शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८७९ - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: बैशाख अंक:

निर्णय नं. १८७९     ने.का.प. २०४१                        अङ्क १

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको फौ.पु.नं. ३५१।३७०

सम्वत् २०४० सालको फौ.सा.नं. १०७

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/वादी : पुरीलाल न्यौपानेको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/वादी : मनिचन्द्र प्याकुरेल जैंशी समेत र

 

पुनरावेदक/प्रतिवादी : सानु मुनिचन्द्र प्याकुरेल

विरूद्ध

वादी : श्री ५ को सरकार

फैसला भएको मिति :      २०४१।१।५।३ मा

§  म्याद भित्र पुनरावेदन परेकोमा सो पुनरावदेन हेरी निर्णय गर्नुपर्ने ।

(प्रकरण नं. २३)

फैसला

            न्या. धनेन्द्रबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर दुवै पक्षको पुनरावेदन परी साधक निकासा निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ।

            २.    दिपलाल जैशीको छोरा भएको उपलक्ष्यमा ०३६।९।२४ गते राति छैंटि मनाउन गाउँ आसपासका मानिस भेला भई दिपलालको घरमा खेल खेलिरहेका बेलामा अं.वर्ष १५ को हरिकला पनि खेल खेल्न आएकी रातमा देव मुनिको छोरा वर्ष २२ को मनीचन्द्र जैशीले हरिकलालाई इसारा गरी बोलाई बनजाडा गाउँ देखि पूर्व अन्दाजी १६१७ सय गज टाढा लगी गडाहामा पुर्‍याएपछि मृत्यु भइछन् । उक्त लाश गडाहाबाट उठाई निज मनिचन्द्रको घरमा ल्याई राखेका र के कस्तो कारणबाट निजको मृत्यु भएको हो यकीन थाहा छैन । निज मनिचन्द्रलाई पक्री साँचो सत्य पत्ता लगाई कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्त ।

            ३.    नाक मुखबाट रगत बगेको आँखा चिम्लिएको चोलाको कठालामा र दुवै बाहुलामा रगत लागेको चिउँडोमा ठोकिए जस्तो रातो डबल रूपैयाँजस्तो डाम देखिएको पछाडि पट्टी कपालको चुल्ठो रगतले भिजेको गर्दनमा केही रगत देखिएको दुवै हातको नङमा हत्केलामा घटना घटेको ठाउँको माटो लागेको गाला ज्यादै फुलेको गुदद्वारबाट दिशा निस्की जताततै लतपतिएको योनीबाट निस्केको रगत बगी गुदद्वारमा जमेको मुखबाट आएको रगत बगी छातीमा धारो लागी बगेको । बाया गोडाको काछमा २ इन्च लामो १।। इन्च चौडा ताछिइ खुइलिएको घाउ भएको योनीको बायाँ किनारमा पीरामिड आकारको छाला खुइलिएको योनीमा रांै नआएको योनी जबरजस्ती फुटाएको ज्यादा रगत बगेको स्तन आउन मात्र शुरू भएको लगाएको घाँघरमा सेतो टाटो भएको भन्ने समेत लास प्रकृति मुचुल्का ।

            ४.    ०३६ साल पौष २४ गते दिपलाल जैशीको घरमा दिउँसो खसी काटी भोज खायौं र रातमा दिपलाल जैशीको घर अगाडि आगनमा आईमाईको खेल लागेको र आधा रात भएको हुँदो हो भू.पू.प्र.पं.मुनिचन्द्र प्याकुरेलले मलाई केही पर डाकी लगी १ जना छोकडी (तरूनी) मैलेसँगै ल्याएको छु हरिकला खेलमा छ बोलाएर ले परतिर गई खेलांैला भने हरिकलालाई बोलाई मसँगै लगी अघि पछि भई जाँदै थियौं पर मेलको रूख मुनी भु.पु.प्र.प.मुनिचन्द्रभन्दा हामीहरू पछि पछि हिडियो केही पर पुगी बाटो छाडी धारा निर लागे तुल्याउँदा भन्ने गरामा पुगे पछि हरिकलालाई आफ्नो साथमा राखी मलाई घरतिर जा भनी भन्दा म पनि १५ गज दक्षिण आई बसे भू.पू.प्र.पं.ले त्यस पछि हरिकलालाई गरामा बसाली करणी गर्न शुरू गर्न बल निकै गरेका हुन् हरिकलालाई तुल्याउँदा भन्ने गरामा उत्तानो पारी आफ्नो सुरवाल खोली जबरजस्ती करणी गरेका हुन । निज मनीचन्द्रले आईज तँ करणी गर भने हरिकला गाली गर्दै थिईन मैले पनि करणी गरे हरिकला दुख्यो भन्दै कराउँदै थिईन । मैले करणी गरी सकेपछि हरिकला सुस्तरी उठेर पेट समाती पेट दुख्यो भन्दै समाउँदै थिइन तिनीले धेरै वान्ता गरिन वान्ता गर्दा भुईमा बसेकी थिइन वान्ता भई सकेपछि लुली जस्ती भईन कान्लामा आड लिई रुँदै थिईन मनिचन्द्रले हरिकलालाई गई हातले समाती हेर्दा मरी सकिछन भनी भने वारदातमा मैले हरिकलालाई बोलाई लगेको हुँ गोठमा बस्न जाँदा बाटोमा पेट दुखी मरेकी हुन भन्नु मेरो नाम नलिनु पछि रु.२०००।खर्च गरी तँलाई बिउँताउला भने खेल खेलिरहेको ठाउँमा गई बाबु देउभुरीसँग भू.पू.प्र.प.मनिचन्द्रले सिकाए अनुसार हरिकला पेट दुखी मरी भने भू.पू.प्र.पं. सल्लाह अनुसार मेरो बाबु भएका ठाउँ आई मेरा बाबु समेत ८।९ जना घटनास्थलमा गएका हुन् र उक्त लास घरमा लगी राखी जाहेर गर्नुपर्दछ भनी निज भू.पू.प्र.पं.ले भने प्रहरीले सोधपुछ कुटपिट गर्दा पनि हरिकला पेट दुखी मरेकी हो भन्नु र अरू कुरा नभन्नु भन्दै सिकाएको भन्ने समेत मनिचन्द्रले प्रहरीमा गरेको कागज ।

            ५.    पक्राउ परेका मनिचन्द्र जैशीको बयानबाट समेत हरिकलालाई भू.पू.प्र.पं.मनिचन्द्र जैशी समेत २ जनाको कर्तव्यबाट ज्यान गएको पूरा विश्वास लाग्छ भन्ने कोही र म खेलमा नगएकोले हरिकला के भई मरिन मलाई थाहा छैन भन्ने मौका तहकिकात सरजमीन मुचुल्का ।

            ६.    अनुसन्धानबाट भू.पू.प्र.पं.मनिचन्द्र आईमाई प्रति ज्यादै लुब्ध रहने प्रकृतिका मानिस आफ्नो श्रीमती चाँडै सुत्केरी हुने भएकी र पक्राउमा परेको मनिचन्द्र प्रति हरिकलाले विश्वास गरेकी हुँदा करणी गर्ने मनसायले झुक्याई बोलाई एकान्तमा लगी २ जनाले जबरजस्ती करणी गरी दिँदा हरिकलाको तत्काल मृत्यु भएको स्पष्ट बुझिएकोले भू.पू.प्र.पं.मनिचन्द्र प्याकुरेल जैशी र पक्राउमा परेको मनिचन्द्र प्याकुरेल समेतले जबरजस्ती करणी गरेको तर यसको करणीबाट हरिकलाको मृत्यु भएको हो भन्ने कतैबाट खुल्न नआएकोले निजहरू उपर मु.ऐन ज्यानसम्बन्धीको महलको दफा १३ को देहाय दफा ३ अनुसार सजाय माग दावी भएको ०३६।१०।१६ को प्रहरी प्रतिवेदन ।

            ७.    हरिकलासँग ०३६ सालको दशैमा मञ्जूरी साथ करणी लिनदिन भएको हो त्यस पछि पटकपटक मेरो हरिकलाको करणी लेनदेन हुन्थ्यो । दिपलालको घरमा छोरा जन्मेको छैटी खेल्न हरिकला पनि आएकीले भेट हुँदा करणी गर्न जाउ भनी मैले भने हरिकला मञ्जूरी भई तुल्याउँदा भन्ने ठाउँमा पुगेपछि दिशा गर्न जान्छु भनी गईन एक चिलिम तमाखु खाँदासम्म पनि नआएकोले खोज्न जाँदा पेटकरायो दिशाभएन पेटमा सुल उठ्यो भनी हरिकलाले भनेकी थिईन । मैले पेट माड्दामाड्दै तुल्याउँदा भन्ने ठाउँमा मृत्यु भयो हरिकलालाई म र भू.पू.प्र.पं.भएर जबरजस्ती करणी गरेको होइन हरिकलालको लास प्रकृति मुचुल्कामा लेखिएको घाउ के भई परेको मलाई थाहा छैन भन्ने समेत मुनिचन्द्र जैशीले अदालतमा गरेको बयान ।

            ८.    दिपलाल जैशीको छोरा जन्मेको ६ दिन ०३३।९।२४ को रात म पनि छैटी खेल्न निजको घरमा गएको थिएँ २५ गते बिहान अलि उज्यालो भएको बेला मनिचन्द्र र निजकै बाबु देबमुनी खासखुस कुरा गर्न लागेको देखी सोधनी गर्दा एक छोरी मरेकी छ भनी मेरो छोरा मनिचन्द्र भन्छ भनेकाले वडा अध्यक्ष रिसे जैशी समेत घटनास्थलमा गयौं र लास देवमुनीको गोठमा राख्न लगाई जाहेर गर्न गएको जिल्ला पञ्चायतबाट लिएको ऋणमा पक्राउ भइन्छ भनी लुकी छिपी बसेको निज हरिकलालाई मैले मारेको छैन भन्ने भू.पू.प्र.पं.मनिचन्द्र जैशीको बयान ।

            ९.    हामीहरू केटी भएको ठाउँमा नगएकोले हरीकला के भई मरी भन्न सक्दैनौ भन्ने देवमनीका छोरा मनिचन्द्रका साक्षीहरूको बयान ।

            १०.    हरिकला पेट दुखी लडी भन्थ्यो के भई मरीन् थाहा भएन भन्ने र कोही भू.पू.प्र.पं.मनिचन्द्रले देउमुनिको छोरा अघि सारी रु.२०००।देवमुनीलाई दिएकोले मनिचन्द्र आफू मात्र अघि सरी बयान गरेको कुरा होइन मनिचन्द्र कहाँ थिए थाहा छैन भन्ने समेत भू.पू.प्र.पं.मनिचन्द्रका साक्षीहरूको बकपत्र ।

            ११.    हरिकला मेरो जेठा बाँकी छोरी हो निजहरू कोही यहाँ नभएकोले मैले जाहेरी दिएको हो भू.पू.प्र.पं.यज्ञ भन्ने मनिचन्द्रको स्वभाव स्वास्नी मानिसमा लोभिलो थियो । हरिकलालाई करणी गरे नगरेको मैले नदेखेकोले भन्न सक्तिन भू.पू.प्र.पं.मनिचन्द्र पनि मनिचन्द्रको कागज अनुसार कर्तव्य गरे होला भन्ने लाग्छ भन्ने समेत जाहेरवाला पुरीलाल जैशीको बकपत्र ।

            १२.   लास प्रकृतिबाट खास जबरजस्ती करणी गरेकै हो हरिकलालाई करणी गरेको मैले नदेखेकोले भन्न सक्दिन मनिचन्द्रले पेट दुखी मरी भन्थ्यो भन्ने सरजमीनका प्रभाकर जैशी र सोही मिलान वृक्षलाल जैशी गोरे जैशी रूपचन्द्र जैशी जन्मजय जैशीको बकपत्र ।

            १३.   साँचो मनिचन्द्र र भू.पू.प्र.पं.मनिचन्द्र दुवै जनाको कर्तव्यले हरिकलाको मृत्यु भएको हो भनी मैले सरजमीनमा भनेको होइन भन्ने समेत रूपलाल जैशीको बकपत्र र सोही मिलान दिपलाल जैशीको बकपत्र ।

            १४.   छैटीमा आएकी केटीलाई १४।१५ जना केटाले करणी गरी मरीन भन्ने कुरा सुने तिनीहरूको नाउँ मलाई थाहा छैन भन्ने उपसभापति अजयबहादुरको बकपत्र ।

            १५.   भू.पू.प्र.पं.मनिचन्द्र वारदातमा गएको होइन हरिकला के भई मरिन सानो मनिचन्द्रलाई थाहा होला भन्ने देबचन्द्र जैशीको बकपत्र ।

            १६.    भू.पू.प्र.पं.मनिचन्द्र प्याकुरेललाई सफाई मनीचन्द्र प्याकुरेललाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद गर्ने ठहर्‍याएको कालीकोट जि. अ.को ०३८।२।१८।१ को जाहेरी फैसला ।

            १७.   भू.पू.प्र.पं.मनिचन्द्र प्याकुरेललाई सफाई दिएको शुरू जिल्ला अदालतको फैसला मिलेको छैन प्रहरी प्रतिवेदन माग दावीअनुसार सजाय हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।

            १८.   श्री ५ को सरकार वादी पक्षको पुनरावेदन परेको जन्मकैदमा पर्ने प्र.मनिचन्द्रको पुनरावेदन नहुँदा निजको हकमा साधक तहबाट हेरिनु पर्ने हुन आएको छ भन्दै शुरू जि. अ.को फैसला मनासिब ठहर्‍याई मनिचन्द्रको हकमा साधक सदरको लागी सर्वोच्च अदालतमा पठाउने भन्ने ०३९।३।२५ का म.प.क्षे.अ.को फैसला ।

            १९.    शुरू बि.अ.ले भू.पू.प्र.पं.मनिचन्द्रको हकमा सफाई दिने गरेको फैलालाई सदर गर्ने गरेको म.प.क्षे.अ.को फैसला मिलेन । शुरू प्रहरी प्रतिवेदन दावी अनुसार सजाय गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।

            २०.   मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको कालिकोट जि. अ.को फैसला चित्त बुझेन भन्ने मनिचन्द्र प्याकुरेलको पुनरावेदन ।

            २१.   यसै मुद्दामा श्री ५ को सरकारको पुनरावेदन पर्दा साधक तहबाट यिनै पुनरावेदकको सम्बन्धमा यस अदालतबाट ०३९।३।२५ मा निर्णय भइसकेको रेकर्डबाट देखिन आएकोले यसै अदालतबाट दोहर्‍याई हेर्न न्या. प्र.सु.ऐन, ०३१ को दफा १२(ख) ले मिलेन । प्रस्तुत पुनरावेदनमा केही विचार गर्न नपरी तामेलीमा राखी दिने भन्ने म.प.क्षे.अ.को आदेश ।

            २२.   यसमा निर्णयतर्फ हेर्दा शुरू कालीकोट जिल्ला अदालतले प्रतिवादी भू.पू.प्र.पं.मनिचन्द्र प्याकुरेल जैशीलाई सफाई र प्र.सानु मनिचन्द्र प्याकुरेल जैशीलाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सजाय गरेकोमा श्री ५ को सरकारको पुनरावेदन परेकोमा र सानु मनिचन्द्र प्याकुरेलको हकमा साधक तहबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०३९।३।२५ मा निर्णय भएको पाइन्छ । प्र.सानु मनिचन्द्रको पुनरावेदन परे तर्फ साधक तर्फबाट फैसला मनासिब ठहरी सकेकोले दोहोराई हेर्न मिलेन भन्दै पुनरावेदन तामेलीमा राख्ने गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट आदेश गरेको म्यादभित्र परेको मेरो पुनरावेदनले इन्साफ जाँची किनारा गर्नुपर्नेमा सो बमोजिम नगरेको गैरकानूनी हुँदा बदर गरिपाउँ भन्ने समेत प्र.सानु मनिचन्द्र प्याकुरेलको पुनरावेदन जिकिर देखिन्छ ।

            २३.   प्रतिवादी सानु मनिचन्द्र प्याकुरेलको जिल्ला अदालत उपर परेको पुनरावेदन साधक निर्णय हुनुभन्दा अगावै साधक निर्णय गरेको अदालतमा दाखिल भएको देखिन्छ । त्यसरी म्यादभित्र पुनरावेदन परेकोमा सो पुनरावेदन हेरी निर्णय गर्नुपर्ने हुन्छ । तर सो पुनरावेदनबाट इन्साफ गर्नुपर्नेमा नगरी साधक तहबाट निज प्रतिवादी सानु मनिचन्द्रको हकमा निर्णय गरेको र निजको पुनरावेदन तामेलीमा राख्ने गरेको आदेश मिलेको देखिएन । तसर्थः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले निज प्रतिवादी सानु मनिचन्द्र प्याकुरेलको हकमा साधक तहबाट शुरुको इन्साफ सदर गरेको हदसम्मको निर्णय र निजको पुनरावेदन तामेलीमा राख्ने गरेको आदेश बदर हुने ठहर्छ । साधक तहबाट गरेको निर्णय बदर भएको हुँदा साधक तहबाट विचार गर्न परेन । शुरू जिल्ला अदालत उपर परेको प्रतिवादी सानु मनिचन्द्र प्याकुरेलको पुनरावेदनमा कानून बमोजिम ३ महीना भित्र निर्णय गर्नु भनी मिसिल मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु त्यसमा निर्णय भएपछि सो निर्णय उपर पुनरावेदन परे पुनरावेदन साथ र नपरे यो श्री ५ को सरकारको नं. ३५१ को पुनरावेदन निर्णय निमित्त पेश गर्नु ।

 

उक्त रायमा म सहमत छु । 

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल बैशाख ९ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु