निर्णय नं. १९६४ - उत्प्रेषणको रिट जारी गरिपाउँ

निर्णय नं. १९६४ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको रिट नं. १३७६
विषय : उत्प्रेषणको रिट जारी गरिपाउँ
निवेदक : जि. कपिलवस्तु रामघाट गा.पं. वा.नं. ४ मौजे चौरहिया बस्ने प्रयागराज कुर्मी
विरूद्ध
विपक्षी : जिल्ला भूमिसुधार कार्यालय, कपिलवस्तुको भू.सु.अ.
जि. कपिलबस्तु रामघाट गा.पं. वा.नं. ३ घर भै हाल जि. ललितपुर ल.पु. न.पं. श्री दरवार टोल बस्ने वर्ष ४४ को कृष्ण कुमार ज्ञवाली
ऐ ऐ बस्ने विष्णु कुमार ज्ञवाली
आदेश भएको मिति : २०४१।४।११।५ मा
§ हुण्डा शर्तबाट तोकिएको जिन्सी पनि कूत नै हो । अतः हुण्डा शर्त कमाउने मोहीले दफा ३५ को सुविधा उपभोग गर्न पाउँदैन भन्न मिल्दैन ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : x
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : भू.सु.का.कपिलवस्तुबाट ०४०।३।१० मा भएको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत यस अदालतमा दायर हुन आई नियमबमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं विवरण यस प्रकार छ :
२. विपक्षी कृष्णकुमार, विष्णुकुमार नाउँको दर्ताको ४ बिगहा जग्गा मैले मोही हक लिने गरी ०३७।३।३१ मा विपक्षीहरूसँग मिलापत्र गरी पाएको र विपक्षीले कूत नबुझ्ने गरेबाट धरौट राख्दै आएको थिएँ । ०३९ सालको बालीमा वर्षाको अभावमा १२ आना सुखा भई ४ आना मात्र उब्जाउ भएको सोही हिसाबले मैले गा.पं.मा धरौटी राखी दिए पनि कूत बाली दिएन, कूत दिलाई मोही निष्कासन गरिपाउँ भनी विपक्षीहरूले संयुक्त फिराद दिनु भयो । विपक्षीहरूको दाजु नारायणप्रसाद समेत बसी सुखा दर्ता भएको सरजमीन भई मालपोत कार्यालय गएको छ सुखा भएको कटाई धरौटी राखेको छु भनी मैले प्रतिवाद गरेको थिएँ । सबूतप्रमाण नबुझी निर्धारित भाउले १७९४।२४ वादीले भरी पाउने ठहर्छ भनी ०४०।३।१० मा विपक्षी भू.सु.का.बाट निर्णय भयो ।
३. विपक्षीहरूले फिराद गर्दा जग्गा संयुक्त रूपमा रहेको भनी दावी गर्नु भएको छैन । छुट्टाछुट्टै व्यक्तिको नाउँमा छुट्टाछुट्टै दर्ता रहेको छुट्टाछुट्टै जग्गा विषयमा एउटै नालेश लिई भएको कारबाही निर्णय बाध्यात्मक कानूनी व्यवस्था विपरीत भएको भू.सु.ऐन दफा ३५ अनुसार उब्जनी अनुसार कूत लिने व्यवस्था प्रतिकूल निर्णय भएको, हुण्डी ठेकिएकोमा दफा ३५ नलाग्ने भन्ने व्यवस्था नभएको उब्जाउ हुन नसकेको भनी मैले गरेको प्रतिवाद सम्बन्धमा कुनै प्रमाण नबुझिएको र हचुवापूर्ण रूपमा गरिएको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी ०४०।३।१० को निर्णय बदर गरिपाउँ भन्ने समेत ०४०।४।२७।६ को प्रयागराज कुर्मीको रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४०।६।१७।२ को आदेश ।
५. विपक्षीले म समेतको जग्गा जोती आएकोमा स्वीकार नै गर्नु भएको र कूत धरौट राखेको कुरामा पनि स्वीकार हुनुभएको, भू.सं.ऐनको दफा ३५ बमोजिमको प्रकृया अपनाएको छु भन्न सक्नुभएको छैन । सो प्रकृया नअपनाए पछि मिन्हा पाउने कुरा भएन । हामीहरू दाजु भाइ हुँदा एउटै फिराद दिएको अ.बं.७८ को त्रुटि छैन, ४ भागको १ भाग मात्र उब्जा भएको भने पनि सोको सबूत प्रमाण पेश गर्न सक्नुभएको छैन । भू.सु.का.बाट कानूनबमोजिम भएको निर्णयमा कुनै त्रुटि नहुँदा रिट खारेज गरिपाउँ भन्ने समेत विष्णुकुमार ज्ञवालीको ०४०।९।२९ को लिखितजवाफ ।
६. प्रत्यर्थी कृष्णकुमार ज्ञवालीको नाउँको म्याद ०४०।८।१३ मा तामेल भएकोमा लिखितजवाफ प्राप्त हुन नआएको ।
७. मालपारा गा.पं. वा.नं. ९(ग) को कि.नं. १२, १५, २५, ६३ समेतको ज.बि.४–०–० मोही हकमा लिने दिने र १ बिगहाको कच्ची धानमन ३ का दरले धान बाली बुझाउने शर्तमा ०३७।३।३१ मा यसै कार्यालयको मिलापत्र भए बमोजिम ०३९ सालको बाली नबुझाएकोमा फिराद परेको हुण्डा शर्त ठेक्का सरह हुनाले सुख्खा परी बुझाउन नसकेको भन्न नमिल्ने र सुख्खा परी बाली राम्रो नभएमा ज.ध.लाई यथासम्भव चाँडो सूचना दिनु पर्नेमा सो सालको बाली कटनी मडनी भइसके पछि हुलाकबाट सूचना दिएको हुँदा सो बमोजिम मिन्हा पाउन नसक्ने हुँदा दावी अनुसार कूत भराई दिने ठहर्याएको यस कार्यालयको निर्णयमा कुनै त्रुटि नहुँदा रिट खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.कपिलवस्तुको ०४०।१०।११ को लिखितजवाफ ।
८. यसमा निवेदकका वारेस सुधिरकुमारलाई रोहवरमा राखी विपक्षी कार्यालयतर्फबाट रहनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ तथा विपक्षी विष्णुकुमार तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले निवेदकले ठेक्का सरह जग्गा कमाएको हुँदा सुख्खाको कारणले उब्जनी नभएको भन्न नपाउने र सुख्खा भएको भन्ने कुराको सूचना जग्गाधनीलाई यथासम्भव चाँडो दिनु पर्नेमा बाली कटनी मडनी भइसकेपछि हुलाकबाट सूचना दिएको हुँदा भू.सु.का.बाट भएको निर्णयमा कुनै त्रुटि विद्यमान छैन भन्ने समेत प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
९. प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
१०. यसमा निर्णयतर्फ हेर्दा विपक्षी प्रयागराज कुर्मीले ०३९ सालको बाली हामीलाई नबुझाई धरौट समेत नराखेको हुँदा ०३७।३।३१ गतेको मिलापत्र बमोजिम बुझाउनु पर्ने हुण्डा धान बाली दश कुइन्टलको प्रचलित बजार भाउले हुने २५२०। कूत दिलाई जग्गाबाट मोही निष्कासन गरिपाउँ भन्ने प्रत्यर्थी जग्गाधनीहरूको उजूर परेकोमा समयमा वर्षा नभई सुख्खा परेकोले ४ भागको १ भाग मात्र उब्जा भएकोले सो बमोजिम धरौट राखेको छु । वादी दावी बमोजिम कूत बुझाउनु पर्ने होइन भन्ने समेत मोहीबाट प्रतिवाद भएको देखिन्छ ।
११. भू.सु.कपिलवस्तुले निर्णय गर्दा हुण्डा शर्त एक बिगहाको कच्ची ३ मन भएकोमा सुख्खा पर्यो भन्न नमिल्ने हुँदा शर्त बमोजिमको बालीको बजार भाउले हुने रु.१७९४।२४ ज.ध.ले पाउने भनी निर्णय गरेको देखिन्छ ।
१२. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३५ मा कुनै वर्ष मोहीले प्राकृतिक प्रकोप वा प्रतिकूलताले गर्दा बाली लगाउन सकेन वा फसल राम्रो हुन सकेन भने त्यसको सूचना यथासम्भव चाँडो जग्गावाला वा निजको तर्फबाट कूत बुझ्ने व्यक्तिलाई दिनुपर्छ र जग्गावालाले पनि आवश्यक देखिए जति कूत मिन्हा दिनुपर्छ वा उब्जनीको अनुपातमा भाग बाँडी लिनुपर्छ भन्ने लेखिएको पाइन्छ । भू.सु.ऐन, २०२१ को दफा ३८ को उपदफा १ हेरिएमा दफा ३५ को उल्लंघन गरी कुनै जग्गावाालाले मोहीबाट कुनै रकम कलम उठाएको ठहरेमा तोकिएको अधिकारीले सो उठाएको रकम मोहीलाई भराइ दिई जग्गावालालाई बिगो बमोजिम जरिवाना समेत गर्न सक्ने व्यवस्था भएको पाइन्छ । भू.सं.ऐन, ०२१ को दफा २ को देहाय (घ) मा कूत भन्नाले जग्गावालाको जग्गा कमाउन लिए वापत मोहीले जग्गावालालाई बुझाउने नगदी जिन्सी दुवैलाई सम्झनु पर्छ भन्ने उल्लेख भएको छ ।
१३. प्रस्तुत मुद्दामा १ बिगहाको कच्ची ३ मन धान बुझाउने हुण्डा शर्त पनि जग्गावालाको जग्गा कमाउन लिए बापत जिन्सी बुझाउने भन्ने हो । तसर्थ उक्त हुण्डा शर्तबाट तोकिएको जिन्सी पनि कूत नै हो । अतः हुण्डा शर्तमा कमाउने मोहीले दफा ३५ को सुविधा उपभोग गर्न पाउँदैन भन्न मिल्दैन । भू.सु.का.कपिलवस्तुको निर्णयमा उक्त दफा ३५ को पूर्वाधारहरू विद्यमान भए नभएको भन्ने सम्बन्धमा कुनै उल्लेख नभएकोले सो सम्बन्धमा यहाँ कुनै विवेचना गर्नुपर्ने अवस्था देखिएन । हुण्डा शर्तमा कमाउने मोहीले सुख्खा पर्यो भन्न पाउँदैन भनी गरेको भू.सु.का.कपिलवस्तुको ०४०।३।१० को निर्णय कानूनी त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी गरिएको छ । जानकारीको लागि यो निर्णयको प्रतिलिपि विपक्षी कार्यालयकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल श्रावण ११ गते रोज ५ शुभम् ।