शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५१५ - ज्यान

भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११

निर्णय नं. १५१५   ने.का.प. २०३८                   अङ्क ११

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री धनेन्दबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्वत

सम्वत् २०३८ सालको फौं.फु.नं. ८

फैसला भएको मिति :  ०३८।१०।१० मा

निवेदक  : जि.रूपन्देही गा.पं.तौलिहवा वार्ड नं. ३ घर भई हाल जि.कारागार शाखाको बन्दी मोहर अली मुसलमानसमेत

विरुद्ध

विपक्षी   : गोवर्धन अहिरको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१) प्रहरीमा साविती बयान भएको तर अदालतमा इन्कारी भए तापनि मर्ने जोगेन्द्रको मृत्युको कारण सास थुनिनाले (Asphyxia) भएको देखिन्छ । जोडले घाँटी माडेको कारणबाट हुन सक्छ भनी लासजाँचको प्रतिवेदनमा उल्लेख भएबाट प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान पोष्टमार्टम रिपोर्टबाट समर्थित हुन आएको छ । निवेदकहरूले प्रहरी समक्ष गरेको उक्त बयान निजहरूको इच्छा विरुद्ध भएको भनी भन्न सकिने कुनै आधार देखिँदैन तसर्थ प्रतिवादी जलिल भन्नेलाई ज्यान सम्बन्धीको १३(४) र मोहर अलि मुसलमानलाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ ।

(प्रकरण नं. २१)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

फैसला

          न्या. जेगेन्द्रप्रसाद श्रीवास्तव : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३७।४।१२।१ मा भएको निर्णय दोहराई पाउँ भनी निवेदकको न्यायिक समिति मार्फत परेको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहरिई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.  तथ्य यस प्रकार छ : विपक्षी मध्ये बर्षाती भन्ने हिदातुल्लाहको भैंसी चोरीमा म माथि आशंका गरी निर्दोष म र मेरा परिवारमा ज्यूधनमा हानी नोक्सानी पुर्‍याउने षडयन्त्र विपक्षी ब्राहिम मुसलमानको घरमा विपक्षीहरू समेतले गोप्य रूपमा मेरो भाइ गंगारामको छोरा नावालक जोगेन्द्र अहिरलाई मारी ज्यानै बेपत्ता गराउने राय पास गरी मौका हेर्दैछन् भन्ने विश्वास लाग्दो खबर पाएको थिएँ । ज्यानै माथी खेल खेल्ने छैनन् होला भन्ने विश्वास थियो । ०३२।५।४ को बिहान अं.१० बजे खानपिन गरी खेल्न भनी भाइको छोरा वर्ष ९ को जोगेन्द्र घरबाट निस्की दक्षिण पश्चिम बाटो गरी गएको १० बजे निजको खोजतलास गर्दा र पोखरी कुवामा समेत जाल हाली हेर्दा समेत फेला पत्ता नलागी निज विपक्षी बर्खासी भन्ने हिदातुल्ला समेतको पन्जामा छ भन्ने विश्वास लागी रात कुटायम हुँदा गाउँले प्रहरी राखी जाहेर गरी सुरक्षाको लागि प्रहरी जवानहरू आएपछि पहरा गर्दै थियो रात अं.३ बजे बर्षाती भन्ने हिदातुल्लाका इँटाको दिवाल कुनामा आवाज आई हेर्न जाँदा निजको स्वास्नी कुल्सुमा दौडी घरतर्फ जान लागेको देखी निजलाई रोकी हेर्दा जोगेन्द्रको नाङ्गो लास फ्याँकी भाग्न लागेकी कूतसुमा मौकामा पक्राउ भएकी र लासको घाँटी बटारिएको मुखबाट रगत निस्केको लासको सुरक्षा लगाई बर्षाती भन्ने हिदातुल्ला कुलुसुमा, जलिल भन्ने जल्ला मुसलमान, मोहर अलि मुसलमान समेत जना ४ पक्राउ भएकोलाई यसै दर्खास्त साथै सुम्पुवा दाखिल गरी जोहेरी दर्खास्त गर्न आएको छु । कानूनबमोजिम मृतक लासको जाँचबुझ जो गर्नुपर्छ गरी कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत गोवर्धन अहिरको ०३२।५।५।५ को जाहेरी दर्खास्त रहेछ ।

          ३.  बर्षाती भन्ने हिदातुल्ला मुसलमानको ३ वटा भैंसी चोरेको फेला परेन भैंसी चोराउने गाउँकै गंगाराम अहिर गोवर्धन अहिरहरूको हात छ कुरा गर्दा उल्टै हामीलाई दप्काउने गर्दछ त्यसो हुँदा निज गोवर्धन वा निजहरूको भाइको सन्तानमा गंगारामको एउटै छोरो छ निजलाई मारी दिनु पर्‍यो भनी मेरो जेठान वर्षातीको छोरा जलिल भन्ने जल्लाले आजभन्दा १० दिन अगाडि जस्तो लाग्छ, , छोटे, लहु, इवारत जलिल समेत बसी सल्लाह भयो जलिलले अनुरोध गर्‍यो मौका हेर्दै थियौं, भाद्र ४ गते बिहान हाम्रो सल्लाह अनुसार गोवर्धनको भतिजो हात लाग्नेवाला छ आउनु भनेकोले निजको साथ लागी निजको घर गएँ म फेरि घर आई खाना खाई जाँदा इवारत त्यहीँ थियो लडु पनि आयो जलिलले अहिरको छोरालाई हात समाई लिई आयो जलिल मानिस हेर्न ढोकामा बसे मैले एकैचोटी बच्चाको मुख मेरो हातले छोपेँ लडुले दुवै गोडा अंगालो मारे इवारतले सो लडकाको दुवै हात समाते पछि मेरो बायाँ हातले लडकाको मुख र दाहिने हातले घुच्चुक पकडी उत्तानो पारी लडायो इवारत र लडुले लडकालाई चल्न दिएन मैले बच्चाको मुख छोपेको छोपै गरी मुन्टो बटारी राखेको थिएँ लडका चलमलाउन छाडेपछि छोडी दिँदा मरी सकेछ र यसलाई लुकाउन भनी लडु र म आफ्नो घर गयौं वहाँ जलिल र इवारत थियो लास कहाँ कसरी राखे थाहा छैन । हामी बाहेक जलिलको घरमा कोही थिएन भन्ने समेत प्रहरीमा र गोवर्धनको बच्चा हरायो भन्ने दिनको १०।११ बजे हल्ला भयो गाउँका मानिसले खोजतलास गर्दा पत्ता लागेन रातमा प्रहरी समेत आई जलिलको घर डेरा गरी राखेको थियो रात ३ बजे प्रहरी लगी लास देखाए, आइमाइले फालेको भन्ने हल्ला भयो आइमाइ को थियो मैले सुनिन लास देख्दा डुबी मरेको जस्तो थियो मैले कर्तव्य गरी मारेको होइन म ०३२।५।४ का दिन घरमा छु भन्ने समेत अदालतमा मोहर अलिले गरेको कागज बयान ।

          ४.  श्रावणमा भैंसी चोरी भयो गोबर्धन अहिरले चोराए होलान भन्ने कुरा गर्दा मलाई विश्वास लागी १० दिन अगाडि मोहर अलि, लडु समेतसँग सल्लाह गरे अनुसार भाद्र ४ गते बिहान गोवर्धनको भतिजो गंगारामको छोरा जोगेन्द्र अहिरलाई मैले ल्याई दिएँ म बाहिर मानिस हेर्न थालें मोहर अलि, इवारत, लडु ३ जनाले निज जोगेन्द्रलाई मारिसके पछि लासलाई गोवरले सुकाएको कण्डाले छोपेर इवारत आफ्नो घर गयो म आफ्नो खेतमा गएँ गोवर्धनको घरतिर सबै मानिस भेला भई म माथि शंका गरे घर घेरेको हुँदा मौका छोपी आमाले रातको ३ बजे लास पश्चिमतर्फ पोखरीमा फाल्दाको आवाज सुनी हेर्न जाँदा लास त्यहीँ भेटिएको थियो । प्रतिशोधको भावना लिई गोवर्धनको नोक्सानी पुर्‍याउनु पर्छ भनी ब्राहिमको घरमा सल्लाह भएको थियो भन्ने समेत प्रहरीमा र मैले जोगेन्द्रलाई बोलाई ल्याई मारे मराएको होइन कसले मारे वा आफैं डुबी मरेको हो म यकिन गर्न सक्तिन प्रहरीले कुटपिट गरी सहिछाप गराएका हुन् जाहेरवाला हाम्रो विरोधी गुटको मानिस हुँदा झुठ्ठा फसाएका हुन् दशिमानले लाएको धोती मेरो बहिनीको साडी हो जोगेन्द्र मरेको दिन सो साडी मेरो आमाले लगाएकी थिइन भन्ने समेत अदालतमा जल्ला भन्ने अब्दुल जलिलले गरेको बयान ।

    ५.  गोवर्धनको भतिजा जोगेन्द्रलाई मारेको कारण मलाई थाहा थिएन हाम्रो भैंसी चोराउने गोवधर्न होला भन्ने छोरा जलिलले गर्दथे घटना भएको दिन बिहानै खाना खाई लोग्ने हिदातुल्ला म जेठा छोराको स्वास्नी यहदुना कान्छो छोरा सानो छोरी समेत हामी खेत रोप्न जेठो छोरा जलिल बिउ झिक्न घरमै रह्यो । साँझ घर फर्कियो अहिरको घरमा जोगेन्द्र हरायो भन्ने धेरै मानिसको भिड लागेको थियो छोरा जलिल मोहर अलि र इवारत समेत आएर भने बमोजिम लाश रातको ४ बजेतिर लासलाई मैले काखमा लगाएर साडीमा बेरँे लासमा जाँदा अगाडि म र पछि बुहारी भएर गयौं घरको पछाडि तर्फ फालेर आफ्नो साडी समेत ल्याई बुहारी र म आयौं लास फालेकोबाट आएको आवाज अरूले सुनेर तुरुन्त आई लास पक्राउ गरे भन्ने समेत प्रहरीमा र सोही मिलान गरी मृतक जोगेन्द्रको लास फाल्न गई फालेमा अदालतमा समेत सावित हुँदै कलमुसा मुसलमाननीले गरेको कागज बयान ।

    ६.  घरमा भैंसी चोरी भएपछि छोरा धेरै पिर गर्न थाल्यो र भैंसी चोरी भयो भनेर चिन्ता नगर फेरि किनीहालौंला तर खेतीपाती बितायो भने उठ्न सकिँदैन भनी सम्झाएको थिएँ मेरो जीवन आजसम्म बजार, पञ्चायत, सभा, मिटीङ कुनै ठाउँमा नगएको अनपढ हलो जोती खाने मानिस भएकोले कुनै पनि व्यवहार निज छोरा अब्दुल जलिलले नै गर्ने हुँदा मलाई केही थाहा भएन जोगेन्द्रलाई मेरो छोरा अब्दुल जलिल समेत को को भई मार्ने योजना गरेका थिए कुनै कुरा म सँग नगरेको र उक्त वारदात दिनभर म आफ्नो खेत रोपाईंमा गएकोले मलाई कुनै थाहा भएन । रातको ३ बजे मेरो घरको पछाडि लास फेला परेको मेरो स्वास्नीले फालेको भन्ने हल्ला सुनेको थिए । पछि लास हेर्दा नाङ्गो थियो भन्ने समेत प्रहरीमा र सोही मिलान अदालतमा समेत हिदातुल्ला मुसलमानले गरेको बयान रहेछ ।

    ७.  गोवर्धनको भतिजा जोगेन्द्र अहिर मारियो भन्ने दिन म त्यसको ३ दिन पहिल्यै देखि लुम्बिनी बजारमा आफ्नो कपडा दुकानमा थिएँ मैले मारेको वा मार्ने कुनै राय परामर्श समेत गरेको छैन । प्र.पं.म देखि रिसाएको होला भन्ने समेत प्रहरीमा र सोही मिलान गरी अदालतमा समेत अब्दुल बबुलले गरेको कागज बयान ।

    ८.  म मोहरी अलि महजीदियाको लडु समेतलाई जलिलले बोलाई भैंसी चोरी भएको र गोवर्धन अहिरले चोराएको कुरा गरी सल्लाह गर्दा निजको भतिजोलाई मारी दिउँ भन्ने प्रस्ताव राखे अनुसार वर्ष ९ को जोगेन्द्र अहिरलाई जलिलले पाखुरा समाती एकछिनमै ल्याए, लडुले जोगेन्द्रको खुट्टा च्याप्यो मैले दुवैहात च्यापेँ मुहर अलिले टाउको बेरेर राख्यो यसरी जोगेन्द्र पूर्ण मृत्यु भइसकेपछि हामी आफ्नो घर गयौं आफ्नो पुडोसीको बचन हार्न नसकी निज जोगेन्द्र मारेको हो भन्ने समेत प्रहरीमा र सोही मिलान सावित हुँदै अदालतमा समेत इवारत अहिर मुसलमानले गरेको कागज बयान रहेछ ।

    ९.  म मुहर अलि इवारतले भाद्र ४ गते बिहान ९,१० बजे जलिलले घरमा गई जोगेन्द्रलाई च्यापी अँठ्याई मारेको हो भन्ने समेत प्रहरीमा र सोही मिलान गरी अदालतमा समेत लडु बन्ने अब्दुल वफाले गरेको कागज बयान ।

    १०. लडु समेत कुनैलाई चिन्दिन जोगेन्द्र अहिरलाई कसले मार्‍यो किन मार्‍यो मलाई थाहा छैन भन्ने समेत प्रहरीमा र सोही मिलान गरी अदालतमा छोटे मुसलमानले गरेको कागज बयान ।

    ११.  मेरो सासूले बोलाई म एक्लै बाहिर जान डर लाग्छ लास बोसारीबाट बाहिर फ्याँकी देरमनी अल्लाले भने तिमी पनि हिँड भनी भनेबाट सासूको साथमा गई सासूले लास फालेका हुन् भन्ने समेत जहादुर निस्साले प्रहरी समक्ष गरेको कागज रहेछ ।

    १२. मुन्टो बटारी मार्ने मोहर अलिका हकमा ज्यान सम्बन्धीको नं. १३ (३) अनुसार अरू संयोग पारी दिने मानिस हेर्ने, समेत लडु मुसलमान, इवारत, जलिल भन्ने जल्ला मुसलमानको हकमा सोही ज्यान सम्बन्धीको नं. १३ (४) अनुसार सजाय गरी दिनु हुन र कलुममा मुसलमाननीका हकमा १७ (२) र बरसाती भन्ने हिदातुल्लाहको हकमा ऐ.२६ नं. अनुसार सजाय गरी दिनु हुन अनुरोध छ भन्ने समेत मिति ०३२।६।१।४ को प्रहरी प्रतिवेदन रहेछ ।

    १३. ०३२ भाद्रको पहिलो सोमबारको दिन म पठरीया गा.पं.अन्तर्गत बजार लागेको पठरियामा खरीद बिक्री व्यापार गरी बुधबारको सुर्यपुरामा व्यापार गरी सो रात त्यहीँ बसी बिहीबार साँझ ८।९ बजे मगरू हरेरामको साथमा आफ्नो घर आउँदा जोगेन्द्र मरेको थाहा भयो त्यस अघि जोगेन्द्र मरे मारेको मलाई थाहा थिएन र जोगेन्द्रलाई मार्ने मराउने विषयमा मोहरअलि समेतको साथ रायसल्लाह षडयन्त्र गरेको थिइँन र निजहरू सँग भेटघाट थिएन भन्ने समेत ब्राहिन मुसलमानको बयान ।

    १४. मिति ०३२।५।४ मा जोगेन्द्र अहिरलाई बर्साती भन्ने हिदातुल्लाकहाँ लगी इवारत लडु भन्ने अब्दुल वफा मुसलमानले समात्ने मोहर अलिले मुख थुनी टाउको बटारी दिने जलिल भन्ने जल्ला मुसलमान मानिस आउलान भनी हेर्ने समेतको काम गरी चारैजना अभियुक्तहरूको मिलोमतोबाट जोगेन्द्र अहिर कर्तव्यबाट मरेको सिद्ध हुन आएकोले मोहर अलिले ज्यान सम्बन्धीको १३(३) लडु भन्ने अब्दुल वफा किवारत जलिल भन्ने जल्ला मुसलमानले ज्यान सम्बन्धीको १३(४)नं. बमोजिम सजाय कसूर गरेको ठहर्छ कस्मा र बर्साती भन्ने हिदातुल्लाले कसूर गरेको ठहर्दैन भन्ने समेत शुरू रूपन्देही जिल्ला अदालतको मिति ०३४।६।२० को जाहेरी फैसला ।

    १५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी मोहर अलि मुसलमान समेतको पुनरावेदन परेकोमा प्रतिवादीहरूको प्रहरीमा गरेको साविती बयान बाहेक अरू ठोस तथा शंकारहित प्रमाणबाट निजहरूले अपराध गरेको भनाई समर्थित भएको देखिन आएको छैन । यस्तो स्थितिमा ठोस सबूतको अभावमा प्रतिवादीहरू उपर लगाइएको आरोपित कसूर निजहरूले गरेको हो भन्ने कुरा ठोस प्रमाणहरू बाट प्रमाणित हुन नआएकोले उपरोक्त कारणहरू बाट निजहरू लाई ज्यान सम्बन्धी महल बमोजिम सजाय दिएको इन्साफ गल्ती हुँदा जि.अ.को फैसला उल्टी भएकोले सो फैसला बदर भई पुनरावेदक इवारत अलि, लडु भन्ने वफा मुसलमान मोहर अलि जल्सा भन्ने अब्दुल समेत ४ जनाले सफाई पाउने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३६।४।२ को जाहेरी फैसला रहेछ ।

    १६. उक्त इन्साफमा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी अनुसार प्र.हरू लाई सजाय हुन सादर अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन दर्ता हुन आएको रहेछ ।

१७. मोहर अलि समेत प्रहरीमा सावित भएको देखिन्छ । निजहरूको सावितीलाई लास मुचुल्का तथा पोष्टमार्टम रिपोर्ट समेतले समर्थित गरेको देखिँदा प्रतिवादी मोहर अलि समेतलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतले सफाई दिएको मिलेन तसर्थ छलफल निमित्त आफ्नो प्रतिनिधि उपस्थित गराउनु भनी अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम थुनुवा प्रतिवादी जलिल मुसलमान समेतका नाउँमा नोटिस म्याद पठाउनु । म्यादभित्र निजहरूका प्रतिनिधि उपस्थित भएपछि वा अवधि पुगेपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको मिति ०३६।१२।४।२ को आदेश ।

    १८. यसमा कुनै अभियोग लागी पक्राउ परेको अभियुक्त अदालतमा पेश गर्नु अघि नै प्रहरी र अभियोक्ताको समक्ष कसूर गरेमा सावित छ भने, जति कुरामा सावित भएको हो त्यति कुराको जवाफदेही सोही कागज बमोजिम निज उपर रहन्छ । त्यसमा अपराध गरेको र मौखिक सावित भएको मात्र हुनसक्ने भई शुरू सावितमा ऐनको व्यवस्था भएकोले अपराध गरेको हो होइन भनी ठहर गर्न त्यस्तो साविती कागजको मात्र आधार लिएर पुग्दैन । के के भए गरेको छ भनी अरू कुराबाट देखाउन सक्नुपर्छ यसरी मुख सावितले मात्र अपराध कायम गर्न मिल्ने नहुँदा सबूतले सावित अर्थात प्रमाणले सिद्ध गर्नुपर्छ ।

    १९. प्रस्तुत मुद्दामा जाहेरवालाले केवल आफूले शंका गरेको कुरा मात्र जाहेर गरेको नभई मर्ने जोगेन्द्र अहिर हराएपछि नाकाबन्दी गर्ने लगायत सबै कामको आखिरीमा अपराधी यिनै हुन भनी पेश गर्न ल्याएकोबाट अपराधीहरूको छानबीन जाहेरवालाले देखाई सकेको छ । यदी जाहेरीमा मात्र नपरेको कुनै अभियुक्त अपराधी हो भनी ठहर गर्न मिल्ने भएन । त्यस्ता अपराधीहरू भित्र तहकिकातमा निजहरू मुख सावित भएको वा प्रमाणबाट ठहर गर्न सकिने भएको हुनुपर्छ । त्यस्तो कुरा देखिन आएको नहुनाले प्रहरी समक्ष मुख सावित भएकैबाट अपराधी ठहर गराएको निजहरू बाट कुनै दोषी वा चिन्हहरू नदेखाइएको हुँदा अपराधी ठहर गर्न मिल्दैन । जाहेरवालाले जाहेरीमा लेखाई प्रहरी समक्ष सावित समेत भएको मोहर अलि र जलिलका हकमा ज्यान सम्बन्धीको ऐनले सजाय लाग्ने ठहर्‍याएको जिल्ला अदालतको इन्साफ मनासिव देखिन्छ । सफाई दिएको ठहर पश्चिमाञ्चल क्षेत्रीय अदालतको उचित हुँदैन इवारत अब्दुललाई सफाई दिने गरी ठहर्‍याई शुरू रूपन्देही जिल्ला अदालतले जाहेर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतले पनि सदर गरेकोमा दुई अड्डाको राय मिली साधक तहबाट पेश हुन आएको नभए पनि निजहरूको विरुद्ध पर्न आएका पुनरावेदन तर्फबाट हेर्दा माथि लेखिएको प्रमाण र परिवन्दले देखिएको जाहेरवालाको भतिजा जोगेन्द्र अहिरलाई मार्ने उद्योग गर्ने गरी मारेको ठहर्दैन भन्ने रूपन्देही जिल्ला अदालतको इन्साफ उल्टाई पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ मनासिव देखिन्छ । कल्सुमाको हकमा अपराध ठहर्‍याउने प्रमाण नदेखिएकोले जि.अ.को फैसला बमोजिम हुने नै हुँदा यस अदालतबाट अन्यथा गर्न परेन भन्ने समेत मिति ०३७।४।१२।१ मा भएको डिभिजन बेञ्चको फैसला ।

    २०. यसमा निवेदक प्रतिवादी जल्ला भन्ने अब्दुल जलिम मुसलमान र मोहर अलि मुसलमानको तर्फबाट विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलको ०३८।१०।१३।२ मा बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ त्यस कुराको निर्णय दिनु पर्ने देखियो ।

    २१. मैले भैंसी चोरे भनी शंका गरी ०३५।५।४ मा भतिजा जोगेन्द्र अहिरलाई वर्षाती भन्ने हिदातुल्ला कल्सुमा मुसलमान्नी, जलिल भन्ने जल्ला, ब्राहिन अब्दुल बदुद, मोहर अलिसमेत भई कर्तव्य गरी मारे सजाय गरिपाउँ भन्ने जाहेरी दर्खास्त परेकोमा अभियुक्त मोहर अलिका हकमा ज्यान सम्बन्धीको १३(३) अनुसार जलिल भन्ने जल्ला मुसलमानको हकमा १३(४) अनुसार र कलसुमानीका हकमा ज्यान सम्बन्धीको १७ (४) अनुसार र बर्षाती भन्ने हिदातुल्लाका हकमा ज्यान सम्बन्धीको २६ नं. को सजाय माग दावी भई दायर भएको प्रस्तुत मुद्दामा प्रतिवादी कलसुमा मुसलमानन्नी र वर्षाती भन्ने हिदातुल्लाको हकमा शुरू रूपन्देही जिल्ला अदालतले सफाई दिने ठहराई निर्णय गरेको सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत निर्णय भइसकेकोले निजहरूका हकमा विचार गर्नु परेन । अब प्रतिवादी मोहर अलि र जलिल भन्ने जल्ला मसुलमानका हकमा विचार गर्दा मर्ने जोगेन्द्र अहिरलाई कर्तव्य गरी मारेको भनी यी प्रतिवादी समेत उपर सजाय गरिपाउँ भनी गोवर्धन अहिरको जाहेरी परेकोमा प्रहरीमा भएको मोहर अलिको कागजमा जलिलको घरमा गएँ जलिलले तुरुन्तै अहिरको छोरालाई अगाडि लगाई पाखुरोमा समाती लिई आयो जलिल भन्ने जल्ला मानिस हेर्न ढोका तिर गई उभियो त्यसैपछि मैले बच्चाको मुख मेरो बायाँ हातले छोपेँ लडुले दुवै गोडामा अंगालो मारे इवारतले लडकाको हात समाते मेरो दाहिने हातले घुच्चुक पकडी उत्तानो पारी लडायी मैले लडकाको मुख छोपेको छोपै गरी मुन्टो बटारी राखेको थिएँ । छाडी दिँदा मरी सकेको रहेछ भनी र जोगेन्द्र अहिर खेल्न बगीयातर्फ जान लागेको बेला यता आउ भने र भित्र बसारामा लगी र मोहर अलिको हातमा समाई दिए म ढोकातर्फ मानिस हेर्न थालेँ जोगेन्द्रलाई मारी सकेपछि मोहर अलि र लडु बाहिर निस्कँदै लास लुकाउने काम गरे भन्ने समेत जलिल भन्ने जल्लाको प्रहरीमा साविती बयान भएको तर अदालतमा इन्कार भए तापनि मर्ने जोगेन्द्रको मृत्युको कारण सास थुनिनाले (Asphyxia) भएको देखिन्छ । जोरले घाँटी मोडेको कारण्बाट हुन सक्छ भनी लासजाँचको प्रतिवेदनमा उल्लेख भएबाट प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान उक्त पोष्टमार्टम रिपोर्टबाट समर्थित हुन अएको छ । निवेदकहरूले प्रहरी समक्ष गरेको उक्त बयान निजहरूको इच्छा विरुद्ध भएको भनी भन्न सकिने कुनै आधार देखिँदैन तसर्थ प्रतिवादी जलिल भन्ने जल्ला मुसलमानलाई ज्यान सम्बन्धीको १३(४) र मोहर अलि मुसलमानलाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । निजहरू दुवै जनालाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय हुने भन्ने डि.बेञ्चको फैसलामा उल्लेख भएको सम्म मिलेन, मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

हामीहरूको सहमति छ ।

 

प्र.न्या. नयनबहादुर खत्री,

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३८ साल माघ २० गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु