शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४९८ - हक सफा

भाग: २३ साल: २०३८ महिना: पौस अंक:

निर्णय नं. १४९८ ने.का.प. २०३८              अङ्क ९

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् ०३८ सालको दे.पु.नं. ३१७

फैसला भएको मिति : २०३८।९।६।२ मा

पुनरावेदक : का.जि. का.न.पं. वडा नं. ७ चावहिल बस्ने भवानीप्रसाद उपाध्याय

विरुद्ध

विपक्षी     : फडिन्द्रनाथ मरी मु.स.गर्ने जि.नुवाकोट कालिका आ.गा.पं. वडा नं. ५ बस्ने बुद्धिमाया उपाध्याय

मुद्दा : हक सफा

(१)  कुरीयाले हकसफामा दावी गर्न पाउने व्यवस्था भएको मोही कुरीया यो वादी हो भन्ने कुरा देखिन नआएकोले साहु आसामीको १० नं. ले हकसफामा दावी गर्न पाउने वादीलाई हकअधिकार प्राप्त भएको नदेखिँदा निजको दावी नै लाग्न नसक्नेमा वादी दावी बमोजिम हकसफा गर्न पाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालत समेतबाट गरेको निर्णय कानून विपरीत हुँदा सो फैसला बदर हुने र वादी दावी खारेज हुने समेत ठहर्छ ।

(प्रकरण नं. ६)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैजनाथ उपाध्याय

विपक्षी तर्फबाट :

उल्लिखित मुद्दा :

फैसला

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३७।९।२।३ मा भएको फैसलाउपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार रहेछ : हकसफा मुद्दाको निर्णय पाउँ भनी ०१४।२।१८ मा नुवाकोट मालमा धरौट रहेको रू.२००१ हामी मोही भएको विपक्षीले गर्नुभएको कबुलीयत गराई पाउँ भन्ने मुद्दाबाट नक्कल पाई थाहा भएपछि हकसफा गर्ने हकदारको म्याद नाघेको ३५ दिनभित्रै बिक्री भएको उक्त थैली धरौट रहेको १०० भन्ने खेत स.तारानाथको विर्ताको हो सो जग्गा सालको धानमुरी २५ बुझाउने गरी मेरो लोग्नेलाई मोहियानी कमाउन दिएको थियो । ००८०९ सालको रसीद चोरी भएको अर्को रसीद गराई पाउँ भन्ने मुद्दामा रसीद बुझाउनु पर्ने ठहरी नु.जि.अ.बाट ०१६।१२।४ अन्तिम फैसला भएको त्यसै जग्गाको ०१० सालको बाली लुटपिट गरेको ठहरी भू.सु.विशेष अदालतबाट ०२२।४।३१ मा अन्तिम फैसला भएको छ । विर्तावार स.तारानाथले उक्त जग्गाको ८।९।१० सालको बाली भरी पाउँ भनी मेरा लोग्नेका नाउँमा दायर गर्नुभएको मु.स.गर्ने यक्षकुमारीले तारेख छाडी ०२०।८।२७।५ का फैसलाबाट उक्त जग्गाको मोही फडेन्द्रनाथ रहेभएको छँदाछँदै उक्त जग्गाको बाली विपक्ष समेतका १० जनाले बाली लुटपिट मोहियानीमा खिचोला परी जंगवीरसमेतका व्यक्तिले हामी मोही हौं भनी प्रतिवाद गरी मुद्दा चलिरहेको अवस्थामा उक्त ४ किल्लाको जग्गा रू.२००१ मा ०१३।७।२० मा विपक्षी भवानीप्रसादले राजीनामा गरी लिएको विपक्षीले पनि मोही मेरो पतिलाई कबुलीयत गराई पाउँ भन्ने मुद्दामा धानमुरी २५ बुझाउनु पर्ने ठहरी विपक्षले पुनरावेदन गर्नुभएको छ उक्त जग्गाको मोही नाताले निखनाई पाउँ भनी मेरा पतिले धरौट राखिसकेपछि स्वर्गे भई मैले सकार गरेकी छु । उक्त रू.२००१ विपक्षीलाई बुझ्न लगाई जग्गाधनी कायम गराई पाउँ भन्ने समेत व्यहोराको वादी वा.शेषराज उपाध्यायको बा.अं.अ.मा भएको बयान ।

          २.   मैले यक्षकुमारीसँग पास गरी लिएको जग्गा फडिन्द्रनाथ हो, निखन्न पाउँ भनी नुवाकोट मालमा थैली धरौट राखी १०० भन्ने विर्ता जग्गा निजलाई निखन्न दिन इन्कार गरी नुवाकोट मालमा बयान समेत गरिसकेको छु । मैले खरीद गरेका अवस्थामा अन्य व्यक्तिहरूले जोती आएको, मैले लिएको अवस्थामा निजहरू मोही कायम भएकोले वादीले मोही हुन् भनी जिकिर लिएकोमा भूमिसम्बन्धी ऐन, २०२१ अनुसार जोताहा अस्थायी निस्सा लिन नसक्नु भएको र मेरा मोही हस्तबहादुर समेतका ३ जनाले प्राप्त गरेका छन् । साहुअसामीका १० नं. मा हकदारले ननिखनेमा मोही कुरीयाले निखन्न पाउने भन्ने उल्लेख भएको वादीले मोही कुरीया हुन् भनी लेख्न नसकेकोले निखन्न इन्कार गर्दछु भन्ने समेत व्यहोराको ०३४।१२।३ को प्रतिवादी भवानीप्रसादको बयान ।

          ३.   प्रतिवादीले फार्छेमा लिएको रकम वादीबाट मालमा अन्य हकदारले निखनी नलिएबाट म्यादभित्र धरौट दाखिल भएको हुँदा वादी दावा बमोजिम हकसफा गरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०३५।१।८ को बा.अं.अ.को फैसला ।

          ४.   उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी भवानीप्रसादको पुनरावेदन परेकोमा यसै मुद्दाका वादी प्रतिवादी समेत दश (१०) जवान भएको बाली लुटपिट तथा मोहियानी कायम मुद्दामा वादी मोही हुने ठहरी ०२२।४।३१ मा भू.सु.विशेष अदालतबाट फैसला अन्तिम भइरहेको प्रमाण मिसिलबाट देखिन आएकोले झगडीयाले अड्डामा प्रवेश गर्दाको अवस्थामा विद्यमान रहेको कानूनको परिप्रेक्ष्यमा निर्णय गर्नुपर्ने हुँदा निखनाई पाउने ठहराई गरेको बा.अं.अ.को इन्साफ मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत ०३७।९।२ को म.क्षे.अ.को फैसला ।

          ५.   म.क्षे.अ.को उक्त फैसलाउपर प्रतिवादी भवानीप्रसादको यसअदालतमा पुनरावेदन ।

          ६.   नियमबमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता वैजनाथ उपाध्याय समेतको बहस सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन निर्णय दिनु परेको छ । यस्मा विपक्षी भवानीप्रसादले राजीनामा गरी लिएको १०० भन्ने विर्ता जग्गा सालको धान मुरी २५ बुझाउने गरी मेरो लोग्नेलाई मोहियामा कमाउन दिएकोले तत्कालिन ऐन साहुअसामीको १० नं. बमोजिम हकसफा गर्न हकदारको म्याद नाघेका ३५ दिनभित्र बिक्री गरेको थैली धरौट राखेको छु हकसफा पाउँ भन्ने वादी र वादी दावी बमोजिम निखन्न पाउने बा.अं.को फैसला सदर गर्दै म.क्षे.अ.बाट निर्णय भएको रहेछ । तत्काल प्रचलित मुलुक ऐन साहुअसामीको १० नं. बमोजिम वादीले हकसफा गर्न पाउने हो होइन भनी हेरेमा उक्त साहु आसामीको १० नं. मा विर्ता जग्गा जमीन घरबारी खेत कमाउने मोही कुरीयाले र रैकर जग्गा जमीन खेत मगनीमा कमाई घर धुरी खडा गरी खाई आएको त्यस्तो जग्गा जमीन घरहरू जग्गाका धनीले अरूलाई फार्छे राजीनामा गरी दिएकोमा यसै महलको ९ नं. को ऐनबमोजिम हकवालाले निखनी लिने म्यादभित्र हकवालाले निखनी नलिएमा सो म्याद बाहेक ३५ दिनभित्रमा विर्ताका मोही कुरीयाहरूले र रैकरमा मगनीवालाहरूले हामी मोही कुरीया मगनीवाला सबै भई देशीको थैली तिरी हामी लिन्छौं भनी सो म्याद भित्रै थैली लिई गई साक्षी राखी भनेको रहेछ भने र हकवालाको म्यादसमेत नाघी सकेको र निखनी नलिएको रहेछ भने सो मोही कुरीया मगनीवालाहरू सबैले लिन पाउँछ भन्ने व्यवस्था गरेको पाइन्छ । यस सन्दर्भमा विचार गर्दा वादीले आधार लिएको तत्कालिन साहू आसामीको १० नम्बरमा उल्लेख भए बमोजिम मोही कुरीया हो होइन भन्ने कुरा विचारणीय हुन आएको छ । प्रतिवादीको तर्फबाट मोही र मोही कुरीया भनेको एकै हो भन्ने तर्क प्रस्तुत गरिएको रहेछ सो सम्बन्धमा के कसो हो भनी विचार गरी हेरिएमा साविक मुलुकी ऐनको जग्गा पजनीको महलको २० नं. को देहाय ५क.को देहाय ६ मा घरबारी गर्नु पर्ने भई मोही कुरीयाले कमाएको जग्गा भन्ने र देहाय ८ मा जग्गाभित्र मोही कुरीयाको कच्ची घर रहेछ भनेभन्ने र सोही देहायमा अघिको बमोजिम घर बनाई दिएपछि मोही कुरीयाले पनि सक्दिन भन्न पाउँदैनभन्ने समेत उल्लेख भएबाट जग्गामा घरबारी गरी बसेको मोहीलाई मोही कुरीयाभन्न सकिने अवस्था दर्शिएको स्पष्ट देखिन्छ र साविक साहु आसामीको १ नं. ले मोही कुरीयाले हक सफामा दावी गर्न पाउने व्यवस्था भएको तर सो बमोजिमको मोही कुरीया यो वादी हो भन्ने कुरा देखिन नआएकोले उक्त साहु आसामीको १० नं. ले हक सफामा दावी गर्न पाउने वादीलाई हक अधिकार प्राप्त भएको नदेखिँदा निजको दावी नै लाग्न नसक्नेमा वादी दावी बमोजिम हकसफा गर्न पाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतसमेतबाट गरेको निर्णय कानून विपरीत हुँदा सो फैसला बदर हुने र वादी दावी खारेज हुने समेत ठहर्छ । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले देहायको कलममा देहायबमोजिम गर्नु भनी का.जि.अ.त.मा लगत दिने

वादी फडिन्द्रनाथको मु.स.गर्ने बुद्धिमाया सेढाई के बा.अं.अ.को ०३५।१।८ को फैसलाले भराई दिने गरेको कोर्टफी रू.१००।५ पैसा हाल भरी नपाउने हुँदा व्यहोरा जनाई सो लगत काटिदिने ....................१

ऐ.ऐ.के नुवाकोट मालमा रहेको धरौटी रू.२००१ प्र.भवानीप्रसादलाई दिई हकसफा गरी दिनु भनी नुवाकोट मालमा लेखी पठाउने गरेकोमा हाल सो बमोजिम गर्न परेन व्यहोरा जनाई लगत काटिदिने.................२

प्रतिवादी भवानीप्रसाद उपाध्याय के निजले बा.अं.अ.को उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१५।०१ पैसा र स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१५।०१ पैसासमेत जम्मा कोर्टफी रू.३०।०२ पैसा वादीबाट प्र.ले भरि पाउने हुँदा भरी पाउँ भनी वादीको जायजात देखाई कोर्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद ३ वर्षभित्र दरखास्त परे दस्तुर केही नलिई वादी बुद्धिमाया सेढाईबाट प्र.भवानीप्रसाद उपाध्यायलाई भराई दिने ................ ३

प्र.भवानीप्रसाद उपाध्याय के बा.अं.अ.को ०३५।१।८ को फैसलाले वादीलाई भराई दिने गरेको कोर्टफी रू.१००।०५ पैसा ०३५।३।१८ मा धरौट दाखिल गरेको रुपैयाँ निजले फिर्ता पाउने हुँदा निज प्र.ले फिर्ता लिन आए कानूनको रीत पुर्‍याई फिर्ता दिने ...............४

वादी बुद्धिमाया सेढाई निजले नुवाकोट मालमा मिति ०१४।२,१८ मा धरौट राखेको धरौटी रू.२००१ फिर्ता लिन आए कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी भू.प्र.का.नुवाकोटमा लेखी पठाउने .....................५

वादी बुद्धीमाया के मुद्दा खारेज भएको हुँदा वादीबाट रहेको कोर्टफी जफत हुने हुनाले अरू केही गर्नु परेन ..................६

 

म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर खत्री

 

इति सम्वत् २०३८ साल पौष ६ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु