शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०८५ - डाँका चोरी

भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११

नेकाप २०७०        अङ्क ११           नि.नं.९०८५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

फैसला मिति : २०७०।८।२३।१

०६५-CR-०६७३

 

मुद्दा : डाँका चोरी ।

 

पुनरावेदक/प्रतिवादी : दाङ जिल्ला, त्रिभुवन नगरपालिका वडा नं.११ घर भै कारागार कार्यालय, तुलसीपुरमा कैदमा रहेका बिनोदबहादुर वलीसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : मुक्तिराम पुनको जाहेरीले नेपाल सरकार

 

§  हातहतियार प्रयोग भएको तथ्य मौकामा हतियारसहित प्रतिवादी पक्राउ परेको कुराबाट पुष्टि भएकै छ । तापनि प्रतिवादीको वारदातमा संलग्नताको शङ्कारहित पुष्टि हुन नसकेको अवस्था र २ जना भनिएका प्रतिवादीहरू कसूरदार हुन् वा होइनन् भन्ने कुरा निजहरू फरार रहेकोबाट तत्काल यकीन हुन नसक्ने ।

§  चार जनाभन्दा बढीको संख्या स्थापित हुन नसकेको स्थितिमा वारदातलाई डाँकाको वारदात हो भनी मान्न सकिने अवस्था रहेन, वारदातमा हातहतियारको प्रयोग भई जबर्जस्ती रकम लिएको अवस्था स्थापित भएको हुँदा चोरीको महलको ४ नं. बमोजिम जबर्जस्ती चोरी गरेको अवस्था देखिने ।

(प्रकरण नं.४)

 

शुरू तहमा फैसला गर्ने :    

      मा.न्या.नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन तहमा फैसला गर्ने :      

      मा.मु.न्या.अवधेशकुमार यादव

      मा.न्या.तेजबहादुर के.सी.

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट :

प्रत्यर्थी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता गंगा पौडेल

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, चोरीको ४, १२, १४ र १४(२) नं.

 

फैसला

न्या. वैद्यनाथ उपाध्याय :  पुनरावेदन अदालत, तुलसीपुर दाङको मिति २०६५।५।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ :-

मिति २०६२।१२।२६ गते साँझ अन्दाजी ९.४५ बजेको समयमा म आफ्नो घरको कोठामा बसिरहेको अवस्थामा मुखमा कालोपट्टी बाँधेका २ जना मानिस एक्कासी कोठाभित्र छिरी अरू ३/४ जना बाहिर उभिई रहेकामा यहाँ किन आएको भनी सोध्दा माथिको आदेश छ तपाईले हामीलाई नगद रू.२१,०००।सहयोग गर्नुपर्‍यो भनी भनेका र मैले त्यति रूपैयाँ छैन भन्दा ज्यानको माया छ भने हमीले भनेको गर् नत्र तँ र तेरो परिवारलाई खत्तम पारी दिन्छौं भनी डर त्रासमा पारेपछि मैले अहिले छैन, भोलि पर्सीसम्ममा व्यवस्था गरौँला भनेपछि सो दिन तिनिहरू गएका र मिति २०६२।१२।२७ गते ८.३० बजेको समयमा निज अन्यायीहरू फेरि मेरो घरमा आई खुकुरी, पेस्तोल देखाउँदा हामीले भनेको पैसा दे भनेपछि मैले रू.२१,०००।अन्यायीहरूमध्येको बिनोद वलीलाई दिएपछि निजहरूले उक्त रूपैयाँ बाँड्दै गरेको अवस्थामा छिमेकीहरूले प्रहरी बोलाई आफूसमेत लागी बिनोद वली पक्राउ परी नगद रू.२,०००।र १ थान कटारी, १ थान गरासी बरामद भएकोले मबाट रू.२१,०००।डाँका गरी लुट्ने चोर पत्ता लगाई चोरी गरेको रूपैयाँ असूल गरी पाऊँ भन्नेसमेत व्यहोराको मुक्तिराम पुनको जाहेरी दरखास्त।

मिति २०६२।१२।२८ को बरामदी खानतलासी तथा घटनास्थल प्रकृति मुचुल्का मिसिल सामेल रहेको।

२०६२।१२।२६ गते म, भुण्टे भन्ने देवेन्द्र वली, मेरो भाइ राजेश वली र उनीहरूको साथमा आएका अन्य नचिनेका २ जनासमेत भई जाहेरवालालाई भोलि पैसा जम्मा गरी दिनु माथिको आदेश छ भनी भनेको र भोलिपल्ट २७ गते अघिल्लो दिनको कुराअनुसार जाँदा राजेश, देवेन्द्र घरभित्र पसे, म र अन्य नचिनेका बाहिर बस्यौं, उनीहरूले जाहेरवालाको घरबाट रू.२१,०००।लुटी लिए । सो रकम घरको पछाडि गएर बाँडे, मलाई रू.२,०००।दिए, म पानी पिउन पसेपछि गाउँलेहरूले मलाई समातेका हुन् । मबाट बरामद भएको रू.२,०००।चोरी भएको रू.२१,०००।मध्येको रकम हो भन्ने व्यहोराको अभियुक्त बिनोदबहादुर वलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान।

प्रतिवादीहरूले जाहेरवालाको घरबाट डाँका चोरी गरी रू.२१,०००।लुटेका ठीक साँचो हो भनी भूमा वली, भूपलाल रोका, जीवन श्रेष्ठ, आइतराम गुरूङसमेतका मानिसहरूले मौकामा गरी दिएको घटना विवरण कागज ।

जाहेरवालाको घरमा म, भुण्टे भन्ने देवेन्द्र वली भित्र पसी निजबाट रू.२१,०००।लुटी लिएको र घरबाट बाहिर आई मैले रू.१२,०००।राखें र बाँकी ९,०००।भुण्टे भन्ने देवेन्द्र वलीलाई दिएको हुँ भन्नेसमेत व्यहोराको राजेशबहादुर वलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान।

प्रतिवादीहरूले जाहेरवालाको घरबाट निजलाई धम्की दिई रू.२१,०००।डाँका चोरी गरेको प्रमाणित हुन आएकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, चोरीको १४(४) नं. बमोजिम सजाय हुन र ऐ.१० नं. बमोजिम चोरी भएको बिगोसमेत भराई पाऊँ भन्ने व्यहोराको अभियोग माग दावी।

वारदात भएको मितिमा मैले काम गर्ने बस मालिकको ससुराली गाउँ मठेउरीमा २०६२।१२।२५ गते गएको थिएँ, वारदातको समयमा म सोही ठाउँमा भएकोले झूठ्ठा पोल उजूरी गरेका हुन् । सो गर्नुको कारण बिनोद वली र राजेश वलीले मीनाक्षी वलीको घरबाट गाग्री, ताउला चोरी गरेका थिए, सो अवस्थामा मसमेतका हामी गाउँलहरूले निजहरूलाई कुटपीट गरी माफी दिएका थियौं, सोही रिसइबीका कारण मलाई पोल गरेका हुन्, मैले जाहेरवालाको घरबाट चोरी गरेको होइन भन्ने व्यहोराको प्रतिवादी भुण्टे भन्ने देवेन्द्र वलीले अदालतमा गरेको बयान ।

मैले भुण्टे भन्ने देवेन्द्र वलीलाई रू.५,०००।कर्जा दिएको थिएँ, मिति २०६२।१२।२७ गतेका दिन निजले मलाई उक्त ऋणमध्ये रू.२,०००।दिएका थिए, सोही रूपैयाँ मबाट बरामद भएको हो, मैले जाहेरवालाको रूपैयाँ डाँका गरी लुटेको होइन भन्ने प्रतिवादी बिनोदबहादुर वलीले अदालतमा गरेको बयान ।

जाहेरवालाको जग्गा र मेरो जग्गाको आँठो साँध मिलेको र उक्त जग्गामा पानी एउटै कुलोबाट ल्याउने गरिन्थ्यो, सोही विषयमा म र जाहेरवालाका बीचमा भनाभन पनि भएको थियो । सोही रिसइबीबाट मउपर यो झूठ्ठा जाहेरी दिएका हुन्, सो मिति र समयमा म मेरो घर नारायणपुरमा थिएँ, मैले जाहेरवालाको घरबाट डाँका गरी रूपैयाँ चोरेको होइन भनी प्रतिवादी राजेश भन्ने टीकाबहादुर वलीले अदालतमा गरेको बयान ।

प्रतिवादीमध्येका बिनोद वली र राजेश वलीले हामीलाई नियन्त्रणमा लिएर मेरो घरबाट रू.२१,०००।डाँका गरेका हुन् भनी जाहेरवाला मुक्तिराम पुनले अदालतमा गरिदिएको बकपत्र ।

मसमेतले गाउँमा गस्ती गरीरहेको अवस्थामा प्रतिवादी बिनोद वलीलाई घटनास्थलमा घटना घटाई रहेको अवस्थामा पक्राउ गरेका हौं भन्नेसमेत व्यहोराको वादी पक्षका साक्षी भूपलाल रोकाले गरेको बकपत्र ।

भुण्टे भन्ने देवेन्द्र वली वारदात भएको समयमा आफ्नो गाडी मालिकको श्रीमती बिरामी भएको कारण मालिक रामबहादुरसँग पश्चिम मठ्यौरा जान लागेको अवस्थामा मैले यिनीलाई बाटोमा भेटेको थिएँ । निज २०६२।१२।२८ गते मात्र घर फर्किएका हुन् जाहेरवालाको घरबाट रकम चोरी गरेका होइनन् भन्ने व्यहोराको प्रतिवादी देवेन्द्र वलीका साक्षी बिनप्रसाद डाँगीको बकपत्र ।

प्रतिवादी राजेश भन्ने टीकाबहादुर वलीको २०६४।७।४ मा कारागारभित्रै कालगतिले मरेको भन्ने लेखी आएको हुँदा निजको हकमा केही गरी रहनु परेन, प्रतिवादी विजय सुनार र पोषण खत्री म्यादमा उपस्थित नभै फरार रहेको अवस्था हुँदा निजहरूका हकमा मुद्दा मुलतवीमा राखी दिने ठहर्छ र प्रतिवादी बिनोद वली र देवेन्द्र वलीका हकमा निजहरूले चोरीको १ र ६ नं.को कसूर अपराध गरेको देखिँदा ऐजन महलको १४(४) नं. बमोजिम निज प्रतिवादीहरूलाई जनही ६ वर्ष कैद र बिगो रू.२१,०००।को डेढी जरीवाना हुने ठहर्छ भन्ने व्यहोराको दाङ देउखुरी जिल्ला अदालतको मिति २०६४।८।६ को फैसला ।

कथित वारदातलाई डाँका चोरीको परिभाषाभित्र पार्नको लागि काल्पनिक र बनावटी व्यक्तिको नाम उल्लेख गरेको फलस्वरूप प्रतिवादी विजय सुनारको घर ठेगाना नै पत्ता नलागेको भनी म्याद तामेली भएको छ।२०६२।१२।२८ को बरामदी मुचुल्का सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ८ र मुलुकी ऐन, अ.बं.१७२ नं को विपरीत छ, मौकामा कागज गर्ने जाहेरवाला मुक्तिराम पुन र भूपलाल रोकाको मौकाको कागज र अदालतको बकपत्र आदि आधार प्रमाणहरूको मूल्याङ्कन नै नगरी डाँका चोरी गरेको ठहर्‍याई गरेको शुरू फैसला नमिलेको हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू देवेन्द्र वली र बिनोदबहादुर वलीले पुनरावेदन अदालत, तुलसीपुरमा पेश गरेको अलगअलग पुनरावेदन पत्र ।

प्रस्तुत मुद्दामा बरामदी नभएको, प्रतिवादीको नागरिकतामा नाम फरक भएको भन्ने र बरामदी मुचुल्कामा प्रतिवादीको सहीछाप नभएकोले अ.बं.१७२ नं. को प्रतिकूल भएको, डाँका मुद्दामा प्रतिवादी ५ जना हुनुपर्नेमा ४ जनामात्र रही अरू काल्पनिक व्यक्तिको नाम लेखिएको भन्ने पुनरावेदकको पुनरावेदन जिकीर रहेको सन्दर्भमा छलफल गर्न अ.बं.२०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६५।३।२३ मा भएको आदेश ।

५ जनाभन्दा बढी व्यक्ति नभई ३ जनामात्र भएको अवस्था देखिएकोले अभियोग दावीबमोजिम डाँकाको कसूर ठहर्दैन । वारदातको अवस्थातर्फ विचार गर्दा चोरीको ४ नं. आकर्षित हुने देखिएकोले जबर्जस्ती चोरीको परिभाषभित्र परी प्रतिवादीहरूमध्ये टीका भन्ने राजेश वलीको कारागारमा मृत्यु भैसकेकोले निजको हकमा केही बोलीरहनु परेन । जाहेरवालाले अदालतमा गरेको बकपत्रमा किटान गरेको नदेखिएको, दशी पनि बरामद भएको नदेखिएकोले प्रतिवादी भुण्टे भन्ने देवेन्द्र वलीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी बिनोद वलीको हकमा बरामदी बिगो रू.२,०००।जबर्जस्ती चोरी गरेको देखिँदा चोरीको ४ नं.को कसूरमा ऐ.को १२ नं. र १४(२) नं. बमोजिम निज प्रतिवादी बिनोद वलीलाई बिगोको डेढी बढाई रू.३,०००।जरीवाना र १ महिना १५ दिन कैद सजाय हुने ठहर्छ र शुरूले मुलतवी राखेको प्रतिवादीहरूको हकमा गरेको फैसला सदर हुन्छ भन्ने पुनरावेदन अदालत, तुलसीपुर दाङको मिति २०६५।५।२९ को फैसला ।

डाँका चोरी गरेको रकम प्रतिवादीहरूले एकआपसमा बाँडेको सोमध्ये पहिले पक्राउ परेका प्रतिवादी विनोद वलीबाट रू. २०००।- बरामद हुन सकेको र अन्य रकम प्रतिवादीहरूले नासेमासेको अवस्था भई बरामद हुन नसकेको स्थितिलाई विचार नगरी भएको फैसला त्रुटिपूर्ण  छ । पाँचजना भई वारदात घटाएको पुष्टि भइरहेको स्थितिमा प्रतिवादीहरूले डाँका चोरी गरेकोतर्फ नठहर्‍याई चोरीको महलको ४ नं. को कसूर ठहर गरेको फैसला त्रुटिपूर्ण छ । चोरीको ४ नं. बमोजिम जबर्जस्ती चोरीको कसूर ठहरेकोमा ऐजनको १४(२) नं. बमोजिम सजाय हुँदा जबर्जस्ती चोरी गर्नेलाई ऐजनको १२ नं. बमोजिम हुने सजायको डेढी बढाई सजाय गरी जरीवानाबापतसमेत कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्थाको गलत व्याख्या गरी भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा पुनरावेदन अदालत, तुलसीपुरबाट भएको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा पुनरावेदन अदालत, तुलसीपुरले जबर्जस्ती चोरी गरेको भन्दै चोरीको ४ नं. को कसूरमा चोरीको १२ र १४(२) नं. बमोजिम सजाय गरेको देखिन्छ । ऐजन १४(२) नं. बमोजिम सजाय गर्दा जरीवानाबापतसमेत कैद गर्नुपर्नेमा सो नगरेको पुनरावेदन अदालत, तुलसीपुरको इन्साफ उक्त कानूनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीलाई झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नु भन्ने व्यहोराको यस अदालतबाट भएको मिति २०६९।५।२६ को आदेश ।

नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गंगा पौडेलले प्रतिवादी देवबहादुर वलीसमेतउपर किटानी जाहेरी परेको छ, डाँका गर्न गएकाहरूमध्ये बिनोद वली, राजेश वली र देवेन्द्र वलीको नाम जाहेरीमा स्पष्ट छ तथा नचिनेका २ जनासमेत ५ जना भई डाँका गरेको भन्ने जाहेरवालाको बकपत्र, अदालतमा समेत प्रतिवादीहरूले एकअर्कालाई पोल गरी बयान गरेका छन्, तत्काल पक्राउ परेका प्रतिवादी बिनोद वली डाँका गरी लगेको रकममध्ये रू २,०००।तथा हतियारसहित पक्राउ परेका छन् । घटनाको केही दिनपछि पक्राउ परेको र पछि अदालतको म्यादमा हाजिर भएका प्रतिवादीहरूले डाँका गरेको रकम मासिसकेको अवस्था भएकोले बरामद हुन नसकेको हो अन्य २ जना प्रतिवादी हालसम्म फरार नै छन्।यस्तो अवस्थामा एउटा प्रतिवादीबाट मात्र बरामद भएको रकमलाई आधार बनाई बिगो कायम गरेको पुनरावेदन अदालत, दाङको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी अभियोग दावीबमोजिम हुनुपर्दछ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

२. निर्णयतर्फ विचार गर्दा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस सुनी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले डाँका गरेको भनी मुलुकी ऐन, चोरीको महलको १ र ६ नं. को कसूरमा ऐजन ऐनको १४(४) नं. को कसूरमा सजायको माग दावी लिई अभियोगपत्र दायर भएकोमा शुरू जिल्ला अदालतबाट फरार प्रतिवादीहरूका हकमा अ.बं.१९० नं. बमोजिम मुलतवी राखी अन्य प्रतिवादीहरू बिनोदबहादुर वली तथा देवेन्द्र वलीलाई चोरीको महलको १ र ६ नं. को कसूरमा ऐजनको १४(४) बमोजिम रू.२१,०००।बिगो कायम गरी फैसला भएको सो फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परी पुनरावेदन अदालत, दाङबाट शुरू फैसला केही उल्टी गर्दै प्रतिवादी बिनोदबहादुर वलीलाई चोरीको ४ नं. को कसूरमा ऐजनको १२ र १४(२) नं. बमोजिम रू.२,०००।बिगो कायम गरी सजाय गर्ने र प्रतिवादी देवबहादुर वलीलाई सफाइ दिने गरी भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निर्णय दिनुपर्ने देखिन आयो :

(१)    प्रस्तुत वारदात घटना मुलुकी ऐन, चोरीको महलको १ र ६ नं. अन्तर्गतको डाँकाको वारदात हो, होइन ?

(२)   प्रतिवादीहरूलाई दावीबमोजिमको बिगो कायम गरी सजाय गर्नुपर्ने हो होइन ?

(३)   पुनरावेदन अदालत, दाङको मिति २०६५।५।२९ को फैसला मिले नमिलेको के हो ?

 

३. पहिलो प्रश्नको सम्बन्धमा प्रस्तुत वारदात चोरीको १ र ६ नं. बमोजिमको कसूर हो होइन भनी हेर्दा  जाहेरवालाले ३ जनाको नाम किटान गरी अन्य नचिनेका २ जनासमेत ५ जना आफ्नो घरमा आई हातहतियार देखाई रू.२१,०००।लिई डाँका गरेका हुन् भनी जाहेरीमा देखाइएको पाइन्छ । मौकामा १ जना प्रतिवादी बिनोद वलीमात्र पक्राउ परेका छन्, निजले अदालतसमक्ष बयान गर्दा डाँका गरेकोमा अस्वीकार गरेको अवस्था छ । मौकामा पक्राउ नपरेका पछि पक्राउ परी आएका र अदालतको म्यादमा हाजीर भएका प्रतिवादीहरूसँग रकम बरामद भएको अवस्था छैन तथा निजहरू वारदातमा इन्कार रही बयानसमेत गरेको   पाइन्छ । अन्य २ जना प्रतिवादीहरू हालसम्म फरार नै रहेको देखिन्छ ।

४. मौकामा कागज गर्ने भूपाल रोकाले बकपत्र गर्दासमेत जाहेरीमा उल्लेखित पाँचैजना भई वारदात गरेको हुन् भनी भन्न सकेको अवस्था छैन भने प्रतिवादी भुण्टे भन्ने देवबहादुरले आफू वारदातको दिन अन्यत्र रहेको जिकीर (Alibi) लिएको र सो जिकीर समर्थन गर्ने गरी निजका साक्षी बिनप्रसाद डाँगीले बकपत्रसमेत गरी दिएको अवस्था देखिन्छ । प्रस्तुत अवस्थामा प्रतिवादी देवबहादुर वलीसमेत वारदातमा संलग्न रहेको भन्ने शङ्कारहित तवरबाट पुष्टि हुन सकेको अवस्थासमेत छैन । मुलुकी ऐन, चोरीको महलको ६ नं. ले चार जनाभन्दा बढ्ताको जमात भई जबर्जस्ती चोरी वा रहजनीमा लेखिएका रीतसंग वा हातहतियार लिई उठाई छाडी वा हूलहुज्जत गरी चोरी गरेको डाँका गरेको ठहर्छ  भन्ने व्यवस्थालाई विचार गर्दा प्रस्तुत वारदातमा हातहतियार प्रयोग भएको तथ्य मौकामा हतियारसहित प्रतिवादी पक्राउ परेको कुराबाट पुष्टि भएकै छ । तापनि प्रतिवादी देवबहादुर वलीको वारदातमा संलग्नताको शङ्कारहित पुष्टि हुन नसकेको अवस्था र २ जना भनिएका प्रतिवादीहरू कसूरदार हुन् वा होइनन् भन्ने कुरा निजहरू फरार रहेकोबाट तत्काल यकीन हुन नसक्ने अवस्था रहेको र बिनोद वलीबाहेक अन्यबाट केही बरामदसमेत नभएको अवस्था रहेकोले ५ जना भन्दा कम प्रतिवादी कायम रहने अवस्था भएको देखिन्छ । यस्तो अवस्थामा ४ जनाभन्दा बढीको संख्या स्थापित हुन नसकेको स्थिति हुँदा प्रस्तुत वारदातलाई डाँकाको वारदात हो भनी मान्न सकिने अवस्था रहेन वारदातमा हातहतियारको प्रयोग भई जबर्जस्ती जाहेरवालासँग रकम लिएको अवस्था स्थापित भएको हुँदा प्रस्तुत वारदात चोरीको महलको ४ नं. बमोजिम जबर्जस्ती चोरी गरेको अवस्था देखिन्छ।

५. अब, दोस्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादीहरूलाई दावीबमोजिम बिगो कायम गरी सजाय हुनुपर्ने नपर्नेतर्फ हेर्दा मौकामा पक्राउ परेका प्रतिवादी बिनोद वलीसँग रू.२,०००।मात्र बरामद भएको अवस्था छ । अन्य प्रतिवादीहरूसँग केही कुनै रकम बरामद भएको अवस्थासमेत छैन । जाहेरी दरखास्तमा रू.२१,०००।भनी उल्लेख मात्र गरेको आधारमा सोहिबमोजिम रू.२१,०००।नै बिगो कायम गर्न तथ्यसङ्गत नहुने भएकोले मौकामा बरामद भएको बिगो रू.२,०००।नै प्रस्तुत वारदातमा जबर्जस्ती चोरी गरेको पुष्टि भएको हुँदा र प्रतिवादी भुण्टे भन्ने देवबहादुर वलीको घटनामा संलग्नता नदेखिएको कुरा माथि प्रश्न नं.१ को विवेचनाबाट पुष्टि भइसकेको स्थितिमा निज प्रतिवादी भुण्टे भन्ने देवबहादुर वलीले सफाइ पाउने ठहर्‍याएको तथा अर्का प्रतिवादी बिनोद वलीलाई बिगो रू.२,०००।जबर्जस्ती चोरी गरेकोमा चोरीको ४ नं. को कसूरमा ऐ.को १४(२) नं. बमोजिम सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत, तुलसीपुर दाङको फैसला मिलेकै देखिन्छ । प्रतिवादीहरूलाई डाँकामा सजाय गरी पाऊँ भन्ने पुनरावेदन जिकीरतर्फ यो इजलास सहमत हुन सकेन ।

६. तेस्रो प्रश्न पुनरावेदन अदालत, तुलसीपुर दाङको फैसला मिले नमिलेकोतर्फ विचार गर्दा प्रस्तुत वारदातको सम्पूर्ण अवस्थाको विश्लेषण गर्दा मुलुकी ऐन, चोरीको महलको ६ नं. डाँकाको वारदात नभई चोरीको ४ नं. को परिभाषाभित्र पर्ने गरी जबर्जस्ती चोरीको वारदात देखिन आएको हुँदा प्रस्तुत वारदातलाई जबर्जस्ती चोरी कायम गर्ने गरेको तथा प्रतिवादीमध्ये भुण्टे भन्ने देवबहादुर वलीलाई सफाइ दिने गरेको पुनरावेदन अदालत, दाङको फैसला मिलेकै देखिएको, प्रतिवादीमध्ये बिनोद वलीको हकमा विचार गर्दा निजको साथबाट तत्काल पक्राउ परी रू.२,०००।बरामद भएको देखिएको हुँदा सोही बिगो कायम गरी बिगो रू.२,०००।को डेढी बढाई चोरीको १२ र १४(२) नं. बमोजिम रू.३,०००।जरीवाना र १ महिना १५ दिन कैद हुने ठहर्‍याएकोसम्म पुनरावेदन अदालतको फैसला मिलेकै देखिन्छ।चोरीको १४(२) नं. बमोजिम जरीवानाबापतसमेत कैद गर्नुपर्ने हो होइन भन्नेतर्फ विचार गर्दा चोरीको १४ नं. को देहाय २ मा "जबर्जस्ती चोरी गर्नेलाई यसै महलको १२ नं. बमोजिम हुने सजायको डेढो बढाई सजाय गरी जरीवानाबापतसमेत कैद गर्नुपर्छ" भन्ने व्यवस्था भएको देखिन्छ । प्रतिवादीलाई उक्त नम्बरअनुसार डेढो बढाई कैद जरीवाना गरेको पुनरावेदन अदालतको फैसलाबाट देखिएकै छ तर, जरीवानाबापत कैद गर्नुपर्नेमा सो भए गरेको उक्त फैसलाबाट नदेखिँदा सो हदमा चोरीको १४ नं. को देहायको २ को त्रुटी भएको देखिन आयो । तसर्थ जरीवानाबापत कैद गर्नुपर्नेमा सो नगरी जरीवानामात्र गर्ने गरेको हदसम्म पुनरावेदन अदालत, दाङको फैसला सो हदसम्म त्रुटी भएकोले सोही हदसम्म उल्टी हुने र प्रतिवादी बिनोद वलीलाई लागेको जरीवाना बापतसमेत कैद हुने ठहर्छ सो ठहर्नाले अरूमा तपसीलबमोजिम गर्नू ।

तपसील

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, दाङको फैसला केही उल्टी भई प्रतिवादी बिनोद वलीलाई चोरीको ४ नं. को कसूरमा ऐजनको १२ र १४(२) नं. बमोजिम रू.३,०००।जरीवाना तथा डेढ महिना कैद हुनेमा जरीवानाबापतसमेत कैद हुने हुँदा दण्ड सजायको ५३ नं. बमोजिम जरीवानालाई कैद कायम गरी लगत कस्न लेखी पठाउनू ........................१

 

उक्त रायमा सहमत छु ।

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०७० साल मङ्‍सिर २३ गते रोज १ शुभम् ।

 

इजलास अधिकृत- गेहेन्द्रराज रेग्मी

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु