शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९५३   ने.का.प. २०४१           अङ्क ४

डिभिजन बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको रि.नं. १२७३

विषय : उत्प्रेषण

निवेदक : धनुषा जिल्ला सोनीगामा गा.पं. वा.नं. ८ बस्ने राम रतन केवट मण्डल

विरूद्ध

विपक्षी   : भू.स.का.धनुषाका भूमिसुधार अधिकारी श्री केदारबहादुर हमाल

धनुषा जिल्ला सोनीगाम गा.पं. वा.नं. ८ बस्ने सुदामादेवी हजामनी

धनुषा जिल्ला जिल्ला अरही गा.पं. वा.नं.  ४ बस्ने राज किसोर सिंह राजपूत

आदेश भएको मिति :   २०४१।३।१९।२ मा

§  वादी प्रतिवादीमा उल्लिखित व्यक्तिलाई मात्र अड्डा अदालतले बुझ्न पर्ने ।

(प्रकरण नं. १२)

§  पति पत्नीको संयुक्त परिश्रमबाट कमाई आइरहेको जग्गामा पछि विपक्षीले कमाई आएकोले निजको नाउँमा मोहियानी प्रमाणपत्र दिएकोलाई भूमिसम्बन्धी ऐनको २५(१) को त्रुटि भयो भनेर भन्न सकिने स्थिति नदेखिने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : 

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सुनिल अधिकारी र विद्वान सरकारी अधिबक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ :

          २.  प्रतिवादी राजकिशोरसँग निजको जोत भोग दर्ताको मोही नरहेको धनुषा जिल्ला सोनीगामा गा.पं. वा.नं. ८ कि.नं. १३२ को ०१६६ मध्ये पूर्वतर्फबाट ०१०० दश कठ्ठा जग्गा रु.१५,०००। पन्ध्र हजारमा मालपोत कार्यालय धनुषाबाट मिति ०३८।१।१ मा राजीनामा पास गरी निवेदकले खरीद गरी लिएको र स्वयं आफ्नो श्रमबाट बाली लगाई उपभोग गर्दै आएकोमा राजीनामा जग्गाधनी प्रमाणपूर्जा मोठ श्रेस्ता तथा म भन्दा अघि मेरो दाता स्वयंले आफ्नो श्रमबाट जोत्दै आएको समेतको प्रमाणबाट मोही कोही पनि नभएको कुरा अन्तिम रूपमा समर्थन रही रहेकोमा प्रत्यर्थी सुदामादेवीले आफू र आफ्नो पति रघुनन्दनको संयुक्त परिश्रमले कमाउदै आएको भनी मोही हकको प्रमाणपत्र पाउन प्रत्यर्थी भूमिसुधार कार्यालयमा उजूरी गर्दा मेरो दाताले विपक्षी मोही होइन भन्ने प्रतिवाद गरेको वावजूद पनि प्रत्यर्थी कार्यालयले आफ्नै कार्यालयबाट मिति ०३८।५।३ मा भएको निर्णयको प्रतिकूल मैले खरीद गरेको जग्गाको २ नं. प्रकाशन र ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त नरहेको नभएको साथै भनिएको २ नं. र ४ नं. अघि मिति ०३८।५।३ गतेको निर्णयबाट समेत प्रमाणित उद्घोषित भइरहेको विपरीत सोही निष्कृय २ नं. र ४ नं. लाई प्रमाणमा लगाई प्रतिवादीको अनुपस्थितिमा भए गरेको मान्यता विहिन सरजमीन समेतको आधारमा मोही नै नरहेको विपक्षी सुदामादेवीलाई मोही ठहर्‍याई प्रमाणपत्र दिने र मोठ श्रेस्तामा मोही जनाई दिनु भनी मालपोत कार्यालयलाई लेख्ने भनी मिति ०३९।९।११ मा निर्णय गर्नुभयो । विपक्षी भूमिसुधार अधिकारीज्यूले गर्नुभएको निर्णय निम्नलिखित कारणबाट त्रुटिपूर्ण छ ।

          ३.  जिकिर : भनिएको २ नं. अनुसूची तथा ४ नं. जोताहा अस्थायी निस्सा मैले खरीद गरेको कि.नं. १३२ को जग्गाको नरहेको कुरा २ नं. तथा ४ नं. मा उल्लिखित ४ किल्ला र क्षेत्रफल समेतबाट समर्थित रहनुको साथै प्रत्यर्थी कार्यालयको मिति ०३८।५।३ गतेको निर्णय समेतबाट स्पष्ट छ । सोही प्रत्यर्थी कार्यालयले निर्विवाद गरिसकेको विपरीत सोही अमान्य २ नं. र ४ नं. लाई प्रमाणमा लगाई अ.बं.८५ नं. समेत प्रत्यर्थी कार्यालयले त्रुटि गरेको छ । उक्त ०३८।५।३ को निर्णयलाई प्रमाणमा लिने हो भने पनि सो कि.नं. १३२ को नभई २७६ लाई इङ्गित गर्दछ । एक पक्षको अनुपस्थितिमा भएको सरजमीन अर्को पक्षलाई आकर्षित गर्न सक्ने होइन साथै प्रमाणमा लिन समेत सक्दैन मालमा रहेको मोठ श्रेस्तामा मोही लगत जनाई दिने गरी गरेको उक्त निर्णय अनुसार म निवेदकको नाममा रहेको मोही लगत कायम हुन जानेछ यस प्रकार म जग्गाधनीलाई भिडाउँदै नभिडाई प्रतिवाद र प्रमाण पुर्‍याउन सक्ने अवसरबाट वञ्चित गर्ने गरी प्रत्यर्थी अधिकारीज्यूले प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गर्नु भएको छ । मेरो दाता राजकिशोर सिंह र विपक्षीको बीचमा मुद्दा चलिरहेको कुरा मलाई थाहा नै थिएन दुवैजनाले २ नं. तथा ४ नं. समेतको चार किल्ला र क्षेत्रफल लोप गरी नभएको नजोतेको जग्गा कि.नं. १३२ मा मुद्दा मामिला गरेकोले निजहरूको व्यवहार शुद्ध नरहेको स्पष्ट छ । विपक्षी सुदामादेवीको लोग्ने रघुनन्दनलाई मोही देखेको अवस्थामा पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) अनुसार मोही ठहराउन मिल्ने नभई रघुनन्दनको मृत्यु भइसकेको हुँदा दफा २६(१) अनुसार मोही नामसारी गरी पाउन र कार्यविधि अपनाई नामसारी गर्ने नगर्नेतर्फ निर्णय गर्नुपर्नेमा हकदैया विहिन उजूरीको आधारमा मोही नामसारी गराइएको छ । यसकारण भू.सु.का.धनुषाको मिति ०३९।९।११ को निर्णयमा भू.सं.ऐनको दफा २५(१) २६(१) अ.बं.१८४ क १८५, १८९ र प्रमाण ऐनको दफा ५४, भूमिसम्बन्धी नियम, २०३१ को नियम ३,,७ र ९(२) समेतको त्रुटि गरी गरेको निर्णयले निवेदकले संविधानको धारा १०(१) मा संरक्षित धारा ११(२)(ङ) र १६ मा प्रत्याभूत सम्पत्ति विषयको हक समेतमा वञ्चित हुनु परेको हुँदा संविधानको धारा ७१ अन्तर्गत निवेदन गरेको छु । उक्त विपक्षी भू.सु.का.धनुषाको मिति ०३९।९।११ को निर्णय उत्प्रेषणको आदेशले बदर गरीपाउँ भन्ने समेत निवेदन जिकिर ।

          ४.  यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूसँग लिखित जवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश ।

          ५.  धनुषा जिल्ला सोनीगामा गा.पं. वा.नं. ८ कि.नं. १३२ को ०१६६ मध्ये पूर्वतर्फबाट कसैको मोही हक नलागेको ०१०० जग्गा बिक्री गरेको हुँ । उक्त जग्गामा प्रत्यर्थी सुदामादेवी स्वयं निजको स्वर्गीय पति रघुनन्दन हजाम कहिल्यै पनि मोही रहनुभएका होइन भनिएको तथाकथित २ नं. अनुसूची तथा ४ नं. जोताहा अस्थायी निस्सा मैले बिक्री गरेको कि.नं. १३२ को जग्गाको होइन सो कुरा भू.सु.का.धनुषाको ०३८।५।३ को निर्णयबाट प्रष्ट भएको छ । भूमिसुधार कार्यालयबाट सुदामादेवीलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(१) अनुसार मोहीको प्रमाणपत्र दिने भनी गरिएको निर्णय ऐजन दफा एवं भूमिसम्बन्धी नियमावली, २०२१ को दफा ३,,७ र ९ को अतिरिक्त मुलुकी ऐन अ.बं.७२,८२,८५,१८४(क) समेतको त्रुटि भएको छ । १ नं. लगतमा सुदामादेवीको नाममा नभरिएको २ नं. अनुसूची निजको नाममा प्रकाशित नभएको र ४ नं. जोताहा अस्थायी निस्सा समेत निजले प्राप्त गर्न सकेको छैन । यस्तो स्थिति भएको भू.सु.का.ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिम मोहीको स्थायी प्रमाणपत्र दिने ठहर्‍याएको भू.सु.का.धनुषाको निर्णयमा न्यायिक मनको अभाव प्रष्ट देखिएको छ । निज सुदामा यदि मोही देखिएकै अवस्थामा पनि निजले भूमिसम्बन्धी ऐन, २०२१ को २६(१) बमोजिमको कारबाही चलाएको हुनु पर्दथ्यो सोको अभावमा सुदामादेवीले भूमिसम्बन्धी ऐनको दफा २५(१) नं. बमोजिम मोही ठहर्‍याएको उक्त ऐनको दफा २६(१) को प्रष्ट उल्लंघन भएको छ । यसमा संविधानको धारा १५ प्रतिकूल कानूनबमोजिम बाहेक नै म समेतको जग्गामा मोहीको प्रमाणपत्र दिने ठहर्‍याएको मिति ०३९।९।११ को भू.सु.का.को निर्णयले मौलिक हक समेत अतिक्रमण गरेको हुँदा बदरभागी रहेको प्रष्ट छ भन्ने समेत व्यहोराको राजकिशोर सिंहको लिखितजवाफ ।

          ६.  विपक्षी रिट निवेदक म तर्फका व्यक्ति होइनन् भन्ने कुरा दर्शाउने मुख्य आधार ०३८।१२।१।१ को राजीनामामा मोही नलेखेको भन्ने कुरालाई बनाउनु भएको छ । मेरो भू.सु.का.धनुषामा ०३८ साल फाल्गुणमा पतिको जोतको जग्गा वहाँ परलोक भएपछि मैले जोती आएको, छोरा नावालक हुँदा अन्य रोजिने व्यक्ति नभएको हुँदा मेरो नाउँमा मोही प्रमाणपत्र पाउँ भन्ने सप्रमाण दिएको उजूरी पश्चात सो कुराको चाल पाई विपक्षीले मेरो जोतबाट वञ्चित गर्ने उद्देश्यले जग्गाधनी राजकिशोरसँग खरीद गरेको भन्ने देखाएको हो मुद्दा पर्दाको अवस्थाको हुँदा मान्यता पाउन सक्ने होइन । जग्गाधनी राजकिशोर सिंहको उपरमा उजूरी परी निजले प्रतिवाद गरी मुद्दा चलिसकेपछि देखिन आउनुभएका निवेदकले अगाडि परेको मुद्दाको जस्तो परिणत हुन्छ सो सकार्न बाध्य हुनुपर्दछ । साविक जग्गाधनीले चित्त बुझाइसकेको हुँदा यदि रिट निवेदकको हक भएको भए अ.बं.८६ नं. बमोजिम सामान्य उपचार लिन तर्फ लाग्नु पर्ने थियो । ४ किल्ला फरक परेको भन्ने तथ्य सम्बन्धी प्रश्न भएकोमा रिट तहबाट निराकरण गर्न मिल्ने होइन । अ.बं.१३९ नं. लगायतले विपक्षीलाई बुझ्नु पर्ने अवस्था पनि प्रस्तुत विवादमा छैन किनकी १३९ नं. मा वादी वा प्रतिवादी कुनैमा पनि विपक्षको नाम उल्लेख नगरेको उजूरी परिसकेपछि सो उजूरीको सुइँको पाई कपटपूर्ण मनसायले मलाई मोहीबाट वञ्चित गराउन राजीनामा लिनुदिनु गरेको स्पष्ट देखिन्छ । आफ्नो नाम नामसारी नगरेको भन्ने तर्फ पनि मैले जग्गा जोतेको कुरा गा.पं.को सिफारिश सरजमीन बाली धरौट राखेकोबाट समेत प्रष्ट देखिन्छ नावालकले जोत्न नसक्ने हुँदा जोताहा हक, वैयक्तिक हक भएको र एकवर्ष मुख्य बाली जोते पछि मोही हुने व्यवस्था कानूनले नै गरेको छ । मेरो पति ०३२ सालमा परलोक भएपछि निवेदकको दाताले आफूले जोतेको भनी प्रतिवाद गरेको छैन अतः सबूत प्रमाण परिस्थिति र कानूनको मनसाय समेतलाई नजर राखी भू.सु.का.ले गरेको निर्णयबाट निवेदकको संवैधानिक हक हनन् भएको नहुँदा रिट निवेदन खारिज गरिपाउँ भन्ने सुदामादेवीको लिखितजवाफ ।

          ७.  भूमिसुधार लागू भएको समयदेखि नै जग्गाधनी राजकिशोर सिंहको नाउँको ०० र ०१२० गरी जम्मा ०१८० जग्गा रघुनन्दन ठाकुरले १ नं. फाराम भरी २ नं. लगत प्रकाशित भई ४ नं. जोताहा अस्थायी निस्सा समेत प्राप्त गरिसकेको हुनाले निज राजकिशोर सिंहको ०१८० जग्गामा रघुनन्दन ठाकुर साविक देखिकै भू.सु.ऐन, २०२१ को दफा २५(१) अनुसार मोही हुनआएको हो । रघुनन्दन ठाकुर आफ्नो कालगतीले ०३२ सालमा परलोक भएको र निजको श्रीमती सुदामादेवी हजामनीले आफ्नो नाममा मोही नामसारी गर्न मोहीको प्रमाणपत्रको लागि आवश्यक परेको जुनसुकै समय कारवाई गर्न पाउने कानूनी व्यवस्था अनुसार सर्वप्रथम मिति ०३७।११।१३ मा निवेदन गरी कारबाही हुँदा पुष्ट्याई नभएकोले पछि प्रमाण पुर्‍याई कारबाही गर्ने गरी मिति ०३८।५।३ मा उजूरी खारेजी फैसला भएको हुँदा सुदामादेवीले मिति ०३८।११।२१ मा निज जग्गाधनी राजकिशोर सिंह नाउँका जि. ध.सोनीगामा गा.पं. वा.नं. ८(क) कि.नं. १३२ को ०१६६ र ऐ कि.नं. १२१ को ०० समेत ०१९६ जग्गाको मोहीको प्रमाणपत्रको लागि पञ्चायतको सिफारिश समेत पुनः निवेदन दिएको हुँदा शुरूको झै यसपल्ट पनि राजकिशोर सिंहलाई बुझ्दा जग्गा कमाएको छैन भनी इन्कारी बयान गरेको रहेछ । तर दावीको जग्गा निजकै नाउँमा दर्ता रही आएको भनी स्वीकार गरेको २ नं. लगतमा प्रकाशित व्यक्तिलाई साविककै मोही ठहर्‍याई २ नं. को हाल दावीको जग्गा यकीन गर्न सरजमीन बुझी यस कार्यालयबाट ०३९।९।११ मा निवेदिका सुदामादेवी हजामनीलाई मोहियानी प्रमाणपत्र दिइएको हो । राजकिशोर सिंहले मोहीबाट वञ्चित बनाउने उद्देश्यले निवेदकलाई मुद्दाको चाल नपाउने गरी मुद्दामा कारबाही हुँदैको अवस्थामा कि.नं. १३२ को ०१६६ मध्ये ०१०० जग्गा बिक्री गरेको कुरा प्रष्ट देखिन्छ । निवेदक रामरतन केवटले स्वयं उक्त जग्गा राजकिशोर सिंहबाट खरीद गरेको प्रमाणित गरेको र सरजमीनबाट अघि निवेदकको लोग्ने स्वर्गिय रघुनन्दन ठाकुर र हाल निजको श्रीमती सुदामा हजामनी समेत मोही भई जोतेको प्रमाणित हुँदा जग्गाको स्वामित्व हस्तान्तरण हुँदैमा मोहीमा कुनै प्रतिकूल असर नपर्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने भूमिसुधार कार्यालय धनुषाको लिखितजवाफ ।

          ८.  नियमबमोजिम पेश हुनआएको प्रस्तुत रिट विपक्षी राजकिशोर सिंह राजपूत तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुनील अधिकारी विपक्षी भूमिसुधार कार्यालय धनुषाको तर्फबाट खटिई आउनुभएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नु भएको बहस जिकिर समेत सुनी भू.सु.का.धनुषाले सुदामादेवी हजामनीलाई मोहियानी प्रमाणपत्र प्रदान गर्ने गरेको मिति ०३९।९।११ को निर्णय मनासिब वेमनासिब के रहेछ सोको निर्णय दिनु पर्ने हुन आयो ।

          ९.  यसमा निर्णयतर्फ हेर्दा निवेदक राजशिोर सिंह राजपूतको नाउँमा दर्ता रहेको सोनीगामा गा.पं. वा.नं. ८(क) कि.नं. १३२ क ०१६६ ऐ गा.पं. वा.नं. ८(क) कि.नं. १२१ को ०० जग्गा विपक्षी र निजको पतिले साविकदेखि नै संयुक्त परिश्रमबाट कमाउँदै आएको र १ नं. फाराम विपक्षी सुदामादेवीको पतिको नाममा भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जोताहा अस्थायी निस्सा समेत प्राप्त गरिसकेको देखिन्छ । मेरो पति ०३२ सालमा स्वर्गीय हुनु भयो त्यसपछि निर्धारित कूत सालसालै निर्दिष्ट समयमा जग्गाधनीलाई बुझाई आएको छु । ०३८ सालको कूतबाली जग्गाधनीले बुझ्न नमानेकोले गा.पं.मा धरौटी राखेको छु भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गाधनीले अरूलाई रोज्ने अवस्था नहुँदा मैले निर्विवाद भोगी आएकोले मोहियानी प्रमाणपत्र पाउँ भन्ने सुदमादेवीको भू.सु.का.धनुषामा उजूरी पर्दा विपक्षी सुदामादेवीले उल्लिखित कि.नं. को जग्गा कहिल्यै पनि कमाएको छैन र आफैंले जोती आएको छु । विपक्षी मोही भएको भए सालसालै बाली बुझाएको रसिद हुनपर्ने सो समेत देखाउन सकेको छैन । गाउँ पञ्चायतमा कूत धरौटी राख्दैमा जुनसुकै जग्गाको मोही हुन सक्ने होइन जग्गाधनी पञ्चायत होइन तसर्थ निवेदिकालाई मोहियानी दिन मञ्जुर छैन भन्ने राजकिशोर सिंहको प्रतिउत्तर पर्दा भू.सु.का.धनुषाबाट विपक्षीलाई उल्लिखित कि.नं. को जग्गाको मोहियानी प्रमाणपत्र दिने ठहरिन्छ भन्ने निर्णय गरेको देखिन्छ । सो उपरमा निवेदकले यस अदालतमा रिट निवेदन दिँदा मुख्य तथा निम्न कुराहरूको जिकिर लिएको पाइन्छ ।

          १०.  भू.सु.का.धनुषाले ०३८।५।३ को निर्णय अनुसार एकपटक निर्णय गरी सकेर पुनः निर्णय गरी विपक्षीलाई मोहियानी ठहर्‍याएको अ.बं.८५ नं. को विरूद्ध भएको । निवेदकलाई बुझ्दै नबुझी लिएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको र भूमिसम्बन्धी ऐनको दफा २५(१) बमोजिमको मोही ठहर्‍याउन नमिल्ने भन्ने मुख्यतया जिकिर लिएको पाइन्छ ।

          ११.  माथि उल्लिखित प्रथम जिकिरतर्फ हेर्दा भूमिसुधार कार्यालयले ०३८।५।३ मा निर्णय गर्दा जग्गामा विपक्षीको लोग्नेको नाममा ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गरेको तर जोत भएको र कमाई भएको समेत कुनै आधारभूत प्रमाण पेश गर्न नसकेको हुँदा त्यस्तो आधारभूत प्रमाण पेश गरी नसकेको हुँदा त्यस्तो आधारभूत प्रमाण सहित पेश गरी वादीले माग गरेको बखत कारबाही हुने भन्ने निर्णय गरेको पाइन्छ । सो निर्णय पश्चात सुदामादेवी हजामनीले सो जग्गामा मोहीको हैसियतले कमाई आएको स्थानीय पञ्चायतको सिफारिश समेत पेश गरी पुनः भूमिसुधार कार्यालयमा निवेदन दिएको देखिन्छ । सो निवेदन परिसकेपछि भूमिसुधार कार्यालय धनुषाले उक्त जग्गा कसले जोतेको छ भन्ने बुझ्न सरजमीन गराउँदा विपक्षी सुदामादेवीले नै कमाई आएको भन्ने सरजमीन मुचुल्का भएको देखिन्छ । सो बाहेक विपक्षी भूमिसुधार कार्यालयले ०३८।५।३ मा फैसला गर्दा मुद्दा नै लाग्न नसक्ने भन्ने निर्णय गरेको पनि देखिँदैन । सबूत प्रमाण बुझी सकेपछि पुनः निर्णय गर्ने भन्ने उक्त भू.सु.का.को फैसलामा उल्लेख गरेकोबाट दोश्रोपटक ०३९।९।११ मा भू.सु.का.धनुषाले उक्त प्रमाण बुझेपछि फैसला गरेको देखिएकोले अ.बं.८५ नं. को विपरीत फैसला गरेको भन्ने देखिन आउँदैन ।

          १२.  अब निवेदकलाई बुझ्दै नबुझी गरेको फैसला भन्ने जिकिरतर्फ हेर्दा अ.बं.१३९ नं. मा व्यवस्था भए अनुसार वादी प्रतिवादीमा उल्लिखित व्यक्तिलाई मात्र अड्डा अदालतले बुझ्न पर्ने स्थिति पर्दछ । विपक्षी सुदामादेवीले भू.सु.का.धनुषामा मोहियानी प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा रिट निवेदकको नाम उल्लेख भएको नदेखिएको साथै विपक्षी राजकिशोर सिंहले प्रतिउत्तर दिँदा पनि निज निवेदकको नाउँ कतै कहीँ उल्लेख गरेको पाइँदैन । निजको नाम नै कहीँ उल्लेख भएको नदेखिँदा निज रिट निवेदकलाई बुझ्न पर्ने स्थिति देखिन आउँदैन । यस्तो अवस्थामा भूमिसुधार कार्यालय धनुषाले हालैको जग्गाधनीलाई बुझ्दै नबुझी गरेको निर्णयले प्राकृतिक न्याय सिद्धान्तको विपरीत भयो भन्ने पनि देखिन आएन ।

          १३.  निवेदकको तेश्रो जिकिरतर्फ हेर्दा विपक्षी सुदामादेवीको पतिले साविक देखिनै जग्गा जोती आएको हुँदा १ नं. फाराम भरी २ नं. लगत प्रकाशित भई निजकै नाउँमा ४ नं. जोताहा अस्थायी निस्सा समेत प्रकाशित भइसकेको देखिन्छ । ०३२ सालमा विपक्षी सुदामा हजामनीको पतिको मृत्यु भइसकेपछि विपक्षी सुदामादेवीले नै सो जग्गा कमाउँदै आएको कुरा पञ्चायतको सिफारिश र भूमिसुधार कार्यालय धनुषाले सरजमीन गराउँदा विपक्षीले कमाई आइरहेको छ भन्ने प्रष्ट बकी दिएकोबाट विपक्षी सुदामादेवीले नै सो जग्गा कमाई आइरहेको देखिन्छ । पहिला पनि पति पत्नीको संयुक्त परिश्रमबाट कमाई आइरहेका सो जग्गामा पछि विपक्षी सुदामादेवीले कमाई आएकोले निजको नाउँमा मोहियानी प्रमाणपत्र दिएकोलाई भूमिसम्बन्धी ऐनको २५(१) को त्रुटि भयो भनेर भन्न सकिने स्थिति देखिँदैन । तसर्थ सबूत प्रमाण बुझी त्यसको उचित मूल्याङ्कन गरी गरेको भू.सु.का.धनुषाको निर्णयमा कानूनी त्रुटि नदेखिएको हुँदा यो रिट निवेदन खारेज हुन्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल आषाढ १९ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु