शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८९० - बणडापत्र जालसाज

भाग: ५४ साल: २०६९ महिना: पौस अंक:

ने.का.प. २०६९,            अङ्क ९

निर्णय नं. ८८९०

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

०६८CR०१५०

फैसला मितिः २०६९।२।१७।४

 

मुद्दा : बण्डापत्र जालसाज   ।

 

पुनरावेदक प्रतिवादीः कैलाली जिल्ला, उदासिपुर गा.वि.स.वडा नं १ वस्ने अष्टमी थरुनी समेत

विरुद्ध

प्रत्यर्थी वादीः कैलाली जिल्ला उदासीपुर गा.वि.स.वडा नं १ वस्ने डौलतिया भन्ने डौरी थरुनी को       मु.स. गरी आफ्नो हकमा समेत ऐ.ऐ. वस्ने छेदीराम चौधरी समेत

 

शुरुमा फैसला गर्नेः

मा.न्या.श्री नारायण प्रसाद धिताल

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री दीपकराज जोशी

मा.न्या.श्री रामप्रसाद खनाल

 

§  नाताको प्रश्नमा विवाद भएपछि कुनै लिखतवाट नाता लोप हुन्छ भने त्यो निरन्तरको दूषित कार्य हुन्छ । अंशको हक कानूनले व्यवस्था गरेको जन्मसंग आएको हक हुनाले त्यस्तो हक मेट्न वा कुनै लिखत कुन मितिमा खडा भएको भन्ने कुराले हदम्यादको प्रश्न उठाई अंश हक नै लोप गर्न दिन नमिल्ने 

§  अंशियार देखिन्छ भने अंशियारले आफ्नो अंश बुझेको वा सो हक विधिवत् परित्याग गरेको अवस्थामा वाहेक निरन्तर कायम रहने विषय भएकोले अन्य अन्य व्यक्ति भई गरेको लिखतबाट अंशियारको हकमा कुनै अनुचित सीमा शर्त सिर्जना भएको वा हक गुमेको भन्न मिल्ने देखिदैन । त्यस्तो दूषित कार्य गरेको लिखत थाहा पाएपछि फिराद गर्न पाउने हदम्याद प्राप्त हुने 

§  बण्डापत्रमा अंशियार लोप गरेपनि अंश पाउन वाँकी रहेका अंशियार समेतको कानूनबमोजिम अंश हक लाग्ने सम्पत्तिमा निजको हक नै पूर्ण रूपमा मेट्ने उद्देश्य लिई दूषित मनसायले अंशियार लोप गरी  गरेको त्यस्तो बण्डापत्रवाट अंश लिनुदिनु गरेको कार्य जालसाजीको परिभाषाभित्र पर्ने 

§  अंश पाउने व्यक्तिलाई नै लोप गरी अंश जस्तो हकवाट पूर्ण रूपमा वञ्चित गराई अंशहक मेट्ने कार्य गरी गरेको त्यस्तो दूषित बण्डापत्र गरेको थाहा पाएपछि असर पर्ने पक्षले मुद्दा गर्न पाउने नै हुँदा हदम्यादको अभावमा फिराद दायर भएको भनी अर्थ गर्न नमिल्ने 

(प्रकरण नं.४)

§  जालसाजी कार्य गरी गरेको दूषित बण्डपत्रवाट नाता नै लोप हुन्छ । त्यस्तो दूषित कार्यको विरुद्धमा थाहा पाएपछि हदम्याद प्राप्त हुने भै असर पर्ने पक्षले मुद्दा गर्न कुनै कानूनले वन्देज नलगाएको यस स्थितिमा मुद्दा गर्न सक्ने र त्यस्तो दूषित बण्डापत्र वदर गरी सो जालसाजी कार्यमा संलग्नलाई सजाय समेत हुने 

(प्रकरण नं.५)

 

 

पुनरोदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता मुरारी सापकोटा

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

 

फैसला

            न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत दिपायलबाट मिति २०६७।९।२० मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई पाउमा निवेदन परी निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ :– 

            हाम्रा मूलपुर्खा स्व.लक्ष्मण भन्ने दुखारामका ५ छोराहरू जेठा स्व. जयराम, महिला स्व. भिखु डगौरा, साहिला प्रतिवादी सुदामा भन्ने सुशीराम डगौरा थारू, काहिला स्व. रामनारायण डगौरा, कान्छा स्व.सीताराम डगौरा भएकोमा जेठा स्व.जयराम डगौराकी श्रीमती प्रतिवादी अष्टमी थरुनी र छोराहरू स्व.ठागुराम चौधरी, प्रतिवादी खुशीराम चौधरी, माहिला स्व.भिख्खु डगौराका श्रीमती म फिरादी डौलतिया भन्ने डौरी चौधरी र चार छोराहरूमा सुन्दिराम, देवीराम, छेदीराम, लसीराम चौधरी, साहिला प्रतिवादी सुदामा भन्ने प्रतिवादी सुशीराम डगौरा थारूको श्रीमती विसरी थरुनी र चार छोराहरूमा मानबहादुर, लालबहादुर, सुरेशकुमार कृष्णबहादुर, काहिला स्व. रामनारायणको दुई छोरामा प्रतिवादी कालीचरण चौधरी, प्रतिवादी तुलाराम चौधरी तथा कान्छा स्व.सीतारामका चार छोरामा खड्कबहादुर चौधरी, हरिप्रसाद चौधरी, रामप्रसाद चौधरी, मानबहादुर चौधरी भएको साथै स्व. ठागुरामको श्रीमती दोदनी थरुनी र दुई छोराहरू घुम्मन चौधरी, कर्णबहादुर चौधरी भएको र प्रतिवादी सुशीरामको श्रीमती जानकी थरुनी र जगनी थरुनी भएकी यस वाहेक हाम्रा कुनै अंशियार नभएका हामी वादी प्रतिवादी बीच कानूनत अंशबण्डा भएको छैन । विपक्षीलाई प्रतिवादी वनाई मिति २०६४।९।१६ मा कैलाली जिल्ला अदालतमा फिराद दायर गरी आएकोमा प्रतिउत्तर जिकीरमा २०३१।८।८ मा नै हामी प्रतिवादीहरूको वुवा तथा ससुरा स्व. जयराम डगौरा स्व. सीताराम डगौरा स्व. रामनारायण र प्रतिवादी सुदाम भन्ने सुशीरामबीच अंशबण्डाको लिखत तयार गरी र.नं.१६५।१४३ मिति २०३१।८।४ मा मालपोत कार्यालय कैलालीमा बण्डापत्र पारीत गराई आएका छौ भन्ने प्रतिउत्तर हुँदा वास्तविकता के रहेछ भनी मिति २०६५।४।६ गते मालपोत कार्यालयमा गै कथित बण्डापत्र भनिएको नक्कल सारी लिंदा हाम्रो अंश हक मेट्ने काम व्यवहारमा सहमत भई दे.दा.नं १४६ को अंश मुद्दामा प्रतिवाद गरी आएको हुँदा यी प्रतिवादीहरू पनि मिति २०३१।८।४ गतेको बण्डापत्रको कारणी सरह भएको हुँदा निजहरूले पनि हाम्रो अंश हक मार्ने जालसाजपूर्ण कार्य गरेको र अंशबण्डा लिखतले हाम्रो अंश हक मार्ने कार्य भएको छ । अतः त्यस्तो बण्डापत्र पूर्णरूपमा जालसाज घोषित गरी हाम्रो हक सुरक्षित गरिपाऊँ । यसरी प्रतिवादीहरूको मिलेमतोमा र.नं. १६५। १४३ मिति २०३१।८।४ को कथित बण्डापत्र लिखत पूर्ण रूपमा जालसाज घोषित गरि सम्पूर्ण प्रतिवादीहरूलाई कीर्ते कागजको महलको १० नं. बमोजिम सजाय गरिपाऊँ भन्ने  समेतको फिराद दावी ।  

            विपक्षी फिरादीहरूको सम्पूर्ण व्यहोरा झूठा एवं बनावटी हो । विपक्षीसंग हाम्रो कुनै नाता सम्बन्ध नै छैन । फिरादपत्रमा उल्लेख गरेको पुस्तेवारी र यसै लगाउको अंश मुद्दामा उल्लेख गरेको विपक्षीको पुस्तेवारी मिलेको छैन । अंश मुद्दामा दुखरामका ५ छोरा भनी उल्लेख गर्नु भएको छ भने बण्डापत्र जालसाज मुद्दामा मूलपुर्खा लक्ष्मण भन्ने दुखाराम भनी उल्लेख गरे पनि लक्ष्मण र दुखाराम एउटै व्यक्ति नभएर अलगअलग व्यक्ति हुन । लक्ष्मण विपक्षीका पुर्खा हुन् भने हाम्रा पुर्खा जोखन डगौरा थारू हुन निजका छोरा दुखीरामको चार छोराहरू जेठा जोखन भन्ने जयराम थारू, महिला सुदामा भन्ने खुशिराम डगौरा, साहिला रामनारायण र कान्छा सीताराम डगौरा थारू हुन । विपक्षीले दुखराम उल्लेख गरेपनि निज दुखीराम नै हुन फिराद  गलत एवंम गैरकानूनी रूपले अदालतमा प्रवेश गराएको छ । विपक्षीको हक स्थापित नभएको अवस्थामा मुलुकी ऐन कीर्ते कागजको ३ नं आकर्षित हुन सक्दैन । जोसंग कुनै नाता नै छैन नत कुनै अधिकारिक रूपमा पुष्टि हुन सक्ने त्यस्तो वलियो प्रमाण छ यस्तो अवस्थामा प्रस्तुत मुद्दा खारेजभागी छ । १ नं मोही फारामलाई आधार लिइएको छ जुन १ नं. लगत ७ नं फाँटवारी एवम फिल्डवुकमा नाम जनिसकेकै आधारमा मात्र कुनै जग्गामा व्यक्तिको हक पुग्ने होइन भनी कैयौं सिद्धान्त प्रतिपादन भैसकेको छ । विपक्षीले संगोलमा रहे भएको तथ्ययुक्त अन्य कुनै प्रमाण दाखिला गर्न सकेको अवस्था छैन । वादीहरूको हक लाग्ने जग्गा भए वादीहरूका वावु र श्रीमान छदैको अवस्थामा अघि नै अंशबण्डाको ३० नं. बमोजिम छुट्टी भिन्न भै भोग दर्ता व्यवहार गरेको देखिन्छ । यसरी विपक्षीले हामीलाई दुख दिने नियतले मात्र दायर गरेको फिराद खारेज गरी कानूनबमोजिम भएको बण्डापत्रको लिखत यथास्थितिमा राखी न्याय पाऊँ भन्ने समेतको  प्रतिउत्तर जिकीर 

            फिरादीहरू अंशियार हुन् । २०२१ सालको नापी समेतले पनि यी फिरादीहरूलाई अंशियार भनी खुलाई दिएको छ । सो बण्डा जालसाज हो, सो बण्डा हुने बेला फिरादीहरूलाई जानकारी नै नदिई बण्डा भएको हो भन्ने व्यहोराको वादीका साक्षी गोमान सिंह वोगटीले अदालतमा गरेको वकपत्र 

            २०३१ सालमा भएको बण्डापत्र वदर हुनुपर्ने होइन भन्ने व्यहोराको प्रतिवादीका साक्षी दानबहादुर विश्वकर्माले अदालतमा गरेको वकपत्र 

            वादीहरूको अंशभाग पर्ने जग्गा एकापसमा मिली बण्डापत्र गरेका र अंशियार लोप राखी जालसाज गरेकोले बण्डापत्र वदर गरी जालसाजमा सजाय गरिपाऊँ भन्ने वादी दावी भएकोमा प्रतिवादीहरूले आफ्नो प्रतिउत्तर पत्रमा वादीका वावु भिखु आफ्नो घरमा काम गर्न वसेको वंशभित्रको नहुँदा अंश दिनुपर्ने होइन भनी प्रतिउत्तर जिकीर लिएतापनि वादी र प्रतिवादीहरू एउटै नाता पुस्तेवारीभित्रका भएकाले वादीले प्रतिवादीवाट अंश पाउने ठहरी यसै लगाउको दे.दा नं. १४६।८७ को अंश मुद्दामा यसै इजलासवाट आजै फैसला भएको समेतवाट वादीहरूको भाग हिस्सामा पर्ने सम्पत्ति २०३१ सालमा अंशबण्डा गरेको कार्य कानूनसम्मत नभई जालसाजीपूर्ण तरिकाले भएको देखिंदा सो बण्डापत्र वदर हुने ठहर्छ । प्रतिवादीहरू मध्येका जयराम डगौरा, रामनारायण र सीताराम डगौरा थारूको मृत्यु भैसकेको हुँदा केही सजाय गर्नु परेन, बण्डापत्र गर्ने मध्येका सुदामा भनिने खुशीराम डगौरा थारूलाई बण्डापत्र जालसाज गरेकाले कीर्ते कागजको १० नं वमोजिम विगो रु.१४,०००। को २५प्रतिशतले हुने रु ३५००।  जरीवाना हुने ठहर्छ भनी शुरु कैलाली जिल्ला अदालतवाट मिति २०६६।१२।१८ मा भएको फैसला 

            विपक्षीमध्येका देवीराम चौधरीले गा.वि.स.वाट विवाह दर्ता प्रमाणपत्रमा आफ्नो वाजे पुर्खा लक्ष्मण भनी छुट्टै पुस्तेवारी उल्लेख गरेको छ । प्रस्तुत जालसाज मुद्दामा पछि लक्ष्मण भन्ने र दुखराम भन्ने व्यक्ति एउटै हुन भनेपनि एउटै व्यक्ति हुन भन्ने प्रमाण वादीले अंश मुद्दाको फिराद दावीमा कुनै साक्षी सर्जमीन र लिखतवाट प्रमाणित गराउन नसकेको स्थितिमा प्रमाणको मूल्याङ्कन नगरी भएको शुरु कैलाली जिल्ला अदालतको फैसला वदर गरी मिति २०३१।८।४ को बण्डापत्र लिखत यथावत कायम राखिपाऊँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर 

            वादीहरूको अंश हिस्सा पर्ने सम्पत्ति २०३१ सालमा गरेको अंशबण्डाको काम कार्य जालसाजीपूर्ण देखिएकोले उक्त बण्डापत्र वदर हुने ठहर्‍याई बण्डा पत्र गर्ने मध्येका सुदामा भनिने खुशीराम डगौरा थारूलाई विगो रु १४,०००। को २५ प्रतिशतले हुने रु.३,५००। जरीवाना समेत हुने ठहर्‍याई शुरु कैलाली जिल्ला अदालतवाट मिति २०६६।१२।१८ मा भएको पैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत दिपायलको मिति २०६७।९।२० को फैसला 

            हामी प्रतिवादीहरू र प्रत्यर्थी वादीहरू एउटै पुस्तेवारीका होइनौ अलग अलग पुस्तेवारीका हौ । मिति २०३१।८।८ मा हाम्रा दाजुभाइबीच कानूनी रूपमा अंशबण्डा लिखत पारीत गरी आआफ्नो अंशबण्डाको जग्गा भोग चलन गरी आएकोमा हाम्रो अंशियार नै नभएका प्रत्यर्थीहरूबाट पर्न आएको गैरकानूनी उजूरी सुनी जालसाजी ठहराएको फैसला गलत छ । वादीका पति तथा पिता भिख्खु चौधरी हाम्रो अंशियार भएको भए आफ्नो जीवनकालमा नै उजूर गरी बण्डापत्र वदर गर्न पर्नेमा सो नसकी बण्डा पत्र गर्ने तीनजना र भिख्खु चौधरी समेतको मृत्यु भइसकेको अवस्थामा कानूनले निर्दिष्ट गरेको हदम्याद नाघिसकेपछि भिख्खुका श्रीमती र छोराहरूले हामी दोस्रो पुस्ताका व्यक्तिहरूलाई जालसाज गरेको भनी गरेको फिरादमा हाम्रो तथा विपक्षीहरूको नागरिक्ता लिदा भरेको तीनपुस्ते निवेदन समेत हेरी पुस्तेवारीका सम्बन्धमा यस्तो ग्रहणयोग्य सम्बद्ध प्रमाणको मूल्याङ्कन गरी बुझी फैसला गर्नुपर्नेमा सो प्रमाण नै नवुझी गरिएको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ एवं अ.व. १८४क, १८५र ८२ नं समेतको विपरीत भएको हुँदा शुरु फैसला सदर गर्ने पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्‍याई हेरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको यस अदालतमा दायर निवेदनपत्र 

            यसमा प्रतिवादी तर्फवाट हदम्यादभित्र फिराद नपरेको भनी लिइएको जिकीर सम्बन्धमा निरूपण नभई भएको फैसलामा मुलुकी ऐन कीर्ते कागजको ३ र १८ नं. को त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने समेतको यस अदालतको मिति २०६८।४।१३ को आदेश 

            नियमबमोजिम मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षीहरूका तर्फबाट उपस्थित विद्वान अधिवक्ता मुरारी सापकोटाले प्रत्यर्थी पक्ष र पुनरावेदकबीच कानूनत अंशबण्डा नभएको अवस्थामा यी प्रतिवादीहरू समेत भै अंश हक मार्ने कार्य गरेको त्यस्तो जालसाजपूर्ण बण्डापत्रलाई शुरु तथा पुनरावेदन अदालत दिपायलवाट जालसाज ठहर्‍याई बण्डापत्र गर्नेमध्येका जीवित खुशीराम डगौरा थारूलाई जरीवाना समेत गर्ने ठहर्‍याएको फैसला न्याय र कानूनको रोहमा मिलेकै देखिंदा सदर कायम हुनुपर्छ भनी गर्नु भएको वहस जिकीर सुनी पुनरावेदन पत्र सहितका मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत दिपायलवाट भएको फैसला मिलेको छ छैन निर्णय गर्नुपर्ने देखियो 

            २. निर्णयतर्फ विचार गर्दा, हामी वादीहरूको अंशभागमा पर्ने जग्गा प्रतिवादीहरू एक आपसमा मिली हामी अंशियारहरूलाई लोप गरी जालसाजीपूर्ण तरीकाले बण्डापत्र गरी कीर्ते कागजको ३ नं वमोजिम परिभाषित कसूर गरेको हुँदा र.नं १६५।१४३ मिति २०३१।८।४ को पारीत बण्डापत्र जालसाज घोषित गरी प्रतिवादीहरूलाई सजाय समेत गरिपाऊँ भन्ने मुख्य फिराद दावी भएको प्रस्तुत मुद्दामा वादीहरूको हक हिस्सामा पर्ने सम्पत्तिको २०३१ सालमा अंशबण्डा गरेको कार्यलाई जालसाजी ठहर्‍याएउपर प्रतिवादीहरूको दोहोर्‍याई पाउँमा निवेदन परी निस्सा प्रदान भै निर्णयार्थ इजलाससमक्ष पेश भएको देखिन्छ 

            ३. वादी प्रतिवादीहरू बीच मूल रूपमा अंशियारमा विवाद देखिन्छ । वादीले दुखरामका छोरा हाम्रा पति पिता मिख्खुराम हुन् भनेका र प्रतिवादीहरूले भिख्खुराम दुखरामको छोरा नभई लक्ष्मणको छोरा भएकोले हाम्रो अंशियार होइन भनेको देखिन्छ । यसरी नातामा नै विवाद देखाइएपनि वादीहरूका पिता तथा पति भिख्खुराम, दुखरामका पाँच भई छोरामध्ये माहिला छोरा प्रतिवादीहरूका एकासगोलका अंशियारभित्रका व्यक्ति भएकोले वादीहरूले प्रतिवादीहरूवाट ५ भागको १ भाग अंश पाउने भनी यसै लगाउको यिनै वादी प्रतिवादीहरू भएको २०६८CI०१४८  को अंश मुद्दामा आजै यसै इजलासवाट फैसला भएकोले सो मुद्दामा लिइएका आधार प्रमाण समेतवाट प्रस्तुत मुद्दाका वादी र प्रतिवादीहरू एउटै पुस्तेवारीका नाताभित्रका व्यक्ति भएकोमा अन्यथा देखिन्न 

            ४. पुनरावेदक प्रतिवादीहरूले दुखरामका जयराम, सीताराम, नारायण र सुदामा भन्ने खुशीराम समेत चार भाइ छोरा भएको  भनी मिति २०३१।८।४ मा बण्डापत्र पारीत गरेको सम्बन्धमा हेर्दा यी प्रतिवादीहरूले आफ्नो अंशियार नाताभित्रको व्यक्ति नभएको भने पनि २०२१ सालमा जयरामले भाई भिख्खुराम भनी भरेको १ नं. फाराम, गाउँ सर्जमीनका अधिकांश व्यक्तिले भिख्खुराम दुखरामको छोरा भनी लेखिएको र नातामा वयान गर्ने लसीरामले दुखरामको बोलाउने नाम लक्ष्मण भनेको समेतवाट भिख्खुराम समेत पुनरावदेक प्रतिवादीहरूको एउटै पुस्तेवारीभित्रको एकासगोल परिवारको अंशियार नाताभित्रको पुष्टि हुन्छ । यसरी एकासगोलको अंशियारभित्रको व्यक्तिलाई लोप गरी भएको उक्त बण्डापत्रलाई कानूनबमोजिमको भन्ने अवस्था हुन्न । अंशबण्डा भएको मितिवाट वादीहरूलाई फिराद गर्ने हदम्याद  नै नभएको भनी पुनरावेदक प्रतिवादीहरूले मुद्दा दोहोर्‍याई हेरी पाउँको निवेदनमा हदम्यादको प्रश्न उठाएको देखिन्छ । सो सम्बन्धमा हेर्दा वादीहरूको आफ्नो पति पिताले पाउने अंशहक नदिनको लागि दुखरामका पाँच भाई छोरामा भिख्खुरामलाई लोप गरी चार भाई मात्र भनी निजको अंशहक मेटने गरी बण्डापत्र गरेको देखिन्छ । यसरी नाताको प्रश्नमा विवाद भएपछि कुनै लिखतवाट नाता लोप हुन्छ भने त्यो निरन्तरको दूषित कार्य हुन्छ । अंशको हक कानूनले व्यवस्था गरेको जन्मसंग आएको हक हुनाले त्यस्तो हक मेटन वा कुनै लिखत कुन मितिमा खडा भएको भन्ने कुराले हदम्यादको प्रश्न उठाई अंश हक नै लोप गर्न दिन मिल्ने हुदैन । अंशियार देखिन्छ भने अंशियारले आफ्नो अंश वुझेको वा सो हक विधिवत परित्याग गरेको अवस्थामा वाहेक निरन्तर कायम रहने विषय भएकोले अन्य अन्य व्यक्ति भई गरेको लिखतबाट अंशियारको हकमा कुनै अनुचित सीमा शर्त सिर्जना भएको वा हक गुमेको भन्न मिल्ने देखिदैन । त्यस्तो दूषित कार्य गरेको लिखत थाहा पाएपछि फिराद गर्न पाउने हदम्याद प्राप्त गर्ने नै हुन्छ । अर्थात् मिति २०३१।८।४ मा भएको बण्डापत्रमा अंशियार लोप गरेपनि अंश पाउन वाँकी रहेका अंशियार समेतको कानूनबमोजिम अंश हक लाग्ने सम्पत्तिमा निजको हक नै पूर्ण रूपमा मेटने उद्देश्य लिई दूषित मनसायले अंशियार लोप गरी  गरेको त्यस्तो बण्डापत्रवाट अंश लिनुदिनु गरेको कार्य जालसाजीको परिभाषाभित्र पर्ने नै हुन्छ  । अंश पाउने व्यक्तिलाई नै लोप गरी अंश जस्तो हकवाट पूर्ण रूपमा वञ्चित गराई अंशहक मेटने कार्य गरी गरेको त्यस्तो दूषित बण्डापत्र गरेको थाहा पाएपछि असर पर्ने पक्षले मुद्दा गर्न पाउने नै देखिंदा प्रतिवादीहरूले भने जस्तो हदम्यादको अभावमा फिराद दायर भएको भनी अर्थ गर्न मिल्ने देखिन्न 

            ५. तसर्थ माथि उल्लिखित आधार र कारणवाट यी वादी र प्रतिवादीहरू एउटै पुस्तेवारी नाताभित्रका व्यक्तिहरू भएको र वादीहरूले प्रतिवादीहरूवाट अंश पाउने हक सुरक्षित भएको अवस्थामा अंशियारलाई नै नदेखाई लोप गरी अंश हक मेटने कार्य गरी मिति २०३१।८।४ मा भएको अंशबण्डाको कार्य दूषित भै जालसाजीपूर्ण देखिएको छ । यस्तो जालसाजी कार्य गरी गरेको दूषित वण्डपत्रवाट नाता नै लोप हुन्छ भन्ने त्यस्तो दूषित कार्यको विरुद्धमा थाहा पाएपछि हदम्याद प्राप्त हुने भै असर पर्ने पक्षले मुद्दा गर्न कुनै कानूनले वन्देज नलगाएको यस स्थितिमा मुद्दा गर्न सक्ने र त्यस्तो दूषित बण्डापत्र वदर गरी सो जालसाजी कार्यमा संलग्नलाई सजाय समेत हुने नै हुँदा यस अदालतवाट हदम्यादको आधारमा मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान आदेशसंग सहमति हुन सकिएन । अतः पुनरावेदन अदालत दिपायलवाट शुरु अदालतले विवादित मिति २०३१।८।४ मा गरेको बण्डापत्रको कार्यलाई जालसाजी ठहराई सो बण्डापत्र गर्ने प्रतिवादीमध्येका जीवित रहेको सुदामा भन्ने खुशीराम डगौरा थारूलाई जालसाजीको विगो रु.१४,०००। को २५ प्रतिशतले हुने रु.३,५००। जरीवाना समेत हुने ठहराई गरेको फैसला मिलेकै देखिंदा सदर हुन्छ ।  प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न नसक्ने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनू 

उक्त रायमा म सहमत छु 

न्या.तर्कराज भटृ

इति संवत् २०६९ साल जेठ १७  गते रोज ४ शुभम्...

इजलास अधिकृत : श्रीप्रसाद संजेल 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु