शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९१६ - ज्यान

भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक:

निर्णय नं. १९१६  ने.का.प. २०४१               अङ्क २

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको फौ.पु.नं. ३४९

मुद्दा : ज्यान

पुनरावेदक/वादी : धर्मि भाटको जाहेरी श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जि. अछाम तमे नाडा गा.पं. वा.नं. ५ तिम्वा गाउँ बस्ने दत्ते भाट

आदेश भएको मिति :  २०४१।२।२२।२ मा

§  अदालतको आदेशानुसार जोहरवाला र सरजमीनका मानिसहरूलाई उपस्थित गराउनु वादी पक्षको दायित्व हो ।

 (प्रकरण नं. १७)

पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

विपक्षी प्रतिवादी तर्फबाट :   x

उल्लेखित मुद्दा : x

आदेश

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यस प्रकार रहेछ ।

          २.   अछाम नाडा गा.पं. वा.नं. ५ बस्ने दत्ते भाटले म भदाहा नाता पर्नेलाई जबरजस्ती करणी गरी म चूप लागी बसी गर्भाधान भई गाउँमा होहल्ला हुँदा मेरा जेठाजुले जि. पं.का.मा पेश समेत गर्दा सो मुद्दामा कारवाही हुँदैन भनी दत्तेकै घरमा बस्न गएकी थिएँ । ०३८ साल भाद्र ३० गतेका दिन छोरी जन्मी निज दत्तेले २५।२६ दिन नपुगी भित्र जान हुन्न भन्दा खाना समेत दिई छिडीमै बसी रहेकी थिएँ । आश्विन १९ गते ८ बजेको समयमा खाना देउ भन्दा दत्तेका छोरा नन्दे दत्त र म समेतमा झगडा हुँदाबाट जन्मेकी छारीलाई दत्तेले यसैको लागि झगडा हो भनी मेरो काखबाट खोसी के कहाँ लगी मारी दवाए भन्ने समेत व्यहोराको धर्मी भाटको ०३८।७।१४ को जोहरी दरखास्त ।

          ३.   जाहेरवाला धर्मिलाई निजको लोग्ने भारत हुँदा करणी गरी गर्भाधान भई निजलाई ०३८ आषाढ देखि आफ्नो घरमा लगी स्वास्नी तुल्याई मेरो घरमा राखेको थिएँ । भाद्र ३० गते निजबाट छोरी जन्मेपछि छोरीले दूध खाँदिन बिरामी छ भन्थी आश्विन १९ गते कालगतिले मरेकीलाई म र भाइ लोग समेत भई दफन गरेका भनेको नि.प्र.दत्ते भाटले प्रहरी समक्ष गरेको बयान कागज ।

          ४.   दत्तेभाटले धर्मिभाटलाई राखेको घर एक लासमा भएको देख्न नपाउँदा धर्मीभाटबाट जन्मेको छोरीलाई दत्तेभाटले मारे मराएको निज धर्मि नै जानून् मारी दबाएको भन्ने शंका लाग्दैन, आपसी झगडा आदिको कारणबाट झुठ्ठा उजूर परेको हुनुपर्दछ भन्नेसमेत सरजमीन मुचुल्का ।

          ५.   म र मेरी आमा माथिल्लो घरमा बस्ने हुँदा कान्छी आमा बसेकी घरमा नगएको हुँदा निजबाट जन्मेकी छोरीलाई देखेको थिइन । निजकी छोरीलाई कसले मारे थाहा छैन भन्ने समेत प्र.को छोरा नन्दराम भाटले प्रहरीमा गरेको कागज ।

          ६.   प्र.दत्ते भाटले अरूको सधुवा स्वास्नीलाई करणी गरी गर्भ रही निजको लोग्ने घर आएको चाल पाई करणी समेतबाट बच्नको लागि आफ्नो वीर्यबाट जन्मेको छोरीलाई दवाउने नियतले एकलास ठाउँमा मारी दवाएको अनुसन्धानबाट सिद्ध हुँदा प्र.दत्तेभाटलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

          ७.   म र दाजु माथिल्लो घरमा रहेको बेला जाहेरवाला आई छोरी मरेकी छ भनेकीले धर्मिभाट बसेको घर गई मरेकी छोरीलाई दाजु दत्तेभाटले समाती दफन गर्न गइरहेको टाढैबाट देखेको छु म गएको थिइन भन्ने समेत लोगेभाटले गरेको बयान ।

          ८.   छोरी कालगतीले मरेकी हो, म मािथ झुठ्ठा जाहेरी दिई झुठ्ठा आरोप लगाएको हो, मैले कर्तव्य गरी मारेको होइन, जन्मेको ३४ दिनदेखि बिरामी भई मरेकी हो र सो मरेको बच्चालाई धर्मि समेतको सल्लाहबाट गाडी दिएको हो भन्ने समेत प्र.दत्तेभाटको बयान ।

          ९.   बुझिएका सरजमीनका मानिसहरूले दत्तेभाटले मारेको होला भनी शङ्कासम्म पनि नगरेका प्र.दत्तेभाट प्रहरी तथा अदालतमा समेत इन्कारी रही जन्मेको ३४ दिनदेखि बिरामी भई कालगतीले छोरी मरेको हो र धर्मिभाट समेतको सल्लाह अनुसार गाडेको भन्ने बयान गरेको र सरजमीनका मानिस र जाहेरवालालाई उपस्थित गराउन सकेको समेत नहुँदा प्रतिवादी दत्तेभाटले सफाई पाउने ठहर्छ भन्ने समेत शुरू अछाम जि. अ.को फैसला ।

          १०.  सो फैसला उपर सु.प.क्षे.अ.मा श्री ५ को सरकारको पुनरावेदन परेको रहेछ ।

          ११.   प्र.दत्तेभाटले छोरी आफ्नै कालगतीले मरेको हो र धर्मिभाटको सल्लाहले गाडेको हुँ मैले कर्तव्य गरी मारेको होइन भनी प्रहरी तथा अदालतमा इन्कारी बयान गरेको, घटना भएको करिब १ महीनापछि मात्र जाहेरी परेको, जाहेरीमा मृत बच्चा यस ठाउँमा गाडिएको र यस अवस्थामा भेटिएको भन्ने केही नभएको बुझिएका सरजमीनका मानिसले कसैले मृत बच्चालाई देखेको र प्र.दत्तेभाटले मारेको भन्ने कुनै शङ्कासम्म नदेखाएको, अदालतको आदेशानुसार जाहेरवाली र सरजमीनका मानिसलाई उपस्थित नगराएको र धर्मिको गर्भबाट जन्मेको बच्चालाई प्र.दत्तेभाटले कर्तव्य गरी मारेको कुराको कुनै ठोस प्रमाण समेत मिसिलमा नदेखिएको समेत हुँदा यस्तो अवस्थामा प्र.दत्तेभाटले सफाई पाउने ठहर्‍याएको जि. अ.को फैसला मुनासिब हुने ठहर्छ भन्ने समेत सु.प.क्षे.अ.को फैसला ।

          १२.  सो फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको रहेछ ।

          १३.  पुनरावेदक श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले प्र.दत्तेभाटले धर्मिभाटबाट जन्मेको बच्चालाई गाडेकोमा अदालतमा समेत सावित भएको छ । कालगतीले बच्चा मरेको भए गाड्ने बेलामा समाजलाई थाहा हुनु पर्ने र साथै बच्चा गाडेको ठाउँ देखाउनु पर्ने सो नदेखाई मौन रहेको जाहेरवाली धर्मिसँग अनुचित सम्बन्ध कायम गरी स्वास्नी समेत बनाई छिँडीमा खान नदिई राखी धर्मि (आमा) बाट बच्चा खोसी निजलाई एक महीनासम्म उम्कन नदिई राखेका र उम्कन साथै धर्मिले जाहेर गरेको समेतबाट प्र.दत्तेभाटको मार्ने मनसाय झल्कन्छ । यस्तो अवस्थामा प्र.दत्तेभाटलाइ सफाई दिने गरेको इन्साफ उल्टी गरी प्र.दत्तेभाटलाई सजाय गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १४.  अब क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ ? सो को निर्णय दिन परेको छ ।

          १५.  निर्णयतर्फ विचार गर्दा यसमा मृतक बच्चा प्र.दत्तेभाटको करणीबाट धर्मिभाटमा गर्भाधान भई जन्मेको कुरा विवादरहित देखिन्छ । मृतक बच्चालाई प्र.दत्तेभाटले कर्तव्य गरी मारेको भन्ने जाहेरी दरखास्तानुसार प्रहरी प्रतिवेदन दावी भएकोमा बच्चालाई मैले कर्तव्य गरी मारेको होइन निज कालगतीले मरेको भनी प्रहरी तथा अदालतमा समेत इन्कारी रहेको देखिएकोले मृतक बच्चालाई कर्तव्यबाट मारेको हो वा आफैं कालगतीले मरेको हो भन्ने कुरा पनि विवादास्पद प्रश्न देखिन्छ ।

          १६.  प्रथमतः मिति ०३८।५।१९ मा घटेको घटनाको जाहेरी करीब १ महीनापछि मिति ०३८।७।१४ मा मात्र परेको देखिएबाट जाहेरीलाई वास्तविक रूप प्रदान गर्नु शंकास्पद देखिने जाहेरी दरखास्तमा देखाइएको प्र.दत्तेभाटले मृतक बच्चालाई कर्तव्य गरी मारेर गाडेको भन्ने तर्फ सरजमीनका व्यक्तिहरूले शंकासम्म पनि नगरेका । बच्चाले जन्मेको ३।४ दिन देखि दूध खाँदैन भनी बच्चाकी आमा धर्मिभाटले भनेकीले बच्चा कालगतिले मरेकी हो मैले मारेको होइन बच्चा मरेपछि धर्मिभाटको सल्लाह अनुसार लगी गाडेको हुँ भनी प्रहरी तथा अदालतमा इन्कारी बयान गरेको पाइन्छ । निजको बयानलाई खण्डन गर्ने कुनै तथ्य सबूत वादी पक्षले प्रस्तुत गर्न सकेको पाइँदैन ।

          १७.  बच्चा यस ठाउँमा यस्तो अवस्थामा गाडेको पाइयो भन्ने देखाउन समेत वादी पक्ष असफल देखिन्छ । अदालतको आदेशानुसार जाहेरवाला र सरजमीनको मानिसहरूलाई उपस्थित गराउनु वादी पक्षको दायित्व हो सो गर्न वादी पक्षले सकेको छैन ।

          १८.  मृतक बालकलाई प्र.दत्तेभाटले कर्तव्य गरी मारेको देखिने शंकारहित ठोस प्रमाणको मिसिलमा अभाव देखिन्छ । यसरी वादी दावी शंकारहित तवरबाट प्रमाणित हुनसकेको पाइँदैन ।

          १९.  तसर्थ यस्तो शंकास्पद स्थितिमा प्र.दत्तेभाटलाई कसूरदार ठहर्‍याई सजाय गर्नु न्यायोचित हुने देखिँदैन । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी कानूनको सर्वमान्य सिद्धान्तको आधारमा प्र.दत्तेभाटले सफाई पाउने ठहर्छ । सफाई दिने गरेको शुरूको जिल्ला अदालतको इन्साफ सदर गरेको सु.प.क्षे.अ.को इन्साफ मनासिब छ पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल ज्येष्ठ २२ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु