शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८८६ - ठगी

भाग: २६ साल: २०४१ महिना: बैशाख अंक:

निर्णय नं. १८८६   ने.का.प. २०४१           अङ्क १

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको फौ.पु.नं. ४५०

मुद्दा : ठगी

पुनरावेदक/प्रतिवादी :    धरान नगरपञ्चायत वार्ड नं. ४ बस्ने माधवप्रसाद वस्ती

ऐ ऐ वार्ड नं. १२ बस्ने पशुपति नाथ रेग्मी

विरूद्ध

विपक्षी/वादी : ऐ ऐ वार्ड नं. ७ बस्ने गोविन्द मोक्तान

फैसला भएको मिति :   २०४१।१।३।१ मा

§  कानूनी प्रश्नमा विबन्धनको सिद्धान्त लागू हुँदैन ।

(प्रकरण नं. २०)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय

उल्लेखित मुद्दा : x

 

फैसला

          न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट भएको मिति २०३८।१०।१२ को इन्साफ उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ ।

          २.  उदयपुर माल तालुक प्र.तल्लो हटी मौजे १११ नं. पुरनदह झोरा लगत बिगहा २७।३ जिरायत ३।।४।३ र मौजे ११७ नं. बहाली झोरा लगत बिगहा ३।.।।। २ मा जिरायत नभएको मौजा ११८ नं. बेलाहा बर्दमारी झोरा लगत बिगहा ११९१।।।२ मा जिरायत बिगहा ।।१ मौजु ११० नं. भागलपुरमा लगत बिगहा ५३३ ।४।।। मा जिरायत बिगहा ४७५ समेत जिरायत ४७९।४।२ र ऐलानी नम्बरी ९५।।९।१।४ समेत ५७९।।।१ को ४ मौजाको साविक जिमीदार विपक्षी खड्गबहादुरले ०१६ सालको मालपोत बुझाउन नसकी लिलाम बढाबढबाट मैले मालपोत असूल गरी ज.बि.२०५ नदी काटमा परेकोले सोको मुआब्जा पाउने भई ०१६ सालको वक्यौता ०१७ सालको मालपोत समेत मैले सकार कबुल गरी ४ मौजाको बहाली चलानी पूर्जि पाई मेरो हक भएको । विपक्षी मध्ये खड्गबहादुर, पशुपतिनाथ र माधवप्रसाद समेत मिली अवैधानिक कागज गरी पशुपतिले ४० बिगहा माधवप्रसादले ७५ बिगहा र खड्गबहादुरले ६० बिगहा समेत गरी १७५ बिगहाको भूआर्जन अधिकृत बोधविक्रमलाई हात लिई पशुपतिनाथले रु.३१,९३०। माधवप्रसादले रु.५९,८५०। र खड्गबहादुरले रु.४७,८८०।समेत जम्मा रु.१,३९,६६०।मुआब्जा ठगी गरी लिए खाएकोले बिगो दिलाई ठगीका ४ नं. बमोजिम विपक्षीहरूलाई सजाय समेत गरिपाउँ भन्ने व्यहोराको मिति २०२२।१०।१८ को मानबहादुर तामाङको फिराद ।

          ३.  भागलपुरको जिमीदारी खड्गबहादुरका नाउँमा दर्ता रहेकोले रैती बन्दोवस्त गर्नुपर्ने भई खड्गबहादुरको भाइ मानबहादुर र आमा चन्द्रमाया समेतका अरू रैती र मलाई पनि खड्गबहादुरले पोत लिई रैती भर्ना गरी २०१५ सालको बाँकी पोत मबाट लिई जि. पं.श्रेस्तामा समेत उपर गरी २०१६ सालको बाली लगाएपछि कोशी कटान भई २०१८ सालमा वादीले मौजा लिएको हुनाले कोशी कटानको मुआब्जा वादीले नपाउने हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको २०२३।३।३।६ को माधवप्रसाद वस्तीको प्रतिउत्तर ।

          ४.  जिरायत जग्गा बिगहा ४७५ मध्ये बिगहा ५० जिमीदार जगतबहादुर श्रेष्ठले मलाई लिखित गरी दिएको हो । सो मध्ये ४० बिगहा जग्गा नदी काटमा परेकोले सोको क्षतिपूर्ति पाइने हुँदा क्षतिपूर्ति बुझेको हो वादीको सो जग्गामा हक दावी नपुग्ने हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको २०२३।३।३।६ को माधवप्रसाद वस्तीको प्रतिउत्तर ।

          ५.  मिति २०२२।११।२१ मा तामेल भएको म्यादमा विपक्षी खड्गबहादुर श्रेष्ठले प्रत्यूत्तर नदिई गुजारी बस्नुभएको ।

          ६.  ठगीको १ नं. को परिभाषामा यो मुद्दा मिल्दो जुल्दो हुन नआई जग्गाको हक बेहकको अवस्था देखिएकोले ठगी गर्‍यो भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको २०२९।१०।१०।३ को फैसला ।

          ७.  उक्त फैसलामा चित्त नबुझेको मुद्दा सकार गर्ने गोविन्द मोक्तानको पुनरावेदन पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेकोमा सो अदालतबाट वादी दावीको जग्गा वादीको हक लाग्ने हो वा प्रतिवादीको हक पुग्ने हो ? यसतर्फ प्रस्तुत मुद्दाबाट ठहर गर्न नमिल्ने भनी गरेको शुरूको निर्णय समेत नमिलेको हुँदा शुरू फैसला बदर हुन्छ । जग्गातर्फ लाग्ने कोर्टफी लिई त्यसतर्फ ठहर गरी प्रस्तुत मुद्दाको मूल दावी ठगीतर्फ समेत कानून बमोजिम निर्णय गर्न दुवै पक्षलाई शुरू जि. अ.को तारिख तोकी पठाई दिनु भनी २०३३।८।४।२ मा फैसला भएको ।

          ८.  सो फैसलानुसार कारवाही हुँदा सो मानबहादुरले पोत बाँकीमा उदयपुर मालबाट लिलाम बढाबढ हुँदा पोत तिरी ४ मौजाको जग्गा दर्ता रहेको २०५ बिगहा जग्गा कोशी कटानमा परेकोले सोको मुआब्जा प्रतिवादीले ठगी गरी लिएको हुनाले सो क्षतिपूर्ति मैले पाउनु पर्ने भन्ने समेत व्यहोराको वादीको मु.स.गर्ने गोविन्द मोक्तानको वा.टीकाबहादुरको २०३४।१०।२६ को बयान।

          ९.  प्रतिवादी पशुपतिनाथले दाखिल गरेको चलानी पूर्जि र २ नं. रसिद समेत माधवप्रसाद, पशुपति र खड्गबहादुर भई जालसाज गरी दाखिल गरेका हुन् भन्ने समेत व्यहोराको गोविन्द मोक्तानको वा.टीकाबहादुरको पुनः २०३५।५।३० को बयान ।

          १०.  २०१५ सालमा जिमीदार जगतबहादुर वर्खास्त भई ०१६ सालमा खडगबहादुर बहाली भएको हुन । जगतबहादुरले दिएको रसिद कीर्ते जालसाजी हो भन्ने कुरा वादीको बयान छ । यस्तो हो भने पशुपतिनाथलाई नै थाहा होला । रसिद र चलानी सद्धे हो, जालसाजी होइन भन्ने समेत व्यहोराको २०३५।५।३० को पशुपतिनाथको वा घनश्याम अधिकारीको बयान ।

          ११.  २०१५०१६ सालको नदी काटको जग्गाको १ वर्षको वालीको क्षतिपूर्ति दिने भन्ने नेपाल सरकार र भारत सरकारबाट निर्णय भई जसजसले बाली लगाएका हुन् उस उसलाई भूआर्जन कार्यालय सप्तरी अञ्चलाधीश कार्यालय समेतबाट रैतीहरूले क्षतिपूर्ति पाएका छन् । सो क्षतिपूर्ति जग्गाको मुआब्जा नभई बालीको मुआब्जा हो भन्ने समेत व्यहोराको २०३५।५।३० को माधवप्रसादको वा इन्द्रकुमारको बयान ।

          १२.  वादीको वा.टीकाबहादुरले गर्नुभएको बयान सुनेँ । ०१५।१।१५ को चलानी पूर्जि एवं जगतबहादुरको छाप र ०१७ सालको चलन पूर्जि पेश गरेकी छु । मेरा बाबु जि. जगतबहादुर ०१५ साल आषाढमा परलोक हुनुभएको हो । ०१५ साल आषाढमा उदयपुर मालबाट चलन पूर्जि पाई सो मितिदेखि जिमदार कायम हुनुभएकोमा छापमा ०१४ सालको हुनाले कीर्ते रसिद र चलानी हो भन्ने समेत व्यहोराको खड्गबहादुर श्रेष्ठको ०३५।५।५।३० को बयान ।

