शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक:

निर्णय नं. १९१८     ने.का.प. २०४१                        अङ्क २

डिभिजन बेञ्च

इजलाश

माननीय प्रधान न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको रिट नं. १२६८

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : भारत वर्ष कलकत्ता २३ ए।४९ ए ब्लक सि. न्यू ललिपुर स्थित मूल चन्दानी कन्स्ट्रक्सन कं.प्रा.लि.का तर्फबाट ऐ को संचालक समितिको अध्यक्ष नारायणदास मूलचन्दानी

विरूद्ध

विपक्षी : कर कार्यालय लुम्बिनी अञ्चल भैरहवा

राजश्व न्यायाधिकरण पोखरा

आदेश भएको मिति : २०४१।१।३१।१ मा

§  डाइरेक्टरलाई दिएको पारिश्रमिकको हकमा मुख्यलाई पारिश्रमिक छूट भएकोले अरूलाई पनि दिनुपर्छ भन्ने आयकर ऐन, २०३१ को दफा ४१(ङ) मा नलेखिएको ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद उपाध्याय

उल्लेखित मुद्दा : x

आदेश

            न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ ।

            २.    निवेदक भारतको कम्पनी ऐन बमोजिम संस्थापित एक कम्पनी हो । भारत सरकारले गण्डकी नदीमा बाँध र अन्य वस्तुहरूको निर्माण गर्न सिल्ड टेण्डर आव्हान गरे अनुसार टेण्डर दर्खास्त गरी निवेदकले भारत सरकारद्वारा निर्माण गरिने गण्डक प्रोजेक्टको पश्चिम नहरको हेड रेगुलेटरको निर्माण गर्ने ठेक्का भारतीय सरकारबाट प्राप्त गरेको थिए । ठेक्कामा उक्त निर्माण कार्य गरेवापत प्राप्त रकम र स्रोत भारतमै भएको हुँदा भारतीय आयकर कानून बमोजिम भारतीय कर विभागले आयकर लिने गर्दथ्यो । नेपाल अधिराज्यभित्र काम गरेको भन्ने अर्थ गरी नेपालको कर कार्यालयबाट पनि आयकर निर्धारण गर्न थालिएकोमा भारतीय ठेकेदारहरूबाट विरोध गरेपछि भारतीय सरकारले एउटा पत्र ठेकेदारहरूलाई बुझायो । बिहार सरकारको सन् ७५।१।६ को पत्र अनुसार भारत सरकार र नेपाल सरकारको सम्झौता अनुसार कोशी र गण्डकी प्रोजेक्टमा कार्यरत भारतीय ठेकेदारहरूले आयकर र ठेक्का कर नेपालमा तिर्नु नपर्ने भन्ने जानकारी गराइयो । पछि एजुकेटिभ इन्जीनियर वेष्टर्न क्यानल डिभिजन गण्डक प्रोजेक्टबाट सन् ७७।६।१८ अघि व्यवस्था समाप्त गरिएको पत्र दिइयो । सो पत्र प्राप्त गरेपछि निवेदकले आयको विवरण कर कार्यालय लुम्बिनी अञ्चल भैरहवामा पेश गरेकोमा म्याद नाघी पेश गरेको भनी निवेदकलाई रु.४७,१३७।७५ जरिवाना गर्नुको साथै कानून बमोजिम मिन्हा कट्टा गर्न पाउने खर्चहरू समेत कट्टा नगरी हामीलाई खूद आय निर्धारण गरी निर्धारण आदेश बुझाइयो । सोमा चित्त नबुझी हामीले राजस्व न्यायाधीकरण पोखरामा पुनरावेदन गरेकोमा कर कार्यालय भैरहवाको आदेश नै सदर गरेकोले कानून विपरीत छ ।

            ३.    आयकर ऐन, २०३१ को दफा ६ ले नेपाल अधिराज्यभित्र आर्जन वा प्राप्त गरेको र विदेशमा आर्जित गरी नेपाल अधिराज्यभित्र प्राप्त गरेको आयमा मात्र आयकर लाग्ने भन्ने व्यवस्था गरेको छ । निवेदकले भारतीय सरकारबाट टेण्डर प्राप्त गरी भारतमा प्राप्त गरेको आय हुँदा नेपालमा आयकर नलाग्ने स्पष्ट छ । कर कार्यालयबाट कम्पनीका डाइरेक्टर र शेयरहोल्डरलाई दिएको ब्याज मिन्हा नदिई खूद आयमा जोडेको हकलाई पुनरावेदक भारतीय कम्पनी हुँदा त्यस्तोलाई नेपालभित्र प्राप्त गरेको भन्न नसकिने हुन्छ । आयकर ऐन, २०३१ को दफा ४१ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशले सो रकम भारतमा कर तिरी सकेको रकम खर्चमा लिने स्पष्ट व्यवस्था गरेको छ । भारतमा कर तिरी सकेको प्रमाण कर कार्यालयमा पेश छ । डाइरेक्टरको पारिश्रमिक मात्र मिन्हा दिई अरू सञ्चालकको पारिश्रमिक मिन्हा नदिई कम्पनीको खूद आयमा जोडिनु कानूनोचित छैन । आयकर ऐन, २०३१ को दफा ४१(ङ) ले पनि पारिश्रमिक मिन्हा हुनपर्ने हो त्यस्तै कानून बमोजिम बोनस प्राप्त गर्ने व्यक्तिहरूको वोनस आय मानिने हुँदा त्यस्तो खर्च मिन्हा पाउनुपर्दछ । लेवरलाई वोनस दिँदैमा मिन्हा नहुने भन्ने छैन । आयकर ऐन, २०३१ आइसकेपछि राजस्व न्यायाधीकरण पोखराले आयकर ऐन, २०१९ बमोजिम टूटफूट मिन्हा हुन्छ भनी गरेको निर्णय कानून प्रतिकूल छ भन्ने समेतको रिट निवेदन जिकिर ।

            ४.    यसमा के कसो भएको हो ? विपक्षीसँग लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिङ्गलबेञ्चको मिति ०३९।११।१२ को आदेश ।

            ५.    कानून बमोजिम यस कार्यालयबाट निर्णय भएको र सो तथ्य राजस्व न्यायाधीकरणको फैसलाबाट समेत पुष्टी भइसकेकोले रिट निवेदन बदरभागी छ भन्ने समेतको कर कार्यालय भैरहवाको लिखितजवाफ ।

            ६.    निवदेकले पाउनु पर्ने मिन्हा दिई अन्य कानून बमोजिम ठहर भएकोमा कानूनी त्रुटि भई पुनरावेदनको लागि अनुमतिको निवेदन दिन पाउने कानूनी व्यवस्था विद्यमान हुँदाहुँदै असाधारण अधिकार क्षेत्र गुहार्न कानूनसंगत नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत राजस्व न्यायाधीकरण पोखराको लिखितजवाफ रहेछ ।

            ७.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री अनुपराज शर्माले पारिश्रमिक, वोनस आदि समेतलाई खूद आयमा समावेश गरी गरेको कर कार्यालय भैरहवाको निर्णय सदर गरेको राजस्व न्यायाधीकरणका फैसलामा त्रुटि हुँदा बदरभागी छ भन्ने समेत र विपक्षी कार्यालयतर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद उपाध्यायले राजस्व न्यायाधीकरण पोखराबाट कर कार्यालय भैरहवाको निर्णय सदर गरेको कानून अनुकूल हुँदा रिट खारेज हुन पर्ने भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

            ८.    प्रस्तुत विषयमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने कुराको आज निर्णय दिनुपरेको छ ।

            ९.    यसमा वोनस खर्च रु.७६,५१८।५८ मिन्हा हुनु पर्ने भन्ने हकमा सो रकम कर्मचारीलाई बोनस दिएको नभई लेडरहरूले ओभर टायम काम गरे बापत दिएको रकम हो भन्ने मिति ६।६।१९७७ को बयानमा उल्लेख भएको देखिन्छ । कम्पनीको हिस्सेदारी वा सो को इकाई भित्रका सदस्यहरूलाई दिएको ब्याज रु.१,३२,११८। मिन्हा हुनु पर्ने सम्बन्धमा आयकर ऐन, २०३१ को दफा ४१(ङ) मा कट्टा नहुने खर्चमा पब्लीक लिमिटेड कम्पनी बाहेक अरू करदाताको आफ्नो हिस्सेदार वा इकाई भित्रको सदस्यहरूलाई दिएका पारिश्रमिक ब्याज कमिशन बहाल वा बोनस भन्ने उल्लेख भई त्यसको प्रतिबन्धात्मक वाक्यांसमा तर फर्म वा कम्पनीका मुख्य काम गर्न तोकेको हिस्सेदार वा सञ्चालकलाई दिएको मनासिब माफिकको पारिश्रमिक कट्टा गर्न सकिने छभन्ने उल्लेख भएको पाइन्छ । उक्त ऐनको प्रतिकूल मिन्हा हुन सक्ने स्थितिको देखिएन । डाइरेक्टरलाई दिएको पारिश्रमिक रु.३४,९६८। को हकमा मुख्यलाई पारिश्रमिक छूट भएकोले अरूलाई पनि दिनुपर्छ भन्ने आयकर ऐन, २०३१ को दफा ४१(ङ) मा नलेखिएको र डिप्रिसेसन जरिवाना समेत कानूनबमोजिम भए गरेको देखिँदा कर कार्यालय भैरहवा र राजस्व न्यायाधीकरण पोखराको निर्णय त्रुटिपूर्ण नहुँदा निवेदकको सम्पत्ति सम्बन्धीमा मौलिक हकबाट निवेदकलाई वञ्चित नगरेकोले प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०४१ साल बैशाख ३१ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु