शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४९४ - उत्प्रेषण

भाग: २३ साल: २०३८ महिना: मंसिर अंक:

निर्णय नं. १४९४   ने.का.प. २०३८           अङ्क ८

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३७ सालको रिट नं. १२६१

आदेश भएको मिति : २०३८।७।६ मा

निवेदक तर्फबाट : ल.पु.जिल्ला चापा गा.पं.वार्ड नं. ७ मुडडोल बस्ने ओमप्रसाद दुलाल

विरुद्ध

विपक्षी तर्फबाट : श्री प्र.जि.अ.जिल्ला कार्यालय ललितपुर, श्री भूमिप्रशासक भूमिप्रशासन कार्यालयको हाल भूमिसुधार कार्यालय ललितपुर, ललितपुर जिल्ला ठेचो गाउँ परिषद् वार्ड नं. १ मालीगाउँ बस्ने चक्रबहादुर ज्यापु

विषय : उत्प्रेषण

(१) रजिष्ट्रेशनको ३५ नं. को देहाय २ बमोजिम नालेस गर्नु भनी सुनाउनु पर्नेमा भू.प्र.का.ललितपुरले त्यसरी नसुनाई आफैं अधिकार ग्रहण गरी सन्धिसर्पन पर्ने ठहराई निखनाई दिने ठहराई गरेको निर्णयलाई प्र.जि.अ.ललितपुरले सदर गरेको निर्णय अधिकारक्षेत्र बाहिर भई अधिकार क्षेत्रात्मक त्रुटि देखिनाले भू.प्र.का.को र प्र.जि.अ.ललितपुरको दुवै निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

 (प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री केदारनाथ विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल

उल्लिखित मुद्दा :  

आदेश

          न्या. त्रिलोकप्रताप राणा : विपक्षी भूमिप्रशासकको ०३४।४।६ को र प्रमुख जिल्ला अधिकारीको ०३७।७।२९ को निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा रिट निवेदन पर्न आएको रहेछ ।

          २.  मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : ल.पु.जि.चापागाउँ पञ्चायत वार्ड ७ बस्ने मिश्रीदेवी र भक्तबहादुर तामाङ समेत २ जनाले निजहरूको नाउँमा जि.का.ल.पु.मा सगोल दर्ता भएको ल.पु.जि.चापागाउँ पञ्चायत वडा नं. (ख) कि.नं. २५ को क्षेत्रफल १४० मध्ये ७० कि.नं. २६ को ५० मध्ये २० र कि.नं. ३० को ६० मध्ये ३२ जग्गा उत्तर तर्फबाट विपक्षी शान्तप्रसाद न्यौपानेलाई यसै कार्यालय मार्फत मिति ०३३।२।२५।२ मा र द.नं. १९४९ बाट रू. ६५० मा र दक्षिणतर्फबाट विपक्षको ओमप्रसाद दुलाललाई र द.नं. १९५० बाट रू.६५००। मा गरी जम्मा रू.१३,०००। मा कित्ताकाट गर्ने गरी राजीनामा पास गरिएको जग्गा म चक्रबहादुरको नाममा यसै कार्यालयमा दर्ता भएको ७ (ख) कि.नं. २३ को पा.आ.२०१२२ जग्गा भएको र सो कुरा र द.नं. १९५० को राजीनामा लिखतमा दक्षिण कि.नं. २३ को जग्गा भनी स्पष्ट गरी लेख्नु भएको छ । उल्लिखित कि.नं. २५,२६ र ३० समेत ३ कित्ता जग्गाहरू एकै चकला परेको जग्गा छ सो कुरा नक्साबाट छर्लङ्ग देखिन्छ । मलाई साह्रै सन्धिसर्पन पर्ने भएकोले लेनदेन व्यवहारको ११ नं. बमोजिम ऐनका म्यादभित्र जग्गा राजीनामा गर्नेहरूका हकवालाले निखनी नलिएमा सो १२ नं. बमोजिम मैले निखनी लिन पाउने भएकोले सन्धिसर्पन निखनाई पाउँ भनी भु.प्र.का.ल.पु.मा ०३३।१०।२७ मा चक्रबहादुर ज्यापुले रू.१३,०००। धरौट राखी निवेदन दिएको रहेछ ।