          १३.  जग्गाको मुआब्जा हाम्रो हो भनी नभएको झुठ्ठा व्यहोरा लेखी लेखाई गरेको काम ठगीको महलको १ नं. परिभाषा भित्र पर्ने हुँदा प्रतिवादीहरूले ठगी गरेको ठहर्छ ठगीको ४ नं. ले प्रतिवादीहरूलाई रू.५००।जरिवाना हुन्छ । प्रतिवादीहरू पशुपतिनाथ, माधवप्रसाद र खड्गबहादुरबाट क्रमशः रु.३१,९३०।–, रु.५९,८५०।र रु.४७,८८० बिगो वादीले भराई लिन पाउने समेत ठहर्छ भन्ने जिल्ला अदालतको ०३६।६।२५।५ को फैसला ।

          १४. सो फैसला बदर गराई माग्न प्रतिवादी माधवप्रसाद वस्ती र पशुपतिनाथ रेग्मी समेत २ जनाको पृथकपृथक पुनरावेदन पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेकोमा उक्त अदालतबाट जुन जग्गाको मुआब्जाको रकम ठगी गरी प्रतिवादीले लिए भन्ने वादी दावी छ, सो जग्गा वादीले ०१८ सालमा चलन पाएको कुरालाई प्रतिवादीले पनि स्वीकार गरेको र झुक्याई गफलतको कार्य गरी ०२० सालमा मुआब्जा लिएको मिसिल संलग्न भर्पाईबाट देखिन्छ । प्रतिवादी मध्येका खड्गप्रसादले २०२० सालमा प्र.पशुपतिको ४० बिगहा र प्र.माधवप्रसादको ७५ बिगहामा दरखास्त दिई आफ्नो हक नभएको जग्गालाई हक नभएको भनी मुआब्जाको रकम लिई प्रतिवादसम्म गर्न नसकी म्यादै गुजारी बसेका र वादीले चलानी पूर्जि पाई जग्गामा हक प्राप्त गरेको अवस्थामा २०२० सालमा प्रतिवादीहरूले सोही जग्गाको क्षतिपूर्तिको रकम बुझेको देखिँदा ठगी गरेको ठहराएको शुरू सुनसरी जिल्ला अदालतको इन्साफ मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने भनी मिति २०३८।१०।१२ मा फैसला भएको रहेछ ।

          १५. उक्त फैसला प्रत्यक्षतः गम्भीर कानूनी त्रुटिपूर्ण भएकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी माधवप्रसाद वस्ती र पशुपतिनाथ रेग्मी समेतको संयुक्त निवेदन परेकोमा वादीलाई फकाई वा धोका दिई वा झुक्याई गफलतमा पारी निजबाट मुआब्जाको रकम लिएको भन्ने नदेखिएकोले प्रस्तुत मुद्दा ठगीको १ नं. को परिभाषा भित्र पर्न सकिने देखिँदैन । यस्तोमा ठगी गरेको ठहराएको शुरूको इन्साफ बदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा ठगीको १ नं. को त्रुटिपूर्ण व्याख्या गरी निर्णय भएको देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भनी यस अदालत डिभिजन बेञ्चबाट मिति २०४०।२।३१ मा आदेश भएको रहेछ ।

          १६.  पुनरावेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विपक्षीको फिराद ठगीको १ नं. मा गरिएको परिभाषा अन्तर्गत पर्दैन । सो ऐनको परिभाषा अन्र्तगतको कार्य नै नभएकोलाई ठगीमा लिएको दावीबाट इन्साफ गर्न मिल्दैन । मेरो पक्षलाई मुआब्जा दिँदा अञ्चलाधीश भूआर्जन कार्यालय र सप्तरी माल समेत बसी निर्णय गरी सो निर्णयानुसार प्राप्त गरेको मुआब्जालाई ठगी गरेको भन्न नमिल्ने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला बदर हुनुपर्छ भनी र वादीतर्फका विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायले आफ्नो हकै नभएको जग्गालाई हक भएको भनी प्रतिवादीहरूले ठगी गरी मुआब्जाको रकम समेत लिएको हुँदा ठगी गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

          १७. प्रस्तुत मुद्दामा पू. क्षे.अ.बाट भएको इन्साफ मिलेको छ छैन सो कुरामा निर्णय दिनुपरेको छ ।

          १८.  यसमा निर्णयतर्फ विचार गर्दा विराटनगर कोशी योजना भूआर्जन कार्यालयबाट क्षतिपूर्तिको रकम प्रतिवादीहरूले लिएको कुरा स्वयं फिरादीले स्वीकार गर्नुभएको पाइन्छ । विपक्षी प्रतिवादीहरूले त्यसरी उक्त कार्यालयबाट क्षतिपूर्तिको रकम लिएको सिलसिला एवं सन्दर्भमा वादी मलाई प्रतिवादीहरूले ठगी गरे भनी फिराद दावी लिई आउनुभएको छ ।

          १९.  ठगीको महलको १ नं. मा कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक नपुग्ने मानिसलाई वा जसका जिम्मा रहेको छ उसलाई ललाई फकाई वा अरू जुनसुकै व्यहोरासँग धोका दिई वा झुक्याई गफलतमा पारी बेइमानीका नियतले लिए दिए दिलाए वा अर्काको माल मेरो हो वा मेरो भएको छ भनी लिए दिए बिक्री व्यवहार गरेमा ठगी गरेको ठहर्छभन्ने लेखिएको पाइन्छ ।

          २०. उक्त परिभाषा अनुसार ठगी हुनाको लागि हक नपुग्ने व्यक्तिले हक पुग्ने व्यक्तिलाई वा जसको जिम्मा रहेको छ उसलाई ललाई फकाई वा धोका दिई झुक्याई गफलतमा पारी चल अचल धनमाल लिएको हुनु पर्ने देखिन्छ प्रस्तुत मुद्दामा प्रतिवादीहरूले वादीलाई उक्त ऐनको परिभाषामा उल्लेख गरे अनुरूप ललाई फकाई वा धोखा दिई झुक्याई गफलतमा पारी रकम लिएको भनी स्वयं वादीले भन्न सकेको छैन । प्रतिवादीहरूले कोशी योजना भूआर्जन कार्यालयबाट नदीकाटमा परेको जग्गाको क्षतिपूर्तिको रकम लिएको भन्ने कुरा स्वयं वादीको लेखबाट देखिन्छ । भूआर्जन कार्यालयको तर्फबाट ठगी मुद्दा दायर भएको होइन साथै उक्त भूआर्जन कार्यालयलाई वादीले प्रतिवादी गराउन सकेको पनि देखिँदैन । पूर्वाञ्चल क्षेत्रीय अदालतले ठगीतर्फ इन्साफ तहकिकात गर्न पठाएको र उक्त निर्णय बदर नभएकोले अब आएर ठगीको परिभाषा भित्र पर्दैन भन्न मिल्दैन भन्ने सम्बन्धमा कानूनी प्रश्नमा विबन्धनको सिद्धान्त लागू हुँदैन । कोशी योजना भूआर्जन कार्यालयको निर्णयबाट प्रतिवादीहरूले लिएको क्षतिपूर्तिको रकम उक्त ठगीको १ नं. को परिभाषा भित्र नपर्ने हुँदा ठगी गरे भन्ने वादी दावी खारेज हुने ठहर्छ । ठगीको नं. १ को गलत व्याख्या गरी वादी दावी बमोजिम प्रतिवादीहरूले ठगी गरेको ठहराएको सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत गल्ती हुँदा उक्त दुवै फैसलाहरू उल्टी हुने ठहर्छ । प्रस्तुत ठगी मुद्दाबाट जालसाजी र जग्गा मुद्दा समेत चलेको देखिँदा मूल ठगी मुद्दा नै खारेज भएकोले जालसाजी र जग्गा मुद्दातर्फ तहकिकात गरिरहनु परेन ।

          २१.  प्रतिवादीहरू मध्ये खड्गबहादुर श्रेष्ठले शुरू म्यादै गुजारी प्रतिवाद नै नगरी बसेको भए पनि अन्य प्रतिवादीहरूको पुनरावेदनबाट वादी दावी खारेज भई पू. क्षे.अ.को निर्णय उल्टी हुने ठहरेकोले अदालती बन्दोवस्तको २०५ नं. बमोजिम पुनरावेदन नगर्ने प्रतिवादी खड्ग बहादुर श्रेष्ठको हकमा समेत वादी दावी खारेज भई पू.क्षे.अ.को निर्णय उल्टी हुने ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी देहायका व्यक्तिहरूके सुनसरी जि. अ.का.२०३६।६।२५ का फैसलाले निजहरूबाट जग्गातर्फ बिगो रु.१,३९,६६०। को लाग्ने कोर्टफी रु.४०६३।२० देहायका दरले जरिवाना सरह असूल उपर गर्ने गरेकोमा हाल वादी दावी खारेज भई उक्त कोर्टफी वादीबाट भरी पाउने हुँदा माधवप्रसाद वस्तीबाट ०२६।८।२१ मा र पशुपति रेग्मीबाट ०३६।८।२७ मा असूल भइसकेको मिसिल सामेल रहेको सुनसरी जिल्ला अदालतको रसिदबाट देखिएकोले निजहरूले भराई पाउँ भनी वादीको यसै सरहको जेथा देखाई ऐनका म्यादभित्र दर्खास्त दिएमा दस्तूर केही नलिई वादीबाट भराई दिनु भनी र खड्गबहादुरका हकमा असूल नभएको भए वादीबाट असूल गर्नु र असूल भएको भए वादीबाट भराई दिनु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु .....................१

प्रतिवादी माधवप्रसाद वस्ती के रु.१७३७।, प्रतिवादी खड्गबहादुर श्रेष्ठ के रु.१३८७।, प्रतिवादी पशुपतिनाथ रेग्मी के रु.९३९।

प्रतिवादी देहायका मानिसहरु के सुनसरी जिल्ला अदालतको ०३६।६।२५ का फैसलाले निजहरूलाई ठगी तर्फ रु.५००। जरिवाना गरी देहायका दरले असूल गर्न गरेकोमा हाल वादी दावी खारेज भई सो फैसला उल्टी भएकोले उक्त जरिवाना नलाग्ने हुँदा माधवप्रसादबाट ०३६।८।२१ मा र पशुपतिनाथबाट ०२६।८।२७ मा असूल भएको देखिँदा निजहरूले फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिएमा दस्तूर केही नलिई सोही रकमबाट फिर्ता दिनु र म खड्गबहादुरका हकमा असूल भएको भए फिर्ता र नभएको भए लगत कट्टा गरी दिनु भनी ऐनको ऐ ऐ..................... २

प्रतिवादी माधवप्रसाद वस्ती के रू.१६६।६७ प्रतिवादी पशुपतिनाथ रेग्मी के रू.१६६।६७, प्रतिवादी खड्गबहादुर श्रेष्ठ के रु.१६६।६६

प्रतिवादी देहायका मानिसहरू कै पू.क्षे.अ.को मिति ०३८।१०।१२ को फैसलाले निजहरूलाई पुनरावेदन गरेबापत देहाय बमोजिम थप जरिवाना गर्ने गरेकोमा हाल वादी दावी खारेज भई सो फैसला उल्टी भएकोले सो जरिवाना नलाग्ने हुँदा प्रतिवादी माधवप्रसाद, पशुपतिनाथले पुनरावेदन गर्दा ०३८।११।१८ मा का.जि. अ.ले सो बुझाएको देखिँदा झिकी पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परेमा निजहरूलाई सोही रकमबाट फिर्ता दिनु भनी र खड्गबहादुरका हकमा असूल भएको भई फिर्ता नभएको भए लगत कट्टा गरी दिनु भनी ऐ मा ऐ ऐ....................... ३

प्रतिवादी पशुपतिनाथ रेग्मी के रु.१६।६७, प्रतिवादी माधवप्रसाद वस्ती के रू.१६।६७, प्रतिवादी खड्गबहादुर श्रेष्ठ के रु.१६।६७

प्रतिवादी देहायका मानिहरू के सुनसरी जिल्ला अदालतको ०३६।६।२५ र पू.क्षे.अ.को ०३८।१०।१२ को फैसलाले निजहरूबाट ठगी गरेको विगो देहायका दरले वादीलाई भराई दिने गरेकोमा हाल वादी दावी खारेज भई सो बिगो तिर्नु नपर्ने हुँदा व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी सुनसरी जि. अ.मा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु......................... ४

प्रतिवादी पशुपतिनाथ के रु.३१९३०। प्रतिवादी माधवप्रसाद वस्ती के रु.५९८५०।, प्रतिवादी खड्गबहादुर श्रेष्ठ के रू.४७८८०। जम्मा रु.१,३९६६०।

प्रतिवादी पशुपतिनाथ रेग्मी के निजलाई जालसाजीतर्फ सुनसरी जि. अ.को ०३६।६।२५ को फैसलाले रु.२१।४७ र पू.क्षे.अ.को ०३८।१०।१२ को फैसलाले रू.२।१५ जरिवाना गर्ने गरेकोमा हाल वादी दावी खारेज भई उक्त दुवै फैसलाहरू उल्टी हुने ठहरेकोले सो जरिवाना नलाग्ने हुँदा र सो जरिवाना क्रमशः ०३६।८।२७ मा र ०३८।११।१८ मा बुझाएको मिसिल संलग्न रसिदबाट देखिएकोले फिर्ता पाउँ भनी ऐ मा ऐ ऐ..................५

मिसिल नियम अनुसार गरी बुझाई दिनु ....................६

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल वैशाख ३ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु