शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५०२ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: पौस अंक:

निर्णय नं. १५०२     ने.का.प. २०३८                        अङ्क ९

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३७ सालको रिट नं. १२२०

आदेश भएको मिति : २०३८।९।३ मा

निवेदक      : जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको भोला थापा

विरुद्ध

विपक्षी : श्री ललितपुर जिल्ला अदालत मंगलबजार

विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१)   रेखा तथा लेखा विशेषज्ञको राय प्रतिवेदन अनुसार निवेदक भोला थापा भन्ने व्यक्ति र गल्ला मुद्दाको अभियुक्त भोला थापा भन्ने व्यक्ति भिन्ना भिन्नै हुन् भन्ने देखिन्छ । यस्तो स्थितिमा निवेदक भोला थापालाई विवादको गल्ला मुद्दाको अभियुक्त भोला थापा हो भनी थुनामा राख्न मिल्ने देखिँदैन । तसर्थ बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निज निवेदक भोला थापालाई गल्ला मुद्दाको लगतबमोजिम थुनामा राखेको नमिल्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अ.श्री प्रभुनारायाण चौधरी र विद्वान वै.अ.श्री गोपिकृष्ण रिजाल

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा

आदेश

            न्या. बासुदेव शर्मा : विपक्षी ललितपुर जिल्ला अदालतले मिति ०३७।३।२७।५ देखि गैरकानूनी ढंगबाट जिल्ला कार्यालय कारगार शाखा बागमती अञ्चल काठमाडौंमा थुनामा राखेको हुँदा संविधानको धारा ७१।१६ अन्तर्गत निवेदन चढाउन आएको छु । बन्दीप्रत्यक्षीकरणको आदेश वा जो चाहिने आज्ञा, आदेश जारी गरी गैरकानूनी कैदबाट अविलम्ब मुक्त गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३७।८।८।२ मा प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ ।

            २.    रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको छ : मिति ०३७।३।२७ को दिन बिहान १० बजे निवेदक आफ्नो घरबाट आफूले सेवा गरेको पशु चिकित्सालयको कार्यालय तर्फ जाँदैरहेको बेला तपाईंलाई बोलाएको छ भनेर विपक्षी ललितपुर जिल्ला अदालतमा लगेर २०२४।९।१०।२ को फैसलाले भोला थापालाई कैद वर्ष ७ लागेकोले थुनामा राख्नु भनी जिल्ला कार्यालय कारगार शाखा काठमाडौंलाई लेखी त्यसको बोधार्थ निवेदकलाई दिएको र थुनामा राख्न पुर्‍याउनासाथ विपक्षीले पुनः सोही किसिमको कारागार शाखालाई लेखेको पत्रको बोधार्थ मलाई दिएको थियो, त्यसको प्रतिलिपि संलग्न गरेको छु । गल्ला मुद्दामा कैद वर्ष ७। लागेको भनी विपक्षीले थुनामा राखी बोधार्थ दिएको छ तर गल्ला शब्दको अर्थ के हो ? कस्तो अभियोगलाई गल्ला भनिन्छ ? ऐन कानून नियममा समेत सो शब्दको परिभाषा छैन त्यस्तो शब्दको कसूर भनी कैद वर्ष ७ लागेको भनी थुनामा राख्नु गैरकानूनी छर्लङ्ग छ ।

            ३.    संक्षिप्त जिकिर : मलाई त्यस्तो अभियोग वा सजाय लागेको, कहाँ बस्ने, कस्को, कुन मितिको उजूरी तथा जाहेरीले कस्को इजलासबाट फैसला भएको हो जसबाट कैद वर्ष ७ लाग्यो जबकि विपक्षीले मेरो बयान वा बकपत्र आदि कुनै गराएको समेत छैन र मेरो घरदैलामा समेत कुनै सूचना म्याद तथा इतलायनामा समेत जारी गरी तामेल गराएको समेत नहुँदा म उपर त्यस्तो कुनै सजाय नलागेको प्रष्ट छ । विपक्षीले बदनीयत एवं गैरकानूनी ढंगबाट मलाई थुनामा राखेपछि पूर्ण जिज्ञासाको लागि उक्त मुद्दाको सम्पूर्ण मिसिलको प्रतिलिपि सारी पाउँ भनी दस्तुर बापत रू.२५। राखी विपक्षीसँग निवेदन गर्दा भोला थापा भएको गल्ला मुद्दाको मिसिल खोजतलास गर्दा यस अदालतमा नभएकोले फिर्ता पठाएको छ भनी जिल्ला कार्यालय कारागारा शाखा काठमाडौंलाई लेखेको पत्र ०३७।७।१९ गते सुनी पाएँ, न त मेरो बयान बकपत्र नै भएको छ, न त अदालतमा उक्त अभियोगको मरो नाउँको मिसिल नै छ, यस्तो स्थितिमा विपक्षीले भोला थापालाई गल्ला मुद्दामा कैद वर्ष (७) लागेको भनी थुनामा राख्नु विपक्षी ललितपुर जिल्ला अदालतले सरासर मउपर बदनीयत एवं गैरकानूनी गरेको पुष्टि गर्दछ गैरकानूनी कैदबाट मुक्त गरिपाउँ ।

            ४.    विपक्षीद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत सिंगल बेञ्चको मिति २०३७।८।२०।६ को आदेश ।

            ५.    देहायका प्रतिवादीहरूको वादी श्री ५ को सरकार भएको गल्ला मुद्दामा यस अदालतको ०२४।९।१०।२ को फैसलाले विदेशमा लगी मानिस बिक्री गरी हिस्सा गरी समेत खाएको ठहरेकाले जिउ मास्ने बेच्नेको २ नं. ले देहायबमोजिम जरिवाना समेत हुन्छ असूल गर्न ल.पु.जि.इमाडोल बस्ने भोला थापा के बेरुजु हुँदा रू.१००। जरिवाना र कैद वर्ष ७ भन्ने समेत व्यहोराको ल.नं. २८।२९ फौ.ल.नं. ३ मा लगत भएको देखिएको सो बमोजिम कर्मचारी डोर खटाउँदा अभियुक्त फेला नपरेको भोला थापा भन्ने व्यक्ति यस कार्यालयमा आएको हुँदा निज भोला थापा भन्ने मानिस म हुँ भनी भन्नु भएको र निजको रिट निवेदनमा भोला थापा म होइन अर्कै छ भनी भन्न समेत सक्नुभएको छैन मलाई केही वर्ष अघि गल्ला मुद्दा लागेको थियो भनी भन्नु समेत भएको हुँदा २०३७।३।२७ का दिन थुनुवापूर्जि दिँदा आफ्ना हस्ताले बुझी लिनु भएको हो बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी ललितपुर जिल्ला अदालत ।

            ६.    आजको पेशी कजलिष्टमा चढाई पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक थुनुवा भोला थापा तर्फका विद्वान अधिवक्ता श्री प्रभुनारयाण चौधरी र मिति ०३८।५।२२ को डिभिजन बेञ्चका आदेशानुसार निवेदकका हकमा बहस निमित्त खटिनु भएका विद्वान वैतिनिक अधिवक्ता श्री गोपिकृष्ण रिजालको र विपक्षी ललितपुर जिल्ला अदालत तर्फबाट बहस पैरवी निमित्त खटिनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झाको बहसहरू सुनियो ।

            ७.    प्रस्तुत मुद्दामा थुनुवा निवेदक भोला थापाको रिट निवेदन मागबमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।

            ८.    यसमा मिति २०३८।६।४।१ को डिभिजन बेञ्चको आदेश बमोजिम ललितपुर जिल्ला अदालतबाट प्राप्त भइरहेको विवादास्पद वादी श्री ५ को सरकार प्रतिवादी भोला थापा क्षेत्री समेत भएको विपक्षी ललितपुर जिल्ला अदालतबाट मिति ०३४।९।१०।२ मा फैसला भएको गल्ला मुद्दाको मिसिल संलग्न भोला थापा भन्ने व्यक्तिको सहिछाप भएको बयान कागज र प्रस्तुत रिट निवेदन र सो साथ दाखिल भएको कागजहरूको हस्ता सहिछापहरू मिलाउन विशेषज्ञद्वारा जाँच गराउँदा उपरोक्त गल्ला मुद्दामा मिति ०१९।२।२३ मा भएको भोला थापा भन्ने ततिम्बा सहितको बयान कागजमा लेखिएको भोला थापाको दस्तखत सहिहरू जाँच गरी हेर्दा लिपीका गुँणहरू फरक, लेखकको लेख्ने तरीका फरक, लेखकको दस्तखत गर्ने तरीका र आदत फरक, उक्त दस्तखत सहिहरूको मौलिक विशेषताहरू फरक, उपरोक्त बुँदाहरूको आधारमा जाँच गरी हेर्दा विभिन्न कागजातहरूमा लेखिएका भोला थापाको दस्तखत सहिहरूको तुलनामा ततिम्बा सहितको कागजमा लेखिएको भोला थापाको दस्तखत सहिहरू फरक अर्थात नमिल्ने भनी मिति २०३८।८।१२ मा विशेषज्ञद्वारा राय प्रतिवेदन पेश भएको देखिन्छ । सो रेखा तथा लेखा विशेषज्ञको मिति २०३८।८।१२ को राय प्रतिवेदन अनुसार निवेदक भोला थापा भन्ने व्यक्ति र उक्त गल्ला मुद्दाको अभियुक्त भोला थापा भन्ने व्यक्ति भिन्नाभिन्नै हुन् भन्ने देखिन्छ, यस्तो स्थितिमा निवेदक भोला थापालाई विवादको गल्ला मुद्दाको अभियुक्त भोला थापा हो भनी थुनामा राख्न मिल्ने देखिँदैन । तसर्थ बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निज निवेदक भोला थापालाई विपक्ष ललितपुर जिल्ला अदालतबाट उक्त गल्ला मुद्दाको लगतबमोजिम थुनामा राखेको निमिलेकोले सो गल्ला मुद्दामा राखेको थुनाबाट मुक्त गरी दिने ठहर्छ निज थुनुवा भोला थापालाई अन्य मुद्दाको थुनामा राख्न नपर्ने भए यस मुद्दाको थुनुवाबाट तुरुन्त छाडी दिनु भनी छिटो साधानद्वारा थुनुवा रहेको कारागार कार्यालयलाई सूचना गर्न छुट्टै आदेश दिई जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी ललितपुर जिल्ला अदालतमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी मिसिलहरू बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०३८ साल पौष ३ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु