शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९०५ - ज्यान

भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक:

निर्णय नं. १९०५   ने.का.प. २०४१           अङ्क २

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् ०३९ सालको फौ.पु.नं. २५८

मुद्दा : ज्यान

पुनरावेदक/वादी : छिरिङ छेदरको जाहेरीले वादी श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : संखुवासभा सिमा प्रशासन शाखाका शाखा अधिकृत धरणीधर भण्डारी समेत

फैसला भएको मिति :   २०४१।२।११।५ मा

§  भरपर्दो एवं तथ्ययुक्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर फौजदारी अभियोगमा दोषी मान्न मिल्दैन ।

(प्रकरण नं. ३०)

पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

उल्लेखित मुद्दा : x

फैसला

          न्या. बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकारको रहेछ ।

          २.  आक्टुप्पा भोटेको छोरा दावा छिरिङलाई लाकमा यचुंग भोटेले कुट्यो भनी सिमा प्रशासन शाखा अधिकृत धरणीधर समक्ष उजूर गरेको प्रहरी लाकम सेर्पाले ०३५।४।२९ गते लाकमा टांचुगलाई पक्री उक्त शाखा अधिकृत बसेका कोठामा लगी कुटपिट गरी लाकमा टांचुग कुटाईको पिरले ०३५।५।६ का दिन अं.१२ बजे मृत्यु भएकोले प्रहरी लाकमा सेर्पा समेत उपर कानूनी कारवाही गरिपाउँ भन्ने समेत छिरिङ छेदरको जाहेरी दरखास्त ।

          ३.  लाकमा टांचुग भोटेका नाउँमा छिरू माला हराएको भनी आक्टुप्पाले उजूर गरेकोले छलफल गरी दिनको लागि टांचुगलाई प्रहरी लाकमा सेर्पाले पक्री ल्याए पछि निजलाई उक्त छिरूमाला देऊ र मिल भन्दा निजले मिल्दिन भनेकोबाट चेतावनी दिन एक दुई थप्पड हिर्काई देऊ भनेको थिएँ त्यसबेला लाकमा सेर्पाले हिर्काउँदा कुन ठाउँमा लागी थला परेका थिए । लाकमा टाचुंगको श्रीमतीले मेरो लोग्नेलाई कुटाई थला पारी दिनुभएछ भनेकोले कुटपिट गर्ने उपर कारवाही गरी दिउँला भनी दरखास्त लेखाई थानामा पठाई दिएँ । छिरूमालाको सम्बन्धका लाकपा टाचुंगबाट रु.३००।दिलाई झगडा मिलाई दुवै थरबाट रु.५०।का दरले रु.१००।लिई ०३५।४।३० मा मिलापत्र भएपछि लाकपा टाचुंगलाई बोकाई घरतिर लगिन । मैले कुट्न लगाएको लाकपा टाचुंग मर्ने बाच्ने दोसाँधमा छ भन्ने किमाथाङकामा नै सुने पछि ज्यानमा परिएला भनी जिल्ला कार्यालय खाँदबारीलाई लेखी प्रहरी कार्यालयलाई बोधार्थ दिई ०३५।५।२ गते जाहेर गरेको छु । ०३५।५।६ गते मृत्यु भयो भन्ने पासाङ्ग घले र किन्चोक भोटेलाई जाहेर गर्न लगाएको छु । लाकपा सेर्पाले आफू खुसी कुटेको नभई मैले भने बमोजिम कुटेकोले कुन ठाउँमा लाग्न गई सोही चोटको पीरबाट लाकपा टाचुंगको मृत्य हुन गएको हो भन्ने समेत शाखा अधिकृत धरणीधर भण्डारीले प्रहरीमा गरेको कागज ।

          ४.  ०३५।४।१२ गते शा.अ.धरणीधरसंगै किमाधाङका पुरमा जाँदा हुगगुङ पुग्दा दावा छिरिङ र जेम्पागको झगडा परी दावा छिरिङको छिरूमाला छिनाई दियो भनी आक्टुप्पाले लाकपा टाचुंग उपर ०३५।४।२९ गतेमा उजूर गरेकोले लाकपा टाचुंगलाई बोलाई शा.अ.ले एकान्त कुरा गरी लाकपा टाचुंग घर गए, फेरि लिन प्रहरी पठाए । राती खाना खाए पछि शा.अ.जगबहादुर किर्जावे भोटे समेत थियो रातको अं.११ बजे घद्रयाक घुद्रुक गरेको सुनी उठ्दा शा.अ.आफ्नो ओछ्यानमा बसी प्रहरी ला.पा.सेर्पालाई अरू कुट भन्दै गरेका सुने, प्रहरीले लाकपा टाचुंगलाई कुटे । भोलिपल्ट छिरूमाला ३ वोटा गायत्रीले भेटी शा.अ.लाई दिए ऐ ३० गते भनेको श्रीमतीले मेरो लोग्नेलाई कुटी थला पार्नु भएछ म जिम्मा लिन्न भनिन् केही हुँदैन म किमाथाङकाबाट आएपछि कारवाही गरी दिन्छु भनी निजबाट दरखास्त लिनु भयो । लाकमा टाचुंगबाट रु.३००।आक्टुप्पालाई दिलाई दुवैबाट रु.१००।हाकिम साबले लिनु भयो । अधिकृतले खेस्रा गरी मेलै साफी गरी मिलापत्र गराएको हो । ०३५।५।६ मा लाकपा टाचुंग मरेपछि किमाथाङकाबाट आई पासाङ्ग घलेलाई अस्ति लिएको रु.१००।आम्दानी बाँध्नु भनी दिनु भयो । छिरूमालाको मोल थाहा छैन शा.अ.ज्यूले मलाई रु.१२००।आक्टुप्पालाई १०००।जम्मा रु.२२००।लाकपा टाचुंगले तिर्नुपर्छ भन्नु भएको र सो रु.२२००। निजले नदिएकोले कुटाउनु भएको हो भन्ने समेत देवनारायण भट्टराईले प्रहरीमा गरेको कागज ।

          ५.  प्रहरी लाकपा सेर्पालाई थुनामा राखी ६ बजे देखि ८ बजे वीरबहादुर र ८ बजेदेखि १० बजेको पालो मैले बुझी बसेको तला माथिको झ्यालबाट फाल हानी भागे साथी बोलाई खोज तलास गर्दा फेला नपरेकोले मैले भगाएको छैन होइन भन्ने समेत प्रहरी कर्णबहादुर रिजालले प्रहरीमा गरेको कागज ।

          ६.  शा.अ.को मुकाममा उजूर परेपछि लाकपा टाचुंग भोटेलाई लिन पठाई लाकपा सेर्पाले पक्री ल्याई शा.अ.ले कुटाई थला पारेको कुरा भोलिपल्ट सुने कुटपिट हुँदा मु.देवनारायण, आक्टुप्पा पासाङ्ग प्रहरी किन्जोक, जंगबहादुर थिए भन्ने सुने दावा छिरिङ्ग र लाकपा टाचुंगको छोरा ज्यामेक झगडा परी छिरूमाला हराएमा लाकपा शा.अ.र कुट्ने लाकपा सेर्पा हुन । पासाङ्ग फुरीले मेरो लोग्नेलाई कुटी थला पार्नु भएकोले जिम्मा लिन्न भनिन् । लाकपा टाचुंगबाट रु.३००।आक्टुप्पालाई दिलाई दुवै पक्षबाट रु.५०।का दरले रु.१००। शा.अ.ले लिई मैले कुट्न लगाएको होइन भनी देऊ रु.५००। दिन्छु भनी फकाउनु भयो सो कुरा मैले भनिन । लाकपा टाचुंगलाई कुट्ने बचन दिने शा.अ.धरणीधर कुट्ने प्रहरी लाकपा सेर्पा हुन भन्ने समेत किन्जोक भोटेले प्रहरीमा गरेको कागज ।

          ७.  दावा छिरिङको छिरूमाला लाकपा टाचुंगको छोराले छिनाई दियो भनी निजलाई बोलाई केहीवेर शा.अ.ले एकान्तमा कुरा गरी लाकपा टाचुंग गयो निज नआएकोले प्रहरी लाकपा सेर्पालाई पक्राउ गर्न पठाई राति ११ बजे शा.अ.ले कोठामा कुटपिट गरे भोलिपल्ट छेदर भोटेले पक्री लगेछन् सो पछि म आफ्नो गस्ती गर्न गए शा.अ.ले मैले कुट भनी प्रहरी लाकपाले कुटेको कुरा नभन रु.५००।दिन्छु भनी मलाई र प्र.किन्जोकलाई भन्नु भएको थियो भन्ने समेत जंगबहादुरले प्रहरीमा गरेको कागज ।

          ८.  कुटिएको पीरबाट लाकपा टाचुंग मरेको भन्ने केही सरजमीन र सिमा प्रशासन शा.अ.को कोठामा कुटेको भन्ने सुनेको हो भन्ने समेत केही मानिसहरूको ०३५।५।१५ गतेको सरजमीन मुचुल्का ।

          ९.  मिसिल संलग्न रहेको कागजातबाट शा.अ.धरणीधरले कुट भनी बचन दिएको र प्र.लाकपाले कुटेको देखिएकोले शा.अ.धरणीधर भण्डारीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(४) बमाजिम कुट्ने प्र.लाकपालाई सोही ऐनको १३(३) बमोजिम र मु.देवनारायण, पासाङ्ग घले जंगबहादुर, किन्जोक भोटे, आक्टुप्पा भोटे, ज्यामेक भोटेलाई ज्यानसम्बन्धीको १७ नं. को देहाय ३ बमोजिम सजाय गरिपाउँ भन्ने स.स.अ.तथा प्रहरीको संयुक्त प्रहरी प्रतिवेदन ।

          १०.  चेपुवाको बान्दा भोटेले आकचुक भोटेसँग रु.२२००।डर त्रास देखाई लिएको रहेछ । आकचुकको रूपैया फिर्ता गराई नदिएको हुँदा वादीको इवी थियो । किन्जोकपाले गाउँका आमाइलाई अनैतिक काम गर्ने हुँदा मैले सम्झाएको कारणबाट इवी लिइरहेको ०३५।४।२९ गते किमाथोका तिर सिमा निरीक्षण गर्न जाँदा हुलमा आकटुप्पाको छोरा र लाकपा टाचुंगका छोरा झगडा गरी आकटुप्पाको छोराको छिरूमाला हराएको रहेछ । राति अं.१०.३० बजे ढोका उघारी झगडा गरेको आवाज आयो लाकपा सेर्पा र लाकपा टाचुंग कुटाकुट गरेका रहेछन् । ०३५।४।३० का आकटुप्पालाई क्षतिपूर्ति दिई मिलापत्र गराई दुवैतर्फबाट ५०।का दरले रू.१००।पञ्चायतमा आम्दानी बाध्न पठाएँ प्र जंगबहादुर, पासाङ घले, आकटुप्पाको षडयन्त्रबाट मलाई फसाउने नियतले गरेका हुन । प्रहरीले मन लागी लेखी सही गराएका हुन् प्रहरीले नङ पैतालामा कुटपिट गरेकोले जलाई मैले छिरूमालाको मोल रू.१२००। मागेको समेत होइन । मैले वारदात नभएको हुँदा कसूरबाट सफाई पाउँ भन्ने समेत धरणीधर भण्डारीले अदालतमा गरेको बयान । टाचुंगबाट आकटुप्पालाई रू.३००।दिलाई मिलापत्र गराई रु.५०।का दरले दुवैबाट रु.१००।शा.अ.ले लिनु भयो । मैले कुटपिट गरेको होइन दाज्यू लामाछेवीसँग झगडा परेको इवीबाट ज्यान मुद्दामा फसाउन पोलेको हुन, म निर्दोष हुँ भन्ने समेत ज्वाजेक भोटेको प्रहरीमा भएको कागज ।

          ११.  आकटुप्पाको छोरा दावा छिरिङ्ग र लाकपा टाचुङको छोरा ज्यजेकको झगडा परी दावा छिरिङको छिरूमाला छिनाई दिएको भन्ने उजूरी परी शा.अ. धरणीधरले लाकपा टाचुंगलाई पकडी ल्याई शा.अ.ले प्रहरी लाकपा सेर्पाबाट कुटाउनु भयो भोलिपल्ट लाकपा टाचुंगकी स्वास्नीले मेरो लोग्नेलाई कुटी थला पारी दियो म जिम्मा लिन्न भनिन् । आक्टुप्पा मेरो सहोदर दाज्यू हुन् लाकपा टाचुंग ०३५।४।२९ गते राति कुटपिट गरेको पिरबाट मृत्यु भएको हो म समेत लागि कुटपिट गरेको होइन शा.अ.ले कुटपिट गर्न लगाएको नराम्रो नियतले नै होला जस्तो लाग्छ भन्ने समेत प.स.पार्सा घलेले प्रहरीमा गरेको कागज ।

          १२.  झगडा परी मेरो छोरा छिरिङ्गको छिरूमाला लाकपा टाचुंगको छोरा ज्यामेकले छिनाई दिई हराइएकोले मैले दरखास्त दिई शा.अ.ले लाकपा टाचुंगलाई माला अथवा रु.७००।तिर्नुपर्छ, राति आउनु मिलाई दिउँला भन्नु भो । ०३५।४।२९ गते राति अं.१०, ११ बजे कुरा नमिलेर जथाभावी कराई कुटेको आवाज सुनी निन्द्राबाट ब्युँझी हेर्दा शा.अ.ज्यू ओछ्यानमा सुती हेरिरहेको लाकपा टाचुंगलाई कुट्न नदिन छुट्याउन खोज्दा प्रहरी जंगबहादुर, किन्जोक, पासाङ्ग घले समेतले प्रहरी लाकपा सेर्पालाई समाती छुट्याई दिएको हो । त्यसरी शा.अ.ले कुटाउनु मेरो छिरूमालाको निहुँ मात्र हो । मृतकले रु.२२०००।कमाएको छ भन्ने चर्चा सुनेर रुपैयाँ झर्छ भन्ने विचारले आफू बसेको कोठामा ल्याई, कुटाउनु भएको हुनुपर्छ मैले कुटपिट गरेको छैन भन्ने समेत आक्टुप्पा भोटेले प्रहरीमा गरेको कागज ।

          १३.  दावा छिरूङ्गको छिरूमाला लाकपा टाचुंगको छोरा ज्यामेले झगडा गरी छिनाई दिएकोले शा.अ.ले प्रहरी लाकपा सेर्पाद्वारा पक्राउ गरी आफ्नो कोठामा ल्याई कुटाई रहनुभएकोमा म किन्जोक र जंगबहादुर भई छुट्यायौं । लाकपा टाचुंगबाट रु.३००।आक्टुप्पालाई दिई आक्टुप्पाबाट रु.५०।र लाकपा टाचुंगबाट रु.५०।शा.अ.ले लिनु भयो । लाकपा टाचुंगको छोरा नाता पर्ने छेदर भोटेलाई आक्टुप्पालाई रु.१०००।मलाई रु.१२००।दिनुपर्छ नत्र भने लाकपा टाचुंग ६ वर्ष जेल जान्छ भन्ने कुरा शा.अ.ले गरेका हुन भन्ने समेत पासाङ्ग घलेले प्रहरीमा गरेको कागज ।

          १४. दावा छिरिङ्ग र लाकपा टाचुंगको छोरा झगडा भई छिरूमाला छिनाई हराएको विषयमा आक्टुप्पाले उजूर गरेकोले मिलाउन शा.अ.ले लाकपा टाचुंगसँग एकान्त कुरा गरी घर पठाई लाकपा टाचुंग नआएकोले फेरि प्रहरी लाकपा सेर्पालाई लिन पठाई कुटेको आवाज सुनी हेर्न जाँदा लाकपा सेर्पाले लाकपा टाचुंगलाई कुटिरहेको कुट्न लगाउने ।

          १५. लाकपा टाचुंगको छोराले आक्टुप्पाको छोराको छिरूमाला चुडाई हराई दिएकोमा उजूरी परी लाकपा टाचुंगलाई प्रहरी लाकपा सेर्पाले कुटी रहेको किन्चोकले बोलाई ब्यूझी हेर्दा शा.अ.बसी रहेको रहेछ हामीले छुट्याई दियांै । कुटिने लाकपा टाचुंगको मुखबाट रगत आइरहेको थियो अधिकृतज्यूले चेतावनी दिनु भयो । छिरूमाला हराएकोमा आक्टुप्पालाई ३००।दिलाई रु.५०।का दरले १००।शा.अ.ले लिनुभयो प्रहरी लाकपा सेर्पाको कुटाईबाट लाकपा टाचुंगको मृत्यु ०३५।५।६ गते भएको हो मैले कुटेको र कुट्न सहयोग गरेको होइन भन्ने समेत जंगबहादुर बस्नेतले अदालतमा गरेको बयान ।

          १६.  लाकपा सेर्पाले कुटेको पिरबाट लाकपा टाचुंग मरेकोमा झुठ्ठा सरजमीन गरी दोषी बनाएको मात्र हो । मैले कुटेको र कुट्न सहयोग गरेको समेत कुनै कुरा होइन शा.अ.समेतका प्रतिवादीहरूसँग कुनै रिस इवी छैन भन्ने समेत ज्यामेक भोटेले अदालतमा गरेको बयान ।

          १७. ०३५।४।२९ गते शा.अ.धरणीधर किन्जोक र म हटियाबाट शान्ति सुरक्षाको लागि हुंगुङग आई बसेकोमा राति ११ बजे सुतेको घरको ढोका ढाकढुक गरेकोले ब्यूँझी हेर्दा लाकपा सेर्पाले लाकपा टाचुंगलाई कुटेको रहेछ उक्त कुटाइको पिरबाट ०३५।५।६ गते मुत्यु भयो भन्ने सुनेको हुँ । माला छिनाई हराई दिएको कुरामा मृतक लाकपा टाचुंगबाट आक्टुप्पालाई रु.३००। दिलाई दुवैतर्फबाट ५०।का दरले रु.१००।अधिकृतज्यूले दिनुभयो भन्ने समेत मु.देवनारायणले अदालतमा गरेको बयान ।

          १८.  ०३५।४।२९ गते म हटियामा थिएँ भोलिपल्ट हुभगुङ पुगेँ । शा.अ.ज्यूले आक्टुप्पाको उजूरीबाट कारवाही हुँदा प्रहरी लाकपा सेर्पा मार्फत लाकपा टाचुंगलाई कुटाई निजकी श्रीमतीले उजूर गरेको छ अरे भन्ने सुनेको देखे जानेको होइन मैले कुटेको र कुट्न सहयोग गरेको होइन । रिस इवी छैन भन्ने समेत पासाङ्ग घलेले अदालतमा गरेको बयान ।

          १९.  मलाई शा.अ.धरणीधरसँग प्रहरी चौकी एथाक शिलाबाट खटाएकोले गएकोमा आक्टुप्पाको छोरा र लाक्पा टाचुंगको छोरा झगडा गरेकोले आक्टुप्पाको छोराको छिरूमाला हराएकाले उजूरी परी लाकपा टाचुंगलाई प्रहरी मार्फत लिन पठाई रातको ११ बजे घत्राक घुत्रुक आवाज सुनी ब्युँझी हेर्दा प्रहरी लाकपा सेर्पाले लोकपा टाचुंगलाई कुटपिट गरिरहेको मुखबाट रगत आइरहेको देखेँ । शा.अ.ले अंग्रेजीमा एकचोटि के भने त्यसपछि कुट भनी आदेश दिएकोले लाकपा प्रहरीले कुटपिट गरे । म समेतले छुट्याई दिएको हुँ प्रहरी प्रतिवेदन अनुसार सजाय पाउनु पर्ने होइन भन्ने समेत प्र.किन्जोक भोटेले अदालतमा गरेको बयान ।

          २०. ०३५।४।२९ गते म नून किन्न किमाथाङका गएको आक्टुप्पाको छोरालाई लाक्पा टाचुंगेको छोराले कुटी छिरूमाला हराएकोले आकटुप्पाले उजूर गरेकोले लाकपा टाचुंगलाई पक्री ल्याई राति शा.अ.ले आदेश दिई प्रहरी लाकपा सेर्पाले कुटे मैले छुट्याई दिएँ । ०३५।४।३१ गते लाक्पा टाचुंगले वान्ता गरेको भनी निजको श्रीमतीले एकथाल रगत ल्याएर हाकिम साहेवलाई देखाए पछि ऐ ०३५।५।६ मा लाकपा टाचुंग मरेछ । मिलापत्रबाट लिएको रू.१००।पञ्चायत कोषमा आम्दानी बाँड्न भनी शा.अ.ले मलाई भर्पार्ई गराई जबरजस्ती दिएपछि सरजमीन टोलीलाई दिएको छु । रु.१०००।आकटुप्पालाई दिलाउन र रु.१२००।आफूलाई समेत गरी हाकिमले लाकपा टाचुंगलाई रुपैयाँ भनेको रहेछ । मेरो कसैसँग रिस इवी छैन । मैले कसूर गरेको नहुँदा सफाई पाउँ भन्ने समेत पं.स.पासां घलेले अदालतमा गरेको बयान ।

          २१.  ०३५ साल श्रावण गते याद भएन लाक्पा टाचुंगको उठानमा धजा लगाउँदा निजको छोरा र मेरो छोरा झगडा परी मेरो छोरालाई लाकपा टाचुंगले २ थप्पड कुटेछन् छिरूमाला छिनी हराएछ मैले शा.अ.ज्यू कहाँ उजूर गरेपछि तिमीले रु.१०००।अथवा माला दिलाई दिने र शा.अ.ले आफूलाई १२००।माग्दा नदिएकोले भनी लाकपा टाचुंगलाई प्र.लाकपा सेर्पाबाट कुटाई लाकपा सेर्पाले कुटेपछि माला भेटिएको दिन्छ रु.३००।लिएर मिल भनी मु.देवनारायणले लेखी मिलापत्र गराए । लाकपा टाचुंगको श्रीमतीले मेरो लोग्नेलाई किन कुटेको भन्दा म मिलाई दिन्छु भनी दरखास्त लिनुभयो त्यसपछि मलाई थाहा छैन । लाकपा टाचुंग कहिले मर्‍यो म जान्दिन मैले मार्ने काममा कुनै सहायता गरेको समेत छैन भन्ने समेत आक्टुप्पाले अदालतमा गरेको बयान ।

          २२. लाक्पा टाचुंगको छोरा र आक्टुप्पाको छोरा झगडा भई लाक्पा टाचुंगले एक दुई थप्पड हिर्काएछन छिरूमाला हराएछ सो कुरा सिमा प्रशासन शा.अ.ज्यू समक्ष आक्टुप्पाले जाहेर गरेपछि पक्राउ गरी सोही इवीबाट प्रशासक भएको ठाउँमा ल्याई प्रशासकले आदेश दिई प्रहरी लाकपा सेर्पाबाट कुटाई सो कुटाईको पिरबाट लाकपा टाचुंग मरेको हुन आक्टुप्पालाई रु.३००।दिलाई खाई मिलापत्र गरेको भन्ने सुनेको हुँ । जाहेरीमा सबै कुरा खुलाएको छु भन्ने समेत जाहेरवाला छिरिङ छेदरले अदालतमा गरेको बकपत्र ।

          २३. हिरासतबाट भागी फरार रहेका प्रहरी लाक्पा सेर्पाको हकमा अ.बं.१९० नं. बमोजिम मुलतवी राखी दिने र तत्कालीन सिमा प्रशासक धरणीधर समेत अन्य प्रतिवादीहरूले प्रहरी प्रतिवेदन माग दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत शुरू संखुवासभा जिल्ला अदालतको ०३८।२।२९।५ को फैसला ।

          २४. उक्त शुरू जिल्ला अदालतबाट प्र.लाकपा सेर्पा बाहेक अन्य सबै प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मिलेको नहुँदा सो फैसला बदर गरी सफाई पाएका प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारका तर्फबाट पू.क्षे.अ.मा पर्न आएको पुनरावेदन रहेछ ।

          २५. निश्चय एवं अदालतमा परे भएको भरपर्दो प्रमाणको अभावमा प्रतिवादीहरूले समेत प्रहरी प्रतिवेदनमा उल्लिखित अपराध गरेकै हो भन्ने ठोस आधार नहुँदा प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने गरी गरेको शुरू संखुवासभा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ.को ०३९।१।१५ गतेको फैसला रहेछ ।

          २६. पूर्वाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई सफाई दिने गरी संखुवासभा जि. अ.ले गरेको फैसलालाई सदर गरी गरेको फैसला कानूनी एवं न्यायसंगत नहुँदा सो फैसला बदर गरी सफाई पाएका प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत पुनरावेदन जिकिर लिई यस अदालत समक्ष वादी श्री ५ को सरकारका तर्फबाट पर्न आएको पुनरावेदन पत्र रहेछ ।

          २७. यसमा प्रतिवादी मध्ये किन्जोक भोटे, आक्टुप्पा भोटे, जंगबहादुर बस्नेत र पं.स.पासां घले समेतले अदालतमा गरेको बयानबाट धरणीधर भण्डारीले बचन दिई प्र.लाकपा शेर्पाले मृतक लाकपा टाचुंगलाई कुटपिट गरेको भन्ने देखिन आएकोले निज धरणीधरलाई सफाई दिने गरी पू.क्षे.अ.बाट भएको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं. बमोजिम छलफलका निमित्त प्र.धरणीधरलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत डिभिजन बेञ्चको २०४०।११।९ गतेको आदेश रहेछ ।

          २८. पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री इन्द्रराज पाण्डेले मृतक लाकपा टाचुंगको मृत्यु कुटपिटबाट भएको कुरामा विवाद छैन । घटनाका चस्मदिद व्यक्ति किन्जोक भोटे समेत प्र.धरणीधरको आदेश पाएर नै प्र.लाकपा शेर्पाले मृतकलाई कुटपिट गरेको भनी किटानी उल्लेख गरेका छन् । लाकपा शेर्पाले मृतकलाई कुटपिट गरेको कुरा प्र.धरणीधर स्वयंले स्वीकार गरी बयान गरेको छ तसर्थः प्रतिवादीहरूलाई सफाई दिने गरेको मिलेन प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुनुपर्दछ भन्ने समेत र विपक्षी प्रतिवादी धरणीधर भण्डारीको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले प्रतिवादी धरणीधरले बचन दिई कुटपिट भएको भन्ने कुनै तथ्ययुक्त तथा भरपर्दो सबूत प्रमाण वादी पक्षबाट पेश दाखिल हुन सकेको छैन । कुट भनी वचन दिएको भन्ने दावी छ तर मार भनी बचन दिएको भन्ने छैन सबूत प्रमाणको अभावमा ज्यान जस्तो गहन मुद्दामा प्रतिवादीलाई आरोपित कसूर गरेको मान्न नमिल्ने हुँदा सफाई दिने गरेको पू.क्षे.अ.को फैसला सदर हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          २९. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब वा वेमनासिब के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।

          ३०. यसमा निर्णयतर्फ विचार गर्दा मृतक लाकपा टाचुंग भोटेको मृत्यु कुटपिट भई कर्तव्य परी भएको भन्ने कुरा लास जाँच मुचुल्का एवं सरजमीनबाट समेत देखिन्छ । प्रतिवादी मध्ये लाकपा शेर्पाको हकमा मुलतवी राखिएतर्फ पुनरावदेन जिकिर नलिएको हुँदा त्यसतर्फ हाल विचार गरी रहनु परेन । अन्य प्रतिवादीको हकमा विचार गर्दा निजहरूले आरोपित कसूरमा इन्कार रही बयान गरेको र प्र.धरणीधरले प्रहरी समक्ष आरोपित कसूर गरेमा सावित भई बयान कागज गरेको पनि अदालतमा आई इन्कार रही बयान गरेको देखन्छ । प्रतिवादी धरणीधर भण्डारीले कुट्न बचन दिएको भनी प्रहरी प्रतिवेदनमा दावी गरिएको छ । तर निजले मृतकलाई कुट्न भनी बचन दिएको हो भन्ने प्रत्यक्षदर्शी प्रमाणको अभाव छ, प्रत्यक्षदर्शी भनेका किन्जोक भोटे समेतले प्र.धरणीधरले कुट्न वचन दिएको भनी बयान गरेको भए पनि निजहरू सहअभियुक्त हुँदा अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभएमा निजहरूको भनाईलाई प्रमाणमा लिन मिल्ने देखिँदैन । साथै सो कुरालाई प्रमाणित गर्ने कुनै पनि ठोस प्रमाण पेश दाखिल हुन सकेको छैन । साथै मृतक लाकपा टाचुंगलाई मार्नको लागि कुट्न बचन दिने सम्मको रिस इवी प्र.धरणीधरसँग थियो भनी प्रमाणित हुनसकेको छैन । मु.देवनारायण समेतका अन्य प्रतिवादीहरूले वारदात भएको बखत केही नगरी हेरी रहने भनी दावी गरिएकोमा निजहरूले समेत आरोपित कसूर गरेकै हो भन्न सकिने तथ्ययुक्त ठोस सबूत प्रमाण पेश दाखिल हुनसकेको छैन । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादी पक्षको हुन्छ । तर प्रस्तुत मुद्दामा प्रतिवादीहरूले आरोपित कसूर गरेको हो भनी वादी पक्षबाट प्रमाणित हुनसकेको छैन । भरपर्दो एवं तथ्ययुक्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर फौजदारी अभियोगमा दोषी मान्न मिल्दैन । यी प्रतिवादीहरूले आरोपित कसूर गरेकै हो भन्न सकिने ठोस आधार केही छैन । तसर्थः सबूत प्रमाणको अभावमा धरणीधर भण्डारी समेतका प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहराएको शुरू संखुवासभा जिल्ला अदालतको फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परेको हुँदा केही गर्नुपरेन मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल ज्येष्ठ ११ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु