शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८८३ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: बैशाख अंक:

निर्णय नं. १८८३     ने.का.प. २०४१                        अङ्क १

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको रिट नं. १२३७

विषय : उत्प्रेषण

निवेदक : बजरङ्गवली समिल इटहरीको साझेदार, जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ८ बस्ने किसनलाल दुगड

विरूद्ध

विपक्षी : श्री ५ को सरकार कर कार्यालय धरान सुनसरी, श्री कर विभाग डिल्लीवजार काठमाडौं

आदेश भएको मिति : २०४१।१।४।२ मा

§  हचुवा आधारबाट गरेको आयकर निर्धारण वा आदेश सूचना पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुसिलकुमार सिन्हा

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

 

आदेश

            न्या. सुरेन्द्रप्रसाद सिंह : विपक्षी कार्यालयको ०३९।१।५ को आयकर निर्धारण आदेश तथा कर विभागको ०३८।८।२४ को निर्णय र ०३९।८।२५ को बोधार्थ कर कार्यालय धरानको ०३९।९।१२ को रकम दाखिला गर्न माग गरेको पत्र समेतका निर्णय आदेश तथा पत्रहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथ्य संक्षेपमा यस प्रकार छ ।

            २.    कर दाताको आर्थिक वर्ष ०३६०३७ कर निर्धारण भएको साल ०३८०३९ मा जम्मा खूद आय ३,७७८१८।२० देखाइएको संक्षिप्त विवरण यस प्रकार छ, तपाईंले मुनाफा रु.देखाई आ.ब.०३६०३७ को आय विवरण पेश गरेको उपस्थित भई बयान गर्दा सो कुरा पुष्टि गर्ने आधारयुक्त सबूत प्रमाणहरू पेश गर्नु भनेको आयकर ऐनको दफा ३३(४) अनुसार ७ दिने म्याद दिई लेखी पठाउँदा पनि कुनै आधारभूत सबूत प्रमाण पेश गर्न नसकेकोले त्यस फर्मको चलन चल्ति कारोवार गत सालमा कायम भएको आय प्राप्त आय तथ्याङ्क एवं सूचना र पेश हुन आएको निरीक्षकको पूरा गरेमा प्रतिवेदन समेतलाई ध्यानमा राखी ऐनको दफा ३३(३) बमोजिम उक्त आय निर्धारण गरिदिएको छ विवरण झुठ्ठा अधुरो ठहरेमा ऐन बमोजिम कारवाही गरी उसै बखत पुनः कर निर्धारण गरी असूल उपर गरिदिने व्यहोरा समेत अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको कर निर्धारण आदेश । संविधानको धारा ५८ ले कानून बमोजिम बाहेक कुनै कर लगाउन र उठाउन हुँदैन भन्ने प्रष्ट व्यवस्था गरेका हुँदा कानून बमोजिम मनासिब खर्च कटाई वास्तविक खूद आय निर्धारण गर्ने कारवाही गरी मात्र कर निर्धारण गर्नुपर्नेमा आयकर ऐन दफा २(ढ) दफा ६ बमोजिम नगरी नेपाल आयकर नियम, ०२० को नियम ११(२) र आयकर नियमावली, ०३९ को नियम १६ बमोजिम आयको हिसाब कसरी गएको छ सो समेत नखुलाई गरेको आदेशबाट कर रकम उठाउन नपाउने त्यस्तो कर विभागले नै बदर गरी कानून बमोजिम गर्न लगाउन पर्नेमा सो गर्नु नभएकोबाट कर विभाग समेतको मिति ०३९।८।२४ को निर्णय को ऐ २५ गतेको सूचना समेत सम्पूर्ण निर्णय आदेश सूचना गैरकानूनी भएबाट निवेदकको संविधानको धारा ११(२)(ङ) र धारा १५ तथा धारा ५८ र धारा ११(३) को हक अधिकारमा आघात पुगेकोले सो प्रचलनको लागि धारा १६ तथा धारा ७१ बमोजिम उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जी जारी गरी उपरोक्त आदेश एवं निर्णय बदर गरी कानून तथा प्रतिपादित सिद्धान्त बमोजिम आयकर निर्धारण गर्नु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

            ३.    विपक्षीबाट सम्बन्धित मिसिल समेत राखी लिखितजवाफ मगाउनु भन्ने समेत ०३९।१०।२५।३ को सिङ्गलबेञ्चको आदेश ।

            ४.    फ्नु भनाइलाई पुष्टि गर्ने कुनै प्रमाण पनि पेश गर्न नसकेकोले ऐन बमोजिमको कृया अपनाई ऐनको दफा ३३(४) बमोजिम निवेदकलाई मौका दिएकोमा समेत निवेदक अनुपस्थित भई बसेबाट गत वर्ष यिनै निवेदकको कर निर्धारण हुँदा प्राप्त तथ्याङ्कको आधारमा चिरान लकडी बिक्रीमा प्रति क्यूफीट रु.३२।५० का दरले आय कायम गरिएकोमा निवेदक सहमत भएको र यस वर्ष लकडीको भाउ वृद्धि समेतलाई दृष्टिगत गरी निवेदकले यस वर्ष प्रति क्यूवीफीट रु.२७। बिक्रीदर कायम गरिपाउँ भनी गरेको माग आधारहिन देखिन आएकोले यस्तो कारोवार गर्ने करदाताको आय कायम गर्दा अपनाइएको आधार गत साल कायम भएको आयको आधार र कर निरीक्षकको प्रतिवदेनलाई ध्यानमा राखी चिरान लकडी बिक्रीमा रु.३७।कायम गरी सो मा रु.१०। प्रतिशतले आय कायम गरिएको चीरान तर्फ निवेदकका करार भएको छ भने बमोजिम रु.२।५१ कायम गरी त्यसमा ५०।प्रतिशत खर्च मिन्हा दिई न्यायपूर्ण तरीकाले निर्णय गरिएको हो त्यसकारण रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको कर कार्यालय धरानको लिखितजवाफ ।

            ५.    निवेदकलाई ऐनको दफा ३(२) अनुसार आय निर्धारण गर्नलाई आफ्नो सबूत प्रमाण दिने मौका दिइएन भन्ने सम्बन्धमा कर कार्यालय धरानले ०३८।८।१६ मा र त्यसपछि मिति ०३८।९।२६ मा ऐनको दफा ३३(४) बमोजिम अन्तिम मौका दिइएको नै देखिन्छ । उपस्थित नभई ऐनको दफा ३३(२) अनुसार आय कायम भई आएमा मञ्जूर गरी बसी अहिले मौका दिएन भन्ने आधारहीन जिकीर पुग्न नसक्ने र जरिवानाको विषयमा म्यादभित्र विवरण पेश नगरी म्याद नघाई गरेकोले सो विवरण खुलाई जरिवाना गरेकै हुँदा सो जिकीर पनि आधारहीन छ । निर्णय पर्चाको नक्कल सारी लगेको नै हुँदा निजको आय हिसाब थाहा भइसकेकोमा नखुलेको भनेको जिकिर पनि कानूनी छैन यसकारण झुठ्ठा तथा निराधार रिट निवेदन खारेज गरिपाउँ भने समेत व्यहोराको कर विभागको लिखितजवाफ ।

            ६.    निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हाले खूद आय निर्णय गर्दा त्यसको आधार खुलेको हुनुपर्छ आयको हिसाब कसरी गरिएको छ र निर्धारण आदेश कसरी गरिएको छ त्यसको सबै विवरण खुलाई करदातालाई दिनु पर्छ । आयकर नियम, ०३९ को नियम १६ बमोजिम खूद आयको आधार उल्लेख भएको हुनु पर्ने तर यसमा त्यस्तो गरेको देखिन्न । न्यायोचितबाट निर्धारण गर्दा निर्धारणको आधार प्रष्ट खुलाई त्यसमा करदातालाई भन्ने मौका प्रदान गर्नुपर्ने समेतका आधारबाट निर्णय बदर गरी पुनः निर्णय गर्न कर कार्यालयका नाउँमा आदेश हुनु पर्ने भन्ने बहस प्रस्तुत गर्नुभयो ।

            ७.    विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले निवेदकको पासमा रीतपूर्वकको हिसाब किताब नभएको र निवेदकले नक्कल लिएबाट जानकारी नभएको भन्न मिल्दैन भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

            ८.    यसमा बजरङ्गवली समिलको आ.ब.०३६०३७ आ.ब.को कर निर्धारण आदेशमा खूद आय रु.३,७७ ८१८।२० कायम गरी कर रु.१,६७१५९।१० लाग्ने गरेकोमा कुनै आधार नखुलाइएकोले सो निर्धारण समेतका निर्णयपत्रहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदकको माग भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो त्यसतर्फ हेर्दा आयकर नियम, ०३९ को नियम १६ मा खूद आय कायम भएको आधारहरू उल्लेख हुनु पर्ने व्यवस्था भएको र हिसाब किताब नभएको कर दाताको न्यायोचित अनुमानबाट आय निर्धारण गर्दा अपनाउने कानूनी व्यवस्था पनि अपनाई आय निर्धारण गरेको देखिन्न र खूदआयमा खर्च कटाउँदा पनि कानूनबमोजिमका आधारहरू अपनाइएको पाइन्न । यस्तो हचुवा आधारबाट गरेको मिति ०३९।८।२४ को आयकर निर्धारण आदेश तथा सो सम्बन्धित आदेश सूचना पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानून बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाउन फाइल नियम अनुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल बैशाख ४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु