शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५२२ - ज्यान

भाग: २३ साल: २०३८ महिना: चैत्र अंक: १२

निर्णय नं. १५२२     ने.का.प. २०३८             अङ्क १२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३७ सालको फौ.पु.नं. २०९

फैसला भएको मिति : २०३८।१२।९ मा

वादी : वीरबहादुर मल्लको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जि. कालीकोट गा.पं.दाहा बस्ने मोहनबहादुर शाही

मुद्दा : ज्यान

(१)  अभियुक्तले मार्ने नियतले नै छुरी हानेको हुँ भनी स्पष्ट रूपले बयान गरेको देखिन आएकाले छुरीले हानेमा सूदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले ज्यान सम्बन्धीको १४ नं. ले दश वर्ष कैद गर्ने गरेको इन्साफ मनासिव देखिएन । निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ ।

(प्रकरण नं. १०)

वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्याय

प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री बुद्धिप्रसाद पाण्डे

उल्लिखित मुद्दा :

फैसला

          न्या. हेरम्बराज : मोहनबहादुर शाहीको स्वास्नी मादेदेवीलाई मैले दुवैको राजीखुशीले मैले ल्याएको थिएँ । २०३४।७।३० गतेको विहान ९ बजे तिर मेरो गाउँको आवत जावत गर्ने लिस्नेको बाटो गरी सरासर आई मेरो गाउँमा लोग्ने मानिस कोही नभएको मौका विहान मेरो घरमा आई घर माथि अं.५।६ गज जति अग्लो स्वाराका भित्तामा भटमास राखेको थिएँ । सो भटमास तलतिर फाल्न लागेको अवस्था निज मोहनबहादुर छुरी लिई मेरो स्वास्नी भएको ठाउँमा आई छुरीले एकचोटि पिठ्यूँमा हानी थला पारिसकेपछि दूध माथि र कपाल पिठ्यूँमा ४।५ चोटि छुरीले हानी तलतिर लाताले खसाली आफू भागी गएको त्यस ठाउँमा रहेको केटाकेटी आइमाईले देखी रोई कराइरहेको आवाज सुनी अरू मानिसले चाल पाएको रहेछन् । म अं.१० बजेतिर घर आउँदा स्वास्नी मादेको लाश घरको पश्चिमपट्टि पडेको र केटाकेटी रोइरहेको देखी यसलाई कसले मार्‍यो भनी सोद्धा यसको अघिल्लो लोग्ने मोहनबहादुर शाहीले छुरीले हानी मारी लाश तलतिर खसाली आफू भागी गयो भनेकाले जाहेर गरेको छु । निज मोहनबहादुर शाहीलाई ज्यानमारामा सजाय गरिपाउँ भन्ने वीरबहादुर मल्लको जाहेरी दरखास्त ।

          २.   भादे मल्ललाई मोहनबहादुर शाहीले छुरीले हानी मारेको हो भन्ने समेत सर्जमिन दावा मुचुल्का, मैले दापबाट झिकी छुरीले हानी भादे मल्ललाई मारेको हुँ भन्ने समेत मोहनबहादुर शाहीको साविती कागज ।

          ३.   ज्यान सम्बन्धीको १३ दफा बमोजिम मोहनबहादुर शाहीलाई सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

          ४.   मैले ससुराको घरमा राखी छोडेको आफ्नै छुरी लिएर वीरबहादुरको घरतिर गएँ भादेनीले भटमास माथिबाट खलामा फालिरहेको देखी रिस थाम्न नसकी रिसको झोंकले मैले निज भादेदेवीलाई पिठ्यूँ र टाउकोमा करीब ४ पटक छुरीले हानेको हुँ भन्ने समेत व्यहोराको मोहनबहादुर शाहीले अदालतमा गरेको बयान ।

          ५.  फ्नो श्रीमती अर्काको पोइला गएको रिसबाट मौकामा उठेको रिस थाम्न नसकी छुरीले प्रहार गरी मारेको देखिन आएकोले मोहनबहादुर शाहीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. ले १० वर्ष कैदको सजाय हुन्छ भन्ने जुम्ला, मुगु तथा कालिकोट जिल्ला अदालतको फैसला ।

          ६.   उक्त फैसलामा चित्त बुझेन भन्ने श्री ५ को सरकारको पुनरावेदन तथा उक्त फैसलामा चित्त बुझेन भन्ने मोहनबहादुर शाहीको पुनरावेदनपत्र ।

          ७.  मोहनबहादुर शाहीलाई ज्यान सम्बन्धीको १४ नं. लगाई १० वर्ष कैद गर्ने गरेको फैसला मनासिव ठहर्छ भन्ने सु.प.क्षे.अ.को फैसला ।

          उक्त फैसलामा चित्त बुझेन भन्ने श्री ५ को सरकारको पुनरावेदनपत्र ।

          ८.   यसमा प्रतिवादी मोहनबहादुर शाहीले अदालतमा बयान गर्दा छुरीको प्रहारबाट भादेदेवीलाई मारेको भनी स्वीकार गरेको पाइन्छ । छुरी भनेको जोखिम हतियार नै हुँदा निजलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय गरेको मिलेन । तसर्थ अ.बं.२०२ नं. बमोजिम प्रतिवादी मोहनबहादुर शाहीलाई सूचना दिई नियमबमोजिम पेश गर्नु भन्ने ०३८।८।२९।२ को डिभिजन बेञ्चको आदेश ।

          ९.   यसमा पुनरावेदक श्री ५ को सरकारतर्फबाट खटिई आउनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्यायको र विपक्षीतर्फका विद्वान बैतनिक अधिवक्ता श्री बुद्धिप्रसाद पौडेलको बहस समेत सुनी सु.प.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ, त्यसतर्फ निर्णय दिनुपरेको छ ।

          १०.  यसमा ४।४ पटक छुरीको प्रहार गरी मृतक भादेदेवीलाई मारेको कुरामा अभियुक्त स्वयम् सावित भएको हुँदा निज अभियुक्तलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय गरेको इन्साफमा चित्त बुझेन प्रहरी प्रतिवेदन मुताविक सजाय गरिपाउँ भन्ने श्री ५ को सरकार पुनरावेदक भएको प्राप्त मुद्दामा प्रतिवादी मोहनबहादुर शाहीले पोइला गएकी आफ्नी स्वास्नी भादेदेवीलाई ४ पटक छुरीले हानेको हुँ र निज भादेदेवीलाई मार्ने नियतले छुरीले हानेको हुँ भनी अदालतमा गरेको आफ्नो बयानमा सावित भएका छन् । ज्यानसम्बन्धीको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ भन्ने देखिन आएमा मात्र अभियुक्तलाई उक्त १४ नं. प्रयोग हुने व्यवस्था छ । तर अभियुक्त मोहनबहादुर शाहीले आफ्नो बयानमा मैले भादेदेवीलाई मार्ने नियतले नै छुरी हानेको हुँ भनी स्पष्टरूपले बयान गरेको देखिन आएकाले छुरीले हानेमा सूदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले निज मोहनबहादुर शाहीलाई ज्यान सम्बन्धीको १४ नं. ले दश वर्ष कैद गर्ने गरेको इन्साफ मनासिव देखिएन । निज मोहनबहादुर शाहीलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ । निज कारागारमा थुनामा रहेको देखिएकाले कैद म्याद ठेकी सम्बन्धित जि.अ.मा लगत पठाउनु भनी का.जि.अ.मा लगत दिनु । सु.प.क्षे.अ.को लगत कट्टा गरिदिनु । फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा बुझाई दिनु । नियमानुसार मिसिल बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल चैत्र ९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु