शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९३० - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९३० ने.का.प. २०४१             अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको रिट नं. १४६२

विषय : उत्प्रेषण

निवेदक : का.जि. विष्णु गा.पं. वडा नं. ७ बस्ने धनकुमारी ठकुरानी

विरूद्ध

विपक्षी    : का.जि. बुढानिलकण्ठका प्रहरी थाना इन्चार्ज स.ई. रत्नप्रसाद नेपाल

का.जि. विष्णु गा.पं. वडा नं. ५ बस्ने ऐ गा.पं. को प्र.पं. गुण बहादुर खडका

ऐ ऐ बस्ने मिन बहादुर ठकुरी

ऐ ऐ बस्ने माहीला ठकुरी

ऐ ऐ बस्ने गोपाल ठकुरी

ऐ ऐ बस्ने उदय ठकुरी

ऐ ऐ बस्ने केशव ठकुरी

ऐ ऐ बस्ने पुष्कर ठकुरी

ऐ ऐ बस्ने रामचन्द्र ठकुरी

ऐ ऐ बस्ने श्याम कृष्ण ठकुरी

ऐ ऐ बस्ने राधा ठकुरीनी

ऐ ऐ बस्ने ज्ञानी ठकुरीनी

ऐ ऐ बस्ने विष्णु गा.पं. कार्यालय सचिव प्रदीप कुमार लामा

आदेश भएको मिति : २०४१।३।१८।१ मा

§  नावालक छोराको जिम्मा लगाउने कागज १ तिनीहरूको सम्पत्तिको संरक्षण गर्ने १ मोटरको नाउँसारी गरी दिने १ समेत तीनथान कागज गराएको कुरा प्र.पं. र गा.पं.सचिवको लिखितजवाफबाट देखिन्छ । त्यस्तो कागज गराउन पाउने अधिकार प्र.पं.र गा.पं.सचिवहरूलाई नभएको ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा :  विपक्षी स.ई.रत्नप्रसाद नेपालले ०४०।५।११।७ मा गर्नु गराउनु भएको कागज बदर गरिपाउँ भन्ने संविधानको धारा ७१ अन्तर्गत पर्न आएको ०४०।५।२३।५ को रिट निवेदन पत्रको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

          २.   २०४०।५।११।७ का दिन बिहान ९ बजेको समयमा भात पकाई नाबालक छोराहरूलाई भात खुवाउन लागेको बखत प्र.पं.गुणबुहादुर खड्का मेरो घरमा आई हतार छ एउटा कुरा सोध्नु परेकोले एकछिन बाहिर आउनु पर्‍यो भनी हाम्रो नातेदार समेत भएकोले बाहिर आउँदा देवर नाता पर्ने मिनबहादुर ठकुरी १ सौतेनी छोरा रामचन्द्र ठकुरी १ र रामेश्वर ठकुरी १ समेतका व्यक्तिहरू रहेछन् । प्र.पं गुणबहादुरले सौताको छोरा र तिम्रो अंश छुट्याई दिनु पर्‍यो पञ्चायतमा हिंड भनेकाले एकछिन पछि आउँछु भन्दा हामीलाई फूर्सद छैन भनेकाले निजहरूको साथ लागि गा.पं.कार्यालय भवनमा पुग्दा सम्पूर्ण विपक्षी बसी राखेका रहेछन् गा.पं.का सचिव प्रदीपकुमार लामाले पहिले नै लेखी राखेको फुलिस्केप कागजमा सही गर भनी सचिवले भन्दा मेरो भागमा के कति र कुनकुन जग्गा पर्‍यो पढी बाँची सनुाउनुहोस् भन्दा सही गर एक प्रतिलिपि तिमीले पनि पाइहाल्छौ भनी मेरो दाहिने हातमा प्र.पं.गुणबहादुरले समाई मिनबहादुरले छापदानी मेरो हातमा लगाई लेखी राखेको तीन थान कागजको शीर पुछारमा बूढी औंलाको ल्याप्चे सहिछाप गराउनु भयो । पुलिस थाना पनि साक्षी राखी छाप लगाउनु पर्छ भनी मलाई प्रहरी थानामा ०४०।५।११।७ का दिनको बिहान ९।३० बजेको समयमा मलाई पुर्‍याउँदा नचिनेको नजानेका धनबहादुर थापालाई कोठामा लुकाई राखेका रहेछन् थानाका हाकिम रत्नप्रसाद नेपालले धनबहादुरलाई बोलाई लौ सही गर छाडी दिन्छु भन्नु भई धनबहादुरलाई सही गराई निजलाई बाहिर पठाई दिएँ पहिले नै लेखी राखेको सोही फुलिस्केप कागजमा हाकिम रत्नप्रसादले मेरो दाहिने हात समाई स्टाम्प प्याडमा मेरो हात थिचाई रातो प्याजी रंगको छापदानी बूढी औंलामा लगाई मलाई सोद्धै नसोधी सही गराई तिमी र धनबहादुर थापा अब उप्रान्त लोग्ने स्वास्नी भयौ भनी भन्नुभयो । मेरो सौतेनी छोरा श्यामकृष्ण राममचन्द्र ठकुरी समेतका व्यक्तिले झुठ्ठा लान्छना लगाई उजूर दिई सोही आधारमा मलाई गराएको कागज अ.बं.३५ ले बदरभागी छ । नेपालको संविधानको धारा ७१ अन्तर्गत निवेदन गरेको छु । ०४०।५।११।७ मा गा.पं.कार्यालय र थानाबाट गराएको कागज बदर गरिपाउँ भन्ने समेत रिट निवेदन पत्र रहेछ ।

          ३.   विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिङ्गलबेञ्चको ०४०।५।२६।१ को आदेश रहेछ ।

          ४.   धनकुमारीलाई थानामा झिकाएकै छैन । धनकुमारीले ०४०।५।११ गते गरी दिएको कागज गा.पं.को प.सं.२५५।०४०।४१ मिति ०४०।५।११ गते यस थानामा प्राप्त गरी दर्ता भई पाना २ को कागजको नक्कल प्रस्तुत गरिएको छ । रिट खारेज गरिपाउँ भन्ने समेत स.ई.रत्नप्रसाद नेपालको लिखितजवाफ रहेछ ।

          ५.  विपक्षी पञ्चायतमा स्वयं आई आफू पोइल गएकोले निजको नाबालक छोरा दुई र निजको धनमाल संरक्षण गरी दिन मौखिक अनुरोध गरेको हुँदा ०४०।५।११ गते निजले भनेको कुरा म सचिवले लेखी दिएको । विपक्षीले आफ्नो दुई नाबालक छोराहरूको जिम्मा लगाउने कागज १ तिनीहरूको सम्पत्ति संरक्षण गर्ने १ र विपक्षीको नाउँमा रहेको मोटरको नाउँसारी निजको छोराहरूको नाउँमा गरी दिने १ जम्मा ३ थान कागज लेखाउनु भयो । विपक्षीकै सौताको छोराहरूकै जिम्मा लगाइएको छ । विपक्षीले पञ्चायतमा गरीब कंगालको महल अन्तर्गतको स्वयंले भनी सहिछाप समेत गरेको करकापसँग कागज गराएको भए नालेश गर्न सक्नु पर्ने । निजकै मागअनुसार संरक्षणको व्यवस्था गरिएको छ । करकाप गरिएको भए मुद्दा दिन पाउने थिए । हामीले विपक्षीले लेखे बमोजिम गैरकानूनी काम नगरेको हुँदा रिट खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्र.पं.गुणबहादुर खड्का १ सचिव प्रदीपकुमार लामाको लिखितजवाफ रहेछ ।

          ६.   विपक्षीको साविक पति ०३७।९।३ गते परलोक भएको वहाँको जेठी पत्नीको हामी छोरा विपक्षी धनबहादुरको पत्नी बनी कसैको घरमा गएको पोइल गएको विपक्षीले खुशीराजीसँग जिम्मावारी कागज गरी मालसामान जिम्मा लिएको हो । कसैले पनि करकापले विपक्षीलाई र धनबहादुर थापालाई लोग्ने स्वास्नी बनाएको होइन । निजहरू आफू खुशी लोग्ने स्वास्नी बनेको हुन् । मोटर र रुपैयाँ तिर्न पर्ला भन्ने डरले दुःख दिएको अ.बं.३८ नं. समेतले उपचार गर्ने बाटो खुल्ला नै छ । रिट खारेज गरिपाउँ भन्ने समेत व्यहोराको रामचन्द्र शाही ठकुरी १ राधिका शाही ठकुरी १ श्यामकृष्ण शाही ठकुरी १ समेतको लिखितजवाफ रहेछ ।

          ७.  नियम बमोजिम कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदकको वारेस श्री भक्त भडेललाई र प्र.पं.गुणबहादुर समेतको वारेस कृष्णप्रसादलाई रोहवरमा राखी रिट निवदेकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माले र प्रहरी थानाका तर्फबाट खटिई आउनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्माले गर्नुभएको बहस समेत सुनियो ।

          ८.   रिट निवेदकको माग बमोजिम आदेश जारी हुने हो होइन सोमा निर्णय दिनुपरेको छ ।

          ९.   यसमा नाबालक छोराको जिम्मा लगाउने कागज १ तिनीहरूको सम्पत्तिको संरक्षण गर्ने १ मोटरको नाउँसारी गरी दिने १ समेत तीनथान कागज २०४०।५।११।७ मा गराएको कुरा प्र.पं.गुणबहादुर खड्का र गा.पं.सचिव प्रदीपकुमार लामाको लिखितजवाफबाट देखिन्छ । त्यस्तो कागज गराउन पाउने अधिकार प्र.पं.र गा.पं.सचिवहरूलाई नभएकोले उत्प्रेषणको आदेश जारी गरी अधिकार विहिन गराएको कागजहरू बदर गरी दिने ठहर्छ । फाइल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल आषाढ १८ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु