शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८९० - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: बैशाख अंक:

निर्णय नं. १८९०   ने.का.प. २०४१           अङ्क १

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको फौ.सा.नं. २५

मुद्दा : कर्तव्य ज्यान

वादी :   धनसरी मगर्नीको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : बाग्लुङ जिल्ला अजैया गा.पं.बस्ने यमबहादुर नायक क्षेत्रीय

फैसला भएको मिति :   २०४१।१।६।४ मा

§  चस्मदिद गवाहको अभावमा केवल शंकाको आधारमा अभियुक्तलाई अपराधी भन्न न्यायसंगत हुँदैन ।

(प्रकरण नं. १८)

वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

विपक्षी तर्फबाट : वैतनिक विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

उल्लेखित मुद्दा : x

 

 फैसला

          न्या. पृथ्वीबहादुर सिंह :  पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

          २.  मेरी ४९ वर्षकी सासू विष्णु थापा मगर्नी २०२७।१०।२२ गते खर्कुवा वार्ड नं. ५ बस्ने नरबहादुर थापा मगरको घरमा विवाहको निम्तोमा गई कुन बेला घर आइन थाहा भएन । भोलिपल्ट ११ बजे धनबहादुर घर्तिले भैंसी कराई रहेको हुँदा गई ढोका बाहिबाट हेर्दा पल्टेको देखेर कर्णबहादुरलाई बोलाई हेर्दा निज विष्णु मरेकी छन् भनी हल्ला हुँदा म माइतमा भएकोले त्यहाँ गई तिम्रो सासू मरेकी छन् भनी दानबहादुर बोलाउन आएबाट थाहा पाई घरमा गई हेर्दा निज सासू मरेको देखेँ । नाकको देब्रे प्वालबाट रगत बगेको दाहिनेमा लामा निल घाउ परेको, घाँटीमा डोरीले बाँधेको जस्तो रेखा बसेको थियो । सोही रात बिहानीपख यमबहादुर र सासू झगडा गरी गएका छन् भनी पवित्रा मगर्नीले भनेको हुँदा निजकै कर्तव्यबाट सासू विष्णुको मृत्यु भएको शंका लाग्छ कानून बमोजिम होस् भन्ने समेत धनसरा मगर्नीको जाहेरी दरखास्त ।

          ३.  घाँटीमा सानो घाउको दाग, नाकको दुवै प्वालबाट रगत बगेको चिउडो मुनी सानो घाउ, नाक, दाहिने घाँटीमा २ इन्ची लामो डोरीको दाग बायाँ कानको लोती केही च्यातिएको गुदद्वाराबाट केही दिशा निस्किएको भन्ने समेत २०२७।१०।२९ को लास प्रकृति मुचुल्का ।

          ४.  घाँटी अठ्याएको कारणबाट मृत्यु भएको हुन सक्छ भन्ने समेत २०२७।१०।२९ को लास जाँच प्रतिवेदन ।

          ५.  निज विष्णु थापा मगर्नीको धन सम्पत्तिको लालचले एकान्त पारी सो माघ २२ गते राति यमबहादुरले कर्तव्य गरी मारेको हुनुपर्छ धनबहादुरले बोलाएबाट हेर्न जाँदा घाँटीमा डाम र लास नजिकै डोरी पनि थियो । नाकबाट रगत आएको भन्ने समेत २०२८।४।२६ को सरजमीन मुचुल्का ।

          ६.  दरखास्तवाला र बुझिएका सरजमीनका मानिसहरूकै समेत यमबहादुर नायक सुडीले धनको लालचले गर्दा कोही नभएको मौका पारी मारी भागेको भनी तथ्य साथ पूर्ण शंका देखाएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

          ७.  प्रतिवादी यमबहादुर प्रहरी देखि फरार भई वारेण्ट र ७० दिने म्यादी पूर्जिको म्यादमा समेत हाजिर हुन नआई गुजारी बसेको ।

          ८.  प्र.यमबहादुरको अंश रोक्का भई रोक्का मुचुल्का सामेल रहेको ।

          ९.  प्रस्तुत मुद्दा अ.बं.१९० नं. बमोजिमको म्यादसम्म मुलतवी रही २०३७।४।७ मा मुलतवीबाट जगाई दायरीमा दर्ता भएको रहेछ ।

          १०.  मेरो घरमा प्र.यमबहादुर र विष्णु मगर्नीको भनाभन झगडा भएको र त्यसको भोलिपल्ट मरेकी हुँदा निज यम बहादुरकै कर्तव्यबाट मरेकोमा शंका लाग्छ । आँखाले नदेखेको हुँदा यकीन गर्न सक्दिन र अरू प्रति शंका पनि लाग्दैन भन्ने समेत पवित्रा मगर्नीले अदालतमा गरेको बकपत्र ।

          ११.  पवित्रा मगर्नीले विष्णु मगर्नी र यमबहादुर झगडा गरी गए भनेकोले कल झगडाको कारण र प्र.यमबहादुर भागी गएकोले निजैले मारेको शंका लाग्छ यकीन थाहा छैन अरू कसै प्रति शंका लाग्दैन भन्ने समेत धनसरी मगर्नीले अदालतमा गरेको बकपत्र ।

          १२.  प्रहरी प्रतिवेदन दावी बमोजिम प्रतिवादीले कसूर गरेको ठहर्छ भन्ने समेत ०३८।३।८ को बाग्लुङ जिल्ला अदालतको जाहेरी फैसला ।

          १३.  प्र.यमबहादुरलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको शुरूको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          १४. सो फैसला उपर साधक निकासाको लागि प्रस्तुत मुद्दा पेश हुन आएको छ ।

          १५. पानी घाट थुन्ने विषयमा झगडा भएकोले प्र.यमबहादुर उपर शंका लाग्छ भनी पवित्रा मगर्नीले गरेको बकपत्र र सरजमीनका अन्य व्यक्तिहरूले यमबहादुर उपर शङ्का देखाई लेखाई दिएको आधारमा कसूरदार ठहराई फैसला भएको देखिन्छ । शंकाको भरमा मात्र अभियुक्तलाई दोषी ठहराउन नहुने र किटानी प्रमाण परिबन्धको सर्वथा अभाव देखिएकोले अ.बं.२०२ नं. बमोजिम वादी पक्ष महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेत यस अदालतको ०३९।११।११ को आदेश ।

          १६.  वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्र.यमबहादुरले मृतक विष्णु मगर्नीको ज्यान मारेको भन्ने कुरा जाहेरी दरखास्त, पवित्राको बकपत्रको र सरजमीनबाट समेत स्पष्ट देखिन्छ । प्रतिवादी र मृतक बीच झगडा भएको भोलिपल्टै विष्णुको मृत्यु भएकोले त्यसमा प्रतिवादी बाहेक अरूको हात हुन सक्ने स्थिति छैन । ज्यान मार्ने कार्य खुला रूपमा नहुने हुँदा चस्मदिद गवाह हुन सक्ने स्थिति हुँदैन । अन्य प्रमाणबाट प्र.यमबहादुरले नै ज्यान मारेको देखिँदा प.क्षे.अ.को इन्साफ सदर हुनुपर्दछ भन्ने समेत र प्रतिवादी यमबहादुरको तर्फबाट रहनुभएका वैतनिक विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले प्र.यमबहादुरको कर्तव्यबाट ज्यान मारेको भन्ने तथ्ययुक्त ठोस सबूत प्रमाणको सर्वथा अभाव छ । जाहेरवालाले प्रतिवादी मृतक बीच झगडा भएको भनी पवित्राले भनेको भन्ने उल्लेख गर्दै शंका समेत देखाई जाहेर गरेको छ । बुझाएकी पवित्राले पनि झगडा गरेको सम्म देखेको भनेको छ भने सरजमीनले शंका सम्म व्यक्त गरेको छ । शंकाको भरमा मात्र अभियुक्तलाई दोषी ठहराउन मिल्दैन । शंकाको सुविधा अभियुक्तले नै पाउनु पर्दछ । कसूर गरेको प्रमाण पुर्‍याउनु पर्ने दायित्व वादी पक्षको हुँदा प्रतिवादी फरार रही प्रतिवाद गर्न नसकेको आधारमा सजाय गर्न मिल्दैन । तसर्थः प्र.यमबहादुरले सफाई पाउनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १७. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब वा बेमनासिब के छ सो कुराको निर्णय दिनुपरेको छ ।

          १८.  यसमा निर्णयतर्फ विचारगर्दा मृतक विष्णुमगर्नीको मृत्यु कर्तव्यबाट भएकोमा विवाद देखिएन । अब निजको मृत्यु कसको कर्तव्यबाट भएको हो भन्ने सम्बन्धमा विचार गर्दा निजलाई कर्तव्य गरी मारेमा प्र.यमबहादुर नायक क्षेत्रीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिमको सजायको माग दावी भई परेको प्रहरी प्रतिवेदनमा प्र.यमबहादुर शुरूदेखि नै फरार रही वारेण्ट र ७० दिने म्यादी पूर्जि म्यादमा समेत उपस्थित नभई फरार रहेकोले निजले अपराध गरेको हो कि भन्ने स्थिति देखिन आउँछ तापनि अन्य सबूत प्रमाणको मूल्याङ्कन गर्दा धनसरा मगर्नीले जाहेरी दरखास्त दिँदा मृतक विष्णु थापा मगर्नी प्र.यमबहादुरकै कर्तव्यबाट मरेकी हुन भनी लेख्न नसकी केवल शंकासम्म व्यक्त गरेको पाइन्छ । सरजमीनका व्यक्तिहरूले निज प्रतिवादी उपर शंकासम्म देखाई दिएका छन् तर किटानी साथ भन्न लेख्न सकेको पाइँदैन । बुझिएकी पवित्रा मगर्नींको बकपत्रमा पानीघाट सम्बन्धी विषयलाई लिएर अघिल्ला दिन मृतक बिष्णु र प्रतिवादी बीच भनाभन भई झगडा भएको देखेको हुँ त्यसकै भोलिपल्ट विष्णुको मृत्यु भएकोले निज प्रतिवादी उपर शंका लाग्छ तर आँखाले नदेखेको हुँदा यकीन भन्न सक्तिन भनी केवल शंकासम्म व्यक्त गरेको पाइन्छ । जाहेरवाला धनसरा मगर्नीको बकपत्रमा पनि शंकाको आधार देखिएको छ । घटना घटेको देख्ने चस्मदिद गवाहको सर्वथा अभाव रहेको पाइन्छ । मृतक विष्णु थापा मगर्नीलाई प्र.यमबहादुरले मारेको कुनै तथ्ययुक्त ठोस सबूत प्रमाण वादी पक्षबाट गुज्रन आएको देखिँदैन । चस्मदिद गवाहको अभावमा केवल शंकाको आधारमा अभियुक्तलाई अपराधी भन्न न्यायसंगत हुँदैन शंकाको सुविधा अभियुक्तले नै पाउँछ भन्ने फौजदारी न्यायको सिद्धान्त समेत अनुरूप निज प्रतिवादी यमबहादुरले विष्णु थापा मगर्नीलाई मारेको कुरा शंकारहित तवरबाट प्रमाणित हुन नआएकोले सबुद प्रमाणको अभावमा दोषी ठहराउन मिल्ने देखिन नआएकोले निज प्रतिवादी यमबहादुर नायक क्षेत्रीले सफाई पाउने ठहर्छ । शुरू बाग्लुङ जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको फैसलालाई सदर गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय गल्ती देखिँदा बदर भई उल्टी हुने ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी यमबहादुर नायक क्षेत्री के निजलाई बाग्लुङ जिल्ला अदालतका ०३८।३।८ का फैसलाले ज्यानसम्बन्धी १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेकोमा हाल सो फैसला उल्टी भई निजले सफाई पाउने ठहरेकाले रोक्का रहेको सर्वस्वसहित फुकुवा गरी जन्मकैद र सर्वस्व दुवैको व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी बाग्लुङ जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु । मिसिल नियमानुसार गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल वैशाख ६ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु