निर्णय नं. १८९७ - कर्तव्य ज्यान
निर्णय नं. १८९७ ने.का.प. २०४१ अङ्क २
डिभिजन बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३८ सालको फौ.पु.नं. ३२६
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : नरमाया राईको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जि. झापा तोपगाछी गा.पं. वा.नं. ५ बस्ने शेरबहादुर लिम्बु समेत
फैसला भएको मिति : २०४१।१।११।२ मा
§ कसूर गरेको भनी भरपर्दो एवं शंकारहित तवरबाट प्रमाणित हुनसकेको पाइँदैन, यस स्थितिमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार बनाउन मिल्ने नदेखिने ।
(प्रकरण नं. ३५)
पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुभाष नेम्वाङ
उल्लेखित मुद्दा : x
फैसला
प्र.न्या. नयनबहादुर खत्री : पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।१०।१२ को निर्णय उपर श्री ५ को सरकारको पुनरावेदन परी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. ०३५।८।२३ गते हरिप्रसाद दाहाल १, उपमणी १, नाम नजानेको कान्छो तामाङ १, दलबहादुर गुरूङ १, धनबहादुर १, लक्ष्मीकान्त कोइराला १, नाम नजानेको डाँडे लिम्बु १, पहलमान गुरूङको कान्छो छोरा १, उपमणी खनालको हली २, बमप्रसाद थेवे १, कुलमान गिरी १, नाम नजानेको पुछारे लिम्बु १, अर्जुन खड्का १, गजेन्द्र श्रेष्ठ १, चुडामणी बराल १, इन्द्रबहादुर लिम्बु १, भक्तबहादुर १, शेरबहादुर राई १, पुछारे लिम्बुको हली समेत भई हुल बाँधी आई मेरो श्रीमानलाई बेलुका ५.३० बजे केरखा बजार गोसलाइनमा घेरा गर्दा शुरेस सिटौला भागी गएछन् मेरो श्रीमान भाग्न नपाउँदै कुटपिट गरे भन्ने कुरा मैले थाहा पाई गई हेर्दा कुटी वेहोस पारेको देखी उपचार निमित्त अस्पताल लिई जाँदाजाँदै दमक पुग्दा मृत्यु भएकोले दरखास्त दिन आएको छु भन्ने समेत व्यहोराको नरमायाको जाहेरी ।
३. ०३५।८।२३ गते केरखा बजारमा शेरबहादुर राई समेत ११ जना भई अम्बरबहादुर र शुरेस सिटौलाले नचाहिँदो मुद्दा लगाई दुःख दिए आज यिनीहरूलाई कुट्नुपर्छ भन्ने सल्लाह भई शेरबहादुरले निउँ झिकी गोसलाइनको छेउमा घेरा हाली शेरबहादुर, कर्णबहादुर, बमप्रसादको हली नाम नजानेको तामाङ ३ जनाले खुकुरीले मर्ने अम्बरबहादुर राईलाई हाने काटे कसले हानेको चोट कहाँ कहाँ लाग्यो यकीन भन्न सक्तिन उक्त चित्रबहादुर, अर्जुन, लक्ष्मीकान्त, धनबहादुर, खगेन्द्र समेत ५ जनाको हातमा लाठी थियो । गजेन्द्रको साथमा खुकुरी थियो । दलबहादुरको हातमा केही थिएन । दलबहादुरले लातले हान्यो मैले सर्वप्रथम एक लात हानेको थिएँ गजेन्द्र श्रेष्ठले चोट छोडेन अम्बरबहादुर राईलाई शेरबहादुर, कर्णबहादुर बमप्रसादको हलीले खुकुरीले चोट छोडेपछि अम्बरबहादुर बेहोस भई लडे त्यसै बेला गाडी आएकोले हामी भाग्यौ भन्ने समेत व्यहोराको हरिप्रसादको प्रहरीमा बयान ।
४. ०३५।८।२३ गते बेलुका अं.१७.३० बजेको समयमा म चित्रबहादुरको घरमा भात खान भनी जाँदा केरखा बजारको गोसलाइनमा शेरबहादुर, कर्णबहादुर, दलबहादुर समेत बसी कुरा गरिरहेका थिए भात खाई आउँदा शेरबहादुरले अम्बरबहादुरलाई मार्न आँटेको छ । तिमीहरू भाग भनेकोले अबाटोबाट गई अफिसमा सुत्यौं भन्ने समेत व्यहोराको अर्जुन खड्काको प्रहरीमा बयान।
५. अम्बरबहादुर राई कर्तव्यबाटै मरेको हो कर्तव्य गरी मार्न म संलग्न छैन । ०३५।८।२३ गते बेलुका भात खान भनी गएको बखत केरखा बजार गोसलाइनमा शेरबहादुर लिम्बु, कान्छा भन्ने कर्णबहादुर तामाङ, दलबहादुर, गजेन्द्र श्रेष्ठ बसी कुरा गरिरहेका थिए । हरिप्रसाद दाहाल र लक्ष्मीकान्त छुट्टै कुरा गरिरहेका थिए खाना खाई आउँदा साई–साई सूई–सूई गरेको र शेरबहादुर समेत ६ जना र अरू नचिनेका मानिस दक्षिणतर्फ भाग्दै थिए र शेरबहादुरले अम्बरबहादुरलाई थला पारेको छ तिमीहरू यो बाटो नजाऊ भनेकोले पश्चिमतर्फको बाटो गरी अफिसमा आई सुत्यौं भने समेत व्यहोराको चित्रबहादुर गुरूङको प्रहरीमा भएको बयान ।
६. ०३५।८।२३ गते म समेत भई अम्बरबहादुर राईलाई कर्तव्य गरी मारेको होइन सो रातमा अम्बरबहादुरलाई शेरबहादुर, कर्णबहादुर, खगेन्द्र गुरूङ, बमप्रसाद, नाम नजानेको तामाङ, हरिप्रसाद, लक्ष्मीकान्त समेत १०।११ जना भई काटी मारेको भन्ने सम्म सुनेको हुँ नरमायाले किन मउपर उजूर दिइन जान्दिन भन्ने समेत व्यहोराको पहलमान गुरूङको प्रहरीमा बयान ।
७. घटना घटेको दिन रात म आफ्नै घरमा छु । अम्बरबहादुर राईलाई मैले मारेको होइन को–को भई मारे भन्न सक्तिन भन्ने समेत व्यहोराको धनबहादुर थापाको प्रहरीमा भएको बयान ।
८. ०३५।८।२३ गते म केरखा प्राथमिक विद्यालयको मिटिङमा छु सो मिटिङ सकी आफ्नो व्यवहारिक कामको लागि दमक गई युद्धप्रसादको घरमा बसेको छु । भोलिपल्ट आउँदा अम्बरबहादुर राईलाई शेरबहादुरले काट्यो भन्ने कुरा सुनेको हुँ मैले अपराध गरेको छैन किन हरिप्रसादले पोल गरे भन्न सक्तिन भन्ने समेत व्यहोराको गजेन्द्रकुमार श्रेष्ठको प्रहरीमा भएको बयान ।
९. ०३५।८।२३ गते म केरखा प्राथमिक विद्यालयको मास्टर हुँदा उक्त दिन स्कूलको मिटिङमा छु सो मिटिङ सकेपछि आ–आफ्नो घरमा गयौं म घरमा बसिरहेको अवस्था बेलुका ७ बजे कुटपिट भयो भनी हेर्न जाँदा अम्बरबहादुर राई रगत पक्ष भई लडिरहेको देखी कसले काट्यो भनी सोध खोज गर्दा शेरबहादुर, लक्ष्मीकान्त, हरिप्रसाद समेत भई काट्यो भन्ने सुनेको हुँ मैले अपराध गरेको होइन किन जाहेरवालीले पोल गरे भन्न सक्दिन भन्ने समेत व्यहोराको चुडामणि बरालको प्रहरीमा भएको बयान ।
१०. ०३५।८।२३ गते म दिन रात आफ्नै घरमा छु अम्बरबहादुर राईलाई म समेत भई काटेको होइन । जाहेरवालीले किन म उपर पोल गरे भन्न सक्दिन भन्ने समेत व्यहोराको इन्द्रबहादुर लिम्बुको प्रहरीमा भएको बयान ।
११. ०३५।८।२३ गते म शिंबगन्ज गई बेलुका ५।६ बजे घर फर्की आएको हुँ अम्बरबहादुर राईलाई को–को भई काटे भन्न सक्दिन म समेत भई अपराध गरेको छैन भन्ने समेत छत्रबहादुर लिम्बुको प्रहरीमा बयान ।
१२. घटनास्थलदेखि मेरो घर दुई हजार गज फरक पर्छ । सो हुँदा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको कुलमान गिरीको प्रहरीमा भएको बयान ।
१३. हरिप्रसाद, शेरबहादुर लिम्बु, कर्णबहादुर तामाङ, बमप्रसादको हली नाम नजानेको तामाङ, चित्रबहादुर, अर्जुन खड्का, लक्ष्मीकान्त, धनबहादुर, खगेन्द्र, दलबहादुर उपर ज्यानसम्बन्धीको १३(३) नं. बमोजिमको दावी र गजेन्द्र श्रेष्ठ, कुलमान गिरी पहलमान गुरूङ, छत्रबहादुर लिम्बु, उपमणि, निजका हली २ जना, बमप्रसाद, पुछारे लिम्बुको हली, भक्तबहादुर राई, शेरबहादुर राई उपर ज्यानसम्बन्धीको १७(३) नं. बमोजिमको दावी र चुडामणी, इन्द्रबहादुर लिम्बु अपराधमा संलग्न भएको नदेखिँदा निजहरू उपर मुद्दा चलाउन नपर्ने भन्ने समेत प्रहरी प्रतिवेदन ।
१४. ०३५।८।२३ गते म तारानाथ कोइरालाको घरमा छु सो दिन अरू प्रतिवादीहरूसँग भेट भएन मैले प्रहरीमा गरेको कागज खुसीराजीले नगरी कुटपिट गरी सावित गराइएको हो । सरजमीनका मानिस मध्ये शुरेस सिटौला, नैनसिं बोहरा, देवेन्द्र मिश्र, खड्गबहादुर नेवार मेरा झगडिया हुँदा त्यसै रिसले पोल गरेको हो भन्ने समेत व्यहोराको हरिप्रसादको अदालतमा भएको बयान ।
१५. प्रहरीमा कुटपिट गरेबाट सावित भएको छु । म वारदात गर्न गएको छैन को–को भई मारे मराए जान्दिन भन्ने समेत व्यहोराको पहलमान गुरूङको अदालतमा बयान ।
१६. कुटपिट भई अम्बरबहादुर मरे भन्ने सुनेँ सो अपराधमा म सहमत छैन भन्ने समेत व्यहोराको इन्द्रबहादुर लिम्बुको अदालतमा भएको बयान ।
१७. ०३५।८।२३ गते म आफ्नै अफिसमा छु जाहेरीमा लेखिए बमोजिम म समेत भई अपराध गरेको छैन भन्ने समेत व्यहोराको चित्रबहादुर गुरूङको अदालतमा भएको बयान ।
१८. अम्बरबहादुरलाई चिन्दिन निजलाई को–को भई मारे थाहा छैन लोकबहादुर मेरो झगडिया हुँदा पोल गरेको हो भन्ने समेत व्यहोराको छत्रबहादुर लिम्बुको अदालतमा भएको बयान।
१९. अम्बरबहादुरलाई मारेको होइन को–को भई मारे भन्न सक्तिन शुरेस सिटौला झगडिया हुँदा पोल गरेको हो भन्ने समेत व्यहोराको धनबहादुर थापाको अदालतमा भएको बयान।
२०. अम्बरबहादुर केरखा बजारमा काटाकाट भई मरेको कुरा दमकबाट भोलिपल्ट आउँदा सुनेको सम्म हुँ कोसँग झगडा भएको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको गजेन्द्रकुमार श्रेष्ठको अदालतमा भएको बयान ।
२१. अम्बरबहादुरलाई मार्नमा सहमत छैन किन सरजमीनका मानिसले पोल गरे जान्दिन भन्ने समेत व्यहोराको कुलमान गिरीको अदालतमा भएको बयान ।
२२. अम्बरबहादुरलाई मार्नमा मेरो सहमति छैन । को–को भई मारे जान्दिन । म वनपाले हुँदा दलबहादुर प्रधान र शुरेस सिटौलालाई बिना पूर्जिको काठ काटेकोले पक्राउ गरेको हुँदा सो इवीबाट पोल गरेको हो भन्ने समेत व्यहोराको अर्जुन खड्काको अदालतमा भएको बयान।
२३. ०३५।८।२३ गतेमा घटनास्थलमा नभई पहाड घरमा गएको छु को–को भई अम्बरबहादुरलाई मारे म जान्दिन । तेह्रथुम बजारमा पद्मबहादुर र विरबहादुरको राजीनामा लेखाई दिई माल अड्डामा गई पास कागजमा साक्षी बसेको हुँदा उक्त वारदातमा म छैन किन शुरेस र खड्गबहादुरले पोल गरे जान्दिन भन्ने समेत व्यहोराको शेरबहादुर लिम्बुको अदालतमा भएको बयान ।
२४. वारदातको समयमा म घटनास्थलमा छैन विरामी हुँदा डाक्टरकोमा उपचार गरी बसेको छु । अम्बरबहादुरलाई मार्नमा सहमत छैन भन्ने समेत उपमणी खनालको अदालतमा भएको बयान ।
२५. कर्णबहादुर तामाङ, पुच्छारे लिम्बु, नाम नजानेका तामाङ, दलबहादुर गुरूङ्ग, लक्ष्मीकान्त कोइराला, खगेन्द्र गुरूङ्ग, उपमणी खनालको हली, बमप्रसादको हली नाम नजानेको तामाङ, भक्तबहादुर राई, शेरबहादुर राई समेतले अदालतबाट तामेल भएको म्यादमा हाजिर नभई फरार भई बसेका ।
२६. अम्बरबहादुरलाई कर्तव्य गरी मारेको अथवा शरीक भएको प्रष्ट प्रमाण पुग्ने शंकारहित सबूत वादी पक्षबाट पुग्न नआएकोले प्रतिवादीहरूले वादी दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत शुरू झापा जिल्ला अदालतको फैसला । उक्त निर्णय उपर श्री ५ को सरकारको पू.क्षे. अ.मा परेको पुनरावेदन ।
२७. वादीले प्रमाण देखाएका केही दोधारे व्यक्तिहरूको भनाईको भरमा शंकारहित सबूतको अभावमा हरिप्रसाद दाहाल समेतका ११ जना प्रतिवादीहरू उपरको अभियोग ठहर गरी सजाय गर्न न्यायिक सिद्धान्त विपरीत हुन जाने देखिनाले समेत वादी दावी पुनरावेदन जिकिर पुग्न सकेन । हरिप्रसाद समेत ११ जना प्रतिवादीलाई सफाई दिने ठहराएको शुरू झापा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।१०।१२ को फैसला ।
२८. उक्त इन्साफ उपर श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।
२९. जाहेरवाला नरमाया राईले शुरू जाहेरीमा किटानी साथ पोल गरेका हरिप्रसाद दाहाल, शेरबहादुर लिम्बु, उपमणि खनाल, पहलमान गुरूङ्ग, चित्रबहादुर गुरूङ्ग समेतका प्रतिवादीहरूले अपराध गरेको देखेको हो भनी शुरू जाहेरीमा शुरेस सिटौला भनी देखाइएको शुरेस सिटौलाले सरजमीनमा र अदालतमा समेत आई हरिप्रसाद दाहाल समेतका व्यक्तिलाई सरजमीनमा लेखाएको कुरा समर्थन गरी अदालतमा बयान गरेको र अर्को चस्मदिद गवाह खड्गबहादुरले अदालतमा आई हरिप्रसाद दाहाल कुलामान गिरीले वारदातमा मलाई कुटपिट समेत गरेका हुन् हरिप्रसाद दाहाल, कुलमान गिरी, अर्जुन खड्का, लक्ष्मीकान्त कोइराला, कर्णबहादुर तामाङ समेत सरजमीनमा लेखाए बमोजिम वारदातमा शरीक थिए भनी बकपत्र गरेको देखिएको म हरिप्रसाद दाहाल समेत जम्मा ११ जना उपर ज्यानसम्बन्धीको १३(३) र १७(३) को गम्भीर अभियोग लगाउन मिलेन भनी शुरू जिल्ला अदालतले सफाई दिएको मनासिब ठहराएको पू.क्षे.अ.को इन्साफ मिलेको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम विपक्षीहरूलाई झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३९।६।१ को आदेश ।
३०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे तथा विपक्षी प्रतिवादी शेरबहादुर लिम्बु, गजेन्द्र श्रेष्ठको तर्फबाट विद्वान अधिवक्ता श्री शुभाष नेम्वाङको बहस समेत सुनियो ।
३१. यसमा निर्णयतर्फ हेर्दा शेरबहादुर लिम्बू समेतका प्रतिवादीहरूलाई वादी दावी बमोजिम सजाय हुनु पर्ने वादीतर्फको जिकिरमा, जाहेरवालीको किटानीपूर्वकको पोल उजूरी, हरिप्रसाद दाहालको प्रहरीमा भएको बयान चस्मदिद भनिएका शुरेस सिटौला तथा खड्गबहादुर प्रधानको बकपत्र यिनै कुराहरूलाई आधार गरिएको पाइन्छ ।
३२. सर्वप्रथम जाहेरवाला नरमाया राईको जाहेरीतर्फ हेर्दा शेरबहादुर लिम्बु समेतका प्रतिवादीहरूको नाम उल्लेख गरे पनि निजले वारदात घटेको आफ्ना आँखाले देखेको भन्ने छैन, अरू व्यक्तिहरूले भनेबाट निजले थाहा पाएको भन्ने देखिएको छ । त्यसको अलावा जाहेरवालाको अदालतमा बकपत्र हुनसकेको छैन । यस स्थितिमा निजको जाहेरीलाई भर गर्न मिल्ने देखिएन ।
३३. हरिप्रसाद दाहाल प्रहरीमा आफू सावित भई अन्य प्रतिवादीहरूलाई पोलेको भन्ने जिकिरतर्फ हेर्दा निज अदालतमा आई अम्बरबहादुर राईलाई कर्तव्य गरी मारेमा इन्कार रही बयान गरेको पाइन्छ । प्रहरीमा कुटपिट गरी सावित गराइएको हो भन्ने निजको जिकिर देखिन्छ । अदालतको आदेश बमोजिम निजको घा जाँच हुँदा निजको दुवै पाखुरामा, कम्मरमा घाउका दाग तथा दाँत हल्लिएको भन्ने समेत भद्रपुर अस्पतालको ०३५।१०।१४ को पत्रबाट देखिएको छ । सो घाउ खतहरू प्रहरीमा कुटपिटको कारणले भएको नभई अन्य कारणले भएको हो भनी वादी पक्षबाट प्रमाण पुर्याउन सकेको देखिँदैन । यस स्थितिमा प्र.हरिप्रसाद दाहालको प्रहरीमा भएको बयानलाई खुसीराजीले भएको हो भनी मान्न मिलेन ।
३४. अब सरजमीनमा वारदात घटेको देखेको भनी अदालतमा आई बकपत्र गर्ने शुरेस सिटौला तथा खड्गबहादुर प्रधानको बकपत्रतर्फ हेर्दा शुरेस सिटौलाले सरजमीनमा लक्ष्मीकान्त कोइराला समेत चिनेका १६ जना र नचिनेका ३०।३५ जना भई अम्बरबहादुरलाई लाठी र खुकुरी समेतले कुट्न लागे म र खड्गबहादुर समेत गुहार भनी बजारतर्फबाट मद्दत लिई आउँदा अपराधीहरू कोही पनि थिएनन् मैले चिनेका यत्तिकै हुन जाहेरवालीले किन बढी मानिस उल्लेख गरिन म जान्दिन भन्ने समेत उल्लेख गरेको पाइन्छ भने निजले अदालतमा आई निजले पहिले सरजमीनमा चिने भने मध्येका ५ जना छाडी ११ जनालाई मात्र चिनेको भनी लेखाएको पाइन्छ । अर्कोतर्फ खड्गबहादुर प्रधानले सरजमीनमा हरिप्रसाद समेतका १३ जना चिनेका र नचिनेका ३०।३५ जना भनी लेखाएको र निजले अदालतमा आई बकपत्र गर्दा लक्ष्मीकान्त कोइराला समेत ५ जनालाई चिनेको भनी म बाहेक अरूले वारदात देखेको छैन भनी लेखाएको पाइन्छ । यसरी वादी पक्षबाट चस्मदिद भनिएका शुरेस सिटौला र खड्गबहादुर प्रधानको सरजमीनको व्यहोरा र अदालतको बकपत्र फरक परेको र एक आपसमा बाझिएको समेत देखिएको छ । यी चस्मदिद भनिएका शुरेस सिटौलाको र प्रतिवादीहरूको झगडा रिस इवी भएको पनि मिसिलबाट देखिएको छ । सरजमीनको लेखाई र अदालतको बकपत्र फरक–फरक भई बाझिएको स्थितिमा शुरेस सिटौला र खड्गबहादुरको भनाईलाई भर गर्न मिल्ने देखिएन ।
३५. प्र.शेरबहादुर लिम्बु समेतका सबै प्रतिवादीहरू अम्बरबहादुरलाई कर्तव्य गरी मारेमा इन्कार रहेको पाइन्छ । निजहरूले कसूर गरेको भनी भरपर्दो एवं शंकारहित तवरबाट प्रमाणित हुनसकेको पाइँदैन । यस स्थितिमा ज्यान जस्तो गम्भीर अपराधमा निजहरूलाई कसूरदार बनाउन मिल्ने देखिएन ।
३६. अतः उपर्युक्त कारणहरूबाट मर्ने अम्बरबहादुर राईलाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको हो भन्ने शंकारहित तवरबाट प्रमाणित हुन आएको नदेखिएकोले वादी दावीबाट सफाई दिने गरेको शुरू झापा जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल वैशाख ११ गते रोज २ शुभम् ।