निर्णय नं. १९०० - जालसाजी
निर्णय नं. १९०० ने.का.प. २०४१ अङ्क २
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको फौ.पु.नं. २५१
मुद्दा : जालसाजी
पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने अम्बीकादेवी मानन्धर
ऐ ऐ वडा नं. २५ मखन टोल बस्ने पन्ना लाल कपाली
ऐ ऐ वडा नं. ३१ बागबजार बस्ने कृष्ण कुमारी ठकुर्नी
ऐ ऐ वडा नं. २० भिमसेन स्थान बस्ने बेद कुमार उपाध्याय सुवेदी
ऐ ऐ वडा नं. १९ थापाथली बस्ने जगत बहादुर कार्की
विरूद्ध
विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २५ मखन टोल बस्ने राधिकादेवी मानन्धर
फैसला भएको मिति : २०४१।१।१२।६ मा
§ हक टुटेको लिखत प्रमाण बेगर भोगबन्धकी थैली तिरी निखनी लिई पुनः बन्धकी दिई बन्धकी निखनी आफ्नै परिवारमा बण्डा गरी नक्सा पास समेत गरेको समेत कारणबाट अपुतालीमा हक नपुग्ने वादीको हकको सिर्जना हुन्छ भन्न सर्वथा न्यायसंगत नहुने ।
(प्रकरण नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ ।
२. स्वर्गीय ससुरा अष्टनारायण मानन्धर जीवित छँदै उहाँको हकको स्ववासी पूर्व तत्काल अवस्थामा हर्षमान मानन्धरको घर पश्चिम मूल सडक उत्तर हनुमानको घर दक्षिण मखन गल्ली यति ४ किल्ला भित्रको का.जि. मखन टोलको पश्चिम मोहडा उत्तर दक्षिणको लम्बाई हात १२। को २ नाले ४ तल्ले र त्यसको बाँकी पूर्व तर्फ जोडिएको दक्षिण मोहडा पूर्व पश्चिम लङको लम्बाई हात २० को १ नाले २।। तल्ले समेत पक्की गारो कर्कट पाताको छाना भएको पसल सहितको पक्की झिंगटी घर र सो घरबाट चर्चेको लुगापात समेत थैली रु.६३०२।– मा का.जि. जुद्धसडक बस्ने बलमान जोशीलाई १९९९।५।११।४ मा भोगबन्धकी रजिष्ट्रेशन पास गरी दिनुभएको थियो, मेरो स्वर्गीय पतिदेव बेखानारायण र ससुरा अष्टनारायण र पञ्चनारायण पृथ्वीनारायण समेतको अंशबण्डा लगाई २००२।११।१३।१ मा बण्डापत्र लिखत रजिष्ट्रेशन पास गराई छुट्टी भिन्न हुँदा उक्त साहुलाई रुपैयाँ तिरी भोग चलन गर्ने बण्डापत्रमा उल्लेख भएको थियो र म र मेरा पतिदेव समेतले देवर पञ्चनारायणलाई स्याहार सम्भार गरी आएकै अवस्थामा २००३ सालमा आफ्नो कालगतिले परलोक हुनुभएपछि उहाँको काजक्रिया पिण्ड पानी समेत म तर्फबाट भई आएकोमा उहीको पत्नी जगतमाया पोइल गएको हुनाले पञ्चनारायणको अंश मात्रको अपुताली परेको घर समेतको श्रीसम्पत्ति मेरा पतिदेव तथा म समेतले भोग चलन गरी आएको अवस्थामा माथि लेखिए अनुसार ससुरा अष्टनारायणकै पालामा भोगबन्धकीमा गएको घरको पतिदेव बेखानारायणको भागको ०१६।३।३१ मा पतिदेव र पञ्चनारायणका भागको रु.१४२५।– पंचनारायण परलोक भई वहाँको पत्नी जगतमाया घर छाडी पोइल गएकीले म अपुताली खान दाजु भन्ने जनाई मेरो पतिदेव बेखानारायणबाटै साहुले रुपैयाँ बुझी ०१७।१०।१० मा दरपिठ गरी दिनुभएकोले लगत कट्टा भइसकेको छ र ०३२।१०।६ मा रजिष्ट्रेशन पास गर्दा उक्त मखन गल्लीको घर मेरो भागमा परी भोग चलन गरी आएको घरलाई विपक्षीहरू मिली अम्बिकाको भोग चलनको भनी हिस्सा बण्डा गरी खाने नियतले हुँदै नभएको ४ किल्ला राखी ०३४।९।१८।३ मा भूमिप्रशासन कार्यालयबाट रजिष्ट्रेशन पास गराई दिएको ०३५।३।१ गते नक्कल सारी लिई हेर्दा थाहा पाई पछि विपक्षको अपुतालीको हक पुग्ने थियो भन्ने ३ वर्षभित्र मुलुकी ऐन अपुतालीको २५ नं. बमोजिम खोजी गर्नुपथ्र्यो र आफ्ना उमेर पुगेको ३ वर्षभित्र अपुताली परेको सम्पत्ति भोग चलन गर्नुपर्नेमा सो नगरेबाट मेरो हक भोग चलनको घर बकसपत्र लिनु दिनु गरी मेरो हक मेटाउन जालसाजी कार्य गरे गराएको हुनाले जालसाजी गर्ने गराउनेहरूलाई कानून बमोजिम जरिवाना गरी बक्सपत्र लिखत जालसाजी ठहर्याई न्याय पाउँ भन्ने फिराद दावी ।
३. वादीको व्यहोरा सबै झुठ्ठा हो, वादीले ०२ सालको बण्डापत्रलाई होइन भनी दिएको यो फिरादमा भन्न सक्नुभएको छैन साल–सालको बण्डापत्र बमोजिम मुख्य घर बन्धकी बलमान जोशीलाई रु.६३०२।– तिर्नु पर्ने छ सो साहु पनि सो पारित बण्डापत्रमा जस्तो अंश भागमा के कति परेको छ त्यस्तो सोही हिसाबबाट साहुको रुपैयाँ तिर्न भनी लेखिएको सो बण्डाबाट २००३ सालमा मेरो बाबु पञ्चनारायण परलोक भई मेरो आमा जगतमायाले काजकृया गरी अंश भागबाट निज साहुलाई बुझाउनु पर्ने थैली र त्यसको ब्याज समेत निज बलमान जोशीलाई आमा जगतमायाले बुझाई राख्नु भएको छ र म नावालक छँदैमा आमा जगतमाया ०११ सालमा पोइल जानु भयो र म अविवाहिता हुँदा अपुतालीको २ नं. ले मेरो हक भइसकेको घर मध्येको पन्नालाल कपालीलाई सो घर हालै देखिको बकसपत्र गरी दिएकोमा अनाहक दुःख दिन सम्म यो झुठ्ठा कुराको उजूर गरेको हो र जालसाजी गरेको छैन — झुठ्ठा कुरा फिराद गरेकोमा वादीलाई नै हदैसम्म सजाय गरिपाउँ भन्ने प्रतिवादीको प्रतिउत्तर पत्र ।
४. तत्कालिन अपुतालीका २५ नं. ले जुन बन्धकी परेको घर छ, सो घर पञ्चनारायणको छोरी अम्बिकालाई मात्र त्यस्तो बन्धकी निखनी लिन पाउने हक भएको समेत कारणबाट उपयुक्त व्यहोराको बकसपत्र जालसाजी गर्यो भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको का.जि. अ.को फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी राधिकादेवी मानन्धरको म.क्षे.अ.मा परेको पुनरावेदन ।
६. अपुतालीको २५ नं. को व्यवस्थाबाट अम्बिकादेवीले माया मारी सकेको सम्पत्तिमा अम्बिकादेवीको हक टुटेको लिखत नभई वादीको हक हुन नसक्ने भन्न मिलेन । ०११ साल उप्रान्त अटूट रूपमा बेखानाराण राधिकादेवी र बण्डा पछि छोराले हक भोग गरी राखेको घर अम्बिकादेवी दिने र प्रन्नालाल कपाली लिने क्रिया कीर्ते कागजको ३ नं. परिभाषा भित्रको देखिँदा दावीको हालै देखिको बक्सपत्र लिखित जालसाजी ठहर्छ । वादी दावी नपुग्ने ठहराएको का.जि. अ.को फैसला गल्ती ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।७।२६ को फैसला ।
७. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदनमा पञ्चनारायणको अपुताली खाने अपुतालीको २ नं. बमोजिमको छोरी अम्बिकादेवीलाई फिराद दावी अनुसार जालसाजी गरेको ठहर्याई क्षेत्रीय अदालतले गरेको फैसलामा अपुतालीको ३ नं. को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।३।२ को आदेश ।
८. पुनरावेदक प्रतिवादी अविम्बकादेवी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले प्रतिवादी अम्बिकादेवी पञ्चनारायण र निजको श्रीमती जगतमायाको छोरी होइनन् भन्ने कुरामा विवाद देखिँदैन । अपुतालीबाट प्र.अम्बिकादेवीको निर्विवाद हक छ । त्यस्तो सम्पत्तिमा नालिश गरी हक कायम गराई रहन पर्दैन । भोगबन्धकीमा रहेको सम्पत्ति जहिले पनि निखन्न सक्ने हो । हकै नपुग्ने वादीले निखनी भोग गरेको कायम रहन सक्तैन । प्र.अम्बिकादेवीले आफ्नो हक पुग्ने सम्पत्ति बकसपत्र गरी दिएको हो । कुनै जालसाजी गरेको छैन । शुरू इन्साफ सदर हुनुपर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले बन्धकी रहेको सम्पत्ति हकवालाको नाताले वादी तर्फबाट निखनी पुनः भोगबन्धकीमा दिई नक्सा पास मुद्दा मामिलाका प्रमाण समेतबाट वादीको भोगमा रहेको प्रष्ट छ प्र.अम्बिकाको भोगमा छैन प्र.अम्बिकाले अपुतालीमा नालिश गरी हक कायम गराउन सकेको पनि छैन । अपुताली माया मारी बसी हक नपुगेका निज अम्बिकादेवीले पन्नालाललाई गरी दिएको बकसपत्र जालसाजी हो भन्ने क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
९. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी अम्बिकादेवीले पन्नालाललाई गरी दिएको बक्सपत्रमा उल्लिखित घर वादीका ससुरा अष्टनारायणका ३ छोरामा २००२।११।१३ मा पास भएको बण्डापत्रबाट पञ्चनारायणको भागमा परेको देखिन्छ । सो घरको भोगबन्धकी रु.१४२५। तिरी भोग गर्ने भन्ने उल्लेख भएको छ । त्यसमा घर भोगबन्धक लिने साहु साक्षी बसेको देखिन्छ । पञ्चनारायण २००३ सालमा मृयु भएको र निजको श्रीमती जगतमाया २०११ सालमा पोइल गएको कुरामा कुनै विवाद देखिन्न । प्रतिवादी अम्बिकादेवी पञ्चनारायण र जगतमायाको छोरी हुन् भन्ने कुरामा पनि मुख मिलेको पाइन्छ ।
११. सो २००२।११।१३ को बण्डापत्रबाट पञ्चनारायणको भागमा परेको घर निज २००३ सालमा मृत्यु भई निजको श्रीमती २०११ सालमा पोइल गई अपुताली परेको देखिन्छ । अपुतालीको २ नं. ले छोरीले अपुताली खान पाउने व्यवस्था छ । तर अपुताली पर्दाका अवस्था सो अपुताली परेको घर भोगबन्धकीको रूपमा रही भोगबन्धक लिने साहु बलमानको भोगमा रहेको देखिन्छ । तसर्थः अपुताली पर्नासाथ अपुताली पाउनेले भोगबन्धकी थैली नतिरे सम्म घर भोग गर्न सक्ने प्रश्न छैन । तत्कालीन साहु असामीको १२ नं. हालको प्रचलित लेनदेन व्यवहारको १४ नं. मा भोगबन्धकी गएको सम्पत्ति जहिलेसुकै निखन्न आए पनि साहुले आफ्नो थैली बुझी निखन्न दिनुपर्छ भन्ने लेखिएको छ । यसबाट भोगबन्धकी थैली तिरी निखन्न सक्ने क्षमता जहिले हुन्छ सोही बखत निखन्न पाउने व्यवस्था गरेको पाइन्छ । तसर्थः अपुतालीका २५ नं. बमोजिम ३ वर्षभित्र सो भोगबन्धकी थैली तिरी निखनी अपुताली हक कायम गराई राख्नु पर्छ भनी बाध्य गराउन मिल्ने हुँदैन । यस अवस्थामा प्रतिवादी अम्बिकादेवीले अपुताली परेको घर अपुताली पर्नासाथ भोगबन्धकी निखनी भोग गर्न नसकेको भनी दोष लगाउन मिल्ने देखिँदैन । यस स्थितिमा अपुताली माया मारी बसेको भन्ने र निजको अपुतालीमा हकै नभएको भन्न मिल्दैन । सो भोगबन्धकी तिरी निखन्ने हक प्रतिवादी अम्बिकादेवी मानन्धरलाई भएको देखिन आयो ।
१२. प्रस्तुत मुद्दामा अपुलतालीको हकवाला हो होइन भन्ने प्रश्न उपस्थित भएको पनि देखिँदैन । बुझिएका वादीका साक्षीहरूले घर वादीले भाग गरेको भनी बकेको छ । तर प्र.अम्बिका देवीलाई पञ्चनारायण र जगतमायाको छोरी होइन भन्न र सो घरमा अपुतालीबाट निजको हक लाग्ने होइन भन्न सकेको छैन । यसबाट समेत पञ्चनारायणको मृत्यु भई निजको श्रीमती जगतमाया पोइल गई अपुतालीबाट प्रतिवादी अम्बिकादेवीको स्वतः हक भएको घर भएको घर निजको हक टुटेको लिखित प्रमाण बेगर वादी तर्फबाट भोगबन्धकी थैली तिरी निखनी लिई पुनः बन्धकी दिई बन्धकी निखनी आफ्नै परिवारमा बण्डा गरी नक्शा पास समेत गरेको समेत कारणबाट अपुतालीमा हक नपुग्ने वादीको हकको सिर्जना हुन्छ भन्न सर्वथा न्यायसङ्गत नहुने हुनाले समेत प्रतिवादी अम्बिकादेवीले पञ्चलाल कपालीलाई जालसाजीबाट बकसपत्र गरी लिनु दिनु गरेमा सजाय गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ ।
१३. जालसाजी ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरूलाई मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३८।७।२६ का फै.र ०३९।३।१३ का लगतले देहाय बमोजिम गर्ने गरेको जरिवाना मिति ०३८।९।३ मा का.जि. अ.मा बुझाएको भर्पाईबाट देखिँदा सो रुपैयाँ नलाग्ने हुँदा फिर्ता पाउँ भनी निजहरूको दरखास्त परे दस्तूर केही नलिई निजहरूलाई फिर्ता दिनु र सो लगत कट्टा गरी दिनु भनी का.जि. अ.त.मा लगत दिनु ...................१
प्र.अम्बीकारदेवी के रु.१०००।–, प्र.पन्नामान कपाली के रु.१०००।–, प्र.कृष्णकुमारी ठकुर्नी के रु.५।–, प्र.देवकुमारी उपाध्याय के र.५।–, प्र.जगतबहादुर कार्की के रु.५।–
वादी राधीकादेवी मानन्धरके निजलाई का.जि. अ.का मिति ०३६।२।२९ का फैसलाले रु.१०००।– जरिवाना गरेको म.क्षे.अ.का ०३८।७।२६ का फै.र ०३९।३।१३ का.ल.ले सो जरिवाना नलाग्ने गरेकोमा शुरू इन्साफ सदर भई सो जरिवाना कायम भएकोले म.क्षे.अ.का.फैसला बमोजिम गर्नु पर्दैन म.क्षे.अ.का.फैसला बमोजिमको लगत कट्टा गरी शुरू जि. अ.को फैसला बमोजिम लगत कायम गर्नु भनी का.जि. अ.मा लगत दिनु...................... २
मिसिल नियम बमोजिम गरी बुझाई दिनु .....................३
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल बैशाख १२ गते रोज ६ शुभम् ।