निर्णय नं. १५१४ - ज्यान

निर्णय नं. १५१४ ने.का.प. २०३८ अङ्क ११
फुल बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको फौ.पु.नं. १०
फैसला भएको मिति : २०३८।११।१२ मा
निवेदक : जि. रामेछाप लखनपुर गा.पं.वार्ड नं. ४ केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको होमनाथ भन्ने बाबुराम तिवारी
विरुद्ध
विपक्षी : सन्तलाल तामाङको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) स्वयम निवेदक प्रतिवादीले यो यस कारण परिवन्ध परी रिस थाम्न नसकी साधारण लठ्ठी, ढुंगा, हात, मुक्का हिर्काएको हो भन्ने कुरा देखिन आउँदैन । यस्तो स्थितिमा ज्यान सम्बन्धीको १४ नं. लाग्नु पर्ने भन्ने जिकिरसँग सहमत हुन सकिएन । चश्मदिद् बाबुरामले ढुंगाले मर्ने जोखे तामाङको छातीमा हिर्काएको भनी बकपत्र गरेबाट जोखे तामाङको मृत्यु कर्तव्यबाटै भएको रहेछ भन्ने सिद्ध हुने आयो, अभियुक्त उपर किटानी जाहेरी दरखास्त परेको र अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरे पनि वारदात स्थलमा आफू रहे भएको कुरामा सावित भएको र घटना घटेको समय भन्दा अगावै उक्त स्थानबाट आफ्नो घर तर्फ गए भन्ने कुराको प्रमाण बाबुरामले दिन गुजार्न सकेको पाइंदैन । चश्मदिद साक्षीले ढुंगाले छातीमा हिर्काएको भन्ने कुरा लासप्रकृति मुचुल्काले समर्थन गरेकोबाट प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको इन्साफ सदर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत श्री ५ महाराजाधिराज सरकारबाट दोहर्याउने हु.प्र.बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : मेरो भतिजा नाताको जोखे तामाङ गुमसाल गाउँको सिरान घुयाङमा जनैपूर्णिमाको दिन जात्रा हेर्न ०३३।४।२५ गतेको रात ८ बजे गएको थियो । भोलिपल्ट २६ गते बिहान ५ बजेको टाइममा भनाभनको इवीबाट बाबुराम तिवारी १ नन्दवीर मगर १ कालु मगर १ नाउँ नजानेको जेठा मगर १ लिलाबहादुर ढुंगेल क्षेत्री १ धोजबहादुर ढुंगेल १ गर्भे ढुंगेल क्षेत्री १ नन्दलाल अधिकारी १ काले अधिकारी १ समेत जना ९ ले निज भतिजालाई कुटपिट गरी मारे भनी छोराले खबर ल्याएकोले पञ्च सदस्य समेतलाई लाश रुङ्गन जाहेर गर्न आएको छु । अपराधीहरू पत्ता लगाई कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत सन्तलाल तामाङको जाहेरी दरखास्त ।
३. जोखे तामाङलाई मुख्य बाबुराम तिवारीले ढुंगाले हिर्काई मारेको देखिन आएकोले निजलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ दफाले सर्वस्वसहित जन्मकैद गरिपाउँ सो को अतिरिक्त गर्भु ढुंगेल समेतका अरू अभियुक्त मतसल्लाहमा यसैको भन्नु परी मर्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहेको प्रमाणबाट देखिन आएकोले निजहरू लाई मुलुकी ऐन ज्यान सम्बन्धीको १७ नं. को देहाय ३ दफा अनुसार ६ महीना देखि ३ वर्ष सम्म कैद गरिपाउँ भन्ने समेत नि.प्रहरी निरीक्षकको राय र मौका तहकिकात सरजमीन मुचुल्का समेतका प्रमाणबाट बाबुराम तिवारीले हिर्काएको ढुंगाबाट जोखे तामाङको मृत्यु भएको देखिन आयो मुख्य ज्यान मार्ने बाबुराम तिवारी ऐनका म्यादभित्र अदालतमा हाजिर भई बयान गर्दा आफू सावित भई वा इन्कार गरी अभियुक्त भनी जाहेरीमा लेखिएका गर्भु ढुंगेल समेतका मानिसउपर पोल उजूर गरेमा वा निजहरू कारणवस् आफैं उपस्थित भई सावित भएका खण्डमा उसै बखत निजहरूका हकमा कानून अनुसार ठहरे बमोजिम हुने अहिले सम्मको अनुसन्धानबाट अभियुक्त बाबुराम तिवारीको हकमा मात्र ज्यान मुद्दा चल्ने देखियो सो बाहेक अरू अभियुक्त भनिएको गर्भु ढुंगेलका मानिस र जाहेरी दरखास्तमा लेखिएका मानिसमा भन्दा बढी सरजमिनको अहिमान सिंह तामाङले लेखिएको दर्भे भन्ने पञ्चबहादुर थापा मगर समेतउपर कर्तव्य ज्यान मुद्दा नचल्ने हुनाले निजहरूको हकमा दायर गरी तामेली राखी पाउँ भन्ने समेत स.स.अ.तथा स.स.अ.को राय ।
४. मिसिल संलग्न सरजमीन मुचुल्कामा वारदात घटनास्थलमा रहेका व्यक्तिहरूले मर्ने जोखे तामाङ बाबुराम तिवारीको चोटबाट मरेको भनी उल्लेख गरेको अन्य प्र्रतिवादी बनाइएका व्यक्तिहरू यो परिवन्धबाट मतसल्लाहामा पसेको भनी सरजमिनले किटानसाथ मतियार भनी लेख्न लेखाउन सकेको नदेखिँदा प्रहरी अधिकृतको तर्कसँग सहमत हुन सकिएन । गर्भु ढुंगेल समेतका हकमा मुद्दा नचलाउने भन्ने स.स.अ.तथा स.स.अ.को राय मनासिव देखिन आयो । तसर्थ मुख्य चोट छाड्ने मार्ने भनी उल्लेख भएको बाबुराम तिवारीका नाउँमा कानूनबमोजिम वारेण्ट म्यादी पूर्जि जारी गरी नियमानुसार पेश गर्नु भन्ने ०३३।५।२९ को रामेछाप जिल्ला अदालतको आदेश ।
५. ०३३।४।२५ गते बेलुका ७ बजे उक्त जात्रामा गई भोलिपल्ट बिहान ४ बजे घर आई सोही दिन म आफ्नो खेती भएको ठाउँ निजगढ पञ्चायत वागदेउ गाउँ गएको थिएँ । मैले जोखे तामाङलाई कुटी मारेको होइन सरजमिनका एकबहादुर श्रेष्ठले नन्दलाल अधिकारी र म उपर नापी टोली गएका बखत भ्रष्टाचार गर्यो भनी उजूरी दिएका र सो उजूरी प्र.जि.अ.बाट खारेज गरेकोले सोही रिसइवीले मलाई फसाउन पोल गरेका हुन भन्ने समेत बाबुराम भन्ने होमनाथ तिवारीले अदालतमा गरेको बयान ।
६. मृतक जोखे तामाङलाई प्रतिवादी बाबुराम तिवारीले ढुंगाले हानी मारेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत रामेछाप जिल्ला अदालतको ०३४।३।७।३ को जाहेरी फैसला ।
७. प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको रामेछाप जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।१२।२१।५ को जाहेरी फैसला ।
८. यसमा जोखे तामाङको छातीमा दाहिने पट्टि निल भएको नाक मुखबाट रगत बगेको भन्ने लासप्रकृति मुचुल्काबाट देखिएकोले निज जोखे तामाङ कर्तव्यबाट मरेको देखिन्छ । गुमसाल गाउँको सिरान ध्वाङमा जनैपूर्णिमाको जात्रा हेर्न भनी गएको भोलिपल्ट सोही ठाउँमा निज जोखे तामाङलाई प्रतिवादी बाबुराम तिवारीले २ धार्नी जतिको ढुंगाले छातीमा हानी मारेको देखेको हो भनी निज मृतककै बहिनी कान्ती तामाङनी र एकबहादुर श्रेष्ठले प्रहरीमा बयान गरी अदालतमा बकपत्र गरेको पाइन्छ । उक्त जात्राको दिन बाबुराम तिवारी त्यहाँ गई भोलिपल्ट बिहान ४ बजे घर आई निजगढ गएकोले मैले ढुंगाले हानी मारेको होइन भनी अदालतमा इन्कारी छ तापनि वारदात हुनुभन्दा अघि निजगढ गएको भन्ने कुराको प्रमाण अभियुक्तले दिनसकेको देखिँदैन र कान्छी तामाङनी र एकबहादुर श्रेष्ठले प्रतिवादीले ढुंगाले हानेको देखेको हो भनी बकपत्र गरेको र अरू तरहबाट निजको ज्यान गएको मिसिल प्रमाणबाट केही नदेखिएकोले समेत जोखे तामाङलाई प्रतिवादीले ढुंगाले हानी मारेको ठहराई रामेछाप जिल्ला अदालतले जाहेर गरेको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मनासिव छ भन्ने ०३८।२।२।६ को डिभिजन बेञ्चको फैसला ।
९. यसमा निवेदक प्रतिवादी होमनाथ भन्ने बाबुराम तिवारीको तर्फबाट विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलको र विपक्षी श्री ५ को सरकारको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको ०३८।११।१ गते बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा डिभिजन बेञ्चबाट गरेको निर्णय मनासिव बेमनासिव के रहेछ सो कुराको नै निर्णय दिनु पर्ने देखिन्छ । यस मुद्दाका तथ्यहरू बाट मार्नुपर्ने सम्मको इवी मनसाय पनि नदेखिएको जात्राको समयमा भनाभन भएकोले उसै मौकामा उठेको रिस थाम्न नसकी निवेदकले ढुंगाले हानेकोबाट जोखे तामाङको मृत्यु हुन गएकोले ज्यान सम्बन्धीको १४ नं. अन्तर्गत सजाय गरिनु पर्ने नै निवेदकतर्फका विद्वान अधिवक्ताको बहस जिकिरको हकमा स्वयम प्रतिवादी होमनाथ भन्ने बाबुराम तिवारीले ०३३।६।२२।६ मा रामेछाप जिल्ला अदालतमा बयान गर्दा “०३३।४।२५ गते बेलुका ७ बजे जात्रामा गई रातभर बसी भोलिपल्ट बिहान ४ बजे आफ्नो घर फर्केको हो मैले जोखे तामाङलाई मारको होइन” भनी इन्कारी गरेको पाइन्छ । मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. मा कानूनी व्यवस्था के रहेछ भनी हेर्दा “ज्यान मार्नेको मनसाय रहेनछ, ज्यान लिनु पर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरिकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादी हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दशवर्ष कैद गर्नु पर्छ” भन्ने उल्लेख भएको छ । तर स्वयम् निवेदक प्रतिवादीले यो, यस कारण, परिबन्ध परी रिस थाम्न नसकी साधारण लाठा, ढुंगा, लात, मुक्का हिर्काएको हो भन्ने कुरा देखिन आउँदैन । यस्तो स्थितिमा ज्यान सम्बन्धीको १४ नं. लाग्नु पर्ने भन्ने विद्वान अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन प्रतिवादी होमनाथ भन्ने बाबुराम तिवारीलाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको ठिक वेठिक के हो भन्ने तर्फ विचार गर्दा ०३३।४।३१।१ मा भएको लाशप्रकृति मुचुल्कामा छातीमा दाहिनेपट्टि निल भएको नाक मुखबाट रगत बगेको लासको २० हात दक्षिण पूर्वमा अं.साढे दुई धार्नीको ढुंगा देखिएको भन्ने चश्मदिद कान्छीले बाबुरामले ढुंगाले मर्ने जोखे तामाङको छातीमा हिर्काएको भनी बकपत्र गरेबाट जोखे तामाङको मृत्यु कर्तव्यबाटै भएको रहेछ भन्ने सिद्ध हुन आयो, अभियुक्त बाबुराम तिवारीउपर किटानी जाहेरी दरखास्त परेको र अदलातमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरे पनि वारदात स्थलमा आफू रहे भएको कुरामा सावित भएको र घटना घटेको समय भन्दा अगावै उक्त स्थलबाट आफ्नो घरतर्फ गए भन्ने कुराको प्रमाण बाबुरामले दिन गुजार्न सकेको पाइँदैन ।
चश्मदिद साक्षी कान्छीले ढुंगाले छातीमा हिर्काएको भन्ने कुरा लाशप्रकृति मुचुल्काले समर्थन गरेकोबाट प्रतिवादी होमनाथ भन्ने बाबुरामकै कर्तव्यबाट जोखे तामाङको मृत्यु भएको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको इन्साफ सदर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । मिसिल नियमबमोजिम बुझाई दिनु ।
हामीहरूको सहमति छ ।
न्या. गजेन्द्रकेशरी बास्तोला
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०३८ साल फाल्गुण १२ गते रोज ३ शुभम् ।