शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११

निर्णय नं. १५१३     ने.का.प. २०३८                        अङ्क ११

फुल बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको रि.फु.नं. ४५

आदेश भएको मिति : २०३८।११।१ मा

निवेदक      : का.न.पं. वडा नं. ३२ डिल्लीबजार बस्ने कृष्णबहादुर थापा क्षेत्री

विरुद्ध

विपक्षी : जि.भू.सु. कार्यालय काठमाडौंसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   भू.सु.अधिकारीले तत्कालिन भूमिसम्बन्धी ऐन, २०१४ को दफा १२ को उपदफा (६) को त्रुटिपूर्ण व्याख्या गर्दै ऐ.ऐनको दफा १३ को समेत गलत प्रयोग गरी हालसम्म कायम भइरहेकोभन्ने वाक्यांश प्रयोग गर्दै जीवरत्न शाक्यलाई विवादको जग्गाको मोही कायम गर्ने गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवलाी र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल र विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी

आदेश

            न्या. बासुदेव शर्मा : प्रस्तुत रिट निवेदनपत्र डिभिजन बेञ्चको ०३६।८।४।३ को निर्णयउपर चित्त नबुझी निवेदकको श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग मार्फत बिन्तिपत्र परी व्यहोरा साँचो भए दोहोराई दिनु भन्ने बकस भै आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : मैले भोग गरी आएको पिताम्बर शमशेर ज.ब.रा.को जग्गा उत्तर मेरै घर जग्गा दक्षिण सिंहदरवारको पर्खाल पूर्व कृष्णप्रसादको जग्गा पश्चिम चटकप्रसाद उपाध्यायको यती चारकिल्ला भित्रको २०२० साल देखि जोती कमाई आएको हाल २ नं. नापी टोलीबाट नापी हुँदा कि.नं. १५० को जग्गा कायम भई नापी भएको उक्त जग्गाको साविक मोही मोतीरत्न शाक्य भिक्षुक भई निजले ०१६ साल देखि कूत बाँकी नबुझाएकोले ०३०।८।१० मा पिताम्बर शमशेरको जग्गा मलाई ०१६ सालदेखि ०२४ साल सम्मको बाली मिन्हा गरी ०२५ साल देखिको बाली मसँग सालबसाल बुझी उक्त जग्गाको बहाली पूर्जि ज.ध.का तर्फबाट कारोबार गर्ने महाराजगञ्ज गोश्वारा तहविलले मलाई दिएको अनुसार आजसम्म अटुट कमाई आएकोमा नापीमा मोही मोती शाक्य भिक्षु देखिन आई हकदार जीवरत्न शाक्य देखिन आएको छ । निजको हकबाट नामसारी गरेको प्रमाण पेश गरेको छैन त्यसकारण कि.नं. १५० मा मेरो बहाल पूर्जि बमोजिम मेरो नाउँमा जोत मोहियानी कायम गरिपाउँ भन्ने समेत कृष्णबहादुर थापाको निवेदन ।

            ३.    नापी हुँदा विवादको कित्तामा ३ नं. नापी गोश्वाराबाट जीवरत्न शाक्यको नाउँमा मोही महलमा जनिएको कराणबाट निज जीवरत्न शाक्य बुझ्नु पर्ने भई निजको नाउँमा म्याद पठाउँदा वादी कृष्णबहादुर थापाले दावी गरेको नापी हुँदा ठहर भएको का.न.पं.वडा नं. २९ कि.नं. १५० को रोपनी १११३ भएको र सो जग्गा र सो जग्गामा बनेको घर मेरो जेठाबाबु मोतीरत्न शाक्य भिक्षुले २००१ सालमा राजीनामा गराई ००४ सालमा अदालतको फैसला बमोजिम पेश भई हक भएको र निज जेठाबाबुको नाउँमा सो गोश्वारा तहविलमा मोहियानी दर्ता भएकोमा जेठाबाबु ०१५ सालमा परलोक भई हक खाने कोही नभएको घरका भतिजा भएकोले मेरो अपुताली हक भएको दावीको घर जग्गा मैले भोगचलन गरी आएको गोश्वारा तहविलले ०३०।८।१० मा मोही पजनी गरी वादीलाई दिएको कुरा कानूनसंगत नभएको र उक्त कि.नं. १५० को जग्गा मैले रैकरमा परिणत गरिपाउँ भनी निवेदन गरेको र नापीमा जोत समेत मेरै भई नापी भएको छ । तसर्थ कि.नं. १५० मा वादीको कुनै दावी नपुग्ने हुँदा झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने प्रतिवादी भएकोमा हालसम्म कायम भइरहेको सुरक्षित किसानलाई अड्डा अदालतको आदेश बेगर पजनी गरी नया मोही कायम गर्ने गरी ज.ध.तर्फबाट कारोबार गर्ने महाराजगञ्ज गोश्वारा तहविलले गरी दिएको बहाली पूर्जि रसीद समेत कानूनसंगतको भन्न मिलेन, अनाधिकार प्रकृयाको आधार लिई मोही हकमा दावा गर्न आएकोले निवेदकको दावी उजूरी अनुसार निवेदकको नाउँमा मोहियानी कायम हुने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय काठमाडौंबाट ०३५।९।१०।२ मा निर्णय भएको रहेछ ।

            ४.    उक्त जग्गामा ०१४ साल सम्म मोही मोती शाक्य छ भन्ने कुरामा विवाद छैन । मोती शाक्यले तत्काल प्रचलित ऐनबमोजिम जसरी मोहियानी हक तथा सुरक्षित किसानको हक लिएको भए तापनि अहिले त्यसतर्फ निर्णय गर्नु पर्ने थिएन, मोती शाक्य पछि कि.नं. १५० को कित्ताकाट हुँदा हुन गएको कि.नं. ७९५ को रोपनी १० मा मोहीको हुन्छ, त्यही निर्णयको बस्तु हो भूमिसम्बन्धी ऐन, २०२१ ले भूमिसम्बन्धी ऐन, २०१४ लाई खारिज गरेको छ । नाप नक्सा हुँदाको समयमा ३ नं. नापी गोश्वारा समक्ष साविक मोही मोती शाक्य देखिएको छ । प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ बमोजिम मोती शाक्यको भतिजा विपक्षी जीवरत्न शाक्य मोही हुन सक्दैन मोती शाक्यको छोरा पत्नीहरू कोही पनि छैन यसमा विवाद छैन यस्तो अवस्थामा उक्त ऐनबमोजिम मोहियानी हक स्वतः जग्गाधनीमा गई निजले पुनः अर्को मोही नियुक्त गर्न सक्ने प्रष्ट छ मोहियानी हक अपुतालीबाट मर्नेको हकदारमा स्वतः सर्ने कानूनी व्यवस्था छैन भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ र ३४ मा व्यवस्था गरिएको छ, जसले भूमि सम्बन्धी ऐन २०१४ बाट प्राप्त सुरक्षित किसानलाई अंगाल्दछ, यी कुनै अवस्थामा विपक्षी र जीवरत्न शाक्यलाई मोही कायम गर्न सहायक हुँदैन । भूमिसम्बन्धी ऐन, २०१४ बमोजिम मोती शाक्यलाई मोही पजनी गरेको पनि होइन निष्काशन पनि गरेको छैन २०२० सालमा म कृष्णबहादुरले जोती कमाई आएको हो त्यसतर्फ विपक्षीको उजूरी पनि छैन यसरी जग्गा मैले जोती आएको हुँदा २।३ पटक मोहियानी कायम गरिपाउँन निवेदन गरेपछि मात्र २०३० सालमा मलाई मोही कायम गरिएको छ तसर्थ भूमिसम्बन्धी ऐन, २०१४ बमोजिम मोती शाक्यलाई निष्काशन गरेको छैन मोती शाक्य २०१५ सालमा परलोक भएपछि निजका कोही पनि हक पाउने सन्तान नभएकोले जग्गा बाँझो रही २०२० सालमा आफ्नो परिश्रमले आवाद गरी जोती आएको र घरबार समेत बनाई आएको हुँ तसर्थ भूमिसुधार अधिकारीले भूमिसम्बन्धी ऐन, २०१४ बमोजिम निकालेको भनाई कानूनसंगत छैन र विपक्षी जीवरत्नलाई मोही भन्न सकिने कुनै पनि कानूनी व्यवस्था नहुँदा भूमिसुधार अधिकारीबाट भएको उक्त निर्णय कानूनी त्रुटि भएकोले सो निर्णय बदर गरिपाउँ भन्ने समेत निवेदकको मूख्य जिकिर रहेछ ।

            ५.    विपक्षीहरू बाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३५।१०।३।४ को आदेश का.न.पं.वडा नं. २९ कि.नं. १५० को निर्णय भएकोमा सो कि.नं. १५० हाल कायम नभई कित्ताकाट भई कि.नं. ७९५ भइसकेकोले कित्ता नम्बर सम्बन्धी प्रश्न उपस्थित गर्नुभएको छ । निवेदकले यस कार्यालयमा दिएको उजूरी निवेदन र मिति ०३५।७।१९ मा गरेको बयानमा पनि कि.नं. १५० मा मोहियानी कायम हुनुपर्ने दावी लिनु भएकोले यस कार्यालयबाट फैसला गर्दा पनि कानून अनुरूप निर्णय भएकोले यसबाट निवेदकको कुनै पनि हकमा आघात नपर्ने हुनाले निवेदकको मागबमोजिम रिट जारी हुनुपर्ने होइन खारेज गरिपाउँन सादर अनुरोध गर्दछु भन्नेसमेत भूमिसुधार कार्यालय काठमाडौंको लिखितजवाफ ।

            ६.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (१) नं. भई मोहीया हक तर्फ आएको भन्ने नै देखिएको छ निवेदकले २५ साल देखि बाली बुझाउने गरी ०३० साल मार्ग १० गते बहाली गरी दिएको भनिएको छ २०२४ साल सम्म किन माफी दिइएन । ०२५ साल देखिको बाली बुझाउने गरी ०३० सालमा किन बाली लिइयो भनी हेरिएमा ०१४ सालमा लागू भएको भूमिसम्बन्धी ऐनलाई बिर्सी एउटा बनावटी बहाना गरी घरको सिर्जना गर्न खोजेको भन्ने प्रष्ट छ । भूमिसम्बन्धी ऐन, २०१४ ले के व्यवस्था गरेर ०२१ सालको ऐनले के व्यवस्था गरेको भनी स्वाभाविक छ र उक्त ऐनले नै म मोही हो भनी प्रमाणित गरेको छ कि.नं. १५० को मोहीको निर्णय गरिएकोमा कुनै पनि कानूनको त्रुटि गरिएको छैन र अधिकार प्राप्त अधिकारीले कानूनको मूल्यांकन गरी गरेको निर्णय हुँदा प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत जीवरत्न शाक्यको लिखितजवाफ ।

            ७.    यसमा निवेदकको मागबमोजिमको आदेश जारी गर्नु पर्ने हो वा हैन त्यसको निर्णय दिनु पर्ने हुन आएको छ ।

            ८.    यसमा २ नम्बर नापी टोलीबाट नापी भएको कित्ता नम्बर १५० को जग्गामा मेरो नम्बरी जग्गा र घरको रोपनी ०३ किनेको सो बाली, घरजग्गा ०० समेत घरजग्गा रोपनी ४३ समेत नापीमै परेकोले मेरो निवेदन परी कि.नं. १५० बाट मेरा जग्गाहरू छुट्याई कि.नं. ७९६ मा रोपनी ०३ कि.नं. ७९७ मा ०० मा नाप दर्ता भएको छ अरू बाँकी कि.नं. १५० को जग्गा कित्ताकाट भई कि.नं. ७९५ मा रोपनी १० मा नापी भएको घर यसैमा झगडा परेको हो । कि.नं. १५० को कित्ताकाट हुँदा हुन गएको कि.नं. ७९५ को रोपनी १० मा मोही को हुन्छ त्यही नै निर्णयको विषयबस्तु हो । उक्त जग्गाको मोही मोती शाक्य ०१५ सालमा परलोक भएपछि निजको कोही पनि नभएकोले ०२० सालमा जोती आवाद गरी घरबार समेत गरी आएको छु । महाराजगञ्ज गोश्वारा तहविलको बहाली पूर्जि समेतबाट मेरो हक भएकोमा उक्त बहाली पूर्जिलाई कानूनी मान्यता नहुने भनी भूमिसुधार अधिकारीबाट भएको निर्णय गैरकानूनी हो उक्त उत्प्रेषणको आदेशद्वारा ०३५।९।१० को फैसला बदर गरिपाउँ भन्नेसमेत प्रस्तुत रिटको निवेदनपत्रमा जिकिर गरेको देखियो, कित्ता नम्बर १५० मा मेरो बहाली पूर्जि बमोजिम मेरो नाउँमा जोत मोहियानी कायम गरिपाउँ भन्ने कृष्णबहादुरको ३ नं. नापी गोश्वारामा उजूरी परेकोमा कि.नं. १५० को जग्गाको जोत कृष्णबहादुरको नभई मेरो हकभोगको भनी विवाद उठेको जोत तेरो मेरोमा कारवाही गर्ने ३ नम्बर नापी गोश्वाराबाट मिसिल ०३३।१२।२ मा प्राप्त हुन आएको भन्ने मुद्दाको उठान गरी बहाली पूर्जि रसीद कानूनसंगत छ भन्न नमिलेकोले यसको आधार लिई मोहियामा दावा गर्न आएकोले निवेदकको नाउँमा मोहियानी कायम नहुने ठहर्छ भनी काठमाडौं भूमिसुधार अधिकारीबाट ०३५।९।१०।२ मा निर्णय गरेको देखियो । विपक्षी जीवरत्नको आफ्नो लिखितजवाफमा जेठाबाबु मोती शाक्यले घर जग्गा कायम गरी लिएकोले अन्य व्यक्तिले दावा लिन पाउने कानूनी व्यवस्था छैन विपक्षीको कानूनी हक हनन भएको छैन भन्ने समेत जीवरत्नको लिखितजवाफ भएको देखिएको भूमिसुधार अधिकारीलाई मोही सम्बन्धी उठेको प्रश्नमा तेरो मेरोमा निर्णय गर्न काठमाडौं भूमिप्रशासन कार्यालयमा लेखी पठाएको देखिन्छ । तर कि.नं. १५० बाट कित्ताकाट गरी कृष्णबहादुरले ०३ मा बनाएको घरको कित्ता र निजले किनेको स्वबासी घरको क्षेत्रफल ०० समेत दुवै कित्ताको क्षेत्रफल ०३ कृष्णबहादुरका नाउँ श्रेस्ताबाट छुट्याई दर्ता गरी दिने भनी ३ नं. नापी गोश्वाराबाट निर्णय भएको देखिन्छ । निवेदक कृष्णबहादुर दुवैको नाउँमा छुट्याई दिने भनी निर्णय गरेकोलाई काठमाडौं भूमिप्रशासन कार्यालयले अन्यथा गरेको देखिन आएन महाराजगञ्ज गोश्वारा तहविलको बाहाली र रसीदहरू बाट मेरो मोहियानी हक प्राप्त भएको भनी निवेदकले उजूरी गरेकोमा उक्त ०३० साल मार्ग १० गते रोज १ को बहालीको मान्यता कस्तो हुने हो भनी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(२) हेरेमा जग्गाधनीको र मोहीको बीचमा कबुलीयत बहाली हुनुपर्ने र कबुलीयतको एकप्रति सम्बन्धित गाउँपञ्चायतमा नै दाखिल भएको हुनुपर्ने सो बमोजिम भएको नदेखिएकोले त्यस्तो बहालीको मान्यता हुनसक्तैन भूमिप्रशासन अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही ३ नं. नापी टोलीबाट निर्णय गर्न पठाएको मोहियानी हकको तेरो मेरोमा निवेदकले बहाली बमोजिम मोहियानी हक नपाउने ठहराएको निर्णयलाई अन्यथा गर्न मिलेन प्रस्तुत रिटको निवेदनपत्र खारेज हुने ठहर्छ भन्ने मिति ०३६।८।४।३ मा भएको डिभिजन बेञ्चको आदेश ।

            ९.    यसमा निवेदकको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र श्री लक्ष्मण अर्याल र विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल र भू.सु.का.को तर्फबाट विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयीको बहस समेत ०३८।१०।२३।६ मा सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ विचार गर्दा भूमिसुधार अधिकारीले जीवरत्न शाक्य भिक्षुलाई सुरक्षित किसानको हक प्राप्त भएकोले निवेदक कृष्णबहादुर थापाको दावी उजूर कायम नहुने ठहराई ०३५।९।१०।२ मा निर्णय गरेको पाइन्छ । मोती शाक्य भिक्षु २०१५ सालमा परलोक भएको कुरा कुनै विवाद छैन र जीवरत्न शाक्य भिक्षु निजको भतिजो हो भन्ने कुरामा पनि कुनै विवाद छैन । मोतीको देहान्त भएपछि सुरक्षित किसानको हक निजको भतिजो जीवरत्न शाक्य भिक्षुले पाउने हो होइन त्यसतर्फ कानूनी व्यवस्था हेर्दा तत्कालिन भूमिसम्बन्धी ऐन, २०१४ को दफा १२ को उपदफा ६ मा सुरक्षित किसानको हक सोही हेसियतमा निजका सन्तान दरसन्तानलाई प्राप्त हुनेछभन्ने उल्लेख छ । अब मोतिको देहान्त पछि निजको भतिजो जीवरत्न शाक्य भिक्षु सन्तान दरसन्तानकोपरिभाषाभित्र पर्छ पर्दैन त्यसतर्फ विचार गर्नु पर्ने हुन आयो ।

            १०.    सन्तान दरसन्तान” “भन्ने वाक्यांशले मोतीको छोरा वा निजको छोराको छोरालाई जनाउँने हुँदा भतिजो नाताको पर्ने व्यक्ति त्यस परिधिभित्र नपर्ने प्रष्ट छ । यसै प्रसंगमा नावालक धनलक्ष्मी विरुद्ध बमबहादुर श्रेष्ठ समेत भएको बकस जग्गा मुद्दामा ०१०।१।९।३ को फुल बेञ्चमा भएको निर्णयमा सन्तान दरसन्तानभन्ने शब्दले छोरा तिर जनाउने भनी व्याख्या गरेको पाइन्छ ।

            ११.    यस स्थितिमा भू.सु.अधिकारीले तत्कालिन भूमिसम्बन्धी ऐन, २०१४ को दफा १२ को उपदफा ६ को त्रुटिपूर्ण व्याख्या गर्दै ऐनको दफा १३ को समेत गलत प्रयोग गरी हाल सम्म कायम भइरहेकोभन्ने वाक्यांश प्रयोग गर्दै जीवरत्नलाई विवादको जग्गाको मोही कायम गर्ने गरी ०३५।९।१०।२ मा गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । डिभिजन बेञ्चले खारेज गर्ने गरेको मिलेन । अब कानूनबमोजिम गर्नु भनी परमादेशको आदेश समेत दिने ठहर्छ । यस्को एकप्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. बब्बरप्रसाद सिंह,

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०३८ साल फाल्गुण १ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु