निर्णय नं. १९६५ - कर्तव्य ज्यान

निर्णय नं. १९६५ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०४० सालको फौ.सा.नं. १६०
मुद्दा : कर्तव्य ज्यान
वादी : अजमत मियाँको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी : जि. दाङ लालमटिया गा.पं. वा.नं. ५ रिवनता घर भै कारागार शाखा दाङमा थुनामा रहेको फरसुराम चौधरी
फैसला भएको मिति : २०४१।३।१४।४ मा
§ आमासँग अनुचित यौन सम्बन्ध राख्ने नियामतलाई मार्ने ईरादा पूरा गर्ने क्रममा अर्को अपराध समेत हुन गएको देखिएकोले यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भएकाले प्र.लाई १० वर्ष कैदको सजाय हुने ठहर्ने ।
(प्रकरण नं. १३)
वादी तर्फबाट : x
प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : साधक निकासाको निमित्त अ.बं.१८६ नं. बमोजिम जाहेर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. फरसुराम चौधरीले ०३७।११।१० गते बिहान नमालुमके भई निजको दिमाग बिक्री या सद्दे भएर नै हो आफ्नो घरबाट बञ्चरो निकाली मार्छु काट्छु भन्दै हातमा बञ्चरो लिई गाउँमा आई नियामत उल्ला मुसलमान र पत्थर गढेनी भन्नेलाई पकडी बन्चराले टाउकोमा हानी सोही ठाउँमा लास पारी फेरि दौडदै गई श्यामलालकी स्वास्नी श्री कृष्णालाई र धैतालु चौधरीको स्वास्नी पुलारानी चौधरीलाई घाइते तुल्याई दिएको हुँदा निज फरशुराम चौधरीलाई बाँधी राखी जाहेर गर्न आएको छु ऐन नियमबमोजिम कारवाई गरिपाउँ भन्ने समेत अजमत मिया मुसलमानको जाहेरी।
३. नियमत उल्ला मुसलमानको टाउकोमा ६ इन्च लम्बाई ३ ईन्च गहिरो बञ्चरोले काटेको घाउ लागि टाउको फुटी गिदी समेत निस्केको र लहनी थरूनीको बञ्चरोले टाउकोमा लम्बाई ४ इन्च गहिराई २ इन्च र तालुमा ४ इन्चको र ३ इन्चको २ घाउ देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।
४. मेरो आमाको र नियमामतको एकै घरमा देखादेख खुल्ला अनुचित व्यवहार भएकोमा मैले हप्की दप्की गरेको कारण मेरी आमाले टुना मुना गरी बौलाहा जस्तो बनाएकी नियामत मुसलमानले मेरै घरमा बसी मेरी आमा उपर मुसलमान जाति भइकन हिन्दू जातिलाई अनुचित सम्बन्ध गरेकोले सोही रीस खप्न नसकी घरबाट बञ्चरो लिई लखेट्दै जाँदा लहनीको घर भित्र पसी ढोका बन्द गरी भित्र बसेकोले ढोका खोल भन्दा नखोलेकोले बञ्चरोले हानी लात्ताले हिर्काउँदा ढोका खुल्न गई लहनीको लोग्ने कालीराम चौधरी तत्कालै भाग्यो भित्र लहनीको आडमा नियामत उल्ला मुसलमान लुकी बसेको फेला पारी बञ्चरो उठाई टाउकोमा हान्दा टाउको फुटी निज तत्कालै घटनास्थलमा मर्यो र लहनी थरूनी कराउँदै बाहिर निस्की भागेकोले अब यसले हल्ला गर्छे थाहा हुन्छ, पक्राउमा पर्छु भन्ने लागि बञ्चरोले धारपट्टिबाट निजको टाउकोमा २।३ चोट हानेपछि निज तत्काल मरिछ त्यसबाट के के गरे थाहा भएन भन्ने समेत फरसुराम चौधरीले प्रहरीमा गरेको बयान ।
५. फरसुराम चौधरीले नियामत उल्ला मुसलमान र पत्थर गढेनी भन्ने लहनीलाई बञ्चरोले काटी मारेको र कृष्णा थरूनी र पुलरानी थरूनीलाई घाइते तुल्याएको हो बञ्चरो मैले नै खोसेको हुँ भन्ने प्रेमबहादुर कार्की क्षेत्री तथा त्यसरी मान्छे मारेको, प्रेमबहादुरले बञ्चरो खोसेका हुन भन्ने समेत लिखिराम चौधरी समेत समस्त व्यक्तिहरूले लेखाई दिएको सरजमीन मुचुल्का ।
६. फरसुराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम हुन माग गरिएको प्रहरी प्रतिवेदन ।
७. मेरो आमा लहनी थरूनीसँग मर्ने नियामत उल्ला मुसलमानको अनुचित सम्बन्ध भएको बराबर हप्काउने रिसाउने गर्दा नमानी आफूहरूले गरी आएको अनुचित काम गर्न छोडेन रिस उठिरहेको थियो । ०३७।११।१० गते देखाइएको बञ्चरो समाती नियामत उल्ला मुसलमानलाई मार्न भनी हिंडे नियामतले देखी आफ्नो सामान फाली भाग्न लाग्यो म पनि पछि पछि दर्गुदै गएँ । पत्थर गढेनी भन्ने लहनी थरूनीको घरभित्र पसी बसेको रहेछ जाँदा ढोका बन्द गरी दिए, बञ्चरोले ढोका काटी भित्र पसे लहनीको लोग्ने कालीराम भाग्यो नियामतलाई फेला पारेर बञ्चरोले निजको टाउकोमा हान्दा टाउको फुटी तत्काल मर्यो लहनी थरूनी बाहिर आई कराउन थालेपछि निजलाई पनि सोही बञ्चरोले टाउकोमा २।३ चोट हानेपछि निज पनि तत्कालै मरिछन् । त्यसपछि मातेर वा के भएकोले कृष्णी र पुलारानीलाई घाइते बनाएको हुँ भन्ने समेत फरसुराम चौधरीले अदालतमा गरेको बयान ।
८. फरसुराम चौधरीले नियामत समेतलाई बञ्चरोले हानी घटनास्थलमै मरेपछि पुलारानी समेतलाई घाइते तुल्याएपछि निजलाई कसैले समाउन नसक्दा मैले समाती निजका हातबाट बञ्चरो खोसी लिएको हुँ भन्ने समेत प्रेमबहादुरको बकपत्र ।
९. फरसुराम चौधरीलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने समेत शुरू दाङ देउखुरी जिल्ला अदालतको फैसला ।
१०. सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको शुरू इन्साफ मनासिब ठहर्छ । आफ्नो आमासँग अनुचित सम्बन्ध गरेको देख्दा छोरालाई रिस उठ्नु मानवीय स्वभाव नै भएको र त्यही रिसले उत्तेजित भई कसूर गरेको यस्तो अवस्थामा सर्वस्वसहित जन्मकैद गर्दा सजायमा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं. बमोजिम कम सजायको लागि राय लगाउन उचित देखिन्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११. अ.बं.१८६ नं. तथा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १४ बमोजिम साधक निकासाको लागि पेश हुनआएको प्रस्तुत मुद्दामा अजमत मियाँको जाहेरी लाश प्रकृति मुचुल्का तथा सरजमीन समेतबाट मर्ने नियामत उल्ला मुसलमान तथा पत्थर गढेनी भन्ने लहनी थरूनीको कर्तव्यबाट मृत्यु भएकोमा विवाद देखिएन ।
१२. प्र.फरसुराम चौधरीले नियामत उल्ला मुसलमान र पत्थर गढेनी भन्ने लहनी थरूनीलाई बञ्चरोले टाउकोमा हानी मारेमा अदालत समक्ष सावित भई बयान गरेको पाइन्छ । प्रहरीमा पनि निजले सोही व्यहोराको साविती बयान दिएको पाइन्छ । वारदातमा प्रयोग भएको बञ्चरो बरामद भई सनाखत समेत भइरहेको देखिन्छ । मर्ने नियामत उल्ला मुसलमान र पत्थर गढेनी भन्ने लहनी थरूनीलाई मारी कृष्णी तथा पुलारानी चौधरीलाई सोही बञ्चरोले हानी घाइते पारेपछि जसलाई पाए पनि मार्छु काट्छु भनी उफ्रँदै हिँडेको अवस्थामा प्रेमबहादुर कार्कीले निज फरसुराम चौधरीलाई समाती बञ्चरो खोसेको हो भनी समस्त सरजमीनका मानिसहरूले लेखाई दिएको पाइन्छ । बञ्चरो खोस्ने भनेको प्रेमबहादुरको अदालतमा समेत बकपत्र भएको पाइन्छ । यस स्थितिमा ज्यानसम्बन्धीको १३(१) बमोजिम गरेको शुरूको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।
१३. सजायको हकमा आमा लहनी थरूनीसँग मर्ने नियामत उल्ला मुसलमानको अनुचित यौन सम्बन्ध रहेको बेलाबेलामा हप्काउँदा पनि दुवैले नमानेको कारणबाट प्र.फरसुराम चौधरी रिसाई रहेको र सोही रिसबाट वारदातको दिन निजले आफ्नो आमा लहनीलाई पिट्ने गोवर ख्वाउने कार्य गरेको त्यसछि निज नियामत उल्ला मुसलमानलाई बञ्चरोले हानी मारेको देखिन्छ । आफ्नो आमासँग अनुचित यौन सम्बन्ध गर्ने उपर रिस हुनु स्वभाविकै देखिन्छ । पत्थर गढेनी भन्ने लहनी थरूनीसँग प्र.फरसुरामको कुनै रिसईवी भएको भन्ने देखिँदैन । केवल नियामत उल्ला मुसलमानलाई बञ्चरोले हानी मारेपछि लहनी थरूनी कराउँदै निस्केको कारणले हल्ला भई पक्राउमा पर्छु भन्ने सम्झी भाग्न उम्कनको लागि निजलाई मारेको भन्ने देखिन्छ । त्यसकारण आमासँग अनुचित यौन सम्बन्ध राख्ने नियामतलाई मार्ने इरादा पूरा गर्ने क्रममा अर्को अपराध समेत हुन गएको देखिएकोले यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भएकोले प्र.फरसुराम चौधरीलाई १० वर्ष कैदको सजाय हुने ठहर्छ । कम सजाय हुनु पर्ने भनी अ.बं.१८८ नं. बमोजिम राय लगाएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले देहाय बमोजिम गर्नु भनी शुरू दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु .....................१
प्र.फरसुराम चौधरी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम १० वर्ष कैदको सजाय हुने ठहरेकोले शुरू दाङ देउखुरी जि. अ.को ०३८।८।७ को फैसला बमोजिमको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी लेखी पठाउने.१
प्र.फरसुराम चौधरी के दश वर्ष कैदको सजाय हुने ठहरेको र निज ०३७।११।१४ देखि थुनामा रहेको देखिएकोले सो बमोजिमको कैद लगत कायम राख्नु भनी लेखी पठाउने ........................२
मिसिल नियमबमोजिम गरी बुझाई दिनु........................... ३
उक्त रायमा मेरो सहमति छ ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०४१ साल आषाढ १४ गते रोज ४ शुभम् ।