          ३.  उल्लिखित कित्ता मध्ये दक्षिणतर्फका जग्गाहरू राजीनामा गरी लिएको हुँ दक्षिण देखि उत्तरतर्फको जग्गा आधा जग्गा शान्तप्रसादले लिएको सन्धिसर्पनको नाताबाट निखनी पाउँ भनी चक्रबहादुरले म शान्तप्रसाद २ जनाउपर एउटै निवेदन दिई दावी लिनु भएको अ.बं.७२ नं. ले जतिसुकै कुरा लेखी ल्याएको भए पनि एउटै उजूरी लिन नहुने, निखनाई दिन मञ्जूर छैन भन्ने समेत व्यहोराको ०३३।१२।२६को ओमप्रसादको प्रतिवादी जिकिर रहेछ ।

          ४.  उल्लिखित कि.नं. २५, २६ र ३० नं. जग्गा मैले राजीनामा गरी लिएको छ । दक्षिणतर्फको आधा जग्गा ओमप्रसादले लिएकोमा सन्धिसर्पनको नाताबाट निखनाई पाउँ भनी चक्रबहादुरले म र ओमप्रसाद दुई जनाउपर एउटा निवेदन लिई दावी लिनु भएको मेरो जग्गासँगै विपक्षको २३ नं. व्यहोराको ०३२।१२।२८ को वा केदारनाथ सञ्जेलको बयान रहेछ ।

          ५.  निखनी लिन पाउने ठहराई ०३४।४।६ मा भू.प्र.का.ल.पु.बाट भएको निर्णय पर्चा रहेछ ।

          ६.  सो निर्णय पर्चाउपर जिल्ला कार्यालय ल.पु.मा ओमप्रसाद दुलाल र शान्तप्रसाद न्यौपाने समेतको छुट्टाछुट्टै पुनरावेदन जिकिर रहेछ ।

          ७.  भू.प्र.का.ल.पु.बाट ०३४।४।६ मा भएको निर्णय पर्चा मनासिव ठहराई जि.का.ल.पु.बाट ०३७।७।२९ मा फैसला भएको रहेछ ।

          ८.  ०३३।२।२५ मा राजीनामा गरी लिएकोमा लेनदेन व्यवहारको ११ नं. अनुसार हकवालाले निखन्ने म्याद ०३३।८।२४ गते सम्म मात्र छ । विपक्ष चक्रबहादुरले आफूलाई सन्धिसर्पन पर्ने व्यक्ति भन्दै ऐ.को लेनदेन व्यवहारको १२ नं. को तथाकथित दावी लिई ०३३।१०।२७ गते धरौटी राख्नु भएको देखिन्छ भने विपक्ष चक्रबहादुरकै भनाई लेखाई अनुसार लेनदेन व्यवहारको १२ नं. को म्याद नघाई राखिएको धरौटबाट इन्साफ तहकिकात गरी निखन्न पाउने ठहर गर्नु कानूनसंगत होइन । उक्त जग्गा विपक्षलाई सन्धिसर्पन पर्ने हो वा होइन भनी रजिष्ट्रेशन गर्ने अड्डा बाहेक अन्यत्र रहे भएका नक्सा, साक्षी, सर्जमिन, सर्भे नक्साट्रेस समेत बुझी निर्णय गर्नुपर्नेमा सँधियार भएकाले निखनी लिन पाउने ठहर्छ भनी फैसला भएको छ । विपक्षी चक्रबहादुरको जग्गासँग मैले खरीद गरी लिएको जग्गा सन्धिसर्पन पर्ने गरी जोडिएको तथा सँधियार हुनुहुन्न त्यसमा पनि सँधियार हुँदैमा सन्धिसर्पन पर्छ भन्न मिल्दैन सँधियारले निखन्न पाउने कानूनी व्यवस्था छैन । साथै अ.बं.७२ नं. अनुसार छुट्टाछुट्टै दर्खास्त दिनु पर्नेमा २ विषयको लिखतमा एउटै दर्खास्त दिएकोबाट कारवाही चलिइएका निर्णयहरू प्रत्यक्ष गम्भीर कानूनी त्रुटिपूर्ण छन् भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

          ९.  रिट निवेदन खारेज हुनुपर्ने भन्ने चक्रबहादुर प्र.जि.अ.ल.पु.को बेग्लाबेग्लै लिखत जवाफ ।

          १०.  निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी विपक्षी तर्फबाट विद्वान स.वरिष्ठ अधिवक्ता श्री केदारनाथ तथा लिखितजवाफ प्रस्तुत कर्तातर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले गर्नुभएको बहस समेत सुनियो ।

          ११.  यसमा सन्धिसर्पन भएकोले निखनाई पाउँ भन्ने चक्रबहादुरको भनाई भएकोमा साथ नजोडिएको नहुनाले निखनाई दिन मञ्जूर छैन भन्ने ओमप्रसाद समेतको जिकिर भएकोमा सँधियार पनि भएको र निज वादीको सँधियारवाला होइन भन्ने जिकिर नलिएकोले भू.प्र.का.ल.पु.ले निखनी लिन पाउने ठहराएको निर्णयलाई जि.का., ल.पु.का प्र.जि.अ.ले मनासिव ठहराई ०३७।७।२९ मा निर्णय गरेको पाइन्छ । रजिष्ट्रेशनको महलको ३५ नं. को देहाय २ मा निखन्न पाउने व्यक्तिले निखन्न खोज्दा निखन्न दिनु पर्ने व्यक्तिले बाधा अडकाउ उपस्थित गरेमा निजलाई बुझाउनु पर्ने थैली निखन्न पाउने व्यक्तिले लिखत रजिष्ट्रेशन भएको वा साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौटी राखी निखन्न दिनु हुन्छ र सो बमोजिम दर्खास्त परेमा निजलाई तारेखमा राखी निखन्न दिनु पर्ने व्यक्तिलाई बाटाका म्याद बाहेक सात दिनभित्र सबूत सक्कलै लिखत लिई आउनु भनी म्याद पठाउनु पर्छ सो म्यादमा हाजिर भई निखन्न दिन मञ्जूर गरे माथि १ दफा बमोजिम थैली साहुलाई बुझाई साहुको भर्पाई गराई भर्पाई र रजिष्ट्रेशन भएको लिखत समेत आसामीलाई बुझाई दिनु पर्छ । हाजिर नभए वा म्याद नाघेपछि पर्चा खडा गरी सो निखनी पाउने अचल सम्पत्ति चलन गर्नु भनी निखन्न पाउनेलाई चलन पूर्जि दिई सो पूर्जि भएको व्यहोरा र धरौट रहेको रुपैयाँ ३ वर्षभित्र लिन नआए पछि पाउने छैन भन्ने समेत कुराको सूचना साहुलाई पठाई दिनु पर्छ । हाजिर भई निखन्न दिन मञ्जूर नगरे दर्खास्तवालाले दावी लिएको सम्पत्ति रजिष्ट्रेशन भएका लिखत वा अड्डामा रहेका श्रेस्ताबाटै निखन्न दिनुपर्नेमा निखन्न दिन इन्कार रहेको देखिन आए रजिष्ट्रेशन गर्ने अड्डाबाटै निखनाई दिने फैसला गरी पुनरावेदन गर्ने अवस्था नाघेपछि निखन्न पाउने भई चलन पूर्जि गरी दिनु पर्छ निखन्न दिनु पर्नेले निखन्न दिनु नपर्ने कारण देखाएमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए ३५ दिनभित्र नालेस गर्नु भनी सुनाई दिनु पर्छ । म्यादमा नालिश नपरे वा परे पनि निखन्न नपाउने ठहरी फैसला भएकोमा धरौट रहेको थैली कानूनबमोजिम म्यादभित्र लिन दरखास्तवालालाई दिनुभन्ने उल्लेख गरेको पाइन्छ । प्रस्तुत केशमा वादी प्रतिवादीको बीचमा सन्धिसर्पन पर्ने हो वा होइन भन्ने विवाद उठेपछि त्यस्तो कुरामा प्रमाण बुझी इन्साफ दिनु पर्ने हुन आउँछ । अतएव उक्त रजिष्ट्रेशनको ३५ नं. को देहाय २ बमोजिम नालिश गर्नु भनी सुनाउनु पर्नेमा भु.प्र.का.ललितपुरले त्यसरी नसुनाई आफैं अधिकार ग्रहण गरी सन्धिसर्पन पर्ने ठहराई निखनाई दिने ठहराई गरेको निर्णयलाई प्र.जि.अ.ललितपुरले सदर गरी निर्णय अधिकारक्षेत्र बाहिर भई अधिकार क्षेत्रात्मक त्रुटि देखिनाले उक्त भू.प्र.का.को ०३४।४।६ को र प्र.जि.अ.ललितपुरको ०३७।७।२९ को दुवै निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ अब कानूनबमोजिम गर्नु भनी भू.प्र.का.ल.पु.का नाउँमा परमादेशको आदेश सहित जारी हुने ठहर्छ । सो जानकारी महान्यायाधिवक्ताको कार्यालयमा दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०३८ साल कार्तिक ६ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु