शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५०९ - उत्प्रेषण

भाग: २३ साल: २०३८ महिना: माघ अंक: १०

निर्णय नं. १५०९     ने.का.प. २०३८                        अङ्क १०

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३८ सालको रि.नं. १०४५

आदेश भएको मिति : ०३८।१०।१५ मा

निवेदक      : का.जि. का.न. पं.वार्ड नं. १३ टंकेश्वर ताहाचल बस्ने जोगमानन्द बज्राचार्य

विरुद्ध

विपक्षी : काठमाडौं नगरपञ्चायत बैठक काठमाडौं नगरपञ्चायतसमेत

विषय : उत्प्रेषण

(१)   परस्परमा निर्णय फरक पर्न गई तेरो मेरोको प्रश्न समावेश हुन आएको विवादमा निर्णय गर्ने अधिकार नगरपञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको देखिँदैन । त्यस प्रकारको विवादको प्रश्न समावेश भएमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरू लाई सो कुराको सूचना दिनु पर्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान व.अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

आदेश

            न्या. हेरम्बराज : नेपालको संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ ।

            २.    संक्षिप्त तथ्य : पूर्व म समेतको साझा चोक पश्चिम म समेतको साझा चोक उत्तर आफ्नै किलास सो देखि उत्तर सोही ठाउँ बस्ने देवहर्ष बज्राचार्य र शंखधर तुलाधरको घर दक्षिण आफ्नै किलास सो देखि दक्षिण ऐ.बस्ने ज्ञानरत्न चुलाधर धर्मविर सिं तुलाधर पूर्णविर सिंह तुलाधरको घर यती ४ किल्ला भित्रको का.जि.का.न.पं.वडा नं. ३० अन्तर्गत का.जि.असन बालकुमारीको कि.नं. १२४८, १२४९ मा बनिराखेको घर जमीन सम्म भत्काई साईड प्लानमा देखाएको ठाउँमा नक्सा बमोजिमको घर बनाउन पाउँ भन्ने मेरो नक्सा दरखास्त । उक्त नक्सा दरखास्त उपर विरोध गरी उजूर गर्नेहरू मध्ये देवहर्ष बज्राचार्य, ज्ञानरत्न तुलाधर, धर्मविर सिंह तुलाधर, पूर्णमान सिंह तुलाधरसँग मिति ०३७।६।१९ मा काठमाडौं नगरपञ्चायत मुद्दा फाँटमा मिलापत्र भएको र विपक्ष संखधर तुलाधरले कि.नं. १२४६ को घरमा आउने जाने बाटो रहेको हिँडी आएको बाटोमा चर्पी राख्न दिन मञ्जूर छैन । साझा चोक मिच्ने गरी घर बनाउन दिन मञ्जूर छैन कि.नं. १२४९ को कित्ताको छिँडीमा हरेक वर्ष बाडेजात्रामा २ दिन पञ्चदान र पूजा गराइने ठाउँ हो भन्ने समेत व्यहोराको उजूरी । यसै साथ संलग्न काठमाडौं नगरपञ्चायत बैठकबाट भएको निर्णयमा यिनै वादी प्रतिवादी मध्येको देवहर्ष बज्राचार्य, ज्ञानरत्न तुलाधर, धर्मविर सिंह तुलाधर, पूर्णमान सिंह तुलाधर समेतको मिति ०३७।६।१९ मा का.न.प.मुद्दा फाँटमा मिलापत्र भइसकेको र छिँडी तलामा हरेक वर्ष वाडाजात्रामा २ दिन मात्र पञ्चदान पुजा गर्न छाडनु पर्ने कुरा जनाई नक्सा पास गरी दिने भनी ०३८।२।२८ मा काठमाडौं नगरपञ्चायत बैठकबाट ठहर फैसला भएको रहेछ ।

            ३.    जिकिर : विपक्षी नगरपञ्चायतमा मैले कि.न.१२४८ र १२४९ को फिल्डबुकको नक्कल समेत पेश गरेछु । जसबाट कि.नं. १२३७ मा २ दिने बाडेजात्रामा दान गर्ने ठाउँ कायम भएको ३ नं. नापी गोश्वाराको मिति ०३७।४।३० को निर्णयले भन्ने समेत कैफीयतमा जनिएको छ । मैले नक्सा पासलाई दरखास्त गरेको कि.नं. १२४८ र १२४९ को घर जगै सम्म भत्काई बनाउनलाई हो । फैसला गर्ने निकायले सबूत प्रमाणको छानबिन गरी निष्कर्षमा पुग्नु पर्नेमा त्यसको प्रतिकूल हुन गएको छ । अर्को तर्फ ३ नं. नापी गोश्वारको ०३७।४।३० को निर्णयबाट २ दिन बाडेजात्रामा दान गर्ने ठाउँ कि.नं. १२३७ भन्ने देखिएको छँदै मेरो कि.नं. १२४८, १२४९ मा बस्ने घरको छिँडी तलामा उल्लिखित व्यहोरा जनाई दिने भनिएबाट गरिएको निर्णय अनधिकृत हो भन्ने कुरा प्रष्ट रहेको छ । काठमाडौं नगरपञ्चायत बैठकले न त कसैको हक कायम गर्ने अधिकार राख्दछ न त त्यस्तो विवादको निरोपण नै गर्न सक्छ । सबूत प्रमाणको आधारमा आफूले कानूनले पाएको अधिकारको सही प्रयोग सम्म गर्न सक्ने हो जसबाट अनधिकृत रूपमा जुन व्यहोरा जनाई दिने भनिएको छ त्यो अ.बं.३५ नं. को साथै नगरपञ्चायत ऐन, ०१९ को संशोधन सहितको दफा १७ को (ढ) को समेत तिलुक रहेबाट बदरभागी छ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ ।

            ४.    विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने ०३८।४।२१ को सिंगल बेञ्चको आदेश ।

            ५.    नगरपञ्चायतको बैठकको निर्णयबाट विपक्षीको कुनै सम्पत्ति नोक्सान हक बेहक हस्तान्तरण भए गरिएको छैन । विपक्षीको घर खुल्ला छिँडी दलानमा साविक देखि चली आएको हरेक वर्ष बाडाजात्राको समय २ दिन पञ्चदान पुजा गर्ने गाढं भनी जनिएको सम्म हो यसबाट साविक चली आए अनुसार वर्षको २ दिन पञ्चदान पुजा गर्न दिनु पर्ने सम्म कुरा हो । अरू समय आफू खुसी गर्न पाइने कुरो छँदैछ शुरू नापी हुँदा र अहिले आखिरमा पनि उक्त कि.नं. १२४९ को घरमा २ दिन पञ्चदान पुजा गर्ने ठाउँ हो भनी फिल्डबुकमा जनिएको छ भनी विपक्षी झुठ्ठा कुरामा चलेको छ । तसर्थ यो असल नियत लिई नआएको झुठ्ठा निवेदन खारेज हुनु पर्दछ भन्ने काठमाडौं नगरपञ्चायतको लिखितजवाफ रहेछ ।

            ६.    विपक्षीको कुनै संवैधानिक हक हनन् भएको छैन र सफादिलले पनि यो निवेदन दिन नआएको र का.न.पं.बाट सन्धिसर्पन समेत बारे आफ्नो क्षेत्राधिकारभित्र रही निर्णय गरेको हुनाले विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बालकुमारीको लिखितजवाफ रहेछ ।

            ७.    यसमा निवेदक जोगमानन्द विपक्षी वा. श्यामकृष्ण विपक्षी न.पं.को वारिस शिवध्वज समेतलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको र विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरको बहस समेत सुनी रिट निवेदकको मागबमोजिम रिट आदेश जारी हुनुपर्ने नपर्ने के हो सो तर्फ निर्णय दिनु परेको छ ।

            ८.    यसमा रिट निवेदकले कि.नं. १२४८ र १२४९ मा घर बनाउन नक्सा पास गरिपाउँ भनी नगरपञ्चायतमा दरखास्त दिएकोमा उक्त कि.नं. १२४९ कित्ताको छिँडी हरेक वर्ष जात्रा गर्ने र पञ्चदान गर्ने ठाउँ हो भनी विपक्षीले दावी लिएपछि छिँडी तल्लामा उक्त जात्रा गर्ने पञ्चदान र पूजा गर्नलाई छाड्नु पर्ने कुरा जनाई नक्सा पास गरी दिने भनी नगरपञ्चायतको बैठकबाट मिति ०३८।२।२८ मा फैसला भएको देखियो मिसिल संलग्न फिल्डबुक उतार हेर्दा जात्रा गर्ने पञ्चदान गर्ने भएको ठाउँ उक्त कि.नं. १२४८ र १२४९ नभई १२३७ कायम भएको भनी ०३७।४।३१।६ मा लेखिएको देखिन आयो ।

            ९.    यसरी परस्परमा निर्णय फरक पर्न गई तेरो मेरोको प्रश्न समावेश हुन आएको उक्त विवादमा निर्णय गर्ने अधिकार नगरपञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको देखिँदैन । त्यस प्रकारको विवादको प्रश्न समावेश भएमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरू लाई सो कुराको सूचना दिनु पर्नेमा सो नगरी गरेको निर्णय उक्त ऐनको विपरीत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । अब कानूनबमोजिम कारवाही किनारा गर्नु भनी नगरपञ्चायतको नाममा परमादेशको आदेश जारी गरिएको छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायम म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल माघ १५ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु