शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: बैशाख अंक:

निर्णय नं. १८८७   ने.का.प. २०४१           अङ्क १

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको रिट नं. १२२१

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : ल.पु.न.पं. वडा नं. ६ बस्ने आशाकाजी शाक्य

विरूद्ध

विपक्षी   : ऐ ऐ बस्ने आशारत्न शाक्य,

३ नं. नापी गोश्वारा अधिकृत

मालपोत कार्यालय ल.पु. का अधिकारी

३ नं. नापी गोश्वारा ४ नं. नापी टोली ल.पु. को समीतिका अध्यक्ष श्री प्र.जि.अ. ल.पु.जि

आदेश भएको मिति :   २०४१।१।१४।५ मा

§  तेरो मेरो विवाद उठेकोमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ को समितिले गर्न पाउने गरी उक्त दफामा लेखिएको नपाइने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री खड्गमान सुवेदी

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली एवं विद्वान सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधान

उल्लेखित मुद्दा : x

 

आदेश

          न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ ।

          २.  मेरा पुर्खा बाबु बाजेको पालाको घर भत्की पाताल भइरहेको ल.पु.न.पं. वडा नं. ६ वकु वहाल चिमालाछी टोलको पूर्व म आशाकाजीको घर र म समेतेको साझा थालीपात पश्चिम मेरो साझा इनार भएको चोक र बाटो उत्तर मेरो आफ्नो टहरा दक्षिण विपक्षी मध्येका आशारत्नको किलास समेतको घर र मेरो र ऐ बस्ने बहादुर शाक्यको र विपक्ष आशारत्न समेतको साझा चोक यति ४ किल्ला भित्रको पूर्व पश्चिम लम्बाई फुट १६ उत्तर दक्षिण चौडाई फुट ५५ इन्चको घर पातालको वारी बाबु बाजेको शेष पछि मेरो हक भई सो जग्गा तर्फ मेरो घरको बलेसी समेत तर्काई उक्त जग्गा मध्ये पश्चिम तर्फ कानूनको रीत पुर्‍याई आधि जग्गा टहरा बनाउन जमीनमा इँटाले छापिएर बाँकी पूर्वतर्फ भागमा सागपात तरकारी लगाई आजका मिति सम्म मेरै हकभोग चलनमा भएको भन्ने नक्सा सरजमीन भएमा पनि प्रष्ट हुनेछ । उक्त जग्गा हाल नापी हुँदा कि.नं. २१६ कायम भएको छ । उक्त मेरो जग्गाको दक्षिण साँधको आशारत्नको स्ववासी घरमा तला थपी घर बनाउने र चर्पी बनाउने भन्ने ल.पु.न.पं.मा विपक्षीको नक्सा दर्खास्त गर्दाका अवस्थामा विपक्षले आफ्नो साविक स्ववासी घरको उत्तर म आशाकाजीको केबवारी र म आशाकाजीको साझा धालपात भनी किटानी लेखिएको र सो बनाउने घर बाहेक चर्पी बनाउने भन्नेको ४ किल्ला देखाउँदा पूर्व बाटो र मेरो र आशाकाजीको घर पश्चिम साझा चोक र सार्वजनिक इनार भएको चोक उत्तर मेरो र आशाकाजीकै साझा घालपात र निज आशाकाजीकै घर र केवबारी दक्षिण ऐ बस्ने बहादुर शाक्यको किलास समेतको घर भनी ४ किल्ला देखाई लेखिएकोबाट मेरो केवबारी र साझा चोक समेत घुमाउरो तरिकाबाट घुमाई आफ्नो एकलौटी हक कायम गर्न ल.पु.न.पं.मा नक्सा दरखास्त गर्नु भई म उक्त सँधियार भनी र बहादुर शाक्य दक्षिण सँधियार भनी देखाई १५ दिनको म्याद जाहेर गराउनु भएको रहेछ । सो म्याद म आसाकाजीको घर पाताले केवबारी र साझा चोक घुसाई दर्खास्त गरेकोले रोकी पाउँ भन्ने र साझा चोक घुसाएकोले नक्सा पास रोक्का गरिपाउँ भन्ने बहादुर शाक्यको उजूर परी ल.पु.न.पं.बाट चर्पी बनाउने तर्फ तेरो मेरो देखिएकोले जि. अ.मा नालेश गरी हक कायम गरी ल्याएका अवस्थामा नक्सा पास गरिदिने र तला बनाउने तर्फ छुट्टै नक्सा दर्खास्त परे कानून बमोजिम नक्सा पास पूर्जि गरिदिने निर्णय भएकोमा कुनै अड्डा अदालतमा आफ्नो हक कायम उजूर गर्न जानु भएको छैन । सो बाट उक्त कि.नं. ३१६ को जग्गा मध्ये आधा जग्गाको हकै हनन् हुने गरी सो जग्गा विपक्ष र मेरो साझा चोक कायम गरी दिनु भनी निर्णय भएबाट कानूनी त्रुटि हुँदा बदर हुन पर्ने । विपक्षी समितिको ०३९।६।२० को निर्णय बदर गराउन अन्य उपचारको बाटो नहुँदा उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी मेरो मौलिक एवं कानूनी हक प्रचलित गरी माग्न निवेदन गर्दछु भन्ने समेतको रिट निवेदन जिकिर ।

          ३.  यसमा के कसो भएको हो ? विपक्षसँग लिखितजवाफ लिने भन्ने समेतको यस अदालत सिङ्गलबेञ्चको मिति ०३९।१०।४ को आदेश ।

          ४.  विवादित जग्गाको सम्बन्धमा ल.पु.जि. अ.मा मुद्दा परी विचाराधीन रहेको हुँदा त्यसमा असर पर्न जाने गरी निवेदकका माग अनुसार रिट जारी हुनु पर्ने होइन खारेज हुनु पर्ने हुँदा खारेज गरिपाउँ भन्ने समेतको आशारत्न शाक्यको लिखितजवाफ रहेछ ।

          ५.  पक्ष विपक्षबाट पेश भएका कागज सरजमीनको आधारमा साझा चोक कायम गरेबाट निज आशाकाजीको संवैधानिक हक हनन भएको नहुँदा रिट खारेज गरिपाउँ भन्नेसमेतको २ नं. नापी गोश्वाराको लिखितजवाफ ।

          ६.  नियम बमोजिम दैनिक पेशी सुचीमा चढी आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत रिट निवेदनमा रिट निवेदक आशाकाजीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता खड्गमान सुवेदीको र विपक्षी आशारत्नतर्फबाट उपस्थित वि.व.अधिवक्ता श्रीशम्भुप्रसाद ज्ञवाली एवं विपक्षी कार्यालय तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधानको बहस समेत सुनियो ।

          ७.  प्रस्तुत विषयमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

          ८.  यसमा कि.नं. ३१९ को चोकमा तपाईको र आशाकाजी शाक्यको तेरो मेरो परेका मिसिल जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६.५ बमोजिम नापनक्सा हुँदा ललितपुर नगरपञ्चायत वडा नं. ६ को कि.नं. २१ कायम भई नाप नक्सामा आएको जग्गालाई साझा चोक कायम गरी दिने भन्ने समितिबाट निर्णय भएको पाइन्छ ।

          ९.  विवादको कित्ता जग्गा आशारत्न शाक्य र आशाकाजी शाक्यका बीच तेरो मेरा परेको विवादलाई खुदै विपक्षी समितिले स्वीकार गरेको देखिन्छ ।

          १०.  जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (५) मा जग्गा नाप जाँच हुँदा जग्गावालाले आफ्नो हकभोगको प्रमाणपत्र आफैं वा आफ्नो प्रतिनिधिद्वारा पठाई आफ्नो जग्गा दर्ता गराउनु पर्छ ऐलानी जग्गा सार्वजनिक जग्गा, गुठी अधिनस्थ जग्गा र निर्धारित भएको वन सिमाना भित्रको जग्गा बाहेक दर्ता तिरो केही नभई परापूर्व देखि वेनिस्सा हकभोग भई आवाद गरी खाई आएको जग्गावालाले पनि सो जग्गा दर्ता गराउनु पर्नेछ । त्यसरी परापूर्व देखिको हक भोगको आधारमा दर्ता गराउन आएमा त्यसरी दर्ता गराउन आएको जग्गाको पञ्चायत, वडा चार किल्ला र दर्ता गराउन आएको व्यक्तिको नाम ठेगाना खोली सो उपर कसैको उजूर भए सूचना दिएको एक्काइस दिनभित्र नापी टोलीमा उजूर गर्न पाउने व्यहोरा समेत खोली नापी टोलीले सो जग्गाको मोही, साँध, सँधियार समेत धेरैजनाको आवत जावत हुने मुख्यमुख्य ठाउँहरूमा सूचना टाँसी जिल्ला र स्थानीय पञ्चायतलाई लिखित सूचना समेत गर्नुपर्नेछ । उजूर नपरेमा अन्य क्षेत्रको भए नापी टोलीले र शहरी क्षेत्रको वेनिस्साको स्ववासी चर्ची आएको घर जग्गा भए नापी गोश्वाराको सरजमीन र आवश्यक जाँचबुझ गरी आफ्नो राय साथ श्री ५ को सरकारले समिति वा अधिकारी छेउ जाहेर गरी भएको निस्सा बमोजिम गर्नुपर्नेछ भन्ने उल्लेख भएको पाइन्छ ।

          ११.  कुनै जग्गाको सम्बन्धमा तेरो मेरोको विवाद उठेमा सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने हुन आउँछ ।

          १२.  तेरो मेरोको विवाद उठेकोमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ को समितिले गर्न पाउने गरी उक्त दफामा लेखिएको पाइन्न ।

          १३.  त्यस्तो हक बेहकको प्रश्न उपस्थित भएमा अदालतमा जानु भनी सुनाई दिनु पर्नेमा साझा चोक कायम गर्ने गरी दिने ठहराएको विपक्षी समितिको ०३९।६।२० गतेको निर्णय अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ, अब पुनः कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी समितिको नाउँमा परामादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालय कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम गरी फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल वैशाख १४ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु