निर्णय नं. १५१८ - अंश

निर्णय नं. १५१८ ने.का.प. २०३८ अङ्क ११
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३८ सालको दे.पु.नं. १९०।१९२
फैसला भएको मिति : ०३८।१०।६ मा
वादी : का.जि. का.न.पं. वार्ड नं. ३ लगन टोल बस्ने धनमाया शाक्यनी
विरुद्ध
प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २१ लगन टोल बस्ने पूर्णरत्न शाक्य
मुद्दा : अंश
(१) बण्डापत्र मध्येको घर रू.१९९९।– मा ०२२।७।२५ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेको शारदादेवी मानन्धरनीलाई रू.१०,००१।– मा ०२९।७।१८ मा रजिष्ट्रेशन पास गरी घर भोगबन्धकीमा दिएकोमा वादी स्वयम साक्षी बसेको देखिन्छ । सो अनुसार खरीद बिक्री बन्धकी व्यवहार गरे भएको होइन भनी वादीले भन्न सकेको छैन । अंशबण्डा नहुँदै अंश लाग्ने घर हकै टुटिने गरी व्यवहार मिलाउन बिक्री व्यवहार भए गरेको होला भन्ने सम्झन मिल्ने अवस्था देखिँदैन, व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रष्ट देखिन आएको हुनाले अंशबण्डा गरिरहन पर्ने अवस्था नहुने ।
(प्रकरण नं. १४)
वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लिखित मुद्दा :
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दुवै पक्षको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३८।२।१ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ ।
२. ससुरा दानमुनीको छोरा जेठा पूर्णरत्न माहिल सुवर्णलक्ष्मीको पति मोतीरत्न कान्छा मेरा पति वीरबर सिंह सासू ससुरा अघि नै र मोतीरत्न ०२२ सालमा पति ०२९ सालमा परलोक भएको रीतपूर्वक अंश गरौं भन्दा गरी नदिएकोले ३ भागमा पतिको १ भाग मलाई दिलाई पाउँ भन्ने समेत धनमायाको फिरादपत्र ।
३. म र भाइ मोतीरत्न वीरबर सिंह चल सम्पत्ति ३ भाग गरी हातैमा बुझी लिई जग्गा अबण्डा राखी लगनको पुर्खौली घर ३ भाग गरी मिति ०१०।४।१९ मा बण्डापत्र भएको पास हुन सकेन तापनि आ–आफ्ना भाग आफूहरूले भोगचलन गरी आई मेरो भाग घर वादीको लोग्नेलाई राजीनामा गरी दिएको छु । अबण्डा जग्गा बण्डा भएमा मञ्जूर छ भन्ने समेत प्र.पूर्णरत्नको प्रतिउत्तर ।
४. २०१०।४।१९ मा घरसारमा बण्डापत्र भई जग्गा अबण्डा रहेको आ–आफ्नो घर आफूहरूले भोगचलन गरी आएको पूर्णरत्नको भाग घर वादीको लोग्ने वीरबर सिंले २०२०।४।७ मा राजीनामा गराई लिई वादी साक्षी राखी वीरबर सिंहले मेरा पति मोतीरत्नलाई ०२२।७।२५ मा राजीनामा लिखित पास गरी दिएको बाँकी घर वादी स्वयमले मेरो एकलौटी हकभोगको भनी शारदादेवी मानन्धरलाई ०२९।७।१८ गते बन्धकी पास गरी दिएको समेत छ अंशबण्डा नभएको भए उपरोक्त व्यवहार हुनु नपर्ने समेत हुँदा वादी दावी अनुसार अंशबण्डा गरी दिन पर्ने होइन भन्ने समेत सुवर्णलक्ष्मीको प्रतिउत्तरपत्र ।
५. सुवर्णलक्ष्मीबाट पेश भएको सक्कल लिखतहरू वादीलाई सुनाउँदा उक्त लिखतहरू कानूनी मान्यता नहुने हुँदा केही भनी रहनु नपर्ने भन्ने समेत वादीको वारेस ईश्वरलालको ०३०।१०।२२ को बयान ।
६. पाखो पोखलड्याङको घर पूर्खाको पालाको नभई पछि मोतीरत्नले खरीद गरेको भन्ने वादी लेखबाट देखिनाले समेत उक्त लेखिएबमोजिम वादी आफू र आफ्ना पतिले राजीनामा बिक्री गरी सकेको उपरोक्त घर पुनः अंश बापत पाउँछ र ऋण बण्डा हुने भन्न उचित नपर्ने अरू तायदातीबाट देखिएको जग्गा ३ भागमा १ भाग वादीले अंश पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३३।६।६ को फैसला ।
७. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी धनमाया शाक्य तथा प्रतिवादी पूर्णरत्न शाक्यको पुनरावेदन ।
८. शुरूले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।२।२८ को फैसला ।
९. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी धनमाया शाक्य र प्रतिवादी पूर्णरत्न शाक्यको निवेदन परेकोमा माना छुट्टिएको मिति ०३०।४।१६ गते कायम गरी तायदाती माग गरिएकोमा वादी र प्रतिवादीहरूका बीच मिति २०१०।४।२९ गते भएको घरायसी बण्डापत्रको आधार लिँदै केही सम्पत्तिमा मात्र वादी धनमायाले बण्डा पाउने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा मुलुकी ऐन अंशबण्डाको १,२,१८ तथा ३० नं. समेतको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।२।१ को आदेश ।
१०. वादी पुनरावेदक धनमाया शाक्य प्रतिवादी पुनरावेदक पूर्णरत्न शाक्य तथा झिकाइएका प्रतिवादी सुवर्णलक्ष्मी शाक्यको वारेस प्रेमबहादुर के.शी.रोहवरमा रही पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल प्रतिवादी पुनरावेदक पूर्णरत्न तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र प्रतिवादी सुवर्णलक्ष्मी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो।
११. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. यसमा निर्णयतर्फ हेर्दा घर बण्डा हुने भन्न उचित नपर्ने तायदातीबाट देखिएको जग्गा ३ भागमा १ भाग वादीले अंश पाउने ठहर्छ भनी शुरूले गरेको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको देखिन्छ ।
१३. अंशबण्डाको ३० नं. मा अंशबण्डा गर्दा साक्षी राखी कानूनबमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशन गर्नु पर्नेमा सो गरी राख्नु पर्छ सो बमोजिम नभएको बण्डा सदर हुँदैन तर यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भागशान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराइसकेकोमा बण्डा बमोजिम आफ्नो–आफ्नो भागको अचल छुट्टा–छुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने समेत उल्लेख भएको पाइन्छ ।
१४. प्रस्तुत मुद्दामा प्रतिवादीहरूले वादीका लोग्ने छँदै घरसारमा २०१०।४।१९ मा अंशबण्डा भइसकेकोले अंश दिनु पर्ने होइन भनी बण्डापत्रको नक्कल पेश गरेको देखिन्छ । सो बडापत्रमा विर्ता गुठी साहुआसामी हामी ३ जनाले ३ भाग लगाई आयस्ता व्याज गुठी समेत बराबरका दरले लिने खाने तिर्ने गरी हाल अबण्डा राखी अरू श्रीसम्पत्ति धन माल नगदी जिन्सी सुन, चा“दी हाँडो भाँडो लताकपडा भए जति १,१ भाग बुझी लिई दिइसकेको बाँकी अचल स्वबासी लगन टोलको घर ३ बण्डा गरेको भन्ने उल्लेख भएको पाइन्छ । त्यसरी बण्डा गरेको घरमध्येको घर प्रतिवादी मध्येका पूर्णरत्नले वादीका लोग्ने वीरवर सिंह भनेको कान्छा शाक्यलाई रू.२७००।– मा २०२०।४।७ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेकोमा प्रतिवादी सुवर्णलक्ष्मीको लाग्ने मोतिरत्न शाक्य साक्षी बसेको देखिन्छ । वादीका लोग्ने वीरबर सिंह शाक्यले प्रतिवादी सुवर्णलक्ष्मीका लोग्ने मोतिरत्नलाई सोही बण्डापत्र मध्येको घरसारमा रू.१९९९। मा ०२२।७।२५ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेको र शारदादेवी मानन्धरनीलाई रू.१०,००१।– मा ०२९।७।१८ मा रजिष्ट्रेशन पास गरी घर भोगबन्धकीमा दिएकोमा वादी स्वयम साक्षी बसेको देखिन्छ । सो अनुसार खरीद बिक्री बन्धकी व्यवहार गरे भएको होइन भनी वादीले भन्न सकेको छैन । सो व्यवहार घर व्यवहार मिलाउन सम्म गरिएको हो भनी वादीले शुरू उपर गरेको पुनरावेदनमा उल्लेख गरेको छ । त्यसरी व्यवहार मिलाउन गरिएको हो कि भन्न अंशबण्डा नहुँदै अंश लाग्ने घर हकै टुटिने गरी व्यवहार मिलाउन बिक्री व्यवहार भए गरेको होला भन्न सम्झन मिल्ने अवस्था देखिँदैन । तसर्थ उपरोक्त उल्लेख भए अनुसार व्यवहार प्रमाणबाट मिति २०१०।४।१९ मा अंशबण्डा भएको भन्ने प्रष्ट देखिन आएको हुनाले अंशबण्डा गरी रहन पर्ने अवस्था नहुँदा अंश पाउँ भनी वादीले प्रतिवादीहरू उपर झुठ्ठा उजूर गरेको ठहर्छ ।
१५. शुरू काठमाडौं जिल्ला अदालतले अरू तायदातीबाट देखिएको जग्गा ३ भागमा १ भाग वादीले अंश पाउने ठहराएको सदर गरेको सम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेन । तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरूको का.जि.अ.का.०३३।६।६को फै.र ०३३।७।२५ को ल.ले प्रतिवादीहरू बाट जनही रू.५२।५५ को दरले लिने गरेको कोर्टफी निजहरू लाई नलाग्ने भएकोले सो कोर्टफी वादीबाट भराई पाउँ भनी वादीको जायजात देखाई ऐनका म्यादभित्र प्रतिवादीहरूका दरखास्त परे दस्तुर केही नलिई प्रतिवादीहरू लाई देहायबमोजिम भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा गलत दिनु ................. १
प्रतिवादीले पूर्णरत्न शाक्य के रू............ ५२।५५
प्रतिवादी सुवर्णलक्ष्मी शाक्य के रू.......... ५२।५५
वादी धनमायाले फिराद गर्दा राखेको कोर्टफी रू.२५।– अरू दस्तु रू.२।१० समेत जम्मा रू.२७।१० का.जि.अ.का ०३३।६।६का फै.र ०३३।७।२५ का.ल.ले प्रतिवादीहरू बाट वादीलाई भराई दिने गरेकोमा माथि लेखिएबमोजिम भई भरी भराउ गरी रहन परेन व्यहोरा जनाई लगत काटी दिनु भनी ऐ.ऐ ......................१
वादी धनमायाले का.जि.अ.का ३३।६६का फै.र ०३३।७।२५ का ल.ले निम्न लिखित कित्ता जग्गामा ३ खण्डको १ खण्ड अंशबण्डा छुट्याई दिने गरेकोमा सो बमोजिम गर्नु परेन सो लगत काटी दिनु भनी ऐ.ऐ .....................१
काठमाडौं कालिमाटी आ.गा.पं वार्ड नं. ९ भएको पूर्व गोरेटो बाटो पश्चिम मूल सडक उत्तर धनचाको घर दक्षिण छम्पाको जग्गा यति ४ किल्ला भित्रका कि.नं. २२७ को । जग्गा चिनीमाया उदाशनीसँग किनेको ५०००। मोलिने जग्गा धान पाथि ।३।२ पाउन जग्गा धनस् हक मैले ऋण सापट लिई किनी मोही बुद्धिनाथले ०३१।९।१० मा मोही हक छाडी दिई ०३२ बैशाख देखि सो जग्गामा ऋण झिकी पक्कीघर बनाउन शुरू गरी रहको घर बनाएको नालेस परेपछिको हुँदा घरको विवरण नपर्ने जग्गा कित्ता ....................१
पूर्व सानु कान्छाको जग्गा पश्चिम बागमती जाने बाटो उत्तर ढल दक्षिण जुजुभाइको जग्गा यति ४ किल्ला भित्रको को.त.का.मा तिरो रू.२१।२७ लागेको का.न.पं.वार्ड नं. २ कि.नं. ७४।८४।८६।८७।१५९ को जम्मा रोपनी ६–७–० जग्गा मध्येले प्रोसी अस्पतालको लागि सरकारबाट लिई बाँकी जग्गा मोही सिद्धिमान भएको रू.१२००। जाने ज्ञानरत्न १ पुष्परत्न १ म पूर्णरत्न १ जुजुभाई १ समेत ४ भाग लाग्ने सो मध्ये म पूर्णरत्नको १ भाग मात्र विपक्षी समेत हामी ३ जनाले वाडी खान पाउने रू.३००। पर्ने जग्गा कित्ता ....१
पूर्व जितबहादुरको जग्गा पश्चिम भाइचाको जग्गा उत्तर ढल दक्षिण सानु महर्जनको जग्गा यति ४ किल्ला भित्रको ऐ.मा तिरो रू.४।८८ तिर्नु पर्ने भाजख्वाट भन्ने जग्गाको मोही जितबहादुर महर्जन भएको रोपनी २ मोल रू.२०००। पर्ने ऐ.भागको १ भागबाट ऐ.ऐ.५००। पर्ने ऐ............... १
पूर्व ताहाचलको सडक पश्चिम देवबहादुरको जग्गा उत्तर राम बाजेको जग्गा दक्षिण इन्द्रकुमारीको जग्गा यति ४ किल्ला मित्रको टंकेश्वर पञ्चायत ताहाचल वार्ड नं. ७ ख.कि.नं. ८९।९०।९१ क्षेत्रफल जम्मा २–१–२ को मोही चित्रबहादुर अधिकारी क्षेत्री भएका ऐ.मा ऐ.रू.६।१० तिर्नु पर्ने रू.६००।– पर्ने ऐ.ऐ.४ भागमा १ भागबाट ऐ.रू.१५०।– पर्ने जग्गा ....................१
पूर्व हर्षबहादुर सुर्यमानले कमाएको जग्गा पश्चिम धर्मस्थली पञ्चायत अफिस जाने बाटो उत्तर ढिस्को दक्षिण माहीलाको जग्गा यति ४ किल्ला भित्रको ऐ.मा रू.६।७६ तिर्नु पर्ने धर्मस्थली वार्ड नं. ५ ख.कि.नं. ९ को ७ आना जग्गाको मोही हर्षबहादुर कसाई भएको कित्ता ऐ.ऐ.वार्ड नं. ५ (ख) कि.नं. ७ को रोपनी २–७–२ को कित्ता १ ऐ.ऐ.कि.नं. २९ रोपनी १–१–२ समेत जम्मा ४–५ जग्गा मोही हर्षबहादुर सुर्यमान भएको रू.१०००।– जाने ऐ.ऐ.४ भागको १ भागबाट ऐ.रू.२५०।– जाने ऐ.।
पूर्व रामको घर पश्चिम दानगा खोला उत्तर धवाचाको जग्गा दक्षिण कान्छा बाजेको जग्गा यति ४ किल्ला भित्रको कालिमाटी पञ्चायत वार्ड नं. ९ क.कि.नं. ३।१३२ साविक ३ रोपनीको ऐ.मा ऐ.रू.७।३२ लागेको खोला लेखाई हाल नापीमा रोपनी १–१४–० मोही पञ्चनारायण महर्जन भएको रू.३००।– जाने ऐ.४ भागको १ भागबाट ऐ.रू.७५।– पर्ने जग्गा ...................१
पूर्व गोपालको जग्गा पश्चिम सकिचाको जग्गा दक्षिण गोरेटो बाटो उत्तर कालुवाको जग्गा यति किल्ला भित्रको कालिमाटी पञ्चायत वडा नं. ९ कि.नं. ५ को जग्गा रोपनी १–८–० लहान् भन्ने जग्गा मोही नाती महर्जन भएको तिरो रू.३।६६ ऐ.मा ऐ.रू.४५०।– पर्ने ऐ.४ भागमा १ भागबाट ऐ.रू.११२।५० पर्ने ऐ......................... १
पूर्व स्वभा भगवतीको कम्पाउण्ड सहितको जग्गा पश्चिम ढिस्को उत्तर दक्षिण नातीचाको जग्गा यति ४ किल्ला भित्रको डल्लो गा.पं.वार्ड नं. ९(क) कि.नं. २७८ चमुल लख तिर्थ जम्मा रोपनी २।।को तिरो रू.७।५३ ऐ.मा बुझाउनु पर्ने मोही अष्टमान महर्जन भएको रू.२०००। जाने रू.ऐ.४ भागको १ भागबाट ऐ.रू.५००। जाने ऐ...........................१
पूर्व मोहन लालको जग्गा पश्चिम ठाकुरप्रसादको जग्गा उत्तर नेपटेको जग्गा दक्षिण कान्छा खड्गीको जग्गा यति ४ किल्ला भित्रको कपन पञ्चायत वार्ड नं. ८(ख) कि.नं. ४९ साविक ६।।।को तिरो रू.११।७३ मध्ये हाल नाप भएको ५–९ जोताहा सानु कान्छा लामा जग्गा धनी खाली भन्ने लेखिएको मध्ये कप्र उदासनीको १–८ कटाई ४–१ को रू.३००।– पर्ने ऐ.४ भागको १ भागबाट ऐ.रू.७५।– पर्ने जग्गा ऐ.। .................१
पूर्व रामको जग्गा उत्तर हर्ष तामाङकी जग्गा दक्षिण गोरेटो बाटो पश्चिम बाटो यति ४ किल्ला भित्रको बालाजु मौजा बखुंडोल साविक रोपनी २।६।३ को हाल नापीमा मोही रत्न कुवर भएको बालाजु पञ्चायत वडा नं. ४ कि.नं. ७४ को ०–८–३ को रू.८०।– पर्ने ऐ.४ भागमा १ भागबाट ऐ.रू.२०।– पर्ने ऐ........................१
सितापाइला पञ्चायत इखाडोको जग्गा रोपनी २।।। मध्ये एन.सि.सि.कम्पनीले लिएको जग्गाको बागमतीको अञ्चलाधिश कार्यालयबाट ज्ञानरत्न समेत ४ जनाले पाउने रू.४२०००।– मा त्यसको ४ खण्डको १ खण्ड हामी ३ जना वादी प्रतिवादीले पाउने रू.१०५०।– रुपैयाँ .................१
प्रतिवादी पूर्णरत्न शाक्य के निजले शुरू का.जि.अ.उपर पुनरावेदन गर्दा कोर्टफी रू.१२।५० अरू दस्तुर रू.१।५ समेत जम्मा रू.१३।५५ काठमाडौं जि.अ.मा ०३३।८।६ मा धरौट राखेको देखिएको सो धरौट धरौटी भरी भराउ गर्नु नपर्ने भएकोले प्र.पूर्णरत्नको फिर्ता पाउँ भन्ने ऐनका म्यादभित्र दरखास्त परे दस्तुर केही नलिई सो धरौटी रू.१३।५५ प्रतिवादी पूर्णरत्नलाई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु ।
मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमती छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३८ साल माघ ६ गते रोज ३ शुभम् ।