निर्णय नं. ९१५२ - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
फैसला मिति : २०७०।११।२०।३
०६९–CI–१३०८
मुद्दा : लेनदेन
पुनरावेदक/वादी : रोल्पा जिल्ला, जिनाबाङ गा.वि.स.वडा नं. ८ रमाइगाउँ बस्ने टीकाबहादुर वली
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : रोल्पा जिल्ला, राँक गा.वि.स. वडा नं. १ रातामाटा बस्ने धनीराम खड्का
- रेखा र लेखा विशेषज्ञको अघिल्लो र पछिल्लो राय विरोधाभाषपूर्ण नभई पछिल्लो राय यथार्थमा अघिल्लो रायकै अभिन्न भाग र कडी भएको अवस्थामा पछिल्लो रायलाई प्रस्तुत मुद्दामा आधिकारिक मान्न नसकिने कुनै कारण नदेखिने ।
- अत्याधुनिक प्रविधिबाट विशेषज्ञद्वारा परीक्षण भई तथ्य र आधार सहित तमसुक लिफामा खडा भएको भनी दिएको रायलाई अन्य स्वतन्त्र प्रमाणबाट पनि पुष्टि भइरहेको छ । विवादित लिखतलाई नाङ्गो आखाँले हेर्दा पनि लिखतका पंक्तिहरू दुई शब्दबीचको असमान र अस्वाभाविक खाली ठाउँसमेतबाट सो लिखत स्वाभाविकरूपमा तैयार भएको कपाली तमसुक मान्न नसकिने ।
(प्रकरण नं.४)
पुनरावेदक/वादीका तर्फबाट :
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
- प्रमाण ऐन, २०३१ को दफा २३(१)
- कीर्ते कागजको १० नं.
सुरू फैसला गर्ने :
मा.जि.न्या.श्री राजुकुमार खतिवडा
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री शेषराज सिवाकोटी
मा.न्या.श्री मिहिरकुमार ठाकुर
फैसला
न्या.प्रकाश वस्ती : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :
विपक्षी धनीराम खड्काले मिति २०६१।१०।१० गते बुझाउने शर्तमा घरखर्च तथा जग्गा खरीद गर्न भनी मबाट मिति २०६० साल माघ १० गते रू.४,२०,०००।– ऋण लिनु भई सोही मितिमा तमसुक गरी मलाई दिनु भएकोमा निज विपक्षीले तोकेको समयमा साँवा व्याज कुनै नबुझाई खाने पचाउने नियत लिनु भएकाले साँवा व्याज रू.१,७७,७९९।९९ समेत रू.५,९७,७९९।९९ र मुद्दामा अन्तिम टुङ्गो लागी बिगो भरिभराउ हुँदाका दिनसम्मको व्याजसमेत भराई पाउँ भन्ने वादी टीकाबहादुर वलीले रोल्पा जिल्ला अदालतमा दायर गरेको फिरादपत्र ।
म प्रतिवादी धनीराम खड्काले आफ्नो घरायसी व्यवहार मिलाउनको लागि मेरो नाममा नापी दर्ता भएको मेरो हक भोगमा रहेको रोल्पा राँक गा.वि.स.वडा नं. १ को कि.नं. ५५ र ५६ को २ कित्ता जग्गा जेठा छोराको छोरा मेरो नाति झक्कुप्रसाद खड्का र कान्छो छोरा प्रकाश खड्कालाई बराबरको दरले कित्ताकाट गरी दिनुपर्ने अवस्था आएको र कान्छो छोरा प्रकाश खड्का आफ्नो काम व्यवहारले जग्गा राजीनामा गराई लिन मालपोत कार्यालय, रोल्पामा उपस्थित हुन नसक्ने भएकोले निजको ईच्छापत्र कागज र अन्य सबै कागजात लिई टीकाबहादुर वलीलाई जिम्मा दिएको अनुपस्थित छोरा प्रकाश खड्काको ईच्छापत्रवाला निजै टीकाबहादुर वली भई निज र निजको सहयोगीले मिति २०६३।१२।२५ गते उल्लिखित कि.नं. ५५ र ५६ को जग्गामध्ये आधा जग्गा झक्कुप्रसाद खड्का र आधा जग्गा प्रकाश खड्कालाई मालपोत कार्यालय, रोल्पाबाट राजीनामा रजिस्ट्रेसन पारीत गरी दिने कार्य गरेका थिए । सो मिति २०६३।१२।२५ गते जग्गा राजीनामा रजिस्ट्रेसन पारीत भए तापनि कामकाजको चापको कारण सो दिन सक्कल स्रेस्तामा कैफियत जनाउने र नयाँ स्रेस्ता कायम गर्ने काम बाँकी नै रहेको थियो । रजिस्ट्रेसन पारीत भइसकेपछि बेलुका निज टीकाबहादुर वलीको डेरामा जाँदा निजले मालपोत कार्यालयमा कामको चाप धेरै छ, स्रेस्ता तयार हुन ३/४ दिन लाग्छ, तपाईं वृद्ध अवस्थाको मानिस यो गर्मीमा कति बस्नु हुन्छ सबै कागजात मसँग छोडी मालपोतमा लाग्ने र लेखाउने खर्चसमेत दिई घर जानुहोस् । म कामको चाप कम भएको अवस्थामा सबै काम गरी तपाईंको कागजातहरू तपाईंको घरमा पठाई दिउँला । सो कार्य गर्न तपाईंको मञ्जूरनामाको समेत आवश्यकता पर्दछ भनी भनेकाले निजको विश्वासमा परी स्रेस्ता बनाउने र लेखाउने खर्चबापत रू.७,६००।-, मेरो नागरिकता, जग्गा धनी दर्ता प्रमाणपूर्जा र मालपोत तिरेको रसिदसमेत निजलाई दिई म अर्को दिन घरतर्फ गएको थिएँ । तर, एक्कासी वादीले मेराउपरमा दिएको प्रस्तुत मुद्दाको फिरादपत्रको नक्कलसहितको इतलायनामा म्याद मेरो घर दैलोमा टाँस हुँदा आश्चर्यमा परेको छु । वादीले मबाट मिति २०६०।१०।१० मा रू.४,२०,०००।– कर्जा लगी तमसुक गरी दिनुभएको भनी फिरादमा दावी लिनुभएको छ । वादी दावीअनुसार मैले वादीबाट रू.४,२०,०००।– कर्जा लिई तमसुक गरी नदिएको हुँदा मैले वादीलाई कुनै रूपैयाँ दिनु बुझाउनुपर्ने छैन । वादीले कीर्ते तमसुक खडा गरी मेराउपर यो फिराद दायर गर्नुभएकोले वादीको झूट्ठा फिराद दावीबाट फुर्सद दिई वादी टीकाबहादुर वलीलाई नै कानूनबमोजिम कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी धनीराम खड्काले रोल्पा जिल्ला अदालतमा दायर गरेको प्रतिउत्तरपत्र ।
रोल्पा जिल्ला अदालतको आदेशानुसार वादीबाट सक्कल लिखत दाखिला भई मिसिल सामेल रहेको ।
लिखतमा लेखिएको सम्पूर्ण व्यहोरा झूट्ठा हो । विपक्षीले मैले छोडेको लिफा कागजमा मैले निजबाट रू.४,२०,०००।– ऋण लिएको भन्ने झूट्ठा व्यहोराको कीर्ते तमसुक तयार गरेका हुन् । वादीको माग दावीबमोजिमको रकम मैले तिर्नपर्ने होइन भनी प्रतिवादीले अ.बं.७८ नं. बमोजिम सद्दे कीर्तेतर्फ सुरू रोल्पा जिल्ला अदालतमा गरेको बयान ।
लिखत कीर्ते जालसाज नभई सत्य साँचो व्यहोराबाट खडा भएको हो । प्रतिवादीको सम्पूर्ण व्यहोरा झूट्ठा हो भन्ने व्यहोराको वादी टीकाबहादुर वलीले सुरू रोल्पा जिल्ला अदालतमा गरेको सनाखत बयान ।
वादी टीकाबहादुर वली र प्रतिवादी धनीराम खड्काबीच लेनदेन कारोवार भएको, प्रतिवादीको प्रतिउत्तर जिकीर झूट्ठा हो । वादी दावीबमोजिम प्रतिवादीबाट वादीलाई रकम भराई दिनुपर्ने हो भनी वादीका साक्षी गंगाराम खत्रीले सुरू रोल्पा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६०।१०।१० गते प्र. धनीराम खड्काले वादी टीकाबहादुर वलीबाट रू.४,२०,०००।– कर्जा लगी तमसुक गरिदिएको होइन । धनीराम खड्का राम्रो आर्थिक अवस्था भएका मान्छे हुन् । निजले पैसा लगानी पनि गर्ने हुनाले यिनीलाई यस्तो कीर्ते तमसुक खडा गरियो भने यिनीबाट भने जति रकम पाइन्छ भन्ने नियतले वादी टीकाबहादुर वलीले कीर्ते तमसुक खडा गरेका हुन् । प्रतिवादीले वादीबाट कर्जा लिएकै होइनन् । कर्जा नलिएको हुनाले वादीलाई प्रतिवादीले रकम बुझाउनुपर्ने होइन भनी प्रतिवादीका साक्षी कमानसिँह खत्रीले सुरू रोल्पा जिल्ला अदालतमा गरेको बकपत्र ।
२०६० सालतिर देशमा चर्केको द्वन्द्वले गर्दा कोही पनि मानिस माओवादीको अनुमतिबिना सदरमुकाम आउन नसक्ने भएकोले सदरमुकाम आई सो मितिमा लेनदेन हुनै सक्दैन । मिति २०६० माघ १० गते प्र.धनीराम खड्काले वादी टीकाबहादुर वलीबाट रू.४,२०,०००।– कर्जा लिई तमसुक गरी दिएका होइनन् । यो सब व्यहोरा झूट्ठा हो । प्र.धनीरामले दावीअनुसारको रकम टीकाबहादुर वलीलाई तिर्नुपर्ने होइन भनी प्रतिवादीका साक्षी कुलबहादुर रानाले सुरू रोल्पा जिल्ला अदालतमा गरेको एकै मिलानको बकपत्र ।
रोल्पा जिल्ला अदालतको आदेशानुसार मिति २०६६।१०।३ बाट प्राप्त हुन आएको सर्वोच्च अदालत, रेखा तथा लिखत परीक्षण शाखाको परीक्षण प्रतिवेदनसहितको पत्र मिसिल सामेल रहेको ।
लिखतमा उल्लेख गरिएको रू.४,२०,०००।– प्रतिवादीले वादीलाई बुझाई सकेको भन्ने नदेखिँदा प्रतिवादीबाट वादीले सोको सावाँ व्याज भराई लिन पाउने ठहर्छ भन्ने सुरू रोल्पा जिल्ला अदालतबाट मिति २०६९।११।९ मा भएको फैसला ।
वादीका साक्षी गंगाराम खत्री प्रत्यक्षदर्शी साक्षी नभएको, कारोबार भएको भनिएको मिति र स्थान लिखतमा एक ठाउँ उल्लेख भएको र कारोबार भएको देख्ने, आफ्नै अगाडि कारोबार भएको हो भन्ने प्रत्यक्षदर्शी साक्षी गंगारामले बकपत्र गर्दा मिति र स्थान फरक देखाएबाट वादीका साक्षी गंगाराम प्रत्यक्षदर्शी नभएको र कारोबार पनि नभएको कुरा पुष्टि हुन्छ । अर्को कुरा वादीले लिखतमा भएका साक्षी र लेखक साक्षीलाई अदालतमा उपस्थिति गराउन नसकेबाट र मेरा साक्षी कलबहादुर रानासमेतले कारोबार भएको होइन भनी स्पष्ट साथ बकपत्र गरिदिएबाट पनि कारोबार नभएको र लिखत (तमसुक) कथितरूपमा तयार भएको भन्ने कुरा पुष्टि हुन आएको छ । मैले जग्गा दा.खा. नामसारी गर्ने क्रममा टीकाबहादुरलाई दिएको लिफा कागजमा वादीले कीर्ते तमसुक खडा गरी नाजायज फाइदा लिने खाने उद्देश्यले झूट्ठा फिराद दिएको देखिन्छ । त्यसै गरी सुरू रोल्पा जिल्ला अदालतले लिखत कीर्ते हो भन्ने कुरा खुल्दाखुल्दै प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम राय व्यक्त गर्ने रेखा तथा लेखा विशेषज्ञलाई नबुझी निजले व्यक्त गरेको रायलाई प्रमाणमा लिई सुरू रोल्पा जिल्ला अदालतबाट भएको फैसला न्यायसङ्गत नभई बदरभागी छ । रोल्पा जिल्ला अदालतले सावा व्याज भराई लिन पाउने ठहर्याएको उक्त फैसला उल्टी गरी नलिए नखाएको रूपैयाँ तिर्नु बुझाउनु नपर्ने गरी इन्साफ गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी धनीराम खड्काले रोल्पा जिल्ला अदालतमार्फत पुनरावेदन अदालत, तुलसीपुरमा दायर गरेको पुनरावेदनपत्र ।
लिखत परीक्षण गर्ने विशेषज्ञलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) र सोही ऐनको दफा ५२ बमोजिम नबुझी गरेको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित हुन आए वा म्याद नाघेपछि लिखत परीक्षण गर्ने रेखा तथा लेखा विशेषज्ञ केशवबहादुर थापा क्षेत्रीका नाममा अ.बं.१६१ नं. बमोजिम बन्द सवाल जारी गरी काठमाडौं जिल्ला अदालतमार्फत बुझ्नु र विशेषज्ञलाई जिरह गर्न चाहिने पक्षलाई समेत काठमाडौं जिल्ला अदालतको तारिख तोकी विशेषज्ञको बकपत्र भई आएपछि नियमानुसार पेश गर्नु भनी पुनरावेदन अदातल, तुलसीपुरले गरेको आदेश ।
पुनरावेदन अदालत, तुलसीपुरको आदेशानुसार रेखा तथा लेखा विशेषज्ञले गरेको बकपत्रमा V.S.C. ६००० बाट परीक्षण गरिएमा दोहोरो छाप लागेको छ, छैन भन्नेसमेतका कुराहरू स्पष्ट खुल्न सक्ने भनी उल्लेख गरेको र विशेषज्ञको उक्त रायबमोजिम राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट विवादित लिखत परीक्षण गरी पाउन पुनरावेदक प्रतिवादीको निवेदनसमेत पर्न आएकोले सोबमोजिम विवादित लिखत परीक्षण गराउन लाग्ने दस्तूर पुनरावेदकबाट लिई प्रयोगशालाबाट परीक्षण भई आएपछि नियमानुसार पेश गर्नु भनी पुनरावेदन अदालत, तुलसीपुरबाट भएको आदेश ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट लिखत जाँच भई वैज्ञानिक अधिकृत पियूषमान शाक्यले तयार गर्नु भएको मिति २०६९।९।१२ को प्रतिवेदन प्राप्त भई मिसिल सामेल रहेको ।
रेखा तथा लेखा विशेषज्ञ केशवबहादुर थापाले बकपत्रमा भने अनुसार दावीको लिखत राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट V.S.C. ६००० प्रविधि प्रयोग गरी भई आएको परीक्षण प्रतिवेदनबाट लिखत लिफामा खडा गरिएको भन्ने राय प्राप्त हुन आएको अवस्थामा दावीको लिखत सद्दे नभई कीर्ते गरी खडा गरेको देखिन आउँदा वादीले साँवा रू.४,२०,०००।– र सोको व्याजसमेत प्रतिवादीबाट भराई लिन पाउने गरी रोल्पा जिल्ला अदालतबाट मिति २०६७।१।१३ मा भएको फैसला मनासिब नहुँदा उल्टी हुन्छ । वादीले प्रतिवादीबाट साँवा र सोको व्याजसमेत भराई लिन पाउने ठहर्दैन । जालसाजी कागज खडा गरेबापत वादीलाई कीर्ते कागजको १० नं. अनुसार जरीवाना समेत हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६९।११।०९।४ मा भएको फैसला ।
प्रत्यर्थी प्रतिवादीले जग्गासम्बन्धी स्रेस्ता पूर्जा तयार पार्ने मञ्जूरीनामा प्रयोजनका लागि छाडेको लिफामा रू.४,२०,०००।– को कीर्ते कपाली तमसुक बनाएको भन्ने प्रतिउत्तर जिकीर गलत मनसायले प्रस्तुत गरिएको हो । प्रत्यर्थीसँग मैले कुनै रकम लिएको छैन । पुनरावेदन अदालत, तुलसीपुरले मूलतः राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट तयार पारिएको मिति २०६९।९।१२ को प्रतिवेदनलाई आधार मानी फैसला गरिएको छ । उक्त प्रतिवेदनलाई प्रमाणमा ग्राह्य गर्न बकपत्रबाट पुष्टि गरिनुपर्नेमा त्यसो भएको छैन । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट भएको रायलाई सम्बन्धित विशेषज्ञबाट बकपत्र नभएको अवस्थामा सर्वोच्च अदालतबाट परीक्षण भई राय प्रतिवेदनसमेत प्राप्त हुन आएको मिति २०६६।१०।३ को केशवबहादुर थापाले दिएको आधार लिई फैसला गर्नुपर्नेमा सोबमोजिम नगरिएबाट समेत पुनरावेदन अदालतको फैसला बदरभागी छ । विवादित लिखत जाँच गर्दा फरकफरक राय प्राप्त भएको अवस्थामा सोही विषयमा अदालत आफैँ वादी भई विवादित लिखतको आधारमा जरीवाना गर्न कुनै कानून तया कानूनका सिद्धान्तले अदालतलाई अधिकार हुँदैन । अतः पुनरावेदन अदालत, तुलसीपुरबाट सुरू जिल्ला अदालतको फैसला उल्टी हुने गरी वादी दावी नपुग्ने गरी मलाई जरीवानासमेत हुने ठहर्याएको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भनी वादी टीकाबहादुर वलीले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम साँवा व्याज वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्याएको रोल्पा जिल्ला अदालतको फैसला उल्टी ठहर्याई जालसाजी कागज खडा गरेबापत वादीलाई कीर्ते कागजको १० नं. अनुसार जरीवानासमेत हुने ठहर्याएको पुनरावेदन अदालत, तुलसीपुरको फैसला मिलेको छ छैन, उक्त फैसला उल्टी गरी सुरू रोल्पा जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने वादीको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने कुराको मिसिल संलग्न कागजात हेरी निर्णय दिनुपर्ने देखिन आयो ।
2. निणर्यतर्फ विचार गर्दा सुरू अदालतले वादी दावीबमोजिम साँवा व्याज भराई पाउने ठहर्याएको फैसला पुनरावेदन अदालत, तुल्सीपुरले उल्टी गरी जरीवानासमेत हुने ठहर्याएकोले उक्त फैसला बदर गरी सुरू फैसला सदर गरी पाउँ भनी वादीले पुनरावेदन जिकीर लिएको पाइन्छ ।
३. यसमा वादी दावीलाई अस्वीकार गरी प्रतिवादीले लिखतलाई झूट्ठा र कीर्ते भनी दावी लिँदै एउटा कामलाई दिएको लिफा कागजातलाई कपाली तमसुक बनाएको जिकीर लिएको हुँदा दावीको लिखत सद्दे वा कीर्ते के हो भन्ने कुरा नै निर्णायक हुन आउँछ । कुनै लिखत सद्दे वा कीर्ते के हो भनी छुट्याउन रेखा तथा लेखा विशेषज्ञको रायलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिइन्छ । प्रस्तुत मुद्दामा विवादित लिखतको विषयमा रेखा तथा लेखा विशेषज्ञ केशव थापाले लिखत व्यहोरालाई ल्याप्चे सहीछापले थिचेको देखिन्छ भनी राय लेखेको पाइन्छ भने निजले बकपत्र गर्दा स्पष्टरूपमा विवादित लिखत लिफामा तयार गरिएको हो, होइन भन्ने कुरा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट V.S.C. ६००० बमोजिम जाँच भएका बखत खुल्ने कुरा व्यक्त गरेको पाइन्छ । यिनै विशेषज्ञको भनाईलाई आधार लिई V.S.C. ६००० को प्रविधि अपनाई विवादित लिखत परीक्षण गरी पठाउन सुरू रोल्पा जिल्ला अदालतले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा लेखी पठाइएकोमा त्यहाँबाट प्राप्त प्रतिवेदनमा लिखतको पुछारमा लगाइएका ल्याप्चे अक्षरको छोएको भागलाई विभिन्न शक्तिका लेन्सहरू तथा Stereomicroscope को सहायताले अध्ययन गर्दा ल्याप्चेको मसीको तुलनामा व्यहोराको अक्षरको मसी माथि देखिएको र व्यहोराको अक्षरले ल्याप्चेलाई थिचेको देखिँदा लिखत लिफामा खडा गरिएको राय प्राप्त हुन आएको देखियो ।
४. प्रमाण ऐन, २०३१ को दफा २३(१) अनुसार अदालतले हस्ताक्षर वा ल्याप्चेका सम्बन्धमा राय यकीन गर्नु परेमा सोसम्बन्धी विशेषज्ञको राय प्रमाणमा लिन हुने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दामा विशेषज्ञको पछिल्लो रायलाई प्रमाणमा लिन नसकिने भनी यी पुनरावेदकको जिकीर लिनुभएको छ । रेखा र लेखा विशेषज्ञको अघिल्लो र पछिल्लो राय विरोधाभाषपूर्ण नभई पछिल्लो राय यथार्थमा अघिल्लो रायकै अभिन्न भाग र कडी भएको अवस्थामा पछिल्लो रायलाई प्रस्तुत मुद्दामा आधिकारिक मान्न नसकिने कुनै कारण देखिएन । तमसुकको लेखक साक्षी र अन्य साक्षीहरूबाट वादी दावीको लिखत सद्दे र शुद्ध व्यवहारबाट भएको तथ्य निजहरूबाट प्रमाणित गर्नुपर्नेमा यी पुनरावेदकले आफ्ना साक्षीहरूलाई अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको समेत देखिएन । अर्कोतर्फ प्रत्यर्थीका साक्षीहरू कमानसिँह खत्री, नन्दबहादुर खड्का, तुलबहादुर खत्री र कलबहादुर रानाले सुरू अदालतसमक्ष वादी दावी झूट्ठा हो भनी बकपत्र गरेको देखिन्छ । अत्याधुनिक प्रविधिबाट विशेषज्ञद्वारा परीक्षण भई तथ्य र आधार सहित सो तमसुक लिफामा खडा भएको भनी दिएको रायलाई अन्य स्वतन्त्र प्रमाणबाट पनि पुष्टि भइरहेको छ । विवादित लिखतलाई नाङ्गो आखाँले हेर्दा पनि लिखतका पंक्तिहरू दुई शब्दबीचको असमान र अस्वाभाविक खाली ठाउँसमेतबाट सो लिखत स्वाभाविकरूपमा तैयार भएको कपाली तमसुक मान्न सकिन्न । दावीको लिखत प्रत्यर्थीले सुरूदेखि नै झूट्ठा हो भनी दावी लिँदै आएको तथा सो कुरा विशेषज्ञको रायसमेतका प्रमाणबाट प्रमाणित हुन आएको हुँदा यी पुनरावेदक वादीले जालसाजीपूर्ण तवरले कीर्ते तमसुक खडा गरेको देखिँदा निजलाई कानूनबमोजिम जरीवानासमेत हुने ठहर्याएको पुनरावेदन अदालत, तुलसीपुरको फैसलालाई अन्यथा भन्न सकिएन ।
५. अत:एव यी पुनरावेदक वादीले प्रत्यर्थीले अन्य प्रयोजनका लागि दिएको लिफामा लिखत खडा गरेको प्रमाणित भएकोले दावीको लिखत सद्दे नभई कीर्ते गरी खडा गरेको देखिन आउँदा वादीले साँवा रू.४,२०,०००।– र सोको व्याजसमेत प्रतिवादीबाट भराई लिन पाउने गरी रोल्पा जिल्ला अदालतबाट भएको फैसला मनासिब नहुँदा उल्टी भई वादीले प्रतिवादीबाट साँवा र सोको व्याज भराई लिन पाउने ठहर्दैन । जालासाजी कागज खडा गरेबापत वादीलाई कीर्ते कागजको १० नं. अनुसार जरीवाना हुने ठहर्याएको पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६९।११।९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरूमा तपसिल बमोजिम गर्नू ।
तपसिल
पुनरावेदक वादीलाई लागेको जरीवाना रू.१,०५,०००।– रोल्पा जिल्ला अदालतमा मिति २०७०।३।१९ मा धरौटी राखेको देखिँदा उक्त धरौटी सदर स्याहा गरी पुनरावेदन अदालत, तुलसीपुरको फैसलाको तपसिल नं. २ बमोजिम राखेको लगत कट्टा गर्नु भनी सुरू रोल्पा जिल्ला अदालतलाई लेखी पठाउनू --------------------------------------------- १
दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू --------------------------- २
उक्त रायमा सहमत छु ।
न्या.तर्कराज भट्ट
इति संवत् २०७० साल फागुन २० गते रोज ३ शुभम् ।
इजलास अधिकृत : लोकनाथ पराजुली