निर्णय नं. १८९३ - अंश
निर्णय नं. १८९३ ने.का.प. २०४१ अङ्क २
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३९ सालको दे.फु.नं. ३४
मुद्दा : अंश
निवेदिका/वादी : का.जि. का.न.पं. वा.नं. २२ बस्ने देवकुमारी पाण्डे
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने काशिराम पाण्डे
ऐ ऐ घर भै हाल का.जि. लाजिम्पाट बस्ने प्रयागराज पाण्डे
मिन राज पाण्डेको मु. स. गर्ने
ताराकुमारी पाण्डेको मु. स. गर्ने
का.जि. का.न.पं. वा.नं. १ ज्ञानेश्वर बस्ने विश्वराज पाण्डे
फैसला भएको मिति : २०४१।२।५।६ मा
§ प्रतिवादीबाट जाहेर भएको स्थितिमा वादीबाट दिइएको तायदातीमा उल्लेख नहुँदैमा प्रतिवादीको उजूरबाट देखिएको सम्पत्ति बण्डा नहुने भन्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. २५)
§ मानो छुट्टिएको मितिभन्दा अघिको सगोलको पैतृक सम्पत्ति बण्डा नहुने भन्न मिलेन ।
(प्रकरण नं. २७)
निवेदिका वादी तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री गणेशराज शर्मा र श्री गुरूप्रसाद बराल
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री हीराप्रसाद जोशी र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ट अधिबक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिबक्ता श्री सुधानाथ पन्त
फैसला
न्या. पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत फुल बेञ्चको ०३७।९।५ को निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्र त्यस अदालतको फुल बेञ्चबाट निर्णय भएको अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. शसुरा पद्मराजको छोरा जेठा टिकाराज, माहिला मिनराज, साहिला सुब्बा लिलाराज, काइला मि.सु.काशिराज र कान्छा प्रयागराज समेत ५ भाइ भएकोमा जेठा टिकाराजका दुई श्रीमती मध्ये जेठी ओमकुमारी र कान्छी म देवकुमारी हुँ । पतिदेव ८९ सालमा ससुरा ०७ सालमा देवर लिलाराज ०८ साल चैत्रमा परलोक भई निज देवरको घरको मुख्य भई व्यवहार गर्ने फणिन्देश्वरी खिचापोखरी घर मै छन् । छोरा ज्वालाराज अध्ययनमा गई रहेका र ०१८ सालमा सौता दिदी पनि परलोक भई कोही देवर अड्डा अड्डामा जागिरे र कोही मधेश मौजामा आ–आफ्नो जहान परिवारको संरक्षण गरिरहे बसेबाट मलाई खान लाउन दान पुण्य गर्न समेत नदिई हेला गरेकोले जो भएको जग्गा जमीन चल अचल समेत रीतपूर्वक बण्डा गरी दिनुहोस् भनी काठमाडौंमा रहनुभएका देवर प्रयागराजसँग भन्दा सल्लाह गरी जो गर्नुपर्ने गरौंला भनेको र विराटनगर रहेका देवरले पनि त्यसै भनी पठाउनु भएकोले छुट्टै खाने बस्ने गरी आएकोमा छोराको बिहे गर्न माहिला देवर मिनराज यही साल आषाढमा काठमाडौं आउनुभएको बखत अब बण्डा गरीदनोस् भन्दा नदिएकोले हैसियत र इज्जत अनुसार मुद्दा किनारा नभएसम्म नोकर समेत राखी खान लाउन र दान पुण्य गर्न समेत मुद्दा दर्ता भएको मितिदेखि मासिक रु.५००।– का दरले दिलाउने बन्दोवस्त गरी निजहरूबाट २०२१।३।३ गते मानो छुट्टिएको हुँदा सो को अघिल्ला दिनसम्मको चल अचलको तायदाती लिई ५ खण्डको १ खण्ड अंश दिलाई भराई पाउँ भन्ने समेत देवकुमारीको फिराद ।
३. धेरै वर्ष अघि पिताजी छँदै वादीसँग मानो छुट्टिई बसेको हुँदा र अंश नछुटेसम्मको माना चामल लिने कानूनमा व्यवस्था नहुँदासमेत अंश दिने कुरामा मेरो इन्कार छैन भन्ने समेत प्रयागराजको प्रतिउत्तर ।
४. लिलाराजले १९७८ साल ज्येष्ठमा आफ्नो अंश छोडपत्र गरी बाबा पद्मराजलाई दिई भिन्न भएको र १९८२।१०।१ मा मानो छुट्टई बेग्लै बस्नुभएकोले ८२ साल माघ अघिको सम्पत्तिमा वादीका पतिको पनि हक लाग्छ र सोही आयस्ता बाली वादीले पनि खाई भोगी आउनुभएको हुँदा दाइजो पेवा ऋणबाट गुजारा चलाएको भन्ने झुठ्ठा हो ०२२।३।३ मा मानो छुट्टिएको भन्ने र ५ भागको १ भाग अंश पाउँ भन्ने असत्य हो मानो छुट्टिएको लिखत पास गर्ने कानूनी व्यवस्था नभएकोले मात्र ८२ सालमा मानो छुट्टिएकोलाई २०२२ साल र अंश हुनु पर्ने सम्पत्तिमा दाजु भाइले लालच गरी अंश नपाउने समेतलाई अंश दिलाई त्यसबाट आफूलाई फाइदा उठाउन यो फिराद गरेका छन् भन्ने समेत काशिराजको प्रतिउत्तर ।
५. भाइ लिलाराज ०८ सालमा परलोक भएपछि निजकी श्रीमती फणिन्देश्वरी त्यसै साल मानो छुट्टिए सरह दाजु टिकाराज परलोक भएपछि ८९ साल फाल्गुण ६ गते वादी पनि मानो छुट्टिई बसी आउनुभएकोले सो फाल्गुण ६ गते सम्मको तायदातीबाट ठहर्न आए जति वादीको अंश भाग दिन मञ्जूर छ भन्ने समेत मिनराजको प्रतिउत्तर ।
६. २००९ साल चैत्र महीना देखि मेरो मुमा फणिन्द्रेश्वरीले बेग्लै बसी खान्छु भनी मलाई साथमा लिई मूल घरकै कोठामा छुट्टै खाने बस्ने गरी आएकोले १९७८।२।२१ मा मेरा पिताले अंश छोडपत्र गरेको भन्ने झुठ्ठा हो । ०८ सालमा मानो छुट्टिएको भन्ने मिनराजको भनाई पनि साँचो नभई २००९ साल चैत्रमा मानो छुट्टिएको र जेठा माइला बाबु र बाजे पद्मराज जीवित छँदै काहिला बाबु काशिराजलाई मेरा बाबु लिलाराजले अंश छोडपत्र गरी दिनु पर्ने अवस्थै नहुँदा समेत मेरा बाबु लिलाराजको ५ खण्डको १ खण्ड अंश कायम गरिपाउँ वादीले अंश लिन पाएको छैन मानो छुट्टिएको कुरा मलाई थाहा छैन भन्ने समेत ज्वालाराजको बयान ।
७. हुकुम प्रमांगीबमोजिम का.जि. अ.मा दायर रहेको मुद्दा बागमती अञ्चल अदालतमा सरेको ।
८. वादीले दिएको तायदाती अंशबण्डाको २१, २२ नं. को रीत पुर्याउन टाँस भएपछि प्रतिवादीहरूकै छोरा लक्ष्मणराज, मदनराज समेतले हामीले बकसपत्र पाएको हाम्रो हकको जग्गा समेत तायदातीमा परेको हुँदा सो तायदाती बदर नहुने ठहरी फैसला भएकोले वादीले दिएको तायदातीमा उल्लेख भएका सम्पत्ति तथा काशिराजको उजूरी निवेदनको ३ दफामा बण्डा हुनु पर्ने भनी देखाएका जग्गाहरूमा वादीले ५ खण्डको १ खण्ड अंश पाउने ठहर्छ माना चामलको हकमा अंशबण्डाको १० नं. मा बाबु लोग्ने सम्मबाट दावी लिन पाउने भन्ने भएकोले माना चामलतर्फको दावा लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.काशिराज पाण्डेको सर्वोच्च अदालतमा पुनरावेदन परी न्यायप्रशासन सुधार ऐन, ०३१ बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको कार्यक्षेत्र भित्रको देखिई उक्त अदालतमा सरी गएको ।
१०. लक्ष्मणराज मदनराजले बकस पाएको जग्गा समेतबाट वादीले अंश पाउने गरेको वा.अं.अ.को फैसला मिलेको नेदेखिँदा छलफलको निम्ति वादी देवकुमारीलाई झिकाउने भन्ने समेत म.क्षे.अ. को आदेश ।
११. यस मुद्दामा वादीले मात्र अंश छुट्याई पाउने हुन् वा होइनन् भन्ने कुराको निर्णय दिनु पर्ने अरू अंशियारको हकमा लाग दावी भई आएका बखत क–कसले अंश पाउने हो क–कसले पाइसकेको हो भन्ने कुराको प्रश्न उपस्थित हुन आउने कुराले वादी दावीको हकमा निर्णय दिनलाई वादी बमोजिम अंशियार कायम मान्नु पर्ने, अंश मुद्दामा बण्डा गर्नुपर्ने भनी तायदातीमा लेखिएको सम्पत्तिको मात्र वादीलाई अंशबण्डा छुट्याउने वा नछुट्याउने भन्ने कुराको निर्णय हुने र दैया लाग्नेले सो सम्बन्धमा कानून बमोजिम दावी गरेमा दाइजो पेवा हो होइन भन्ने कुराको कानून बमोजिम निर्णय हुने, उजूर परेको अघिल्लो दिनसम्मको तायदाती लिई अंशबण्डा गरी वादीलाई अंश छुट्याई दिने गरेको बागमती अञ्चल अदालतको इन्साफ मिलेकै देखिन आयो वादीले दाखिल गरेको तायदाती मध्ये प्र.काशिराजका छोरा लक्ष्मणराज समेतले प्रयागराजबाट बकस पाएको तायदाती बदर हुने भनी म.क्षे.अ.बाट ०३२।१।२ मा फैसला भएको देखिएकोले तायदाती मध्ये सो फैसलाले बदर गरेको कटाई बाँकी सम्पत्तिबाट मात्र वादीले ५ भागको १ भाग अंश छुट्याई पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१२. मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर काशिराज पाण्डेको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा व्यहोरा साँचो भए म.क्षे.अ.बाट ०३२।९।२ गते छिनिएको अंश मुद्दाको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची दिनु भन्ने यस अदालतका नाउँमा बक्स भई आएको प्रमांगी बमोजिम डिभिजन बेञ्च समक्ष पेश हुँदा अ.बं.२०२ नं. बमोजिम वादी समेतलाई झिकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३४।११।८ को आदेश ।
१३. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन भनी जाँच्न सो मितिभन्दा पछि परेका पुनरावेदन वा फिरादबाट कुनै बाधा हुने देखिन्न । वादीले अंशियार ५ जवान देखाई ३ जनाको विरुद्ध फिराद दिएको देखिन्छ । वादी दावा बमोजिम ५ जना अंशियार कायम गरी वादीलाई ५ भागको १ भाग अंश छुट्याई पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ वादीले तायदातीको सूचना पाएपछि अंशबण्डाको महलको २२ नं. को प्रयोजनको लागि प्रतिवादी मध्येको काशिराजले बण्डा लाग्नु पर्ने सम्पत्ति मध्ये लाजिम्पाट स्थित शंखकुमारीको नाउँमा दर्ता भएको घर जग्गा उल्लेख नगरिएकोले सो समेत समावेश गरी बण्डा गरिपाउँ भन्ने दावी जिकिर समयमै लिई सकेपछि अंशबण्डाको २१ नं. अन्तर्गत ऐन बमोजिम बण्डा गर्नुपर्ने हुन आउँछ । शंखकुमारीको नाउँमा दर्ता हुँदैमा लाजिम्पाटको घर जग्गा दाइजो पेवाबाट प्राप्त गरेको भन्न मिल्दैन सिर्फ शंखकुमारीको नाउँमा दर्ता भएको घर जग्गा छोराहरूलाई दिएको बकसपत्रमा मात्र आफूले दाइजो दान दक्षिणा पाई त्यसबाट बढे बढाएको भन्ने सम्म उल्लेख गरेको पाइन्छ । मानो छुट्टिएको कायम गरेको मितिभन्दा अगाडि शंखकुमारीको नाममा दर्ता भएको सगोलकै सम्पत्ति ठहर्ने हुँदा सो समेत तायदातीमा समावेश गरी वादीलाई आफ्नो भाग छुट्याई दिनु पर्ने ठहर्छ । फिराद परेको अघिल्लो दिन सम्मको तायदाती लिई वादीलाई अंश छुट्याई दिने गरेको निर्णय मिलेको छ । तायदाती मध्ये लक्ष्मणराज समेतले प्रयागराजबाट बकस पाएको तायदाती बदर हुने भनी म.क्षे.अ.को फैसलाले बदर गरेको कटाई बाँकी सम्पत्तिबाट वादीले ५ भागको १ भाग अंश छुट्याई पाउने ठहराएको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्रीको राय ।
१४. वादीको हकमा आखिरी यकीन हुन आएको मानो छुट्टिएको मिति १९८९ साललाई मान्नु पर्ने देखिन्छ । तसर्थः १९८९ साल अघिको सम्पत्तिको तायदाती वादी प्रतिवादी अंश लिई ५ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । त्यसपछि काशिराज, प्रयागराजको श्रीमती वादीले आर्जेको भनेको सम्पत्तिमा वादीको हक तत्काल प्रचलित अंशबण्डाको १८ नं. ले नपुग्ने हुँदा सो समेत बण्डा गर्नुपर्छ भन्न मिलेन भन्ने समेत माननीय न्यायाधीश श्री इश्वरीराज मिश्रको राय भई ०३५।१।२७ मा फैसला भएको रहेछ ।
१५. निर्णयार्थ फुल बेञ्च समक्ष पेश हुँदा मानो छुट्टिएको मितिमा वादी प्रतिवादीको मुख नमिलेको र मानो छुट्टिएको लिखत सबूत प्रमाण पनि केही देखिन नआएको आधारमा उजूर परेको अघिल्लो दिन सम्मको तायदाती लिई वादीलाई अंश छुट्याई दिने गरेको वादी दावी बमोजिम पाँच अंशियार कायम परी वादीलाई ५ भागको १ भाग अंश पाउने ठहराएको सम्माननीय प्रधान न्यायाधीशज्यूको राय मनासिब ठहर्छ । मानो छुट्टिएको कायम गरेको मितिभन्दा अगाडि शंखकुमारीको नाउँमा दर्ता भएको घर जग्गा आफू खुसी गर्न पाउने सम्पत्ति हो भन्ने प्रमाणित नभएकोले सगोलकै अंशबण्डा लाग्नु पर्ने सम्पत्ति ठहर्छ । जहाँसम्म प्रतिवादी मध्येका काशिराजले ज्वालाराजलाई दिएको तायदातीलाई यस मुद्दामा अंश भाग लगाउने तायदातीमा समावेश गरिएन भनी उल्लेख गरेको विषयको सम्बन्ध छ सो बारे विचार गर्दा वादीले त्यस सम्बन्धमा पुनरावेदन नगरी अञ्चल अदालतको निर्णयमा चित्त बुझाई बसेको देखिएको र यस विषयमा प्रतिवादीहरूका बीचमा कानून बमोजिम दावी भएको बखत सो मुद्दाबाट निर्णय हुने हुनाले यस मुद्दाबाट विचार गर्नुपर्ने देखिएन । काशिराजका छोरा लक्ष्मणराज समेतले प्र.प्रयागराजबाट बकस भएको तायदाती बदर हुने भनी म.क्षे.अ.को फैसलाले बदर गरेको कटाई बाँकी सम्पत्तिबाट वादीले ५ भागको १ भाग अंश छुट्याई पाउने ठहराएको क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सम्माननीय प्रधान न्यायाधीशज्यूको राय मनासिब ठहर्छ भन्ने समेत फुल बेञ्चको ०३५।५।१३ को फैसला ।
१६. फुल बेञ्चको उक्त निर्णय उपर प्र.काशिराज पाण्डे, प्रयागराज पाण्डे तथा ताराकुमारीको मु.स.गर्ने विश्वराज पाण्डे समेतले दिएको बिन्तिपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको प्रमांगी बमोजिम र बागमती अञ्चल अदालतको ०२९।१।२३।६ को फैसला उपर म.क्षे.अ.मा ताराकुमारीको पुनरावेदन परेको अंश मुद्दा समेत झिकाई फुल बेञ्चबाट किनारा गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आई फुल बेञ्च समक्ष पेश हुँदा ०२२।८।८।३ तकको तायदाती दिने का.जि. अ.बाट ठहर भएकोमा अघिल्लो फुल बेञ्च लगायतबाट सदरै रहेकोलाई अन्यथा हुनु पर्ने नदेखिँदा उक्त मितिको तायदाती तोकेको मनासिबै देखिन आयो । बकसपत्र दिएकोमा वादी प्रतिवादीका लेखबाट पुख्र्याैली सम्पत्तिबाट नामसारी भई आएको नदेखिएको हुनाले त्यस्तो आफ्नो–आफ्नो आर्जनको चल अचल सबै आफ्नो खुस गर्न पाउने हुनाले यो बकसपत्र पाउनेहरूलाई भाइ आगे भएकोमा अरू भाइ साक्षी बसी कागज गरेकोबाट त्यस्तो बकसपत्रलाई उक्त ऐनले मान्यता दिनु पर्ने हुन्छ । लक्ष्मणराज समेतले यिनै वादी उपर दिएको तायदाती बदरको म.क्षे.अ.को फैसला अन्तिम भएकोबाट उक्त बकसपत्रको जग्गाहरू बण्डा गर्नु नपर्ने ठहरिएको र सबैसँग समान कानूनी हक रहने हुँदा त्यसै सरहको मीनराजले दिएको बकसपत्र पनि सदरै हुने भई बण्डा गर्न मिलेन मिनराजले ०१६।११।२१।६ मा सरतराज पाण्डे समेतलाई गरी दिएको बकसपत्र र प्रयागराजले ०१६।११।२२।४ मा लक्ष्मणराज पाण्डे समेतलाई गरी दिएको बकसपत्रमा लेखिएका जग्गाहरू बण्डा गर्नु भएन । बकस दिनेले बकस गरी बकस गरी बाँकी रहेको जग्गाका हकमा आफ्नो अंश जति बक्स गरिसकेपछि पनि बाँकीमा फेरि अंश गरी दोहोरो हक दिलाउन मनासिब नहुने हुँदा बकस दिने बाहेकका वादीले बाँकी जग्गा बण्डा गरी लिन पाउने देखिन्छ । खिचापोखरीको घर प्रयागराजको दर्ता नभएको हुँदा वादीको तायदाती त्यस विषयमा मिल्दो देखिएन । एउटा प्रतिवादीले अर्को प्रतिवादीसँग रहेको भनी तायदातीको उजूरमा लेखेकोले र वादीले तायदातीमा उल्लेख गर्न नसकेकोले शंखकुमारीको घर जग्गा बण्डा गर्न मनासिब भएन । प्रयागराजको नाउँको जग्गाको हकमा पेश भएको बकसपत्रबाट अरूलाई बकस दिइसकेको देखिएकोले बकस नदिनेहरूको मात्र बण्डा गर्न बाँकी देखिँदा देवकुमारी प्रतिवादी काशिराज, लिलाराजको हक खाने ज्वालाराज ३ जनाले बकस गरी दिएको नहुँदा ३ भागको १ भाग वादीलाई छुट्याई दिनु पर्ने भयो । काशीराजको उजुरीको प्रकरण ३ मा लेखेको जग्गा वादीलाई ५ भागको १ भाग छुट्याई दिनु पर्ने हुन आयो । ज्वालाराजको तायदातीको हकमा कोठा ५ मेरो हक नभएको भनेकोले निजको तायदातीमा लेखिएको लोसंडा मौजाको ५ भागको १ भाग वादीलाई बण्डा दिनु पर्ने देखिन्छ भन्ने समेत बहुमतको राय उजूर परेको अघिल्ला दिनसम्मको तायदाती मागेको मनासिब भन्ने माननीय न्यायाधीशज्यूहरूको रायमा मेरो सहमति छ । वादीले दाखिल गरेको तायदाती मध्ये प्र.काशिराजका छोरा लक्ष्मणराज समेतले प्र.प्रयागराजबाट बकस पाएको बदर हुने भनी म.क्षे.अ.बाट ०३२।१।२ मा फैसला भएकोले सो बदर गरेको कटाई बाँकी सम्पत्तिबाट लाजिम्पाटको घर जग्गा समेतमा वादीले ५ भागको १ भाग अंश पाउने देखिनाले फुल बेञ्चको ०३५।५।१३ को इन्साफ मनासिब ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको छुट्टै राय भई भएको ०३७।९।५ को फैसला ।
१७. निर्णयबाट असर पर्ने देखिएका सरतराज पाण्डे शुसिलराज पाण्डे, कमलराज पाण्डे, विमलराज पाण्डे, अनन्तराज पाण्डे, शशिराज पाण्डे, श्यामराज पाण्डे, विश्वराज पाण्डे, मोहनराज पाण्डे, मदुसुदनराज पाण्डे, ज्वालाराज पाण्डे, केशरीराज पाण्डेलाई झिकाई बयान गराई पठाई दिनु भनी मिसिल का.जि. अ.मा पठाई काम सम्पन्न भई आएपछि पेश गर्नु भन्ने फुल बेञ्चको ०४०।४।१७ को आदेश ।
१८. मैले पनि अघिकै बयान अनुसार ५ भागको १ भाग बाबु लिलाराजको अंश पाउनु पर्ने अघिकै बयानमा खुलाई सकेको हुँदा पुनः दोहर्याई रहनु नपर्ने, मैले प्रयागराज समेत कुनै अंशियाराहरूसँग कुनै सम्पत्ति बकस लिन स्वीकार गरी मैले बकस गराई लिएको र सहिछाप गरेको छैन भन्ने समेत डा.ज्वालाराज पाण्डेको बयान ।
१९. २०१६।११।११।३ मा पारित प्रयागराज पाण्डेले निजका नाउँमा विराटनगरमा दर्ता भएको रै.नं. १७४ को विभिन्न २७ कित्ताको जग्गा बिगहा २३–१४–१५ श्यामराज पाण्डेलाई सोही रैती नं. १७४ बाटै जम्मा १६ कित्ताको जग्गा बिगहा २२–९–१७ मोहनराज पाण्डेलाई र २७ कित्ताको जग्गा बिगहा २२–१६–१४ मधुसुदनराज पाण्डेलाई बकसपत्र गराई दिएको, मोरङ मालमा रै.नं. ९० मा दर्ता भएको जग्गा बिगहा १–१२–११, ०२१।९।२४।५ मा मधुसुदनराज पाण्डेलाई बकसपत्र लेखी दिएको । मिनराज पाण्डेको नाउँमा विराटनगर मालमा दर्ता भएको रै.नं. ७३ को ८ कित्ताको जग्गा बिगहा २४–८–१७, १६–११–२१–६ मा पारित बकसपत्रबाट काशिराज पाण्डेलाई बकसपत्र लेखिदिएको छ । यी बकसपत्र अंशियार तथा घरको मुख्य भई व्यवहार गर्नेहरूको मञ्जूरीबाट प्राप्त भएको छ । देवकुमारी पाण्डे १९८९।११।६ मा मानो छुट्टिएकोले निजको मञ्जूरी लिन नपरेको हो । वादी अंशियार नभएकोले अंश दिनु पर्ने होइन भन्ने समेत श्यामराज पाण्डे, मोहनराज पण्डे, मधुसुदनराज पाण्डे, काशिराज पाण्डे समेतको वा रमेशप्रसाद राजभण्डारीले गरेको बयान ।
२०. स्व.मिनराजबाट ०१६।११।२१।६ को पारित बकसपत्रद्वारा मोरङ मालमा निजको नाउँमा रै. नं. ९३ मा दर्ता भएको जग्गाबाट २९ कित्ताको जग्गा १५–४–७ आमा ताराकुमारीले बकस पाउनुभएको हो । दाताबाहेक अन्य अंशियार साक्षी बसेको र वादी १९८९ साल फाल्गुण ६ गते मानो छुट्टिएर बसेकोले निजको मञ्जूरी लिन नपरेको हो । अर्को अंशियार बनेको ज्वालाराज पाण्डेले अर्को अंशियार प्रयागराज पाण्डेबाट ०१६।११।११।३ मा पारित बकसपत्रबाट जग्गा लिई मञ्जूर गरेकोले त्यसमा विवाद रहित छ । ताराकुमारी देवकुमारीको अंशियार नभएकोले त्यो जग्गा निज देवकुमारीको बण्डा लाग्ने होइन । ०१६।११।११।२ मा पारित बकसपत्रद्वारा प्रयागराज पाण्डेले निजको नाउँमा मोरङ मालमा दर्ता भएको रै.नं. १६४ को जग्गाबाट ५ कित्ताको बिगहा २३–३–६ मा विश्वराज पाण्डेले बकस पाएको छु । यो बकसपत्र ऐनको रीत पुगेको तथा कानून बमोजिमको मैले प्राप्त गरेको बकसपत्रलाई कतैबाट कसैले आजसम्म बदर गराएको छैन । अन्य कसैको हक नलाग्ने हुँदा अंशबण्डाको १८ नं. बमोजिम मेरो भाग एकलौटी हक लाग्छ भन्ने समेत ताराकुमारीको मु.स.गरी आफ्ना हकमा समेत विश्वराज पाण्डेको बयान ।
२१. म केशरीराज पाण्डेको हकमा ०१६।११।११।३ मा बाबा प्रयागराज पाण्डेबाट वहाँकै नाउँमा रै.नं. १७४ मा दर्ता भएको २२–१५–० बकस पाएको थिएँ शरदराज पाण्डेको हकमा २०१६।११।२१ मा मिनराजबाट निजको नाउँमा मोरङ मालमा रै.नं. १३४ मा दर्ता भएको जग्गाबाट जम्मा बिगहा २४–१४–१८ जग्गा बकस पाएको, शुसिलराजको हकमा मिनराजबाट जम्मा बिगहा २४–११–४ बकस पाएको । कमलराजको हकमा जम्मा बिगहा २३–१८–२ जग्गा बकस पाएको, विमलराजको हकमा जम्मा बिगहा २४–११–४ जग्गा बकस पाएको, अनन्तराजको हकमा जम्मा बिगहा २१–२–१० जग्गा बकस पाएको उक्त जग्गाहरू देवकुमारीको भाग बण्डा लाग्नु पर्ने होइन भन्ने समेत सरदराज पाण्डे, शुसिलराज पाण्डे, कमलराज पाण्डे, बिमलराज पाण्डे, अनन्तराज पाण्डे, कमलराज पाण्डे, बिमलराज पाण्डे, अनन्तराज पाण्डेको वारिस भई आफ्ना हकमा समेत केशरीराज पाण्डेले गरेको बयान ।
२२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदिका वादी तर्फबाट विद्वान अधिवक्ता श्री गणेशराज शर्मा तथा श्री गुरूप्रसाद बरालले, विपक्षी प्रतिवादी काशीराज पाण्डेको तर्फबाट विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले, प्र.प्रयागराज पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले, प्र.विश्वराज पाण्डेको तर्फबाट निज आफैंले र वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले, पेटबोलीबाट बुझिएका शरदराज समेतको तर्फबाट अधिवक्ता श्री सुधानाथ पन्तले र ज्वालाराज पाण्डे समेतले बहस गर्नुभयो । साथै अधिवक्ता श्री गुरूप्रसाद बराल, श्री होराप्रसाद जोशी, वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, श्री कुसुम श्रेष्ठले बहस नोट समेत पेश गर्नुभयो ।
२३. यसमा निर्णयतर्फ हेर्दा प्रस्तुत मुद्दामा वादी देवकुमारी पाण्डे प्रतिवादीहरूको अंशियार भएको र वादीले प्रतिवादीबाट अंश नपाएको कुरामा विवाद देखिएन । अब वादी प्रतिवादीहरू कहिले मानो छुट्टिएको हो भन्ने तर्फ हेर्दा वादीले ०२१।३।३ मा मानो छुट्टिएकोले सो को अघिल्लो दिन सम्मको तायदाती लिई ५ भागको १ भाग अंश दिलाई पाउँ भन्ने जिकिर लिएको र प्रतिवादीहरू मध्येका काशीराजले वादी समेत १९८२ सालमा नै मानो छुट्टिएको भनेको, प्रतिवादी मध्येको मीनराजले १९८९ सालमा टिकाराज मरेपछि मानो छुट्टिएको भनेको, प्रतिवादी मध्येका प्रयागराजले धेरै वर्ष अघि पिताजी छँदै मानो छुट्टिएको भनेकोमा र लिलाराजको छोरा ज्वालाराजले मानो छुट्टिएको थाहा छैन भनेबाट मानो छुट्टिएको विषयमा वादी प्रतिवादीको भनाई एक आपसमा नमिली बाझी आएको देखियो । मानो छुट्टिएको भरयोग्य सबूत प्रमाण दुवै तर्फबाट पेश हुनसकेको पाइँदैन । यस स्थितिमा फिराद परेको अघिल्लो मिति अर्थात ०२२।८।८।३ लाई मानो छुट्टिएको कायम गरेकोलाई सदर गरेको ०३७।९।५ को फुल बेञ्चको इन्साफ मनासिब नै देखिन्छ ।
२४. प्रस्तुत मुद्दामा वादीले आफू काशीराज, मिनराज, प्रयागराज र लिलाराजको हक खाने ज्वालाराज समेत गरी पाँच अंशियार देखाएको प्रतिवादी काशीराजले लिलाराज १९७८ साल ज्येष्ठ २१ गते आफ्नो अंश छोडपत्र गरी दिई भिन्न भएको भन्ने उल्लेख गरेको देखिन्छ । पेटबोलीबाट बुझिएको लिलाराजका छोरा ज्वालाराजले आफ्नो बाबुले अंश छोडपत्र गरेको कुरालाई खण्डन गर्दै बयान गरेको पाइन्छ । ज्वालाराजका बाबु लिलाराजले अंश छोडपत्र गरेको कुनै सबूत प्रमाण प्रतिवादीहरूबाट पेश हुनसकेको देखिँदैन । यस स्थितिमा चार अंशियार मात्र कायम हुने भन्न मिल्ने देखिँदैन ।
२५. प्रस्तुत मुद्दामा खिचापोखरीको घर जग्गा तथा लाजिम्पाटको घर जग्गा बण्डा गर्न मिल्ने नमिल्ने विषयमा दुवैतर्फका कानून व्यवसायीहरूले बहस प्रस्तुत गर्नुभएको छ । सर्वप्रथम लाजिम्पाटको घर जग्गा बण्डा लाग्नु पर्ने हो होइन भनी हेर्दा प्रस्तुत मुद्दामा अदालतको आदेश बमोजिम प्रतिवादीहरूलाई तायदाती पेश गर्न तोकिएकोमा प्रतिवादीहरूले म्यादभित्र तायदाती पेश नगरेबाट वादीबाट तायदाती मागिएको र सो तायदातीमा चित्त नबुझेमा उजूर गर्नु भनी प्रतिवादीहरूका नाउँमा म्याद टाँस हुँदा प्र.काशीराजले प्र.प्रयागराज हाल बसेको १९८२ साल पछि बनेको लाजिम्पाटको पक्की बंगला घर पनि फाँटवारीमा चढाइयोस् भनी जाहेर गरेको देखिन्छ । प्र.प्रयागराजले लाजिम्पाट तथा खिचापोखरीको घर जग्गा आफ्नो श्रीमती शंखकुमारीको दाइजो पेवाबाट खरीद गरी बनाएको र वादीको तायदातीमा उल्लेख नहुनाले बण्डा हुनु नपर्ने भनी जिकिर लिएको पाइन्छ । अंशबण्डाको २० नं. बमोजिम फाँटवारी दिनु पर्ने प्रतिवादीहरूले फाँटवारी नदिएपछि अंशबण्डाको २१ नं. बमोजिम वादीबाट तायदाती लिई २२ नं. बमोजिम प्रतिवादीबाट जाहेर भएको स्थितिमा वादीबाट दिइएको तायदातीमा उल्लेख नहुँदैमा प्रतिवादीको उजूरबाट देखिएको सम्पत्ति बण्डा नहुने भन्न मिल्ने देखिँदैन । अब शंखकुमारीको दाइजो पेवाको जिकिरको हकमा लाजिम्पाट तथा खिचापोखरीको जग्गा शंखकुमारीको नाउँबाट खरीद हुँदा राजीनामामा दाइजो पेवाबाट आर्जन भएको भन्ने नदेखिएको सिर्फ लाजिम्पाटको जग्गा शंखकुमारीले छोराहरूलाई दिएको बकसपत्रमा मात्र आफूले दाइजो दान दक्षिणा पाई त्यसबाट बढे बढाएको भन्ने सम्म उल्लेख गरेको पाइन्छ । आफूले प्राप्त गर्दाको स्थितिमा उल्लेख गर्न नसकेको कुरा आफूले आफ्ना छोराहरूलाई बकसपत्र दिँदा उल्लेख गरेको कारणले मानो छुट्टिएको मितिभन्दा अगाडि शंखकुमारीको नाममा दर्ता भएको घर जग्गा शंखकुमारीको आफू खुशी गर्न पाउने सम्पत्ति हो भन्न नमिल्ने हुँदा तायदातीमा समावेश गरी बण्डा हुनु पर्ने नै देखिन्छ ।
२६. अब खिचापोखरीको घर जग्गा बण्डा हुनु पर्ने हो होइन भन्ने तर्फ हेर्दा वादीले खिचापोखरीको घरको सम्बन्धमा प्रयागराजको नाउँमा दर्ता भनी देखिएको नमिलेको भन्ने कारणबाट उक्त घर जग्गा बण्डा गर्न नमिल्ने भनी ०३७।९।५ को फुल बेञ्चले बहुमतबाट निर्णय गरेको देखिन्छ । वादीको फाँटवारी नमिलेकै स्थितमा पनि प्रतिवादीको लेखाइबाट पनि विवादको खिचापोखरीको घर जग्गा मानो छुट्टिनुभन्दा पहिलेको देखिएमा जुनसुकै अंशियारको नाममा भए पनि बण्डा गर्नु नै देखिन्छ । यस स्थितिमा उक्त घर जग्गा बण्डा नहुने ठहराएको फुल बेञ्चको उक्त निर्णय मिलेको देखिएन ।
२७. अब प्र.प्रयागराज तथा प्र.मिनराजले १६ सालमा अंशियार मध्येकै एकअर्काका छोरा तथा स्वास्नी समेतलाई गरी दिएको बकसपत्रका जग्गाहरू बण्डा गर्न हुने वा नहुने भन्ने सम्बन्धमा ०३७।९।५ को फुल बेञ्चले बहुमतबाट उक्त जग्गाहरू बण्डा गर्न नमिल्ने भन्ने ठहर गरेको पाइन्छ । उक्त बकसपत्रका जग्गाहरू बकसपत्रदाताको निजी आर्जनको सम्पत्ति नभई पैत्रिक सम्पत्तिहरू देखिन आएका छन । उक्त सम्पत्तिहरू प्रतिवादी अंशियार बाहेकका गैरव्यक्तिहरूलाई बिक्री बकसपत्र गरी दिएको नभई अंशियारहरूकै छोरा तथा स्वास्नीलाई दिएको देखिन्छ । मानो छुट्टिएको मितिभन्दा अघिको सगोलको पैत्रिक सम्पत्ति बण्डा नहुने भन्न मिलेन । लक्ष्मणराज समेतले यी वादी देवकुमारी उपर दिएको तायदाती बदर मुद्दामा म.क्षे.अ.को ०३२।१।२ को निर्णय उपर बक्स भएका हुकुम प्रमांगी बमोजिम इन्साफ जाँच हुँदा निज लक्ष्मणराज समेतले प्रयागराजबाट बकस पाएको भनेको जग्गाहरूको तायदाती बदर नहुने आज यसै बेञ्चबाट निर्णय भएको समेतबाट उक्त बकसपत्रका जग्गाहरू समेत वादीले ५ भागको १ भाग अंश पाउने ठहर्छ ।
२८. अतः उपर्युक्त कारणहरूबाट वादी प्रतिवादीको तायदाती उजूरीबाट देखिएको चल अचल सम्पत्तिबाट वादीले ५ भागको १ भाग अंश पाउने ठहर्छ । ०३७।९।५ को फुल बेञ्चको निर्णय उक्त हदसम्म मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा वादी देवकुमारी पाण्डेले प्रतिवादीहरूबाट पाँच भागको १ भाग अंश पाउने ठहरेकाले देहाय बमोजिम गर्नु..........१
बागमती अञ्चल अदालतको ०२९।१।२३ को फैसला बमोजिमको लगत काट्न गरेको सर्वोच्च अदालत फुल बेञ्च ०३७।९।५ को फैसला बमोजिम गर्नुपर्दैन फुल बेञ्चको ०३७।९।५ को फैसला बमोजिमको लगत काटी दिनु र बागमती अञ्चल अदालतको ०२९।१।२३ को फैसला बमोजिम गर्नु भनी शुरू काठमाडौं जिल्ला अदालत लेखी पठाई दिने
देहाय बमोजिमको सम्पत्तिबाट अंश छुट्याई पाउँ भनी दण्ड सजायको ४६ नं. को म्याद २ वर्षभित्र निज वादी देवकुमारीको दर्खास्त पर्न आए ५ भागको १ भाग कानूनको रीत पुर्याई बण्डा छुट्याई दिने र विगोको सयकडा २।५० का दरले दस्तूर लिने..........................२
ज्वालाराज पाण्डेको तायदाती बमोजिमको जि. बारा कलैया मालमा निजको नाउँमा दर्ता भएको पूर्व पश्चिम उत्तर दक्षिण चारै तर्फ रैकर जग्गा साँध भएको चन्द्रकुमारीलाई धान मन ५।। बुझाउने गरी हुण्डामा दिएको मालपोत रु.११७३। लागेको लोसण्डा भन्ने मौजाको प्रत्येक बिगहाको ११,५००। मोलिने जग्गा बिगहा २३ को जग्गा कित्ता...१
काशिराजको वा.अं.अ.को तोक नं. ३४६ को निवेदन पत्रमा बण्डा गर्नुपर्ने भनी खुलाएको देहाय बमोजिमको सम्पत्तिहरू .....२
क) जि. पर्सा निपनि गा.पं. वा.नं. ७ को रैती काशिराज पाण्डेको नाउँमा दर्ता भएको पोत रु.१०३।१९ लाग्ने अन्दाजी मोल रु.१०००।–पर्ने बिगहा २–१५–५ ख) जि. पर्सा बेलना गा.पं. वा.नं. ३ को रैती काशीराज पाण्डेको नाउँमा दर्ता रहेको पोत रु.१७१।६० लाग्ने अन्दाजी रु.११००।– पर्ने जग्गा बिगहा ३–१०–० ग) जि. पर्सा हरपुर गा.पं. वा.नं. ७ को रैती नं. ६१४।५५ लाग्ने अन्दाजी रु.४०००।–को जग्गा बिगहा ५–१६–० घ) का.जि. टुकुचाको जग्गा भोगबन्धकी लिएको असामीले थैली बुझाउँदा सो थैली रु.१००००। दश हजार काशीराज र प्रयागराजको संयुक्त नाउँमा नेपाल बैंकमा जम्मा १०,०००।–
काशिराजको ऐ ऐ नं. को उजूरीको प्रकरण ९ मा प्रयागराज हाल बसेको १९८२ साल पछि बनेको का.जि. लाजिम्पाटको पक्की बंगला घर भनेको र प्रयागराजको बा.अं.अ.मा परेको कित्ता नं. ५०२ को निवेदनको प्रकरण २ मा लेखिएको देहाय बमोजिमको सम्पत्तिहरू...........३
क) शंखकुमारीको नाउँमा खरीद भएको भनेको का.जि. लाजिम्पाटको पूर्व घर कम्पाउण्ड, पश्चिम सितल निवास जाने मूल सडक, उत्तर सडक, दक्षिण मुकुन्दशमशेरको जग्गा यति ४ चार किल्लाभित्रको जग्गा रोपनी ५।।। र सो जग्गामा बनेको घरहरू ग्यारेज र भान्सा घर समेत.१
ख)पूर्व नानी मालीको घर र भक्तलाल लहरको र मोहनराजको वारी, पश्चिम लुमकर्ण माडवारीको र मेरो चलनको घर, उत्तर पशुपतिलालको बारी दक्षिण डा.अष्टबहादुर र बुद्धिप्रसाद गौतमको बारी र देवकुमारीको घर यति ४ किल्ला भित्रको का.जि. खिचापोखरीको घर बगैंचा सहितको अन्दाजी जग्गा रोपनी २।। को घर जग्गा समेत.....१
इन्साफ जाँचको निमित्त आएको हुँदा केही गरी रहन परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. बासुदेव शर्मा,
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव,
न्या. हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय
२९. प्रस्तुत विवादमा अंश पाउने नपाउने र कुन मितिदेखिको मानो छुट्टिएको कायम हुने विषयमा बहुमतसँग राय मिलेकै हुँदा त्यसतर्फ बढी विवेचना गरी रहनु आवश्यक भएन । तर के कुन सम्पत्ति बण्डामा पर्नुपर्दछ भन्ने विषयमा मेरो राय फरक छ ।
३०. यस सन्दर्भमा मुद्दाको वस्तुस्थिति यस प्रकार छ । शुरूदेखि नै फिरादका पक्ष विपक्षहरूका अंशियार हुन् होइन भन्ने कुरामा कुनै विवाद थिएन । तर खिचापोखरी र लाजिम्पाट लगायतको सम्पत्तिहरू (बहुमतको रायमा विवेचना भएको छ) र तायदाती बदर गराउन आउनेहरूको हकमा विवादित रही रहृयो । क्षेत्रीय अदालतबाट तायदाती बदर मुद्दामा उल्लेख भएका सम्पत्ति जति बदर हुने भनी ठहर्याएपछि यस मुद्दाको वादी देवकुमारी चित्त बुझाई बसेको थियो र अघिल्लो पटकमा मुद्दा दोहर्याई पाउँ भनी आएको पनि देखिएन । यस पटक अंश मुद्दा दोहर्याउन बिन्ती गर्दा मात्र तायदाती, बदर मुद्दा पनि दोहर्याउने बिन्ती गरेको स्थिति छ । त्यसपछि यस पटकको फुल बेञ्चले मद्दामा विचार गर्दा पेटबोलीका व्यक्तिहरू प्रतिवादी सरह बुझ्ने आदेश गरेको पाइन्छ । बुझिएका शरतराज समेतले तायदाती बदरमा आउनेहरू लक्ष्मणराज, मदनराज, भरतराजको मु.स.गर्ने जनक नन्दिनीले जस्तै हाम्रो पास भएको हालै देखिको बकसपत्र भित्रको सम्पत्ति बण्डा लाग्ने होइन भनी प्रतिवाद गरी विरोध दर्शाएका छन् यस मानेमा अघिको फुल बेञ्च लगायतका बेञ्चहरूको अवस्था र यस पटकको फुल बेञ्चको अवस्थामा मुद्दाको स्थिति बनाइएका बकसपत्र पाउनेहरूको हकमा मुद्दाको हालको तथ्यको पृष्ठभूमिमा कानूनी स्थिति र त्यसको परिणामको स्पष्ट विवेचना र ठहर हुनु नितान्त आवश्यक देख्दछु ।
३१. यो कुरा प्रारम्भमै स्पष्ट हुन पर्दछ कि यी बकसपत्र पाउने व्यक्तिहरू अब तायदाती बदरमा छुट्टै मुद्दा बाँकी आइरहनु परेन किनभने यो विवाद विषय प्रस्तुत मुद्दाको निरोपणको अभिन्न अङ्ग भई निर्णय दिनु पर्ने विषय बनी सकेको छ ।
३२. अब बहुमतको रायको विवेचना गर्दा बकसपत्र पाउनेहरू उनाऊ व्यक्ति नभई आफ्नै अंशियारहरूको छोरा नाति पर्ने हुँदा निजहरू यस अंश मुद्दाका अंशियारा नभए पनि सगोलमा रहेको परिवारमा सदस्य हुँदा निजहरूले पाएको सम्पत्ति बदर गराई माग्न छुट्टै मुद्दाबाट आउनुपर्दैन, स्वतः बदर हुन्छ, तसर्थः बण्डा लाग्दछ भन्ने तर्क भएको लाग्छ ।
३३. यस भनाईमा प्रथम दृष्टिमा नै केही कुराहरू नमिलेको देखिन्छ । तेस्रो व्यक्ति र छोरा नातिका व्यक्तिहरूमा कानून बमोजिम हक अधिकारको भोग गर्न नपाउनेमा के आधारमा अन्तर छ र तायदातीमा सम्पत्ति पर्दैमा बदर गराई माग्नु पर्ने तर पास भएको बकसपत्र बदर गराउन नपर्ने, आधार देखिएन । तेस्रो व्यक्ति र अंशियाराहरूभन्दा पनि निज छोरा नातिहरूको अधिकार कसरी कमजोर र तल्लो स्तरको हुन आउँदछ ? कानूनी आधार यो हो भनी दर्शाइएको छैन । यस्तो बीचको अवस्थामा छोरा नातिहरूलाई राख्ने बिधायिकाको मनासय भएको र न्यायसंगत तर्क पनि हो भन्न कठीन देख्दछु । अदालत कानूनको व्याख्याता मात्र हो, कानूनको प्रत्यक्ष निर्माता होइन, व्याख्यात्मक र विधायन कानूनमा फरक छ । व्याख्यात्मक कानून दोस्रो श्रेणीको (Secondary Law) भनिन्छ अर्थात अदालतले कानूनको द्वन्द्वात्मक स्थितिमा उपाय देखाउने प्रयास मात्र गर्दछ । तर यसले विधायिकाले जस्तो हक अधिकारको सिर्जना गर्न वा मेट्न सक्दैन । नेपाल कानूनको अध्ययन र अदालती प्रचलनमा रहेको मान्यता प्राप्त सिद्धान्तानुसार जुन कुरा गर्न हुँदैन भनी किटानी निषेध छैन सो गर्न हुन्छ भन्ने एकातिर भनाई छ भने सबै नागरिक कानूनको प्रयोगमा समान छन् । यसरी तेस्रो व्यक्ति र यी बकसपत्र पाउने व्यक्तिहरूका कानूनभित्र व्यवहार गर्न मिल्ने देखिएन ।
३४. हाम्रो कानूनमा पनि बदरभागी र बदर हुने कुरामा भेद गरिएको छ । बदरभागी हुने कुराहरूको दृष्टान्त अनगिन्ती छन्, जस्तै—फैसला बदर, मिलापत्र बदर, दर्ता बदर, करार बदर र जबरजस्ती गराएका कागज बदर आदि आदि । यसै गरी स्वतः बदर मान्नु पर्ने कुरामा पनि कानूनमा व्यवस्था छ, जस्तै करार ऐनको दफा ८ को अवस्थाहरू, यस्तै असर विबन्धनबाट पनि हुन सक्दछ । तायदाती बदर र बकसपत्र बदर पनि यस्तै बदरभागी भएका विषयसँग सम्बद्ध छन्।
३५. माथि भनिए झै आफ्नो सम्पत्ति हस्तान्तर गर्ने, सम्पत्तिको भार थोपार्ने बेचबिखन गर्ने लगायतका कानूनी शक्ति संविधानले अधिकारको रूपमा दिएकै छ । अबण्डा सम्पत्ति पनि हस्तान्तर र बेचबिखन हुन नसक्ने होइन, अबण्डा रहेको सम्पत्तिमा अंशियारको हक भएकै हुन्छ । खरीद गर्नेले आफ्नो भाग जति बण्डा गराउन पाउने नै छ । उदाहरणको रूपमा लेनदेन व्यवहारको २१ नं. को व्यवस्था छ । यस्तो कानूनी स्थितिमा बकसपत्र प्रारम्भ देखि नै बदर छ भन्ने किसिमको धारणा लिन मिल्दैन । यो परिणाम संविधान अनुरूप विधायित कानूनको स्पष्ट व्यवस्थाद्वारा मात्र ल्याउन सकिन्छ । त्यो पनि मुद्दा परी पराऊ भई लेनदेनको १० नं. को जस्तो अवस्थामा सक्षम निकायबाट मात्र ठहर हुन सक्ने हुन्छ । सारवान क्षेत्रमा अदालत विवश छ त्यस्तो कानून लागू मात्र गर्न सक्दछ । कानूनद्वारा प्रदत्त हक अधिकार कुण्ठित, परिवर्तन र नियन्त्रण केही पनि गर्न सक्दैन ।
३६. बहुमतको भनाई अर्थात सगोलको परिवारमा रहेकाहरूको स्थिति बेग्लै हुँदा तिनीहरूले बकसपत्र लिन मिल्दैन भन्ने अर्को दृष्टिकोणबाट हेर्ने हो भने पनि प्रथमतः माथि भने झै बकस दिनेले दिनमा प्रतिबन्ध छैन, लिनेलाई कुन चाहिँ कानूनले निषेध गरेको छ ? लेनदेनको ९ नं. मा छोराले लाएको ऋणमा बाबुहरूको दायित्व छैन । अंशबण्डाको १८ नं. लागू हुन्छ भन्नलाई उक्त दफाको सरसर्ती अध्ययनबाट पनि सो दफाको अंशियारहरूलाई मात्र लागू हुने देखिन्छ । जबकि बकसपत्र पाउनेहरू देवकुमारी लगायतका अंशियारा होइनन् भनी भनिएकै छ ।
३७. यस बाहेक यसै सन्दर्भमा एक दुई प्रश्नहरूको उत्तर पनि आउन जरूरी छ । के यस्तोमा कोर्टफीस, हदम्याद लाग्दै लाग्दैन ?
३८. यसरी हेर्दा हदम्यादको वास्ता पनि नगर्ने र केही त बकसपत्रमा साक्षी समेत बस्नेहरू विवन्धित त छँदैछन् पास भएको बकसपत्र भित्रको अदालतको जानकारीमा आएको र पेटबोलीबाट भनी यस अदालतको आदेशले प्रतिवादी पनि बन्न पुगेकोहरूको सम्पत्ति कानून बमोजिम सरोकारवालाहरूले बदर गराई मागी बदर नभएसम्म तायदातीमा उल्लेख हुँदैमा बण्डामा समावेश गर्न मिल्दैन । बहुमतको रायमा यस्तोमा छुट्टै बदर गराई रहन पर्दैन भन्ने भएको र अरूमा मेरो सहमति भएको हुँदा कानून बमोजिम गर्नु ।
न्या. हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय
३९. प्रस्तुत मुद्दमा कुन मितिदेखि मानु छुट्टिएको मान्नु पर्ने र वादीले अंश पाउने नपाउने के हो त्यस विषयमा बहुमतको रायसँग सहमति छ तर कुन–कुन सम्पत्ति बण्डा हुनु पर्ने हो भन्ने कुरामा मेरा राय फरक भएकोले निम्नलिखित व्यहोरा प्रस्तुत गरेको हुँ ।
४०. यसमा तायदातीमा लेखिएको बकसपत्रको सम्पत्ति जति बदर हुने भनी मध्यामाञ्चल क्षेत्रीय अदालतबाट ठहर भएपछि उक्त मुद्दाको प्रतिवादी यस मुद्दाको वादी देवकुमारीले सो मुद्दा दोहोर्याई पाउँ भनी अघिल्लो पटकको बिन्तिपत्रमा जिकिर नलिई चित्त बुझाई बस्नुभएको देखियो । यस पटक अंश मुद्दा दोहोर्याई पाउँ भनी बिन्तिपत्र दिँदा मात्र तायदाती बदर मुद्दा पनि दोहोर्याई दिनु भन्ने हुकुम बक्स भएकोले अंश मुद्दा र तायदाती बदर मुद्दा दुवैमा फुल बेञ्चबाट निर्णय गर्नुपर्ने देखिन आयो पेटबोलीका व्यक्तिहरूलाई प्रतिवादी सरह बुझ्ने आदेश भएको रहेछ । प्रयागराज पाण्डेले अंशियार मध्येका छोराहरू लक्ष्मणराज, मदनराज समेतलाई हालैदेखिको बकसपत्र गरी दिएको सम्पत्ति देवकुमारी, काशिराज, प्रयागराज समेतको अंशबण्डा हुँदा समावेश हुनु पर्ने होइन भनी बकसपत्र पाउने वालाहरूको तर्क जिकिर देखिन्छ ।
४१. बहुमतको रायमा बकसपत्र पाउने व्यक्तिहरू अंशियारहरूकै छोरा भतिजा भएकोले अंशियार नभए पनि सगोलमा रहेको अवस्थामा दिए लिएको सम्पत्तिहरूबारे अड्डाबाट पारित भए पनि छुट्टै उजूर बाजुर गर्नु पर्ने होइन स्वतः बदर हुन्छ, तसर्थः वादीलाई बण्डा लाग्छ भन्ने तर्क भएको देखिन्छ । अंश मुद्दा र तायदाती बदर मुद्दा साथ साथै निर्णय गर्नुपर्ने हुन आएको छ ।
४२. अब मीनराजले सरतराज पाण्डे समेतलाई ०१६ सालमा बकसपत्र गरी दिएको र त्यस्तै प्रयागराजले लक्ष्मणराज पाण्डे समेतलाई ०१६ सालमा बकसपत्र गरी दिएकोमा वादीले बण्डा छुट्याई लिन पाउने नपाउने के हो भन्ने प्रश्नमा विचार गर्दा आफ्नो आर्जनको चल अचल सम्पत्ति आफ्नो खुश गर्न पाउने भन्ने अंशबण्डाको १९ नं. को देहाय २ मा लेखिएको छ । बकसपत्रको लिखतमा अंशियार मध्येको भाइ साक्षी बसेका देखिनाले पनि आफ्नो आर्जनको भन्ने पुष्टि हुन्छ । तत्कालीन साहु असामीको ८ नं. हाल प्रचलित लेनदेन व्यवहारको १० नं. ले आफूले आर्जेको सम्पत्ति आफू खुश गर्न पाउने हुँदा सो बकसपत्रलाई मान्यता दिनु पर्ने हुन्छ । त्यसको अतिरिक्त तत्कालीन दानदातव्यको १५ नं. हाल प्रचलित दानबकसको ५ नं. बमोजिम बकसपत्र दिएको कुरामा २ वर्षभित्र उजूर गर्नुपर्छ सो म्याद गुज्रेपछि नालेश लाग्न सक्तैन भनी व्यवस्था भएकोले वादीले सो पारित बकसपत्र उपर उजूर गरी बदर नगराएसम्म त्यस्तो बकसपत्रलाई उक्त ऐनले मान्यता दिनु पर्ने भई कायमै रहन्छ, स्वतः बदर हुँदैन । वादी लक्ष्मणराज यिनै देवकुमारी समेत भएको तायदाती बदर मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब भनी आजै फैसला भएकोबाट बकसपत्रको जग्गाहरू बण्डामा समावेश गर्न मिल्दैन । अंशबण्डाको ऐनको १९ नं. को देहाय (३) बमोजिम आफूखुश गर्न पाउने भएको र ऐ को देहाय (५) बमोजिम दिन पाउने जती अंशबण्डा नहुँदै लिखित गरी दिएको जति पछि अंशबण्डा गर्दा बण्डा गर्नुपर्दैन भन्ने व्यवस्था हुँदा बक्सपत्र पाएको बण्डा गर्नुनपर्ने भनी मान्यता दिएको छ । यस्तो स्थितिमा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको रायसँग सहमतछु अरू कुरामा बहुमतको रायसँग सहमति हुँदा कानूनबमोजिम गर्नु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल ज्येष्ठ ५ गते रोज ६ शुभम् ।