शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९५० - बकसपत्र बदर

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९५०   ने.का.प. २०४१                   अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.पु.नं. १९३

मुद्दा : बकसपत्र बदर

पुनरावेदक/वादी : का.जि. का.नं. प. साविक वडा नं. २५ हाल ५ नं. वडा अन्तरगत टंगाल दरवार बस्ने सत्यशमशेर ज.ब.रा.

विरूद्ध

विपक्षी/प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगरपञ्चायत वार्ड नं. २ रामकुंज घरमा बस्ने हिमालय खड्का

फैसला भएको मिति :  २०४१।१।२४।१ मा

§  कानूनी मान्यता प्राप्त बकसपत्रमा उल्लेख भएको व्यहोराबाट उक्त सम्पत्ति पेवा भई स्त्री अंश धनको ४।५ नं. अनुसार आफूखुस गर्न पाउनेमा कुनै कानूनी अड्चन पर्न सक्ने अवस्था देखिन नआउने ।

(प्रकरण नं. १८)

§  शंकायुक्त स्थितिको कागज प्रतिवादीको विरूद्ध प्रमाण लाग्न सक्ने देखिएन ।

(प्रकरण नं. १९)

पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अ.श्री गंगाप्रसाद उप्रेती

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मोतिकाजी स्थापित र विद्वान बरिष्ठ अधिबक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना

उल्लेखित मुद्दा : x

फैसला

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चाल क्षेत्रीय अदालतबाट २०३७।१।३।३ मा भएको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी ०३७।२।२।५ मा पर्न आएको निवेदनपत्रमा २०३८।४।१८।१ मा अनुमति भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

          २.  म सत्यशमशेर ज.ब.रा.स्वर्गीय ज.रामशमशेर ज.ब.रा.को विवाहिता पत्नी समुद्रकुमारीको छोरा हुँ म परशुराम शमशेरको अर्को श्रीमती तर्फको छोरा हुँ विपक्षी हिमालय खड्का समुद्रकुमारीतर्फको छोरी कोमलकुमारीको छोरी हुँदा भान्जी नाता पर्ने हुन स्वर्गीय बुबा ज.रामशमशेरको अर्को पत्नी रामकुमारी राणाको सौतेनी नातिनी हुन् हामी सौतेनी छोरा हौं आमा रामकुमारी ०३३।८।२२ गते स्वर्गीय हुनुभएपछि हामीहरूले दाह संस्कार काजक्रिया समेत गरेको छु । बुबा ज.रामशमशेरले स्वर्गीय श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवबाट ०६।१२।२१।१ मा बन्देजको रूपमा बक्स भएको लालमोहर बमोजिम जनकपुरको साविक ६१८१२ हाल नापीमा ठहर भएको ५५ जग्गा र सो जग्गामा बुबाज्यूले बनाएको रामकुञ्ज घर गोदाम ग्यारेज मिल बिजुलीको मेसनरी बाग बगैंचा र घरमा रहेको माल सामान समेत सौतनी आमा रामकुमारीदेवीलाई ०८।७।२८।४ मा बकसपत्र लेखी रजिष्ट्रेशन गरी दिनुभएको र सो घरमा अचल सम्पत्ति ०९।९।७।१ मा रजिष्ट्रेशन पारित गरी दिनुभएको हो । ०६।१२।२१ मा स्वर्गीय श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवबाट बन्देजको रूपबाट बुबाले पाएको बक्सपत्र अनुसारले खाएको जग्गा बुबाले ०८।७।२८।४ मा सौतेनी आमा रामकुमारीदेवीलाई पास गरी दिनुभएकोलाई नै आमा समुद्रकुमारीदेवीले ०३०।११।३ मा शेषपछिको बकसपत्र भू.सु.का.धनुषा डोर मुकाम रामकुञ्जबाट पारित गरी दिनुभएको र सो बकसपत्र दाता रामकुमारीको ०३०।११।२५ को दर्खास्त बमोजिम ०३०।११।२७ मा भू.प्र.का.धनुषाबाट बदर समेत भइसकेको छ । त्यसपछि ०३१।६।२१ मा ४१६१० मा हालै देखि र ०३१।७।२९ मा घरहरू सहितको १११ शेषपछिको विपक्षी हिमालय खड्कालाई बकसपत्र लेखिदिनुभएकोमा दुवै लिखत पास गराउन पृथकपृथक नालेश गरेकोमा हाल देखिको बकसपत्र पारित हुने ठहरी ०३२।८।३ मा धनुषा जिल्ला अदालतबाट फैसला शेषपछिको बकसपत्रको हकमा ०३२।१२।२० मा डिसमिस भएको छ । विपक्षी हिमालय खड्काले पुनः ०३२।९।२३ मा भू.प्र.का.मोरङबाट र.नं. ९७० मा थैली रु.२,००,०००। राखी ०३३ सालको बाली देखि खान पाउने गरी प्र.रामकुमारीबाट बकसपत्र पारित गराई लिनुभएको छ । उक्त घर जग्गा बुबा रामशमशेरले ०६ सालमा श्री ५ त्रिभुवनबाट बक्स भएको लालमोहर बमोजिमको सम्पत्ति भएको र उक्त लालमोहर आफ्ना खातिर सन्तान दरसन्तान राख्न पर्ने बन्देज राखी लालमोहर बक्स भएको हुँदा बुवाज्यूको सन्तान दर सन्तानमा रहनु पर्ने भएबाट बुबा रामशमशेरले रामकुमारीलाई ०८।०९ सालमा गरी दिएको बकसपत्र आफ्नो स्वास्नी सन्तान भएको हुँदा लालमोहर विपरीत नभएको तर रामकुमारीको हकवाला छोरा सन्तान फिरादीहरू भएकोले नातिनी अर्थात छोरीको छोरी हिमालयलाई बकसपत्र गरी दिँदा लालमोहर विपरीत गरेको छ । रामकुमारीलाई हाई ब्लडप्रेशर भएको वृद्ध भई इन्द्रियहरू सिथिल हुन गई होस ठेगान नरहेको भन्ने विपक्षी हिमालयले नै श्री ५ महाराजाधिराजका जुनाफमा चढाउनु भएको बिन्तिपत्रको वोधार्थ ध.जि. अ.मा ०३२।१०।८।५ मा दर्ता भएकोबाट पनि ज्ञान हुन्छ । त्यसपछि विराटनगर आफ्नो घर लगी आमा रामकुमारीबाट गरी लिएको लिखत मुलुकी ऐन अ.बं.को २४ नं. विपरीत भएको भन्ने प्रष्ट छ । मुलुकी ऐन दान बकसको १ नं. २ नं. बमोजिम फिरादीहरूको मञ्जूरी बेगर ऐनको ५ नं. बमोजिम दाता रामकुमारीले लालमोहर बमोजिम बन्देज गरी दिएको दिनै नपाउने दिएको र हिमालयले बकसपत्र मिति ३२।९।२३ मा पारित भएको मितिले २ वर्षभित्रै नालेश गरेको छ । बक्स भएको हु.प्र.बमोजिम हामीलाई रोहवरमा राखी कारवाही गर्नुपर्नेमा सो नगरी ०६ सालको लालमोहरलाई गलत व्याख्या गरी रामकुमारीले आफूखुस गर्न पाउने गरी ०३२।१०।२ मा ज.पु.अञ्चलको कार्यालयले प्रचार गरेकोबाट हु.प्र.बमोजिम हुनसकेको छैन उक्त लालमोहरको विपरीत र दान बकसको ५ नं. अ.बं.को २४ नं. को विपरीत भएकोले बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ ।

          ३.  ०६।१२।२१।१ मा ज.रामशमशेरलाई बक्स भएको लालमोहरलाई बन्देज रूपमा संज्ञा दिनुभएको तर सो लालमोहर बन्देज रूपमा बक्सेको नभई दान दातव्य बेच बिखन समेत गर्न पाउने गरी सन्तान दरसन्तान आफ्नो जानी आफूखुस भोग चलन गर्न बक्सेको हो ज.रामशमशेरले दाता जिजु मुमा रामकुमारीदेवीलाई फिरादमा उल्लेख सम्पूर्ण जग्गा लगायत समेत दान दातव्य बिक्री व्यवहार समेत गर्न पाउने गरी आफूखुश भोग चलन गर्ना निमित्त पेवा रूपमा बन्देजयुक्त बकसपत्र लेखी ०८।७।२८।४ मा पारित गरी दिएको हो कुन किसिमबाट लिनुदिनु गर्नै नहुने हैन वादी दावीबाट फूर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रहेछ ।

          ४.  मेरो दस्तखत वा रजिष्ट्रेशनबाट यो निवेदन आएको वा दर्ता भएको पनि छैन । विक्षिप्त भन्ने शब्द पहिलेको अक्षर खुर्की पछि थप गरी लेखिएको हो र ध.जि. अ.भन्ने अक्षर पनि पछिबाट थपिएको हो भन्ने समेत प्र.हिमालय खड्कातर्फबाट कानून व्यवसायी विद्वान अधिवक्ता युगलकिशोरको बयान रहेछ ।

          ५.  विपक्षी भन्ने शब्द खुर्किएको छैन हाम्रो प्रमाण नष्ट गर्न विपक्षीले नै खुर्के खुर्काएको हुनुपर्छ ध.जि. अ.भन्ने शब्द पनि विपक्षीले नै लेखेको हो भन्ने समेत वादी पक्षको विद्वान अधिवक्ता विश्वनाथ उपाध्यायको बयान रहेछ ।

          ६.  रामकुमारी विक्षिप्त प्र.रोगी भन्ने निवेदन सनाखत गराउँदा मैले दिएको हैन विजयप्रतापले धोखा दिई सही मराएको विक्षिप्त भन्ने अक्षर खुर्की सचिएको छ सो पछि थपिएको भनी हिमालय खड्काको तर्फबाट युगलकिशोरलले बयान गरेको हुनाले खुर्किई सच्याई लेखिएको देखिएको भन्ने विशेषज्ञको राय । निवेदन हेर्न पत्ता लगाउँदा पत्तै लाग्न नसकेकोले सो निवेदन प्रमाण लाग्न सक्ने देखिएन तसर्थः रजिष्ट्रेशनको २३ नं. मुताविक गरी पारित गर्ने सम्बन्धित अधिकारीहरू उपर पनि उजूर गर्न नसकेको समेतबाट वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत धनुषा जिल्ला अदालतको फैसला रहेछ ।

          ७.  उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादीहरूको पुनरावेदन रहेछ ।

          ८.  विक्षिप्त अवस्थामा बकसपत्र गराएको भए दाता रामकुमारीले नै सो बकसपत्र उपर उजूर गरी बदर गराउन पर्ने थियो निज दाताले उजूर गरेको पाइँदैन । अचेत अवस्थामा बक्सपत्र गराएको भन्ने सबूत पुर्‍याउने भार वादीमा पर्छ निज वादीले त्यसको सबूत प्रमाण गुजार्न सकेको पाइँदैन । सो अतिरिक्त मिसिल सामेल रहेको रेखा विशेषज्ञको राय हेरेमा दावीको लिखतमा उल्लेख भएको विक्षिप्त भन्ने अक्षर खुर्की सच्चिएको देखिन्छ भनी राय व्यक्त भएको देखिन्छ । सबूतको अभावमा अचेत अवस्थामा लिखत गराएको रहेछ भन्ने वादीको दावी पुष्टी हुन आएको छैन शुरू अदालतको इन्साफ मनासिब छ जालसाजीमा सजाय गरिपाउँ भन्ने प्र.हिमालय खड्काको दावीको हकमा सक्कल लिखत पेश हुन नआएको बोधार्थ मात्र अदालतको छिनुवा मिसिलमा रहेको देखिनाले त्यसतर्फ विचार गरी रहन पर्ने देखिएन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

          ९.  उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदनपत्रमा मिसिल सामेल रहेको ०३२।१०।८ मा हिमालय खड्काले श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको निवेदन पत्रमा लेखिएको विक्षिप्त भन्ने शब्द खुर्की सच्याई लेखेको भन्ने लेखा तथा रेखा विशेषज्ञको राय भएकोले प्रमाण ऐन, ०३१ को दफा ५२ अनुसार विशेषज्ञलाई अदालतमा उपस्थित गराई बुझी यकीन गरेर मात्र सो कुरा प्रमाणमा लिनु पर्नेमा सो बमोजिम नगरेको प्रमाण ऐन, ०३१ को दफा ५२ को त्रुटि भएको र उक्त कुरा सार्वजनिक महत्त्वको विषय समेत देखिँदा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ । नियम बमोजिम गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।४।१८।१ को आदेश रहेछ ।

          १०. प्रमाण ऐन, ०३१ को दफा ५२ बमोजिम रेखा तथा लेखा विशेषज्ञ श्री रामबहादुर थापालाई बयान गराउन उपस्थित गराई नियम बमोजिम पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।१२।२७।६ को आदेश रहेछ ।

          ११.  रामबहादुर थापाले ०३९।१०।२७।५ मा गरेको बयान रहेछ ।

          १२. प्रमाण निमित्त प्राप्त भएको धनुषा जिल्ला अदालतको निवेदन दर्ता किताबमा नं. १६५१ मा ज.पु.अ.बाट आएको जनिएको हिमालय खड्काको नाउँबाट दिएको निवेदन जनकपुर अञ्चल अदालतमा कुन मितिमा कसले दर्ता गरेको र कुन मितिमा के व्यहोरा लेखी धनुषा जिल्ला अदालतमा पठाएको छ । त्यसको सम्बन्धमा जनकपुर अञ्चल अदालतबाट जवाफ लिने।

          १३. हिमालय खड्काको वारेस युगलकिशोरलालले जिल्ला अदालतमा ०३४।११।१२।५ मा गरेको बयान अनुसार विजयप्रताप राणालाई बुझ्नु पर्ने देखिँदा निजको वतन हिमालय खड्काबाट खुलाउन लगाई निजको वारेसले गरेको बयानको सम्बन्धमा विजयप्रताप राणाको बयान गराई पठाउनु भनी धनुषा जिल्ला अदालतलाई लेखी पठाउनु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३९।१२।७।२ को आदेश रहेछ ।

          १४. धनुषा जिल्ला अदालतमा २०४०।७।१३।१ मा विजयप्रताप राणाले गरेको बयान रहेछ ।

          १५. मुद्दा शाखाबाट प्रस्तुत गरेको टिप्पणी व्यहोरा पेश भयो । यसमा प्रस्तुत मुद्दा निर्णयको लागि नियमअनुसार पेशगर्नु भने सर्वोच्च अदालत डिभिजन बेञ्चको २०४१।१।७।५ को आदेश रहेछ ।

          १६. नियम बमोजिम कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक सत्यशमशेर ज.ब.रा.को वारेस देविभक्तलाई बेञ्चबाट तीनपटक सम्म बोलाउन लगाउँदा पनि उपस्थित नभएको र हिमालय खड्काको वारेस मकरमान श्रेष्ठलाई रोहवरमा राखी पुनरावेदकतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीको र विपक्षी प्रतिवादी हिमालय खड्कातर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित र विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गानाले गर्नुभएको बहस समेत सुनियो ।

          १७. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के हो ? सोमा निर्णय दिनुपरेको छ ।

          १८. यसमा बदर गरिपाउँ भनी वादीले दावी लिएको मिति ०३२।९।२३ मा हिमालय खड्काले पाएको बकसपत्रको दाता रामकुमारीले विवादको सम्पत्ति रामशमशेरबाट मिति ०८।७।२८।४ को बकसपत्रबाट पाएको देखिन्छ । उक्त बक्सपत्रमा मेरो आर्जनको जेथा भई लालमोहर ०५ साल फाल्गुणको बण्डापत्र मुताविक मैले, फ्नो खुस गर्न पाउने हुनाले मेरो सगोलमा अर्को स्वास्नी छोरा नहुनाले कसैले दावी गर्न पाउने छैन गरे यही कागज देखाई बदर गरी दिनु लेखेको घर जग्गा माल मिसनरी तिमीले आफ्नो खुस गर्न पाउने गरी बकस जानी भोग चलन गर्नु भन्ने उल्लेख भएको पाइन्छ सो बकसपत्रमा ०६।१२।२० को लालमोहरको विपरीत भयो भनी कसैले उजूर वाजुर गरी बदर गराएको देखिन्न । त्यस्तो कानूनी मान्यता प्राप्त बकसपत्रमा उल्लेख भएको व्यहोराबाट उक्त सम्पत्ति रामकुमारीको पेवा भई स्त्री अंशधनको ४।५ नं. अनुसार निज रामकुमारीले आफू खुस गर्न पाउने भएको कानूनी अड्चन पर्न सक्ने अवस्था देखिन आउँदैन । त्यस्तो ऐनले आफूखुस गर्न पाउने सम्पत्ति निज रामकुमारीले हिमालय खड्कालाई बकसपत्र लेखी दिएकोबाट उक्त ०६ सालको लालमोहरको विपरीत भयो भन्न मिल्दैन । साथै मिति २०३२।७।७।६ मा सत्यशमशेर ज.ब.रा.समेतले श्री ५ महाराजाधिराजको हजूरमा चढाउनु भएको बिन्तिपत्रको व्यहोरा हेर्दा बुबाज्यूको नाममा रहेको चल अचल सम्पत्ति र बुबाज्यूबाट रामकुमारीको नाउँमा आएको चल अचल सम्पत्तिहरू हामी हकदारलाई नसोधी जग्गा जमीन घर चल अचल सम्पत्ति नामसारी गर्ने र बेच बिखन गर्ने उद्देश्य हामीहरूको हक मार्ने विपक्षीले बेपर्वाहक साथ नोक्सान गर्न थालेकोले हाल घर जग्गा नामसारी र बिक्री गरेको र बकसपत्र गरेको समेत बदर गरी हक छोडी अर्कोलाई दिन नपाओस् आयस्ता सम्म उनैले खान पाइने गरी रोक्का गरी दिनु भन्ने हुकुम प्रमांगी पाउँ भन्ने समेत व्यहोराको माग गरेको देखिन्छ । उक्त बिन्त्रिपत्रमा मिति २०३२।७।९।१ मा अञ्चलाधीशले बुझी ऐनले अरूलाई दिन नपाउने जति दान बकस बिक्री समेत कुनै व्यहोराको लिखत गरी दिन नपाउने गर्न सम्बन्धित कार्यालयलाई र दुवै पक्षलाई लेखी पठाउनु भन्ने हु.प्र.बक्स भई अञ्चलाधीश कार्यालयमा गएकोमा उक्त हु.प्र.बमोजिम अञ्चलाधीश कार्यालयबाट कारवाई हुँदा स्त्री अंश धनको महलको ४ नं. ले लोग्नेले दिएको सम्पत्ति पेवाको रूपमा पाउने भयो बकसपत्र बदर गरेको भने देखिएन यस्तो स्थितिमा रामकुमारीले पाएको माथि उल्लेख भएको कागज बमोजिमको बकस पेवा जति आफ्नो खुस गर्न पाउने हुँदा रोक्का राखी दिन मिलेन भनी २०३२।१०।२ गते निर्णय भएको देखिन्छ । जसअनुसार पनि रामकुमारीले विवादको सम्पत्ति बकस गरी दिनलाई कुनै बाधा देखिन आउँदैन । यस्तो स्थितिमा रामकुमारीले विवादको सम्पत्ति हिमालय खड्कालाई बकस दिँदा ०६ सालको लालमोहरको विपरीत भयो भन्ने वादी निवेदकको तर्फबाट प्रस्तुत गरिएको तर्कसँग यो बेञ्च सहमत हुन सकेन ।

          १९. अब निज निवेदक वादी तर्फबाट अ.बं.२४ नं. ले विवादको बकसपत्र सदर हुन नसक्ने भन्ने जिकिर लिएको पाइन्छ । यस सम्बन्धमा हिमालय खड्का वादी रामकुमारी प्रतिवादी भएको लिखत पारित मुद्दाको मिसिल साथ रहेको ध.जि. अ.मा मिति ०३२।१०।८ मा दर्ता भएको हिमालय खड्काको हस्ताक्षरबाट लेखिएको बिन्तिपत्रको बोधार्थ भनिएको कागजको आधार वादीले लिएको पाइन्छ । वादी उक्त बोधार्थमा हाइब्लड प्रेशरको विक्षिप्त रोगी हिँडडुल राम्रो गर्न नसक्ने रामकुमारी भन्ने उल्लेख भएकोले त्यस्तो विक्षिप्तले अ.बं.को २४ नं. अनुसारको प्रक्रिया नअपनाई गरी दिएको कागज कानूनको दृष्टिमा मान्यता पाउन सक्तैन भन्ने तर्क गरेको पाइयो उक्त बोधार्थ कागजको सक्कल प्राप्त हुनसकेको छैन । यस अदालबाट मिति ०३९।१२।७।२ मा भएको आदेशानुसार जनकपुर अञ्चल अदालत बुझ्दा पनि यस बोधार्थको श्रोत पत्ता लाग्न सकेन । यसबाट वास्तवमा यो बोधार्थ बमोजिमको निवेदन निज हिमालय खड्काले श्री ५ महाराजाधिराजको हजुरमा चढाएको भन्ने कुरा नै शंकारहित रूपमा स्थापित हुनसकेको छैन । यसको अतिरिक्त उक्त बोधार्थमा लेखिएको विक्षिप्त भन्ने अक्षरहरू मध्ये क्षि.पृ.शुरू अक्षरबाट खुर्किई सच्याई लेखिएकोदेखिएको भन्ने रेखा तथा लेखा विशेषज्ञको राय देखिन्छ । यस्तो शंकायुक्त स्थितिको बोधार्थ कागजलाई प्रतिवादी हिमालय खड्काको विरूद्ध प्रमाण लाग्न सक्ने देखिएन ।

          २०. अतः उपरोक्त बुँदा प्रमाणहरूको आधारमा रामकुमारीले हिमालय खड्कालाई गरी दिएको मिति ०३२।९।२२ मा पारित भएको बकसपत्र बदर हुन सक्ने कुनै अवस्था देखिएन । वादी दावी नपुग्ने ठहर्‍याई शुरू धनुषा जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी जनकपुर अञ्चल अदालतले गरेको फैसलालाई मनासिब ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै कानूनी त्रुटि देखिन आएन । उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर हुन्छ । पुनरावेदक वादी सत्यशमशेर ज.ब.रा.को वारेश देविभक्त तिवारीले पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३। तीन रुपैयाँ सदर स्याहा गर्न ०३८।४।२५ मा पठाएको मिसिलबाट देखिएको कोर्टफी लागी दायर भएको देखिँदा कसैलाई केही गर्नु परेन मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बासुदेव शर्मा

 

इति सम्वत् २०४१ साल वैशाख २४ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु