शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: बैशाख अंक:

निर्णय नं. १८९१ ने.का.प. २०४१              अङ्क १

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको रि.नं. ८१३

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : ल.पु.जि. न.पं. वार्ड नं. १६ क्बालखु बस्ने चन्द्रलाल राजभण्डारी मरी मु.स.गर्ने ऐ ऐ बस्ने हरिहरलाल राजभण्डारी

विरूद्ध

विपक्षी  : जग्गा (नापजाँच) ऐन, २०१९ को दफा ६(५) अन्तर्गत गठित समिति मार्फत जिल्ला कार्यालय ललितपुर

ल.पु.जि. न.पं. वार्ड नं. १६ मणिमण्डप महावीहार बस्ने पञ्चराज शाक्य

ल.पु.न.पं. वार्ड नं. १६ क्वालखु बस्ने हरिमान अमात्य

आदेश भएको मिति : २०४१।१।१०।१ मा

§  तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएकोमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्ने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवाल

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य र विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय

उल्लेखित मुद्दा : x

 

आदेश

        न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार छ ।

        २.  जग्गा नापजाँच हुँदा निवेदकको घर कि.नं. ७२७ बाट ढोका बाटो कि.नं. ७२८ बाट नापी भएको चोकको हकमा चोक जनिई कि.नं. ७२६ बाट नापी भएको कि.नं. ७२७ को फिल्ड कैफियत महलमा यो घरको पश्चिम तर्फको पेटीबाट कि.नं. ७२५ को घरमा जाने बाटो भनी जनिएको रहेछ । ७२५ नं. को घर विपक्षी हरिमानको हो । कि.नं. ७२७ को घर र कि.नं. ७२८ ढोकाबाटो मेरो कायम गरिपाउँ कि.नं. ७२६ को चोक कि.नं. ७२५ को घर बाबा हरीमानको र मेरो मात्र साझा कायम गरिपाउँ कि.नं. ७२७ को मेरो घरको पेटीबाट कि.नं. ७२५ घरमा जाने बाटो भनी कैफियतमा जनिएको व्यहोरा हटाई संशोधन गरिपाउँ भन्ने मेरो उजूरीमा विपक्षी समितिबाट कि.नं. ७२६, ७२७, ७२८ समेतसँग सम्बन्धित कारवाईमा सरजमीन बुझ्दा कि.नं. ७२७ को कैफियतमा यस घरको पश्चिम तर्फको पेटीबाट कि.नं. ७२५ को घर जाने बाटो पर्छ भन्ने उल्लेख भएको ठीकै देखिएको, कि.नं. ७२८ को बाटोमा कि.नं. ७२७ को पेटी थप पेटी कायम गरी दिने कि.नं. ७२६ साझा चोक कायम गर्ने निर्णय भयो ।

         ३. जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(५) बमोजिम गठित विपक्षी समितिलाई दुई वा दुई भन्दा बढी व्यक्तिहरूका बीच हक बेहक तथा तेरो मेरो विवाद उठेकोमा त्यस्तो निर्णय गर्न पाउने अधिकार दिएको देखिँदैन । चोक पेटी र ढोका बाटो सम्बन्धमा ३ थरीका ३ कुराको दावी जिकिर भई तेरो मेरोको प्रश्न उपस्थित भएको मिसिल कागजबाट देख्दा देख्दै सो कुराको निम्टाराको लागि अदालतमा जानु भनी नसुनाई विपक्षी समितिबाट निर्णय गर्नु अनधिकृत तथा अधिकार क्षेत्रात्मक त्रुटि हुँदा संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षी समितिको ०३९।१।१७ को निर्णय बदर गरिपाउँ भन्ने निवेदन ।

        ४.  विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने यसै अदालत सिङ्गलबेञ्चको ०३९।५।२ को आदेश ।

        ५.  परम्परा देखि भोग चलन गरी आएको दर्ता र तिरो नभएको जग्गा भनी दर्ता गराउन निवेदन परेपछि नापी टोलीबाट विधिवत २१ दिने सूचना प्रकाशित गरी सूचनामा परेको उजूरलाई जग्गा (नापजाँच) ऐनको दफा ६(५) अनुसार गठित समितिमा पेश गरी निकासा भए बमोजिम गर्ने सोही ऐनको सोही दफामा उल्लेख भए अनुसार निवेदकका निवेदनमा उल्लिखित कित्ता नं. को जग्गामा कारवाई भई समितिले सरजमीन मुचुल्कालाई अध्ययन गरी गरेको निर्णय ऐनको दफा ६(५) विरूद्ध नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समितिका सदस्य सचिवको लिखितजवाफ ।

        ६.  कि.नं. ७२७ को घर पछाडि पेटीबाट मेरो कि.नं. ७२५ को घरमा जाने बाटो हो भन्ने कुरा म समेतका हामी भाइभाइको ०२९ मार्ग २३ गते पास भएको बण्डापत्रमा पनि पेटीबाट जाने आउने प्रष्ट उल्लेख छ । फिल्डबुकमा लेखिएको र बहुमत सरजमीन उपरोक्त बण्डापत्र समेतबाट ७२५ नं. को घरमा जाने बाटो कायम गरी समितिले निर्णय गरेको कानून बमोजिम अधिकार क्षेत्रभित्र रहेर गरेको हुँदा निर्णय बदर हुन नसक्ने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने हरिमान अमात्यको लिखितजवाफ ।

        ७.  निवेदकको घरको पश्चिम पट्टि बलेसी मुनिको पेटी बाटो हरिमान अमात्यको घरमा जाने बाटो हो कि.नं. ७२८ र ७२६ को चोक विहारको हो निवेदकको निवेदन झुठ्ठा हो समितिले आफ्नो अधिकार भित्र रही कानून बमोजिम निर्णय गरेको हुँदा समितिको निर्णय बदर गरिपाउँ भन्ने र रिट निवेदन खारेज गरिपाउँ भन्ने पञ्चराज शाक्यको लिखितजवाफ ।

        ८.  निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले विवादित विषयमा तेरो मेरो भन्ने प्रश्न उपस्थित भएपछि हक बेहक छुट्याई आउनु भनी सुनाउनु पर्नेमा हक बेहक हुने गरी प्रत्यर्थी समितिले अनाधिकृत निर्णय गरेको त्रुटि हुँदा बदरभागी छ भन्ने समेत र प्रत्यर्थी समिति तर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले समितिले सरजमीन समेतको आधारमा निर्णय गरेको त्रुटि नहुँदा रिट जारी हुनपर्ने होइन भन्ने समेत र प्रत्यर्थी पञ्चराज शाक्य तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्यले चोक विहारको हो समितिले कानून बमोजिम निर्णय गरेको छ भन्ने समेत र प्रत्यर्थी हरिमान अमात्यतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले सरजमीन र बण्डापत्र समेतबाट बाटो कायम गरी गरेको निर्णय कानून बमोजिम हुँदा रिट खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

        १०. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ । यसमा निर्णयतर्फ हेर्दा कि.नं. ७२७ को कैफियतमा यस घरको पश्चिम तर्फको पेटीबाट कि.नं. ७२५ को घरमा जाने बाटो पर्छ भन्ने उल्लेख भएको ठिकै देखिएको र कि.नं. ७२८ को बाटोमा कि.नं. ७२७ को पेटी भए पेटी कायम गरी दिने कि.नं. ७२६ साझा चोक कायम गर्ने प्रत्यर्थी जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(५) अनुसार गठित समितिबाट ०३९।१।१७ मा निर्णय गरेको देखिन्छ ।

        ११. सरकारी अधिवक्ताले बेञ्चसमक्ष देखाइएको फाइलबाट कि.नं. ७२६ साझा चोक कायम गरी पाउ भन्ने हरिमान अमात्य । कि.नं. ७२६ को कित्ता विहारको भएकोले विहारका नाउँमा दर्ता गरिपाउँ भन्ने पञ्चराज शाक्यको र कैफियत महलमा लेखिएको पेटीबाट कि.नं. ७२५ मा जाने बाटो बदर गरी मेरै एकलौटी कायम गरिपाउँ कि.नं. ७२६ को चोक कि.नं. ७२५ को र मेरो मात्र साझा चोक कायम गरिपाउँ कि.नं. ७२७ को घरको दक्षिण तर्फ अवस्थित मेरो घरको पेटी समेतलाई कि.नं. ७२८ को बाटो भनी नक्सामा उद्धृत गरेको हुँदा उक्त मेरो पेटीलाई कि.नं. ७२८ बाट कित्ताकाट गरी मेरो ७२७ नं. को घरको पेटी कायम गरिपाउँ भन्ने चन्द्रलाल राजभण्डारीको निवेदन परेकोमा परस्पर तेरो मेरो भन्ने भई बेहकको प्रश्न उपस्थित भएको पाइन्छ ।

        १२. त्यस्तो तेरो मेरो भन्ने भई हक बेहक सम्बन्धी प्रश्न उपस्थित भएकोमा सबूत प्रमाण बुझी लिई निर्णय गर्नुपर्ने हुन्छ । तर प्रस्तुत विषयमा सबुत प्रमाण बुझी हक बेहकको निर्णय गर्न पाउने अधिकार जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (५) अन्तर्गत गठित समितिलाई प्रदान गरेको देखिँदैन । त्यसरी तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएकोमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो बमोजिम नगरी प्रत्यर्थी जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(५) अन्तर्गत गठित समितिले कि.नं. ७२७ को कैफियतमा यस घरको पश्चिम तर्फको पेटीबाट कि.नं. ७२५ को घरमा जाने बाटो पर्छ भन्ने उल्लेख भएको ठिकै देखिएको र कि.नं. ७२६ को बाटोमा कि.नं. ७२७ को पेटी भए पेटी कायम गरी दिने कि.नं. ७२६ साझा चोक कायम गर्ने भनी गरेको मिति २०३९।१।१७ को निर्णय अधिकार क्षेत्रात्मक त्रुटि गरी निर्णय गरेको देखिन आयो ।

        १३. अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) अन्तर्गत गठित समितिले गरेको मिति २०३९।१।१७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानून बमोजिम गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०४१ साल वैशाख १० गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु