निर्णय नं. ८८८७ - लिखत बदर दर्ता बदर, दर्ता कायम
ने.का.प. २०६९, अङ्क ९
निर्णय नं. ८८८७
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
२०६१ सालको दे.पु.नं. ८५९४
फैसला मितिः २०६९।४।१६।३
मुद्दाः लिखत बदर दर्ता बदर दर्ता कायम ।
पुनरावेदक प्रतिवादीः सप्तरी जिल्ला हरिहरपुर गा.वि.स. वडा न. ३ बस्ने चन्दीदेवी यादव समेत
विरुद्ध
प्रत्यर्थी वादीः सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ९ बस्ने गोविन्दराम रुंगटा समेत
शुरू फैसला गर्नेः–
मा.न्या.श्री चण्डिराज ढकाल
पुनरावेदन फैसला गर्नेः–
मा.न्या. श्री लक्ष्मणमणि रिसाल
मा.न्या. श्री मोहनप्रसाद घिमिरे
§ एउटै जग्गाको विषयमा लिखत बदर मुद्दा र जालसाजी मुद्दा दायर भई लगाउमा रहेको अवस्थामा दुवै मुद्दाहरूलाई निरपेक्षरूपमा छुट्याएर बिलकुलै भिन्नभिन्न रूपमा हेर्न मिल्ने हुँदैन । लिखत बदर मुद्दा र जालसाजी मुद्दाको प्रकृति र प्रयोजन केही हदसम्म छुट्टाछुट्टै हुने भए तापनि दुवै मुद्दाहरू एउटै कार्य कारण वा जरियाबाट खडा भएका हुँदा दुवै मुद्दाहरू परस्पर सम्बन्धित र अन्तरप्रभावी हुने ।
§ लगाउमा रहेको कुनै मुद्दामा मुद्दाको तथ्यको आधारमा लिखत बदर हुनु र जालसाजी नठहर्नु स्वाभाविक र अर्थपूर्ण नै हुनसक्ने हुन्छ । तर कुनै मुद्दामा जालसाजी ठहर्नु तर लिखत चाहिँ बदर नहुनु प्रयोजनहीन र निरर्थक हुनजाने ।
(प्रकरण नं.५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रामकृष्ण गौतम
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामचन्द्र सुवेदी
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ लेनदेन व्यवहारको १० नं.
फैसला
प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत राजविराजको मिति २०६०।८।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः–
मूलपुर्खा म गोविन्दराम रुगटा भई गोविन्दरामको एक मात्र श्रीमती म भागीरथीदेवी हुँ । गोविन्दराम रुगँटाको तीन छोरा जेठा प्रतिवादी रमेशकुमार, माहिला म वादी आनन्दकुमार, कान्छा म वादी राजेन्द्रकुमार भै रमेशकुमारको एक मात्र भार्या म वादी परमिलादेवी भै एकमात्र छोरा म वादी मनिषकुमार रुँगटा हुँ । यसरी हामीहरू बीच पिता माता दाजु पति, पिताको नाता सम्बन्ध छ । हामी वादी प्रतिवादीहरू साझा सगोलमा रहँदा बस्दा रमेशकुमारसँग मिति २०५४।१०।१५ देखि हाम्रो वैमनश्यता भइरहेको र घरको मुख्य म वादी गोविन्दराम र भागीरथी देवी हुँ । हामीहरूको अंश हक मेट्ने तथा व्यक्तिगत खर्चको लागि विपक्षीहरूसँग कीर्ते जालसाज गरी हामीलाई थाहा जानकारी नदिई रमेशकुमार रुगटा नाउँ दर्ताको जिल्ला सप्तरी गा.वि.स. हरिहरपुर वार्ड नं. ३(ग) कि.नं. ४१ को ०–१२–१४ मध्ये पश्चिमतर्फबाट ०–६–७ जग्गा मिति २०५४।११।१२ मा थैली रु. २०,०००।– देखाई प्रतिवादी सीयावतीलाई र सो कि.नं. ४१ मध्येको पूर्वतर्फबाट ०–६–७ प्रतिवादी चन्दी र रामकुमारलाई राजीनामा लिखत रजिष्ट्रेशन गरी दिएकोमा सो कुरा तत्काल थाहा नभै मिति २०५६।८।१९ मा थाहा भएकोले जालसाजतर्फ नालेस गरिसकेका छौं । साक्षी प्रमाण बुझी दिने रमेशकुमार लिने चन्दीदेवी र रामकुमार भएको र.नं. ४०८९ मिति २०५४।११।१२ मा पारीत भएको जालसाजीपूर्ण लिखत बदर गरी सो लिखतको आधारमा विपक्षी चन्दीदेवी र रामकुमारले गराएको हरिहरपुर वार्ड नं. ३(ग) कि.नं. १५५ को ०–६–७ जग्गामध्ये ५ खण्डको हाम्रो अंश हक ४ खण्ड हामी वादी गोविन्दराम, भागीरथीदेवी, आनन्दकुमार, राजेन्द्रकुमारको अंश फाँटको भएकोले दक्षिणतर्फबाट ०–५–१ को र रमेशकुमारको भागलाई ३ भाग लगाई सोमध्ये २ भाग हामी वादी परमिलादेवी र मनिषकुमारको भएकोले पूर्वतर्फबाट ०–०–१६२/३ जग्गा समेतको लिखत बदर दर्ता बदर गरी हाम्रो नाउँमा दर्ता गरी चलन पाउने गरी इन्साफ पाऊँ भन्ने समेत वादी गोविन्दराम रुगटासमेतको मिति २०५६।८।२१ को फिरादपत्र ।
वादी दावीको जग्गामा वादीहरूको हकदैया नभएको भोग चलन नभएकोले वादी दावी झूठा छ । लेनदेन व्यवहारको १० नं. बमोजिम वकसपत्रबाट पाएको जग्गा आफूखुशी विक्री गरेकोले लिखत बदर हुने होइन । हदम्याद नघाई एक वर्षपछि नालेस गरेकोले यो नालिस लाग्न सक्दैन । वादीको झूठा दावीबाट फुर्सद पाऊँ भन्नेसमेत प्रतिवादी चन्दीदेवी यादव र रामकुमार यादवको संयुक्त प्रतिउत्तर पत्र ।
वादी दावी झूठा हो । मलाई आर्थिक कठिनाइ परेको हुँदा मैले आफ्नो नाउँको जग्गा विक्री गरेको हुँ । हामीबीच रीतपूर्वकको अंशबण्डा भएको छैन । हामीहरू सगोलमा नै छौं भन्नेसमेत प्रतिवादी रमेशकुमार रुगटाको प्रतिउत्तर पत्र ।
वादीका साक्षी राजेन्द्रप्रसाद रुँगटा, प्रतिवादीका साक्षी उमेश यादवसमेतले शुरु अदालतमा गरेको बकपत्र ।
प्रस्तुत मुद्दा हदम्यादभित्रको नदेखिँदा हदम्याद नाघी परेको यस मुद्दाबाट इन्साफ गर्न मिलेन खारेज हुने ठहर्छ भन्ने सप्तरी जिल्ला अदालतको मिति २०५८।४।३० को फैसला ।
हामीले प्रस्तुत लिखतको विषयलाई लिएर दायर गरेको सा.फौ.नं. ७३२ को जालसाज मुद्दालाई प्रमाणमा ग्रहण नगरी हदम्यादविहीन भनी फिराद खारेज गरेको त्रुटिपूर्ण छ । कानूनमा दुई उपचार भएकोले दुई उपचारमध्ये कुन उपचारको मार्ग अवलम्बन गर्ने भन्ने पक्षको इच्छामा निर्भर रहने भनी नेकाप २०४८ अङ्क १२ नि.नं. ४४३५ पृष्ठ ८४३ मा सिद्धान्तसमेत प्रतिपादन भएको अवस्थामा जालसाज मुद्दा हदम्यादभित्रको भएपछि सोलाई आधार बनाई प्रस्तुत मुद्दामा इन्साफ बोल्नुपर्नेमा मुद्दाको तथ्यमा प्रवेश नै नगरी हदम्यादको आधारमा वादी दावी खारेज गरेको शुरु फैसलामा लेनदेन व्यवहारको ४० नं. को हदम्यादको व्याख्या समेतको त्रुटि हुँदा शुरु फैसला उल्टी गरी वादी दावीबमोजिम इन्साफ पाऊँ भन्ने वादीको पुनरावेदन पत्र ।
यसै लगाउको दे.पु.नं. १६३८ को लिखत दर्ता बदर मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत राजविराजबाट मिति २०५९।१।९ मा भएको आदेश ।
लगाउको जालसाज मुद्दाबाट सजाय गरिने प्रश्नको निरूपण हुने हो । सोलाई निर्णयाधार बनाई लेनदेन व्यवहारको १० नं. को हदम्याद अंगाली दायर गरिनुपर्ने प्रस्तुत लिखत बदर मुद्दामा सो हदम्याद नाघी दायर भएको अवस्थामा वादी दावी खारेज गरेको शुरु फैसला सदर हुनु पर्दछ भन्ने चन्दीदेवी यादवको लिखित प्रतिवाद ।
हामी वादीको हक मार्ने नियतले प्रतिवादीहरू आपसमा मिली सत्य कुरा ढाकछोप गरी हामीहरूको अंशहकको सम्पत्ति मिति २०५४।११।१२ मा लिखत गरी जालसाजपूर्ण तरिकाले हामीलाई थाहा समेत नदिई राजीनामा पारीत गरिदिएकाले जालसाजतर्फ २०५६ सालको सा.फौ.नं. ७३२ को जालसाज मुद्दा दायर गरी लिखत बदर दर्ता बदरतर्फ प्रस्तुत मुद्दा दायर गरेको भन्ने वादीको दावी रहेको पाइन्छ । यसै लगाउको यिनै पुनरावेदक वादीहरू वादी तथा प्रतिवादी रमेशकुमार रुगटा र सीयावती यादव भएको दे.पु.नं. ६१।१६३८ को लिखत दर्ता बदर दर्ता कायम मुद्दामा विवेचना गरिएका आधार प्रमाणहरूबाट लगाउको जालसाज मुद्दाको वादीको दावीमा प्रवेश गरिसकेपछि प्रस्तुत मुद्दाबाट विवेच्य विषयहरूको निराकरण गरी इन्साफ गर्नुपर्नेमा सो बमोजिम नगरी हदम्यादको आधारमा वादी दावी अ.वं. १८० नं. बमोजिम खारेज गरेको सप्तरी जिल्ला अदालतको मिति २०५८।४।३० को फैसला मिलेको नदेखिँदा बदर गरि दिएको छ । अब जो जे बुझ्नु पर्दछ बुझी लगाउका मुद्दा समेत साथै राखी इन्साफ गर्नु भनी उपस्थित पक्षलाई तारिख तोकी प्रस्तुत मुद्दा शुरु सप्तरी जिल्ला अदालतमा फिर्ता पठाइदिने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६०।८।१० को फैसला ।
सगोलको जग्गा मन्जुरी बेगर बिक्री गरेकोमा बिक्री बदर गर्ने कानूनले तोकेको हदम्याद लेनदेन व्यवहारको १० नं. अनुसार १ वर्षभित्रमा थाहा पाएको ३५ दिनभित्रमा नालिस गरेकै हुनुपर्छ । अर्को कुनै हदम्यादको व्यवस्था कानूनमा कतै नभएकोमा यो मुद्दामा २०५४।११।१२ को लिखतलाई बदर गरी पाउन २०५६।८।२१ गते कुनै ऐनको उल्लेखै नगरी दर्ता भएको फिराद हदम्यादभित्र दायर नभएबाट खारेज गर्नुको विकल्प नै छैन । जिल्ला अदालतले हदम्यादको अभावमा नालिस खारेज हुने ठहर्याएको छ । पुनरावेदन अदालतले सो फैसला बदर गरी पुनः निर्णय गर्न पठाउँदा हदम्यादभित्र नालेस परेको कानून देखाई सो कानूनका आधारमा निर्णय गर्नु भन्नुपर्ने हुन्छ । तर पुनरावेदन अदालतको फैसलामा हदम्यादभित्र मुद्दा दायर भएको भन्ने कुरा उल्लेख नभएको हुँदा सो फैसला बदर गरी शुरु सप्तरी जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादीहरूको यस अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।
तल्लो अदालतले गर्न पाउने फैसला वा अन्तिम आदेश पुनरावेदन अदालत स्वयंले गर्न पाउनुका साथै तल्लो अदालतले मुद्दामा निर्णय गर्नुपर्ने प्रश्नहरू मध्ये केहीमा निर्णय नगरी गरेको समेत अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ख) र (घ) बमोजिम पुनरावेदन अदालत आफैंले फैसला गर्न पाउनेमा सो नगरी पुनः निर्णय गर्नु भनी मिसिल शुरु जिल्ला अदालतमा पठाउने गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा उक्त ऐनको प्रष्ट त्रुटि देखिँदा विपक्षी झिकाई पुनरावेदकलाई समेत अ.वं. २०१ नं. बमोजिम हाजिर हुन सूचना पठाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।७।६ को आदेश ।
नियमबमोजिम पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सम्पूर्ण मिसिल अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रामकृष्ण गौतमले लेनदेन व्यवहारको १० नं. ले स्पष्ट रूपमा हदम्याद नभएको प्रस्तुत मुद्दामा फिराद खारेज गरेको जिल्ला अदालतको फैसला बदर गरी पुनः इन्साफका लागि शुरुमा पठाएको पुनरावेदन अदालत राजविराजको फैसला औचित्यपूर्ण समेत नभएकोले सो फैसला बदर भई शुरु फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामचन्द्र सुवेदीले लिखत बदर मुद्दाका साथै जालसाजी मुद्दासमेत परेको अवस्थामा एउटा मुद्दामा हदम्याद भएपछि अर्कोमा पनि हदम्याद हुने नै भएकोले प्रस्तुत मुद्दामा हदम्याद नभएको ठहर्याएको शुरु फैसला बदर गरेको हदसम्म पुनरावेदन अदालत राजविराजको फैसला कानूनसम्मत छ भनी बहस गर्नुभयो ।
उल्लिखित बहससमेत सुनी पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनु परेको छ ।
२. निर्णयतर्फ विचार गर्दा, हाम्रोसमेत अंश हक लाग्ने प्रतिवादीमध्येका रमेशकुमार रुँगटाका नाममा दर्ता रहेको जग्गा हाम्रो अंश हक मार्ने नियतले हाम्रो मञ्जूरी नलिई प्रतिवादी चन्दीदेवी र रामकुमार यादवलाई मिति २०५४।११।१२ मा राजीनामा पारीत गरिदिएकोले हाम्रो हकको जति लिखत दर्ता बदर गरिपाऊँ भन्ने फिराद दावी भएको प्रस्तुत मुद्दामा शुरु सप्तरी जिल्ला अदालतबाट लेनदेन व्यवहारको १० नं. मा उल्लिखित हदम्याद नाघी फिरादपत्र दायर भएको भन्ने आधारमा वादी दावी खारेज गर्ने गरी निर्णय भएको देखिन्छ ।
३. प्रस्तुत लिखत बदर मुद्दाको फिराद मिति २०५६।८।२१ मा दायर भएको देखिन्छ । प्रस्तुत मुद्दा दायर गर्नु अगावै मिति २०५६।८।२० मा यिनै वादीहरूले यिनै प्रतिवादीसमेत उपर यसै जग्गाको विषयमा जालसाजीतर्फ समेत फिराद दायर गरेको देखिन्छ । उक्त जालसाजी मुद्दामा भने शुरु सप्तरी जिल्ला अदालतले तथ्यभित्र प्रवेश गरी वादी दावी नपुग्ने फैसला गरेको देखिन्छ ।
४. प्रस्तुत लिखत बदर मुद्दा र उक्त जालसाजी दुवै मुद्दामा वादीहरूको पुनरावेदन परेकोमा पुनरावेदन अदालत राजविराजबाट लगाउमै रहेको जालसाजी मुद्दामा वादी दावीमा प्रवेश गरिसकेपछि लिखत बदर मुद्दामा पनि इन्साफ गर्नुपर्नेमा इन्साफ नगरी हदम्यादको अभाव रहेको भनी फिराद खारेज गरेको शुरु फैसला त्रुटिपूर्ण भएकोले बदर गरिदिएको छ, अब दुवै मुद्दा साथै राखी इन्साफ गर्नु भनी प्रस्तुत लिखत बदर मुद्दासमेत पुनः निर्णयका लागि शुरुमा पठाउने गरी भएको फैसलाउपर प्रतिवादीतर्फबाट प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।
५. उपरोक्तबमोजिम एउटै जग्गाको विषयमा लिखत बदर मुद्दा र जालसाजी मुद्दा दायर भई लगाउमा रहेको अवस्थामा दुवै मुद्दाहरूलाई निरपेक्षरूपमा छुट्याएर बिलकुलै भिन्नभिन्न रूपमा हेर्न मिल्ने हुँदैन । लिखत बदर मुद्दा र जालसाजी मुद्दाको प्रकृति र प्रयोजन केही हदसम्म छुट्टाछुट्टै हुने भए तापनि दुवै मुद्दाहरू एउटै कार्य कारण वा जरियाबाट खडा भएका हुँदा दुवै मुद्दाहरू परस्पर सम्बन्धित र अन्तरप्रभावी नै हुन्छन् । त्यसमा पनि लगाउमा रहेको कुनै मुद्दामा मुद्दाको तथ्यको आधारमा लिखत बदर हुनु र जालसाजी नठहर्नु स्वाभाविक र अर्थपूर्ण नै हुनसक्ने हुन्छ तर कुनै मुद्दामा जालसाजी ठहर्नु तर लिखत चाहिँ बदर नहुनु प्रयोजनहीन र निरर्थक हुनजाने हुन्छ । अदालतबाट फैसला गर्दा कानूनको प्रयोगमा यस्तो अर्थहीन परिणाम निस्कने गरी फैसला गर्नु पनि उचित हुँदैन । त्यसैले लगाउमा रही परस्पर अन्तरप्रभावी रहेका लिखत बदर र जालसाजी मुद्दाहरूलाई छुट्टाछुट्टै रूपमा विचार नगरी अन्तरसम्बन्धित विषयवस्तुको रूपमा नै विचार गर्नु वाञ्छनीय हुन्छ । यसै बमोजिम प्रस्तुत विवादमा लगाउको जालसाजी मुद्दालाई हदम्यादभित्रको मानी शुरु जिल्ला अदालतले तथ्यभित्र प्रवेश गरी फैसला गरेको र प्रस्तुत लिखत बदर मुद्दालाई उक्त जालसाजी मुद्दासँग असम्बन्धित रहेको परिणाम निस्कने गरी हदम्यादको आधारमा फिराद खारेज गर्ने गरी गरेको निर्णयबाट दुवै मुद्दाहरूको जरिया र कार्यकारणको अन्तरसम्बन्ध र परिणामलाई संयोजन गर्न नसकी यान्त्रिक रूपबाट निर्णय गरेको देखिन आयो । अतः लगाउको जालसाजी मुद्दामा तथ्यभित्र प्रवेश गरिसकेपछि प्रस्तुत लिखत बदर मुद्दामा हदम्यादको प्राविधिक प्रश्नलाई स्वतः गौण मानी प्रस्तुत मुद्दामा पनि तथ्यमा प्रवेश गरी बोल्नुपर्नेमा हदम्यादको आधारमा फिराद खारेज गर्ने गरेको शुरु सप्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण देखिन आएकोले सो फैसला बदर गरी पुनः निर्णयका लागि मिसिल शुरु जिल्ला अदालतमा पठाउने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । तारिखमा उपस्थित पक्षहरूलाई सप्तरी जिल्ला अदालतमा हाजीर हुन जाने तारिख तोकी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.भरतराज उप्रेती
संवत् २०६९ साल साउन १६ गते रोज ३ शुभम्
इजलास अधिकृत : मातृकाप्रसाद आचार्य