निर्णय नं. १५२५ - उत्प्रेषण

निर्णय नं. १५२५ ने.का.प. २०३८ अङ्क १२
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३७ सालको रिट नं. १२९७
आदेश भएको मिति : ०३८।१०।५ मा
निवेदक : भोजपुर जिल्ला भैसिपंखा गा.पं. वडा नं. ३ खुरिल बस्ने धनपति रिजालसमेत
विरुद्ध
विपक्षी : १ नं. नापी गोश्वारा भोजपुरका नापी अधिकृत नारायणसुन्दर श्रेष्ठ समेत
विषय : उत्प्रेषण
(१) एकपटक दर्ता गर्न नमिल्ने भनी निर्णय गरेकोमा सो निर्णय कायम छँदा–छँदै सो निर्णयको विपरीत हुने गरी सो जग्गा कित्ता काट गरी निर्णय गरेको अ.बं.८५ नं. विपरीत हुँदा नापी गोश्वाराबाट भए गरेको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठहर्छ ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर
उल्लिखित मुद्दा :
आदेश
न्या. सुरेन्द्रप्रसाद सिंह : विपक्षी १ नं. नापी गोश्वारा भोजपुरको मिति ०३६।११।२३ को निर्णय पर्चा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ :
२. यसमा निवेदकको मागबमोजिमको कि.नं. १४ को जग्गा पूर्व निर्णय अनुसार ऐलानी भनी दर्ता नभएकोमा उक्त कित्ताको विरह महलमा खर लेखिएको देखिएकोले उक्त कित्तामा एकजना अमीन खटाई चेक जाँच गरी खर भएजतिको कित्ता काट गरी छुट्याई ल्याई पेश गर्ने र सो खर भएजतिको जग्गामा अरू कसैको पनि दावी नदेखिएकोले निजको नाउँमा आँठा सरह रकम लगाई दर्ता गरी निजले पाएको धनीपूर्जामा समावेश गरी श्रेस्ता पूर्जा मिलान गरी निवेदन तामेलीमा राख्ने भन्ने उक्त १ नं. नापी गोश्वाराको मिति ०३६।११।२३।५ मा निर्णय भएको रहेछ ।
३. विपक्षी नापी गोश्वाराबाट विवादको कि.नं. १४ को जग्गा सन्धिसर्पन ऐलानी जग्गा हुँदा विपक्षी रेखबहादुर समेत कसैको नाउँमा दर्ता गर्न नहुने भनी ३–३ पटक मिति ०३६।७।२८, ०३६।८।२० र ०३६।८।२६ मा निर्णय भएकोमा पछि सोही नापी गोश्वाराबाट उक्त कित्ताको जग्गा खर जग्गा भनी विपक्षी मध्येका रेखबहादुरको नाउँमा दर्ता गर्ने गरी विपक्षी नापी गोश्वाराको ०३६।११।२३ को निर्णय बदनीयतपूर्ण र मनोमानी निर्णय हो । त्यही एउटै विषयमा फरकफरक निर्णय गर्नु अ.बं.८५ विपरीत भई प्रत्यक्ष कानूनी त्रुटिपूर्ण छ । उक्त कि.नं. १४ को जग्गा दर्ता गरिपाउँ भनी विपक्षी रेशबहादुरको उक्त गोश्वारामा निवेदन परेकोमा सो जग्गा सन्धिसर्पनको हुँदा त्यसरी व्यक्तिगत दर्ता गर्न मिल्दैन भनी हामी मध्येका पुष्पबहादुर, खड्गबहादुरले उजूर दिएकोमा उक्त जग्गा ऐलानी हुँदा दर्ता गर्न नमिल्ने भनी पहिले नै निर्णय भइसकेको हुँदा केही नगर्ने भनी ०३६।८।२० मा तामेलीमा राखिएको थियो । यसरी हामी समेत भई यसरी निर्णय भएकोमा अहिले उक्त निर्णय गर्दा हामीलाई कुनै किसिमको प्रतिवाद गर्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको । यसरी सन्धिसर्पन ऐलानी भनी निर्णय भइराखेको आफ्नो निर्णयलाई आफैंले काट्न पाउने विपक्षी नापी गोश्वारालाई कुनै अधिकार छैन । उक्त कि.नं. १४ को सार्वजनिक सन्धिसर्पनको ऐलानी जग्गा मालपोत ऐन, ०३४ को दफा २४ जग्गा आवाद गर्नेको ४ नं. समेतले दर्ता गर्न नहुने प्रष्ट छ । यस प्रकार विपक्षी नापी अधिकृतको अनधिकृत निर्णयले नेपालको संविधानको र मालपोत ऐन, ०३४ को दफा समेतद्वारा प्रदत्त अधिकार हनन भएको हुनाले विपक्षी १ नं. नापी गोश्वाराको मिति ०३६।११।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने निवेदनको मुख्य दावी ।
४. विपक्षीहरू बाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालतको सिंगल बेञ्चको मिति ०३७।१०।१३।२ को आदेश ।
५. विवादको कि.नं. १४ को जग्गा दर्ता गरिपाउँ भनी विपक्षी रेखबहादुरले शुरूमा दावी लिएको थियो सो जग्गा दर्ता नभई ऐलानी सन्धिसर्पन कायम होस् भनी धनपति रिजालले पनि निवेदन दिएको थियो । फिल्डबुकको कैफीयत महलमा ऐलानी भनी जनिएको र त्यस बेला कित्ताकाटको माग नभई समुच्चा कित्ता दावी गरेकोले दर्ता गर्न नमिल्ने भनी निर्णय भएको र पुनः रेखबहादुरले निवेदन दिँदा कि.नं. १४ को कित्ताबाट १० रोपनी जति कित्ताकाट गरिपाउँ भनी निवेदन दिएको र फिल्डबुकको विरह महलमा खर विरह समेत देखिँदा समुच्चा ऐलानी जग्गा भए खर विरह देखिन नपर्ने हुँदा खर भए जति जग्गा छुट्याउन कर्मचारी पठाउँदा ०३६।१२।७ मा सम्बन्धित वडाको मानिसहरूको रोहवरमा निजहरूले देखाए बमोजिम खर विरह छुट्याई ल्याएको हो सो अनुसार कि.नं. १४ लाई बदर गरी कायम हुन आएको अन्तिम कि.नं. ४४८,४४९ मध्ये कि.नं. ४४९ मात्र रेखबहादुरको नाउँमा दर्ता गरी कि.नं. ४४८ ऐलानी नै कायम गरिएको छ । रैतीहरू बाट मेरो नम्बरी जग्गा ऐलानी भित्र पर्यो कित्ताकाट गरी छुट्याई पाउँ भनी पर्न आएका निवेदनहरूमा सम्बन्धित जग्गामा गई हेर्दा वास्तविक कित्ता देखिएमा अलग–अलग छुट्याउँदा अलग–अलग निर्णय भएको भन्न मिल्दैन र अ.बं.८५ नं. विपरीत भन्न समेत मिल्दैन साविकमा रेखबहादुरको नाउँमा दर्ता भइरहेको जग्गा निजले पेश गरेको रसीदको आधारमा दर्ता गरी साविक दर्ता रिन्यू सम्म गरी दिएको हो । यस प्रकार कानूनबमोजिम यस नापी गोश्वाराबाट भएको ०३६।११।२३ को निर्णयले निवेदकको हक हनन् नभएको हुँदा निवेदन खारेज गरिपाउँ भन्ने १ नं. नापी गोश्वारा भोजपुरको लिखितजवाफ ।
६. रेखबहादुर कार्की हुनु पर्नेमा रेखबहादुर श्रेष्ठ हुन गएकोले भुलसुधार गरिपाउँ भन्ने निवेदकको निवेदन पर्दा यस अदालतको ०३८।३।१० को डिभिजन बेञ्चको आदेशले निवेदकको निवेदन मागबमोजिम नाउँ सच््याइएको आदेश ।
७. विवादको कि.नं. १४ को जग्गा मेरो अंश भागको माटो मुरी ५ मध्येको २।१० को जग्गा हो विवादास्पद जग्गा नापी भई सन्धिसर्पन भन्ने निर्णय भए तापनि मेरो खास विज माटो समेत दर्ताको खर पाली आएको जग्गा भएको र सन्धिसर्पन जग्गा अरु नै भएकाले पुनः जाँच गरी कि.नं. ४४९ को जग्गा खर पाली आएको हुँदा खर जनिई दर्ता भई धनीपूर्जा पाएको छु । उक्त कि.नं. ४४९ को खरबारी मेरो नाउँमा दर्ता भएपछि निवेदकहरूको सन्धिसर्पन पर्ने भए धनीपूर्जा पाएको मितिले १२९ दिनभित्र उजूर गर्नुपर्ने थियो र सम्बन्धित गा.पं.समेतमा सन्धिसर्पनमा उजूर गरी कायम गराउनु पर्नेमा गर्न सकेको छैन । सन्धिसर्पन दर्ता गरेको भए गा.पं.संशोधन सहितको ऐनको दफा २४ ले पञ्चायतले उजूर गर्नु पर्ने सार्वजनिक भए अरू गाउँका व्यक्तिहरूले समेत उजर गर्नु पर्ने सो निवेदकहरूले मात्र रिट क्षेत्रमा रिट निवेदन गरेको हुँदा मेरो कि.नं. ४४९ को जग्गा दर्ता कायम गरिपाउँ भन्ने विपक्षी रेखबहादुर कार्कीको हुलाकबाट प्राप्त भएको लिखितजवाफ ।
८. आजको दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विपक्षी १ नं. नापी गोश्वारा तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको बहस जिकिर समेत सुनियो यसमा निवेदन मागबमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ यस तर्फ विचार गर्नु पर्ने हुन आएको छ ।
९. यस कि.नं. १४ को जग्गा सन्धिसर्पनको भई सर्भेमा पनि ऐलानी भनी जनिएकोमा निवेदन गर्दा पटक–पटक दर्ता गर्न नमिल्ने भनी निर्णय भई राखेकोमा सो निर्णयको विपरीत सोही जग्गा प्रत्यर्थीको नाममा दर्ता गर्ने गरी गरेको निर्णय सोही जग्गाको सम्बन्धमा अघि भएको निर्णयको विपरीत हुँदा सो बमोजिम दर्ता गर्दा निवेदकहरू लाई बुझ्नु पर्नेमा नबुझी गरेको निर्णय प्रा.न्या. सि.को विपरीत हुँदा बदर गरिपाउँ भनी रिट निवेदकको भनाई भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो त्यसतर्फ विचार गर्दा रेखबहादुरको निवेदनमा सो जग्गा ऐलानी हुँदा दर्ता गर्न नमिल्ने भनी ०३६।७।२८ मा निवेदन तामेलीमा राखी दिने निर्णय भएको सोही जग्गालाई कित्ताकाट गरी प्रत्यर्थीको नाममा दर्ता गरी दिने गरी ०३६।११।२३ मा निर्णय गरेको देखिनाले एकपटक सोही कार्यालयबाट दर्ता गर्न नमिल्ने भनी निर्णय गरेकोमा सो निर्णय कायम छँदा–छँदै सो निर्णयको विपरीत हुने गरी सो जग्गा कित्ताबाट गरी निर्णय गरेको अ.बं.८५ नं. विपरीत हुँदा सो नापी गोश्वाराबाट ०३६।११।२३ मा भए गरेको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई दिई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०३८ साल माघ ५ गते रोज २ शुभम् ।