निर्णय नं. १५१७ - उत्प्रेषण

निर्णय नं. १५१७ ने.का.प. २०३८ अङ्क ११
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको रि.नं. १६६७
आदेश भएको मिति : २०३८।१०।१ मा
निवेदक : का.जि. कमलपोखरी स्थित भान भान चाईनिज रेष्टुरेन्ट एण्ड बारका प्रो. राजेन्द्रकुमार श्रेष्ठ
विरुद्ध
विपक्षी : श्री कर अधिकृत कर कार्यालय काठमाडौं
विषय : उत्प्रेषण
(१) निवेदकले पेश गरेको हिसाव कितावलाई अमान्य घोषित नगरी अघिकै निर्णयमा लिएका आधारलाई पुनः आधार बनाई हचुवा किसिमले आय कायम गरी कर निर्धारण गरेको निर्णय बदर हुने ।
(प्रकरण नं. ७)
(२) राजस्व न्यायाधीकरणबाट कर निर्धारण बदर भएपछि पुनः आय र कर निर्धारण गर्न सम्बन्धित पक्षलाई राखी निर्णय गरेको देखिएन साथै जे जति रकम निर्धारण भएको थियो सोही रकम रू.१७०१०। पुनः कायम पनि गरिएकोबाट कानूनले निर्धारित गरेको प्रक्रिया नअपनाई रीत सम्म पुर्याउने उद्देश्यले पर्चासम्म खडा गरेको हुँदा राजस्व न्यायाधीकरणबाट बदर गर्ने गरेको निर्णय निरर्थक हुन गएको छ । तसर्थ पक्षलाई समेत उपस्थित गराई प्रतिवादको मौका दिई निर्णय गर्नु पर्नेमा नगरेको हुँदा कर अधिकृतको निर्णय बदर हुने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
आदेश
न्या. सुरेन्द्रप्रसाद सिंह : विपक्षी कर अधिकृतको मिति ०३७।११।३० को टिप्पणीं र आदेश पर्चा तथा सोही मितिको आयकर निर्धारण आदेश समेत उत्प्रेषणको आदेश जारी गरी बदर गरी परमादेश समेत जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् ।
२. निवेदक करदाताको आ.व.१९७७ अप्रील, जुनको खुद आय र कर निर्धारण पुनः गर्ने सम्बन्धमा यस कार्यालयबाट निजको रेष्टुराँँ एण्ड बारको हिसाब किताब समेत जाँचबुझ भइसकेको र आवश्यक बयान आदि समेत लिइसकेको फायल साथ संलग्न रहेको बयानबाट स्पष्ट हुन आउँछ । उक्त आ.व.को कारोबारबाट के कति खुद मुनाफा आर्जन गरेको होला भनी अध्ययन गर्दा उक्त रेष्टुराँँको हिसाब किताब जाँच गरी बयान गराउँदा अधिकांश बिल भरपाइहरू पेश गर्न नसक्ने भई कुनै कुनै विल भर्पाई सन्तोषजनक नदेखिने भएको साथै खर्चको रकमहरू लेखाको सिद्धान्त अनुरूप श्रेस्ता नरहेको जस्तै स्टक एकाउण्ट प्रस्तुत गर्न नसकी यति नै स्टक हो भन्ने आधार नभएकोबाट नाफामा प्रत्यक्ष असर पर्न जाने स्पष्ट भएको नाफा नोक्सान हिसाबमा पूँजीगत सामान समेत समावेश भएको आदि कारणबाट आयकर ऐन, २०३१ (संशोधनसहित) को दफा ३३(२) बमोजिम खुद आय कायम गरी सो को करदातालाई समेत सूचना गर्दा कुनै प्रतिक्रिया नजनाएको करदाता स्वयमले यस कार्यालयबाट कानूनबमोजिम दिइएको सूचनामा मञ्जूरी जनाई उक्त हिसाब किताबमा भएको त्रुटिलाई स्वीकारेको स्पष्ट छ । अतः यस रेष्टुराँको कारोबार सम्बन्धमा कर निरीक्षकबाट कर पेश हुन आएको तथ्य पूर्ण गोप्य प्रतिवेदन समेतको आधार लिई करदाताको आ.व.१९७७ अप्रील देखि जुन तक तीनमहीनाको बिक्री रू.८१,०००। मानी उक्त बिक्रीमा यस्तै यस्तै कारोबार गर्ने अन्य करदातालाई कायम गरेको प्रतिशत समेत विचार गरी आयकर ऐन, २०३१ (संशोधनसहित) को दफा ३३(२) बमोजिम श्री आयकर फछ्र्यौट आयोगको प्रत्यायोजित अधिकार अनुसार उक्त आ.व.१९७६।७७ अप्रील, जुनको लागि रू.१७,०१०। रेष्टुराँ एण्ड बार तर्फको लागि कुल आय कायम गर्ने साथै उक्त बारको प्रो.को पारिश्रमिक बापतको रू.१५६७०। समेत जम्मा रू.३२,६८०। खुद आय कायम गरी कर निर्धारण गरी पठाउने गरी यो पर्चा खडा गरी दियौं भनी मिति ०३७।११।३० को कर कार्यालय काठमाडौंको पुनः आयकर निर्धारण गरेको निर्णय रहेछ ।
३. निवेदकको रेष्टुराँ“ एण्ड बारको आ.व.१९७७–७८ जुलाई जुनको आय विवरण पेश गरी उक्त बारको १९७७ अप्रील देखि १९७८ जुलाई सम्मको जम्मा १६ महीनाको हिसाबहरू विपक्षीकोमा पेश गरेको र आवश्यक निरीक्षण गरी मैले सो हिसाब किताब बापत सफाई पाई उक्त १६ महीनाको विपक्षीबाट ०३५।१०।१२ मा एउटै निर्णयबाट आयकर निर्धारण भई सो निर्णयमा चित्त नबुझी मैले राजस्व न्यायाधीकरण काठमाडौंमा पुनरावेदन गरेकोमा १९६७–७७ अप्रील देखि जुन तक ३ महीनाको र १९७७।७८ जुलाई देखि जुलाई तक १३ महीनाको छुट्टा–छुट्टै पर्चा गर्नु पर्नेमा एउटै पर्चाबाट दुवै आ.व.को खुद आय निश्चित गरेको सो गर्दा दुवै आ.व.को लागि एउटै सामुहिक निवेदकको बयान मात्र देखियो । पेश गरेको हिसाब किताबलाई मान्यता नदिई कर निरीक्षकको गोप्य प्रतिवेदनमा हचुवा किसिमको एकमुष्ट बिक्री अंक देखाएको प्रतिवेदनलाई तथ्यपूर्णको संज्ञा दिन नमिल्ने भनी मिति ०३७।६।९।५ को फैसलाले ०३५।१०।१८ को कर कार्यालय काठमाडौंको आयकर निर्धारण आदेश बदर गरी पुनः कर निर्धारणको लागि विपक्षीकहाँ पठाइएको मा निवेदकसँग कुनै सम्पर्क नराखी कुनै थप सबूत प्रमाण समेत नबुझी आयकर ऐन, २०३१ को दफा ३३(२) र ३३(३) तथा दफा ५८ समेतको वर्खिलाप अघि गरिएको कारवाही तथा पर्चा आदेश बमोजिम ०३५।१०।१२ को निर्णय सम्पूर्ण अघि लिएकै आधारमा अघि कायम गरिएको खुद आयकर रकमलाई नै यथावत पुनः कायम गरी मिति ०३७।११।३० मा पर्चा गरियो । जुन पुनरावेदन फैसला र आयकर ऐन, ०३१ को दफा ३३(२) ३३(३) दफा ५८ र दफा ३३(४) समेत बर्खिलाफ छ । निवेदकले आय विवरण पेश गरेछ र त्यस्तो नाफा नोक्सान तथा वासलात समेतलाई विपक्षीले झुठ्ठा भन्ने तथा ठहर समेत गर्न सकेको छैन । आयकर ऐनको प्रयोजनको लागि कस्तो लेखा अमान्य नहुने भन्ने सम्बन्धमा ऐनको खण्ड ५८ मा व्यवस्था भएको अवस्थामा दफा ३३(२) मा उल्लिखित पूर्व व्यवस्था प्रस्तुत केशमा विद्यमान छैन साथै दफा ३३(३) ले हिसाब किताबकै आधारमा खुद आय निश्चित गर्न विपक्षीलाई कानूनले बाध्य गरेकोमा सो नगरी न्यायोचित अनुमानको संज्ञा दिई गरिएको उक्त पर्चा गैरकानूनी र बदरभागी छ । निवेदकको यो आ.व.तथा आ.व.१९७७।७८ अवधिको कर निरीक्षकले मिति ०३५।१०।९ मा एउटै प्रतिवेदन दिएको र सो प्रतिवेदन सम्बन्धमा कर निरीक्षकको गोप्य प्रतिवेदनमा पनि स्टक खरीद बिक्रीको कुनै अंक नखुलाई हचुवा किसिमको एकमुष्ट बिक्री अंक देखाएको प्रतिवेदनलाई तथ्यपूर्णको संज्ञा दिन समेत नमिल्ने भनी निवेदककै आ.व.१९७७।७८ को पुनरावेदनमा मिति ०३७।६।९ को फैसलामा राजस्व न्यायाधीकरण काठमाडौंले फैसला गरिसकेकोमा पुनः कर निर्धारण गर्न सोही प्रतिवेदनलाई आधार लिई गरेको निर्णय पर्चा बदरभागी छ । अतः विपक्षी कर अधिकृतज्यूको मिति ०३७।११।३० को आ.व.१९७६।७७ (अप्रील जुन) को निर्णय प्रत्यक्ष कानूनी त्रुटिपूर्ण तथा गैरकानूनी टिप्पणीं आदेश पर्चा तथा आयकर निर्धारण आदेश समेतले नेपालको संविधानद्वारा प्रदत्त एवं संरक्षत समानता तथा सम्पत्ति सम्बन्धी मौलिक हकबाट निवेदक वञ्चित भई विपक्षीको मिति ०३७।११।३० को टिप्पणीं र आदेश पर्चा तथा सोही मितिको आयकर निर्धारण आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकले पेश गरेको हिसाब किताबकै आधारमा खुद आय निश्चित गरी कर निर्धारण गर्न परमादेश समेत जारी गरी हक प्रचलन गरिपाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन माग दावी रहेछ ।
४. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भनी यस अदालतको मिति ०३८।३।१७।४ को सिंगल बेञ्चको आदेश रहेछ ।
५. आयकर ऐन, ०३१ (संशोधन सहित) को दफा ४९ को उपदफा ५ बमोजिम श्री ५ को सरकारले तोकेको लेखाको तरीका सम्बन्धी नेपाल राजपत्रमा मिति ०३४।५।२० मा प्रकाशित सूचना अनुसार हिसाब किताबमा परीक्षण गर्दा धेरै त्रुटि भएको देखिँदा लेखालाई मान्यता नदिई न्यायोचित अनुमानको आधारमा आय र कर निर्धारण गर्न सक्ने पूर्वावस्था विद्यमान हुन आएको र ऐनको दफा ३३(४) र ३३(५) को कार्यविधि पुरा गरी न्यायोचित अनुमानको आधार लिई मूल बिक्री अंक रू.८१,०००। मा ७९ प्रतिशतले रू.६३,९९०। खर्च कट्टा गरी बाँकी २१ प्रतिशतले रू.१७०१०। साथै प्रो.को पारिश्रमिक बापतको रू.१५,६७०। समेत जम्मा रू.३२,६८०। मात्र खुद आय कायम गरिएको कानूनबमोजिम नै हुँदा निवेदकको आयकर र कर निर्धारण कानून अनुरूप न्योचित आधारमा गरिएको र अधिकार प्राप्त अधिकारीले कानूनबमोजिम गरिएको निर्णय पर्चा आदेशले निवेदकको कुनै हक हनन् नहुँदा रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने कर कार्यालय काठमाडौंको लिखितजवाफ ।
६. आजको दैनिक पेशी सुचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया र विपक्षी तर्फबाट विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायको बहस जिकिर सुनियो यसमा निवेदकको मागबमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ त्यसतर्फ हेर्न पर्ने हुन आएको छ ।
७. यसमा ०३५।१०।१२ मा आय कायम गरी गरेको कर निर्धारणको आदेश राजस्व न्यायाधीकरणबाट ०३७।६।९।५ मा बदर भई पुनः आय कायम गरी कर निर्धारण गर्ने गरी ०३७।११।३० मा आदेश भएको देखिन्छ । निवेदकले पेश गरेको हिसाब किताबलाई अमान्य घोषित नगरी अघिकै ०३५।१०।१२ को निर्णयमा लिएका आधारलाई पुनः आधार बनाई हचुवा किसिमले आय कायम गरी कर निर्धारण गरेको त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त पुनः आय कायम गरी कर निर्धारण गरेको मिति ०३७।११।३० को निर्णय बदर हुने ठहर्छ । यस्मा कानूनबमोजिम पुनः आय कायम गरी कर निर्धारण गर्नु भनी कर अधिकृत कर कार्यालय काठमाडौंको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
८. प्रस्तुत केशमा राजस्व न्यायाधीकरणबाट २०३५।१०।१२ को कर निर्धारण ०३७।६।९ मा बदर भएपछि पुनः आय र कर निर्धारण गर्न सम्बन्धित पक्षलाई राखी निर्णय गरेको देखिएन साथै ०३५।१०।१२ मा जे जति रकम निर्धारण भएको थियो सोही रकम रू.१७०१०।– पनुः कायम पनि गरिएकोबाट कानूनले निर्धारित गरेको प्रक्रिया नअपनाई रीतसम्म पुर्याउने उद्देश्यले ०३७।११।३० मा पर्चा सम्म खडा गरेको हुँदा राजस्व न्यायाधीकरणबाट बदर गर्ने गरेको निर्णय निरर्थक हुन गएको छ । तसर्थ पक्षलाई समेत उपस्थित गराई प्रतिवादको मौका दिई निर्णय गर्नु पर्नेमा नगरेको हुँदा कर अधिकृतको ०३७।११।३० को निर्णय बदर हुन्छ । यसरी कर अधिकृतको उक्त निर्णय बदर र कानूनबमोजिम पुनः आय कायम गरी कर निर्धारण गर्ने सम्बन्धमा सहयोगी माननीय न्यायाधीशज्यूको रायसँग सहमति भएको हुँदा कानूनबमोजिम गर्नु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०३८ साल माघ १ गते रोज ५ शुभम् ।