शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५२१ - कर्तव्य ज्यान

भाग: २३ साल: २०३८ महिना: चैत्र अंक: १२

निर्णय नं. १५२१ ने.का.प. २०३८             अङ्क १२

फुल बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३८ सालको फौ.फु.नं. ११

फैसला भएको मिति : २०३८।१२।३१ मा

निवेदक   : तमोरखोला रखानु गा.पं.सुनसावु घर भई हाल इलाम कारगारमा थुना परी बस्ने मनिराज लिम्बूको हकमा संजयराज लिम्बू

विरुद्ध

विपक्षी    : पद्मलालको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)  मुचुल्कामा घाउमा किरा परेको भन्ने भनाई लेख हुँदा त्यस्तो सडेगलेको किरा परेको घाउ के कस्तो प्रकार के बाट भएको हो यकिन रूपले भन्न सकिँदैन । गर्मिको मौसम देखिन्छ, त्यस्तो अवस्थामा सडेगलेको र किरा समेत परेको लाशमा निलडाम र घाउ छुट्याउन सक्ने अवस्था नहुँदा उक्त लासजाँच मुचुल्का शंकायुक्त भई अदालतले भर गर्ने स्थितिको छैन ।

(प्रकरण नं. २७)

(२)  लबेदा शुरूवालमा लागेको रगतको रासायनिक जाँचको अभावमा केवल अनुमान र शंका लिई प्रहरीमा भएको प्र.साविती स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म प्र.मनिराजले कालिमा लिम्बुनीलाई मारेको भनी दोषी ठहराउन मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्र.ले सफाई पाउने ठहर्छ ।

(प्रकरण नं. २८)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट :   

उल्लिखित मुद्दा :   

फैसला

          न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०२९।८।१२।२ मा भएको निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदन परेकोमा श्री ५ महाराजाधिराजबाट यसमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहर्‍याई दिनु भन्ने हुकुम बक्स भई मुद्दा दोहर्‍याई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.   मुद्दाको तथ्य तथा संक्षिप्त विवरण यस प्रकार छ : ०२८।५।१० गतेको दिन ६ बजे गोठमा जाँदा १ काँधमा मुनी कोष्चोमा मेरै सहोदर दिदी कालिमा कर्तव्य भई मरेको देखेँ निजलाई मार्न पर्ने सम्मको रिसइवी भएका मनिराज लिम्बू भई मोहियानी हक सम्बन्धमा खिचोला इवी परिरहेको र मर्ने दिन मेरो भाइ धनबहादुरसँग दिदी खोई भनी सोध्दा गोठमा गएको छ भनी केही नभनी गएकोले निज मनिराजले नै दिदीलाई कर्तव्य गरी मारेको शंका लाग्छ निज उपर कानूनी कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको पदमलाल लिम्बूले ०२८।५।११ गते जि.प्र.ई.का.लुङथुङमा दिएको जाहेरी दरखास्त ।

          ३.   सेरबहादुरले ०२६ सालमा पद्मलाललाई लप्सिबोटे भन्ने ठाउँको रैकर जग्गा धुरी पूर्जि गरिदिएको थियो सोही सालमा केदारजङले पद्ममलालबाट रुपैयाँ नदिई राजीनामा पास गराउँछन् मैले उजूर गर भन्दा मान्दैनन् सोही जग्गा केदारजङबाट मेरो श्रीमती मखर मोतीको नाउँमा रू.१२००। मा राजीनामा गराई लिएको थिएँ । ०२८।५।७ का दिन सदस्य नन्दलाल समेत ऐ.पद्मलालको घर गई सो कुरा बताई अब मोहियानी हक छोडपत्र गरी दिन्छौ कि अधिया कमाई खान्छौ भनी पद्मलालको सानिमा र बजैहरू लाई भन्दा केदारजङलाई सोध्नुपर्छ मात्र भने ऐ.भाद्र ८ गते पद्मलालको दिदी मृतक कालिमा केदारजङको घरमा गएकी रुपैयाँ फिर्ता दिनुहवस मोहियानी हक छोडपत्र गराई दिनु हवस भनी कुरा गर्दा पदमलाल समेत भेला भई निज पदमलालकै घरमा बसी कुरा मिलायांै त्यसपछि म लगायत सेरबहादुर, ज्ञानबहादुर, जितबहादुर समेत भई भरतबहादुरको घर गई जाँड खाई रातको १० बजेपछि निजहरू लाई मेरो घर लगी अरू डेढ २ बजे खाना खाई आफ्नो घर गएपछि म लगतै मृतक कालिमा लिम्बूनीको गोठतर्फ लागेँ निज गोठमा गएको कुरा निजकै भाइ धनबहादुरबाट दिउँसै थाहा पाएको थिएँ, मलाई निजको गोठमा पुग्नु अन्दाजी १० मिनेट लाग्यो होला सो गोठमा पुग्दा कालिमा मस्त निद्रामा सुतेकी रहेछ । मैले उसको चुल्ठो तान्न लाग्दा बिउँझेर के गरेको दाजु भन्दा गोठको माटा समाती मैले जोडसँग तान्दा उसको हात फुस्केछ तान्दै भिरालो ठाउँमा पुगेपछी मैले उसलाई २। बक्सिङ कन्चट र नाकमा हिर्काउँदा गुहार, मार्‍यो भनी चिच्याई मैले त्यसपछि पछाडिबाट जोडसँग गलहत्याई डिल मुनी धकेल्दा तलतिर कोप्चो परेको ठाउँमा घोप्टो परी लडे र मैले रीसले केही देख्न नसकी उत्तानो परिरहेको बेला एउटा ठूलो ढुंगा २ हातले उठाई कालिमाको टाउकोमा जोडसँग बजार्दा मरिछ र कसैले देख्लान् भन्ने ठानी तुर्णबहादुर, लालबहादुरहरूको गोठ नगिचबाट भागी गएको हुँ म घर आई पुग्दा अं.३ १/, ४ बजेको थियोहोला घर पुगेँ, फ्नो श्रीमतीसँग सुतेँ । श्रीमतीले किन ढिलो आउनु भयो भन्दा साथीहरू लाई घर पुर्‍याउँदा ढिलो भयो भनी बताएँ केदारजङले पास गरिदिएको कुरा पनि दिएको छैन भनेको छ भनी ढाँटेकोले रिस थाम्न नसकी मारेको हुँ भन्ने समेत व्यहोराको मनिराज लिम्बुको ०२८।५।१४ को डोरमा गरेको कागज ।

          ४.   हामी आफ्नोफ्नो गोठमा सुतेको बखत कालिमाको गोठतर्फ कराएको सुनेँ, जाँदा खाप्चे भन्ने मनिराज भागेको देखेको हो निजले मारेको शंका लाग्छ भन्ने समेत लालबहादुर, तुर्णबहादुरको ०२८।५।१४ को मुचुल्का ।

          ५.  ०२८।५।२९ को रात म घरमा थिएँ शेरबहादुर, जितबहादुर, ज्ञानबहादुर समेतलाई भात पकाई खुवाई आफ्नो घरमा गएँ, मेरा लोग्ने मनिराज पनि गएका थिए तर कहाँ गए थाहा भएन लोग्ने फर्की आएपछि राति कहाँबाट आउनु भयो भनी सोध्दा साथीहरू लाई पुर्‍याई आएँ भनी मसँग सुत्नु भएको हो कालिमालाई कसले मार्‍यो थाहा छैन भन्ने समेत मखर मोतीको ०२८।५।१८ को कागज ।

          ६.   हाम्रो छोरी कालिमालाई मानुपर्ने रिसइवी अरूसँग नभई छोरीसँग जग्गा सम्बन्धमा रिसइवी परेकाले निज मनिराजले कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको ०२८।५।१८ को तुस्याहाङसँग रानीहरूको कागज ।

          ७.  मनिराजको साथ हामीहरू भाद्र ९ गते भात खाई आफ्नो घरतर्फ गएका हौं, रिसइवीबाट निज मनिराजले कालिमालाई कर्तव्य गरी मारेको लाग्छ भन्ने समेत व्यहोराको ०२८।५।१८ को शेरबहादुर समेतको कागज ।

          ८.   दिदी कालिमासँग भएको जग्गाको सम्बन्धमा मनिराजको इवी परेकोले निज मनिराजले नै मार्‍यो होला भन्ने समेत व्यहोराको ०२८।५।१८ को डम्बरबहादुरको कागज ।

          ९.   मनिराजसँग जग्गाबारे रीस इवी परिरहेको बदमास किसिमको मानिस हुँदा कालिमालाई मनिराजले कर्तव्य गरी मारेको पूरा विश्वास लाग्छ भन्ने समेत व्यहोराको रत्नबहादुरको सोही मिलान समेत र विभिन्न किसिमको अरू व्यक्तिसमेतको ०२८।५।१९।७ को लासजाँच मुचुल्का ।

          १०.  दुर्गासमेत जिम्मा लिएको सोही मितिको नन्दलाल लिम्बूको भर्पाई कागज । बुझिए सम्मको अनुसन्धान कारवाईबाट कालिमालाई मनिराजले मारेको अभियोगमा ज्यान सम्बन्धीको १३ नं. को दफा ३ अनुसार सर्वस्वसहित जन्मकैद हुने अभियोगमा प्रतिवादी मनिराज उपर मुद्दा चलाउने राय व्यक्त गरिएको भन्ने ०२८।५।२४ को संयुक्त प्रहरी प्रतिवेदन ।

          ११.  ०२८।५।९ गते विहान जग्गाको कुरामा केदारजङको घरमा म र नन्दलाल भन्ने कालिमाको भाइ पदमलाल समेत भई जग्गाको कुराकानी गरी भात खाई अं.१२ बजे फर्की २ बजेको समयमा पदमलालको घरमा आई कुराकानी गरी मबाट पदमलालले रू.३००। लिई मोहियानी छोडिदिने गरी कागज भयो र म र सेरबहादुर समेतका मानिस मेरो घरतर्फ जाँदा भक्तबहादुरको घरमा जाँड खाई बस्ता अं.१० ज्योर ४ जना मेरो घरमा गयो श्रीमतीलाई उठाई भात खुवाई सक्दा अं.२ बज्यो सेरबहादुर समेत घर गए, म आफ्नो ओछ्यानमा गई सुतेँ र विहान मात्र उठेको हो जग्गाको कुराबाट पदमलालसँग रिसइवी लिई राखेको थियो कालिमा लिम्बूनीलाई भालुले मारेजस्तो लाग्छ मेरो घरबाट कालिमा सुतेको गोठमा जान अं.आधा घण्टा जति लाग्छ खानतलासीबाट निस्केका दौराशुरूवाल मेरो हो लवेदाको बाउला मोहतामा लागेको रगत के को हो मलाई थाहा छैन शुरूवालका बाउला २ तर्फ लागेको रगत जुकाले टोकेबाट लागेको रगत हो जाहेरवालाले रीसले म उपर झुठ्ठा जाहेर गरेको र सर्जमिनका भनाईतर्फ डराएर किटानी शंका गरेको होलान् प्रहरीमा भएको कागजको हातको ल्याप्चे सहिछाप मेरो हो डरका मारे कालिमा लिम्बुनीलाई मैले मारेको भनी साविती कागज गरेको हो कालिमालाई मैले मारेको होइन भन्ने समेत व्यहोराको ०२८।५।२४ को मनिराज लिम्बूले अदालतमा गरेको बयान ।

          १२.  यसमा कालिमालाई मैले कर्तव्य गरी मारेको होइन भालुले मारे जस्तो लाग्छ भन्ने कुरा लिएर प्र.मनिराजले अदालतमा इन्कारी बयान गर्नुभएको छ तापनि सो कुरा सत्य भए अघि देखी नै सोही कुराको इन्कार लिनु र त्यस कुराको पक्का सबूत प्राप्त हुन आउनु पर्ने हो सो नभई मर्ने कालिमा समेतसँग जग्गा मोहियानी सम्बन्धमा रिसइवी भएको कुरा आफैंले स्वीकार गरी त्यसै रिसइवी पछि लागी घरबाट गई मात्र निन्द्रामा परेको बखत चुल्ठामा समाती तान्दै घिसारी बक्सीङ समेतले हानी मारेको हुँ भनी प्रहरी सहित संयुक्त डोरमा साविती कागज गरी दिनुभएको सो कागज डरको मारे गरेको हुँ भनी लेखेतर्फ ज्यान जस्ता कुरामा कसैले सास्ती सासना करकाप इत्यादि केही नगरी त्यस्तै डराउनु मारेको हुँ भनी साविती कागज गरिदिनु पर्ने अवस्था छैन बुझिएका घटनास्थलको नजिक पर्ने लालबहादुरले तुर्णबहादुरले र अरू सर्जमिनले पनि प्र.मनिराजले नै कर्तव्य गरी मारेको हो भन्ने पुष्टी गरी लेखेको पाइन्छ भालुले मारेको हो कि भन्नलाई सो कुरा अघिका कागजमा लेख्न नसकी बयानमा सम्म लेख्नु भएकोमा पनि तथ्य हो भनी किटानी नभई लेखेको नभई भालुले मारे जस्तो लाग्छ भन्ने समेत लेख्नु भएको छ । लासजाँच हेर्दा भालुले चिथोरे टोके फ्याँकेको घाखत प्रकृति मिल्न नआई मानिसकै कर्तव्यबाट मरेको घाखत चोट भन्ने कुरा निश्चित हुन आएको र बुझिएको साक्षी सर्जमिनले पनि भालुले टोके मारेको भन्ने कुरा नदेखाएको र लवेदाको रगत शुरूवालमा चाहीं जुकाले खाएको हो भनी लेख्नुभएकोले मर्ने कालिमाकै रगत रहेछ भन्ने प्रमाणित हुन आएको प्र.मनिराजको बयान समेत सत्यता देखिन नआई प्रहरी समक्ष साविती कागजलाई नै सबूत हुन आएको हुँदा जग्गा सम्बन्धको रिसइवी परेको कारणबाट रातमा सुती निद्रामा परेकी १ अवला नारी निज कालिमालाई प्र.मनिराजले कर्तव्य गरी मारेको ठहर्छ भन्ने समेत व्यहोराको ताप्लेजुङ जिल्ला अदालतको ०२८।८।२४ को जाहेरी फैसला ।

          १३.  सो फैसला उपर प्र.मनिराजको पुनरावेदन परी शुरूको फैसला मनासिव छ भन्ने समेतको मेची अञ्चल अदालतको फैसला ।

          १४.  मेची अञ्चल अदालतले गरेको फैसलामा चित्त बुझेन हक इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।

          १५.  कालिमा लिम्बूनीलाई मैले कुटपीट गरी ढुङ्गाले समेत हानी कर्तव्य गरी मारेको हुँ भनी प्रहरी साविती बयान गर्ने मनिराजले अदालतमा बयान गर्दा आफूले हाने कुटेमा इन्कारी गरी कालिमालाई भालुले मारे जस्तो लाग्छ भनी इन्कार गरेकोमा भालुले मारेको भन्ने कुरा कतैबाट देखिन नआएको कालिमाको शरीरमा पर्न गएको घाउ खत भनी लाशजाँच मुचुल्कामा देखिएको प्रकृतिबाट भालुले मारेको भन्न मिल्ने अवस्था देखिन नआएको कालिमालाई कुटी मारी आफूले लाएको लुगामा रगत समेत लागेको दशी समेत देखाई प्रहरीमा लेखाएको सो लुगामा लागेको रगततर्फ अदालतबाट सोधनी गर्दा दौरामा लागेको रगत यसको हो र यसरी लागेको भन्न नसकिने त्यसतर्फ मौन रहेको शुरूवालका बाहुलामा लागेको रगत जुकाले टोकेको भनी लेखाइएकोमा सो को सबूत र सो कुरा समर्थन हुन नआएको वारदात हुँदा मारे गुहार भनी कालिमाले कराउँदा खाचे मनिराजले कालिमालाई के भयो भनी गई हेर्दा मनिराज दौडी जान लागेको देखेँ भनी लालबहादुर र तुर्णबहादुरसमेतले लेखाएको समेतबाट मैले कर्तव्य गरी मारेको होइन भन्ने मनिराजको पुनरावेदन जिकिर साँचो देखिन आएन कर्तव्य गरी मारेमा सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहराई शुरू ताप्लेजुङ जिल्ला अदालतले छिनी जाहेर गरेको इन्साफ मनासिव ठहराई मेची अञ्चल अदालतले छिनेको इन्साफ मनासिव छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०२९।८।१२।२ को फैसला ।

          १६.  यसमा प्रतिवादी निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले कालिमा लिम्बुनी कर्तव्यबाट मरेको हो वा भवितव्यबाट मरेको हो सो छुट्याउनको लागि मृतक कालिमाको पोष्टमार्टम रिपोर्ट हुनुपर्दथ्यो, सो भएको छैन । कालिमा ०२८।५।९ गते कर्तव्यबाट मरेको भनी ऐ.११ गतेको दरखास्त छ तर लासको प्रकृती मुचुल्का ०२८।५।१९ गतेको छ । मौकाको लाशमुचुल्का नहुँदा ज्यान सम्बन्धी महलको २ नं. को विपरीत छ । लासप्रकृति मुचुल्का र सर्जमिनको बेग्ला बेग्लै कागज हुनुपर्नेमा सो दुवैको एउटै कागज भएको देखिँदा उक्त कुरा मिलेको छैन । चश्मदिद व्यक्ति तुर्णबहादुर लालबहादुरको भनाईमा एकरूपता नभई आपसमा बाझिएको छ । लालबहादुरले मनिराजलाई भाग्दै गएको देखेँ, सेतो लुगा लगाएको भन्छ तर अँधेरी रातको वारदात देखिँदा चिन्न सक्ने अवस्था छैन । बत्तिको प्रकाशमा देखेँ भन्दैन । खानतलासी, वारदातमा रगत लागेको लवेदा शुरूवाल सेतो नभई चारखाने छ । मेरो पक्षले अदालतमा कालिमा लिम्बुनीलाई कर्तव्य गरी मारेमा इन्कार रही लवेदा शुरूवालमा लागेको रगत जुगाले टोकी लागेको रगत भनेको छ । कपडामा लागेको रगतको जाँच हुन सकेको छैन । प्र.मनिराजले कालिमालाई कर्तव्य गरी मारेको अवस्थामा देख्ने व्यक्ति कोही छैनन् । लुगामा लागेको रगत नजचाएसम्म प्रमाणमा लिन सकिँदैन । अदालतमा बयान हुँदा प्र.मनिराजले कालिमालाई भालुले मारेको भनी लेखिदिएको छ पोष्टमार्टम रिपोर्ट हुनसकेको छैन मनिराजले कालिमालाई कर्तव्य गरी मारेको शंकारहित तरीकाले पुष्ट्याँई हुन सकेको छैन । अतएव मनिराज लिम्बूलाई ज्यान सम्बन्धी महलको १३(३) बमोजिम सजाय गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको समेत इन्साफ मिलेको छैन मेरो पक्षले सफाई पाउनुपर्छ भनी र विद्वान सरकारी अधिवक्ता श्री रमेश झाले मनिराज र मर्ने कालिमाका बीच रिसराग भएकोले प्रतिशोधको भावना लिई प्र.मनिराजले कालिमालाई मारेको हो भालुले खाएको प्रमाण छैन, लाशजाँच मुचुल्काबाट मर्ने कालिमाको जिउमा घाउ चोट देखिन्छ । दर्जा पुगेको मानिसबाट लाशजाँच मुचुल्का भएको छ, लालबहादुर र तुर्णबहादुरको भनाईमा खास फरक छैन । त्यसो हुँदा प्र.मनिराजलाई सर्वस्वसहित जन्मकैद हुने ठहराएको ताप्लेजुङ जि.अ.र मेची अञ्चल अदालतको इन्साफ मनासिव ठहराएको सर्वोच्च अदालत डिभिजनबेञ्को निर्णय मनासिव छ भनी बहस गर्नुभयो ।

          १७.  यसमा कालिमा लिम्बूनीलाई प्र.मनिराज लिम्बूले कर्तव्य गरी मारेमा सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको शुरू ताप्लेजुङ जि.अ.र मेची अञ्चल अदालतको इन्साफ मनासिव ठहराएको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मिलेको छ, छैन सो को निर्णय दिनुपर्ने हुन आयो ।

          १८.  आजलाई निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा कालिमा लिम्बुनी कर्तव्यबाट मरेको हो वा निजलाई भालुले मारेको हो सो कुरा छुट्याउन विशेषज्ञको राय भएको पोष्टमार्टम रिपोर्टको ठूलो भूमिका हुन्छ जसलाई अन्यथा प्रमाणित नभएमा अदालतले भर गर्नुपर्ने अवस्था हुन आउँछ । तर प्रस्तुत केशमा मौकैमा अर्थात् ०२८।५।१३ मा नै प्रहरी घटना स्थलमा पुगिसकेको बावजुद लाशजाँच मुचुल्का र पोष्टमार्टम समेत तत्कालै नहुने भएबाट वादी पक्षले अनुसन्धानको कारवाइलाई ध्यान दिएको पाइँदैन ।

          १९.  पोष्टमार्टम रिपोर्ट नभएकोले कर्तव्य हो वा होइन सो छुट्याउन लाशजाँच मुचुल्कामा मात्र अदालतले भर गर्नुपर्ने अवस्था हुन आएको छ । प्र.मनिराजले कालिमा लिम्बूनीलाई भालुले खाएको भनी अदालतमा बयान गरेपछि वादी पक्षबाट अनुसन्धानको सिलसिलामा खडा गरिएको लाशजाँच मुचुल्कामा सम्मिलित हुने व्यक्तिहरू लाई अदालतबाट बुझ्नुपर्ने अवस्था पर्छ तर अदालतबाट ति व्यक्तिहरू लाई बुझिएको पाइँदैन ।

          २०.  प्रत्येक चश्मदिद व्यक्तिहरूको आफूले देखे जानेको आफ्नै व्यहोरा हुन्छ । तर घटनास्थलमा प्र.मनिराज कुद्दै गाउँतिर लागेको देखेँ भन्ने तुर्णबहादुर र लालबहादुरको आफूले देखेको व्यहोराको बेग्लाबेग्लै कागज नभई यी लालबहादुर र तुर्णबहादुरको प्रहरीमा एउटै व्यहोराको एउटै कागज देखिन्छ ।

          २१.  त्यस्ता चश्मदिद व्यक्तिहरू अदालतमा आई प्रहरीमा आफूले भनेको कुराको पुष्ट्याँई नगरेसम्म त्यस्तो चश्मदिद व्यक्तिहरूले प्रहरीमा लेखी दिएको कागजको कुरालाई अदालतले पूर्णरूपले भर गर्न सक्दैन । प्रहरीमा भएका वादी पक्षका त्यस्ता चश्मदिद व्यक्तिहरूको भनाईलाई विपक्षले अदालतमा जिरह समेत गर्न पाउनुपर्छ । तर तुर्णबहादुर र लालबहादुरको अदालतमा बकपत्र भएको पाइन्न ।

          २२.  प्र.मनिराजलाई घटनास्थलमा भाग्दै गएको देखेको भन्ने तुर्णबहादुर, लालबहादुर र जाहेरवाला एकै गाउँ ठाउँको हुँदा उक्त कुरा जाहेरवालाको जाहेरी दर्खास्तमा पनि उल्लेख हुनुपर्ने अवस्था छ उक्त कुरालाई हामीहरूले कसैलाई थाहा दिएनौं भन्ने लालबहादुर तुर्णबहादुरले प्रहरीमा लेखी दिएको कुरालाई हेर्दा ज्यानसम्बन्धी महलले ज्यान मरी सकेको कुरा चाल पाई जाहेर गर्नु पर्ने दायित्व यी लालबहादुर तुर्णबहादुरलाई थोपरेकोले कालिमाको ज्यान मरी सकेको कुरा थाहा पाई जाहेर गरेन भन्ने यी तुर्णबहादुर, लालबहादुरको प्रहरीमा भएको भनाई भरपर्दो देखिन्न ।

          २३.  तुर्णबहादुर र लालबहादुरको प्रहरीमा भएको कागज हेर्दा प्र.मनिराजलाई कुद्दै गएको देखें सेतो लुगा थियो भनेका छन् ।

    २४. वारदात देखाइएको रात, अँधेरी रात देखिन्छ । रातको समयमा यी तुर्णबहादुर, लालबहादुरले प्र.मनिराजलाई कसरी चिने त्यसको कुनै आधार कागजमा खुलेको पाइँदैन ।

    २५. बरामद भएको रगत लागेको लवेदा शुरूवाल सेतो नभई चारखाने देखिन्छ । शुरूवालमा लागेको रगतको रासायनिक जाँच नभएसम्म मानिसको हो वा होइन छुट्याउन मिल्दैन । लवेदा शुरूवालमा रगतको दाग देखिएको नाताबाट रगतको रासायनिक जाँचको अभावमा त्यस्तो रगत मृतककै हो भनी भन्न सकिन्न ।

    २६.  प्र.मनिराजको प्रहरीमा भएको कागज हेर्दा मर्ने कालिमालाई २, ३ बक्सिङ कन्चटमा र मुख नाकमा हिर्काई लडाई ठूलो ढुंगाले कालिमाको टाउकोमा हानेको भन्ने देखिन्छ, यसबाहेक अरू चोट पारेको देखिँदैन । ०२८।५।१९ को लाशजाँच मुचुल्का हेर्दा शरीरको धेरै भागमा घाउ र निलडाम भन्ने उल्लेख भएको पाइन्छ । बायाँ कन्चट देखि आँखा र गालासम्म ठूलो घाउ र बायाँ आँखा फुटेको र नाक मास्तिर फर्केको देखिन्छ ।

    २७. लासजाँच मुचुल्कामा देखिएका घाउ निलडामहरू प्र.मनिराजले प्रहरीमा कागज हुँदा लेखाई दिएको अनुसारको घाउ निलडामहरू सँग मेल खाँदैन । लाश सडेगलेको र घाउ भएको ठाउँमा किराहरू समेत परेको देखिन्छ । लासजाँच मुचुल्काको व्यहोरा हेर्दा आँखा र गाला सम्मको ठूलो घाउ किचिएको जस्तो देखिन्छ भनिएको छ । सोही मुचुल्कामा घाउमा किरा परेको भन्ने भनाई लेख हुँदा त्यस्तो सडेगलेको किरा परेको घाउ के कस्तो प्रकारबाट भएको हो यकिन रूपले भन्न सकिँदैन । गर्मीको मौसम देखिन्छ त्यस्तो अवस्थामा सडेगलेको र किरा समेत परेको लासमा निलडाम र घाउ छुट्याउन सक्ने अवस्था नहुँदा उक्त लासजाँच मुचुल्का शंकायुक्त भई अदालतले भर गर्ने स्थितिको छैन ।

    २८.  प्रहरीमा भएको त्यस्तो तुर्णबहादुर र लालबहादुरको भनाई र शंकायुक्त लासजाँचको मुचुल्काको आधारमा र बरामत भएको लवेदा शुरूवालमा लागेको रगतको रासायनिक जाँचको अभावमा केवल अनुमान र शंका लिई प्रहरीमा भएको प्र.मनिराजको साविती स्वतन्त्र प्रमाणबाट समर्थित नभए सम्म प्र.मनिराजले कालिमा लिम्बूनीलाई मारेको भनी दोषी ठहराउन मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्र.मनिराजले सफाई पाउने ठहर्छ । प्र.मनिराजलाई सर्वस्वसहित जन्मकैद हुने ठहराएको शुरू ताप्लेजुङ जिल्ला अदालतको इन्साफ मनासिव ठहराई मेची अञ्चल अदालतले छिनेको इन्साफ मनासिव ठहराएको स.अ.डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिँदा उल्टी हुन्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी मनिराज लिम्बू के ताप्लेजुङ जिल्ला अदालतको ०२८।८।२४।६का फैसलाले निजलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेकोमा सो फैसला उल्टी भएको हुँदा कैदको लगत कट्टा गरिदिनु भनी ताप्लेजुङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.....१

उक्त फैसलाले निजको अंश सर्वस्व रोक्का रहेकोमा सो फुकुवा गरी दिनु भनी ताप्लेजुङ जिल्ला अदलातमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.....................२

मिसिल नियमबमोजिम बुझाई दिनु ........................३

 

हामीहरूको सहमती छ ।

 

न्या. बासुदेव शर्मा, न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल चैत्र ३१ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु