शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१५३ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।२।२१।४

०६७CR०१९७

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, सप्तरीको थुनामा रहेका कपिलेश्वर साहको छोरा पशुपति साह

विरूद्ध

प्रत्यर्थी/ वादी : इन्दु साह मेहत्तरको जाहेरीले नेपाल सरकार

 

 

संवत् २०६७ सालको पुनरावेदन नं. ०६७- CR -०४१४

 

पुनरावेदक/वादी : इन्दु साह मेहत्तरको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, सप्तरीको थुनामा रहेका कपिलेश्वर साहको छोरा पशुपति साह

 

§  नाबालिकाउपर जबर्जस्ती करणी जस्तो जघन्य वारदात गरी निजको योनीबाट रगतसमेत बगेको अवस्थामा कत्तिपनि विचलित नभई आनन्दपूर्वक निदाई बस्ने कुरा अपराधीको मानवीय आनीबानी र मनोविज्ञानसँग मेल नखाने ।

§  वारदात गरी सकेपछि अपराधीले आफूलाई बचाउनेअपराधसँग सम्बन्धित प्रमाण नष्ट गर्ने र भाग्ने उम्कने काम गर्दछ तर प्रतिवादी आनन्दसाथ सुती निदाएकाले प्रतिवादी विरूद्ध कसुरको अनुमान गर्ने ठाउँ रहेको नदेखिँने ।

(प्रकरण नं.२)

§  बालिका जीवित रहुञ्जेल जबर्जस्ती करणीतर्फ सामान्य औँलासमेत उठाउन नसक्ने तर बालिकाको मृत्यु हुनासाथ जबर्जस्ती करणीको वारदात भनी जाहेरी दरखास्त दायर हुनु, जबर्जस्ती करणीका प्रतिवादीविरूद्ध जाहेरवाली आमाले सामान्य आक्रोशसम्म पनि व्यक्त नगर्नु र गाउँसमाज नगुहार्नु आफैंमा सन्देहास्पद देखिने ।

(प्रकरण नं.४)

§  सामान्यतया अदालतले कसुरदारले किन कसुर गर्नुपर्‍यो सो कुरा विचार गर्छ । बालिकाउपरको अभियोगदावीबमोजिमको अमानुषिक कार्यबाट न प्रतिवादीले यौन सन्तुष्टि पाउन सक्ने अवस्था छ न त निजको स्वार्थ नै पूर्ति हुने स्थिति देखिने ।

(प्रकरण नं.७)

§  जाहेरीले चित्रण गरेको वारदात तथा घटनास्थल र लासप्रकृति मुचुल्का आदि लिखतले अभियोगदावीलाई विल्कुलै प्रमाणित गर्न नसकेको अनुसन्धानको अवस्थाबाट जाहेरी सन्देहास्पद देखिने ।

(प्रकरण नं.८)

§  परिस्थितिजन्य प्रमाण आकर्षित हुनका लागि प्रतिवादीले कसुर गरेको होइन भनी शङ्का गर्नुपर्ने कुनै ठाउँ हुनुहुँदैन र प्रतिवादीले कसुर गरेको भन्ने बाहेक अरू निष्कर्षको सम्भावना रहन नहुने ।

§  परिस्थितिजन्य प्रमाणले पनि ठोस र शङ्कारहित तवरबाट अभियुक्तको कसुर प्रमाणित हुनुपर्छ र शङ्काको सुविधा अभियुक्तले पाउँछ भन्ने मान्यतालाई शिरोपर गरेको हुन्छ । अनुमान र शङ्कालाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन नमिल्ने

(प्रकरण नं.१०)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ताहरू श्री विष्णुप्रसाद शर्मा र श्री रामप्रसाद ढुंगेल

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १, ३(१) नं.

§  ज्यानसम्बन्धीको महलको १, ६(२), १३(३) नं.

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या. श्री रमेश पोखरेल

पुनरावेदन अदालत, राजविराज :

मा.न्या. श्री शम्भुबहादुर खड्का

मा.न्या. श्रीकुमार चुडाल

 

फैसला

      न्या. गोविन्दकुमार उपाध्याय : पुनरावेदन अदालत, राजविराजको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम यस अदालतसमक्ष दुवै पक्षबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

      केही वर्षअघि म जाहेरवाली जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ७ बस्ने इन्दल मेहत्तरसँग विवाह गरी निजसँगको यौन सम्पर्कबाट एक छोराको जन्म भएको र तीन महिनाको गर्भ पुनः बस्दा निजको मृत्यु भएपछि म डेरा गरी बस्दै आएकोमा जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ७ बस्ने पशुपति साहसँग चिनजान भै एक आपसमा माया प्रेम बसी हामीले विवाह गर्ने सरसल्लाहबमोजिम म बसेको कोठामा निज पशुपति साह रहने बस्ने गरी सँगै सुत्ने र बस्ने गर्दथ्यौं । यसै क्रममा मिति २०६५।१।९ गतेका दिन बिहान ४.०० बजेको समयमा म पशुपति साह र छोरी राखी साहसँगै सुतेको ओछ्यानबाट उठी दाउरा खोज्न गई दाउरा खोजी केही क्षणपछि फर्की आएकोमा छोरी राखी साहको योनीबाट अत्यधिक रक्तश्राव भइरहेको देखी सँगै सुतेका पशुपति साहलाई भन्दा मलाई थाहा भएन भनी भनेको र निजले औषधि उपचार गरेपछि ठिक भईहाल्छ भनी पैसा लिन भनी आफ्नो घरतर्फ गई पुनः फर्की आएनन् । यसै क्रममा मिति २०६५।१।११ गतेको दिन बिहान छोरी राखी साहको मृत्यु भएको हुँदा निज प्रतिवादी जहिलेसुकै मादक पदार्थ सेवन गर्ने गरेकाले म नभएको मौका पारी छोरीलाई नै जबर्जस्ती करणी गरी योनी फुटाई दिई सोही कारण अत्यधिक रक्तश्राव हुन गई छोरी राखी साहको xमृत्यु भएको हुँदा निजलाई कानूनबमोजिम कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको इन्दु साह मेहत्तरले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा दायर गरेको जाहेरी दरखास्त ।

      जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ६ स्थित श्यामप्रसाद साहको पूर्व मोहडा भएको भुई तले घरको उत्तर पश्चिमपट्टीको कोठामा भएको खाटमा ओछ्याएको डसनासमेतमा रगत लागी रहेको देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

      जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ६ स्थित श्यामप्रसाद साहको घरको बरण्डामा उत्तानो अवस्थामा रहेको मृतक राखी साहको योनी च्यातिएको देखिएको, योनी च्यात्तिई अत्यधिक रक्तश्राव भई सोही कारणबाट निज राखी साहको मृत्यु भएको भन्नेसमेत व्यहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का ।

      केही महिनाअघि पशुपति साह र इन्दु साह डेरा खोज्दै आएकोमा मसमेतले घर धनी श्यामप्रसाद साहलाई भनी घर भाडामा दिलाई दिएकोमा निज पशुपति साह र इन्दु साह श्रीमान् श्रीमती जस्तै गरी बसी राखेकोमा मिति २०६५।१।९ गतेका दिन बेलुकी निजहरूलाई रिक्सामा झगडा गर्दै आएको देखेकोले पछि निजहरू सँगै सुतेपछि भोली पल्ट अं. ५.०० बजेको समयमा राखी साहको योनीबाट रगत बगिरहेको देखिएको हो। पछि पशुपति साहलाई औषधि उपचार गर्न लैजानु भन्दा निजले घरबाट पैसा ल्याई औषधि उपचार गर्न लान्छु भनी घरतर्फ गई फर्की नआएकोले श्रीमान् श्रीमती जस्तै सुतेका पशुपति र इन्दु साहलाई नै राखी साहको योनीबाट के कसरी रगत बगेको हो भनी थाहा हुनपर्ने हो भन्नेसमेत व्यहोराको पर्शुराम यादवले गरेको घटना विवरण कागज ।

      केही महिनाअगाडि पशुपति साह र इन्दु साह डेरा खोज्न आउँदा मसमेतले घर धनी श्यामप्रसाद साहलाई भनी घर भाडामा दिलाई दिएकोमा निजहरूसँगै बस्दै आएको थिए । सोही क्रममा मिति २०६५।१।९ गतेका बेलुका रिक्सामा निजहरूलाई झगडा गर्दै आइरहेको अवस्थामा मैले देखेको थिएँ । केही बेरपछि निजहरू आफ्नो कोठामा गई सुतेका थिएँ । बिहान ४:४५ बजेको समयमा निज राखी साहको योनीबाट रक्तश्राव भइरहेको भनी सुनी थाहा पाएको हुँ । निज पशुपति र इन्दु साहसँग सुतेकी ८ महिनाकी छोरी राखी साहको योनीबाट के कसरी रक्तश्राव भएको हो भन्ने कुरा निजहरूलाई नै थाहा हुनुपर्छ भन्नेसमेत व्यहोराको विरेन्द्र सुतिहारको घटना विवरण कागज ।

      विगत केही महिनादेखि नै पशुपति साह र इन्दु साह डेरा खोज्दै आएकोमा मसमेत भई भाडामा डेरा दिलाई दिएकोमा निजहरू श्रीमान् श्रीमती जस्तै गरी बस्दै आएका थिए । मिति २०६५।१।९ गते अं. २१:०० बजेको समयमा रिक्सामा चढी निजहरू झगडा गर्दै बजारतर्फबाट आउँदै गरेको देखेको थिएँ । सोही क्रममा निजहरू पछि आफ्नो कोठामा गई सुतेकोमा बिहान अं. ४ बजेको समयमा राखी साहको योनीबाट रक्तश्राव भइरहेको देखेको हो । कसरी रक्तश्राव भएको हो निज पशुपति र इन्दुले नै जानून् भन्नेसमेत व्यहोराको सुशीलादेवी शर्माले गरेको घटना विवरण कागज ।

      मृतक राखी साहको योनीमा भएको चोट र अत्यधिक रक्तश्रावका कारणबाट नै निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको शव परिक्षण प्रतिवेदन ।

मिति २०६५।१।९ गते दिउँसो काम विशेषले आफ्नो घरमा बसी साँझ परेपछि मैले श्रीमती बनाई डेरा गरी बसेकी इन्दु साहको कोठामा गई खाना त्यहीं खाएपछि पुनः घर आउन खोज्दा इन्दु साहले मलाई आउँन नदिई बाद विवाद झगडा भई निजले मेरो टाउकोमा कोकको बोतलले प्रहार गरी घाउसमेत बनाई दिएकाले म उक्त ९ गतेको रात निज इन्दु साहसँगै सुतें । साथमा छोरा अं. ४ वर्षको अभिशेक साह र ८ महिनाकी छोरी राखी साहसमेत एकै बिच्छौनामा सुती मिति २०६५।१।१० गतेको बिहान उठी आमाले बोलाउन कोठैमा गएकोले म आमासँगै आफ्नो घरमा गएको हुँ । सो अवस्थामा इन्दु साह र छोरी राखी साह सोही कोठामा थिए । छोरी राखी साहको योनीबाट प्रशस्त रक्तश्राव भईरहेको देखेको थिएँ । छोरीको योनीबाट आएको रगत मेरो पेन्टमा समेत लागेको हो । छोरी राखी साह रूने कराउने नगरी सुतिरहेकी थिइन् । राखी साहको योनी कसरी च्यातिएको हो मलाई थाहा भएन । मैले बच्चालाई केही गरेको छैन । इन्दुसाहसँग मेरो औपचारिक विवाह नभए पनि मैले नै निजलाई डेरा खोजी राखिदिएको भाडा तिरी दिने गरेको खानाको व्यवस्था मिलाई एकै कोठामा रही बसी यौन सम्पर्कसमेत राखी श्रीमान् श्रीमती जस्तै गरी बस्दै आएका थियौं । यसरी सँगै बस्दै आएकोमा मेरो विहे हुने कुरो निज इन्दु साहले थाहा पाएपछि मलाई फसाउनलाई निजले झूठ्ठा व्यहोराको किटानी जाहेरी दिएकी हुन् । मैले मृतक राखी  साहलाई जबर्जस्ती करणी गरेको होइन । निजप्रतिको मायाले उपचार गराई दिन्छु भनेको हुँ तर कुनै अनैतिक कार्य गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी पशुपति साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

प्रतिवादी पशुपति साहले सँगै सुतेकी राखी साहलाई नशाको सुरमा आफ्नो छोरीसमेत नभएको कारणले जबर्जस्ती करणी गरेको हुन सक्छ । प्रतिवादीले नै जबर्जस्ती करणी गरेको कारण राखी साहको योनीमा लागेको चोट तथा योनीबाट अत्यधिक रक्तश्राव भई सोही कारणले निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको रूपा खनाल, चन्द्र श्रेष्ठसमेतका व्यक्तिले गरिदिएको वस्तुस्थिति मुचुल्का ।

मैले जिल्ला महोत्तरी, बर्दिवास बस्ने इन्दल साहसँग विवाह गरी राजविराज न.पा. वडा नं. ७ मा बसेकोमा श्रीमान्‌को मृत्युपश्चात् म जाहेरवाली इन्दु साहले आफू मेहत्तर जातको भए पनि नागरिकता प्रमाणपत्रमा साह थर नै उल्लेख गरी लिएको दिनदेखि नै इन्दु साह भनी लेखाउन थालेकी हुँ । लास जाँच प्रकृति मुचुल्कामा बाँया खुट्टामा उल्लेख भएको व्यान्डेज मिति २०६५।१।२ गतेका दिन बिहान प्रतिवादी पशुपति साहले मृतकको खुट्टा तानी दिएका कारण छोरी राखी साहको ब्यान्डेज गराएको थिएँ । मिति २०६५।१।९ गतेका दिन बिहान म र शुशीला सुतिहारसँगै दाउरा खोज्न तथा दिसा पिसाब गर्न गएकोमा सँगै गएकी शुशीला सुतिहार दिसा पिसाब गरी दाउरासमेत खोजी डेरातर्फ फर्की गएकोमा छोरी राखी साह रोई कराई रहेको देखी नजिक गई हेर्दा योनीबाट रक्तश्राव भईरहेको देखेको हो । निज प्रतिवादी पशुपति साहको आफ्नो छोरी नभएको कारण तथा निजले नशाको सुरमा छोरी राखी साहलाई जबर्जस्ती करणी गरी राखी साहको योनीमा लागेको चोट र योनीबाट अत्यधिक रगत बगेको कारणबाट नै छोरी राखी साहको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाली इन्दु साहले मौकामा गरिदिएको कागज ।

 

मिति २०६५।१।९ गतेका राती मेरा आमासँगै रहने बस्ने गरेका प्रतिवादी जिल्ला सप्तरी, राजविराज न.पा. वडा नं. ७ बस्ने पशुपति साह, आमा इन्दु साह, बहिनी राखी साह र मसँगै एउटै कोठाको एउटै खाटमा सुती रहेको थिएँ । अं. ४:०० बजेको समयमा बहिनी राखी साह रोई कराई रहेको सुनी उठी हेर्दा सो अवस्थामा आमा इन्दु साहलाई देखिँन । पछि आमा बाहिरबाट आई बहिनी राखी साहलाई उठाई हेर्दा निजको योनीबाट रगत बगी रहेको देखी बाबु प्रतिवादी पशुपति साहलाई आमाले उठाई छोरीलाई के गरेको भनी भन्दा बुबा उठ्दा निजको पाइन्टमा समेत रगत लागी रहेको देखिएको
हो । पछि बुबाले औषधि उपचार गरेपछि ठीक भई हाल्छ भनी पैसा लिन भनी घरतर्फ गएकोमा निज फर्की
आएनन् । बहिनीको योनीबाट अत्यधिक रक्तश्राव भएको तथा चोट पीरको कारण मिति २०६५।१।११ गतेका दिन बिहान बहिनी राखी साहको मृत्यु भएको हो । बुबा प्रतिवादी पशुपति साहले जहिलेसुकै मादक पदार्थ सेवन गरी आउने गरेको देखेको तथा उक्त रातिसमेत निजले मादक पदार्थ सेवन गरेको नशाको सुरमा आमा इन्दु साहलाई नै सम्झी बहिनी राखी साहलाई जबर्जस्ती करणी गरेको कारण बहिनीको मृत्यु भएको हुँदा प्रतिवादीलाई कानूनबमोजिम कडा कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको जाहेरवालाका छोरा वर्ष छ का अभिशेक साहले गरिदिएको घटना विवरण कागज ।

      इन्दु साहलाई श्रीमती बनाई राखेपछि अभिशेक र राखी निज प्रतिवादीको छोरा छोरी नभए कै कारण नशाको सुरमा राखी साहलाई जबर्जस्ती करणी गरेको कारण योनीबाट अत्यधिक रक्तश्राव भई निज राखी साहको मृत्यु भएको हुँदा प्रतिवादी पशुपति साहलाई जबर्जस्ती करणीको १ र ३ (१) नं. तथा ज्यानसम्बन्धीको महलको १ र १३ (३) नं. को कसुरका ऐ. जबर्जस्ती करणीको ३(१) तथा ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको बादी नेपाल सरकारले सप्तरी जिल्ला  अदालतमा दायर गरेको अभियोग मागदावी ।

      मिति २०६५।१।९ गतेका दिन मेरो जाहेरवालीसँग भेट भएको छैन । मैले कहिल्यै जाहेरवालीसँग माया प्रेम गरेको छैन । उल्लिखित मितिमा म दिनभर रिक्सा चलाई घरमा खाना खाई सुतेको हुँ । निजको डेरा खर्रसाल टोलमा छ भन्नेसम्म सुनेको छु अरू थाहा  छैन । मिति २०६५।१।९ देखि ११ गतेसम्म आफ्नै घरमा नै बस्दै आएको छु । सो घट्ना भए नभएको भए किन कसले, कहिले गरे त्यो पनि थाहा भएन । मलाई म मेरो विवाहको दिन मिति २०६५।१।११ गते मात्र उक्त घट्नामा आरोप लगाई फसाउन खोजेको भन्ने थाहा भयो तर उक्त घटनाका सम्बन्धमा मलाई कुनै जानकारी छैन । निज जाहेरवालीसँग मेरो कहिल्यै आवत जावत बसोबास केही थिएन । मेरो विवाह भाड्न त्यस्तो झूठ्ठा जाहेरी दिइएको हो । अधिकारप्राप्त अधिकारीसमक्ष भएको भनिएको मेरो बयान व्यहोरा सबै झूठ्ठा हो प्रहरी आफैँले के के लेखी तयार पारी संलग्न नै नभएको घट्नामा सहभागिता देखाई कागज तयार पारेका हुन् । मलाई पढेर पनि सुनाएनन् । के लेखेको छ भनी भन्दा मलाई शरीरमा यत्रतत्र कुटपीट गरी नील डाम चोटपटक पुर्‍याई डरधाक देखाई जबर्जस्ती सही गराएका हुन् । व्यहोरा सबै झूठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी पशुपति साहले सप्तरी जिल्ला अदालतमा गरेको बयान ।

      प्रतिवादी पशुपति साहको विवाह मिति २०६५।१।११ गते हुने तय भएपछि मेरो र निजको घर आम्ने साम्ने भएकोले मिति २०६५।१०।८ गते देखि ऐ. ११ गते बिहान ९ बजेसम्म हाम्रो भेटघाट भएको थियो । निज जाहेरवालीको श्रीमान्‌को कुनै टुङ्गो नभएको र निजको चालचलन राम्रो नभएको हुँदा निज अर्कोसँग विहे गर्ने दाउमा भएको हुँदा छोरी बाधक भएकोले छोरीलाई आफैँले मारी आफू भाग्न र पशुपतिलाई फसाउने आफ्नो छोरीलाई आफैँले मारेको हुनुपर्छ । घटनास्थल मुचुल्का, प्रहरीमा कागज गर्ने सबै व्यक्तिहरू जाहेरवालीका मिलुवा मानिस हुन्, प्रतिवादी पशुपति साह निर्दोष छन् भन्नेसमेत व्यहोराको वादीका साक्षी बेगम खातुन, शत्रुधन साहसमेतले गरेको एकै मिलानको बकपत्र ।

      प्रहरीमा भएको कागज व्यहोरा मेरो होइन । सही छाप मेरै हो । प्रहरीले लेखेको कुरामा नपढाइकन नसुनाइकन सहिछाप गर्न लगाएको हो । प्रहरीले सही गर्नुपर्छ भनी दबाब दिएपछि डरले सहिछापसम्म गरी दिएको हुँ । व्यहोरा के थियो मलाई थाहा छैन । मृतक राखी साहको मृत्यु के कसरी भयो मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको प्रहरीमा कागज गर्ने श्यामप्रसाद साहले सप्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।

      आठ महिनाकी आफैँले संरक्षण गरी हुर्काउनुपर्ने बालिका राखी साहलाई आफूले जबर्जस्ती करणी गरेको होइन भनी प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतमा गरेको इन्कारी बयान फैसलाको पूर्वभागमा उल्लेख गरेको आधार प्रमाणबाट सत्य नदेखिएकोले ८ महिनाकी अवोध बालिकालाई मस्त जवान उमेर पुगेका प्रतिवादीले मृतकको योनीमा अत्यधिक घर्षण गराई योनीसमेत क्षतविक्षत हुने गरी मुलुकी ऐन, जबर्जस्ती करणीको १ नं. प्रतिकूल ३(१)बमोजिम अवोध बालिकामाथि विवेकशून्य ढङ्गबाट जबर्जस्ती करणी गरेको देखिँदा १५ वर्ष कैद हुने ठहर्छ । प्रतिवादीले अमानवीय र विवेकशून्य ढङ्गबाट आठ महिनाकी नाबालिका मृतक राखी साहलाई जबर्जस्ती करणी गरेको र सोही कारणबाट मृतकको मृत्यु भएको हो भनी लास जाँच मुचुल्काबाट स्पष्टरूपमा खुलेको देखिँदा प्रतिवादी कै कार्यको परिणामबाट मृतकको मृत्यु भएको देखिँदा प्रतिवादी पशुपति साहको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. प्रतिकूलको देखिँदा निजलाई सोही महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको सप्तरी जिल्ला अदालतबाट मिति २०६६।१।२९ मा भएको फैसला ।

      घटनास्थल विपरीत कुनै वन जङ्गल नभएकोले दाउरा खोज्न बिहान ४:०० बजे गएको भन्ने कुरा तर्कसङ्गत नभएको, घटनास्थलको ओछ्यान डसना आदिमा रगत लागेको उल्लेख भए तापनि त्यो रगत लागेको कुनै पनि वस्तु दसीकोरूपमा दाखेल गरिएको अवस्था नभएको, चार वर्षको बच्चा अभिशेखको कागजलाई हेर्दा त्यो कागजको अभिव्यक्ति चार वर्षको बच्चाले दिने प्रकृतिको अभिव्यक्ति नभएको, घटनास्थलका व्यक्तिहरूले किटानी कागज गरेका समेत नभई सिरक डस्नामा लागेको रगत राखी साहको नै भएको प्रमाणित भएको अवस्थासमेत नभई घटनास्थलका व्यक्तिहरूले प्रहरीमा गरेको कागजलाई अदालतमा आई पुष्टिसमेत गरेका छैनन् । प्रतिवादी जाहेरवालीसँग सुतेको देखिएबाट यौन सम्पर्क गर्ने नै भए स्त्रीसँग नै गर्दछ । आठ महिनाको बालिकामाथि यौन भावनासमेत जागृत हुनै सक्दैन । मृतक बालिकाको योनीमा लिङ्गको प्रविष्ट भएको वा करणी भएको भन्ने व्यहोरासमेत उल्लेख छैन र योनीभित्र वा बाहिर कहीं पनि वीर्य स्खलनको सङ्केत पनि देखिएको छैन । पटकपटक जाहेरवाली साक्षीहरूलाई बकपत्र गर्न आदेश भए पनि उपस्थित नभएको आधारमा म प्रतिवादी पशुपति साहलाई सप्तरी जिल्ला अदालतबाट प्रस्तुत मुद्दामा जबर्जस्ती करणीतर्फ १५ वर्ष कैद र ज्यानतर्फ सर्वस्वसहित जन्म कैद हुने गरी गरिएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी आरोपबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पशुपति साहले पुनरावेदन अदालत, राजविराजमा दायर गरेको पुनरावेदनपत्र ।

      घटनाको अवस्था र परिस्थितिलाईसमेत विचार गरी जोहरवाली, अभिशेख साह तथा घटना विवरण कागज तथा वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरूसमेतलाई नबुझी नहुने साक्षीको रूपमा देखिँदा निजहरूलाई अ.बं. ११५ नं. बमोजिम बुझेर मात्र निर्णयमा पुग्नुपर्ने अवस्था देखिँदा सो  नगरी भएको सुरू सप्तरी जिल्ला अदालतको मिति २०६६।१।२९ को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ र पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी वादी नेपाल सरकारलाई पेशीको जानकारी दिई पेश गर्नु । जाहेरवाली, अभिशेक साहलगायत घटना विवरणमा कागज गर्ने तथा वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरूसमेतलाई मु.ऐ., अ.बं. ११५ नं. बमोजिम बुझ्नु भनी पुनरावेदन अदालत, राजविराजबाट मिति २०६६।८।१८ मा भएको आदेश ।

      प्रस्तुत मुद्दामा भएको मिति २०६५।१।११ गतेको Autopsy Report मा मृतकको मृत्युको कारणमा vaginal injury leading to excessive hemorrhage shock and death भन्ने उल्लेख भएकोले जबर्जस्ती करणीका कारणले उक्त उल्लिखित अवस्था भई मृत्यु हुन सक्छ वा सक्दैन भन्ने सम्बन्धमा बुझ्नुपर्ने भएकोले उक्त Autopsy Report मा संलग्न विशेषज्ञ डाक्टरहरूलाई झिकाई बकपत्र गराउनु भनी पुनरावेदन अदालत, राजविराजबाट भएको आदेश ।

      मृतकको मृत्यु vaginal injury बाट धेरै रगत गएको कारणले भएको हो Injury कसरी भएको हो यकीनका साथ भन्न सक्दिन भन्ने शव परीक्षणका विशेषज्ञ डा.टेकनारायण मण्डल, डा. अमरेन्द्र झा, डा. लक्ष्मण मण्डलले पुनरावेदन अदालत, राजविराजमा गरेको    बकपत्र ।

      निज आठ महिनाको नाbaलिका राखी साहलाई जघन्य प्रकृतिले जबर्जस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादी पशुपति साहलाई जबर्जस्ती करणीको महलको १ नं. को कसूuरमा ऐ.को ३(१) नं. बमोजिम हदैसम्मको पन्ध्र वर्ष कैद सजाय ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतको फैसला सो हदसम्म मिलेकै देखिन्छ । त्यसै गरी अमुक कार्यको परिणामस्वरूप आशयरहितरूपमा कसैको ज्यान मर्दछ भने भवितव्य परेको मान्नुपर्ने र प्रतिवादीले मृतक राखी साहलाई जबर्जस्ती करणी गर्दा मृतकको ज्यान गएकाले सुरू सप्तरी जिल्ला अदालतले प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने गरी गरेको ठहर मिलेको नदेखिई प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिम भवितव्य ज्यानसम्बन्धी कसुर गरेको देखिएकोले प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) बमोजिम पाँचसय रूपैयाँ जरीवाना र दुई वर्ष कैद हुने हुँदा सप्तरी जिल्ला अदालतको मिति २०६६।१।२९ को फैसला केही उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजबाट मिति २०६७।२।२४ मा भएको फैसला ।

      जाहेरी दरखास्त जाहेरवालीले जिल्ला प्रहरीमा गरेको कागज र सुशीलादेवीको बयान एकआपसमा विरोधाभास रहेकोले त्यस्तो जाहेरीलाई अकाट्य प्रमाणको रूपमा लिन मिल्दैन । मृतकको योनीबाट रक्तश्राव भएको भए तापनि उक्त रक्तश्राव करणीबाटै भएको हो  भन्ने कुरा कसरी जाहेरवालीले थाहा पाइन् । जाहेरवालीले आफू चश्मदीद गवाहको रूपमा स्थापित गराउन पनि सकेकी छैनन् । साथै घटना विवरणमा कागज गर्ने व्यक्तिहरू, वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरूसमेतले उक्त वारदात प्रतिवादीले गरेका हुन भनी व्यक्त गर्न सकेका छैनन् । घटना विवरणमा कागज गर्ने परशुराम यादवसमेतका व्यक्तिहरू, वस्तुस्थिति मुचुल्काका सुलोचना देवकोटासमेतका व्यक्तिहरूलाई अदालतले पटकपटक आदेश गर्दा पनि वादी पक्षले अदालतमा उपस्थित गराउन सकेको छैन । प्रहरीमा भएको बयान मेरो स्वेच्छाले भएको नभई डर धाक र त्रासबाट गराइएको हो । ओछ्यान, डसना, पाइन्टमा रगत लागेको भने पनि त्यो रगत को कस्को हो जाँच गरिएको छैन, बरामद पनि गरिएको छैन । अदालतको आदेशानुसार झिकाइएमा डाक्टरहरूको बकपत्रबाट पनि मृतकको मृत्यु करणीबाट नै भएको हो भनी उल्लेख गरेका छैनन् । यस्तो अवस्थामा म पुनरावेदक पशुपति साहलाई अभियोग माग दावीबाट पूर्ण सफाइ दिई फैसला गर्नुपर्नेमा सो नगरी तथ्यगत सबुद प्रमाणको अभाव रहँदा रहँदै पनि शङ्का, सम्भावना र अनुमानको आधारमा जबर्जस्ती करणी महलको १ नं. अनुसार कसुरदार ठहर्‍याई ऐ. को ३(१) नं. बमोजिम १५ वर्ष कैद र ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्‍याएको सप्तरी जिल्ला अदालतको फैसला केही उल्टी गरी मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को कसुरमा ऐ.को ३(१) नं. बमोजिम १५ वर्ष कैद तथा ज्यानसम्बन्धीको महलको ६(२) नं. बमोजिम रू.५००।जरीवाना र दुई वर्ष कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी अभियोग मागदावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी पशुपति साहले पुनरावेदन अदालत, राजविराजमार्फत् यस  अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

      प्रस्तुत मुद्दामा मृतक राखी साहको सगरमाथा अञ्चल अस्पतालले राजविराजबाट भएको शव परिक्षण प्रतिवेदनमा मृत्युको कारण The cause of death due to vaginal injury leading to excessive hemorrhage shock and death उल्लेख भई योनी च्यातिएको देखिएको तथ्यमा पुनरावेदन अदालत, राजविराज सहमत रही बालिकाको जबर्जस्ती करणीको जरियाबाट मृत्यु भएको निष्कर्षमा अदालत पुगेको छ । प्रतिवादीले अमानवीय र विवेकशून्य ढङ्गबाट आठ महिनाको नाबालक शिशुलाई जबर्जस्ती करणी गरेको कारण अत्यधिक रक्तश्राव भई सोही चोटको पीडाबाट मृत्यु भएको भन्ने मिसिल संलग्न लास जाँच मुचुल्काबाट खुलेको अवस्थामा कर्तव्य ज्यानमा मनशाय तत्त्वको अभाव रहेको भन्ने फैसलाको निर्णयाधार आफैँमा खण्डित भई रहेको अवस्थामा अपराधको गम्भीरता अनुसार नै दण्डको अनुपात कायम हुनुपर्नेमा सो नभई अपराध विशेषको गम्भिरताको मूल्याङ्कन उचित मात्रामा नभएको प्रस्तुत फैसला त्रुटिपूर्ण रही बदरभागी छ । यस्तो अवस्थामा प्रतिवादीलाई मुलुकी ऐन, १३(३) नं. बमोजिम सजाय हुनुपर्नेमा पुनरावेदन अदालत, राजविराजले सोही ऐनको ५ नं. को अपराध घोषित गरी ऐ ६ नं. बमोजिमको सजाय गर्नु कानूनको त्रुटिपूर्ण व्याख्या हुन जान्छ । यसर्थ प्रतिवादी पशुपति साहलाई ८ महिनाकी बालिका राखी साहलाई ज्यानमार्ने मनशाय राखी जबर्जस्ती करणी गरी सोही जबर्जस्ती करणीको जरियाबाट पीडित बालिकाको मृत्यु हुन गएको तथ्यमा विवादरहित ढङ्गबाट पुष्टि भई प्रमाणितसमेत भएको अवस्थामा कर्तव्य ज्यान कसुर कायम नगरेको पुनरावेदन अदालत, राजविराजको फैसला सो हदसम्म नमिलेको हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

      यसमा वादी नेपाल सरकार एवं प्रतिवादी पशुपति साहसमेततर्फबाट पुनरावेदन परेको देखिनाले दुबै पुनरावेदनको सम्बन्धमा एक अर्का पक्षलाई अ.बं. २०२ नं. को प्रयोजनार्थ जानकारी गराई नियमानुसार गरी पेश गर्नु भनी यस अदालतबाट मिति २०७०।११।२१ मा भएको आदेश ।

      वादी नेपाल सरकार एवं प्रतिवादी पशुपति साहसमेततर्फबाट पुनरावेदन परेको देखिनाले दुबै पुनरावेदनको सम्बन्धमा एक अर्का पक्षलाई अ.बं. २०२ नं. को प्रयोजनार्थ जानकारी गराई नियमानुसार गरी पेश गर्नु भनी यस अदालतबाट मिति  २०७०।११।२१ मा भएको आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी पेश भएको प्रस्तुत मिसिलको अध्ययन भयो । पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री विष्णुप्रसाद शर्मा र श्री रामप्रसाद ढुंगेलले प्रतिवादी पशुपति साहसँगै जाहेरवाली इन्दु साह र जाहेरवालीकी छोरी मृतक राखी साहसमेत सुतेको, बिहान जाहेरवालीले निजहरूलाई बिस्तरामा छाडी दाउरा खोज्न गएकी, दाउरा खोज्न जाँदा प्रतिवादी पशुपति साह सुतिरहेका र फर्की आउँदा पनि सुतिरहेका हुँदा यी पुनरावेदक प्रतिवादीले मृतकलाई करणी गर्ने अवस्था छैन । जाहेरवालीले आफ्नो विवाह प्रतिवादीको भाइसँग गराई दिन हाम्रो पक्षलाई दबाब दिई रहेको र नगराई दिएमा फसाइदिने छु भनी जाहेरवालीले राखी साहलाई आफैँले Left femur फ्रयाक्चर गरी सोही पीडाले आठ महिनाकी बच्चीको योनी च्यातिन गई अत्यधिक रक्तश्राव भई वा अन्य क्रिया गराई सोपछि उपचारसमेत नगराई मर्ने अवस्थामा पुर्‍याएको हो । डाक्टरहरूको टोलीले प्रतिवादीको करणीका कारण मृतकको योनीबाट रक्तश्राव भएको हो भनी बकपत्र गर्न सकेको छैन । पुनरावेदकको कार्यबाट मृतकको मृत्यु भएको देख्ने गवाह छैनन् । अदालतले पटकपटक आदेश गर्दासमेत वादी पक्षले आफ्ना साक्षीहरू अदालतमा ल्याई मौकाको कागजलाई पुष्टि गराउन सकेको छैन । केवल अनुमान र आशङ्काको भरमा हाम्रो पक्षलाई सजाय गर्नु न्यायसङ्गत नहुँदा सप्तरी जिल्ला अदालत र पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी अभियोगदावीबाट सफाइ दिलाई पाउँ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेलले मृतक बच्चीको तिघ्रासमेत फाट्ने गरी योनीमा घर्षण भएको, योनीको छाला खुइलिएको, घाउ देखिएको, बच्ची सुतेको डसनालगायत अन्य कपडामा रगत लागेको शव परीक्षण प्रतिवेदनसमेतका प्रमाणबाट मृतकउपर यौनजन्य अपराध भएको प्रष्ट छ । वारदातस्थलमा प्रतिवादी बाहेक अन्य कोही छैन । प्रतिवादीले मृतकलाई जबर्जस्ती करणी नगरेको भए निजको पाइन्टमा कसरी रगत लाग्न गयो त्यो कुरा प्रतिवादीले प्रष्ट गर्नुपर्नेमा प्रष्ट गर्न सकेका छैनन् । यसर्थ प्रतिवादीलाई सुरू सप्तरी जिल्ला अदालतले मुलुकी ऐन, जबर्जस्ती करणीको ३(१) नं. बमोजिम १५ वर्ष र ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको फैसला केही उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नम्बरको कसुरमा सोही महलको ६(२) बमोजिम सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको फैसला सो हदसम्म उल्टी गरी सुरू सप्तरी जिल्ला अदालतको फैसला सदर गरी पाउँ भनी बहस गर्नुभयो ।

                २. अब पुनरावेदन अदालत, समेतको फैसला मिले नमिलेको तथा वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो त्यसमा निर्णय दिनुपर्ने भई प्रतिवादीविरूद्धको अभियोगदावीलाई वादीले निर्विवाद र शङ्कारहित तवरबाट ठोस प्रमाणद्वारा प्रमाणित गर्न सक्यो कि सकेन भनी हेर्दा प्रतिवादीले नशाको सुरमा आठ महिनाकी बालिका राखी साहलाई जबर्जस्ती करणी गरेका कारण अत्यधिक रक्तश्राव भई मृत्यु भएको भनी प्रतिवादी विरूद्ध अभियोगदावी रहेको भए पनि मृतकलाई आफूले जबर्जस्ती करणी गरेको भन्ने कुरामा पुनरावेदक प्रतिवादी मौकामा र अदालतमा समेत इन्कार रहेको देखिन्छ । अभियोग दावीबमोजिम प्रतिवादीले नाबालिकाउपर जबर्जस्ती करणी गरेको वारदातलाई देख्‍ने कुनै पनि चश्मदीद व्यक्तिलाई वादीले साक्षीका रूपमा उपस्थित गराउन सकेको पाइँदैन । जाहेरवाली मिति २०६५।१।१० गते बिहान अं. ४ बजे दाउरा खोज्न बाहिर गएकी र फर्की आउँदा प्रतिवादी ओछ्यानमा सुतिरहेको भन्ने जाहेरी दरखास्त व्यहोरा रहेको तर यी प्रतिवादी नाङ्गो अवस्थामा रहेको, निजको शरीरको लिङ्गलगायतका भित्री अङ्गमा रगतको दाग रहेको जस्ता कुनै पनि कुरा आफूले देखेकी भनी जाहेरीमा व्यक्त गर्न सकेकी पाइँदैन । बिहान ४.०० बजेसम्म बालिकाको रक्तश्राव भएको भन्न नसकेकी तर जाहेरवाली फर्की आउँदा मृतकको योनीबाट रगत बगिरहेको प्रतिवादीको पाइण्टमा र ओछ्यानमा समेत रगत लागेको भन्ने जाहेरवालीको कथन रहेकोमा आफू घर छाडी बिहान बाहिर हिड्दा प्रतिवादी जागा रहेको भन्ने जाहेरवालीको कथन नरहेकोले जाहेरवाली घर छाडी हिडेको अवस्थामा प्रतिवादी सुतिरहेको भन्ने नै देखिन्छ । जाहेरवाली ४.०० बजे बिहान घरबाट हिडेर कति अवधिपछि फर्किन् जाहेरी त्यसबारे मौन छ । नाबालिका बच्ची जाहेरवाली हिंडेकी बिहान ४.०० बजेपछि रोइकराई गरेकी भनी कसैले सुन्न सकेको छैन । यी जाहेरवाली दाउरा लिन सँधै बाहिर जाने गरेको हो वा त्यो दिन मात्र गएकी हुन् त्यो कुरा प्रष्ट हुँदैन । नाबालिकाउपर जबर्जस्ती करणी जस्तो जघन्य वारदात गरी निजको योनीबाट रगतसमेत बगेको अवस्थामा कत्तिपनि विचलित नभई आनन्दपूर्वक निदाई बस्ने कुरा अपराधीको मानवीय आनीबानी र मनोविज्ञानसँग मेल खाने देखिंदैन । वारदात गरी सकेपछि अपराधीले आफूलाई बचाउनेअपराधसँग सम्बन्धित प्रमाण नष्ट गर्ने र भाग्ने उम्कने काम गर्दछ तर प्रतिवादी आनन्दसाथ सुती निदाएकाले प्रतिवादी विरूद्ध प्रस्तुत कसुरको अनुमान गर्ने ठाउँ रहेको देखिँदैन ।

३. छोरीको त्यस्तो दारूण अवस्था हुँदाहुँदै पनि जाहेरवालीले नाबालिका छोरीलाई नजिकै रहेको अस्पतालसम्म नलगेकी, त्यसको लागि कसैसँग हार गुहारसमेत नगरी बसेकी र सोको फलस्वरूप वारदातको लगभग २४ घण्टापछि २०६५।१।११ गते बिहान नाबालिकाको मृत्यु भएको देखिन्छ । अभियोगदावीबमोजिम जबर्जस्ती करणी भएको मानेमा पनि नाबालिकाको उपचार नै हुन नसकेकोले बालिकाको योनीमा कुन हदसम्म छेदन लगायतका घाउचोट थिए त्यसलाई स्पष्‍ट गरी सो कारण नै नाबालिकाको मृत्युको कारण भएको कुरा ठोकुवासाथ भन्न सकिने देखिँदैन ।

                ४. प्रतिवादी पशुपति साह बिहानसम्म पनि नशाको सुरमा रहेको भनी अनुमान गर्ने ठाउँ छैन । बालिका जीवित रहुञ्जेल जबर्जस्ती करणीतर्फ सामान्य औँलासमेत उठाउन नसक्ने तर बालिकाको मृत्यु हुनासाथ जबर्जस्ती करणीको वारदात भनी जाहेरी दरखास्त दायर हुनु, जबर्जस्ती करणीका प्रतिवादीविरूद्ध जाहेरवाली आमाले सामान्य आक्रोशसम्म पनि व्यक्त नगर्नु र गाउँसमाज नगुहार्नु आफैंमा सन्देहास्पद देखिन्छ । जाहेरवाली, प्रतिवादी र मृतक बालिका एकै ओछ्यानमा रातभरि सुतेका र प्रतिवादी बिहानसम्म सुती निदाएबाट बालिकाको योनीबाट भएको रक्तश्रावसँगै सुत्ने प्रतिवादीको पाइन्टमा लाग्नु स्वाभाविक नै मान्नुपर्छ । त्यसले प्रतिवादीविरूद्धको अभियोगदावी प्रमाणित गर्ने हैसियत राख्दैन ।

५. आठ महिनाकी नाबालिकाको योनीछेदन भएपछि निजलाई उपचार नगरी त्यसै राख्दा त्यस्तो घाउ नाबालिका रुँदा, कराउँदा, खुट्टा हल्लाउँदा बढ्दै फैलिदै संक्रामक र घातकसमेत हुन पुग्छ ।जाहेरवालीले मिति २०६५।२।२ मा गरेको कागजमा पशुपति साहले मिति २०६५।१।२ मा राखी साहको खुट्टा तानेका भनी उल्लेख गरेकी र मृतक नाबालिकाको नामको सगरमाथा अञ्चल अस्पतालको मिति २०६५।१।३ को पूर्जामा swelling at thigh due to fall भनी उल्लेख भएको पाइँदा बालिकालाई पहिलेदेखि नै चोटपटक लागेको समेतको अवस्था मिसिलबाट देखिन्छ ।

                ६. मृतकको शव परीक्षण प्रतिवेदनमा बालिकाको करणी भएको भनी उल्लेख छैन । योनी क्षेत्रमा घाउ रहेको भन्नेसम्म उल्लेख भएपनि योनीछेदन भएको जस्ता कुनै कुरा उल्लेख नभएकोलाई यस मुद्दामा नजरअन्दाज गर्न मिल्दैन ।

                ७. सामान्यतया अदालतले कसुरदारले किन कसुर गर्नुपर्‍यो सो कुरा विचार गर्छ । बालिकाउपरको अभियोगदावीबमोजिमको अमानुषिक कार्यबाट न प्रतिवादीले यौन सन्तुष्टि पाउन सक्ने अवस्था छ न त निजको स्वार्थ नै पूर्ति हुने स्थिति देखिन्छ । वारदात भएको भनिएको दिन प्रतिवादीको विवाह हुने दिन भएको कुरा मिसिल प्रमाणबाट पुष्टि हुन्छ । अनुकूलताको हिसाबले पनि त्यसप्रकारको अमिल्दो समयमा यी प्रतिवादीबाट यस प्रकारको कार्य हुने कुराको अनुमान सामान्यतया गर्न सकिंदैन । यस्तो क्रियाकलाप असामान्य मनस्थितिको मानिसले गर्न सक्ने तर प्रतिवादी त्यस किसिमले असामान्य रहेको, नशा वा औषधिले गर्दा बेसुर रहेको वा मगज बिग्रेको वा शिशु कामुक  मिजासका व्यक्ति रहेको कुरा देखिँदैन ।

८. प्रतिवादीको मौकाको बयानको जवाफ १३ मा मेरो विहे हुने कुरा थाहा पाएपछि मलाई फसाउनका लागि निजले झूठ्ठा व्यहोराको किटानी जाहेरी दिएको हुनुपर्छ भनी उल्लेख भएको महत्त्वपूर्ण छ । प्रतिवादीमा रत्तिभर पनि कुनै त्रास नदेखिएको, निज निश्‍चिन्तका साथ ओछ्यानमा सुतेको, निजको शारीरिक र मादक पदार्थ सेवनको परीक्षण हुन नसकेको, विल्कुल बेहोश हुने गरी निजले मादकपदार्थ सेवन गरेको कुरा अरू प्रमाणबाटसमेत प्रमाणित हुन नसकेको, जबर्जस्ती करणी गर्ने अपराधीले जाहेरवालीलाई फकाइ फुल्याइ प्रलोभन दिई अपराधको सबुद नष्ट गर्नुपर्नेमा सो नगरी जाहेरवालीलाई गाली गरेर कुरा चर्काउने काम गर्ने कुरा बिरलै हुनेमा प्रतिवादीको आमा र बैनीले समेत जाहेरवालीलाई गाली गरेको भन्ने जाहेरवालीको कथन जस्ता प्रतिवादी र निजको परिवारको क्रियाकलाप पनि अभियोगदावी विरूद्ध जाने देखिन्छ । यसप्रकार जाहेरीले चित्रण गरेको वारदात तथा घटनास्थल र लासप्रकृति मुचुल्का आदि लिखतले अभियोगदावीलाई विल्कुलै प्रमाणित गर्न नसकेको अनुसन्धानको अवस्थाबाट जाहेरी सन्देहास्पद देखिन्छ ।

९. वादीका साक्षी श्यामप्रसाद साहसम्म अदालतमा उपस्थित भएका र निजले प्रहरीले सही गर्नुपर्छ भनी दबाब दिएपछि डरले सही गरिदिएको हो व्यहोरामा के थियो मलाई पढेर सुनाइएन राखी साह के कसरी मरेको हो मलाई केही थाहा छैन  भन्ने बकपत्र गरी अभियोगदावीलाई कमजोर बनाएको देखिन्छ भने पुनरावेदन अदालतबाट मिति २०६६।८।१८ मा मुलुकी ऐन, अ.बं.११५ नं. बमोजिम उपस्थित हुन आउनु भनी आदेश हुँदासमेत प्रतिवादीका विरूद्धमा कागज गर्ने वादीका अरू साक्षीहरू र जाहेरवालीसमेत अदालतमा बकपत्र गर्न अनुपस्थित रहेको  पाइन्छ । मौकामा कागज गर्ने वादीकै गवाह विरेन्द्र सुतिहारले पशुपति साह र इन्दु साहलाई राखी साहको औषधि उपचार गराउन लानु भनी मैले भन्दा निजहरू नसुने जस्तो गरी आआफ्नो कामकाज गर्न लागेको  भनी जाहेरवालीसमेतउपर दोषारोपण गरेको देखिन्छ । अर्का गवाह परशुराम यादवले इन्दु साह अलिकति चरित्रहीन महिला जस्तो लाग्थी ... भनी प्रतिवादी बसेकै घरमा डेरा लिई बस्ने सुशीलादेवीले सोही खाटमा सुतिरहेका पशुपति साहलाई उठाई ... सो दिन बिहान म जाहेरवाली इन्दु साहसँग दाउरा ल्याउन गएको थिएन मलाई केही थाहा भएन  भनी उल्लेख उल्लेख गरेको मौकाको कागजबाट पनि अभियोगदावीको समर्थन हुन नसकी जाहेरवालीको जाहेरी थप शङ्कास्पद हुन पुगेको छ ।                  

                १०. पुनरावेदन अदालतले यी प्रतिवादीलाई परिस्थितिजन्य प्रमाणबाट कसुरदार ठहर्‍याएको देखिन्छ तत्‌सम्बन्धमा पुनरावेदन अदालतले व्यक्त गरेको सैद्धान्तिक अवधारणासँग सहमत हुन सकिए पनि प्रस्तुत वारदातका सम्बन्धमा सो अदालतले आधार लिएको मूल्याङ्कन र निष्कर्षसँग सहमत हुन नसकिने कुरा माथि उल्लेख भएबमोजिम मृतकको शव परीक्षण प्रतिवेदन, प्रतिवादीको शरीरमा रगत र वीर्य आदि लागेको नपाइएको, जाहेरवाली बिहान ४:०० बजे उठी दाउरा खोज्न गएकी भन्ने निजको जिकिर वादीका साक्षी शुशीलादेवीबाट खण्डन भएको, शव परीक्षण प्रतिवेदनमा जबर्जस्ती करणी भएको र त्यसको लक्षण रहेको भनी उल्लेख हुन नसकेको अवस्थामा मृतक बच्ची लडेको कारणबाट मिति २०६५।१।३ मा सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको, प्रतिवादी नशाको सुरमा रहेको कुरा पनि प्रमाणित हुन नसकेको समेतको अवस्था तथा मृतक बच्चीलाई प्रतिवादीले करणी गर्दा यौन सन्तुष्टिसमेत पाउन नसक्ने र मार्नुपर्ने कारण र औचित्य पनि आउन नसकेको समेतका कारणहरूले गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीविरूद्ध परिस्थितिजन्य प्रमाण आकर्षित हुने अवस्था देखिँदैन । परिस्थितिजन्य प्रमाण आकर्षित हुनका लागि प्रतिवादीले कसुर गरेको होइन भनी शङ्का गर्नुपर्ने कुनै ठाउँ हुनुहुँदैन र प्रतिवादीले कसुर गरेको भन्ने बाहेक अरू निष्कर्षको सम्भावना रहनु हुँदैन । माथि उल्लेख भएको अवस्थाहरूलाई नजरअन्दाज गरी परिस्थितिजन्य प्रमाणको दुहाई दिनु सो प्रमाणको दुरूपयोग हुन जान्छ । परिस्थितिजन्य प्रमाणले पनि ठोस र शङ्कारहित तवरबाट अभियुक्तको कसुर प्रमाणित हुनुपर्छ र शङ्काको सुविधा अभियुक्तले पाउँछ भन्ने मान्यतालाई शिरोपर गरेको हुन्छ । प्रस्तुत मुद्दामा त्यस्तो अवस्था नदेखिएको र अनुमान र शङ्कालाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन नमिल्ने हुँदा पुनरावेदन अदालत, राजविराजले परिस्थितिजन्य प्रमाणको गलत प्रयोग गरी प्रतिवादीलाई कसुरदार ठहर्‍याएको फैसलासँग सहमत हुन सकिएन ।

                ११. यस मुद्दामा प्रतिवादीबाट वारदात नै भएको छैन भन्ने कुरामा यो इजलास विश्‍वस्त छ तथापि कानूनको सन्दर्भमा विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. को भवितव्य कसुरको गलत व्याख्या र प्रयोग भएको पाइन्छ । भवितव्य भनेको संयोगवश घट्न पुगेको वारदात हो । गम्भीर फौजदारी अपराध गर्ने प्रतिवादीको कार्यबाट मानिस मरेमा सो कार्य ज्यानसम्बन्धी कसुर हुने कुरा felony murder rule को सिद्धान्त हालसम्म अमेरिकी फौजदारी न्यायमा मान्य रहेको देखिन्छ । West's Encyclopedia of American Law, edition 2 मा A Rule of Law that holds that if a killing occurs during the commission or attempted commission of a felony (a major crime), the person or persons responsible for the felony can be charged with murder.

१२. Generally intent to kill is not necessary for felony-murder. Today most jurisdictions have limited the rule by requiring that the felony must be a dangerous one or that the killing is foreseeable, or both. Statutes that restrict the application of the rule to dangerous felonies usually enumerate the crimes. Burglary, Kidnapping, rape, and robbery are typical felonies that invoke the rule. Felony-murder cannot be charged if all the elements of the felony are included in the elements of murder. This is known as the merger doctrine, which holds that if the underlying felony merges with the killing, the felony cannot constitute felony-murder. For example, all of the elements of Assault and Battery with a deadly weapon are included in murder. If a killing, therefore, occurred during the course of this crime, the accused would be charged with murder.

The future of the felony-murder rule is in doubt. Some jurisdictions have abolished the rule and others continue to limit its application. In those states that have retained the offense, it is usually classified as murder in the first degree, for which the penalty might be death or imprisonment भनी यो सिद्धान्तको विवेचना भएको पाइन्छ । यस सिद्धान्तलाई नेकाप २०४५ को पृष्‍ठ २७४ मा प्रकाशित ज्यान मुद्दाको फैसलामा जबर्जस्ती करणी गर्ने क्रममा पीडिताको मृत्यु भएको वारदातमा लागू गरी प्रतिवादीलाई कर्तव्य ज्यानको कसुरदार ठहराई निजहरूलाई ५ वर्ष जनही कैद हुने राय व्यक्त गरेको देखिन्छ । सो नजिरसमेतको रोहमा प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. को भवितव्यको परिभाषाभित्र पर्न नसक्ने हुँदा पुनरावेदन अदालत, राजविराजको यो कानूनी निष्कर्षसँग सहमत हुन सकिएन ।

                १३. अतः माथि उल्लेख भएबमोजिम प्रतिवादीउपरको अभियोगदावीलाई वादी नेपाल सरकारले निर्विवाद र शङ्कारहित तवरले प्रमाणित गर्न नसकेकोले यी प्रतिवादीलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । पुनरावेदक प्रतिवादीलाई सुरू सप्तरी जिल्ला अदालतले मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं प्रतिकूल कार्य गरेकोले सोही महलको ३(१) नं. बमोजिम पन्ध्र वर्ष कैद र सोही ऐनको ज्यानसम्बन्धीको महलको १ नं. प्रतिकुलको कार्य गरेकोले सोही महलको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गरेको र त्यसलाई केही उल्टी गरी पुनरावेदन अदालत, राजविराजले यी पुनरावेदक प्रतिवादी पशुपति साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. को भवितव्यको कसुरमा सोही महलको ६(२) नं बमोजिम रु.५००।जरीवाना गरेको दुबै फैसला उल्टी भई पुनरावेदक प्रतिवादी पशुपति साहले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम सुरू सप्तरी जिल्ला अदालत र पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी भई पुनरावेदक प्रतिवादी पशुपति साहले अभियोगदावीबाट सफाइ पाउने ठहरेकाले निज प्रतिवादीलाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए प्रस्तुत मुद्दाबाट कारागार मुक्त गरिदिनु भनी सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाइदिनु भनी सङ्‌क्षिप्त फैसलाबाट लेखी पठाइसकिएको हुँदा सोतर्फ केही गरी रहन परेन -- १

पुनरावेदन अदालत, राजविराजको फैसलाको तपसिल नं. १ बमोजिमको लगत राख्‍नु नपर्ने हुँदा उक्त लगत कट्टा गर्नु भनी सुरूलाई लेखी पठाउनू ---- २

यस फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू -- ३

दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू -- ४

 

उक्त रायमा सहमत छु ।

न्या. बैद्यनाथ उपाध्याय

 

इति संवत् २०७१ साल जेठ २१ गते रोज ४ शुभम् ।

इजलास अधिकृतः लोकनाथ पराजुली

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु