निर्णय नं. १९५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १९५४ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको रि.नं. १८२३
विषय : उत्प्रेषण
निवेदक : सर्लाही जि. त्रिभुवननगर गा.पं. वा.नं. ९ बस्ने रामलखनप्रसाद साहु रौनियार
विरूद्ध
विपक्षी : भूमिसुधार कार्यालय सर्लाहीका भूमिसुधार अधिकारी टेकनिधी तिवारी
सर्लाही जिल्ला त्रिभुवन नगर गा.पं. वा.नं. १ बस्ने सरयुग शरण दास वैरागी
आदेश भएको मिति : २०४१।४।१२।६ मा
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा “तर आफूले बुझाउनु पर्ने कूतको सयकडा ९० प्रतिशत भन्दा कम हुने गरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिने छैन” भन्ने समेत उल्लेख भएकोले निर्णय बदर हुने ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री कृष्णलाल देव र विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ :
२. सर्लाही जिल्ला मेल्ही गा.पं. वा.नं. १(क) को कि.नं. १९६ को ०–४–१० क्षेत्रफल भएको जग्गा म निवेदक जग्गाधनी र विपक्षी मध्येका सरयुगसरण दास वैरागी मोही हुनुहुन्छ । निज विपक्षले ०३२, ०३३, ०३४ सालको कूतबाली दिनु नभएकोले सर्लाही जि. अ.बाट उक्त सालहरूको बाली भराउने गरी फैसला भएको छ । २०३५ सालको बाली पनि म निवेदकलाई निज विपक्षले नदिनु भएको र कुनै सरोकारको निकायमा ऐन वा म्यादभित्र धरौट पनि नराखेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(क) को उपदफा (ग) को म्यादभित्र उजूर गर्न आएको छु । विपक्षीले दिनु पर्ने निर्धारित कूत २–२३–८ दुइमन तेइससेर आठ कनवा दिए धानै र नदिए मूल्य रु.१३९।३७ विपक्षबाट दिलाई भराई मोहियानी हकबाट समेत ऐनको दफा २९(१) र २९(३) बमोजिम निष्कासन समेत गरिपाउँ भन्ने समेत व्यहोराको म निवेदकको उजूरी भू.सु.का.सर्लाहीमा परेको थियो ।
३. विपक्षीको दावी बमोजिमको जग्गा मैले मोहीमा कमाएको छैन । सो जग्गा साविक जिमदार सन्तलालको हो । २०३१ सालमा विपक्षले साविक जिमिदारबाट राजीनामाद्वारा यो जग्गा लिएको हो उक्त जग्गा मध्ये पश्चिम तर्फबाट दुई कठ्ठा जग्गामा पाँच असामीहरूको घरबास भएको, पूर्व तर्फबाट ०–२–१० जग्गामा रामजानकीको मन्दिर भई साविक जिमदारले कूत ०–२३–१२ मन लिने हुँदा सोही अनुसारको भर्पाई लिने गरेको छु भन्ने समेत व्यहोराको विपक्षीद्वारा झुठ्ठा व्यहोराको प्रतिउत्तर परेको थियो ।
४. ०३५ सालको कूत २३ सेर १२ कनवा त्रिभुवननगर गा.पं.का.प्रधानपञ्चलाई मिति ०३५।१०।२५ मा धरौटी बुझाएको भर्पाई प्रतिवादीले पेश गरेको तर राख्नु पर्ने कूत धरौट राखेको नदेखिँदा वादी दावी अनुसार कूत वापत रु.१३९।३७ विपक्षीबाट पक्षले भरी पाउने ठहर्छ । निष्कासन गर्ने हो कि भन्नालाई विपक्षीले केही रकम धरौट राखेको तथा यो ०३९ सालको कूत पनि यसै कार्यालयमा धरौट राखेको देखिँदा कूत बाली नबुझाउने अनुसार नदेखिएको हुँदा मोहीबाट निष्कासन गर्नु नपर्ने भनी भू.सु.का.बाट निर्णय भयो ।
५. भूमिसम्बन्धी ऐनको दफा ३६(१) बमोजिम विपक्षीले बुझाउनु पर्ने कूत म निवेदक जग्गाधनीलाई बुझाउनु भएको छ न कानूनबमोजिम तोकिएको कुनै निकायमा धरौटी नै राख्नु भएको छ । विपक्षीले कुनै पनि निकायमा कूत धरौट राखेको भए ऐनको दफा ३६(३) ले मेरो नाममा सो कूत बुझ्न आउनुको लागि ७ दिने सूचना जारी हुनु पर्ने थियो । ऐनको म्यादभित्र त्यस्तो कूत कुनै सम्बन्धित निकायमा धरौट नरहेबाट मलाई सूचना नआएको प्रष्टै छ । म निवेदकको उजूरी पश्चात गाउँ पञ्चायतका प्रधानपञ्चद्वारा म्यादभित्रको मिति पारी २३ सेर १२ कनवा बुझाएको भर्पाई पेश गर्नु स्थानीय पञ्चायतमा धरौटी राख्न लगाई धरौटीमा आम्दानी बाध्नु पर्ने ऐनको बाध्यात्मक प्रक्रिया पूरा गरेको सम्झन मिल्दैन प्रधानपञ्चको संस्थागत नभई व्यक्तिगत रूपमा दिएको भर्पाईले ऐनको दफा ३६(३) को पूर्वावस्था पूरा भएको सम्झन नमिल्ने स्पष्टै छ । त्यस्तो वेरीतको भर्पाईको आडमा कूत बुझाउने मनसाय रहेको भनी मोही निष्कासन नगर्ने प्रत्यर्थी भू.सु.का.को निर्णय आत्मनिष्ट हुन गएको एवं ऐनको दफा ३६(१), ३६(२), ३६(३) को त्रुटि गर्नुको अतिरिक्त अ.बं.१८४(क), १८५ तथा १८९ नं. समेत प्रतिकूल छ । एकछिनलाई विपक्षीले राखेको कूत रीतपूर्वककै रहेछ भने पनि निजले ऐनको दफा ३६(२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सयकडा ९०µ भन्दा कम हुने गरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिने छैन भन्ने व्यवस्था प्रतिकूल कूत बुझाएको सरह मानी विपक्षी मोहीको कूत बुझाउने मनसाय रहेको भनी लगाइएको त्रुटियुक्त छ । ०३५ सालको बाली नबुझाएको सम्बन्धमा परेको उजूरमा ०३९ सालको कूत धरौट राखेको आधारमा मोही निष्कासन नगर्ने गरे वादी दावी भन्दा बाहिर गई असंगत प्रमाणहरूको आधारमा हुन पुगेको स्पष्टै छ । प्रमाण ऐन, २०३१ को दफा ३, ५४ प्रतिकूल निर्णय भएको छ । अतः उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी मिति ०३९।११।२५।४ को निर्णय बदर गरी म निवेदकको मौलिक हक प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
६. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत स.अ.सिंगलबेञ्चको आदेश रहेछ ।
७. भू्.सु.अ.लाई मोही निष्कासन गर्न तजविजी अधिकार भएको कुरामा विपक्षी आफैं सावित हुनुहुन्छ । भू.सु.का.सर्लाहीबाट ०३९।११।२५ मा निर्णय भएको छ र ०४०।३।३ मा यो रिट निवेदन पर्न आएकोले लगभग ३ महीना भन्दा बढी अनुचित विलम्ब भएकोले यो रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत सरयुगसरण दास वैरागीको लिखितजवाफ रहेछ ।
८. विपक्षी मोहीले दावी लिएको सालको केही कूत पञ्चायतमा धरौट राखेको र २०३९ सालको कूत यसै कार्यालयमा धरौट राखेको देखिएकोले कूत नबुझाउने मनसाय देखिएन अतः त्यस्ता मोहीलाई मोहीबाट निष्कासन गरेमा भू.सु.को मोही संरक्षणको पवित्र लक्ष्यमा आघात पुग्ने हुँदा मोही निष्कासन नगरी कूत भराई दिने गरी यस कार्यालयबाट निर्णय भएको कानूनसंगत नै हुँदा रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध छ भन्ने समेत भू.सु.का.सर्लाहीको लिखितजवाफ रहेछ ।
९. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत विषयमा निवेदकको वा.मकरमान श्रेष्ठलाई रोहवरमा राखी निवेदकको तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता राधेश्याम अधिकारी, विपक्षी सरयुगसरन दास वैरागीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता कृष्णलाल देव र विपक्षी भू.सु.का.तर्फबाट खटी आउनुभएका विद्वान सरकारी अधिवक्ता बलिराम कुमारको बहस जिकिर समेत सुनियो ।
१०. प्रस्तुत विषयमा निवेदकका माग बमोजिमको आज्ञा, आदेश जारी हुने हो होइन ? निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा मेरा नाउँको सर्लाही जिल्ला मेलही गा.पं. वा.नं. १(क) कि.नं. १९६ को जग्गाको विपक्षी मोही सरयुगसरण दास वैरागीले २०३५ सालको बाली नदिनु भएको र सम्बन्धित निकायमा धरौट पनि नराख्नु भएकोले निर्धारित कूत २–२३–८ दुई मन तेइस सेर आठ कनवा विपक्षबाट दिलाई मोहियानी हकबाट समेत निष्कासन गरिपाउँ भनी भू.सु.का.मा निवेदन दिएकोमा वादीले दावी गरेको सालको कानूनबमोजिम दावी अनुसारको कूत वापत रु.१२९।३७ विपक्षीबाट भरी पाउने ठहर्छ कूतबाली नबुझाउने मनसाय नदेखिएकोले मोहीबाट निष्कासन गर्न नपर्ने भनी भूमिसम्बन्धी ऐनको दफा ३६(१)(२)(३) समेतको प्रतिकूल भू.सु.का.ले गरेको निर्णय बदर गरिपाउँ भनी निवेदक रामलखनप्रसाद साह रौनियारले जिकिर लिएको देखिन्छ ।
१२. मैले ०३५ सालको कूत वापत ०–२३–१२ त्रिभुवननगर गा.पं.को प्रधानपञ्च जिम्मा धरौटी राखेको र सोही आधारमा भू.सु.का.बाट मोही निष्कासन नहुने भनी गरेको निर्णय कानूनसंगत हुँदा रिट निवेदन खारेज हुनु पर्ने भन्ने विपक्षी सरयुगसरण दासको लिखितजवाफमा उल्लेख भएको पाइन्छ ।
१३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा “तर आफूले बुझाउनु पर्ने कूतको सयकडा ९० प्रतिशत भन्दा कम हुने गरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिने छैन” भन्ने समेत उल्लेख भएको छ । अतः भू.सु.कार्यालय सर्लाहीको ०३९।११।२५।४ को निर्णयमा उक्त भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६ को उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशको त्रुटि देखिएकोले उक्त निर्णय बदर गरी दिएको छ । कानूनबमोजिम पुनः निर्णय गर्नु भनी परमादेशको आदेश दिने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि सम्बन्धित कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल श्रावण १२ गते रोज ६ शुभम् ।