्तिम किनारा भई फैसला भएको ३५ दिनभित्र वादीले धरौट राखेमा निखन्न पाउने ठहराएको २०३३।७।२० को फुल बेञ्चको निर्णय मिलेको छैन भन्दै आफ्नो वैकल्पिक बहसमा जालसाजी नभनेको भनी वादीले स्वीकार गरेको थैली रू.२१०००। पनि धरौट नराखेकोले त्यसबाट समेत निखन्न पाउने स्थिति छैन भन्ने समेत र अर्को विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले जालसाजी मुद्दाबाट बुझाउने ठहर हुँदैन । निखन्न पाउने मुद्दाबाट निर्णय भएपछि मात्र निखन्न पाउने हुँदा निखनाई दिने गरेको ०३३।७।२० को फुल बेञ्चको बहुमतको निर्णय मिलको छैन भन्ने समेत र विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले लेनदेन व्यवहारको १६नं. मा थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नु पर्छ भन्ने जुन वाक्यांश लेखिएको छ त्यसको व्याख्या लेनदेन व्यवहारको १६नं. को सम्पूर्ण वाक्यांशलाई हेरी समरूप ९ज्बचmयलष्यगक० व्याख्या हुनुपर्छ थैली थाहा नभएको अवस्था पनि मुख नमिल्न सक्छ । प्रस्तुत केशमा वादीलाई थैली थाहा भएपनि थैलीको अंकमा मुख नमिली थैली बढाएतर्फ जालसाजी मुद्दा दिएकोले थैलीको अंक यकिन नभएसम्म थैली राख्ने प्रश्न छैन । थैली थाहा भएकोमा थैलीसमेत धरौट राख्ने व्यवस्था लेनदेन व्यवहारको १६ नं. ले गरेको छ । त्यो विवाद रहीत थैलीलाई भनेको हो । तर प्रस्तुत केशमा थैलीमा नै विवाद रहेकोले थैली राख्ने नपर्ने अवस्था हेर्दा जालसाजी मुद्दा अन्तिम किनारा भई फैसला भएको ३५ दिनभित्र थैली धरौट राखेमा निखन्न पाउने ठहराएको ०३३।७।२० को फुल बेञ्चको बहुमतको निर्णय मनासिव छ । वादीको फिरादपत्र अ.बं.७२ नं. को प्रतिकूल समेत नहुँदा सोही इन्साफ सदर गरिनु पर्छ भन्ने समेत बहस गर्नुभयो ।
१०. यसमा दुवै पक्षका विद्वान वरिष्ठ अधिवक्ताहरूले लेनदेन व्यवहारको १६नं. को व्याख्या गर्दै निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताले वादीले निखन्न पाउने होइन भनी र विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताले जालसाजी मुद्दाबाट थैली यकिन भएपछि थैली धरौट राखी निखन्न पाउँछ भनी आफ्नो–आफ्नो तर्क प्रस्तुत गर्नुभएको र प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १६नं. को व्याख्याको प्रश्न नै मुख्यतः विवादको रूपमा देखा परेकोले लेनदेन व्यवहारको १६नं. को व्याख्या भई सोको आधारमा प्रस्तुत मुद्दाको निर्णय हुनुपर्ने हुन आएको छ । निखनी लिने सम्बन्धमा लेनदेन व्यवहारको महल र रजिष्ट्रेशनको महल हेर्दा लेनदेन व्यवहारको १६नं. र रजिष्ट्रेशनको ३५ नं. ले समेत निखन्न कार्यविधि तोकेको पाइन्छ ।
११. रजिष्ट्रेशनको महलको ३५ नं. मा लेनदेन व्यवहारको महलबमोजिम अचल सम्पत्ति निखन्दा देहायबमोजिम गर्नु पर्छ भन्ने लेखिएकोले निखन्ने कुरामा उक्त नम्बरले पनि लेनदेन व्यवहारको महललाई किटानी साथ औंल्याएको पाइन्छ ।
१२. लेनदेन व्यवहारको १६ नं. लाई हेर्दा थैली तिरी निखनी लिन पाउने गैर कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नु पर्छ थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई पुनरावेदनको तहसम्मबाट फैसला भएपछि वा ऐनले पुनरावेदन नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्छ । सो म्यादभित्र थैली धरौट राख्न ल्याएन भने आसामीले नै बन्धकी निखनी लिने बाहेक अरू निखनी लिने कुरा निखनी लिन पाउँदैन, लिएदिएको पक्का हुन्छ । आसामीले नै बन्धकी निखनी लिने कुरामा पनि सो नालेस फैसलाबाट निखनाई दिनुपर्दैन । साहुले नबुझे थैली धरौट राखी उजूर गरेमा निखनाई दिनुपर्छ भन्ने लेखिएको पाइन्छ । अब उक्त लेनदेन व्यवहारको १६ नं. मा प्रयोग भएको थैली कस्तोलाई सम्झिने हो भन्नको लागि निखनी लिने सम्बन्धमा थैलीको प्रयोग भएको लेनदेन व्यवहारको १६ नं. १७ नं. र रजिष्ट्रेशनको महलको ३५ नं. लाई समेत दृष्टिगत गर्दा थैलीको प्रयोग विभिन्न रूपमा भएको नदेखिई थैलीको तात्पर्य बेच ेकिनेको लिखतमा उल्लेख भएको थैलीलाई मानेको खण्डे थैलीको व्यवस्थासमेत नगरेको उक्त कानूनको बनावट देखिँदा थैली भन्नाले लेनदेन व्यवहारको १६ नं. मा उल्लेख भएको थैली नै किने बेचेको लिखतमा लेखिएको थैली सम्झनु पर्ने स्थिति छ । अब लेनदेन व्यवहारको १६ नं. ले निखन्न पाउने गैर कुरामा थैलीलाई (२) अवस्थामा विभाजन गरेको पाइन्छ ।
१३. प्रथमतः थैली थाहा भएको अवस्था र दोस्रो थैली थाहा नभएको अवस्था, थैली थाहा भएको अवस्थालाई दृष्टिगत गर्दा थैली तिरी निखनी लिन पाउने गैर कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नु पर्छ भन्ने लेनदेन व्यवहारको १६ नं. को प्रथम वाक्यांशमा लेखिएकोले उक्त वाक्यांशले थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नु पर्ने कानूनी बन्देज गरेको पाइन्छ थैली थाहा हुँदाहुँदै जालसाजी मुद्दाबाट थैलीमा विवाद उठाई थैली धरौट राख्न नपर्ने छुट वादीलाई उक्त वाक्यांशले प्रदान गरेको पाइँदैन ।
१४. थैली थाहा नभएकोमा लेनदेन व्यवहारको १६ नं. ले व्यवस्था गरेको दोस्रो वाक्यांशमा थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेको बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्छ भन्ने लेखिएकोले सो वाक्यांशले थैली थाहा पाएकोलाई मुख नमिलेको मानी जालसाजी मुद्दाबाट थैली यकिन भएपछि थैली राख्न पाउने व्यवस्था गरेको पाइँदैन ।
१५. ऐनको व्याख्या गर्दा भाषा प्रष्ट (Letter of Law Clear) छ भने त्यसको सरल र स्वभाविक अर्थ जे निस्कन्छ सोही अर्थ गर्नुपर्ने हुन आउँछ । दुविधा नपर्ने किसिमसँग शब्दको प्रयोग भएको छ भने ति शब्दहरूले विद्यायिकाको मनसाय सबभन्दा राम्ररी व्यक्त गरेको सम्झनु पर्दछ । लेनदेन व्यवहारको १६ नं. मा थैली थाहा भएको र थैली थाहा नभएको दुई (२) अवस्थालाई २ स्वतन्त्र रूपमा विभाजन गरेको पाइन्छ र प्रस्तुत मुद्दामा वादीले थैली थाहा पाएको छैन भनी भन्न सक्नु भएको छैन । थैली थाहा भएको अवस्थामा लेनदेन व्यवहारको १६ नं. को दोस्रो वाक्यांश अर्थात थैली थाहा नभएको अवस्थामा भएको व्यवस्था प्रस्तुत मुद्दामा आकृष्ट हुनसक्ने स्थिति छैन अब थैली थाहा भएकोमा लेनदेन व्यवहारको १६ नं. को प्रथम वाक्यांश बमोजिम थैलीसमेत ल्याई धरौट राख्नु पर्छ भन्ने कानूनी बन्देज भएको र त्यस्तो धरौट राख्नु पर्ने थैली विवाद नउठेको विवादरहित थैली हो भन्नलाई लेनदेन व्यवहारको १६ नं. ऐनले सो कुरा स्पष्ट रूपमा बोलेको छैन । तसर्थ वादीलाई थैली थाहा भएकोमा थैली धरौट राख्नु पर्ने बाहेक अन्य विकल्प लेनदेन व्यवहारको १६ नं. ले गरेको पाइन्न ।
१६. बेचे किनेको थैली बढी देखाई वास्तवमा कम रुपैयाँ लिनुदिनु गरी जालसाजी क्रिया हुन नसक्ने होइन, तर जालसाजी क्रिया बेग्लै फौजदारी अपराध हुन् र त्यसको परिणाम बेग्लै हुने अवस्था छ त्यस्तो जालसाजी क्रिया भए गरेको अवस्थामा थैली थाहा पाएकोमा थैली धरौट राख्नु पर्दैन भनी लेनदेन व्यवहारको १६ नं. ले व्यवस्था गरेको पाइँदैन । यस प्रकार जालसाजी मुद्दालाई लेनदेन व्यवहारको १६ नं. निखनाइपाउँ भन्ने मुद्दासँग गाँस्ने अवस्था छैन ।
१७. लेनदेन व्यवहारको १६नं. को दोस्रो वाक्यांशमा थैली थाहा नभएकोमा भन्दै प्रतिउत्तर परी मुख नमिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्रै सो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नुपर्छ भनिएकोबाट पनि निखनाई पाउँ भन्ने मुद्दाबाट फैसाला भई बुझाउन पाउने ठहरेकोमा त्यस्तो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्ने उक्त नम्बरको वनावटबाट देखिन्छ । त्यस्तोलाई जालसाजी मुद्दाको ठहर भएपछि तिर्नु पर्ने थैली हो भन्न मिल्दैन र सो कुरा लेनदेन व्यवहारको १६नं. मा प्रयोग भएको शब्दले पनि दिँदैन अतएव जालसाजी मुद्दा अन्तिम किनारा भएको ३५ दिनभित्र वादीले धरौट राखेकोमा नातादार मा विवाद नहुँदा कानूनबमोजिम निखन्न पाउने ठहराएको ०३३।७।२० को फुल बेञ्चको बहुमतको निर्णय मिलेको देखिएन वादीलाई थैली थाहा भएको लेनदेन व्यवहारको १६नं. बमोजिम निखनाई पाउँ भन्ने अड्डामा उजूर गर्न आउँदा वादीले थैलीसमेत धरौट नराखेको देखिँदा वादी दावी खारेज हुने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
माथी इन्साफ खण्डमा वादी दावी खारेज हुने ठहरेकोले सर्वोच्च अदालत फुल बेञ्चका २०३३।७।२० का फैसलाले जालसाजी मुद्दा अन्तिम टुंगो लागेका मितिबाट ३५ दिनभित्र कायम हुन आएको थैली धरौट दाखिल गरे वादीले दावी लिएको हुमकुमारी खेमकुमारीबाट प्रतिवादी पिताम्बर भुसाल र युवराज भुसालले ०२९।४।६ मा राजीनामा लिएका जग्गा वादी कृष्णराज उपाध्यायले निखनी लिन पाउने गरी लगत राख्ने गरेको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गर्नु भनी कपिलवस्तु जिल्ला अदालतमा लेखी पठउान काठमाडौं जिल्ला अदालत तहसील फाँटमा लगत दिनु .................१
वादी कृष्णराज उपाध्याय के.स.अ.फुल बेञ्चका ०३३।७।२० का फैसलाले प्रतिवादीहरू बाट भराउने गरेको कोर्टफी रू.२५८ र धरौटी कोर्टफी रू.१५०३। समेत वादीले नपाउने हुँदा कास्की जि.अ.मा ०३१।६।२४।१ मा देहायका प्रतिवादीहरूले दाखिल गरेको धरौटी र देहायका प्रतिवादीहरू बाट भरी पाउने भनेको कोर्टफी रू.२५८ समेत भराउन पर्दैन भनी कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालत तहसील फाँटमा लगत दिनु .................२
प्रतिवादी युवराज भुसाल १ प्रतिवादी पिताम्बर भुसाल १ देहायका प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए अनुसारवादी दावी खारेज भएकोले निजहरूले प.क्ष.अ.मा पुनरावेदन गर्दा ०३१।६।२४।१ मा कास्की जिल्ला अदालतमा दाखिल गरेको धरौटी कोर्टफी रू.१५०३। र सर्वोच्च अदालत मार्फत का.जि.अ.त.मा ०३६।१२।२५ मा दाखिल गरेको धरौटी कोर्टफी रू.२५८ समेत जम्मा रू.१७६१। प्रतिवादीहरूले फिर्ता पाउने हुँदा उक्त कोर्टफी फिर्ता पाउँ भनी देहायका प्रतिवादीहरूको दरखास्त परे कानूनको रीत पुर्याई उक्त कोर्टफी फिर्ता दिनु भनी ऐ.ऐ.मा लेखी पठाउनु ऐ.ऐ.मा लगत दिनु .................१
प्रतिवादी पिताम्बर भुसाल........१
प्रतिवादी युवराज भुसाल......१
देहायका प्रतिवादीहरू के माथि इन्साफ खण्डमा वादी दावी खारेज हुने ठहरेकोले यस अदालतमा प्रतिवादीहरूले दाखिल गरेको शुरू कोर्टफीको सयकडा १५ले हुने रू.१५०।३० वादीबाट भराई पाउँ भनी प्रतिवादीहरूको दरखास्त परे कानूनको रीत पुर्याई प्रतिवादीहरू लाई भराई दिनु भनी ऐ.ऐ.मा लेखी पठाउन ऐ.ऐ.मा लगत दिनु ..................१
प्रतिवादी युवराज भुसाल.......१
प्रतिवादी पिताम्बर भुसाल......१
उक्त रायमा हामीहरूको सहमती छ ।
न्या. गजेन्द्रकेशरी बास्तोला,
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हेरम्बराजको राय
१८. लेनदेन व्यवहारको १६नं. को व्याख्या गर्दा तात्पर्य निर्णयबाट उक्त ऐनको दोहोरो अर्थ हुने देखिएन भन्ने पहिलो रायमा व्यक्त गरेकै छु उक्त ऐनको पुरानो रूपसँग ऐ.ले प्रचलित ऐनसमेत मिलाई भिडाएमा देखिने व्याख्या यस्तो हुन्छ ।
पुरानो ऐनमा रजिष्ट्रेशन दस्तुर नभएको ऐ.ले त्यसलाई समावेश गरेको छ ।
१९. निखनी पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा भन्ने वाक्यबाट वादीले थैली थाहा पाएको छु भनी निजैबाट थैली बोध भएको छ भनी देखाउने कुरा हो वा निजलाई थाहा थियो थिएन भनी प्रतिवादीको जिकिरबाट सबूत बुझी ठहर हुन्छ ।
२०. थैलीथाहा नभएकोमा मनासिव कारण देखिन्छ भने प्रतिउत्तर परेको ३५ दिनभित्र भन्ने वाक्यांशले के बोध गराउँछ भने प्रतिउत्तर परेपछि अदालती बन्दोवस्तको १८४ क.७८ नं. अनुसार छलफलमा वा प्रतिवादीले पेश गरेको लिखतबाट वादीले थाहा पाएको हुन्छ र प्रतिवादीले प्रतिउत्तरपत्र लेखमा यति थैली हो बन्धकी राजीनामा हो भनी लेख्न सक्तछ यसमा मुख मिलेको छ भन्ने प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्न पर्छ ।
२१. थैलीमा मुख नमिलेमा सबै वा केही भन्ने स्पष्ट खुलाई प्रचलित ऐनमा केहीमा मुख मिलेको छ भन्न पनि थैली धरौट राख्नु पर्ने गराएको छ । जुन कुरा आंशिक मुख मिलेको वा नमिलेको भनी पुरानो ऐनमा भेद देखाएको छैन ।
२२. मुख मिलेन भन्ने अन्तिम फैसला नभएसम्म थैलीहरू धरौट लिन मिल्दैन ३५ दिनको म्यादमा अन्तिम फैसलाबाट तोकिएको थैली धरौट राख्नु पर्छ त्यसैमा थैली विषयमा वा बन्धकी राजीनामा इत्यादी व्यवहारको निर्णय हुन्छ त्यस ऐनको अरू वाक्यको व्याख्या प्रासंगिक हुँदैन ।
२३. वादीले थाहा पाएको भनेको थैली मध्य केही जालसाजी हो भनेको ठहराउन सकेको नहुँदा जालसाजी मुद्दाको परिणामले थैली उस बखत फिराद परेको बखत राख्न पर्ने थिएन भन्न परेको थिएन आफूले जालसाजी नभनी सद्दे भनेको थैली पनि राखेको छैन थैली थाहा पाएको भनी थैलीमा झुठ्ठा जालसाजी मुद्दा चलाएकोबाट वादीले थैली राख्न पर्दैन भन्ने ठहर गर्न मिल्दैन जति थाहा पाएको थैली थियो जे साँचो थियो त्यसलाई छल्न जालसाजी चलाई असफल भएकोबाट थैली थाहा पाएको धरौट राखेको नदेखिएबाट वादीले निखन्न पाउँदैन जो मेरो पहिलो राय थियो नयाँ कारण परिवन्द प्रमाण पेश भएको नहुँदा मैले आफ्नो राय परिवर्तन गर्न परेन मा.न्या. श्री त्रिलोकप्रताप राणा, मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोला, मा.न्या. श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको वादी दावी खारेज गर्ने गरेको राय सम्मलाई समर्थन जनाउँदै आफ्नो राय व्यक्त गर्दछु ।
न्यायाधीश
माननीय न्यायाधीश श्री हरगोविन्द प्रधान
२४. यसमा लेनदेन व्यवहारको तत्कालिन १६ नं. अध्ययन गर्दा विशेष गरी दुई तत्वहरू (Elements) प्रमुख छन् । प्रथम थैली थाहा भएको र दोस्रो थैलीमा मुख मिले नमिलेको प्रथम तत्वलाई दोस्रोले नियन्त्रण (Control) गर्दछ । अर्थात विवाद नभएमा थाहा पाउँ जति र विवाद भएमा विवाद भए जतिको थैलीमा विवादको निरोपण हुन आवश्यक छ । विवाद ग्रह्र्रा थैलीलाई थाहा पाउँदैमा विवाद भए तापनि सम्पूर्ण थैली धरौट राख्नु पर्छ भन्नुको उद्देश्य निखन्ने कानूनी व्यवस्थालाई निरुत्साहित पार्ने उपायहरू लाई प्रश्रय दिनु हुन्छ । तसर्थ विवादमा भएको थैली जतिलाई बाहेक गरी बाँकी अर्थात प्रस्तुत केशमा वादी आफैंले स्वीकार गरे जतिका रकम रू.२१०००। धरौटी राख्नु पूर्व शर्तको रूपमा रहेको छ । धरौटी नराखेसम्म निजले निखन्न माग्न पाउने होइन र विवादको निरोपण सम्म पर्खि रहन पाउने पनि होइन । १६नं. व्यवस्थाको सम्बन्धमा भएको २०२७ सालको अम्बरबहादुर खत्रीको र चेहर सिंह खत्री र ०२९ सालको ना.सु.विष्णुरमण उप्रेतीको र रामजेश्वरी देवी उपाध्यायको फुल बेञ्चको निर्णहरू परस्परमा मेल नखाने भई द्वन्द्वको स्थितिबाट प्रस्तुत केशको सिर्जना भएको छ विद्यायिकाले यस्तो स्थितिलाई समष्ट पार्ने उद्देश्यले २०३४ सालमा उक्त नं. १६ मा संशोधन गरेको छ संशोधन अघिको कानूनी व्यवस्थाको परित्याग गरेको देखिन्न किन भने यस बीचको घटना (Intervening factor) मा यस अदालतको फैसलाहरूमा एक रूपता नहनु नै हो भन्नु पर्ने हुन्छ । संशोधनको कारण यही नै थियो भन्नलाई थप प्रमाण खोजी रहनु पर्ला जस्तो लाग्दैन संशोधित १६ नं. ले विवाद परे जतिको रकम धरौटी राख्न पर्ने गरेको छैन तर आफैंले स्वीकार गरेको रकम भने धरौट राख्नै पर्ने व्यवस्था गरेको छ । प्रस्तुत केशमा लागू हुँदाको अवस्थाको नं. १६ को मनासिव व्याख्या पनि यहि नै हुन्छ । पक्ष विपक्ष दुवैले कानूनी स्थितिको जायज भन्दा बढी लाभ पाउन हुँदैन भने आवश्यक र मनासिव भन्द बढी भार लादीन पनि हुँदैन । खास रू.२१०००। मा लेनदेन गर्यो भने वादीले त्यति थैली धरौट राखेर मात्र प्रस्ताव गर्नु न्यायोचित हुने थियो यो कुरा हामी चाहे करार सम्बन्धी सर्वमान्य प्रस्ताव स्वीकृतिको दृष्टिबाट हेरी चाहे समन्यायको कसौटीमा मूल्यांकन गरौ यहि निष्कर्षमा पुगिन्छ र वादीले धरौटी राखेको देखाउन पनि सकेको छैन । तसर्थ जानकारी भई स्वीकार गरी थाहा भएको मुख मिले जतिको रकम रू.२१०००। धरौटी नराखेको हुँदा वादी दावी खारेज हुने ठहर्छ खारेज गर्ने गरेको मा.न्या. श्री त्रिलोकप्रताप राणा, मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोला, मा.न्या. श्री जोगेन्द्रप्रसाद श्रीवास्तव र मा.न्या. श्री हेरम्बर राजहरूको राय सम्मलाई समर्थन जनाउँदै आफ्नो राय व्यक्त गर्दछु ।
माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय
२५. प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १६नं. को पहिलो वाक्यांशले थाहा भएको थैली फिरादपत्र साथ धरौट राख्नु पर्ने कानूनी बाध्यात्मक व्यवस्थालाई उपेक्षा गरी वादीले दायर गरेको फिराद खारेज गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहराई २०३८।४।१३।३ को फुल बेञ्चमा आफ्नो राय व्यक्त गरेकै हुँदा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा, मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोला, मा.न्या. श्री जोगेन्द्रप्रसाद श्रीवास्तव, मा.न्या. श्री हरगोविन्द सिंह प्रधान र मा.न्या. श्री हेरम्बराज ज्यूले व्यक्त गर्नुभएको वादी दावी खारेज गर्ने राय सम्मलाई समर्थन जनाउँदै आफ्नो राय व्यक्त गर्दछु ।
न्यायाधीश सुरेन्द्रप्रसाद सिंह
२६. प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा लेनदेन व्यवहारको ११ नं. मा कसैले आफ्नो हकपुग्ने चल अचल गैर बिक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्न नपर्नेमा दाखिल खारिज भएमा मितिले ६ महीनासम्मका थाहा पाएको पैंतीस दिनभित्र सो हकवालाले निखनी लिन पाउँछ भनी उल्लेख भएको देखिनाले हकवालाले निखनी लिन निखनी चाहेमा लिन पाउने व्यवस्था गरेकोबाट निखनी लिन पाउने हकअधिकारको सिर्जना प्रस्तुत ११ नं. ले गरेकोमा कुनै विवादको गुन्जायश सम्म रहन दिएको देखिन्न ।
२७. निखनी लिन चाहनेले निखनी लिनलाई के गर्नुपर्छ सो सम्बन्धमा विचार गर्दा उक्त लेनदेन व्यवहारको १६नं. व्यवस्था गरेको देखिन्छ । सो लेनदेन व्यवहारको १६नं. मा थैली तिरी निखनी लिन पाउने गैर कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नु पर्छ थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख नमिलेकोमा सो प्रतिउत्तर परेको पैंतीस दिनभित्र र मुख नमिलेको मा बुझाउन पाउने ठहरी फैसला भई पुनरावेदनको तहसम्मबाट फैसला भएपछि वा ऐनले पुनरावेदन नलाग्ने अवस्था पुगेको पैंतीस दिनभित्र र मुख नमिलेकोमा बुझाउन नपाउने ठहरी फैसला भई पुनरावेदनको तह सम्मबाट फैसला भएपछि वा ऐनले पुनरावेदन नलाग्ने अवस्था पुगेको पैंतीस दिनभित्र सो तिर्न पर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्छ भनी व्यवस्था गरेको देखिन्छ । सो १६नं. मा थैली तिरी निखनी लिन पाउने गैर कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नु पर्छ भनी व्यवस्था गरेकोमा थाहा भएको थैलीको के अर्थ हो प्रस्तुत मुद्दामा मुख्य विचार विन्दु देखिन्छ थाहा भएको थैलीबाट के दुई पक्षको बीचमा कागजमा लेखिएको थैलीलाई जनाउँछ वा कागजमा जतिसुकै थैली लेखिएको भए पनि वास्तविक व्यवहारको थैलीलाई जनाउँदछ त्यसतर्फ विचार गर्दा सो ऐनमा थाहा पाएको थैलीबाट नै प्रष्ट तथा यो जनाउँछ कि जतिसुकै थैली कागजमा किन नलेखिएको होस वास्तवमा व्यवहार भएको अर्थात लेनदेन भएको वास्तविक थैलीमा जनाउँछ ।
२८. अब कागजमा एक किसिमको थैली र वास्तविक व्यवहार भएको अर्को किसिमको थैली देखियो भने निखनी लिन अड्डामा आउँदा के गर्ने ? के निखनी लिन चाहनेले निखनी लिन अड्डामा जाँदा थाहा पाएको अर्थात कागजमा लेखिएको वास्तविक काल्पनिक थैली धरौट राख्नु पर्छ कि ? सो सम्बन्धमा विचार गर्दा माथि उल्लेख गरे बमोजिम कागजमा लेखिएको थैली एक किसिमको र व्यवहार भएको थैली अर्को किसिमको हुनसक्ने कुरा माथि व्यक्त भएकोबाट प्रस्तुत कुनै मुद्दामा पक्ष विपक्षको बीच थैलीमा प्रारम्भ देखि नै विवाद हुने कुरा निर्विवाद रूपमा देखिन्छ । शुरू देखि थैली विवादास्पद भए पनि अड्डामा निखनी लिन आउँदा धरौट राख्नु पर्छ कि पर्दैन सो सम्बन्धमा विचार गर्दा सो लेनदेन व्यवहारको १६नं. मा एकपटक पुनः दृष्टिपात गर्नु आवश्यक हुन आउँछ सो लेनदेन व्यवहारको १६ नं. मा....मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई पुनरावेदनको तहसम्मबाट फैसला भएपछि वा ऐनले पुनरावेदन नलाग्ने अवस्था पुगेको पैंतीस दिनभित्र सो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्छ भनी उल्लेख भएकोमा दुई वाक्यांश बुझाउन पाउने ठहरी र तिर्नु पर्ने थैली अत्यन्त सार गर्भित छ । यो वाक्यांशहरूको के तात्पर्य हो त्यस सम्बन्धमा विचार गर्नु भन्दा अघि एकपटक पुनः निखनी लिन पाउने कानूनी व्यवस्थाको सम्बन्धमा विचार गर्न आवश्यक हुन आउँछ । निखनी लिन पाउनेले निखनाई पाउँ भनी उजूर गरेमा निखन्न पाउने नपाउने मात्र निर्णय हुन्छ । निखन्न पाउँदा के कति थैली निखनी लिन चाहनेले तिर्नु बुझाउनु पर्छ सो सम्बन्धमा निखनाई पाउँ भन्ने मुद्दा परेकोमा होइन कि भए अर्को मुद्दाबाट मात्र तिर्नु बुझाउनु पर्ने फैसला हुन्छ । परिणाम स्वरूप बुझाउन पाउने ठहरी फैसला भई र तिर्नु पर्ने थैलीबाट तिर्नु बुझाउन पर्ने थैली यकिन भई फैसला भइसकेपछि मात्र निखनी लिन चाहनेले धरौट राख्नु पर्ने कानूनी व्यवस्था उक्त ऐनले गरेको देखिन्छ के लेनदेन व्यवहारको १६ नं. स्वयम पूर्ण ९क्भाि ऋयलतबष्लभम० हो भनी बेञ्चबाट सोधनी हुँदा निवेदकतर्फका विद्वान अधिवक्ताले स्वीकारात्मक जवाफ बेञ्चलाई दिँदा बेञ्चबाट हकदार हो होइन भनी विवाद उत्पन्न भएमा के निखनी पाउने कुरामा निर्णय हुन सक्छ भनी पुनः सोधनी हुँदा हकदार हो होइन भन्ने विवादको निरूपण भएपछि मात्र निखनी पाउने नपाउने निर्णय हुन सक्छ भनी बेञ्च समक्ष दिएको जवाफबाट पनि यो लेनदेन व्यवहारको १६नं. स्वयंमा पूर्ण नभई अन्य मुद्दा परेकोमा त्यसको निर्णय भएपछि मात्र निखनी लिन पाउने कुरामा विवादको गुन्जायश भएको देखिन्न । तसर्थ मुख नमिलेकोमा तिर्न बुझाउन पर्ने ठहरी फैसला नभएसम्म धरौट राख्ने प्रश्न उपस्थित हुनसक्ने देखिन्न ।
२९. माथि उल्लेख भएको आधारमा विचार गर्दा थैली थाहा भएको वा थैली थाहा नभएको दुवै अवस्थामा मुख नमिलेको हुन सक्छ र सो मुख नमिलेको कुरामा बुझाउन पाउने ठहरी फैसला भई तिर्नु बुझाउनु पर्ने भएपछि मात्र धरौट राख्नु पर्ने कानूनी व्यवस्था भएको देखिन्छ । तसर्थ अदालतबाट तिर्नु बुझाउनु पर्ने ठहरी फैसला भएपछि थैली धरौट राख्न पर्ने हुन्छ थैली अगाडि थाहा होस अथवा प्रतिउत्तर परेपछि थाहा होस उक्त थैलीमा मुख नमिलेकोमा त्यस सम्बन्धमा मुद्दा दायर भई त्यस मुद्दाबाट थैली यकिन भएपछि धरौट राख्न पर्ने उक्त ऐनको समुच्चा बनोटबाट प्रष्ट हुन्छ । होइन लेनदेन व्यवहारको १६नं. को प्रथम वाक्यलाई दोस्रो वाक्यसँग अलग गर्ने हो भने ऐनको दोश्रो वाक्य अधुरो रहन्छ र त्यसको कुनै मतलब आउँदैन । दुवै वाक्य एक अर्कोको पुरक हो ।
३०. प्रस्तुत मुद्दामा ४११००। थैलीमा राजीनामा लिखत भए पनि वास्तविक थैली रू.२१०००। भएको भनी थैलीमा विवाद उत्पन्न गरी छुट्टै जालसाजी मुद्दा दायर गरेको देखिन्छ । यसबाट थैलीमा शुरूमा विवाद उपस्थित भएको प्रष्ट छ । यस्तोमा प्रतिवादी परी थैलीमा मुख नमिलोस वा वादी दिँदा थैलीमा मुख नमिलोस थैलीतर्फ छुट्टै जालसाजी मुद्दा परेकोमा सो जालसाजी मुद्दाको निर्णय भएपछि यकिन भएको थैली धरौट राखी वादीले निखन्न पाउने ठहराएको ०३३।७।२० को फुल बेञ्चको इन्साफ मनासिव भनी ०३८।४।१३ को फुल बेञ्चमा व्यक्त गरेको रायमा परिवर्तन गर्न पर्ने अवस्था देखिएन ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. धनेन्द्रबहादुर सिंह
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३८ साल मंसीर ५ गते रोज ६ शुभम् ।