निर्णय नं. १८९२ - ज्यान

निर्णय नं. १८९२ ने.का.प. २०४१ अङ्क १
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको फौ.पु.नं. २३६
सम्वत् २०४० सालको फौ.सा.नं. १५७
मुद्दा : ज्यान
पुनरावेदक/वादी : महेन्द्रप्रसाद कायस्थको जाहेरीले वादी श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जि. सर्लाही धनर्कोली गा.पं. वडा नं. ८ बस्ने भोला सहनी मलाहसमेत
फैसला भएको मिति : २०४०।१२।१३।२ मा
§ प्रहरीमा भएको कागजलाई आधार लिएर दोषी ठहराउन युक्तिसंगत नदेखिने ।
(प्रकरण नं. १९)
पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे
विपक्षी प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।८।२४ को फैसला उपर श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी र साधकको लगतमा दर्ता समेत भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मेरो जेठा बाबुको छोरा दाई जि. ख.धनर्कोल बस्ने नागेश्वर कायस्थलाई घर जहान छोराछोरी नभएको अवस्थामा २०३२।६।२३ गते राति नामालुम कसले हो कर्तव्य गरी मारेछ । अपराधी पत्ता लगाई कानून बमोजिम गरिपाउँ भने समेतको ०३२।६।१५ को महेन्द्र प्रसादको जाहेरी दरखास्त ।
३. जि. सर्लाही धनर्कोलो गा.पं. वार्ड नं. १ मा पूर्व रामदेवको जमीन, पश्चिम नारायणको जमीन, उत्तर सडक देखिन रामनारायणकै जमीन भएको घर भित्र पश्चिम टाउको पूर्व गोडा पारी आधा शरीरमा धोती बेरिएको दायाँ आँखा बाहिर निस्की नानी देखिएको जिभ्रो बाहिर निकालेको दायाँ पट्टी घाँटीमा देखिने जति घातक हतियारले काटेको रूद्रघण्टी र खाने आन्द्रा छिनिएको भने समेतको ०३२।६।१६ को लास प्रकृति मुचुल्का ।
४. नागेश्वरले जग्गा बेच्न खोज्दा मलाई दिनु होस भनेकोमा नदिई गुलामलाई दिन लागेकोले सोही रिस इबीबाट सिताराम समेतसँग राय सल्लाह लिई सालो भोला सहनीलाई बोलाई ०३२।६।१३ गते राति १२।१ बजेको समयमा छोरा रामचन्द्र, सालो भोला सिताराम राय भई नागेश्वरलाई मारेका हौं । सितारामले मुख बन्द गरे मैले हात समाते बाबु भुनीले खुट्टा समाते मामा भोलाले खुकुरीले काटी मारी सकेपछि भागेका हौं भन्ने समेतको रामचन्द्र मलाहको प्रहरीमा भएको कागज ।
५. गुलामलाई जग्गा दिन लाग्यो भन्ने सम्बन्धमा मुनी र रामचन्द्रको रिस इबी थियो । निजहरू र निजहरूले बताई लेखाई दिएका भोला सहनी, सिताराम राय, रूदल सहनी, अनुवा अहिर, सुरेश सिंह राजपूत समेत भई नागेश्वरलाई कर्तव्य गरी मारेका हुन भन्ने पूर्ण विश्वास छ भन्ने समेतको सरजमीन मुचुल्का ।
६. ०३२।६।१३ गते म घर नभई श्रीमती लिन ससुराल दरभंगा गएको हुँदा नागेश्वरलाई मार्न म शरीक छैन भन्ने समेतको शुरेससिंह राजपूतको प्रहरीमा भएको कागज ।
७. भोला सहनी मलाहलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम र सिताराम राय, भुनी सहनी र रामचन्द्र सहनीलाई सोही ऐनको १३ (५) नं. बमोजिम सजाय हुन र अनुवा अहिर, रूदल सहनी, सुरेशसिंह राजपूतलाई सोही ऐनको १६ नं. अनुसार सजाय हुन मिसिल पेश गरेका छौ भन्ने समेतको प्रहरी प्रतिवेदन दावी ।
८. मृतक नागेश्वरसँग मैले जग्गा लिने कुरा गरेको छैन । वारदातका दिन रामचन्द्र बाहेक अरूसँग भेट भएको छैन । नागेश्वरललाई मैले कर्तव्य गरी मारेको होइन । कसले मार्यो थाहा छैन सकार नगरे फस्छौ भनी प्रहरीले भन्दा मारेको हैन कसरी सकार्ने भनी प्रहरीलाई भन्दा कुटपिट गरी कागज लेखाई पढी नसुनाई सो कागजमा सही छाप गराएको हो धेरै दिन भएकोले कुटपिटको चोट निको भइसकेको छ । बन्ति साहु समेतसँग जग्गा मुद्दा परी इवी परेको हुँदा निज बन्ति समेतका सरजमीनले पोल गरेका हुन भन्ने समेतको मुनी सहनीको ०३२।७।९ को अदालतमा भएको बयान ।
९. ०३२।६।१३ गते म आफ्नै घरमा छु बाबु मुनी घरमै थिए अरू कहाँ थिए थाहा छैन । ०३२।६।१३ गते राति नागेश्वर कर्तव्य परी मरे भन्ने सुने कसले कर्तव्य गरे मलाई थाहा छैन प्रहरीमा भएको कागज प्रहरीले कुटपिट गरी त्रास दिई करकापबाट जबरजस्ती सही गराएको हो । मेरा गाउँका दुश्मन विष्णु दयाल समेत मिली अभियोग लगाई सरजमीनमा समेत शंका गरेका हुन् मैले नागेश्वरलाई मारेको होइन भन्ने समेतको रामचन्द्र सहनीको अदालतमा भएको बयान ।
१०. २०३२।६।१३ का दिन म घर नभई ससुरालमा थिएँ । १७ गते मात्र म घर आएँ । नागेश्वरलाई मैले मारेको होइन कसले मारेको हो थाहा छैन । रामएकबाल सिंहको र मेरो जग्गा एकै ठाउँमा भई आलीको झगडा थियो र मेरा बाबुसँग रु.१००।– चन्दा मागेको नदिएको रिसबाट निजले नै सरजमीनमा पोल गराएको हो भन्ने समतेको सुरेश सिंह राजपूतको अदालतमा भएको बयान ।
११. २०३२।६।१३ गते म सर्लाही जिल्लामा छैन । मेरै गाउँको खरयुग ग्वार उपर सर्वोच्च अदालतमा रिट दिनु थियो र ऐ.को १२ गते दिन घरबाट हिँडी काठमाडौं पुगी डिल्लीबजारका रामेश्वर शर्माको घरमा बसेँ । भोलिपल्ट बिहान उठी पशुपति गई छाती घाँटी दुखेकोले रामघाट अस्पतालमा गई जचाउँदा छाती जचाउँन पर्छ भन्ने लेखी दिएकोले आर. उपाध्याय कहाँ जचाई मुद्दाको लागि वारेसनामा छाडी ऐ १७ गते घर आएको हुँ । नागेश्वरलाई मार्न म शरीक छैन भन्ने समेतको रूदल सहनीको ०३८।८।१७ को अदालतमा भएको बयान ।
१२. ०३२।६।१३ गते म घरमा थिइन दुहुनु भैंसी किन्न ११ गते नै घरबाट निस्की १२ गते साझ धर्मपुर गा.पं. वार्ड नं. ८ बस्ने देवनाथ रायको घरमा पुगी निज कहाँ रु.१५०।– मा भैंसी किनी बागमती बढेकोले ऐ १५ गते मात्र बागमती घटेकाले घर आएको हुँ । रामचन्द्रसँग भैंसीलाई गदर चराएकोमा झगडा भएको हुँदा पोलेका हुन मैले नागेश्वरलाई मारेको होइन भन्ने समेतको सिताराम राय यादवको अदालतमा भएको बयान ।
१३. प्रतिवादीहरूको बयानबाट नजिकै घर भएका घर घर भइरहेका निज मुनी रामचन्द्रले नागेश्वरलाई अरूले मारेको भए थाहा पाउने अवस्था र सरजमीनको वकाई निजहरूको प्रहरीमा साविती कागज भएको बाट समेत निज मुनी सहनी रामचन्द्र सहनीले नागेश्वरलाई मार्न लगाई संयोग पारी दावी बमोजिम नागेश्वरलाई समाती मराएको ठहर्छ । सरजमीनका मानिसले अदालतमा आई बकपत्र गर्दा सितारामले अपराध गरेको हैन भनी र निजका साक्षी ५ जनाले निज वारदातका दिन घर नभएको भनी किटानी लेखी दिएकोले नागेश्वरलाई मार्न निजले भाग लिएको ठहर्दैन । सुरेश सिंह र रूदल सहनीको हकमा विचार गर्दा सरजमीनका व्यक्ति अदालतमा उपस्थित भई बकपत्र गर्दा अपराध नगरेको भनी सफाई दिएको साथै सुरेश सिंह भारत दरभंगा र रूदल सहनी काठमाडौं समेतको सर्लाही जिल्ला अदालतको ०३४।५।१५ को जाहेरी फैसला ।
१४. सर्लाही जि. अ.को फैसलाउपर कसैको पुनरावेदन नपरी मुनी सहनी, रामचन्द्र सहनी र सिताराम रायको हकमा साधक सदरकोलागि प्रस्तुत मुद्दा म.क्षे.अ.मा आई साधकको लगतमा दर्ता भएको ।
१५. रामचन्द्र सहनी र मुनी सहनीलाई ज्यानसम्बन्धीको नं. १३(४) बमोजिम सजाय हुने ठहर गर्दा निजहरूले प्रहरीमा गरेको कागजलाई आधार लिएको देखिन्छ । सो कागजलाई प्रतिवादीहरूले अदालतमा बयान गर्दा स्वेच्छाले गरेको छैन भनी इन्कार गरेको देखिन्छ । प्रहरीको साविती कागज अन्य शंकारहित ठोस प्रमाणबाट समर्थित हुन आएको छैन निजहरूलाई दावीको कसूर कायम गर्न सबूतको अभाव देखिँदा मुनी सहनी र रामचन्द्र सहनीलाई जन्मकैद गर्ने गरेको शुरूको फैसला गल्ती भई निजहरूले सफाई पाउने ठहर्छ । सिताराम रायलाई सफाई दिएको मनासिब ठहर्छ भन्ने समेतको म.क्षे.अ.को मिति ०३८।८।२४ को फैसला ।
१६. मुनी सहनी र रामचन्द्र सहनीलाई सफाई दिएको उक्त म.क्षे.अ.को फैसलामा चित्त बुझेन भनी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पुनरावेदन परी र मुनी सहनी र रामचन्द्र सहनीको हकमा साधकको लगतमा दर्ता भएको रहेछ ।
१७. नियम बमोजिम दैनिक पेश सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट खटिई बहस गर्न उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले प्रतिवादी रामचन्द्रको कच्छा घटनास्थलमा भेटिएकोमा सोको मूल्याङ्कन नै नगरी म.क्षे.अ.बाट भएको निर्णयमा त्रुटि छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१८. प्रस्तुत मुद्दामा प्रतिवादी रामचन्द्र सहनी र मुनी सहनी उपर श्री ५ को सरकार तर्फबाट पुनरावेदन परेको देखिएको र निजहरूको हकमा साधकको लगत कायम राख्न नपर्ने भएकोले साधकको लगत कट्टा गरी पुनरावेदन तर्फबाट निर्णयमा विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालत बाट भएको निर्णय मनासिब बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१९. यसमा प्रतिवादीहरू दावीको कसूरमा अदालतमा बयान गर्दा इन्कार छन् । प्रहरीमा गरेको साविती कागजको अन्य शंकारहित ठोस प्रमाणबाट समर्थन हुन आएको छैन । निजहरूलाई दावीको कसूर कायम गर्न सबूतको अभाव देखिँदा दावी बमोजिम सजाय गरेको सर्लाही जिल्ला अदालतको फैसलासँग सहमत हुन मिलेन । प्रतिवादीहरू मुनी सहनी र रामचन्द्र सहनीले सफाई पाउने ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको देखिन्छ । फौजदारी मुद्दामा शंकाको भरमा बिना सबूत प्रमाण कुनै व्यक्तिलाई कसूरदार ठहराउन मिल्दैन । प्रस्तुत मुद्दामा पनि प्रतिवादीहरूलाई पकडाउ गर्ने तथ्ययुक्त सबूत प्रमाण पेश हुनसकेको छैन केवल प्रहरीमा भएको तिनीहरूको कागजलाई आधार लिएर दोषी ठहराउन युक्तिसंगत नदेखिँदा सबूत प्रमाणको मूल्याङ्कन र छानबीन गरी प्रतिवादीहरू मुनी सहनी र रामचन्द्र सहनीलाई सफाई दिने ठहर्याई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा कुनै त्रुटि नदेखिएबाट सदर हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४० साल चैत्र १३ गते रोज २ शुभम् ।