निर्णय नं. १५०७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १५०७ ने.का.प. २०३८ अङ्क १०
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको रिट नं. १०८१
आदेश भएको मिति : २०३८।१०।११
निवेदक : ललितपुर नगरपञ्चायत वडा नं. १२ इखालखु बस्ने देवराज सिल्पकार
विरुद्ध
विपक्षी : ललितपुर नगरपञ्चायतका का.वा.प्रधानपञ्च कृष्णमान मानन्धरसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) पक्षहरूका बीच हक बेहक सम्बन्धी प्रश्न उठेमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो नसुनाई गरेको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा ४६ तथा दफा ४९(२) को त्रुटि देखिने ।
(प्रकरण नं. ११)
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा वा पूर्जि जारी गरी विपक्षीको मिति २०३८।३।९ को निर्णय बदर गरिपाउँ भनी मिति २०३८।४।१२।२ मा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर निम्नप्रकार छन् :
२. हामीले २०१७।५।१८ गते पास गरी लिएको घरमा कौसीमा २०३६ सालको दशंैको विदाको दिन पारी मेरो कौसीमा पानी तर्काउने डुँढ र बलेनी जडान गरी कौसीमा आतेजाते हुने गरी खुला चौकोश समेत राखी बनाएकोले सजाय गरी सो बन्द गरिपाउँ भन्ने विपक्षी लक्ष्मीकुमारी समेतको विपक्षी नगर पञ्चायतमा उजूरी रहेछ ।
३. बकसपत्र पाएको र बन्धकी लिएको घरले चर्चेको लगापात समेत सुकु लोहकर्मी परलोक भई अपुताली पाउने पिताजी बिष्णुराजको हक भई वहाँ परलोक भई मेरो हक हुन आएको मेरो पूर्खादेखि भोगचलन गरी आएको सनातनीदेखि पानी गिराई आएको डुँढ पुरानो भई पाइप झिकी नयाँ पाइप राखेको चौकोस मर्मत गरेको भन्ने रिट निवेदकको प्रतिवाद रहेछ ।
४. प्रतिवादीको घरबाट निकालिएको चारतल्लाबाट डुँढ भनी उल्लेख भएको हुँदा सो तर्काउने डुँढबाट वादीको कौसीमा फोहर मैला हुनजाने भएकोले सो तर्काउने डुँढ झिकी दिने ठहर्छ भन्ने ललितपुर नगरपञ्चायत मुद्दा समितिको पर्चा रहेछ ।
५. उक्त पर्चामा वादी लक्ष्मीकुमारी समेतको पुनरावेदन परी पुनरावेदक लक्ष्मीकुमारी र विष्णुकुमारीको कौसीमा निस्कने हुने गरी राखेको कौसीसँगको ढोका बन्द गरी बलेनो समेत झिकी दिने ठहर्छ भनी विपक्षी ललितपुर नगरपञ्चायतको बैठकबाट मिति ०३०।३।९ मा फैसला भएको रहेछ ।
६. जिकिर : लक्ष्मीकुमारी, विष्णुकुमारी समेतको मेरो घरको कौसीको पानी गिर्ने बलेनी सनातन देखि रहेको चौकोस झ्याल समेतमा हक नपुग्ने मेरो भाग हकभोगको सम्पत्ति घर जग्गामा पानी गिर्ने डुँढ चौकोस झ्याल आफ्नो जग्गामा रहेको सो जग्गासमेतमा अ.बं.८२ नं. ले मेरो हक पुगेको छँदा–छँदै ललितपुर नगरपञ्चायत बैठकले निर्णय गरेको छ । विपक्षी ललितपुर नगरपञ्चायतको अधिकार भित्रमा फैसला गर्न पाउने नरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) मा हकबेहक छुट्याउने कार्य अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र कारवाई गर्ने पर्चा नगरी निर्णय गरेको सो निर्णय कानूनले निषेध गरेको छ । कानूनबमोजिम हेर्न हुने मुद्दा बाहेक अरू हेर्न हुँदैन भने मुद्दा हेरी छिनेको भए पनि बदर हुन्छ भन्ने अ.बं.३५ नं. मा प्रष्ट छ । त्यसरी अपुताली र बकसपत्र पाएको मेरो घरमा भोग गर्न पाउने कानूनी अधिकारमा गैरकानूनी तरीकाबाट विपक्षीले निर्णय गर्दा रिट निवेदकको संवैधानिक हकमा हनन भएकोले संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा वा पूर्जि जारी गरी विपक्षीले गर्नुभएको ०३८।३।९ को फैसला बदर गरिपाउँ भन्ने रिट निवेदकको जिकिर रहेछ ।
७. विपक्षीहरू बाट लिखितजवाफ झिकाई नियमबमोजिम पेश गर्नु भन्ने मिति ०३८।४।१८ गतेको यस अदालत सिंगल बेञ्चको आदेश रहेछ ।
८. हक बेहक सम्बन्धी कारवाई गर्ने अधिकार अदालतको हो नगरपञ्चायत ऐनको दफा ४९(२) बमोजिम पर्चा गरी निर्णय गरेको कानून विरुद्ध छ भन्ने निवेदन जिकिर नै कानून विरुद्ध ललितपुर नगरपञ्चायतबाट अदालतको अधिकारक्षेत्र भित्रको काममा कुनै हस्तक्षेप गरेको छैन । उक्त ऐनको दफा ४६ बमोजिम नक्साको लागि दरखास्त दिन पर्ने नदिएको प्रष्ट छ । ऐनको दफा ५३(१) अनुसार नक्सा पास गराएकोमा समेत नगरपञ्चायतबाट जाँच गर्न सक्ने व्यवस्था भएको र ऐ.को (२) अनुसार नक्सा पास नगरी बनाएमा वा पास भएको नक्सा अदलबदल गरी बनाएको ठहरेमा समेत बनाएको जति भत्काउन आदेश दिन सक्ने हुँदा तदनुसार निर्णय गरेको कुनै त्रुटि भएको छैन । नगरपञ्चायतले भत्काउने आदेश दिएकोमा नगरपञ्चायत ऐनको दफा ५३(३) बमोजिम अञ्चल अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था छ कानूनद्वारा पुनरावेदन गर्न पाउने व्यवस्था भएकोमा उक्त कानूनबमोजिम नगरी सम्मानीत अदालतको असाधारण अधिकारमा प्रवेश गर्नुभएको समेतले रिट निवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत विपक्षी लक्ष्मीकुमारी र विष्णुकुमारीको संयुक्त लिखितजवाफ ।
९. विपक्षीले आफ्नो घरको ४ तला माथिबाट लक्ष्मीकुमारी समेतको घर छाना र कौसी माथि फोहोर पानी गिर्ने गरी तर्कने डुँढ राखेको साविक देखि भएको भन्न मिल्दैन । निवेदकले आफ्नो साविक घरमा पछि मात्र तल्ला थपी बनाउनु भएको छ । तसर्थ मुलुकी ऐन घर बनाउनेको ३ नं. लाई अगाल्न सकिन्न । त्यसरी साविक घरमा तल्ला थपी बनाई चार तलामा खुला तर्कने डुँढ राखी आफ्नो घरसँग मुनि परेको घरको छाना र कौसीमा फोहोर मैला पानी गिराउने गरी राखेको डुँढबाट विपक्षीको अरूलाई मर्का पिर पार्ने र फोहोर दुर्गन्ध गराउने पूर्वाग्रह भएको स्पष्छ छ । यस प्रकारको फोहोर दुर्गन्धबाट आमजनतालाई रिहायत दिन नगरपञ्चायत ऐन, २०१९ को दफा १७(१) खण्ड (क)(ख) र (ङ) ले अधिकार प्रदान गरेको छ । यसरी कानूनद्वारा निर्दिष्ट कर्तव्य पुरा गर्न कानूनद्वारा प्रदत्त अधिकार प्रयोग गरी भएको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गर्न मिल्दैन । विपक्षीको निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी ललितपुर नगरपञ्चायतका कार्यवाहक प्रधानपञ्च कृष्णमान मानन्धरको लिखितजवाफ रहेछ ।
१०. निवेदकका वारेस हेरामणी बज्राचार्य र विपक्षी लक्ष्मीकुमारी समेतका वारेस सुन्दरराज सिलाकार तथा विपक्षी ललितपुर नगरपञ्चायतका का.वा.प्रधानपञ्च कृष्णमान मानन्धरको वारेस जगतगोविन्द समेतलाई रोहवरमा राखी प्रस्तुत रिट निवेदनपत्रमा विचार गर्दा रिट निवेदकका मागबमोजिमको आदेश जारी हुने हो होइन भनी निर्णय दिनु परेको छ ।
११. यसमा डुँढ झिकी दिने र ढोका बन्द गर्ने गरी ललितपुर नगरपञ्चायतले २०३८ साल आषाढ ९ गते निर्णय गरेको पाइन्छ । पक्षहरूका बीच हक बेहक सम्बन्धी प्रश्न उठेमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो नसुनाई गरेको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा ४६ तथा दफा ४९(२) को त्रुटि देखिनाले ०३८।३।९ गतेको ललितपुर नगरपञ्चायतको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिनेठहर्छ नियमबमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०३८ साल माघ ११ गते रोज १ शुभम् ।